प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जुलाई pp. २६-३०
  • मैले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेको हुँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेको हुँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मैले सत्य सिकेँ
  • स्टान्ली थियटरको मर्मतसम्भार
  • रगत नलिई उपचार गर्न पाउने अधिकारलाई सुनिश्‍चित गर्ने प्रयास
  • मेरो वैवाहिक र पारिवारिक जीवन
  • परिस्थिति अचानक परिवर्तन भयो
  • धार्मिक स्वतन्त्रताको निम्ति सङ्‌घर्ष गर्दै
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • तपाईंको छोराछोरीलाई रगतको दुरुपयोग देखि सुरक्षित राख्नु
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जुलाई pp. २६-३०

जीवनी

मैले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेको हुँ

डन रिड्‌लेको वृत्तान्तमा आधारित

डन रिड्‌ले।

भाइ डोनाल्ड रिड्‌लेले तीस वर्षभन्दा लामो समयसम्म यहोवाका साक्षीहरूको पक्षमा कानुनी मुद्दाहरू लड्‌नुभयो। आफ्नो उपचारमा रगत नस्विकार्ने बिरामीको अधिकारलाई सुनिश्‍चित गर्न उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँको मदतले गर्दा यहोवाका साक्षीहरूले अमेरिकाको सर्वोच्च अदालतमा थुप्रै मुद्दा जिते। उहाँका साथीहरू उहाँलाई माया गरेर डन भन्थे। उहाँ धेरै मेहनती, नम्र र आत्मत्यागी हुनुहुन्थ्यो।

सन्‌ २०१९ मा उहाँलाई स्नायुसम्बन्धी गम्भीर रोग लागेको पत्ता लाग्यो, जसको कुनै उपचार छैन। यो रोगले उहाँलाई झन्‌झनै गाँज्दै लग्यो र अगस्त १६, २०१९ मा उहाँ बित्नुभयो। उहाँको जीवनी यस्तो छ।

मेरो जन्म १९५४ मा अमेरिकाको मिनेसोटा राज्यको सेन्ट पलमा भयो। म साधारण क्याथोलिक परिवारमा हुर्केँ। पाँच जना छोराछोरीमध्ये म माहिलो हुँ। सानो छँदा म क्याथोलिक स्कुल जान्थेँ र चर्चमा पादरीलाई सघाउने काम गर्थेँ। तैपनि मसँग बाइबलको ज्ञान थोरै मात्र थियो। सबै कुरा सृष्टि गर्ने एक जना परमेश्‍वर हुनुपर्छ जस्तो त लाग्थ्यो तर चर्चमा सिकाइने कुराहरूमा भने विश्‍वास लाग्नै छोड्यो।

मैले सत्य सिकेँ

विलियम मिसेल कलेजमा कानुन विषय पढिरहेको पहिलो वर्षमा यहोवाका साक्षीहरू मेरो घरमा आउनुभयो। म लुगा धुँदै थिएँ। त्यसैले त्यो दम्पती पछि आउँछौँ भनेर जानुभयो। उहाँहरू पछि आउनुहुँदा मैले दुइटा प्रश्‍न सोधेँ: “यो संसारमा राम्रा मानिसहरू किन अघि बढ्‌न सक्दैनन्‌?” अनि “खुसी हुन के गर्नुपर्छ?” उहाँहरूले मलाई अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्‌ग्रेजी) किताब र उज्यालो हरियो रङ्‌गको पवित्र बाइबल—नयाँ संसार अनुवाद दिनुभयो। म बाइबल अध्ययन गर्न राजी भएँ र अध्ययन गर्दै जाँदा मेरो आँखा खुलेको जस्तै भयो। हामीलाई परमेश्‍वरको राज्य चाहिन्छ र त्यस राज्यले भविष्यमा पृथ्वीमाथि शासन गर्नेछ भन्‍ने कुरा मलाई असाध्यै मन पऱ्‍यो। मानव शासन पूर्ण रूपमा असफल भइसक्यो भन्‍ने कुरा मैले स्पष्टै देखिरहेको थिएँ; यसले संसारबाट दुःखकष्ट, पीडा र अन्याय हटाउन सकेको थिएन।

सन्‌ १९८२ को सुरुतिर मैले यहोवालाई आफ्नो जीवन समर्पण गरेँ र त्यही वर्ष सेन्ट पल सिभिक सेन्टरमा आयोजना गरिएको “राज्य सत्य” अधिवेशनमा बप्तिस्मा पनि गरेँ। त्यसपछिको हप्ता म त्यही सिभिक सेन्टरमा जाँच दिन गएँ। अक्टोबरको सुरुतिर म पास भएको कुरा थाह पाएँ। यसपछि भने मैले वकिलको रूपमा काम गर्न सक्थेँ।

त्यही “राज्य सत्य” अधिवेशनमा मैले ब्रूक्लिन बेथेलमा सेवा गर्ने भाइ माइक रिचार्डसनलाई भेटेको थिएँ। उहाँले मलाई मुख्यालयमा कानुन विभाग स्थापना भएको छ भनेर बताउनुभयो। मैले प्रेषित ८:३६ मा इथियोपियाली नपुंसकले भनेको कुरा सम्झेँ र आफैलाई यस्तो प्रश्‍न गरेँ: “म कानुन विभागमा सेवा गर्न चाहन्छु भन्‍नदेखि मलाई केले रोक्छ र?” त्यसैले मैले बेथेल सेवाको लागि आवेदन दिएँ।

म यहोवाको साक्षी भएकोमा मेरो आमाबुबा पटक्कै खुसी हुनुहुन्‍नथ्यो। मेरो बुबाले मैले वाचटावरमा काम गरेँ भने मेरो करिअरलाई के फाइदा हुन्छ भनेर सोध्नुभयो। तर म स्वयंसेवकको रूपमा काम गर्ने हो भनेर बताएँ। मैले महिनामा ७५ डलर पाउँछु भनेर बताएँ, जुन त्यतिबेला बेथेल सेवकहरूलाई दिइने मासिक सोधभर्ना थियो।

मैले अदालतमा काम गर्ने कबुल गरिसकेको हुँदा १९८४ देखि मात्र ब्रूक्लिन बेथेलमा सेवा गर्न सकेँ। मलाई कानुन विभागमा खटाइयो। अहिले फर्केर हेर्दा मैले एकदमै ठीक समयमा बेथेल सेवा थालेँ जस्तो लाग्छ।

स्टान्ली थियटरको मर्मतसम्भार

सन्‌ १९८३ मा स्टान्ली थियटर।

भर्खरै किनेको बेला स्टान्ली थियटर

हाम्रो सङ्‌गठनले १९८३ को नोभेम्बरमा जर्सी सहरमा भएको स्टान्ली थियटर किन्यो। हाम्रा भाइहरूले त्यो भवनमा बिजुली र धाराको पाइपसम्बन्धी काम गर्ने अनुमति मागे। भाइहरू त्यहाँका स्थानीय अधिकारीहरूलाई भेट्‌न जानुभयो र त्यो हल यहोवाका साक्षीहरूको अधिवेशनको लागि प्रयोग गर्ने योजना भएको कुरा बताउनुभयो। त्यसपछि झमेला सुरु भयो। जर्सी सहरको नियमअनुसार उपासनाको लागि प्रयोग गरिने भवनहरू आवासीय इलाकामा हुनुपर्थ्यो। तर स्टान्ली थियटर भने व्यापारिक इलाकामा अवस्थित थियो। त्यसैले स्थानीय अधिकारीहरूले हामीलाई त्यो हल मर्मतसम्भार गर्ने अनुमति दिएनन्‌। हाम्रा भाइहरूले अपिल गरे तर हाम्रो अपिलको सुनुवाइ भएन।

मैले बेथेल सेवा थालेको पहिलो हप्तामै हाम्रो सङ्‌गठनले सङ्‌घीय जिल्ला अदालतमा यसविरुद्ध मुद्दा दायर गऱ्‍यो। मैले मिनेसोटाको सेन्ट पलमा भएको सङ्‌घीय जिल्ला अदालतमा दुई वर्ष काम गरिसकेको थिएँ। त्यसैले म यस्तो खालका मुद्दाहरूसित राम्ररी परिचित थिएँ। हाम्रो पक्षमा मुद्दा लडिरहेको एक जना वकिलले स्टान्ली थियटर विभिन्‍न सार्वजनिक कार्यक्रमको लागि, जस्तै: फिल्म देखाउनदेखि लिएर रक कन्सर्ट गर्नसमेत प्रयोग भइसकेको कुरा उठाए। त्यसैले त्यो हल धार्मिक कार्यक्रमको लागि प्रयोग गर्नु कसरी कानुनविपरीत भयो भनेर तिनले तर्क गरे। सङ्‌घीय जिल्ला अदालतले यस कुरामाथि गौर गऱ्‍यो र जर्सी सहरका अधिकारीहरूले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रताको हनन गरेको फैसला सुनायो। अदालतले हल मर्मत गर्ने अनुमति दिन सहरका अधिकारीहरूलाई आदेश दियो। यहोवाको कामलाई अघि बढाउन सङ्‌गठनले कानुनी प्रावधानहरू प्रयोग गर्दा उहाँले आशिष्‌ दिनुभएको मैले स्पष्टसित देखेँ। यसमा मैले पनि केही योगदान दिन सकेकोमा धेरै खुसी लाग्यो।

त्यसपछि भाइहरूले व्यापक पुनर्निर्माण परियोजना सुरु गरे। काम सुरु भएको वर्षदिन नबित्दै सेप्टेम्बर ८, १९८५ मा त्यही भवनमा गिलियड स्कुलको ७९औँ दीक्षान्त समारोह आयोजना गरियो। राज्य गतिविधिलाई अघि बढाउन कानुन विभागको एक जना सदस्यको रूपमा केही मदत गर्न पाउनुलाई मैले ठूलो सुअवसरको रूपमा हेरेँ। बेथेल आउनुअघि पनि मैले थुप्रै मुद्दा लडिसकेको थिएँ। तर यसरी यहोवाको कामलाई सघाउन पाउँदा म कता हो कता खुसी छु। यहोवाले मलाई अझ पनि थुप्रै कानुनी मुद्दा लड्‌न प्रयोग गर्नुहुनेछ भनेर मैले त्यतिबेला सोचेकै थिइनँ।

रगत नलिई उपचार गर्न पाउने अधिकारलाई सुनिश्‍चित गर्ने प्रयास

सन्‌ १९८० को दशकमा कुनै वयस्क साक्षीले आफ्नो उपचारको क्रममा रगत लिन अस्वीकार गर्दा डाक्टरहरू र अस्पतालले बिरामीको इच्छाको त्यत्ति कदर गर्दैनथे। विशेषगरि गर्भवती महिलाहरूको लागि त्यो ठूलो समस्या थियो किनकि न्यायाधीशहरूलाई महिलाहरूसित रगत अस्वीकार गर्ने कानुनी अधिकार छैन जस्तो लाग्थ्यो। रगत नदिएकोले आमाको मृत्यु भयो भने बच्चाले आमाको स्याहार पाउनेछैन भनेर उनीहरू तर्क गर्थे।

डिसेम्बर २९, १९८८ को कुरा हो। छोरा जन्माएपछि बहिनी डेनिस निकोलाऊको अत्यधिक रक्‍तस्राव भयो। उहाँको हेमोग्लोबिन ५ भन्दा तल झऱ्‍यो र उहाँको ज्यानै जाने खतरा भएपछि डाक्टरले उहाँलाई रगत लिन भने। तर बहिनी निकोलाऊले मान्‍नुभएन। भोलिपल्ट बिहान अस्पतालले उहाँलाई रगत दिन अदालतको अनुमति माग्यो। कुनै सुनुवाइ नै नभईकन अनि बहिनी निकोलाऊ वा उहाँको श्रीमान्‌लाई कुनै जानकारी नै नदिईकन न्यायाधीशले अस्पताललाई रगत दिने अनुमति दियो।

डिसेम्बर ३०, शुक्रबारको दिन बहिनी निकोलाऊको श्रीमान्‌ र उहाँको परिवारले रोक्न खोज्दाखोज्दै पनि अस्पतालको स्टाफले उहाँलाई रगत दिए। बहिनी निकोलाऊलाई रगत दिन लाग्दा उहाँको खाटको वरिपरि बसेर छेकेको आरोपमा त्यही साँझ उहाँको परिवारको केही सदस्य अनि एल्डरहरूलाई गिरफ्तार गरियो। डिसेम्बर ३१, शनिबार बिहान न्यु योर्क सहर र लङ आइल्याण्डका अखबार, टिभी र रेडियोमा त्यो गिरफ्तारीको समाचार आयो।

डन रिड्‌ले र फिलिप ब्रम्ले।

जवान छँदा फिलिप ब्रम्लेसँग

सोमबार बिहान म माथिल्लो अदालतका न्यायाधीश मिल्टन मोलेनकहाँ कुरा गर्न गएँ। मैले तिनलाई यस मुद्दाबारे सबै कुरा बताएँ अनि न्यायाधीशले सुनुवाइविनै हाम्री बहिनीलाई रगत दिने आदेश दिएको कुरा पनि बताएँ। तिनले मलाई यसबारे कुराकानी गर्न र यस्तो मुद्दामा कस्ता नियमहरू लागू हुन्छन्‌ भनेर छलफल गर्न दिउँसो तिनको अफिसमा आउन भने। त्यो साँझ म र मेरो निरीक्षक फिलिप ब्रम्ले तिनको अफिसमा गयौँ। तिनले अस्पतालको वकिललाई पनि बोलाए। हामीबीच चर्काचर्की भयो। त्यही बेला भाइ ब्रम्लेले आफ्नो नोटकपीमा यस्तो लेखेर मलाई देखाउनुभयो: “अलि शान्त हुनुहोस्‌!” अहिले यसो सोच्दा उहाँले मलाई राम्रो सल्लाह दिनुभयो जस्तो लाग्छ किनकि म अस्पतालको वकिललाई गलत साबित गर्न निकै हौसिएको थिएँ।

रिचर्ड मोअक, ग्रेगरी ओल्ज, पल पोलिडोरो, फिलिप ब्रम्ले, डन रिड्‌ले र मारियो मोरेनो अमेरिकाको सर्वोच्च अदालतबाहिर।

बायाँदेखि दायाँ: रिचर्ड मोअक, ग्रेगरी ओल्ज, पल पोलिडोरो, फिलिप ब्रम्ले, म र मारियो मोरेनो—अमेरिकाको सर्वोच्च अदालतमा वाचटावर भर्सेज भिलेज अफ स्ट्राटन मुद्दामा मौखिक बहस भएको दिन हाम्रो पक्षका वकिलहरू।—जनवरी ८, २००३ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) हेर्नुहोस्‌

करिब एक घण्टापछि न्यायाधीश मोलेनले भोलिपल्ट बिहान सबैभन्दा पहिला हाम्रो मुद्दाको सुनुवाइ हुनेछ भनेर बताए। हामी तिनको अफिसबाट निस्कन लाग्दा तिनले अस्पतालको वकिलको काँधमा “ठूलो बोझ छ” भने। यसको मतलब, ती वकिललाई भोलि आफ्नो कुरा प्रमाणित गर्न सजिलो हुने थिएन। मलाई यहोवाले हाम्रो मुद्दा बलियो छ भनेर आश्‍वासन दिनुभएको जस्तो महसुस भयो। आफ्नो इच्छा पूरा गर्न यहोवाले हामीलाई चलाउँदै हुनुहुन्छ भन्‍ने कुरा सोच्दा म उहाँप्रति अझ कृतज्ञ हुन सकेँ।

भोलिपल्ट बिहान हुने बहसको लागि हामीले राती अबेरसम्म बसेर तयारी गऱ्‍यौँ। अदालत ब्रूक्लिन बेथेलको नजिकै भएकोले हाम्रो सानो कानुन विभागबाट प्रायजसो सबै जना अदालतसम्म हिँडेरै गयौँ। चार जना न्यायाधीशले हाम्रो कुरा सुनेपछि अदालतको त्यो आदेश सरासर गलत हो भनेर बताए। उच्च अदालतले हाम्री बहिनी निकोलाऊको पक्षमा फैसला सुनायो अनि बिरामीको इच्छा के छ, त्यो नबुझी आदेश जारी गर्नु भनेको मानव अधिकारको हनन हो भनेर बतायो।

यसको केही समयपछि न्यु योर्कको सबैभन्दा माथिल्लो तहको अदालतले रगत नलिई उपचार गर्न पाउनु बहिनी निकोलाऊको अधिकार हो भनेर पुष्टि गऱ्‍यो। अमेरिकाको विभिन्‍न राज्यमा उच्च अदालतले रगतसम्बन्धी मामिलाको फैसला सुनाएको चार वटा मुद्दामध्ये यो पहिलो हो र यस मुद्दामा मैले पनि सघाउने सुअवसर पाएँ। (“विभिन्‍न राज्यको सर्वोच्च अदालतमा पाएका कानुनी जितहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) मैले बेथेलका अरू वकिलहरूलाई सम्बन्धविच्छेद र बच्चाको हेरचाहको जिम्मा आमा वा बुबा कसलाई दिने भन्‍ने मुद्दाहरूमा अनि जग्गाजमिन र भवनहरूको प्रयोगसित सम्बन्धित मुद्दाहरूमा सघाएको छु।

विभिन्‍न राज्यको सर्वोच्च अदालतमा पाएका कानुनी जितहरू

इ.जी. मुद्दामा (१९८९) इलेनोइ सर्वोच्च अदालतले १८ वर्षभन्दा मुनिका परिपक्व नाबालिगले रगत नलिने सन्दर्भमा आफैले छनौट गर्न सक्छन्‌ भनेर फैसला सुनायो।

पब्लिक हेल्थ ट्रस्ट अफ डाड काउन्टी भर्सेज वन्ज मुद्दामा (१९८९) फ्लोरिडा सर्वोच्च अदालतले रगत नलिँदा हुन सक्ने खतराबारे राम्ररी बुझ्ने वयस्कसित रगत लिन अस्वीकार गर्ने अधिकार छ भनेर सुनिश्‍चित गऱ्‍यो।

फोसमाइर भर्सेज निकोलाऊ मुद्दामा (१९९०) न्यु योर्क पुनरावेदन अदालतले (राज्यको सबैभन्दा माथिल्लो तहको अदालत) रगत नलिँदा हुन सक्ने खतराबारे राम्ररी बुझ्ने वयस्कसित आफूले चाहेको उपचार रोज्ने र रगत लिन अस्वीकार गर्ने अधिकार छ भनेर सुनिश्‍चित गऱ्‍यो।

स्टामफोर्ड हस्पिटल भर्सेज भेगा मुद्दामा (१९९६) कनेक्टिकट सर्वोच्च अदालतले एउटी आमा, जो यहोवाको साक्षी हुन्‌, तिनीसित आफ्नो शरीरको मामिलामा के स्वीकार गर्ने र के अस्वीकार गर्ने भनेर निर्णय गर्ने अधिकार छ भनी फैसला सुनायो।

मेरो वैवाहिक र पारिवारिक जीवन

डन रिड्‌ले आफ्नी श्रीमती डेनिससित।

मेरी श्रीमती डेनिससित

मैले मेरी श्रीमती डेनिसलाई पहिलो पटक भेट्‌दा उनी एक्ली आमा थिइन्‌ र उनले तीन जना छोराछोरी हुर्काइरहेकी थिइन्‌। उनी काम गर्दै अग्रगामी सेवा पनि गरिरहेकी थिइन्‌। जीवनमा धेरै दुःख भोग्नुपरे पनि यहोवाको सेवा गर्ने उनको सङ्‌कल्प बलियो थियो। यो देखेर म निकै प्रभावित भएँ। सन्‌ १९९२ मा हामी न्यु योर्क सहरमा आयोजना गरिएको “ज्योतिवाहकहरू” जिल्ला अधिवेशनमा उपस्थित भयौँ र मैले ऊसित चिनजान बढाउन चाहेको कुरा बताएँ। त्यसको एक वर्षपछि हामीले विवाह गऱ्‍यौँ। आध्यात्मिक रूपमा परिपक्व र रमाइलो गर्न मन पराउने श्रीमती पाएकोमा म धेरै खुसी छु। उनी मेरो लागि यहोवाले दिनुभएको उपहार हुन्‌। डेनिसले मेरो जीवन साँच्चै खुसीले भरिदिएकी छिन्‌।—हितो. ३१:१२.

हाम्रो विवाह हुँदा छोराछोरी ११, १३ र १६ वर्षका थिए। म उनीहरूको लागि असल बुबा बन्‍न चाहन्थेँ। त्यसैले हाम्रा प्रकाशनहरूमा सौतेनी बुबाहरूको लागि लेखिएका सबै लेख राम्ररी पढेँ र लागू पनि गरेँ। सधैँ सजिलो त भएन तर अहिले उनीहरूले मलाई आफ्नो भरोसायोग्य साथी र मायालु बुबाको रूपमा स्विकारेको देख्दा धेरै खुसी छु। उनीहरूका साथीहरूको लागि हाम्रो घर सधैँ खुला थियो र ती चल्तापुर्जा किशोरकिशोरीहरूसित समय बिताउन हामीलाई धेरै रमाइलो लाग्थ्यो।

सन्‌ २०१३ मा डेनिस र म हाम्रा वृद्ध आमाबुबाको हेरचाह गर्न विस्कन्सिनमा सऱ्‍यौँ। खुसीको कुरा, मैले बेथेल सेवा भने छोड्‌नु परेन। मैले अस्थायी स्वयंसेवकको रूपमा सङ्‌गठनका कानुनी मामिलाहरूमा सघाउने मौका पाएँ।

परिस्थिति अचानक परिवर्तन भयो

सेप्टेम्बर २०१८ मा मेरो घाँटीमा धेरै खसखस हुन थालेको मैले याद गरेँ। त्यसैले मैले डाक्टरलाई देखाएँ तर समस्या पत्ता लागेन। पछि अर्को डाक्टरले मलाई स्नायु रोग विशेषज्ञलाई देखाउने सुझाव दिए। जनवरी २०१९ मा स्नायु रोग विशेषज्ञले मलाई स्नायुसम्बन्धी गम्भीर रोग (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी) लागेको हुन सक्ने बताए।

त्यसको तीन दिनपछि आइस स्केटिङ गरिरहेको बेला मेरो दाहिने नाडीको हड्डी भाँचियो। मैले वर्षौँदेखि स्केटिङ गर्दै आएको थिएँ; यो त मेरो लागि बायाँ हातको खेलजस्तै थियो। यो दुर्घटना हुँदा मैले आफ्नो शरीरका मांसपेशीको तालमेल मिलाउन नसकेको कुरा महसुस गरेँ। यो रोग यत्ति चाँडो फैलियो कि यसले गर्दा मलाई बोल्न, हिँडडुल गर्न र खानेकुरा निल्नसमेत गाह्रो हुन थाल्यो।

आफूले लिएको शिक्षा प्रयोग गरेर परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई सघाउन सानो भए पनि योगदान दिन पाउनु मेरो लागि ठूलो सुअवसर हो। मैले डाक्टरहरू, वकिलहरू र न्यायाधीशहरूको लागि लेखहरू लेख्ने मौका पाएँ। साथै मैले विभिन्‍न देशमा आयोजना गरिएका सेमिनारहरूमा रगत नलिई उपचार र शल्यक्रिया गर्न पाउने हाम्रो अधिकारको पक्षमा भाषणहरू दिने मौका पनि पाएँ। तैपनि समग्रमा भन्‍नुपर्दा लुका १७:१० ले भनेझैँ ‘म निकम्मा दास हुँ। मैले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेको हुँ।’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने