अध्ययन लेख ४८
अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्
“‘हिम्मत गर . . . म तिमीहरूको साथमा छु,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”—हाग्गै २:४.
गीत ११८ “हाम्रो विश्वास बढाइदिनुहोस्”
परिचयa
१-२. (क) यरुसलेम फर्केका यहुदीहरू र हाम्रो अवस्थाबीच कस्ता समानताहरू छन्? (ख) यहुदीहरूले कस्ता चुनौतीहरूको सामना गरे? (“हाग्गै, जकरिया र एज्राको समयमा” भन्ने पेटी हेर्नुहोस्)
के तपाईँलाई भोलिको चिन्ताले सताएको छ? जागिर गुमाएकोले परिवारको पालनपोषण कसरी गर्ने होला भनेर चिन्ता लागेको छ कि? राजनैतिक अस्थिरता, खेदो वा साक्षीकार्यमा विरोधको कारण परिवारको सुरक्षाबारे चिन्ता लागेको छ कि? यीमध्ये कुनै चिन्ताले सताएको छ भने इस्राएलीहरूलाई यहोवाले मदत गर्नुभएको कुराबाट लाभ उठाउन सक्नुहुन्छ। किनकि तिनीहरूले यस्तै समस्याहरूको सामना गर्नुपरेको थियो।
२ बेबिलोनमै हुर्केबढेका यहुदीहरूलाई त्यहाँको आरामदायी जीवनशैली त्यागेर आफूलाई खासै थाह नभएको देशमा जान बलियो विश्वास चाहिएको थियो। यरुसलेम पुगेको केही समयपछि नै तिनीहरूले आर्थिक समस्या, राजनैतिक अस्थिरता र विरोधको सामना गर्नुपऱ्यो। यसले गर्दा तिनीहरूलाई यहोवाको मन्दिर पुनर्निर्माणको कामलाई प्राथमिकता दिन गाह्रो भयो। त्यसैले करिब ईसापूर्व ५२० मा यहोवाले आफ्ना मानिसहरूको जोस फेरि जगाउन दुई जना भविष्यवक्ता हाग्गै र जकरियालाई पठाउनुभयो। (हाग्गै १:१; जक. १:१) ती भविष्यवक्ताहरूले दिएको प्रोत्साहन निकै प्रभावकारी साबित भयो। तर लगभग ५० वर्षपछि निर्वासनबाट फर्केका यहुदीहरूलाई फेरि प्रोत्साहनको खाँचो पऱ्यो। त्यसैले व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु एज्रा बेबिलोनबाट यरुसलेम आए र यहुदीहरूलाई साँचो उपासनालाई प्राथमिकता दिन प्रोत्साहन दिए।—एज्रा ७:१, ६.
३. हामी कस्ता प्रश्नहरू छलफल गर्नेछौँ? (हितोपदेश २२:१९)
३ हाग्गै र जकरियाले गरेका भविष्यवाणीहरूले विगतमा परमेश्वरका जनहरूलाई खेदोको सामना गर्नुपर्दा यहोवामाथि भरोसा गरिरहन मदत गऱ्यो। ती भविष्यवाणीहरूबाट आज हामीले पनि जीवनमा अचानक कुनै समस्या आइपर्दा मदत पाउन सक्छौँ। (हितोपदेश २२:१९ पढ्नुहोस्।) आउनुहोस्, जकरियाले बताएको परमेश्वरको सन्देश र एज्राको उदाहरण विचार गरौँ अनि यी प्रश्नहरूको जवाफ छलफल गरौँ: यरुसलेम फर्केका यहुदीहरूले गाह्रो अवस्थाहरूमा पर्दा के गरे? हामीले गाह्रा अवस्थाहरूमा पनि किन यहोवाको इच्छालाई प्राथमिकता दिइरहनुपर्छ? अनि त्यस्तो आपत्को बेला यहोवामाथिको भरोसालाई अझै बलियो बनाउन के गर्न सक्छौँ?
गाह्रा अवस्थाहरूले गर्दा यहुदीहरूको जोस सेलायो
४-५. कस्ता कारणहरूले गर्दा यहुदीहरूको मन्दिर बनाउने जोस सेलाएको हुन सक्छ?
४ बेबिलोनबाट यरुसलेम फर्केका यहुदीहरूले गर्नुपर्ने काम थुप्रै थिए। यरुसलेम आएको केही समयमै तिनीहरूले पहिलेकै ठाउँमा फेरि वेदी बनाए र मन्दिरको जग हाले। (एज्रा ३:१-३, १०) तर तिनीहरूको जोस केही क्षणमै सेलायो। किन? तिनीहरूले मन्दिर बनाउने कामसँगसँगै आफ्नो लागि घरहरू बनाउनुपऱ्यो, खेतीपाती गर्नुपऱ्यो र परिवारको पालनपोषण गर्नुपऱ्यो। (एज्रा २:६८, ७०) यसबाहेक तिनीहरूले शत्रुहरूको विरोधको सामना पनि गर्नुपऱ्यो। ती शत्रुहरूले मन्दिरको पुनर्निर्माणको योजना विफल तुल्याउने प्रयास गरिरहेका थिए।—एज्रा ४:१-५.
५ यरुसलेम फर्केका यहुदीहरूले आर्थिक र राजनैतिक अस्थिरताको पनि सामना गर्नुपऱ्यो। त्यतिबेला यरुसलेम फारसी साम्राज्यको अधीनमा थियो। ईसापूर्व ५३० मा फारसी राजा कोरेसको मृत्युपछि क्याबिसेज राजा भए। तिनले मिश्रमाथि कब्जा गर्ने योजना बनाए। सायद इस्राएलीहरूको इलाका हुँदै मिश्रतर्फ अघि बढ्दै गर्दा तिनको सेनाले तिनीहरूसित जबरजस्ती खानेकुरा, पानी र बस्ने ठाउँ खोसेको हुन सक्छ। यसले गर्दा तिनीहरूको जीवन अझै कष्टकर भएको हुन सक्छ। क्याबिसेजपछि दारा राजा बने। उनको शासनको सुरुतिर विद्रोहको आगो सल्किएको थियो र राजनैतिक अस्थिरता छाएको थियो। यस्ता कठिन अवस्थाहरूले गर्दा यरुसलेम फर्केका थुप्रै यहुदीलाई आफ्नो परिवारको पालनपोषण कसरी गर्ने होला भनेर पक्कै चिन्ता लागेको हुनुपर्छ। अचानक आइपरेका कठिनाइहरूले गर्दा केही यहुदीलाई अहिले यहोवाको भवन बनाउने बेला अझै भएको छैन जस्तो लाग्यो।—हाग्गै १:२.
६. यहुदीहरूले अरू कस्तो कठिनाइको सामना गरे र जकरियाले तिनीहरूलाई कस्तो आश्वासन दिए? (जकरिया ४:६, ७)
६ जकरिया ४:६, ७ पढ्नुहोस्। यहुदीहरूले आर्थिक तथा राजनैतिक अस्थिरताका साथै खेदोको पनि सामना गर्नुपऱ्यो। ईसापूर्व ५२२ मा शत्रुहरू यहोवाको मन्दिर पुनर्निर्माण गर्ने काममा रोक लगाउन सफल भए। तर यहोवाले पवित्र शक्ति प्रयोग गरेर जुनसुकै बाधाअवरोध हटाउन सक्नुहुन्छ भनेर जकरियाले यहुदीहरूलाई आश्वासन दिए। ईसापूर्व ५२० मा राजा दाराले मन्दिरको काममाथि लगाइएको प्रतिबन्ध हटाए र यहुदीहरूलाई आर्थिक सहयोग गर्नुका साथै त्यस काममा मदत गर्न राज्यपालहरूलाई आदेश दिए।—एज्रा ६:१, ६-१०.
७. परमेश्वरको इच्छाअनुसार गर्नुलाई प्राथमिकता दिँदा यहुदीहरूले कस्ता आशिष्हरू पाए?
७ यहोवाले हाग्गै र जकरियामार्फत इस्राएलीहरूको ख्याल राख्ने प्रतिज्ञा गर्नुभयो तर त्यसको लागि तिनीहरूले मन्दिरको पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिनुपर्थ्यो। (हाग्गै १:८, १३, १४; जक. १:३, १६) ती भविष्यवक्ताहरूबाट प्रोत्साहन पाएर यहुदीहरूले ईसापूर्व ५२० मा मन्दिर बनाउने काम फेरि सुरु गरे र पाँच वर्षभित्रै सकाए। अचानक गाह्रा परिस्थितिहरूको सामना गर्नुपरे पनि परमेश्वरको इच्छा गर्नुलाई प्राथमिकता दिएकोले यहोवाले तिनीहरूलाई भौतिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि मदत गर्नुभयो। नतिजास्वरूप तिनीहरूले खुसी हुँदै यहोवाको उपासना गरे।—एज्रा ६:१४-१६, २२.
परमेश्वरको इच्छाअनुसार गर्नुलाई प्राथमिकता दिइरहनुहोस्
८. हाग्गै २:४ का शब्दहरूले परमेश्वरको इच्छाअनुसार गर्नुलाई प्राथमिकता दिइरहन कसरी मदत गर्न सक्छ? (फुटनोट पनि हेर्नुहोस्।)
८ महासङ्कष्ट एकदम नजिकै भएकोले सुसमाचार सुनाउने आज्ञा पालन गर्नु जरुरी छ भनेर हामीले बुझेका छौँ। (मर्कु. १३:१०) तर हामी साक्षीकार्यमा विरोध वा आर्थिक कठिनाइको सामना गर्दै छौँ भने साक्षीकार्यलाई प्राथमिकता दिन गाह्रो हुन सक्छ। हामी कसरी राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिन सक्छौँ? “सेनाहरूका यहोवा”b हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भएर। हामीले आफ्नो इच्छालाई नभई राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिइरह्यौँ भने उहाँले हामीलाई साथ दिइरहनुहुनेछ। त्यसैले हामी कुनै कुरादेखि डराउनुपर्दैन।—हाग्गै २:४ पढ्नुहोस्।
९-१०. एक दम्पतीले मत्ती ६:३३ का कुराहरू कसरी अनुभव गरे?
९ अग्रगामी सेवा गरिरहेको दम्पती ओलेग र इरिनाकोc अनुभव विचार गरौँ। तिनीहरू अर्को इलाकाको मण्डलीलाई मदत गर्न बसाइँ सरे। त्यस देशको आर्थिक अवस्था झन्झन् बिग्रँदै गएकोले तिनीहरूले आफ्नो जागिर गुमाए। तिनीहरूले लगभग एक वर्षसम्म स्थायी जागिर पाउन सकेनन्। तर तिनीहरूले निरन्तर यहोवाको साथ पाएको महसुस गरे र बेलाबेलामा भाइबहिनीबाट सहयोग पनि पाए। अचानक समस्या आइपर्दा तिनीहरूले के गरे? सुरुमा त ओलेग एकदमै निराश भएका थिए। तिनी भन्छन्: “साक्षीकार्यमा सक्दो धेरै समय बिताउने कोसिस गरेकोले सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गरिरहन सक्यौँ।” तिनीहरू साक्षीकार्यमा व्यस्त भइरहे र काम पनि खोजिरहे।
१० एकदिन साक्षीकार्यबाट घर फर्कँदा तिनीहरूले आफ्नो घरबाहिर दुई झोला खानेकुरा देखे। एक जना मिल्ने साथीले करिब १६० किलोमिटर यात्रा गरेर त्यो खानेकुरा ल्याइदिएका रहेछन् भनेर तिनीहरूले छिमेकीबाट थाह पाए। ओलेग भन्छन्: “त्यस दिन हामीले यहोवा अनि मण्डलीका भाइबहिनी हाम्रो कत्ति धेरै ख्याल राख्नुहुन्छ भनेर फेरि एकचोटि महसुस गर्न सक्यौँ। चाहे परिस्थिति जतिसुकै आशाविहीन किन नदेखियोस्, यहोवा आफ्ना सेवकहरूलाई कहिल्यै बिर्सनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ।”—मत्ति ६:३३.
११. हामीले यहोवाको इच्छाअनुसार गर्नुलाई प्राथमिकता दियौँ भने कुन कुरामा ढुक्क हुन सक्छौँ?
११ हामीले जीवन बचाउने साक्षीकार्यलाई प्राथमिकता दिएको यहोवा चाहनुहुन्छ। यहुदीहरूले १७ वर्षअघि नै मन्दिरको जग हालिसकेका थिए। तर अनुच्छेद ७ मा सिकेझैँ हाग्गैले तिनीहरूलाई १७ वर्षसम्म केही नगरी बसेको कुरालाई बिर्सेर नयाँ सुरुवात गर्न प्रोत्साहन दिए। त्यसो गरेमा यहोवाले तिनीहरूमाथि “आशिष् बर्साउने” प्रतिज्ञा गर्नुभयो। (हाग्गै २:१८, १९) हामीले पनि आफूलाई सुम्पिइएको कामलाई प्राथमिकता दियौँ भने उहाँले हाम्रो प्रयासमा पक्कै आशिष् दिनुहुनेछ।
यहोवामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ?
१२. एज्रा र तिनीसँगै फर्केका यहुदीहरूलाई किन बलियो विश्वासको खाँचो थियो?
१२ ईसापूर्व ४६८ मा एज्रा यहुदीहरूको दोस्रो समूहसितै बेबिलोनबाट यरुसलेम फर्के। त्यो यात्रा गर्न तिनीहरूलाई बलियो विश्वासको खाँचो थियो। तिनीहरू राजाले मन्दिरको लागि अनुदान दिएको प्रशस्तै सुन अनि चाँदी लिएर यात्रा गर्दै थिए। त्यसैले तिनीहरूलाई लुटेराहरूले आक्रमण गर्न सक्ने खतरा थियो। (एज्रा ७:१२-१६; ८:३१) साथै यरुसलेम सहर पनि सुरक्षित छैन भनेर तिनीहरूले थाह पाए। किनकि त्यहाँको बस्ती पातलो थियो अनि त्यहाँको पर्खाल र मूलढोकाहरू पनि जीर्ण अवस्थामा थिए। यहोवामाथिको भरोसालाई बलियो बनाउने सन्दर्भमा एज्राबाट कस्तो पाठ सिक्न सक्छौँ?
१३. एज्राले यहोवामाथिको भरोसालाई कसरी बलियो बनाए? (फुटनोट पनि हेर्नुहोस्।)
१३ परीक्षाको बेला यहोवाले आफ्ना जनहरूलाई साथ दिनुभएको एज्राले देखेका थिए। ईसापूर्व ४८४ मा राजा आहासुरसले फारसी साम्राज्यभरिका यहुदीहरूको नामोनिसान मेटाउने उर्दी जारी गर्दा तिनी सम्भवतः बेबिलोनमै थिए। (एस्त. ३:७, १३-१५) त्यतिबेला एज्रा र सबै यहुदीको ज्यान खतरामा थियो। त्यो उर्दी सुनेपछि “सबै प्रान्त”-का यहुदीहरू यत्ति चिन्तित भए कि तिनीहरूले मदतको लागि यहोवालाई पुकार्दै उपवास बसे र रुवाबासी गरे। (एस्त. ४:३) यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रच्नेहरू नै मारिएको देख्दा एज्रा र अरू यहुदीहरूले कस्तो महसुस गरे होलान्, कल्पना गर्नुहोस्। (एस्त. ९:१, २) ती चुनौतीपूर्ण अवस्थाहरूले एज्रालाई भविष्यमा आइपर्ने परीक्षाहरूको लागि तयार बनाएको हुन सक्छ। साथै यहोवासित आफ्ना जनहरूलाई जोगाउने क्षमता छ भन्ने कुरामाथिको भरोसालाई अझै बलियो बनाएको हुनुपर्छ।d
१४. यहोवाले ख्याल राख्नुभएको कुराबाट एक बहिनीले कस्तो पाठ सिकिन्?
१४ अचानक गाह्रो अवस्थाको सामना गर्नुपर्दा यहोवाले ख्याल राख्नुभएको अनुभव गरेका छौँ भने उहाँमाथिको हाम्रो भरोसा अझै बलियो हुन्छ। पूर्वी युरोपमा बस्ने आनास्तासियाको उदाहरण विचार गरौँ। तिनका सहकर्मीहरूले राजनैतिक मामिलामा तिनीहरूलाई साथ दिन जबरजस्ती गरेकोले तिनी जागिर छोड्न बाध्य भइन्। तिनी भन्छिन्: “मसँग अलि-अलि पैसा सधैँ हुन्थ्यो तर एक पैसा पनि नभएको त्यो पहिलो चोटि थियो। मैले त्यो मामिला यहोवाको हातमा छोडिदिएँ र उहाँले मायालु तरिकामा मेरो ख्याल राख्नुभएको अनुभव गरेँ। अब फेरि जागिर गुमाउनुपऱ्यो भने पनि म डराउनेछैनँ। यहोवा बुबाले आज मेरो ख्याल राख्नुभयो भने भोलि पनि पक्कै ख्याल राख्नुहुनेछ।”
१५. एज्राले कसरी यहोवामाथिको भरोसालाई बलियो बनाउन सके? (एज्रा ७:२७, २८)
१५ एज्राले यहोवाको साथ पाएको अनुभव गरे। विगतमा यहोवाले मदत गर्नुभएको आफ्नै अनुभवहरूमा मनन गर्दा तिनले उहाँमाथिको भरोसालाई अझै बलियो बनाउन पक्कै मदत पाए। ‘यहोवाको हात ममाथि रह्यो’ भन्ने अभिव्यक्तिलाई ध्यान दिनुहोस्। (एज्रा ७:२७, २८ पढ्नुहोस्।) एज्राको किताबमा ‘यहोवाको हात ममाथि रह्यो’ वा यस्तै अर्थ दिने ‘परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो’ भन्ने अभिव्यक्ति छ चोटि प्रयोग गरिएको पाउँछौँ।—एज्रा ७:६, ९; ८:१८, २२, ३१.
हामीले कस्ता अवस्थाहरूमा यहोवाको साथ पाएको स्पष्टै देख्न सक्छौँ?(अनुच्छेद १६ हेर्नुहोस्)e
१६. हामीले कस्ता अवस्थाहरूमा यहोवाको साथ पाएको अनुभव गर्न सक्छौँ? (तस्बिर पनि हेर्नुहोस्।)
१६ चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवाले हामीलाई मदत गर्नुहुनेछ। जस्तै: हाकिमसित अधिवेशनको लागि छुट्टी माग्दा वा सभाहरू छुटाउनु नपरोस् भनेर आफ्नो काम गर्ने तालिकामा छाँटकाँट गरिदिन आग्रह गर्दा हामीले यहोवाको साथ पाएको अनुभव गर्ने मौका पाउँछौँ। यसरी यहोवामा भर पर्दा नतिजा हामीले सोचेभन्दा कता हो कता राम्रो हुन सक्छ। अनि यहोवामाथिको हाम्रो भरोसा पनि अझै बलियो हुनेछ।
एज्रा मानिसहरूको पापले गर्दा दुःखी हुन्छन् र मन्दिरमा रुँदै प्रार्थना गर्छन्। अनि भीडमा भएका मानिसहरू पनि रुन्छन्। त्यसपछि सेकन्याह एज्रालाई यसो भन्दै सान्त्वना दिन्छन्: “इस्राएलसित अझै एउटा आशा छ। . . . हामी तपाईँको साथमा छौँ।”—एज्रा १०:२, ४ (अनुच्छेद १७ हेर्नुहोस्)
१७. एज्राले चुनौतीपूर्ण अवस्थाहरूमा कसरी नम्रता देखाए? (आवरण चित्र हेर्नुहोस्।)
१७ एज्राले नम्र हुँदै मदतको लागि यहोवालाई बिन्ती गरे। आफ्ना जिम्मेवारीहरूले गर्दा चिन्तित हुँदा एज्राले प्रत्येक चोटि नम्र भई यहोवालाई बिन्ती गरे। (एज्रा ८:२१-२३; ९:३-५) तिनको यस्तो मनोभाव देखेर अरू पनि तिनलाई साथ दिन र तिनको विश्वासको अनुकरण गर्न उत्प्रेरित भए। (एज्रा १०:१-४) आफ्नो भौतिक आवश्यकता कसरी पूरा गर्ने होला वा परिवारलाई कसरी सुरक्षित राख्ने होला भनेर हामीलाई पनि चिन्ता लाग्न सक्छ। त्यस्तो बेला यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा ढुक्क भई उहाँलाई बिन्ती गर्नुपर्छ।
१८. यहोवामाथिको भरोसालाई अझ बलियो बनाउन हामीलाई केले मदत गर्न सक्छ?
१८ हामीले नम्र भई यहोवासित मदत माग्यौँ र भाइबहिनीको साथ स्विकाऱ्यौँ भने उहाँमाथिको हाम्रो भरोसा अझ बलियो हुनेछ। तीन जना छोराछोरीकी आमा एरिकाले मुटु नै छियाछिया हुने अवस्थाको सामना गर्नुपऱ्यो। त्यस्तो गाह्रो अवस्थामा समेत तिनले यहोवामाथिको भरोसालाई बलियो बनाइराखिन्। तिनले छोटो समयको अन्तरालमै आफ्नो गर्भमा रहेको बच्चा र आफ्नो प्यारो पतिलाई गुमाइन्। ती दिनहरू सम्झँदै तिनी यसो भन्छिन्: “यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर पहिल्यै थाह हुँदैन। उहाँले हामीलाई आशै नगरेका तरिकाहरूमा मदत गर्नुहुन्छ। मैले आफ्ना थुप्रै प्रार्थनाको जवाफ भाइबहिनीको बोली र व्यवहारबाट पाएकी छु। मैले भाइबहिनीलाई आफ्नो मनको कुरा खुलेर बताएँ भने उहाँहरूलाई पनि मलाई मदत गर्न सजिलो हुन्छ।”
अन्तसम्मै यहोवालाई भरोसा गरिरहनुहोस्
१९-२०. यरुसलेम फर्कन नसकेका यहुदीहरूबाट हामी के सिक्न सक्छौँ?
१९ यरुसलेम फर्कन नसकेका यहुदीहरूबाट पनि हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। तिनीहरूमध्ये केही वृद्धावस्था, गम्भीर रोग वा पारिवारिक जिम्मेवारीहरूले गर्दा यरुसलेम फर्कन नसकेका हुन सक्छन्। तैपनि तिनीहरूले यरुसलेम जाने यहुदीहरूलाई स्वेच्छाले अनुदान दिएर मदत गरे। (एज्रा १:५, ६) यहुदीहरूको पहिलो समूह यरुसलेम फर्केको लगभग १९ वर्षपछि पनि बेबिलोनमा रहेका यहुदीहरूले स्वेच्छाले अनुदान पठाइरहेका थिए जस्तो देखिन्छ।—जक. ६:१०.
२० हामीले यहोवाको सेवामा आफूले चाहेजति गर्न सकेका छैनौँ होला। तर हामीले मनैदेखि गरेको सेवाको यहोवा कदर गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। हामी किन यसो भन्न सक्छौँ? यहोवाले जकरियालाई बेबिलोनको निर्वासनमा रहेकाहरूले पठाएको सुन र चाँदीबाट एउटा मुकुट बनाउनू भन्नुभयो। (जक. ६:११) त्यो “भव्य मुकुट” तिनीहरूले उदार भएर दिएको अनुदानको “चिनो” हुने थियो। (जक. ६:१४, फुटनोट) हामीले गाह्रो अवस्थामा पनि तनमनले गरेको सेवा यहोवा कहिल्यै बिर्सनुहुन्न भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ।—हिब्रू ६:१०.
२१. जस्तोसुकै अवस्थामा यहोवामाथि भरोसा गरिरहन केले मदत गर्नेछ?
२१ यस अन्तको दिनमा हामीले अचानक कठिन अवस्थाहरूको सामना गर्नुपर्ने हुन सक्छ र अवस्था झन्झनै खराब हुन सक्छ। (२ तिमो. ३:१, १३) तर हामीले अचाक्ली चिन्ता गर्नुपर्दैन। यहोवाले हाग्गैको समयमा आफ्ना मानिसहरूलाई भन्नुभएका शब्दहरू मनमा राख्नुहोस्: “म तिमीहरूको साथमा छु, . . . तिमीहरू नडराओ।” (हाग्गै २:४, ५) यहोवाको इच्छाअनुसार गर्न सक्दो कोसिस गऱ्यौँ भने उहाँ पक्कै हाम्रो साथमा हुनुहुनेछ। हाग्गै र जकरियाका भविष्यवाणीहरू अनि एज्राको उदाहरणबाट सिकेका पाठहरू लागू गर्ने कोसिस गरौँ। यसो गऱ्यौँ भने अचानक गाह्रा परिस्थितिहरूको सामना गर्नुपरे पनि यहोवामाथिको हाम्रो भरोसा ढलपल हुनेछैन।
गीत १२२ स्थिर र अटल बस!
a यस लेखले आर्थिक कठिनाइ, राजनैतिक अस्थिरता वा साक्षीकार्यमा विरोधको सामना गर्नुपर्दा यहोवामाथिको हाम्रो भरोसालाई बलियो बनाइराख्न मदत गर्नेछ।
b हाग्गैको किताबमा “सेनाहरूका यहोवा” भन्ने अभिव्यक्ति १४ पटक प्रयोग गरिएको छ। यसले यहुदीहरूलाई यहोवासित असीमित शक्ति छ र स्वर्गदूतहरूको विशाल सेना उहाँको अधीनमा छ भन्ने कुरा सम्झाउँथ्यो। यस अभिव्यक्तिबाट आज हामी पनि प्रोत्साहन पाउन सक्छौँ।—भज. १०३:२०, २१.
c केही नाम परिवर्तन गरिएका छन्।
d एज्रा व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु थिए। यसले गर्दा तिनले यरुसलेमको यात्रा गर्नुअघि नै यहोवाका भविष्यवाणीहरूमाथिको भरोसालाई बलियो बनाउन सकेका थिए।—२ इति. ३६:२२, २३; एज्रा ७:६, ९, १०; यर्मि. २९:१४.
e तस्बिरको व्याख्या: एक भाइ अधिवेशनको लागि हाकिमसित छुट्टी माग्छन् तर हाकिमले छुट्टी दिँदैनन्। तिनी फेरि हाकिमकहाँ जानुअघि मदत र डोऱ्याइको लागि प्रार्थना गर्छन्। तिनी हाकिमलाई अधिवेशनको निम्तोपर्ची देखाउँदै बाइबलको शिक्षाको महत्त्वबारे बताउँछन्। हाकिमलाई तिनको कुरा मन पर्छ र तिनलाई छुट्टी दिन्छन्।