तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?
केही मानिसहरू आफ्नो भविष्य अदृश्य शक्तिहरूको नियन्त्रणमा छ भनेर विश्वास गर्छन्। त्यसैकारण तिनीहरू आफ्नो भविष्य राम्रो बनाउन विभिन्न रीतिथितिमा भाग लिन्छन्।
थुप्रैले के विश्वास गर्छन्?
ज्योतिषविद्या: केही मानिसहरू आफ्नो जन्म भएको समयमा ग्रहनक्षत्रहरूको स्थिति कस्तो थियो भन्ने कुराले नै तिनीहरूको भविष्य निर्धारण गर्छ भनेर विश्वास गर्छन्। त्यसैले तिनीहरू आफूमाथि के-कस्ता कुराहरू आइपर्छन् भनेर थाह पाउन, हानिबाट जोगिन वा कुनै काम थाल्नुअघि राशिफल हेर्ने गर्छन्।
वास्तुशास्त्र: घर निर्माण गर्दा केही खास कुराहरूमा ध्यान पुऱ्यायो भने त्यहाँ बस्ने व्यक्तिहरूको जीवन सुखी र संवृद्ध हुन्छ भनेर केही मानिसहरू विश्वास गर्छन्।a
पितृपूजा: अरू भने सुरक्षा र आशिष् पाउन पितृहरूको वा देवीदेवताको पूजाआजा गर्नुपर्छ भनेर विश्वास गर्छन्। भियतनाममा बस्ने भानb यसो भन्छिन्: “पितृहरूको पूजा गरेँ भने मेरो र छोराछोरीको जीवन अहिले मात्र होइन, भविष्यमा पनि राम्रो हुन्छ भनेर विश्वास गर्थेँ।”
पुनर्जन्म: मानिस मरेपछि उसको पुनर्जन्म हुन्छ र यो चक्र चलिरहन्छ भन्ने विश्वास पनि व्याप्त छ। हामीले जीवनमा भोग्ने राम्रो वा नराम्रो कुरा अघिल्लो जुनीमा गरेको कामको फल हो भनेर पनि मानिसहरू भन्ने गर्छन्।
हुनत थुप्रैलाई यी कुराहरू अन्धविश्वास हो जस्तो लाग्छ। तैपनि तिनीहरू हात हेराउने, राशिफल हेर्ने र चिना हेराउने गर्छन्। तिनीहरूलाई यस्ता माध्यमहरूबाट केही हदसम्म भए पनि आफ्नो भविष्य थाह पाउन सकिन्छ जस्तो लाग्छ।
नतिजा कस्तो भएको छ?
के यस्ता कुराहरूमा विश्वास गर्ने मानिसको जीवन राम्रो र भविष्य उज्ज्वल भएको छ त?
भियतनाममा बस्ने हाओको अनुभव विचार गर्नुहोस्। तिनी ज्योतिषविद्या, फेङ स्वी र पितृपूजाजस्ता कुराहरूमा विश्वास गर्थे। तर के यस्ता कुराहरूले तिनको जीवन सफल बनायो? तिनी भन्छन्: “मेरो व्यापार चौपट भयो। म ऋणमा डुबेँ र परिवारमा पनि बेमेल भयो। म डिप्रेसनको सिकार भएँ।”
ताइवानका चोमङ् पनि ज्योतिषविद्या, पुनर्जन्म, भाग्य, फेङ स्वी र पितृपूजाजस्ता कुराहरूमा विश्वास गर्थे। तर यस्ता कुराहरूलाई राम्ररी केलाएपछि तिनले भने: “यस्ता शिक्षा तथा प्रचलनहरू आपसमा बाझिन्छन् र अस्पष्ट छन् भन्ने कुरा मैले थाह पाएँ। ज्योतिषीहरूले भन्ने कुरा अक्सर मिल्दैन भनेर पनि बुझेँ। पुनर्जन्मको कुरा गर्ने हो भने यदि हामीलाई अघिल्लो जुनीको कुनै सम्झना नै छैन भने आफ्ना गल्तीहरू सुधारेर असल मानिस बन्न सम्भव छ र?”
“यस्ता शिक्षा तथा प्रचलनहरू आपसमा बाझिन्छन् र अस्पष्ट छन् भन्ने कुरा मैले थाह पाएँ।”—चोमङ्, ताइवान
हाओ, चोमङ् र अरू थुप्रैले हाम्रो भविष्य भाग्य, ग्रहनक्षत्र, पितृहरू वा पुनर्जन्मले निर्धारण गर्दैन भन्ने कुरा बुझेका छन्। त्यसोभए हाम्रो भविष्य केले निर्धारण गर्छ त?
थुप्रैलाई चाहिँ उच्च शिक्षा र धनसम्पत्तिले हाम्रो भविष्य उज्ज्वल बनाउँछ जस्तो लाग्छ। तर यस्ता कुराहरूको पछि लाग्दा नतिजा कस्तो भएको छ?
a चीन र अन्य एसियाली मुलुकमा यस्तै किसिमको प्रचलन व्याप्त छ, जसलाई फेङ स्वी भनिन्छ।
b यो र यसपछिका लेखहरूमा केही नाम परिवर्तन गरिएका छन्।