प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 अगस्त pp. २६-२८
  • विश्‍वास—हामीलाई बल दिने गुण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास—हामीलाई बल दिने गुण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास भनेको के हो?
  • मनको अवस्था राम्रो हुनु जरुरी छ
  • दाउदले कसरी बलियो विश्‍वास विकास गरे?
  • तपाईँ आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?
  • येसुमाथि विश्‍वास गर्नुहोस्‌
  • ‘आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाउनुहोस्‌’
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “विश्‍वासमा दह्रो भएर बस”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 अगस्त pp. २६-२८

विश्‍वास—हामीलाई बल दिने गुण

  • प्रेम

  • आनन्द

  • शान्ति

  • धीरज

  • दया

  • भलाइ

  • विश्‍वास

  • नम्रता

  • आत्मसंयम

विश्‍वासले हामीलाई अथाह शक्‍ति दिन्छ। उदाहरणको लागि, सैतान हामीलाई आध्यात्मिक रूपमा मार्न चाहन्छ तर विश्‍वासले हामीलाई “त्यस दुष्टका सबै अग्निबाण निभाउन” सक्षम बनाउँछ। (एफि. ६:१६) विश्‍वासले गर्दा हामी पहाडरूपी समस्याहरूको समेत सामना गर्न सक्छौँ। येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ।” (मत्ति १७:२०) विश्‍वासले हामीलाई आध्यात्मिक रूपमा बलियो पार्न सक्ने भएकोले हामीले यी प्रश्‍नहरूबारे विचार गर्नु उपयुक्‍त छ: विश्‍वास भनेको के हो? हाम्रो मनको अवस्थाले हाम्रो विश्‍वासमा कस्तो प्रभाव पार्छ? हामी आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्छौँ? अनि हामीले कसमाथि विश्‍वास गर्नुपर्छ?—रोमी ४:३.

विश्‍वास भनेको के हो?

विश्‍वास भनेको बाइबलमा बताइएको कुरा सत्य हो भनेर पत्याउनु वा त्यसलाई स्विकार्नु मात्र होइन। किनकि “प्रेतहरू पनि [परमेश्‍वर हुनुहुन्छ भनेर] विश्‍वास गर्छन्‌ अनि थरथर काँप्छन्‌।” (याकु. २:१९) त्यसोभए विश्‍वास भनेको के हो त?

बाहिरी अन्तरिक्षबाट देखिने पृथ्वी

रातपछि दिन अनि दिनपछि रात आउँछ भनेर हामीले शङ्‌का नगरेजस्तै परमेश्‍वरको वचन सधैँ पूरा हुन्छ भन्‍ने कुरामा पनि कहिल्यै शङ्‌का गर्दैनौँ

बाइबलले विश्‍वासको परिभाषा दिँदा त्यसको दुई वटा पक्षबारे बताएको छ। पहिलो, “विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु” हो। (हिब्रू ११:१क) यदि तपाईँमा विश्‍वास छ भने तपाईँ यहोवाले भन्‍नुभएको सबै कुरा सत्य हुन्‌ र ती पूरा हुनेछन्‌ भनेर पूर्ण रूपमा भरोसा गर्नुहुन्छ। जस्तै, यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्‌न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ? सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ।” (यर्मि. ३३:२०, २१) के तपाईँलाई सूर्य उदाउन र अस्ताउन छोड्‌ला अनि दिन र रातको अस्तित्व नै नरहला भनेर कहिल्यै डर लाग्छ र? पृथ्वीलाई आफ्नो अक्षमा घुम्दै सूर्यको परिक्रमा गर्न लगाउने प्राकृतिक नियमहरूमा त तपाईँ शङ्‌का गर्नुहुन्‍न भने ती नियमहरू बनाउनुहुने परमेश्‍वरले आफ्नो वचन पूरा नगर्नुहोला भनेर शङ्‌का गर्नुपर्छ र? पक्कै पर्दैन!—यसै. ५५:१०, ११; मत्ति ५:१८.

दोस्रो, विश्‍वास भनेको “अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।” विश्‍वासलाई हाम्रो आँखाले देख्न नसकिने तर वास्तविक कुराहरूको “स्पष्ट प्रमाण” वा “ठोस प्रमाण” भनेर परिभाषित गरिएको छ। (हिब्रू ११:१ख; फुटनोट) कुन अर्थमा? मानौँ एउटा बच्चाले तपाईँलाई यसरी सोध्यो: ‘हावा छ भनेर तपाईँलाई कसरी थाह भयो?’ हुनत तपाईँले हावा कहिल्यै देख्नुभएको छैन तैपनि तपाईँ हावाको अस्तित्व छ भनेर देखाउने प्रमाणहरूको आधारमा ऊसित तर्क गर्नुहुन्छ होला, जस्तै: हामी सास फेर्न सक्छौँ, हावाको असर देख्न सक्छौँ र अन्य त्यस्तै। यस्ता प्रमाणहरू चित्त बुझेपछि त्यो बच्चाले हावा देख्न नसके तापनि त्यसको अस्तित्व छ भनेर स्विकार्छ। त्यसैगरि विश्‍वास पनि ठोस प्रमाणमा आधारित हुन्छ।—रोमी १:२०.

मनको अवस्था राम्रो हुनु जरुरी छ

विश्‍वास प्रमाणहरूमा आधारित हुन्छ। त्यसकारण कुनै मानिससित विश्‍वास हुनको लागि उसले सबैभन्दा पहिला “सत्यको सही ज्ञान” लिनै पर्छ। (१ तिमो. २:४) तर त्यति मात्र पर्याप्त छैन। प्रेषित पावलले भने: “मनदेखि विश्‍वास गरेर मानिस धर्मी ठहरिन्छ।” (रोमी १०:१०) कुनै मानिसले बाइबलको कुरा सत्य हो भनी मानिलिएर मात्र पुग्दैन, उसले त्यसको मोल पनि गर्नुपर्छ। तब मात्र ऊ आफ्नो विश्‍वास कामद्वारा प्रकट गर्न अर्थात्‌ सत्यअनुसार जीवन बिताउन उत्प्रेरित हुन्छ। (याकु. २:२०) कुनै मानिस सत्यप्रति मनैदेखि कृतज्ञ छैन भने ऊ आफ्नो पहिल्यैदेखिको विचारधारामै ढिपी गरेर बस्छ वा आफ्नो शरीरका कुइच्छाहरू पूरा गर्न बहाना बनाउँछ। त्यसैले उसले “स्पष्ट प्रमाण”-लाई समेत तिरस्कार गर्न सक्छ। (२ पत्रु. ३:३, ४; यहु. १८) यही कारणले गर्दा पुरातन समयमा चमत्कारहरू देख्ने सबैले नै विश्‍वास गर्न सकेनन्‌। (गन्ती १४:११; युह. १२:३७) यदि कसैले सत्यलाई मनैदेखि प्रेम गर्छ भने मात्र परमेश्‍वरको पवित्र शक्‍तिले उसमा विश्‍वास उत्पन्‍न गराउँछ।—गला. ५:२२; २ थिस्स. २:१०, ११.

दाउदले कसरी बलियो विश्‍वास विकास गरे?

बलियो विश्‍वास भएका मानिसहरूमध्ये एक जना राजा दाउद पनि हुन्‌। (हिब्रू ११:३२, ३३) तर दाउदको परिवारका सबैसित त्यस्तो बलियो विश्‍वास थिएन। जस्तै, एकचोटि गोल्यतले दिएको चुनौतीबारे दाउदले बुझ्न खोज्दा उनका जेठा दाइ एलिआबले उनलाई हप्काए; यसरी तिनले आफूमा विश्‍वासको कमी भएको देखाए। (१ समु. १७:२६-२८) कोही पनि विश्‍वाससहित जन्मेको हुँदैन र यो आमाबुबाबाट वंशानुगत रूपमा पाइने गुण पनि होइन। त्यसैले परमेश्‍वरसित राम्रो सम्बन्ध गाँसेकोले नै दाउदले आफूमा विश्‍वास विकास गर्न सकेका थिए।

भजन अध्याय २७ मा दाउदले आफूमा त्यस्तो बलियो विश्‍वास हुनुको कारण बताएका छन्‌। (पद १) दाउदले विगतमा आफूले अनुभव गरेका कुराहरूमा र यहोवाले उनका शत्रुहरूसित गर्नुभएको व्यवहारमा मनन गरे। (पद २, ३) उनी यहोवाको उपासनास्थलको अत्यन्तै मोल गर्थे। (पद ४) दाउदले यहोवाका अरू उपासकहरूसित मिलेर वासस्थानमा उहाँको उपासना गरे। (पद ६) उनले यहोवालाई व्यग्र प्रार्थना गरे। (पद ७, ८) उनी यहोवाबाट सिक्न र उहाँको मार्गमा हिँड्‌न पनि इच्छुक थिए। (पद ११) दाउदको लागि यो गुण यत्ति महत्त्वपूर्ण थियो कि उनले यस्तो आलङ्‌कारिक प्रश्‍न सोधे: “विश्‍वास ममा नहुँदो हो त म अहिले कहाँ हुने थिएँ?”—पद १३.

तपाईँ आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ?

भजन अध्याय २७ मा व्याख्या गरिएको दाउदको मानसिक झुकाव र बानी आफूमा विकास गर्नुभयो भने तपाईँ पनि दाउदको जस्तै विश्‍वास खेती गर्न सक्नुहुन्छ। विश्‍वास सही ज्ञानमा आधारित हुने भएकोले तपाईँ परमेश्‍वरको वचन र बाइबलआधारित प्रकाशनहरू जत्ति धेरै अध्ययन गर्नुहुन्छ, पवित्र शक्‍तिको फलको यो पक्ष आफूमा विकास गर्न तपाईँलाई त्यत्ति नै सजिलो हुनेछ। (भज. १:२, ३) अध्ययन गर्दा मनन गर्न पनि समय छुट्ट्याउनुहोस्‌। मनन भनेको माटोजस्तै हो अनि कृतज्ञता चाहिँ त्यो माटोमा हुर्कने बिरुवाजस्तै हो। त्यसैले यहोवाप्रति तपाईँको कृतज्ञता जत्ति धेरै बढ्‌छ, आफ्नो विश्‍वास प्रकट गर्ने तपाईँको इच्छा पनि त्यत्ति नै बलियो हुन्छ। यहोवाको उपासना गर्न मण्डलीका सभाहरूमा उपस्थित भएर अनि आफ्नो आशाबारे अरूलाई बताएर हामी विश्‍वास प्रकट गर्छौँ। (हिब्रू १०:२३-२५) साथै निरन्तर ‘प्रार्थना गर्छौँ र कहिल्यै हरेस खाँदैनौँ’ भने पनि हामीले आफ्नो विश्‍वास प्रकट गरिरहेका हुन्छौँ। (लुका १८:१-८) त्यसैले यहोवाले तपाईँको “ख्याल राख्नुहुन्छ” भन्‍ने कुरामा भरोसा गर्दै उहाँलाई “निरन्तर प्रार्थना” गर्नुहोस्‌। (१ थिस्स. ५:१७; १ पत्रु. ५:७) विश्‍वासले हामीलाई कदम चाल्न उत्प्रेरित गर्छ अनि हामीले चालेको कदमले हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ।—याकु. २:२२.

येसुमाथि विश्‍वास गर्नुहोस्‌

आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “परमेश्‍वरमाथि विश्‍वास गर अनि ममाथि पनि विश्‍वास गर।” (युह. १४:१) त्यसैले हामीले यहोवामाथि मात्र होइन, येसुमाथि पनि विश्‍वास गर्नुपर्छ। तपाईँ येसुमाथि कसरी विश्‍वास गर्न सक्नुहुन्छ? आउनुहोस्‌, तीन वटा तरिका विचार गरौँ।

येसु आफ्ना ११ जना वफादार प्रेषितहरूसित

येसुमाथि विश्‍वास गर्नुको अर्थ के हो?

पहिलो, फिरौतीको बलिदान परमेश्‍वरले ‘मेरै लागि दिनुभएको उपहार हो’ भनेर स्विकार्नुहोस्‌। प्रेषित पावलले यसो भने: “अहिले म जुन जीवन बिताइरहेको छु, त्यो परमेश्‍वरको छोरामाथि विश्‍वास गरेर बिताउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।” (गला. २:२०) तपाईँ येसुमाथि विश्‍वास गर्नुहुन्छ भने यी कुराहरूमा पूर्णतया विश्‍वस्त हुनुहुनेछ: फिरौतीको बलिदानले तपाईँलाई लाभ पुऱ्‍याउँछ, यस बलिदानको आधारमा तपाईँ आफ्ना पापहरूको क्षमा पाउन सक्नुहुन्छ, यसले तपाईँलाई अनन्त जीवनको आशा दिन्छ र यो परमेश्‍वर तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुराको सबैभन्दा ठूलो प्रमाण हो। (रोमी ८:३२, ३८, ३९; एफि. १:७) यस्तो विश्‍वस्तताले तपाईँलाई आफूप्रतिको नकारात्मक भावनाहरू काबूमा राख्न बल दिन्छ।—२ थिस्स. २:१६, १७.

दोस्रो, येसुको बलिदानको आधारमा यहोवालाई प्रार्थना गरेर उहाँको नजिक जानुहोस्‌। फिरौतीको बलिदानले गर्दा हामी यहोवालाई “निर्धक्क भई बोल्ने साहसका साथ” प्रार्थना गर्न सक्छौँ “ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।” (हिब्रू ४:१५, १६; १०:१९-२२) पाप गर्न लगाउने प्रलोभनलाई तिरस्कार गर्ने हाम्रो सङ्‌कल्पलाई प्रार्थनाले बलियो बनाउँछ।—लुका २२:४०.

तेस्रो, येसुप्रति आज्ञाकारी हुनुहोस्‌। प्रेषित युहन्‍नाले यस्तो लेखे: “जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन तर ऊमाथि परमेश्‍वरको क्रोध आइपर्नेछ।” (युह. ३:३६) याद गर्नुहोस्‌, युहन्‍नाले विश्‍वासको उल्टो अनाज्ञाकारिता हो भनी उल्लेख गरे। त्यसैले येसुको आज्ञा पालन गरेर तपाईँ उहाँमाथि विश्‍वास गरेको कुरा देखाउन सक्नुहुन्छ। तपाईँ “ख्रिष्टको व्यवस्था”-अनुसार चलेर अर्थात्‌ येसुले सिकाउनुभएको र आज्ञा गर्नुभएको सबै कुरा पालन गरेर येसुप्रति आज्ञाकारी हुन सक्नुहुन्छ। (गला. ६:२) येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत दिनुहुने निर्देशनअनुसार चलेर पनि तपाईँ उहाँप्रति आज्ञाकारी हुन सक्नुहुन्छ। (मत्ति २४:४५) यदि तपाईँ येसुप्रति आज्ञाकारी हुनुहुन्छ भने आँधीबेहरीरूपी समस्याहरू सहन सक्षम हुनुहुनेछ।—लुका ६:४७, ४८.

‘आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाउनुहोस्‌’

एकचोटि एक जना मानिसले येसुलाई ठूलो स्वरमा यस्तो बिन्ती गरे: “मसित विश्‍वास छ! तर मेरो विश्‍वासलाई अझै बलियो बनाइदिनुहोस्‌!” (मर्कु. ९:२४) ती मानिससित केही हदसम्म विश्‍वास थियो र तिनले नम्र हुँदै आफूलाई अझ धेरै विश्‍वासको खाँचो छ भनी स्विकारे। ती मानिसलाई जस्तै हामी सबैलाई जीवनको कुनै न कुनै क्षणमा अझ धेरै विश्‍वासको आवश्‍यकता पर्नेछ। तर हामी सबै जना अहिल्यै आफ्नो विश्‍वास बलियो बनाउन सक्छौँ। माथि छलफल गरिएझैँ हामीले परमेश्‍वरको वचन अध्ययन गर्दा र त्यसमा मनन गर्दा यहोवाप्रतिको हाम्रो कृतज्ञता अझ धेरै बढ्‌छ अनि नतिजास्वरूप हाम्रो विश्‍वास बलियो हुन्छ। हामीले आफ्नो दाजुभाइ दिदीबहिनीसित मिलेर यहोवाको उपासना गर्दा, आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्दा र निरन्तर प्रार्थना गर्दा पनि हाम्रो विश्‍वास अझ बलियो हुन्छ। साथै हामीले आफ्नो विश्‍वास बलियो बनाउँदा सबैभन्दा ठूलो इनाम पाउनेछौँ। परमेश्‍वरको वचन हामीलाई यस्तो आग्रह गर्छ: ‘हे प्रियहरू हो, तिमीहरूचाहिँ आफ्नो अतिपवित्र विश्‍वासलाई बलियो बनाओ ताकि तिमीहरूले आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक।’—यहु. २०, २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने