प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ पृ. ४-९
  • साधारणतया गरिने गुनासाहरूको समाधान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साधारणतया गरिने गुनासाहरूको समाधान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सफलताको रहस्य
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
    सुखी परिवार तर कसरी?
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ पृ. ४-९

साधारणतया गरिने गुनासाहरूको समाधान

बाइबलले विवाह सजिलो कुरा हो भनेर दाबी गर्दैन। विवाहित दम्पतीहरूले “दिनहुँ झेल्ने समस्याहरूको” सामना गर्नेछन्‌ भनी परमेश्‍वरबाट प्रेरणा पाएर प्रेषित पावलले लेखे। (१ कोरिन्थी ७:२८, टुडेज इंग्लिश भर्सन) तर विवाहित दम्पतीहरूले आफूले भोग्ने समस्याहरू कम गर्न सक्छन्‌ र एक-अर्काको आनन्द बढाउन सक्छन्‌। पति र पत्नीले साधारणतया गर्ने ६ वटा गुनासा विचार गर्नुहोस्‌ र बाइबल सिद्धान्तहरू लागू गर्नु कसरी मदतकारी हुन्छ, हेर्नुहोस्‌।

पहिलो

गुनासो:

“हामी एक-अर्काबाट टाढिंदै छौं।”

बाइबल सिद्धान्त:

“अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक्नेछौ।”—फिलिप्पी १:१०.

तपाईंको जीवनका महत्त्वपूर्ण कुराहरूमध्ये एक विवाह हो। यसले प्राथमिकता पाउनुपर्छ। त्यसैले तपाईंको तालिकाले गर्दा नै यो गुनासो आएको हो कि जाँच्नुहोस्‌। तपाईंको दैनिक तालिकालाई एक-अर्काबाट टाढा बनाउने कारण हुन नदिनुहोस्‌। हो, पेसा र अरू टार्नै नसकिने परिस्थितिहरूले केही समयको लागि तपाईंहरूलाई एक-अर्काबाट टाढा बनाउन सक्छ। तर आफ्नो वशमा भएका कुराहरू जस्तै:- आफ्नो सौख पूरा गर्ने र साथीहरूसँग बिताउने समयलाई तपाईं सीमित गर्न सक्नुहुन्छ र यसो गर्नु पनि पर्छ।

तथापि केही पति वा पत्नीले आफ्नो जोडीसँग समय बिताउन नपरोस्‌ भनेर थप काम गर्न वा सौख पूरा गर्नमा समय खर्च गर्न सक्छन्‌। तिनीहरू आफ्नो पति वा पत्नीबाट ‘टाढिएका’ नभई समस्याहरूदेखि भागिरहेका छन्‌। यदि तपाईंको समस्या पनि यस्तै छ भने समस्या पत्ता लगाएर त्यसलाई समाधन गर्नु आवश्‍यक छ। तपाईंले आफ्नो पति वा पत्नीसँग समय बिताएर मात्रै वैवाहिक बन्धन बलियो बनाउन सक्नुहुन्छ र साँचो अर्थमा “एउटै जीउ” हुन सक्नुहुन्छ।—उत्पत्ति २:२४.

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: अस्ट्रेलियन दम्पती एन्ड्रीउa र तान्जीले विवाह गरेको १० वर्ष भइसक्यो। एन्ड्रीउ भन्छन्‌: “धेरै काम गर्नु र साथीहरूसँग वा मनोरञ्जनमा धेरै समय बिताउनु विवाहको लागि खतरा हो भनी मैले सिकें। त्यसैले मेरी श्रीमती र मैले एक-अर्कासँग कुरा गर्न र मनको कुरा साट्‌न समय निकाल्ने गरेका छौं।”

अमेरिकामा बसोबास गर्ने डेभ र जेनले विवाह गरेको २२ वर्ष भइसक्यो। तिनीहरू हरेक साँझ घर फर्कनेबित्तिकै आधा घण्टा एक-अर्काको अनुभव र विचार बाँड्‌ने गर्छन्‌। जेन भन्छिन्‌: “यो समय निकै नै महत्त्वपूर्ण भएकोले हामी यसमा कुनै कुराले बाधा पुऱ्‍याउन दिंदैनौं।”

दोस्रो

गुनासो:

“मैले यस सम्बन्धबाट जे आशा गरेको थिएँ, त्यो पाउन छोडें।”

बाइबल सिद्धान्त:

“हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

‘विवाह गरेर मैले के पाएँ’ भन्‍ने कुरामा मात्रै ध्यान दिने मानिसले जति पटक विवाह गरे तापनि ऊ कहिल्यै आनन्दित हुन सक्दैन। दुवै जनाले लिनुभन्दा दिनुमा ध्यान केन्द्रित गरेमा विवाह सफल हुन सक्छ। येशूले यसको कारण बताउनुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित. २०:३५.

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: मेक्सिकोमा बस्ने मारिया र मार्टिनले विवाह गरेको ३९ वर्ष भइसक्यो। तर वैवाहिक जीवन सधैं सुखमय थिएन। तिनीहरू खासगरि एउटा कठिन समय सम्झन्छन्‌। मारिया सम्झिन्छिन्‌, “एकचोटि चर्को भनाभन हुँदा मैले मार्टिनको अनादर हुनेगरि केही कुरा भनें। उहाँ असाध्यै रिसाउनुभयो। मैले वास्तवमा त्यस्तो भन्‍न खोजेकी थिइनँ तर दुःखी मात्र भएकी थिएँ भनेर उहाँलाई बताउने प्रयास गरें। तर उहाँले सुन्दै सुन्‍नुभएन।” मार्टिन भन्छन्‌, “भनाभन भएको बेला मैले सोच्न थालें, अब हामी सँगै बस्न सक्दैनौं अनि वैवाहिक जीवनलाई सफल बनाउन मैले जति नै प्रयास गरे पनि केही फाइदा छैन।”

मार्टिन आफूलाई आदर गरेको चाहन्थे भने मारिया आफ्नो कुरा बुझेको चाहन्थिन्‌। आफूले चाहेको कुरा दुवैले पाएनन्‌।

तिनीहरूले कसरी समस्याको समाधान गर्न सके? मार्टिन भन्छन्‌, “रिस नमरुन्जेल म चुप लागेर बसें। त्यसपछि हामी दुवैले आदर गर्न र दयालु हुन बाइबलले दिएको बुद्धिमानी सल्लाह लागू गर्ने निर्णय गऱ्‍यौं। जति नै समस्याहरू आए तापनि मदतको लागि परमेश्‍वरलाई प्रार्थना गऱ्‍यौं र बाइबलमा पाइने सल्लाह लागू गऱ्‍यौं भने ती समाधान गर्न सकिन्छ भनी वर्षौंको दौडान हामीले सिकेका छौं।”—यशैया ४८:१७, १८; एफिसी ४:३१, ३२.

तेस्रो

गुनासो:

“मेरो श्रीमान्‌ले (श्रीमतीले) आफूले गर्नुपर्ने काम पनि गर्नुहुन्‍न (गर्दिनन्‌)।”

बाइबल सिद्धान्त:

“हामी सबैले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.

एक जनाको प्रयासले मात्र वैवाहिक जीवन सफल हुन सक्दैन भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर एक-अर्कालाई दोष लगाएर आफ्नो जिम्मेवारीबाट पन्छिंदा अवस्था झनै नाजुक हुनेछ।

आफ्नो जोडीले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्‍नेबारे मात्रै सोचिरहनुभयो भने तपाईं कहिल्यै आनन्दित हुन सक्नुहुन्‍न। तपाईंले आफ्नो जोडीको कमीकमजोरीलाई आफूले पूरा गर्नुपर्ने जिम्मेवारीदेखि पन्छिने बहाना बनाउनुभयो भने विशेषगरि यस्तो हुनेछ। तर अर्कोतर्फ तपाईं असल पति वा पत्नी बन्‍ने प्रयास गर्नुभयो भने तपाईंको वैवाहिक जीवन अझ राम्रो हुँदै जानेछ। (१ पत्रुस ३:१-३) तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यसो गर्दा तपाईंले वैवाहिक प्रबन्धको आदर गर्नुहुन्छ भनेर परमेश्‍वरलाई देखाउनुका साथै तपाईंको कामले उहाँलाई एकदमै खुसी बनाउनेछ।—१ पत्रुस २:१९.

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: कोरियामा बस्ने किमले विवाह गरेको ३८ वर्ष भइसक्यो। किम भन्छिन्‌: “कहिलेकाहीं मेरो श्रीमान्‌ मसित रिसाउनुहुन्छ अनि मसँग कुरै गर्नुहुन्‍न तर उहाँले मसँग किन यस्तो व्यवहार गर्नुहुन्छ, मलाई त्यसको कारणसमेत थाह हुँदैन। यस्तो व्यवहारले गर्दा मप्रतिको उहाँको माया सेलाइसक्यो कि जस्तो लाग्छ। कहिलेकाहीं त मलाई यस्तो लाग्छ, ‘उहाँले महसुस गर्ने कुरा मैले बुझिदेओस्‌ भन्‍ने उहाँ किन चाहनुहुन्छ जबकि उहाँ आफै मैले महसुस गरेको कुरा बुझ्ने प्रयास गर्नुहुन्‍न?’ ”

किमले आफूले भोगिरहेको अन्याय र श्रीमान्‌ले गर्नुपर्ने काम पनि नगरेको कुरामा ध्यान केन्द्रित गर्न सक्थिन्‌। तर तिनले भिन्‍नै तरिका अपनाइन्‌। किम भन्छिन्‌, “रिसाएर बस्नुभन्दा शान्ति कायम गर्न अग्रसर हुन प्रयास गर्नु सबैभन्दा उत्तम हो भनेर मैले सिकें। पछि गएर हामीले शान्त हुन र शान्तिमय ढङ्‌गमा कुराकानी गर्न सक्यौं।”—याकूब ३:१८.

चौथो

गुनासो:

“मेरी श्रीमती मेरो अधीनमा बस्दिनन्‌।”

बाइबल सिद्धान्त:

“हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ।”—१ कोरिन्थी ११:३.

एक जना पति जसले आफ्नी पत्नी आफूप्रति आज्ञाकारी छैन भन्‍ने महसुस गर्छन्‌, तिनले पहिला आफ्नो शिर येशू ख्रीष्टप्रति अधीनता देखाउन आफू इच्छुक छु कि छैन भनी जाँच्नुपर्छ। येशूको उदाहरण पछ्याएर तिनले आफ्नो अधीनता देखाउन सक्छन्‌।

प्रेषित पावलले भने, “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) येशूले आफ्ना चेलाहरूमाथि ‘हैकम चलाउनुभएन।’ (मर्कूस १०:४२-४४) उहाँले आफ्ना अनुयायीहरूलाई सुस्पष्ट निर्देशन दिनुभयो र आवश्‍यक परेको बेला तिनीहरूलाई सच्याउनुभयो। तर उहाँ तिनीहरूप्रति कहिल्यै कठोर हुनुभएन। उहाँ तिनीहरूप्रति दयालु हुनुहुन्थ्यो र उहाँले तिनीहरूको सीमितता बुझ्नुभयो। (मत्ती ११:२९, ३०; मर्कूस ६:३०, ३१; १४:३७, ३८) उहाँले आफ्नो भन्दा तिनीहरूको फाइदालाई सधैं प्राथमिकता दिनुभयो।—मत्ती २०:२५-२८.

एक जना पतिले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के शिरत्वप्रतिको र स्त्रीलाई हेर्ने मेरो दृष्टिकोण बाइबलमा पाइने उदाहरण र सल्लाहभन्दा स्थानीय परम्पराबाट प्रभावित छ?’ उदाहरणको लागि, एक जना पत्नी आफ्नो पतिको धारणासित सहमत छैनन्‌ र दृढ भई तर आदरपूर्वक आफ्नो असहमति जनाउँछिन्‌ भने तपाईंलाई कस्तो लाग्छ? बाइबलमा अब्राहामकी पत्नी सारा आज्ञाकारी पत्नीको रूपमा चिनिन्छिन्‌। (१ पत्रुस ३:१, ६) तथापि आफ्नो परिवारलाई हानि पुऱ्‍याउन सक्ने खतराबारे अब्राहामले विचार गर्न नसक्दा साराले आफूलाई लागेको कुरा स्पष्टसँग बताइन्‌।—उत्पत्ति १६:५; २१:९-१२.

स्पष्ट छ, अब्राहामले सारालाई बोल्नै डर लाग्नेगरि थर्काएनन्‌। तिनी निरङ्‌कुश थिएनन्‌। त्यस्तैगरि बाइबलको सल्लाह पालन गर्ने पतिले आफ्नी पत्नीलाई सबै कुरा मान्‍नै पर्छ भनी जबरजस्ती गर्दैनन्‌। तिनले मायालु भई आफ्नो शिरत्वको प्रयोग गर्दा पत्नीबाट आदर पाउन सक्छन्‌।

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: इङ्‌गल्यान्डमा बस्ने जेम्सले विवाह गरेको ८ वर्ष भइसक्यो। तिनी भन्छन्‌: “महत्त्वपूर्ण निर्णय गर्नुपर्दा श्रीमतीसँग सल्लाह गरेर मात्र निर्णय गर्न म कोसिस गर्दै छु। म आफ्नैबारे मात्र सोचिनरहने प्रयास गर्छु। मैले आफ्नो होइन तर श्रीमतीको आवश्‍यकता पहिले पूरा गर्ने निर्णय गरेको छु।”

अमेरिकामा बस्ने जर्जले विवाह गरेको ५९ वर्ष भइसक्यो। तिनी भन्छन्‌: “मैले आफ्नी श्रीमतीलाई मान्छे नगन्‍ने जस्तो व्यवहार होइन तर बुद्धिमान्‌ अनि सक्षम सहयोगीको रूपमा व्यवहार गर्ने प्रयास गरेको छु।”—हितोपदेश ३१:१०.

पाँचौं

गुनासो:

“मेरो श्रीमान्‌ले अगुवाइ लिनुहुन्‍न।”

बाइबल सिद्धान्त:

“बुद्धिमान्‌ स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।”—हितोपदेश १४:१.

यदि तपाईंको श्रीमान्‌ निर्णय लिन र घरव्यवहार सँभाल्ने कुरामा अगुवाइ लिन हिचकिचाउँछन्‌ भने तपाईंसँग कम्तीमा तीनवटा विकल्प छन्‌:- (१) तपाईंले आफ्नो पतिको कमीकमजोरीलाई बारम्बार कोट्ट्याइरहन सक्नुहुन्छ अथवा (२) परिवारमा पतिको शिरको भूमिका तपाईं हडप्न सक्नुहुन्छ अथवा (३) पतिले जे-जति प्रयास गरेका छन्‌, त्यसका लागि तपाईं निष्कपट प्रशंसा गर्न सक्नुहुन्छ। यदि पहिलो दुई विकल्प रोज्नुभयो भने तपाईंले आफ्नो घर आफ्नै हातले भत्काउनुहुनेछ। तेस्रो विकल्प रोज्दा तपाईंले आफ्नो वैवाहिक जीवनलाई उत्थान गर्न अथवा बलियो बनाउन सक्नुहुनेछ।

थुप्रै पुरुष आफूलाई माया गरेकोभन्दा आदर गरेको रुचाउँछन्‌। त्यसैले यदि तपाईंले आफ्नो पतिलाई आदर गरेको महसुस गराउनुभयो भने तिनले आफ्नो भूमिका राम्ररी पूरा गर्न सक्छन्‌। तिनले परिवारमा अगुवाइ लिन गरेका प्रयासहरू प्रभावकारी अनि प्रशंसायोग्य छन्‌ भनी तिनलाई महसुस गराउनुभयो भने आदर गरेको देखाउन सक्नुहुन्छ। हो, कहिलेकाहीं कुनै विषयमा तपाईं आफ्नो पतिसित सहमत हुन सक्नुहुन्‍न। तपाईंहरूले ती विषयहरूमा छलफल गर्नु आवश्‍यक छ। (हितोपदेश १८:१३) तर तपाईंले छनौट गर्ने शब्दहरू र बोल्ने शैलीले तपाईंको वैवाहिक जीवन कि त भताभुङ्‌ग पार्छ कि त बलियो बनाउँछ। (हितोपदेश २१:९; २७:१५) आदरणीय ढङ्‌गमा कुराकानी गर्नुभयो भने तपाईंले चाहेजस्तै नतिजा पाउनुहुनेछ अर्थात्‌ तपाईंको पति अगुवाइ लिन हिचकिचाउनेछैनन्‌।

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: अमेरिकामा बस्ने मिशेलले विवाह गरेको ३० वर्ष भइसक्यो। उनी भन्छिन्‌: “आमाले म र मेरी बहिनीहरूलाई बुबाको मदतविना हुर्काउनुभयो। उहाँ निकै साहसी हुनुहुन्थ्यो र अरूमा भर पर्नुहुन्‍नथ्यो। ममा पनि उहाँकै जस्ता गुणहरू छन्‌। त्यसकारण उचित तरिकामा अधीनता देखाउने सम्बन्धमा मैले निरन्तर कोसिस गरिरहनुपर्छ। उदाहरणको लागि, आफू एक्लैले मात्र निर्णय गर्नुभन्दा श्रीमान्‌सित सल्लाह गरेर मात्रै निर्णय गर्न मैले सिकेकी छु।”

अस्ट्रेलियामा बस्ने रेचेलले मार्कसँग विवाह गरेको २१ वर्ष भइसक्यो। रेचेल पनि आफ्नो पृष्ठभूमिबाट प्रभावित थिइन्‌। उनी सम्झिन्छिन्‌: “बुबाले भनेको कुरा मेरी आमाले कहिल्यै पनि मान्‍नुहुन्‍नथ्यो। भनाभन गर्नु र अनादरपूर्ण व्यवहार गर्नु त सामान्य थियो। विवाहको सुरुका वर्षहरूमा आमाले जस्तो गर्नुहुन्थ्यो, मैले पनि त्यस्तै गरें। तर वर्ष बित्दै जाँदा आदर देखाउनेबारे बाइबलले दिएको सल्लाह लागू गर्नुको महत्त्व मैले बुझें। अहिले मार्क र मैले वैवाहिक जीवनको आनन्द अझ धेरै उठाउँदै छौं।”

छैटौं

गुनासो:

“मेरो श्रीमान्‌को (श्रीमतीको) रिसउठ्‌दो बानी अब म सहन सक्दिनँ।”

बाइबल सिद्धान्त:

“यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

आफूले विवाह गर्न लागेको व्यक्‍तिसित विवाहअगाडि भेटघाट गर्दा सम्भवतः तपाईंले तिनमा भएका असल गुणहरूमा ध्यान केन्द्रित गर्नुभएको थियो होला तर तिनका कमीकमजोरीहरू भने मुस्किलले याद गर्नुभएको थियो होला। अहिले पनि तपाईं त्यसै गर्न सक्नुहुन्छ कि? पक्कै पनि तपाईंले आफ्नो जोडीको गुनासो गर्ने जायज कारणहरू छन्‌ होला। तथापि आफैलाई सोध्नुहोस्‌, ‘मेरो जोडीको कुन गुणहरूमा म ध्यान केन्द्रित गरूँ—असल या खराब?’

हामीले अरूको कमीकमजोरीहरू देख्दा त्यसलाई बेवास्ता गर्नुपर्ने आवश्‍यकताबारे येशूले एउटा सशक्‍त उदाहरण चलाउनुभयो। उहाँले सोध्नुभयो, “तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिं यादै गर्दैनौ?” (मत्ती ७:३) छेस्को एउटा सानो काठको चोइटो हो। तर मुढा भने घरको छाना छाउँदा प्रयोग गरिने ठूलो अनि लामो दलिन हो। उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? “पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ।”—मत्ती ७:५.

येशूले यो उदाहरण गम्भीर चेतावनीसहित दिनुभयो। उहाँले यसो भन्‍नुभयो, “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। किनकि तिमीहरूले जसरी अरूको न्याय गर्छौ त्यसरी नै तिमीहरूको न्याय गरिनेछ।” (मत्ती ७:१, २) यदि परमेश्‍वरले तपाईंको आँखामा भएको मुढा अर्थात्‌ तपाईंका कमीकमजोरीहरू बेवास्ता गरेको चाहनुहुन्छ भने तपाईंको जोडीका कमीकमजोरीहरू बेवास्ता गर्नु तपाईंकै हितमा हुनेछ।—मत्ती ६:१४, १५.

कसै-कसैले यो सल्लाह कसरी लागू गरेका छन्‌: इङ्‌गल्यान्डमा बस्ने जेनी र साइमनले विवाह गरेको ९ वर्ष भइसक्यो। जेनी भन्छिन्‌: “अक्सर मलाई तनाव हुनुको मुख्य कारण मेरो श्रीमान्‌ले कुनै कुराहरू गर्नुअगाडि अग्रिम योजना बनाउनुहुन्‍न, उहाँ सबै कुरा अन्तिम घडीमा आएर गर्नुहुन्छ। तर हाँसउठ्‌दो कुरा के छ भने मैले उहाँलाई विवाह गर्नअघि भेट्‌दा अकस्मात्‌ योजना बनाइहाल्ने उहाँको बानी मलाई मन पर्थ्यो। तर अहिले मैले बुझें कि मेरो पनि कमीकमजोरीहरू छन्‌। जस्तै:- मैले भनेजस्तै अरूले गर्नुपर्छ अनि सोच्नुपर्छ भनी म जबरजस्ती गर्न खोज्छु। साइमन र मैले एक-अर्काको सानातिना कमीकजोरीहरू बेवास्ता गर्न सिक्दै छौं।”

यस लेखमा अगाडि उल्लेख गरिएका मिशेलका पति कुर्ट भन्छन्‌: “यदि तपाईं आफ्नो जोडीको रिसउठ्‌दा गुणहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ भने त्यस्ता कमीकमजोरीहरू झन्‌-झन्‌ ठूलो देखिन्छन्‌। मिशेलसित सुरुतिर भेट्‌दा मैले जुन गुणहरूले गर्दा उसलाई माया गरेको थिएँ, त्यही गुणहरूमा ध्यान केन्द्रित गर्न चाहन्छु।”

सफलताको रहस्य

यस्ता केही उदाहरणले वैवाहिक जीवनमा चुनौतीहरू त अवश्‍य आउँछन्‌ तर त्यस्ता चुनौतीहरूको समाधान गर्नै नसकिने भने होइन भनी प्रस्ट पार्छ। त्यसोभए सफलताको रहस्य के हो? परमेश्‍वरप्रतिको प्रेम विकास गर्नुहोस्‌ र उहाँको वचन बाइबलमा दिइएका सल्लाहहरू लागू गर्न इच्छुक हुनुहोस्‌।

नाइजेरियामा बस्ने एलेक्स र इटोहङले विवाह गरेको २० वर्षभन्दा धेरै भइसक्यो। तिनीहरूले सफलताको रहस्यबारे सिके। एलेक्स भन्छन्‌: “विवाहित दम्पतीले बाइबलका सिद्धान्तहरू लागू गर्ने हो भने वैवाहिक जीवनमा आइपर्ने प्रायजसो जुनसुकै समस्याको पनि समाधान गर्न सकिन्छ भनेर मैले सिकें।” तिनकी पत्नी भन्छिन्‌: “एक-अर्कालाई निष्कपट प्रेम देखाउन अनि धीरजी हुन बाइबलले दिएको सल्लाह पालन गर्नु र नियमित तवरमा सँगै बसेर प्रार्थना गर्नुको महत्त्वबारे हामीले सिक्यौं। हाम्रो विवाहको सुरुका दिनहरूमा जति समस्याहरू थिए, त्यसको तुलनामा अहिले ज्यादै थोरै समस्या छन्‌।”

तपाईंको परिवारको लागि परमेश्‍वरको वचनमा पाइने व्यावहारिक सल्लाह कसरी लाभदायक हुन सक्छ, त्यसबारे अझ थप कुरा बुझ्न चाहनुहुन्छ? चाहनुहुन्छ भने बाइबलले वास्तवमा के सिकाउँछ? b किताबको अध्याय १४ छलफल गर्न यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌। ( w11 -E 02/01)

[फुटनोट]

a केही नाम परिवर्तन गरिएका छन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ४-मा भएको चित्र]

के हामी एक-अर्काको लागि समय निकाल्छौं?

[पृष्ठ ५-मा भएको चित्र]

के म लिनेभन्दा दिने प्रयास गर्दै छु?

[पृष्ठ ६-मा भएको चित्र]

के म समस्याहरू सुल्झाउन अग्रसरता देखाउँछु?

[पृष्ठ ७-मा भएको चित्र]

के म निर्णय गर्नुअगाडि मेरी पत्नीको विचार बुझ्ने गर्छु?

[पृष्ठ ९-मा भएको चित्र]

के म आफ्नो जोडीका असल गुणहरूमा ध्यान केन्द्रित गर्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने