प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ३/१५ पृ. १३-१७
  • ‘परमेश्‍वरलाई चिन्‍नुभएको छ’—अब के गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘परमेश्‍वरलाई चिन्‍नुभएको छ’—अब के गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरलाई चिन्‍न चाल्ने कदमहरू
  • परमेश्‍वरले चिनेकाहरू आध्यात्मिक रूपमा बढ्‌दै जान्छन्‌
  • यहोवासितको मित्रता बलियो बनाउनुहोस्‌
  • यहोवाको नजिक भइरहन सहनशीलता चाहिन्छ
  • किशोरकिशोरी हो, बप्तिस्मापछि पनि प्रगति गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • बप्तिस्माको लागि तपाईँ कसरी तयार हुन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ३/१५ पृ. १३-१७

‘परमेश्‍वरलाई चिन्‍नुभएको छ’—अब के गर्नुपर्छ?

“तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ।”—गला. ४:९.

तपाईंको के जवाफ छ?

  • आफूले चालेका कदमहरूको सूची बेलाबेलामा जाँच्नु किन मदतकारी हुन्छ?

  • परिपक्व ख्रीष्टियनले समेत किन आध्यात्मिक रूपमा प्रगति गरिरहनुपर्छ?

  • यहोवाप्रतिको हाम्रो विश्‍वास र समर्पणबारे किन विचार गर्नुपर्छ?

१. विमान चालकले उडान भर्नुअघि किन सुरक्षा-सूची जाँच्छन्‌?

विमान चालकहरूले उडान भर्नुअघि ३० वटाभन्दा धेरै बुँदा भएको सुरक्षा-सूची प्रयोग गरेर विमानको अवस्था जाँच्छन्‌। हरेक पटक उडान भर्नुअघि सूचीमा भएका बुँदाहरू राम्रोसँग जाँचिएन भने दुर्घटना हुने सम्भावना प्रबल हुन्छ। विशेषगरि कस्ता चालकहरूलाई हरेक पटक सूची जाँच्न आग्रह गरिन्छ, तपाईंलाई थाह छ? अनुभवी चालकहरूलाई! अनुभवी चालकहरू अतिविश्‍वस्त हुन सक्छन्‌ अनि उडान भर्नुअघि जाँच्नुपर्ने बुँदाहरूलाई बेवास्ता गर्न सक्छन्‌।

२. हामीले के जाँच्नुपर्छ?

२ सुरक्षाको ख्याल गर्ने चालकले जस्तै तपाईंले पनि गाह्रो अवस्थामा समेत आफ्नो विश्‍वास कमजोर नहोस्‌ भनेर एक प्रकारको सूची जाँच्न सक्नुहुन्छ। तपाईंको बप्तिस्मा हालै भएको होस्‌ वा वर्षौंअघि, आफ्नो विश्‍वास कत्तिको बलियो छ भनेर नियमित रूपमा जाँच्नु अत्यावश्‍यक छ। यसलाई बेवास्ता गरेमा यहोवासितको सम्बन्ध कमजोर हुन सक्छ। बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ।”—१ कोरि. १०:१२.

३. गलातियाका ख्रीष्टियनहरूले के गर्नुपर्थ्यो?

३ येशूले आफ्नो बलिदानमार्फत, उहाँमा विश्‍वास गर्नेहरूका लागि विशेष तरिकामा यहोवालाई चिन्‍ने बाटो खोलिदिनुभएको थियो। उनीहरू परमेश्‍वरका छोराछोरी हुन सक्थे। तर गलातियाका ख्रीष्टियनहरूले आफ्नो विश्‍वास कत्तिको बलियो छ भनेर जाँच्नु अनि साँचो स्वतन्त्रताको मोल गर्नु आवश्‍यक थियो। (गला. ४:९) मोशाको व्यवस्था पालन गरेमा मात्र परमेश्‍वरको नजरमा असल ठहरिन सकिन्छ भन्‍नेहरू गलातियाको मण्डलीमा थिए। तर परमेश्‍वरले त्यो व्यवस्था खारेज गरिसक्नुभएको थियो अनि मण्डलीका अन्यजातिहरू कहिल्यै पनि व्यवस्थाको अधीनमा थिएनन्‌। यहूदी अनि अन्यजाति दुवैले आध्यात्मिक प्रगति गर्नुपर्थ्यो। तिनीहरूले मोशाको व्यवस्थाअनुसार चलेर परमेश्‍वरको नजरमा असल ठहरिन सकिंदैन भनेर बुझ्नुपर्थ्यो।

परमेश्‍वरलाई चिन्‍न चाल्ने कदमहरू

४, ५. पावलले गलातियाका ख्रीष्टियनहरूलाई कस्तो सल्लाह दिए अनि यो सल्लाह हाम्रो लागि पनि किन महत्त्वपूर्ण छ?

४ गलातियाका ख्रीष्टियनहरूलाई प्रेषित पावलले दिएको सल्लाह रेकर्ड गरिनुको एउटा खास उद्देश्‍य छ:- आफूले छोडेर आएका कुराहरूमा नफर्कन जुनसुकै समयका ख्रीष्टियनहरूलाई मदत गर्नु। गलातियाको मण्डलीमा भएकाहरूलाई मात्र नभई आफ्ना सबै सेवकलाई वफादार रहिरहनको लागि प्रोत्साहन दिन यहोवाले पावललाई प्रेरणा दिनुभयो।

५ आध्यात्मिक अन्धकारबाट मुक्‍त भएर हामी कसरी यहोवाको साक्षी बन्यौं, त्यसबारे सम्झनु बेस हो। यसको लागि यी प्रश्‍न विचार गर्नुहोस्‌: बप्तिस्माको लागि योग्य हुन चालेका कदमहरू के तपाईंलाई याद छ? तपाईंले परमेश्‍वरलाई कसरी चिन्‍नुभयो अनि परमेश्‍वरले तपाईंलाई चिनेकोमा कस्तो लागेको थियो, सम्झन सक्नुहुन्छ?

६. हामी कस्तो सूचीबारे छलफल गर्नेछौं?

६ साधारणतया हामी सबैले नौवटा कदम चाल्यौं। “बप्तिस्माको लागि योग्य हुन र प्रगति गरिरहन चाल्ने कदमहरू” भन्‍ने पेटीमा ती कदमहरूको सूची दिइएको छ। ती नौवटा कदम सधैं सम्झिरहँदा संसारका कुराहरूमा फर्केर नजान मदत पाउँछौं। जसरी अनुभवी विमान चालकले होसियार भई सूची जाँच्दा सुरक्षितसाथ विमान चलाइरहन सक्छ, त्यसरी नै नौवटा कदमको सूची जाँच्दा यहोवाको सेवामा वफादार भई लागिरहन सक्नेछौं।

परमेश्‍वरले चिनेकाहरू आध्यात्मिक रूपमा बढ्‌दै जान्छन्‌

७. हामीले कस्तो नमुना पछ्याउनुपर्छ र किन?

७ सुरक्षा-सूचीले चालकलाई हरेक पटक उडान भर्नुअघि विमान जाँच्नुपर्ने कुराको सम्झना गराउँछ। हामी पनि आफैलाई अनि बप्तिस्मा गरेदेखि यता आफूले गरिरहेको कामकुरालाई नियमित रूपमा जाँच्न सक्छौं। पावलले तिमोथीलाई यसो भने: “तिमीले मबाट सुनेको साँचो शिक्षाको नमुनालाई पक्रिराख, साथै ख्रीष्ट येशूसित सम्बन्धित विश्‍वास अनि प्रेम पनि प्रकट गर।” (२ तिमो. १:१३) ती “साँचो शिक्षा” परमेश्‍वरको वचनमा पाइन्छ। (१ तिमो. ६:३) चित्रकारले कोरेको खाकाले चित्र कस्तो देखिनेछ भनेर थाह पाउन मदत गर्छ। त्यसरी नै “साँचो शिक्षाको नमुना”-ले यहोवाले हामीबाट चाहने कुरा बुझ्न र त्यसैअनुसार गर्न मदत गर्छ। साँचो शिक्षाको नमुनालाई कत्तिको राम्ररी पछ्याइरहेका छौं भनेर पक्का गर्न बप्तिस्माको लागि योग्य हुन चालेका कदमहरू विचार गरौं।

८, ९. (क) ज्ञान र विश्‍वासको सन्दर्भमा के गर्दै जानुपर्छ? (ख) हामीले ख्रीष्टियनको रूपमा प्रगति गरिरहनु किन आवश्‍यक छ? हाम्रो प्रगतिलाई किन रूखको वृद्धिसित तुलना गर्न सकिन्छ?

८ पहिलो कदम, हामीले ज्ञान लिएका थियौं। ज्ञानले विश्‍वास बढाउँछ। तर हामी यी दुवै क्षेत्रमा बढ्‌दै जानुपर्छ। (२ थिस्स. १:३) बढ्‌दै जानुमा एकपछि अर्को छाँटकाँट गर्नु समावेश छ। बप्तिस्मापछि पनि यहोवासितको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्छ। यसो गर्दा प्रगति गरिरहन सक्छौं।

रूख बढिरहन्छ; ख्रीष्टियनहरू पनि बढिरहनुपर्छ

९ आध्यात्मिक प्रगतिलाई रूखको वृद्धिसित तुलना गर्न सक्छौं। रूखको जरा बलियो छ अनि राम्ररी फैलिएको छ भने त्यो रूख एकदमै ठूलो हुन्छ। जस्तै:- लबानोनका कुनै-कुनै देवदार बाह्र तल्ले घरजत्तिको अग्ला हुन्छन्‌। यसको जरा बलियो हुन्छ र मूल काण्डको गोलाइ ४० फिटसम्म हुन्छ। (श्रेष्ठ. ५:१५) सुरुमा त रूख छिटो-छिटो बढ्‌छ। जरा फैलँदै जाँदा मूल काण्डको गोलाइ अनि उचाइ पनि बढ्‌दै जान्छ। तर पछि रूखको वृद्धि स्पष्ट देखिंदैन। हाम्रो प्रगति पनि त्यस्तै हो। हामीले बाइबल अध्ययन गर्ने क्रममा छिटो-छिटो प्रगति गरेर बप्तिस्मा गरौंला। यस्तो प्रगति मण्डलीका भाइबहिनीले स्पष्टै देख्छन्‌। हामी अग्रगामी सेवा गर्न वा अन्य सुअवसर बहन गर्नसमेत योग्य हुन सक्छौं। तर वर्षहरू बित्दै जाँदा हाम्रो प्रगति स्पष्ट नदेखिन सक्छ। तैपनि ‘पूरै हुर्किसकेको मानिस हुन अनि ख्रीष्टको पूर्णताको नापसम्म पुग्न’ हामी ज्ञान र विश्‍वासमा बढ्‌दै जानुपर्छ। (एफि. ४:१३) तसर्थ एउटा सानो टुसाले ठूलो रूखको रूप लिएजस्तै हामीले पनि परिपक्व ख्रीष्टियनको रूपमा प्रगति गर्दै जानुपर्छ।

१०. परिपक्व ख्रीष्टियनहरूले समेत किन प्रगति गरिरहनुपर्छ?

१० तर हाम्रो प्रगति यत्तिकैमा रोकिनु हुँदैन। ज्ञान र विश्‍वास हामीलाई बलियो हुन अनि स्थिर रहन मदत गर्ने जराजस्तै हो। त्यस जरालाई अझै बलियो बनाउँदै लैजानुपर्छ। (हितो. १२:३) ख्रीष्टियन मण्डलीका थुप्रै भाइबहिनीले यसो गरेका छन्‌। उदाहरणको लागि, तीस वर्षभन्दा लामो समयदेखि एल्डरको रूपमा सेवा गरिरहेका भाइलाई विचार गर्नुहोस्‌। तिनी आफूले अझै पनि आध्यात्मिक प्रगति गरिरहेको महसुस गर्छन्‌। तिनी यसो भन्छन्‌: “बाइबलप्रतिको कृतज्ञता पहिलेभन्दा झनै बढेको छ। बाइबल सिद्धान्त तथा नियमहरूलाई विभिन्‍न तरिकामा लागू गर्ने मौका खोजिरहन्छु। क्षेत्र सेवाप्रतिको कृतज्ञता पनि बढ्‌दै छ।”

यहोवासितको मित्रता बलियो बनाउनुहोस्‌

११. समय बित्दै जाँदा हामी यहोवालाई कसरी अझ राम्ररी चिन्‍न सक्छौं?

११ प्रगति गर्नुमा यहोवालाई आफ्नो बुबा अनि साथी ठानेर उहाँसित नजिक हुनु पनि समावेश छ। बच्चाले आमाबाबु आफ्नो साथमा हुँदा सुरक्षा र माया पाएको महसुस गर्छ। मन मिल्ने साथीसँग हुँदा हामी पनि त्यस्तै महसुस गर्छौं। यहोवा पनि हामीले त्यस्तै महसुस गरेको चाहनुहुन्छ। तर हामी यहोवासित रातारात घनिष्ठ हुन सक्दैनौं। उहाँलाई माया गर्न र चिन्‍न समय लाग्छ। त्यसैले उहाँलाई अझै राम्ररी चिन्‍न दिनहुँ बाइबल पढ्‌ने समय छुट्ट्याउनुहोस्‌। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको हरेक अङ्‌कका साथै अन्य प्रकाशनहरू पनि पढ्‌नुहोस्‌।

१२. यहोवासितको मित्रता बलियो बनाउन हामीले के गर्नुपर्छ?

१२ प्रार्थना र असल सङ्‌गतले हामीलाई परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न मदत गर्छ। (मलाकी ३:१६ पढ्‌नुहोस्‌) हाम्रो “उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ।” (१ पत्रु. ३:१२) मायालु आमाबाबुजस्तै यहोवा पनि हाम्रो पुकारा सुन्‍न सधैं तयार हुनुहुन्छ। त्यसैले ‘प्रार्थनामा लागिरहनुपर्छ।’ (रोमी १२:१२) यहोवाको मदतविना हामी उहाँको मित्र भइरहन सक्दैनौं। हामी एक्लैले यस संसारबाट आउने दबाबको प्रतिरोध गर्न सक्दैनौं। यहोवा हामीलाई बल दिन इच्छुक र सक्षम हुनुहुन्छ। तर प्रार्थना गर्न छोड्यौं भने त्यस्तो बल पाउनदेखि आफूलाई वञ्चित गरिरहेका हुन्छौं। के तपाईं आफ्नो प्रार्थनाको गुणस्तरमा सन्तुष्ट हुनुहुन्छ? अथवा सुधार गर्नुपर्ने महसुस गर्नुहुन्छ?—यर्मि. १६:१९.

१३. परमेश्‍वरसितको मित्रतालाई बलियो बनाउन सँगी ख्रीष्टियनहरूसित सङ्‌गत गर्नु किन अत्यावश्‍यक छ?

१३ यहोवामाथि “भरोसा राख्ने” सबैसित उहाँ प्रसन्‍न हुनुहुन्छ। त्यसैले यहोवालाई चिनिसकेपछि पनि उहाँलाई चिन्‍नेहरूसित नियमित रूपमा सङ्‌गत गरिरहनुपर्छ। (नहू. १:७) निराशाले भरिएको यस संसारमा हामीलाई प्रोत्साहन दिने भाइबहिनीहरूमाझ बस्नु बुद्धिमानी कुरा हो। यसो गर्दा कस्तो फाइदा हुन्छ? मण्डलीमा “प्रेम र सुकर्म गर्न” उत्साहित गर्ने भाइबहिनी पाउनेछौं। (हिब्रू १०:२४, २५) पावलले हिब्रूहरूलाई लेखेको पत्रअनुसार एकअर्कालाई प्रेम गर्न समान विचार भएका मानिसहरूको समूह अर्थात्‌ मण्डली चाहिन्छ। आपसी प्रेम देखाउन सँगी ख्रीष्टियनहरूसँग समय बिताउनुपर्छ। त्यसैले नियमित रूपमा सभामा उपस्थित हुनुहोस्‌ र टिप्पणी दिनुहोस्‌।

१४. गल्तीको पश्‍चात्ताप गर्न र खराब आनीबानी त्याग्न हामी किन सधैं तयार हुनुपर्छ?

१४ ख्रीष्टियन बन्‍न हामीले पापको लागि पश्‍चात्ताप गऱ्‍यौं र खराब आनीबानी त्याग्यौं। तर पश्‍चात्ताप गर्न र आवश्‍यक छाँटकाँट गर्न हामी सधैं तयार हुनुपर्छ। त्रुटिपूर्ण भएकोले हामीमा पापी झुकाव छ। पाप भनेको हामीलाई डस्न ढुकिबस्ने सर्पजस्तै हो। (रोमी ३:९, १०; ६:१२-१४) त्यसैले होसियार होऔं, आफ्ना गल्तीहरूप्रति आँखा नचिम्लिऔं। आफ्ना कमीकमजोरीविरुद्ध लड्‌न अनि आवश्‍यक छाँटकाँट गर्न प्रयास गर्दा यहोवा हामीप्रति धीरज देखाउनुहुन्छ। (फिलि. २:१२; २ पत्रु. ३:९) स्वार्थी कुराहरूको पछि लाग्नुको साटो आफ्नो समय अनि स्रोतसाधन यहोवाको सेवामा प्रयोग गर्नुहोस्‌। एक बहिनी यस्तो लेख्छिन्‌: “सच्चाइमै हुर्केकी भए तापनि यहोवाप्रतिको मेरो सोचाइ अरूको भन्दा फरक थियो। म उहाँसित असाध्यै डराउँथें अनि उहाँलाई कहिल्यै खुसी पार्न सक्दिनँ जस्तो लाग्थ्यो।” यहोवासित घनिष्ठ महसुस नगरेकीले तिनले थुप्रै गल्ती गरिन्‌। तिनी भन्छिन्‌: “यहोवालाई माया नगरेकीले होइन, उहाँलाई चिन्दै नचिनेकीले त्यस्तो भएको थियो। तर यहोवालाई धेरै चोटि व्यग्र प्रार्थना गरेपछि आवश्‍यक छाँटकाँट गर्न सकें।” तिनी यसो पनि भन्छिन्‌: “यहोवाले मलाई सानो बालकलाई जस्तै डोऱ्‍याउनुभयो। मेरा कमीकमजोरी एक-एक गरेर हटाउन कोमलतासाथ मदत गर्नुभयो। मैले गर्नुपर्ने के हो, त्यो पनि देखाइदिनुभयो।”

१५. येशू र यहोवा कुन कुरामा चासो लिनुहुन्छ?

१५ पत्रुस र अरू प्रेषितहरू चमत्कारपूर्ण ढङ्‌गमा झ्यालखानाबाट छुटेपछि सुसमाचारबारे ‘बताइरहो’ भनेर स्वर्गदूतले तिनीहरूलाई भने। (प्रेषि. ५:१९-२१) हाम्रो सूचीमा भएको एउटा बुँदा हरेक हप्ता क्षेत्र सेवामा भाग लिनु पनि हो। येशू र यहोवा हाम्रो विश्‍वास अनि सेवाको काममा चासो लिनुहुन्छ। (प्रका. २:१९) अनुच्छेद १० मा उल्लिखित एल्डर यसो भन्छन्‌: “क्षेत्र सेवा हाम्रो जीवनको अभिन्‍न भाग हो।”

१६. यहोवाप्रति गरेको समर्पणलाई किन सधैं सम्झिरहनुपर्छ?

१६ आफ्नो समर्पणलाई सधैं सम्झिरहनुहोस्‌। हामीसित भएको सबैभन्दा ठूलो सम्पत्ति यहोवासितको हाम्रो सम्बन्ध हो। यहोवा आफ्ना मानिसहरूलाई चिन्‍नुहुन्छ। (यशैया ४४:५ पढ्‌नुहोस्‌) उहाँसितको तपाईंको सम्बन्ध कत्तिको बलियो छ, प्रार्थनापूर्वक जाँच्नुहोस्‌। आफ्नो बप्तिस्माको मिति कहिल्यै नबिर्सनुहोस्‌। यसले तपाईंलाई आफूले गरेको सबैभन्दा महत्त्वपूर्ण निर्णय सम्झाउनेछ।

यहोवाको नजिक भइरहन सहनशीलता चाहिन्छ

१७. यहोवाको नजिक भइरहन किन सहनशीलता चाहिन्छ?

१७ गलातियाका ख्रीष्टियनहरूलाई लेखको पत्रमा पावलले सहनशील हुनुको महत्त्वलाई जोड दिए। (गला. ६:९) आज हामी पनि सहनशील हुनु अत्यावश्‍यक छ। तपाईंले परीक्षाहरूको सामना गर्नुपर्नेछ तर यहोवा सधैं तपाईंको साथमा हुनुहुनेछ। पवित्र शक्‍तिको लागि प्रार्थना गरिरहनुहोस्‌। यहोवाले चिन्तालाई हर्षमा अनि वेदनालाई शान्तिमा परिणत गर्नुहुँदा तपाईंलाई हाइसन्चो हुनेछ। (मत्ती ७:७-११) यो कुरा विचार गर्नुहोस्‌: यदि यहोवा चराहरूको त हेरविचार गर्नुहुन्छ भने उहाँलाई प्रेम गर्ने र आफूलाई उहाँमा अर्पण गर्ने तपाईंको झन्‌ कत्ति हेरविचार गर्नुहोला? (मत्ती १०:२९-३१) जस्तोसुकै दबाब आए तापनि कहिल्यै हरेस नखानुहोस्‌। आफूले छोडेर आएका कुराहरूमा कहिल्यै नफर्कनुहोस्‌। यहोवाले हामीलाई चिन्‍नुभएकोले हामीले थुप्रै आशिष्‌ पाएका छौं।

१८. ‘परमेश्‍वरलाई चिन्‍नुभएको छ,’ अब तपाईंले के गर्नुपर्छ?

१८ परमेश्‍वरलाई चिनेर हालै बप्तिस्मा गर्नुभएको छ भने अब तपाईंले के गर्नुपर्छ? यहोवालाई अझ राम्ररी चिन्‍ने प्रयास गरिरहनुहोस्‌ र प्रगति गरिरहनुहोस्‌। बप्तिस्मा गरेको वर्षौं भइसकेको छ भने अब तपाईंले के गर्नुपर्छ? तपाईंले पनि यहोवाको ज्ञानमा बढ्‌दै जाने प्रयास गरिरहनुपर्छ। ‘मैले यहोवालाई राम्ररी चिनिसकेको छु’ भनेर अतिविश्‍वस्त नहोऔं। बरु हाम्रा मायालु बुबा अनि साथी यहोवासितको सम्बन्ध बलियो बनाउँदै लगिरहेका छौं कि छैनौं भनेर आफ्नो सूची बेलाबेलामा जाँचिरहौं।—२ कोरिन्थी १३:५, ६ पढ्‌नुहोस्‌।

बप्तिस्माको लागि योग्य हुन र प्रगति गरिरहन चाल्ने कदमहरू

  1. १ यहोवा र उहाँको छोरा येशू ख्रीष्टको ‘ज्ञान लिन’ सुरु गर्छौं।—यूह. १७:३

  2. २ ज्ञान लिंदै जाँदा विश्‍वास पनि बढ्‌दै जान्छ।—यूह. ३:१६

  3. ३ नियमित रूपमा यहोवालाई प्रार्थना गर्छौं।—प्रेषि. २:२१

  4. ४ समान विश्‍वास भएकाहरूसित नियमित रूपमा सङ्‌गत गर्नुपर्ने आवश्‍यकता बुझ्छौं। —हिब्रू १०:२४, २५

  5. ५ पापको लागि पश्‍चात्ताप गर्छौं। —प्रेषि. १७:३०

  6. ६ खराब आनीबानी त्याग्छौं। —प्रेषि. ३:१९

  7. ७ विश्‍वासले गर्दा जनसमक्ष बोल्न उत्प्रेरित हुन्छौं।—२ कोरि. ४:१३

  8. ८ येशूलाई राम्ररी पछ्याउन आफूलाई यहोवामा समर्पण गर्छौं।—१ पत्रु. ४:२

  9. ९ समर्पणको चिन्हस्वरूप बप्तिस्मा गर्छौं।—१ पत्रु. ३:२१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने