प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. २८-२९
  • फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो के हो?
  • मसीही दृष्टिकोण
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • ज्योतिषविद्या र भविष्य बताउने—कत्तिको भरपर्दो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. २८-२९

बाइबलको दृष्टिकोण

फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?

एसियामा यसैको आधारमा चिहानको ठाउँ रोजिन्छ। यसैअनुसार भवनका डिजाइन तयार पारिनुका साथै साजसज्जा गरिन्छ। यसैको आधारमा सरसम्पत्तिको किनबेच हुन्छ। यसलाई चिनियाँ भाषामा फेङ स्वी भनिन्छ र यो जोखना वा शकुन विद्याकै एउटा रूप हो। एसियामा शताब्दीयौंअघि देखि नै फेङ स्वी लोकप्रिय भइसकेको भए तापनि पश्‍चिमी मुलुकहरूमा भने भर्खरै यसको लोकप्रियता बढ्‌दै गइरहेको छ। केही वास्तुकारहरूले गगनचुम्बी भवन, कार्यालय र घरहरूको डिजाइन तयार पार्न यसैको प्रयोग गरिरहेका छन्‌। केही गृहिणीहरूले आफ्नो घर सजाउनको लागि यसको प्रयोग गर्दैछन्‌। असंख्य पुस्तक तथा इन्टरनेट वेव साइटहरूले यस शिक्षाको प्रचारप्रसार गर्नुका साथै यसबारे सिकाउँछन्‌।

यसको यतिबिघ्न लोकप्रियता बढ्‌नुको कारण के हो? एक अधिवक्‍ताको भनाइअनुसार फेङ स्वीले “जीवनस्तर उकास्न, स्वस्थ बन्‍न, सफल वैवाहिक जीवन बनाउन, सम्पन्‍नता ल्याउन र मनोशान्ति प्रदान गर्न सक्छ।” हुन त, सुन्दा यी निकै मनमोहक छन्‌, तर वास्तवमा यो के हो र यसप्रति मसीहीहरूको कस्तो दृष्टिकोण हुनुपर्छ?

यो के हो?

चिनियाँ शब्द फेङ स्वीको शाब्दिक अर्थ “वायु-जल” हुन्छ। फेङ स्वीको सुरुआत हजारौं वर्ष पहिला भएको थियो, जुन बेला धेरै पूर्वीय दर्शनहरूको विकास भयो। यी दर्शनहरूमा यीङ र याङको (अन्धकार र उज्यालो, तातो र चिसो, नकारात्मक र सकारात्मक) तथाकथित समतुल्यताबारेको विश्‍वास पनि समावेश थियो। यिङ र याङको धारणा “ची[को]” धारणासित गाभियो। “ची[को]” शाब्दिक अर्थ “वायु” अर्थात्‌ “सास” हुन्छ। फेङ स्वी सिद्धान्तको तथाकथित आधारभूत तत्त्वहरू यीङ, याङ र चीलगायत काठ, पृथ्वी, जल, अग्नि र धातु हुन्‌। फेङ स्वीका उपासकहरू हरेक भूबनौटहरूबाट शक्‍ति उत्पन्‍न हुन्छन्‌ भन्‍ने विश्‍वास गर्छन्‌। भूमि र आकाशको शक्‍ति अर्थात्‌ ची समतुल्य हुने स्थान पत्ता लगाउनु यसको प्रमुख लक्ष्य हो। भूबनौटहरूको ढाँचालाई परिवर्तन गरेर वा कुनै भवनभित्रको कुनै खास भागको रूपरेखा परिवर्तन गरेर यसो गरिन्छ। समतुल्यताको लागि गरिने यस्तो किसिमको परिवर्तनले त्यस भवनमा काम गर्ने वा बस्नेहरूको भाग्य सप्रने विश्‍वास राखिन्छ।

प्रायजसो, फेङ स्वीका गुरुहरूले भावी बताउने काममा कम्पासको प्रयोग गर्छन्‌।a यो सानो चुम्बकीय कम्पासलाई ज्योतिष विद्यासित सम्बन्धित रेखाचित्रको बीचमा राखिन्छ। कम्पासमा थुप्रै घेराहरू हुन्छन्‌। ती सबै घेराहरूको केन्द्रबिन्दु एउटै हुन्छ र ती घेराहरूलाई रेखाहरूद्वारा विभाजित गरिएका हुन्छन्‌। यस कम्पासमा आकाश मण्डल, ऋतु, सूर्य चक्रसित सम्बन्धित जानकारीहरू हुन्छन्‌। कुनै निर्माणस्थल वा भवनको विश्‍लेषण गर्नुपर्दा कम्पासले देखाउने जानकारीहरूलाई नै आधार मानिन्छ। कम्पासको सुईले घेरा र रेखाको जुन भागलाई छुन्छ, त्यसैलाई फेङ स्वीको गुरुले ध्यान दिएर हेर्छ र त्यसैअनुसार उसले निर्माणस्थलको ढाँचामा के-कस्ता “परिवर्तन” गर्नुपर्छ भन्‍ने कुरा निर्णय गर्छ।

नजिकैको भूबनौट, पानीका नहरहरू, ढल निकासदेखि लिएर भवनका झ्याल र ढोका राख्ने स्थानलाई समेत कसरी समतुल्य गर्ने भन्‍ने विचार गरेपछि मात्र निर्णय गर्ने काम गरिन्छ। उदाहरणका लागि, क्यानाडामा एउटा पसलेले आफ्नो पसलको ढोकालाई “ठीक अवस्थामा राख्न” ढोकाको पछिल्तिर ऐना झुन्डाएका छन्‌। यो विद्या खेलाउनेहरूले भवन वा कोठालाई समतुल्य अवस्थामा ल्याउन बोटबिरुवाहरू वा फर्निचर, चित्रहरू एक ठाउँबाट अर्को ठाउँमा सार्ने, फिरफिरे घण्टी राख्ने वा अक्वेरियमहरू यताउता सार्ने आदि काम गर्न सक्छन्‌।

मसीही दृष्टिकोण

उल्लेखनीय कुरा के छ भने, धेरैजसो पुस्तकालयहरूले फेङ स्वीबारे लेखिएका पुस्तकहरूलाई ज्योतिषविद्या र जोखनाविद्यासम्बन्धी पुस्तकहरूको वर्गमा राख्छन्‌। साँच्चै भन्‍ने हो भने, वेब्स्टर्स नाइन्थ न्यु कोलिजियट डिक्सनरी-ले जोखना वा शकुनविद्यालाई “संख्या वा रेखा वा भौगोलिक संरचना हेरेर भावी बताउनु” भनी वर्णन गर्छ। (छडके अक्षर हाम्रो) त्यसैकारण, फेङ स्वी अनि अन्य विभिन्‍न प्रकारका शकुनविद्याहरू भावी बताउने विद्याअन्तर्गत पर्छन्‌ भन्‍ने कुरालाई थुप्रैले मानिलिन्छन्‌। यस विद्यामा भावी बताउने र प्रेतवादसम्बन्धी कुराहरू सम्बन्धित छन्‌, जुन मानवजातिको लागि कुनै नौलो कुरा होइन।

सा.यु.पू १५ औं शताब्दीमा इस्राएलीहरूले मिश्र छोडेर अन्ततः कनानको भूमिमा प्रवेश गर्दा दुवै मुलुकमा थरीथरीका जोखनाविद्याहरू छ्यासछ्यासती थिए। व्यवस्था १८:१४ मा लिपिबद्ध गरिएअनुसार परमेश्‍वरले मोशामार्फत यसो भन्‍नुभयो: “तिमीहरूले अधिकार गर्ने जातिहरूका बीच जोखाना हेर्ने र भावी बताउनेहरू छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यसो गर्ने निषेध गर्नुभएको छ।” मिश्र र कनानका धेरैजसो तन्त्रमन्त्रहरूको उत्पत्ति पुरातन बेबिलोनबाट भएको थियो। यहोवाले बेबिलोनका मानिसहरूको भाषा खलबल पारिदिनुहुँदा तिनीहरूले बेबिलोनी तन्त्रमन्त्र अनि प्रेतवादसम्बन्धी विद्याहरू पनि आफू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ फैलाए।—उत्पत्ति ११:१-९.

यहोवा परमेश्‍वरले इस्राएललाई अन्य राष्ट्रहरूको मन्त्रतन्त्रसम्बन्धी विद्या नअपनाउनु भनी बारम्बार यस्तो कडा चेताउनी दिनुभयो: “त्यहाँ बस्ने जातिहरूका . . . भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने . . . बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो, औ यिनै घृणित रीति-थीतिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई निकालिदिनुहुन्छ।” (व्यवस्था १८:९-१२; लेवी १९:२६, ३१) मन्त्रतन्त्र खेलाउनेहरूलाई जसरी भए पनि मार्नै पर्थ्यो।—प्रस्थान २२:१८; लेवी २०:२७.

तन्त्रमन्त्रको किन त्यस्तो घोर भर्त्सना गरियो? प्रेरित १६:१६-१९ ले “जोखना हेर्ने विद्या भएकी” एउटी स्त्रीबारे बताउँछ। हो, तन्त्रमन्त्र प्रेतवादसित सम्बन्धित छ। त्यसकारण, जुनसुकै प्रकारको मन्त्रतन्त्रमा सहभागी हुँदा पनि शैतान र त्यसका प्रेतहरूसित सम्पर्क भइरहेको हुन्छ! यसले आध्यात्मिक पतन गराउन सक्छ।—२ कोरिन्थी ४:४.

साजसज्जा गर्ने अनि भूबनौटलाई परिवर्तन गर्ने विषयमा केही पूर्वीय वा पश्‍चिमी लोकप्रिय शैलीहरू मुख्यतः फेङ स्वीजस्ता झूठा धार्मिक प्रचलनहरूमा आधारित हुन सक्छ। हुन त, त्यस्ता शैलीहरूमा कुनै धार्मिक महत्त्व पाइँदैन। तैपनि, भाविष्य थाह पाउन वा भाग्य सपार्न वा सुस्वास्थ्यको लागि फेङ स्वीको प्रयोग गर्नु स्पष्टतया परमेश्‍वरको नियम उल्लंघन गर्नुसरह हुनेछ। यसो गर्नु भनेको “अशुद्ध” कुराहरू नछुनु भन्‍ने बाइबलको स्पष्ट नियमलाई भंग गर्नु बराबर हुनेछ।—२ कोरिन्थी ६:१४-१८. (g01 12/08)

[फुटनोट]

a पश्‍चिमी मुलुकहरूमा यो विद्या अभ्यास गर्नेहरूले फेङ स्वीलाई अझै वैज्ञानिक रूप दिने कोसिस गरेका छन्‌ भने भौगोलिक स्थलहरूको विश्‍लेषण गर्न कतिपयले कम्प्युटरको प्रयोग गरेका छन्‌।

[पृष्ठ २९-मा भएको चित्र]

भावी बताउने कम्पास

[स्रोत]

Pages 2 and 23: Hong Kong Tourism Board

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने