के तपाईंलाई बिमाको आवश्यकता छ?
कुनै कुनै मुलुकमा केही प्रकारका बिमा गर्नु अनिवार्य हुन्छ। अरू कतिपय मुलुकमा त मानिसहरूलाई बिमाबारे केही थाहै छैन भने पनि हुन्छ। यसको अतिरिक्त, बिमा शुल्क र क्षतिपूर्ति दिने व्यवस्था पनि मुलुकअनुसार फरक फरक हुन्छन्। तर बिमाको आधारभूत सिद्धान्त भने एउटै हुन्छ अर्थात् सामूहिक तवरमा खतरा बेहोर्नु।
मानिसको जति धेरै सम्पत्ति हुन्छ, नोक्सानी हुने खतरा पनि त्यतिनै बढी हुनु त स्वाभाविकै हो। त्यसै गरी, एक जना मानिसको जति धेरै पारिवारिक जिम्मेवारी हुन्छ, उसको मृत्यु भएमा वा ऊ अपांग भएमा उसको परिवारले त्यति नै धेरै क्षति भोग्नुपर्ने हुन्छ। सम्पत्तिको नोक्सानी वा अपांग हुनसक्ने चिन्तालाई बिमाले कम गराउनसक्छ।
यद्यपि, क्षतिपूर्तिको माग कहिल्यै गर्नु नपरे तापनि के बिमा गर्न पैसा खर्च गर्नु बुद्धिमानी हो? जस्तै, जगेडा टायरको कहिल्यै आवश्यकता नपर्ला तर के एउटा टायर जगेडा राख्नु पैसा खेर फाल्नु हो र? सुरक्षालाई ध्यानमा राख्दै चालकलाई जगेडा टायरको लागि पैसा खर्च गर्न उचित लागेको हुनसक्छ। आर्थिक क्षतिपूर्तिले केही विशेष क्षतिहरूको क्षतिपूर्ति दिन नसके तापनि अन्य क्षतिहरूको भने क्षतिपूर्ति दिनसक्छन्।
बिमा नीतिले कस्ता नोक्सानीहरूको क्षतिपूर्ति दिन्छ?
विभिन्न किसिमका बिमा
व्यक्तिविशेषले गर्ने बिमाको आधारमा बिमालाई सम्पत्ति, दायित्व, स्वास्थ्य, अंगभग तथा जीवन बिमाजस्ता वर्गहरूमा विभाजन गर्न सकिन्छ।
सम्पत्ति बिमा: जोखिम कम गराउने सबैभन्दा सरल उपाय नै घर, व्यापार, गाडी वा आफ्नो स्वामित्वमा रहेका अन्य चल अचल सम्पत्तिहरूको हानि नोक्सानी विरुद्ध बिमा गराउनु हो। अगाडिको लेखमा उल्लिखित जोनले आफ्नो फर्निचर कारखाना तथा ज्याबलहरूको यस्तै प्रकारको बिमा नगर्ने निर्णय गरेका थिए।
कुनै कुनै बिमा नीतिले घरभित्रका केही खास खास वस्तुलाई पनि समावेश गर्छ। यदि तपाईंले यस्तो प्रकारको बिमा गर्नुभएको छ भने आफ्नो घरका बिमाकृत वस्तुहरूको सूची बनाउनु बुद्धिमानी हुन्छ। सम्भव भए यस्ता वस्तुहरूको भिडियोटेप वा फोटो खिचेर राख्नु बेस हो। बिमाकृत वस्तुहरूको मूल्यांकन वा रसिदको सूची आफ्नो घरमा नराखी अरू कुनै सुरक्षित ठाउँमा राख्नुपर्छ। यी रेकर्डहरू छन् भने आफूले पाउनु पर्ने क्षतिपूर्ति दाबी गर्न धेरै सजिलो हुन्छ।
दायित्व बिमा: सवारी चालक, घर वा जग्गा जमिन हुने व्यक्ति, व्यवसाय चलाउने वा कर्मचारीहरूलाई काममा लगाउने उद्योगपतिले दुर्घटनाको जोखिमपूर्ण दायित्व बोकिरहेको हुन्छ। अनि त्यो दुर्घटनाले सम्पत्तिको नाश गर्नसक्छ भने कुनै व्यक्ति त्यसमा परी घाइते हुन वा मर्न पनि सक्छ। क्षतिग्रस्त सरसम्पत्तिको मर्मत वा औषधोपचारका साथै अरूको पीडा र दुःखको क्षतिपूर्ति दिने दायित्व समेत मोटर चालक वा सम्पत्तिको मालिक वा व्यवसाय मालिकको हुनसक्छ। धेरैजसो मुलुकहरूमा मालिक तथा चालकहरूले यस्ता खर्चहरू बेहोर्न दायित्व बिमा अनिवार्य रूपमा गर्नै पर्ने कानुनी प्रावधान छ। बिमा गर्नु पर्ने कानुनी आवश्यकता नभएका अन्य कतिपय मुलुकहरूमा पनि दुर्घटनामा परी घाइते भएका व्यक्ति वा तिनको परिवारलाई चालक वा सम्पत्तिको मालिकले कानुनी वा नैतिक तवरमा मदत गर्नुपर्ने हुनसक्छ।
स्वास्थ्य बिमा: अधिकांश मुलुकहरूमा सरकारले नै प्रायोजन गरेका केही बिमा हुन्छन् र यस्ता सुविधाहरू मुलुकका वृद्ध नागरिकहरूले निवृत्तिभरण र स्वास्थ्य उपचारको रूपमा पाउने गर्छन्। तथापि, यस्तो व्यवस्था भएको ठाउँमै पनि यस्ता बिमाले औषधोपचारको केही अंश वा निर्धारित खर्च मात्र बेहोर्ने गर्छन्। त्यसैकारण, कोही व्यक्तिहरू बाँकी खर्च बेहोर्न थप निजी बिमा गर्ने गर्छन्। धेरै मुलुकमा कर्मचारीहरूले आफ्नो नोकरीको अवस्थाअनुसार स्वास्थ्य बिमाको सुविधा पाउँछन्।
कुनै कुनै स्वास्थ्य सेवा योजना जस्तै, व्यवस्थित सेवा प्रबन्ध तथा स्वास्थ्य स्याहार संगठनले (एच एम ओ) मासिक वा वार्षिक रूपमा निर्धारित शुल्क लिई सबै स्वास्थ्य उपचार प्रदान गर्ने गर्छन्। यस्ता संगठनहरूले कम खर्चिलो स्वास्थ्य उपचार तथा रोगनिरोधक औषधीहरू दिएर खर्च कम गर्ने प्रयास गर्छन्। यद्यपि, चलनचल्तीको स्वास्थ्य बिमाको तुलनामा एच एम ओ-मा बिरामीहरूले उपचारविधि वा डाक्टर छनौट गर्ने प्रबन्ध सीमित मात्रामा मात्र पाउनसक्छ।
अंगभंग र जीवन बिमा: यदि कुनै व्यक्ति घाइते भएर काम गर्न नसकेमा अंगभंग बिमाले केही रकम दिने गर्छ। जीवन बिमा गर्ने व्यक्तिको कारणवश मृत्यु भएमा त्यस व्यक्तिमा आश्रित हुनेहरूलाई जीवन बिमाले आर्थिक सहयोग दिने गर्छ। यस्तो प्रकारको बिमाले परिवारको अन्नदाता घाइते भएमा वा मरेमा धेरै परिवारलाई ऋण तिर्न र जीवन धान्न सक्ने बनाउँछ।
भरपर्दो बिमाकर्ता खोज्ने
भविष्यमा आर्थिक सुरक्षा पाउन अहिले पैसा तिर्ने भन्ने सिद्धान्तमा बिमा आधारित छ। तसर्थ, बिमा व्यवसायले धेरै ठगहरूलाई पनि मौका दिनु कुनै अचम्मलाग्दो कुरा होइन। विकसित एवम् विकासोन्मुख अर्थतन्त्रमा यस्तै हुने गर्छ। त्यसैकारण, सस्तो मूल्यमा बिमा सेवा प्रदान गर्ने तथाकथित बिमा कम्पनीहरू र कुनै पनि शंकास्पद बिमा योजनाहरूबाट सतर्क हुनु बुद्धिमानी हो। केही बिमा कम्पनीहरूले आफ्नो नीतिअनुरूप क्षतिपूर्ति तिर्न नसक्दा वा विना सूचना बेपत्ता हुँदा धेरै ग्राहकहरू ठगिएका छन्!
कुनै महत्त्वपूर्ण वस्तु किन्दा पसल पसल चहारेर भाउ बुझेझैं विभिन्न बिमा कम्पनीमा सोधपुछ गर्नु बुद्धिमानी हो र यसो गर्दा पैसा जोगिन्छ। उदाहरणका लागि, केही कम्पनीहरूले धूम्रपान नगर्नेहरूलाई स्वास्थ्य बिमा र ड्राइभिङ शिक्षा उत्तीर्ण गरेकाहरूलाई गाडीको बिमा कम मूल्यमा दिनसक्छन्। बिमा गर्न चाहने व्यक्तिले कसरी भरपर्दो बिमा कम्पनी खोज्न सक्छ?
पहिलो कदम त, विभिन्न बिमा कम्पनी वा एजेन्टहरूबारे अरूको के कस्ता अनुभव छन्, त्यसबारे पत्ता लगाउन सकिन्छ। साथी तथा छिमेकीहरूलाई कुनै कुनै बिमा कम्पनी वा एजेन्टहरूको सेवा, इमानदारीता, प्रतिष्ठा र व्यक्तिगत चासोबारे थाह हुनसक्छ। समस्या झेलिरहेका बिमा कम्पनीबारे समाचार छापिएका छन् भने त्यसबारे सतर्क हुनु पनि राम्रो हो।
यसको अतिरिक्त, कम्पनीको रेकर्ड र आर्थिक अवस्थाबारे बुझ्न कुनै पुस्तकालय, किताब पसल वा इन्टरनेटबाट बिमा मूल्यांकन विवरण हेर्न सकिन्छ। यसले निम्न प्रश्नहरूको जवाफ दिन सक्छ: के कम्पनी आर्थिक हिसाबले सुरक्षित छ? के यसले वर्षौंदेखि सफलतासाथ व्यवसाय सञ्चालन गर्दै आएको छ? के यो, तुरुन्तै र आनाकानी नगरी क्षतिपूर्ति दिने कम्पनी भनेर चिनिन्छ?
यद्यपि, बिमा मूल्यांकन विवरणमा पनि गल्तीहरू हुनसक्छन्। किनभने, एकदमै पुरानो र अरबौं डलर पुँजी भएको एउटा बिमा कम्पनीलाई एउटा प्रख्यात पुस्तिकामा उत्कृष्ट श्रेणीमा राखिएको एक हप्तापछि नै सरकारले उक्त कम्पनी जफत गर्नुपऱ्यो!
बमा एजेन्टको भूमिका
सामान्यतया बिमा एजेन्टले कुनै एउटा बिमा कम्पनीको लागि काम गर्छ। बिमा दलाल वा स्वतन्त्र एजेन्टहरूले निर्धारित रकममा उपलब्ध सबैभन्दा उत्तम बिमा सेवा पत्ता लगाउन थुप्रै कम्पनीसँग सोधपुछ गर्नसक्छन्। यी दुवैले आफ्नो व्यवसाय चलाउन ग्राहकहरूसँग राम्रो सम्बन्ध राख्नु आवश्यक छ। बिमा एजेन्ट विश्वासिलो र अरूको सेवा गर्न तत्पर भएमा ग्राहकहरूका लागि निकै मदतकारी हुनसक्छ।
प्रथम त, एउटा राम्रो बिमा एजेन्ट वा दलालले आफ्नो ग्राहकलाई थुप्रै बिमा सेवामध्ये सबैभन्दा उपयुक्त बिमा छान्न मदत दिन सक्छन्। तिनले आफ्नो ग्राहकलाई बिमा नीतिनियमहरूबारे विस्तृत तवरमा वर्णन गर्नेछन्। धेरैलाई थाह भएकै कुरा हो, बिमा नीतिहरू बुझ्न गाह्रो हुन्छ। एक बिमा कम्पनीको अध्यक्षले आफ्नो कम्पनीको घर बिमा नीति आफैले बुझ्न नसकेको कुरा स्वीकारे!
एजेन्टको स्पष्ट व्याख्याले ग्राहकलाई अप्रिय घटना भोग्नबाट बचाउँछ। उदाहरणका लागि, धेरैजसो सम्पत्ति तथा स्वास्थ्य बिमामा क्षतिपूर्तिबाट केही रकम काटिन्छ। यो निर्धारित रकम बिमा गर्ने व्यक्तिले बिमा कम्पनीबाट क्षतिपूर्तिको माग गर्नुअघि तिर्नै पर्ने हुन्छ। उदाहरणका लागि, गाडी मर्मत वा औषधोपचारको खर्चलाई लिनसक्छौं। कुनै कारणवश बिमा कम्पनीबाट ग्राहकलाई क्षतिपूर्ति लिन गाह्रो भएमा बिमा एजेन्टले ग्राहकको तर्फबाट वकिलको रूपमा काम गरिदिन पनि सक्छ।
बिमा र मसीहीहरू
के परमेश्वरको मदतमा भरोसा राख्ने र यस रीतिरिवाजको अन्तलाई पर्खिरहेका मसीहीहरूलाई बिमाको आवश्यकता छ? सन् १९१० तिर, हाल प्रहरीधरहरा र यसको सहप्रकाशन ब्यूँझनुहोस्! भनेर चिनिने पत्रिकाको सम्पादक चार्ल्स टेज रसललाई कसै कसैले यही प्रश्न सोधेका थिए। रसलले वर्तमान आर्थिक प्रणालीको अन्तबारे बाइबलले गरेको भविष्यवाणीलाई मानिलिंदै आफ्नो जीवन बिमा नगरेको कुरा बताए।
रसलले यसो भने, “यद्यपि, सबैको परिस्थिति एकैनासे हुँदैन। यदि कुनै पिताको आफूमा आश्रित पत्नी वा बालबच्चाहरू छन् र तिनीहरू सानै भएकाले आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका छैनन् भने तिनीहरूप्रति पिताको केही जिम्मेवारीहरू छन्।” (१ तिमोथी ५:८) रसलको भनाइअनुसार आफ्ना परिवारको लागि कसैले केही रकम छुट्टाएर राख्लान्। “तर कुनै कारणवश यसो गर्न नसकेको खण्डमा उनले जीवन बिमा गरेर परिवारप्रतिको आफ्नो कर्तव्यलाई पूरा गर्नसक्छन्।”
परिवारका सदस्यहरूको लागि जिम्मेवार व्यक्तिले स्वास्थ्य, अंगभंग तथा अन्य बिमाहरू पनि गर्नसक्छन्। धेरै अविवाहितहरूले दुर्घटना वा बिरामी भएको खण्डमा ऋणमा डुब्नदेखि बच्न र आफ्नो सुरक्षाको लागि बिमा गर्ने गर्छन्।
बिमा गर्ने सन्दर्भमा इमानदारीता एकदमै महत्त्वपूर्ण छ। साँचो मसीहीहरूले बिमा निवेदन फारम भर्दा वा क्षतिपूर्तिको दाबी गर्दा कहिल्यै पनि बिमा कम्पनीलाई ठग्ने गर्दैनन्। (हिब्रू १३:१८) बिमाको उद्देश्य केवल नोक्सानीको क्षतिपूर्ति पाउनु हो भन्ने कुरालाई हामीले मनमा राख्नुपर्छ। यो विलासी जीवन बिताउनको लागि चिट्ठा होइन।—१ कोरिन्थी ६:१०.
मसीहीहरूले बिमा गर्दा आवश्यक सबै नियमहरू पालन गर्छन्। व्यवसाय सञ्चालन गर्न वा मोटर चलाउन बिमा गर्नै पर्ने कानुनी प्रावधान छ भने तिनीहरूले त्यो पालन गर्छन्। (रोमी १३:५-७) बिमाशुल्क नियमित रूपमा तिर्न पनि इमानदारीता र व्यावहारिक बुद्धि चाहिन्छ। शुल्क तिरेन भने कम्पनीले नीति रद्द गर्न र क्षतिपूर्ति नबेहोर्न पनि सक्छ। भुक्तानी गरेको रकमलाई रुजू गर्न नियमित तवरमा सीधै कम्पनीमै गएर लिखित रूपमा पैसा तिरेको रसिद लिनु बुद्धिमानी हुनेछ।
तपाईं बस्नु भएको ठाउँमा बिमा सेवा उपलब्ध होस् वा नहोस् यसबारे केही आधारभूत सतर्कता अपनाएको खण्डमा यसले तपाईंलाई नोक्सानीबाट बच्न मदत गर्नुका साथै तपाईं अनि तपाईंका प्रियजनहरूलाई कुनै पनि बिमाले क्षतिपूर्ति दिन नसक्ने भावनात्मक पीडाबाट पनि जोगाउनेछ। अर्को लेखमा यस्ता केही सतर्कताहरूबारे छलफल गर्नेछौं। (g01 2/22)
[पृष्ठ ७-मा भएको चित्र]
विश्वासीलो एजेन्टले तपाईंलाई बिमासम्बन्धी निर्णय गर्न मदत गर्न सक्छ
[पृष्ठ ७-मा भएको चित्र]
कानुनले माग गरोस् या नगरोस् धेरैले बिमा गरेका हुन्छन्