अतिरिक्त लेख
झन्डा सलामी, भोट हाल्नु र निजामती सेवा
झन्डा सलामी। अक्सर राष्ट्रिय गान गाउँदा झन्डाको अगाडि झुकिन्छ वा त्यसलाई सलामी ठोकिन्छ। यसो गर्नु भनेको धर्मसित सम्बन्धित कुरा हो भनेर यहोवाका साक्षीहरू विश्वास गर्छन्। झन्डाअघि झुक्दा वा त्यसलाई सलामी ठोक्दा उद्धारको श्रेय परमेश्वरलाई नभई राष्ट्र वा त्यसका नेताहरूलाई दिइरहेको हुन्छ। (यशैया ४३:११; १ कोरिन्थी १०:१४; १ यूहन्ना ५:२१) यस्तै एक जना नेता प्राचीन सहर बेबिलोनका राजा नबूकदनेसर थिए। प्रजालाई आफ्नो वैभव देखाउन अनि धर्मप्रतिको जोस देखाउन यी शक्तिशाली राजाले ठूलो मूर्ति खडा गरे अनि तिनीहरूलाई राष्ट्रिय गानको जस्तै धुन बजेपछि त्यस मूर्तिसामु घोप्टो पर्न हुकुम गरे। तर त्यसरी घोप्टो नपरेमा मृत्युदण्डको सजाय हुनेछ भनेर थाह हुँदाहुँदै पनि तीन हिब्रू—सद्रक, मेशक र अबेद्नगो त्यो मूर्तिसामु घोप्टो पर्न मानेनन्।—दानियल, अध्याय ३.
इतिहासकार काल्टन हेस लेख्छन्: “हाम्रो समयमा ‘झन्डा राष्ट्रवादमाथिको विश्वासको प्रमुख प्रतीक तथा उपासनाको प्रमुख वस्तु हो।’ झन्डा देख्नासाथ मानिसहरू आफ्नो टोपी फुकाल्छन्। झन्डाको प्रशंसा गर्दै कविहरू गीति-कविता रच्छन् अनि बच्चाहरू राष्ट्रको विषयमा लेखिएको स्तुतिगान गाउँछन्।” तिनी अझै यसो भन्छन्: “राष्ट्रवाद अर्थात् देशभक्ति देखाउनको लागि ‘पवित्र दिन’ छुट्याइएको हुन्छ। जस्तो कि, अमेरिकामा जुलाई चारलाई पवित्र दिनको रूपमा लिइन्छ। साथै त्यस्तो देशभक्ति देखाउनको लागि ‘सन्तहरू अनि वीरहरू’ र ‘मन्दिर’ वा पवित्रस्थलहरू पनि छुट्याइएका हुन्छन्।” ब्राजिलको एउटा जन-समारोहमा सेनाका प्रमुखले यसो भने: “झन्डाप्रति श्रद्धा देखाइन्छ अनि त्यसलाई जन्मभूमिलाई जत्तिकै पुजिन्छ।” दी इन्साइक्लोपीडिया अमेरिकाना (अङ्ग्रेजी)-ले एक पटक यसो भनेको थियो: “झन्डा क्रूस जत्तिकै पवित्र छ।”
उक्त इन्साइक्लोपीडियामा राष्ट्रिय गानबारे हालै यस्तो कुरा लेखियो: “राष्ट्रिय गानमार्फत देशभक्तिको भावना व्यक्त गरिन्छ र यस्तो गीतमा अक्सर जनता वा तिनका शासकलाई डोऱ्याइ अनि सुरक्षा दिनुस् भनेर भगवान्लाई बिन्ती चढाइन्छ।” त्यसकारण यहोवाका सेवकहरूले झन्डा सलामी, राष्ट्रिय गानजस्ता देशभक्तिका समारोहहरूलाई धार्मिक कार्यक्रम ठान्नु गलत होइन। अमेरिकाको स्कूलमा यहोवाका साक्षीका छोराछोरीले झन्डाप्रति भक्ति देखाउन नमान्दा अनि तिनीहरूले देशप्रति वफादार रहने कसम नखाँदा त्यसबारे टिप्पणी गर्दै दि अमेरिकन क्यारेक्टर (अङ्ग्रेजी) शीर्षकको एउटा पुस्तकले यस्तो लेखेको थियो: “सर्वोच्च अदालतमा एकपछि अर्को गर्दै मुद्दाको सुनुवाइ गरियो। अनि स्कूलमा गरिने यस्ता दैनिक कार्यक्रमहरू वास्तवमा धार्मिक रीति हुन् भनेर आखिरमा प्रस्ट भयो।”
बाइबलअनुसार गलत ठहरिएका समारोहहरूमा यहोवाका साक्षीहरू भाग लिंदैनन्। तर यस्ता समारोहहरूमा अरूले भाग लिंदा तिनीहरू यसलाई निजी अधिकार ठान्छन् र यसको कदर गर्छन्। तिनीहरू राष्ट्रिय झन्डालाई आफ्नो देशको प्रतीकको रूपमा आदर गर्छन् अनि वैध सरकारलाई “परमेश्वरका सेवक”-को रूपमा खटिएको “उच्च अख्तियारवालाहरूको” रूपमा स्वीकार्छन्। (रोमी १३:१-४) त्यसैले यहोवाका साक्षीहरू “राजाहरू र सबै उच्च पदाधिकारीहरूका लागि” प्रार्थना गर भन्ने सल्लाह पालन गर्छन्। यसो गर्नुको कारण “हामीले पूर्ण गम्भीरतासाथ परमेश्वरको भक्ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौं” भनेर हो।—१ तिमोथी २:२.
राजनैतिक चुनावमा भोट हाल्नु। भोट हाल्ने अरूको अधिकारलाई साँचो ख्रीष्टियनहरू कदर गर्छन्। तिनीहरू चुनावको विरोध गर्दैनन् बरु निर्वाचित व्यक्तिहरूलाई सहयोग गर्छन्। तर देशको राजनैतिक मामिलामा भने तिनीहरू दृढतापूर्वक निष्पक्ष रहन्छन्। (मत्ती २२:२१; १ पत्रुस ३:१६) अनिवार्य रूपमा भोट खसाल्नुपर्ने देशमा बसेको ख्रीष्टियनले के गर्नुपर्छ? अथवा मतदान केन्द्रमा नजानेहरूलाई एकदमै नराम्रो दृष्टिले हेर्ने ठाउँमा बस्ने ख्रीष्टियनले के गर्ने? सायद तिनीहरू सद्रक, मेशक र अबेद्नगोको उदाहरणलाई सम्झन्छन् होला। तिनीहरू दूराको मैदानसम्म गएका थिए। त्यसैले त्यस्ता परिस्थितिमा परेका ख्रीष्टियनले आफ्नो अन्तस्करणले दिन्छ भने मतदान केन्द्रसम्म जाने निर्णय गर्न सक्छन्। तर निष्पक्ष रहने सन्दर्भमा तिनी होसियार हुनै पर्छ। यहाँ दिइएका छवटा सिद्धान्तलाई तिनले आफ्नो मनमा राख्नुपर्छ:
१. येशूका अनुयायीहरू “यस संसारका” होइनन्।—यूहन्ना १५:१९.
२. ख्रीष्टियनहरूले ख्रीष्ट अनि उहाँको राज्यको प्रतिनिधित्व गर्छन्।—यूहन्ना १८:३६; २ कोरिन्थी ५:२०.
३. एउटै विश्वासले गर्दा ख्रीष्टियन मण्डली एकतामा बाँधिएको छ अनि त्यसका सदस्यहरूले एक-आपसमा ख्रीष्टको जस्तै प्रेम देखाउने भएकोले तिनीहरू एउटै बन्धनमा बाँधिएका हुन्।—१ कोरिन्थी १:१०; कलस्सी ३:१४.
४. जसले कुनै व्यक्तिलाई अख्तियारवालाको रूपमा चुन्छ, ऊ तिनले गरेको कामको लागि केही हदसम्म जिम्मेवार हुन्छ।—१ शमूएल ८:५, १०-१८ अनि १ तिमोथी ५:२२ को सिद्धान्तलाई ध्यान दिनुहोस्।
५. इस्राएलीहरूले मानव राजाको माग गर्दा तिनीहरूले यहोवालाई त्यागे भनेर उहाँले ठान्नुभयो।—१ शमूएल ८:७.
६. जुनसुकै राजनैतिक आस्था राख्ने व्यक्तिहरूलाई पनि ख्रीष्टियनहरू परमेश्वरको राज्यले शासन गर्नेछ भनी बताउँछन्। यसरी बताउँदा तिनीहरूले निर्धक्क भई बोल्ने साहस गर्नै पर्छ।—मत्ती २४:१४; २८:१९, २०; हिब्रू १०:३५.
निजामती सेवा। यदि कुनै व्यक्ति सैन्य सेवामा जान मान्दैनन् भने तिनी केही समयको लागि निजामती सेवामध्ये एउटामा लाग्नुपर्छ भनेर कुनै-कुनै मुलुकमा माग गरिएको हुन्छ। यस्तो विषयमा निर्णय गर्नुपर्दा प्रार्थना गर्नुपर्छ अनि सायद अनुभवी सँगी ख्रीष्टियनसित छलफल गरेर सिकेको कुराअनुसार आफ्नै अन्तस्करणले के भन्छ त्यसको आधारमा निर्णय गर्नुपर्छ।—हितोपदेश २:१-५; फिलिप्पी ४:५.
परमेश्वरको वचन हामीलाई यसो भन्छ: ‘सरकार र अख्तियारवालाहरूप्रति आज्ञाकारी होऊ, हरेक असल कामको लागि तत्पर होऊ, व्यावहारिक होऊ।’ (तीतस ३:१, २) यस कुरालाई मनमा राख्दै हामी आफैलाई यी प्रश्नहरू सोध्न सक्छौं: ‘मलाई जुन किसिमको निजामती सेवा गर्न भनिएको छ के त्यसले मलाई निष्पक्ष रहन गाह्रो पार्नेछ वा त्यसले गर्दा म झूटो धर्ममा संलग्न हुनेछु?’ (मीका ४:३, ५; २ कोरिन्थी ६:१६, १७) ‘के यस कामले मलाई ख्रीष्टियन जिम्मेवारी पूरा गर्न गाह्रो बनाउनेछ वा त्यो जिम्मेवारी चटक्कै छोड्नुपर्ने पो बनाउँछ कि?’ (मत्ती २८:१९, २०; एफिसी ६:४; हिब्रू १०:२४, २५) ‘अर्कोतर्फ यस काममा लागें भने मैले आध्यात्मिक गतिविधिमा धेरै समय पो दिन पाउँछु कि, सायद पूर्ण-समय सेवा मै पो लाग्न सक्छु कि?’—हिब्रू ६:११, १२.
यदि कुनै ख्रीष्टियनले आफ्नो अन्तस्करणको आवाज सुनेर जेलमा जानुको साटो निजामती सेवामा लाग्ने निर्णय गर्छ भने अरू ख्रीष्टियनले तिनको निर्णयको कदर गर्नुपर्छ। (रोमी १४:१०) तर यदि तिनको मनले यस्तो सेवामा लाग्न दिंदैन भने अरूले त्यस निर्णयलाई पनि कदर गर्नुपर्छ।—१ कोरिन्थी १०:२९; २ कोरिन्थी १:२४.