प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या ३ पृ. ४-५
  • के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिबाट के सिक्न सक्छौँ?
  • बाइबलले ईश्‍वरको मायालु हेरचाहबारे के सिकाउँछ?
  • “यहोवाले मलाई माया नै गर्नुहुन्‍न . . . जस्तो लागेको थियो”
  • मैले प्रसव-उदासीनताको सामना गरें
    ब्यूँझनुहोस्‌!—२००२
  • बच्चाहरूको आवश्‍यकता र चाहना
    ब्यूँझनुहोस्‌!—२००४
  • बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू
    सुखी परिवार तर कसरी?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या ३ पृ. ४-५
एक दम्पती पार्कको बेन्चमा बसेर चराहरू हेर्दै

“तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—मत्ति १०:३१

के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?

सृष्टिबाट के सिक्न सक्छौँ?

भर्खरै जन्मेको बच्चाको लागि बाहिरको वातावरणसित घुलमिल हुन सुरुको ६० मिनेट एकदमै महत्त्वपूर्ण हुन्छ। किन? किनभने आमाले त्यतिबेला आफ्नो नवजात शिशुलाई माया-ममता देखाइन्‌ भने शिशुको शारीरिक वृद्धि र विकासमा निकै उन्‍नति हुन्छ।a

भर्खरै जन्मेको बच्चालाई माया देखाउँदै हेरविचार गर्न आमालाई कुन कुराले उत्प्रेरित गर्छ? नवजात शिशुसम्बन्धी एउटा अङ्‌ग्रेजी पत्रिकामा (द जर्नल अफ पेरिन्याटल) प्राध्यापक जनेट क्रेन्सले अक्सिटोसिन हर्मोनको बढ्‌दो मात्राले गर्दा “आमा आफ्नो नवजात शिशुलाई छोएर, नियालेर र स्तनपान गराएर मातृस्नेह देखाउन उत्प्रेरित हुन्छिन्‌” भनेर बताइन्‌। साथै त्यो समयमा निस्कने अर्को हर्मोनले “आमालाई बच्चाको प्रतिक्रिया बुझेर त्यसअनुसार गर्न” र बच्चासित नजिक हुन मदत गर्छ। यो कुरा किन उल्लेखनीय छ?

हाम्रो मायालु सृष्टिकर्ता र ईश्‍वर यहोवालेb नै आमा र बच्चाबीच यस्तो प्रगाढ सम्बन्ध सृष्टि गर्नुभएको हो। ईश्‍वरले आफूलाई “आमाको कोखबाट बाहिर” ल्याउनुभयो र आमाको छातीमा ढुक्क महसुस गराउनुभयो भनी प्राचीन इस्राएलका राजा दाउदले बताए। तिनले यस्तो प्रार्थना गरे: “म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ; म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”—भजन २२:९, १०.

विचार गर्नुहोस्‌: आमाले मायालु भई आफ्नो बच्चाको हेरविचार गरून्‌ र उसका आवश्‍यकताहरूको ख्याल राखून्‌ भनेर ईश्‍वरले यस्तो जटिल प्रणाली बनाउनुभयो। त्यसोभए के उहाँले पनि ‘आफ्नो सन्तान’ अर्थात्‌ हामीलाई चासो देखाउनुहुन्छ भन्‍नु तर्कसङ्‌गत छैन र?—प्रेषित १७:२९.

बाइबलले ईश्‍वरको मायालु हेरचाहबारे के सिकाउँछ?

सृष्टिकर्तालाई सबैभन्दा नजिकबाट चिन्‍नुभएको येसु ख्रिष्टले यसो भन्‍नुभयो: “के दुई वटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन। तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌। त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—मत्ति १०:२९-३१.

हामीमध्ये थोरैले मात्र उडिरहेका साना चराहरूलाई ध्यान दिन्छौँ। तीमध्ये कुनै भुईँमा झरेको त हामीलाई याद पनि हुँदैन। तर स्वर्गमा बस्नुहुने हाम्रो ईश्‍वरले तिनीहरू हरेकलाई याद गर्नुहुन्छ! त्यसोभए उहाँको नजरमा के मानिस थुप्रै चराहरूभन्दा बहुमूल्य छैन त? पक्कै छ। त्यसैले ईश्‍वरले तपाईँको चासो राख्नुहुन्‍न भनेर ‘डराउनु’ वा शङ्‌का गर्नु पर्दैन। बरु उहाँ तपाईँको गहिरो चासो राख्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌!

ईश्‍वर हाम्रो भलो चाहनुहुन्छ र हाम्रो ख्याल राखेर माया देखाउनुहुन्छ

धर्मशास्त्रले यस्तो आश्‍वासन दिन्छ:

  • “यहोवाको नजर सर्वत्र रहन्छ, असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।”—हितोपदेश १५:३.

  • “धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।”—भजन ३४:१५.

  • “तपाईँको अटल प्रेमको कारण म खुसीयाली मनाउनेछु किनकि तपाईँले मेरो दुःख देख्नुभएको छ; मेरो वेदना तपाईँलाई थाह छ।”—भजन ३१:७.

“यहोवाले मलाई माया नै गर्नुहुन्‍न . . . जस्तो लागेको थियो”

ईश्‍वर हाम्रो भलो चाहनुहुन्छ र हाम्रो ख्याल राखेर माया देखाउनुहुन्छ भनेर थाह पाउँदा यसले हाम्रो जीवनमा पक्कै फरक पार्छ। कसरी? बेलायतकी हानालाईc विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌:

“यहोवाले मलाई माया नै गर्नुहुन्‍न र मेरो प्रार्थनाको जवाफै दिनुहुन्‍न जस्तो पटक-पटक लागेको थियो। ममा नै विश्‍वासको कमी भएकोले यस्तो महसुस भएको होला भन्ठान्थेँ। उहाँको नजरमा म बेकामको मानिस भएकोले उहाँले सजाय दिँदै हुनुहुन्छ र बेवास्ता गर्दै हुनुहुन्छ भनेर सोचेँ।”

तर यहोवाले चासो राख्नुहुन्छ र माया गर्नुहुन्छ भनेर हाना पछि ढुक्क भइन्‌। उनको सोचाइ कसरी परिवर्तन भयो? उनी भन्छिन्‌: “मेरो सोचाइमा बिस्तारै परिवर्तन आयो। येसुको फिरौतीको बलिदानबारे धेरै वर्षअघि दिइएको एउटा भाषण अझै सम्झन्छु। त्यस भाषणले मेरो मनमा गहिरो छाप पाऱ्‍यो अनि यहोवाले मलाई माया गर्नुहुन्छ भनेर विश्‍वस्त हुन सकेँ। प्रार्थनाहरूको जवाफ पाउँदा म आँसु थाम्नै सक्दिनँ किनभने यहोवा मलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर महसुस गर्न सक्छु। बाइबल अध्ययन र ख्रिष्टियन सभाहरूबाट पनि यहोवा, उहाँको व्यक्‍तित्व अनि उहाँ हामीबारे कस्तो महसुस गर्नुहुन्छ भन्‍नेबारे धेरै कुरा सिक्न सकेकी छु। यहोवा हामी प्रत्येकलाई मदत गर्न, माया देखाउन र हाम्रो ख्याल राख्न कत्ति इच्छुक हुनुहुन्छ भनेर बल्ल बुझेँ।”

हानाले भनेको कुरा साँच्चै प्रोत्साहनदायी छ। तर ईश्‍वरले तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ र तपाईँको भावना पनि बुझ्नुहुन्छ भनेर कसरी पक्का हुन सक्नुहुन्छ? यसपछिको लेखमा यस प्रश्‍नबारे छलफल गर्नेछौँ।

a प्रसव-उदासीनता (पोस्टपार्टम डिप्रेसन) अर्थात्‌ सुत्केरी अवस्थामा हुने उदासीनता भएका केही आमाहरूलाई आफ्नो बच्चालाई माया-ममता देखाउन गाह्रो हुन सक्छ। तर यसको लागि तिनीहरूले आफैलाई दोष दिनु हुँदैन। अमेरिकाको राष्ट्रिय मानसिक स्वास्थ्य संस्थाका अनुसार प्रसव-उदासीनता “शारीरिक र भावनात्मक कारणहरू मिलेर हुन सक्छ . . . तर आमाले केही गरेकीले वा नगरेकीले हुने त होइन।” यसबारे थप जानकारी पाउन सेप्टेम्बर ८, २००२ को ब्यूँझनुहोस्‌!-मा प्रकाशित “मैले प्रसव-उदासीनताको सामना गरेँ” शीर्षकको लेख हेर्नुहोस्‌।

b बाइबलमा ईश्‍वरको नाम यहोवा हो भनी बताइएको छ।—भजन ८३:१८.

c यी शृङ्‌खलाबद्ध लेखहरूमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने