प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १/१ पृ. २१-२५
  • परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अब्राहामको सन्तान धर्मी ठहरिए
  • पहिल्यै तोकिएको संख्या पूरा गर्ने
  • परमेश्‍वरको स्वर्गीय सरकारका धेरैजसो सदस्यले इनाम पाइसकेका छन्‌
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • हामी तपाईँहरूसितै जानेछौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “हामी तपाईंसितै जानेछौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १/१ पृ. २१-२५

परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका

“यो परमेश्‍वरको धार्मिक इन्साफको प्रमाण हो। तिमीहरू परमेश्‍वरको राज्यको योग्यका गनियौ।”—२ थिस्स. १:५.

१, २. न्याय गर्ने सन्दर्भमा परमेश्‍वरले कस्तो उद्देश्‍य राख्नुभएको छ र कसले न्याय गर्नेछ?

इस्वी संवत्‌ ५० तिर प्रेरित पावल एथेन्समा थिए। यस सहरमा मूर्तिपूजा व्याप्त भएको देखेर तिनको मनमा बेचैनी भयो। यसैकारण तिनले कौशलतापूर्वक साक्षी दिन बाध्य महसुस गरे। भाषणको अन्तमा तिनले गरेको घोषणाले मूर्तिपूजक श्रोताहरूको ध्यान खिचेको हुनुपर्छ। तिनले यसो भने: “अब सबै ठाउँमा सब मानिसहरूलाई पश्‍चाताप गर्ने आज्ञा [परमेश्‍वर] दिनुहुन्छ। यतिसम्म कि, उहाँले एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्‍वास दिलाउनुभएको छ।”—प्रेरित १७:३०, ३१.

२ भविष्यमा मानिसजातिको न्याय गर्न परमेश्‍वरले दिन तय गर्नुभएको तथ्य साँच्चै विचारणीय छ! पावलले एथेन्समा दिएको भाषणमा नाउँ नखुलाएका मानिसले नै यो न्याय गर्नेछन्‌। तर हामीलाई थाह छ, ती मानिस पुनरुत्थान हुनुभएका येशू ख्रीष्ट हुनुहुन्छ। येशूले गर्नुहुने न्यायको अर्थ जीवन वा मृत्यु हुनेछ।

३. यहोवाले अब्राहामसित किन करार बाँध्नुभयो र यसको पूर्तिमा कसले विशेष भूमिका खेल्नेछ?

३ यो न्यायको दिन १,००० वर्षको हुनेछ। परमेश्‍वरको राज्यको राजाको हैसियतमा येशूले यहोवाको नाउँमा न्याय गर्नुहुनेछ तर यस काममा उहाँ एक्लै भने हुनुहुन्‍न। हजार वर्षीय न्यायको दिनमा येशू सँगसँगै शासन गर्न र न्याय गर्न यहोवाले मानिसजातिबाट अरूलाई छान्‍नुहुन्छ। (लूका २२:२९, ३० तुलना गर्नुहोस्‌।) झन्डै ४,००० वर्षअघि विश्‍वासी सेवक अब्राहामसित करार बाँध्दा यहोवाले यस न्यायको दिनको लागि आधार बसालिसक्नुभएको थियो। (उत्पत्ति २२:१७, १८ पढ्‌नुहोस्‌।) यो करार ईसापूर्व १९४३ देखि लागू भयो। यो करारले मानिसजातिको लागि कस्तो अर्थ राख्छ, अब्राहामले पक्कै पनि पूरै बुझेका थिएनन्‌। तर अब्राहामसित गरेको करारअनुसार मानिसजातिलाई न्याय गर्ने परमेश्‍वरको उद्देश्‍यको पूर्तिमा अब्राहामको सन्तानले विशेष भूमिका खेल्नेछ भनी हामी स्पष्टै बुझ्न सक्छौं।

४, ५. (क) अब्राहामको सन्तानका मुख्य भाग को हो र उहाँले परमेश्‍वरको राज्यबारे के भन्‍नुभयो? (ख) परमेश्‍वरको राज्यको भाग हुने आशा कहिलेदेखि मात्र पूरै खुला भयो?

४ येशू, अब्राहामको सन्तानका मुख्य भाग साबित हुनुभयो। उहाँलाई इस्वी संवत्‌ २९ मा पवित्र आत्माद्वारा नियुक्‍त गरियो र उहाँ प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ ख्रीष्ट हुनुभयो। (गला. ३:१६) त्यसपछि येशूले साढे तीन वर्षसम्म यहूदी राष्ट्रलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो। बप्तिस्मा दिने यूहन्‍ना पक्राउ परेपछि येशूले भन्‍नुभएको कुराबाट अरूले पनि त्यस राज्यका भाग हुने आशा राख्न सक्छन्‌ भनी स्पष्ट हुन्छ। उहाँले यसो भन्‍नुभयो: “बप्तिस्मा दिने यूहन्‍नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्‌।”—मत्ती ११:१२.

५ चाखलाग्दो कुरा के छ भने, स्वर्गको राज्य ‘खोस्नेहरूबारे’ भन्‍नुभन्दा ठ्याक्क अगाडि उहाँले यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसमध्ये बप्तिस्मा दिने यूहन्‍नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यका जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) उहाँले किन त्यसो भन्‍नुभयो? किनभने इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पवित्र आत्मा खन्याइएपछि मात्र विश्‍वासी जनहरूको सामु परमेश्‍वरको राज्यको भाग हुने आशा पूरै खुला भयो। अनि यतिबेलासम्म बप्तिस्मा दिने यूहन्‍नाको मृत्यु भइसकेको थियो।—प्रेरित २:१-४.

अब्राहामको सन्तान धर्मी ठहरिए

६, ७. (क) अब्राहामको सन्तान कुन अर्थमा ‘आकाशका तारासरह’ हुनेथिए? (ख) अब्राहामले कस्तो आशिष्‌ पाए र तिनको सन्तानले पनि त्यस्तै कस्तो आशिष्‌ पाउँछन्‌?

६ अब्राहामलाई तिनको सन्तानको वृद्धि भएर “आकाशका तारा” र समुद्र किनारका बालुवासरह हुनेछ भनी बताइएको थियो। (उत्प. १३:१६; २२:१७) अर्को शब्दमा भन्‍ने हो भने, यस सन्तानको संख्या ठ्याक्क कति हुन्छ, अब्राहामको समयका मानिसहरूले थाह पाउन असम्भव थियो। तर पछि गएर तिनको आत्मिक सन्तानको संख्या प्रकाश पारियो। येशूको अलावा यो सन्तानको संख्या १,४४,००० हुनेथियो।—प्रका. ७:४; १४:१.

७ अब्राहामको विश्‍वासबारे परमेश्‍वरको वचनमा यसो भनिएको छ: “[अब्राहामले] परमप्रभुमाथि विश्‍वास गरे, यो तिनको निम्ति धार्मिकता गनियो।” (उत्प. १५:५, ६) हो, कोही पनि पूर्णतया धर्मी छैन। (याकू. ३:२) तैपनि, अब्राहामको उल्लेखनीय विश्‍वासको कारण यहोवाले तिनीसित धर्मीसरह जस्तो व्यवहार गर्नुभयो र तिनलाई आफ्नो मित्र समेत भन्‍नुभयो। (यशै. ४१:८) येशूसँगै अब्राहामको आत्मिक सन्तानको भाग बनेकाहरूलाई पनि धर्मी ठहराइएको छ र यसले गर्दा तिनीहरूले अब्राहामले भन्दा पनि अझ धेरै आशिष्‌ पाउँछन्‌।

८. अब्राहामका सन्तानको अगाडि कस्ता आशिष्‌को ढोका खोलिएको छ?

८ अभिषिक्‍त मसीहीहरू धर्मी ठहरिन्छन्‌ किनभने तिनीहरू येशूको छुटकाराको बलिदानमा विश्‍वास गर्छन्‌। (रोमी ३:२४, २८) यहोवाको नजरमा तिनीहरू पापबाट धर्मी ठहरिएका छन्‌ र परमेश्‍वरका आत्मिक पुत्रहरू तथा येशू ख्रीष्टका भाइहरू बन्‍न पवित्र आत्माद्वारा अभिषिक्‍त हुन सक्छन्‌। (यूह. १:१२, १३) तिनीहरू नयाँ करारमा बाँधिन्छन्‌ र “परमेश्‍वरका इस्राएल” भनिने नयाँ राष्ट्रका भाग बन्छन्‌। (गला. ६:१६; लूका २२:२०) साँच्चै यी कस्ता सुनौला सुअवसरहरू! परमेश्‍वरले तिनीहरूको खातिर यी सब गर्नुभएकोले अभिषिक्‍त मसीहीहरू पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्दैनन्‌। न्यायको दिनमा येशूसँगै स्वर्गबाट शासन गर्न पाउने अथाह आनन्दको लागि तिनीहरूले पृथ्वीमा सधैंभरि बाँच्ने आशालाई त्याग्छन्‌।—रोमी ८:१७ पढ्‌नुहोस्‌।

९, १०. (क) मसीहीहरू पहिलो चोटि पवित्र आत्माद्वारा कहिले अभिषिक्‍त भए र तिनीहरूको अगाडि के थियो? (ख) अभिषिक्‍त मसीहीहरूले कस्तो मदत पाए?

९ विश्‍वासी मानिसहरूको एउटा समूहलाई न्यायको दिनमा येशूसँगै शासन गर्नेहरूमध्ये हुने सुअवसर इस्वी संवत्‌ ३३ पेन्तिकोसमा प्रदान गरियो। येशूका १२० जना जति चेलाहरूलाई पवित्र आत्माद्वारा बप्तिस्मा दिइयो र यसरी तिनीहरू अभिषिक्‍त मसीहीहरू हुने पहिलो व्यक्‍ति भए। तर तिनीहरूका लागि यो त सुरुआत मात्र थियो। त्यसबेला देखि तिनीहरूले परमेश्‍वरप्रति आफ्नो वफादारिताको प्रमाण दिनुपर्ने थियो, चाहे शैतानले जस्तोसुकै परीक्षा नै किन नल्याओस्‌। स्वर्गीय जीवनको मुकुट पाउन तिनीहरू मृत्युसम्मै विश्‍वासी रहनुपर्ने थियो।—प्रका. २:१०.

१० यसको लागि यहोवाले आफ्नो वचन र मसीही मण्डली मार्फत अभिषिक्‍त मसीहीहरूलाई आवश्‍यक अर्ती र प्रोत्साहन दिनुभयो। उदाहरणको लागि, प्रेरित पावलले थिस्सलोनिकीका अभिषिक्‍त मसीहीहरूलाई यस्तो लेखे: “बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तोगरी हामीले तिमीहरूलाई कसरी अर्ती, साहस र साक्षी दिंदै तिमीहरू हरेकसँग व्यवहार गऱ्‍यौं। यस हेतुले, कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्य होस्‌, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्यमा र महिमामा बोलाउनुहुन्छ।”—१ थिस्स. २:११, १२.

११. “परमेश्‍वरका इस्राएल[को]” सदस्यहरूका लागि यहोवाले कस्तो लिखित रेकर्डको प्रबन्ध मिलाउनुभयो?

११ अभिषिक्‍त मसीहीहरूको मण्डलीका सुरुका सदस्यहरू छानिएको दशकौंपछि यहोवाले येशूको पार्थिव सेवकाई, उहाँले प्रथम शताब्दीका अभिषिक्‍त मसीहीहरूसित गरेको व्यवहार र तिनीहरूलाई दिएको सल्लाहको स्थायी रेकर्ड राख्न उपयुक्‍त ठान्‍नुभयो। यसैकारण यहोवाले पहिलादेखि नै भएको प्रेरित हिब्रू धर्मशास्त्रमा प्रेरित मसीही युनानी धर्मशास्त्र थप्नुभयो। इस्राएल राष्ट्र परमेश्‍वरसित विशेष सम्बन्धमा गाँसिएको बेला तिनीहरूकै लागि सुरुमा हिब्रू धर्मशास्त्र लेखिएको थियो। मसीही युनानी धर्मशास्त्रचाहिं मुख्यतया “परमेश्‍वरका इस्राएल” अर्थात्‌ ख्रीष्टका भाइहरू तथा परमेश्‍वरका आत्मिक पुत्रका रूपमा अभिषिक्‍त भएकाहरूका लागि लेखिएको थियो। तर यसको अर्थ, हिब्रू धर्मशास्त्र अध्ययन गरेर गैर-इस्राएलीहरूले पटक्कै लाभ उठाउन सक्दैनन्‌ भन्‍ने त पक्कै होइन। त्यस्तै गरी, पवित्र आत्माद्वारा अभिषिक्‍त नभएका मसीहीहरूले मसीही युनानी धर्मशास्त्र अध्ययन गरेर अनि यसमा पाइने सल्लाहबमोजिम जीवन बिताएर असीम लाभ उठाउँछन्‌।—२ तिमोथी ३:१५-१७ पढ्‌नुहोस्‌।

१२. पावलले अभिषिक्‍त मसीहीहरूलाई कुन कुरा सम्झाए?

१२ प्रथम शताब्दीका मसीहीहरूले स्वर्गमा उत्तराधिकार पाउन सकून्‌ भनेर तिनीहरूलाई धर्मी ठहराइयो र पवित्र आत्माद्वारा अभिषिक्‍त भए। यसरी अभिषिक्‍त हुँदैमा तिनीहरूले अन्य सँगी अभिषिक्‍त मसीहीहरूमाथि राज गर्न सक्छन्‌ भन्‍नेचाहिं होइन। तर कोही-कोही प्रारम्भिक मसीहीहरूले यस तथ्यलाई बिर्से र मण्डलीका भाइहरूमाझ अनावश्‍यक प्रभुत्व जमाउन खोजे। फलस्वरूप पावल यसो भन्‍न बाध्य भए: “तिमीहरू तृप्त भइसकेका छौ, तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिनीहरूसँगै राज्य गर्न सकौं!” (१ कोरि. ४:८, NRV) यसैकारण, पावलले आफ्नो समयका अभिषिक्‍त मसीहीहरूलाई यसरी सम्झाए: “तिमीहरूका विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं।”—२ कोरि. १:२४.

पहिल्यै तोकिएको संख्या पूरा गर्ने

१३. इस्वी संवत्‌ ३३ पछि अभिषिक्‍त मसीहीहरू छान्‍ने काम कसरी अघि बढ्यो?

१३ एक लाख चवालीस हजार अभिषिक्‍त मसीहीहरू सबै प्रथम शताब्दीमा छानिएनन्‌। अभिषिक्‍त मसीहीहरू छान्‍ने काम प्रेरितहरूको समयभरि नै चल्यो र त्यसपछि भने छान्‍ने क्रम कम हुँदै गयो जस्तो देखिन्छ। तर, छान्‍ने काम त्यसपछिका शताब्दीहरूदेखि अहिले हाम्रो समयसम्म नै चल्यो। (मत्ती २८:२०) अन्ततः सन्‌ १९१४ मा येशूले शासन गर्न थालेदेखि घटनाक्रम एकदमै द्रुत गतिले अघि बढ्यो।

१४, १५. अभिषिक्‍त जनहरूको बोलावटको सन्दर्भमा हाम्रो समयमा के भएको छ?

१४ येशूले सबैभन्दा पहिला परमेश्‍वरको शासनका विरोधीहरूको एउटै पनि दाग नरहने गरी स्वर्गलाई सफा गर्नुभयो। (प्रकाश १२:१०, १२ पढ्‌नुहोस्‌।) त्यसपछि उहाँले परमेश्‍वरको राज्य सरकारको भाग हुने १,४४,००० को संख्या पूरा गर्न सम्भाव्य बाँकी सदस्यहरूलाई जम्मा गर्ने काममा ध्यान दिनुभयो। सन्‌ १९३० दशकको बीचसम्ममा त यो संख्या पूरा हुन लागिसकेको स्पष्ट थियो र सुसमाचार स्वीकार्ने थुप्रैको इच्छा स्वर्ग जाने थिएन। परमेश्‍वरका पुत्रहरू हुन्‌ भनी यी व्यक्‍तिहरूलाई आत्माले गवाही दिएन। (रोमी ८:१६ तुलना गर्नुहोस्‌।) बरु, तिनीहरूले आफू सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएको “अरू भेडा[का]” भाग हौं भनी बुझे। (यूह. १०:१६) तसर्थ, सन्‌ १९३५ पछिको प्रचारकार्यको मुख्य ध्यान “ठूलो भीड” जम्मा गर्नुमा थियो जुन भीडलाई प्रेरित यूहन्‍नाले दर्शनमा देखेका थिए र तिनीहरू “महा संकष्टबाट” बच्ने थिए।—प्रका. ७:९, १०, १४.

१५ तैपनि, सन्‌ १९३० को दशकपछि वर्षौंको दौडान कोही-कोहीले स्वर्गीय आशाको लागि बोलावट पाएका छन्‌। किन? कुनै-कुनै अवस्थामा, पहिला छानिएको व्यक्‍ति अविश्‍वासी भएकोले त्यसको ठाउँमा तिनीहरू छानिएको हुन सक्छ। (प्रकाश ३:१६ तुलना गर्नुहोस्‌।) सच्चाइ छोडेका यस्ता व्यक्‍तिहरूबारे समेत पावलले बताए जसलाई तिनले व्यक्‍तिगत रूपमा चिनेका थिए। (फिलि. ३:१७-१९) यस्ता व्यक्‍तिहरूको ठाउँमा यहोवाले कसलाई बोलाउनुहुन्छ? पक्कै पनि, यसको निर्णय यहोवा आफै गर्नुहुन्छ। तैपनि, उहाँले भर्खरै मसीही भएकाहरूलाई त होइन तर स्मरणार्थको उत्सव स्थापना गर्दा येशूले कुरा गर्नुभएका चेलाहरू जस्तै लामो समयदेखि आफ्नो वफादारिताको प्रमाण दिंदै आएका मसीहीहरूलाई छान्‍नुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु तर्कसंगत छ।a—लूका २२:२८.

१६. अभिषिक्‍त जनहरूको सन्दर्भमा हामी कुन कुराको लागि कृतज्ञ छौं र कुन कुरामा विश्‍वस्त हुन सक्छौं?

१६ तर सन्‌ १९३० को दशकदेखि यता स्वर्गीय बोलावट पाएका सबै नै, अविश्‍वासी भएकाहरूको ठाउँमा बोलावट पाएकाहरू हुन्‌ जस्तो देखिंदैन। यहोवाले “महान्‌ बेबिलोन[को]” विनाश नहोउन्जेल यस रीतिरिवाजको अन्तसम्मै अभिषिक्‍त मसीहीहरू हामीमाझ होऊन्‌ भनेर सुनिश्‍चित गर्नुभएको स्पष्ट देखिन्छ। (प्रका. १७:५) अनि यहोवाले तोकेको समयमा १,४४,००० को संख्या पूरा हुनेछ र अन्ततः तिनीहरू सबैले परमेश्‍वरको राज्य सरकारमा शासन गर्नेछन्‌ भनी विश्‍वस्त हुन सक्छौं। साथै, निरन्तर वृद्धि हुँदै गइरहेको ठूलो भीडले सामूहिक रूपमा आफ्नो विश्‍वासको प्रमाण दिनेछ भन्‍ने भविष्यसूचक वचनमा पनि विश्‍वास गर्न सक्छौं। शैतानको संसारमाथि ल्याइने “महा संकष्टबाट” तिनीहरू चाँडै निस्किआउनेछन्‌ र परमेश्‍वरको नयाँ संसारमा हाँसी-खुसी प्रवेश गर्नेछन्‌।

परमेश्‍वरको स्वर्गीय सरकारका धेरैजसो सदस्यले इनाम पाइसकेका छन्‌

१७. पहिलो थिस्सलोनिकी ४:१५-१७ र प्रकाश ६:९-११ अनुसार मृत्युसम्मै विश्‍वासी रहेका अभिषिक्‍त मसीहीहरूलाई के भएको छ?

१७ इस्वी संवत्‌ ३३ देखि यता हजारौं-हजार अभिषिक्‍त मसीहीहरूले बलियो विश्‍वास देखाएका छन्‌ र मृत्युसम्मै विश्‍वासी भई स्थिर रहेका छन्‌। तिनीहरू परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका छन्‌ र ख्रीष्टको उपस्थितिको सुरुतिर नै तिनीहरूले यो इनाम पाउन थालेको कुरा स्पष्ट छ।—१ थिस्सलोनिकी ४:१५-१७; प्रकाश ६:९-११ पढ्‌नुहोस्‌।

१८. (क) पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त मसीहीहरू कुन कुरामा विश्‍वस्त छन्‌? (ख) अरू भेडाले अभिषिक्‍त मसीही भाइहरूलाई कसरी हेर्छन्‌?

१८ पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त मसीहीहरू विश्‍वासी रहिरहेको खण्डमा तिनीहरूले चाँडै नै स्वर्गीय इनाम पाउनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। अभिषिक्‍त भाइहरूको विश्‍वासबारे विचार गर्दा अरू भेडाका लाखौं मानिसहरू प्रेरित पावलका यी शब्दहरूसित सहमत छन्‌ जसले थिस्सलोनिकीका अभिषिक्‍त भाइहरूलाई यसो भने: “तिमीहरूमाथिको सबै खेदो, तिमीहरूले सहेको तिमीहरूका कष्टहरूमा, तिमीहरूका धीरज र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूमा हामी आफै पनि तिमीहरूमा घमण्ड गर्छौं—यस हेतुले, कि यो परमेश्‍वरको धार्मिक इन्साफको प्रमाण हो। तिमीहरू परमेश्‍वरको राज्यको योग्यका गनियौ, जसकै निम्ति तिमीहरू दुःख पनि भोग्दछौ।” (२ थिस्स. १:३-५) पृथ्वीमा बाँकी रहेको अन्तिम अभिषिक्‍त मसीही मरेर स्वर्गमा कहिले जान्छन्‌, त्यो त हामीलाई थाह छैन तर जब त्यो हुन्छ परमेश्‍वरको स्वर्गीय सरकारका सदस्यहरू पूरा हुनेछ। स्वर्ग र पृथ्वीमा त्यो कस्तो रमाहटको कारण हुनेछ!

(w 08 1/15)

[फुटनोट]

a प्रहरीधरहरा, फेब्रअरी १५, १९९८, पृष्ठ २०, अनुच्छेद १० हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• न्यायको दिनसित सम्बन्धित कुन कुरा परमेश्‍वरले अब्राहामलाई प्रकट गर्नुभयो?

• अब्राहाम किन धर्मी ठहरिए?

• अब्राहामको सन्तान धर्मी ठहरिनुले उनीहरूका लागि कस्तो अर्थ राख्छ?

• सबै मसीहीहरू कुन कुरामा विश्‍वस्त छन्‌?

[पृष्ठ २१-मा भएको चित्र]

येशूले आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको राज्यको लागि अघि बढ्‌न प्रोत्साहन दिनुभयो

[पृष्ठ २२-मा भएको चित्र]

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यहोवाले अब्राहामको सन्तानका बाँकी सदस्यहरूलाई छान्‍न सुरु गर्नुभयो

[पृष्ठ २४-मा भएका चित्रहरू]

आखिरी दिनको दौडान अभिषिक्‍त मसीहीहरू आफूसँगै भएकोमा अरू भेडा कृतज्ञ छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने