प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 सेप्टेम्बर pp. २६-३१
  • प्रियजनले यहोवालाई त्याग्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रियजनले यहोवालाई त्याग्दा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूलाई दोष नदिनुहोस्‌
  • आफ्नो विश्‍वासलाई बलियो बनाइरहन तपाईँ के गर्न सक्नुहुन्छ?
  • मण्डलीले दिन सक्ने मदत
  • आशा नमार्नुहोस्‌ र यहोवामाथि भरोसा राखिरहनुहोस्‌
  • बहिष्कृत व्यक्‍तिसित कसरी व्यवहार गर्ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • बहिष्कार—यो किन मायालु प्रबन्ध हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 सेप्टेम्बर pp. २६-३१

अध्ययन लेख ३९

प्रियजनले यहोवालाई त्याग्दा

“तिनीहरूले . . . कत्ति चोटि . . . उहाँको मन दुखाए!”—भज. ७८:४०.

गीत १०२ ‘कमजोरहरूलाई मदत गर’

परिचयa

१. आफ्नो प्रियजन बहिष्कार हुँदा परिवारलाई कस्तो महसुस हुन सक्छ?

के तपाईँको कुनै प्रियजन मण्डलीबाट बहिष्कार भएको छ? कत्ति दुःखलाग्दो कुरा! बहिनी हिल्दाb यसो भन्छिन्‌: “हाम्रो विवाहको ४१ वर्षपछि मेरो श्रीमान्‌को मृत्यु हुँदा त्यो जस्तो पीडादायी कुरा अरू केही छैन जस्तो मलाई लागेको थियो। तर मेरो छोराले मण्डली, आफ्नी श्रीमती र छोराछोरीलाई त्याग्दा त्योभन्दा अझ धेरै पीडा मैले महसुस गरेँ।”

एक बुबा आफ्नो सामान लिएर घर छोडेर जाँदै छन्‌। आमा रोइरहेका दुई छोराछोरीलाई अँगालो हालिरहेकी छिन्‌।

आफ्नो प्रियजनले सत्यलाई त्याग्दा त्यो कत्ति पीडादायी हुन्छ भन्‍ने कुरा यहोवा बुझ्नुहुन्छ (अनुच्छेद २-३ हेर्नुहोस्‌)d

२-३. भजन ७८:४०, ४१ अनुसार यहोवाका जनहरूले उहाँलाई त्याग्दा उहाँ कस्तो महसुस गर्नुहुन्छ?

२ स्वर्गमा रहेको आफ्नो परिवारका केही सदस्यले उहाँलाई त्याग्दा यहोवालाई कत्ति दुःख लाग्यो होला, कल्पना गर्नुहोस्‌! (यहु. ६) अनि उहाँका प्यारा मानिसहरू अर्थात्‌ इस्राएलीहरूले बारम्बार यहोवाको विद्रोह गर्दा उहाँको मन कत्ति दुख्यो होला, त्यो पनि कल्पना गर्नुहोस्‌! (भजन ७८:४०, ४१ पढ्‌नुहोस्‌।) त्यसैले तपाईँको प्रियजनले स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबालाई त्याग्दा उहाँलाई पनि धेरै दुःख लाग्छ। तपाईँको पीडा उहाँ बुझ्नुहुन्छ। उहाँले कृपालु भई तपाईँलाई चाहिएको मदत र सान्त्वना दिनुहुनेछ।

३ यस्तो पीडादायी अवस्थाको सामना गर्नुपर्दा यहोवाको मदत पाउन हामी के गर्न सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ। साथै त्यस्तो अवस्थाको सामना गरिरहेका मण्डलीका भाइबहिनीलाई हामी कसरी मदत गर्न सक्छौँ, त्यो पनि छलफल गर्नेछौँ। तर सुरुमा हामीले राख्न नहुने नकारात्मक सोचाइबारे विचार गरौँ।

आफूलाई दोष नदिनुहोस्‌

४. आफ्नो छोरा वा छोरीले यहोवालाई त्याग्दा थुप्रै आमाबुबा कस्तो महसुस गर्छन्‌?

४ आफ्नो प्यारो छोरा वा छोरीले यहोवालाई त्याग्दा उसलाई आध्यात्मिक रूपमा बलियो बनाउन अझै केही गर्न सकिन्थ्यो कि जस्तो आमाबुबालाई लाग्न सक्छ। आफ्नो छोरा बहिष्कार भएपछि भाइ लुकले यसो भने: “मैले यसको लागि आफैलाई दोष दिएँ। म अक्सर नराम्रा सपनाहरू देख्थेँ। कहिलेकाहीँ मन भारी भएर आउँथ्यो र म रुन्थेँ।” त्यस्तै अवस्थाको सामना गरेकी बहिनी एलिजाबेथ यस्तो सोच्ने गर्थिन्‌: “सायद आमाको रूपमा मैले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सकिनँ। यहोवाको कुरा छोराको हृदयसम्म पुग्नेगरि सिकाउन सकिनँ जस्तो मलाई लाग्यो।”

५. कसैले यहोवालाई त्याग्दा त्यसको लागि को जिम्मेवार हुन्छ?

५ यहोवाले हामी प्रत्येकलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन। यसको अर्थ उहाँको आज्ञा मान्‍ने कि नमान्‍ने, त्यो हामी आफै छनौट गर्न सक्छौँ। केही केटाकेटीको आमाबुबा उदाहरणीय नभए तापनि तिनीहरूले भने यहोवाको सेवा गर्ने निर्णय गर्छन्‌ र उहाँप्रति वफादार रहन्छन्‌। तर केही केटाकेटीलाई भने तिनीहरूका आमाबुबाले यहोवाको कुरा सिकाउन धेरै मेहनत गर्छन्‌ तर ठूलो भएपछि तिनीहरूले यहोवालाई त्याग्छन्‌। निचोडमा भन्‍नुपर्दा, यहोवाको सेवा गर्ने कि नगर्ने, त्यो हामी आफैले निर्णय गर्नुपर्छ। (यहो. २४:१५) त्यसैले आमाबुबाहरू हो, तपाईँको छोराछोरीले यहोवालाई त्यागेको छ भने त्यसको लागि आफैलाई दोष नदिनुहोस्‌।

६. आफ्नो आमा वा बुबाले यहोवालाई त्याग्दा छोराछोरीलाई कस्तो महसुस हुन्छ?

६ कहिलेकाहीँ आमा वा बुबाले यहोवा र परिवारलाई समेत त्याग्न सक्छन्‌। (भज. २७:१०) आफ्नो आमाबुबालाई आदर्शको रूपमा हेर्ने केटाकेटीलाई त्यो सहन निकै गाह्रो हुन सक्छ। एस्तर जसका बुबा बहिष्कार भएका थिए, तिनी यसो भन्छिन्‌: “म अक्सर रुने गर्थेँ। उहाँ अनजानमा सत्यबाट तर्किनुभएको थिएन। उहाँले जानाजानी यहोवालाई त्याग्ने छनौट गर्नुभएको थियो। म मेरो बुबालाई माया गर्छु। त्यसैले उहाँ बहिष्कार भएपछि मलाई उहाँको चिन्ता लागिरहन्थ्यो। म अक्सर अत्तालिन्थेँ।”

७. आमा वा बुबा बहिष्कार भएको छोराछोरीप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ?

७ जवानहरू हो, तपाईँको आमा वा बुबा बहिष्कार हुनुभएको छ भने तपाईँको दुःखमा हामी पनि तपाईँसँगै छौँ। यहोवाले तपाईँको पीडा अझ राम्ररी बुझ्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। उहाँ तपाईँलाई माया गर्नुहुन्छ अनि तपाईँले देखाउनुभएको वफादारीको कदर गर्नुहुन्छ र हामी पनि गर्छौँ। साथै तपाईँको आमाबुबाले गरेको निर्णयको लागि तपाईँ जिम्मेवार हुनुहुन्‍न भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। अगाडि उल्लेख गरिएझैँ यहोवाले हामी प्रत्येकलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। यहोवालाई आफ्नो जीवन समर्पण गरेको अनि बप्तिस्मा गरेको प्रत्येकले ‘आफ्नो जिम्मेवारीको भारी आफै बोक्नुपर्छ।’—गला. ६:५, फुटनोट।

८. बहिष्कार भएको प्रियजन यहोवाकहाँ नफर्कुन्जेल परिवारका वफादार सदस्यहरूले के गर्न सक्छन्‌? (“यहोवाकहाँ फर्कनुहोस्‌” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

८ तपाईँको कुनै प्रियजनले यहोवालाई त्यागेका छन्‌ भने एक दिन तिनी यहोवाकहाँ फर्कनेछन्‌ भनेर सायद तपाईँ आशा गर्नुहुन्छ होला। त्यतिन्जेल तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो विश्‍वासलाई बलियो बनाउन सक्दो गरिरहनुहोस्‌। यसो गरेर तपाईँले परिवारका अरू सदस्य र बहिष्कार भएको व्यक्‍तिको लागि समेत राम्रो उदाहरण बसालिरहनुभएको हुनेछ। साथै त्यस्तो पीडा सहन तपाईँले आवश्‍यक बल पनि पाउनुहुनेछ। तपाईँले चाल्न सक्ने केही व्यावहारिक कदमबारे अब छलफल गरौँ।

यहोवाकहाँ फर्कनुहोस्‌

एक गोठालोले भेडाको पाठोलाई माया गर्दै काखमा बोकिरहेका छन्‌।

एक आमा यसो भन्छिन्‌: “मैले मेरो बहिष्कार भएको छोराको लागि जे सोचेको छु, त्यो कुरा यसैया ५५:७ सँग मेल खान्छ। त्यहाँ यस्तो लेखिएको छ: ‘ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ। ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।’” यदि तपाईँले यहोवालाई त्याग्नुभएको छ भने तपाईँ जति छिटो उहाँकहाँ फर्कनुहुन्छ, त्यति नै तपाईँ आनन्दित हुनुहुनेछ। संसारमा भइरहेका कुराहरूलाई ध्यान दिँदा आरमागेडोन नजिकै छ र यो कुनै पनि बेला आउन सक्छ भन्‍ने कुरा प्रस्ट छ। साथै यो संसारमा हाम्रो जीवन छोटो र अनिश्‍चित छ। भोलि के हुने हो, त्यो हामी कसैलाई पनि थाह छैन।—याकु. ४:१३, १४.

यहोवाकहाँ फर्कनुहोस्‌ पुस्तिकामाc यस्तो लेखिएको छ: “तपाईँ यहोवाकहाँ फर्कँदा उहाँ तपाईँको साथमा हुनुहुनेछ भनेर निर्धक्क हुनुहोस्‌। उहाँले तपाईँलाई चिन्ता-फिक्रीको सामना गर्न, कसैले गर्दा चित्त दुखेको छ भने त्यस्तो भावना हटाउन र अन्तस्करण सफा हुँदा प्राप्त हुने मनोशान्ति पाउन मदत गर्नुहुनेछ। त्यसपछि तपाईँ दाजुभाइ दिदीबहिनीसँगै फेरि यहोवाको सेवा गर्न उत्प्रेरित हुन सक्नुहुन्छ।”—१ पत्रु. २:२५.

c यहोवाका साक्षीहरूद्वारा प्रकाशित र jw.org मा थुप्रै भाषामा उपलब्ध।

आफ्नो विश्‍वासलाई बलियो बनाइरहन तपाईँ के गर्न सक्नुहुन्छ?

९. तपाईँ कसरी यहोवाले दिनुहुने बल पाउन सक्नुहुन्छ? (“प्रियजनले यहोवालाई त्याग्दा तपाईँलाई सान्त्वना दिने शास्त्रपदहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

९ राम्रो आध्यात्मिक तालिका पछ्याउनुहोस्‌। आफूलाई अनि परिवारका बाँकी सदस्यलाई आध्यात्मिक रूपमा बलियो बनाइरहनु निकै महत्त्वपूर्ण छ। यो कसरी गर्न सकिन्छ? परमेश्‍वरको वचन अध्ययन र मनन गर्ने राम्रो तालिका पछ्याएर अनि ख्रिष्टियन सभाहरूमा उपस्थित भएर यहोवाले दिनुहुने बल पाउनुहोस्‌। जोआना जसका बुबा र दिदीले यहोवालाई त्यागे, तिनी यसो भन्छिन्‌: “अबिगेल, एस्तर, अय्युब, युसुफ र येसुजस्ता बाइबल पात्रहरूको विवरण पढ्‌दा मैले मनोशान्ति पाउँछु। ती उदाहरणहरूले मलाई अझ सकारात्मक हुन र पीडा सहन मदत गरेको छ। साथै हाम्रो सङ्‌गठनको मौलिक गीतहरूबाट पनि मैले धेरै प्रोत्साहन पाएकी छु।”

प्रियजनले यहोवालाई त्याग्दा तपाईँलाई सान्त्वना दिने शास्त्रपदहरू

  • भजन ३०:१०

  • भजन ३४:४, ६, १८, १९

  • भजन ३९:१२

  • भजन ६१:१, २

  • भजन ९४:१७-१९

  • एफिसी ३:२०

  • फिलिप्पी ४:६, ७

१०. निराशाको सामना गर्न भजन ३२:६-८ ले कसरी मदत गर्छ?

१० आफ्नो मनको बह यहोवालाई पोख्नुहोस्‌। निराशाले सताउँदा उहाँलाई प्रार्थना गर्न नछोड्‌नुहोस्‌। त्यस परिस्थितिलाई उहाँको दृष्टिकोणबाट हेर्न अनि तपाईँलाई ‘समझ दिन र हिँड्‌नुपर्ने बाटोमा डोऱ्‍याउन’ मायालु परमेश्‍वरसित मदत माग्नुहोस्‌। (भजन ३२:६-८ पढ्‌नुहोस्‌।) आफूलाई कस्तो महसुस हुँदै छ भन्‍ने कुरा यहोवालाई बताउन तपाईँलाई सजिलो नहुन सक्छ। तर यहोवा तपाईँको मनको पीडा राम्ररी बुझ्नुहुन्छ। उहाँ तपाईँलाई धेरै माया गर्नुहुन्छ र आफ्नो मनको बह पोख्न तपाईँलाई आग्रह गर्नुहुन्छ।—प्रस्थ. ३४:६; भज. ६२:७, ८.

११. हिब्रू १२:११ अनुसार हामीले यहोवाको मायालु अनुशासनमाथि किन भरोसा राख्नुपर्छ? (“बहिष्कारको प्रबन्ध—यहोवाको मायालु अनुशासन” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

११ एल्डरहरूले गरेको निर्णयलाई समर्थन गर्नुहोस्‌। बहिष्कार गर्नु यहोवाको प्रबन्धको एउटा भाग हो। उहाँको मायालु अनुशासनले गलत काम गर्ने व्यक्‍तिलगायत सबैलाई फाइदा गर्छ। (हिब्रू १२:११ पढ्‌नुहोस्‌।) मण्डलीका कसै-कसैले एल्डरहरूले गरेको बहिष्कारको निर्णय सही थिएन भनेर टिप्पणी गर्न सक्छन्‌ तर तिनीहरूले बहिष्कार भएको व्यक्‍तिले गरेको गल्तीलाई चाहिँ ढाकछोप गर्न सक्छन्‌। हामीलाई सबै सत्यतथ्य थाह हुँदैन। त्यसैले न्यायिक कदम चालेका एल्डरहरूले धर्मशास्त्रीय सिद्धान्तहरू पछ्याउन वा “यहोवा परमेश्‍वरको तर्फबाट” न्याय गर्न सक्दो गरेका छन्‌ भनेर भरोसा गर्नु बुद्धिमानी हुन्छ।—२ इति. १९:६.

बहिष्कारको प्रबन्ध—यहोवाको मायालु अनुशासन

बहिष्कारको प्रबन्धमा यहोवाको माया कसरी झल्किन्छ?

  1. १. गलत काम गर्नेहरूलाई सकेजति मदत दिन प्रेमले एल्डरहरूलाई उत्प्रेरित गर्छ। कुनै ख्रिष्टियनले गम्भीर पाप गर्छ तर पश्‍चात्ताप गर्दैन भने मात्र तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ।—हिब्रू १२:७, ९-११.

  2. २. बहिष्कारको प्रबन्धले मण्डलीलाई जोगाउँछ। पाप गरेर पनि पश्‍चात्ताप नगर्ने व्यक्‍ति भनेको छिटोछिटो फैलिने भाइरसद्वारा सङ्‌क्रमित भएको व्यक्‍तिजस्तै हो। अरूलाई भाइरस नसरोस्‌ भनेर उसलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ।—१ कोरि. ५:६, ७, ११-१३.

  3. ३. बहिष्कारको प्रबन्धले पापीलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गर्न सक्छ। बहिष्कार भएका धेरै जनाको होस खुलेको छ र पछि तिनीहरू यहोवाकहाँ फर्केका छन्‌।—लुका १५:११-२४.

  4. ४. जब कुनै व्यक्‍ति पश्‍चात्ताप गरेर फर्कन्छन्‌, तब स्वर्गमा रमाहट हुन्छ र मण्डलीका भाइबहिनीले तिनलाई न्यानो स्वागत गर्छन्‌।—लुका १५:७.

१२. बहिष्कारको प्रबन्धलाई समर्थन गरेका कसै-कसैले कस्तो राम्रो नतिजा हासिल गरेका छन्‌?

१२ एल्डरहरूको निर्णयलाई समर्थन गरेर वास्तवमा तपाईँ बहिष्कार भएको प्रियजनलाई यहोवाकहाँ फर्कन मदत गर्न सक्नुहुन्छ। अगाडि उल्लेख गरिएकी एलिजाबेथ यसो भन्छिन्‌: “हाम्रो हुर्किसकेको छोरासित कुनै पनि तरिकामा सम्पर्क नराख्न हाम्रो परिवारलाई सजिलो थिएन। तर तिनी यहोवाकहाँ फर्केपछि आफूलाई बहिष्कार गर्ने निर्णय सही थियो भन्‍ने कुरा तिनी आफैले स्विकारे। पछि तिनले आफ्नो गल्तीबाट थुप्रै पाठ सिकेको कुरा बताए। यहोवाले दिनुहुने अनुशासन सधैँ सही हुन्छ भन्‍ने कुरा मैले थाह पाएँ।” तिनको श्रीमान्‌ मार्क यसो भन्छन्‌: “त्यस्तो अवस्थामा हामीले जे गर्नुपर्ने थियो, त्यही गऱ्‍यौँ। हाम्रो छोरालाई यहोवाकहाँ फर्कन मदत गरेको कुरा केही हदसम्म यही नै थियो भनेर तिनले धेरै पछि हामीलाई बताए। त्यस्तो अवस्थामा आज्ञाकारी हुन मदत गर्नुभएकोमा म यहोवाप्रति निकै कृतज्ञ छु।”

१३. पीडा सहन तपाईँलाई कुन कुराले मदत गर्न सक्छ?

१३ तपाईँको भावना बुझ्ने साथीहरूसित कुरा गर्नुहोस्‌। सकारात्मक दृष्टिकोण राख्न मदत गर्न सक्ने परिपक्व ख्रिष्टियनहरूसित सङ्‌गत गर्नुहोस्‌। (हितो. १२:२५; १७:१७) अगाडि उल्लेख गरिएकी जोआना यसो भन्छिन्‌: “म एक्लो महसुस गर्थेँ। तर भरोसायोग्य साथीहरूसित कुरा गर्दा मलाई धेरै सजिलो भयो।” तर मण्डलीमा कसैले भनेको कुराले तपाईँलाई झनै पीडा हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँ के गर्न सक्नुहुन्छ?

१४. हामीले किन ‘एकअर्कालाई सहिरहनुपर्छ अनि खुला मनले क्षमा गरिरहनुपर्छ’?

१४ भाइबहिनीप्रति धीरज देखाउनुहोस्‌। सबैले सधैँ नै राम्रो कुरा भन्छन्‌ भनेर हामी आशा गर्न सक्दैनौँ। (याकु. ३:२) हामी सबै जना त्रुटिपूर्ण छौँ। त्यसैले त्यस्तो अवस्थामा के भन्‍ने भनेर थाह नहुँदा वा अनजानमा कसैले तपाईँको चित्त दुख्ने कुरा भन्दा छक्क नपर्नुहोस्‌। प्रेषित पावलको यो सल्लाह याद गर्नुहोस्‌: “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।” (कल. ३:१३) एक जना बहिनी जसको छोरा बहिष्कार भएको थियो, तिनी यसो भन्छिन्‌: “असल मनसायले मलाई मदत गर्न खोजेका तर उल्टै मलाई चोट पुऱ्‍याएका भाइबहिनीलाई क्षमा गर्न यहोवाले मलाई मदत गर्नुभएको छ।” प्रियजन बहिष्कार भएको परिवारका वफादार सदस्यहरूलाई मण्डलीले कसरी मदत गर्न सक्छ?

मण्डलीले दिन सक्ने मदत

१५. हालसालै प्रियजन बहिष्कार भएको परिवारका सदस्यहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?

१५ बहिष्कार भएको व्यक्‍तिको परिवारका वफादार सदस्यहरूसित दयालु र मित्रैलो व्यवहार गर्नुहोस्‌। आफ्नो भाइ बहिष्कार भएपछि सभामा जान अप्ठ्यारो लागेको कुरा बहिनी मिरियम स्विकार्छिन्‌। तिनी भन्छिन्‌: “अरूले के भन्लान्‌ भनेर मलाई चिन्ता लागेको थियो। तर सभामा धेरै भाइबहिनीले मेरो भाइ बहिष्कार भएकोमा दुःख व्यक्‍त गरे अनि उसको बारेमा कुनै नकारात्मक कुरा भनेनन्‌। त्यतिबेला म एक्लो छैनँ भनेर मैले महसुस गरेँ।” अर्की बहिनी यसो भन्छिन्‌: “हाम्रो छोरा बहिष्कार भएपछि हाम्रा प्यारा साथीहरू हामीलाई सान्त्वना दिन आए। त्यतिबेला कसै-कसैले के भन्‍नुपर्ने हो, थाह नभएको कुरा हामीलाई बताए। तिनीहरू मसँगै रोए अनि कसै-कसैले प्रोत्साहनदायी पत्र पठाए। तिनीहरूले मलाई धेरै मदत गरे।”

एक आमा र तिनका छोराछोरीले तिनीहरूको घरमा दुई जना एल्डरलाई स्वागत गर्दै छन्‌।

प्रियजन बहिष्कार भएको परिवारका सदस्यहरूलाई मण्डलीले मायालु तरिकामा मदत गर्न सक्छ (अनुच्छेद १७ हेर्नुहोस्‌)e

१६. प्रियजन बहिष्कार भएको परिवारका सदस्यहरूलाई मण्डलीले कसरी मदत गरिरहन सक्छ?

१६ परिवारका वफादार सदस्यहरूलाई मदत गरिरहनुहोस्‌। तिनीहरूलाई पहिलाभन्दा झन्‌ धेरै तपाईँको माया र प्रोत्साहन चाहिन्छ। (हिब्रू १०:२४, २५) कहिलेकाहीँ तिनीहरूले मण्डलीका भाइबहिनीले आफूसित बहिष्कार भएको व्यक्‍तिसित जस्तै बोलचाल बन्द गरेको महसुस गरेका छन्‌। तिनीहरूलाई त्यस्तो महसुस हुन नदिनुहोस्‌। विशेषगरि आमा वा बुबा बहिष्कार भएको जवानहरूलाई प्रोत्साहन दिनुपर्छ र तिनीहरूको सराहना गर्नुपर्छ। मारिया जसको श्रीमान्‌ बहिष्कार भएका थिए र परिवारलाई त्यागेका थिए, तिनी यसो भन्छिन्‌: “मेरा केही साथीले घरमा आएर खाना पकाउन र छोराछोरीलाई अध्ययन गराउन मलाई मदत गरे। तिनीहरूले मेरो पीडा महसुस गरे र मसँगै रोए। कसैले मेरो बारेमा गलत हल्ला फैलाउँदा तिनीहरूले मेरो पक्ष लिए। तिनीहरूबाट मैले धेरै प्रोत्साहन पाएँ।”—रोमी १२:१३, १५.

१७. एल्डरहरूले दुःखमा परेकाहरूलाई कसरी सान्त्वना दिन सक्छन्‌?

१७ एल्डरहरू हो, प्रियजन बहिष्कार भएको परिवारका वफादार सदस्यहरूलाई मदत गर्न हरेक अवसरको सदुपयोग गर्नुहोस्‌। तिनीहरूलाई सान्त्वना दिनु तपाईँको कर्तव्य हो। (१ थिस्स. ५:१४) सभाअघि र पछि तिनीहरूलाई प्रोत्साहन दिन र तिनीहरूसित कुराकानी गर्न अग्रसर हुनुहोस्‌। तिनीहरूलाई घरमा भेट्‌न जानुहोस्‌ र तिनीहरूको लागि प्रार्थना गर्नुहोस्‌। तिनीहरूसित साक्षीकार्यमा भाग लिनुहोस्‌ वा कहिलेकाहीँ आफ्नो पारिवारिक उपासनामा बोलाउनुहोस्‌। आध्यात्मिक गोठालाहरूले दुःखमा परेको यहोवाको भेडालाई कोमल व्यवहार गर्नुपर्छ, प्रेम गर्नुपर्छ र चासो देखाउनुपर्छ।—१ थिस्स. २:७, ८.

आशा नमार्नुहोस्‌ र यहोवामाथि भरोसा राखिरहनुहोस्‌

१८. दोस्रो पत्रुस ३:९ अनुसार गलत काम गरेकाहरूले के गरेको परमेश्‍वर चाहनुहुन्छ?

१८ यहोवा “कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रुस ३:९ पढ्‌नुहोस्‌।) कुनै व्यक्‍तिले गलत काम गर्लान्‌। तैपनि तिनको जीवन यहोवाको नजरमा अनमोल छ। यहोवाले हामी प्रत्येकको लागि कत्ति ठूलो मोल तिर्नुभयो, विचार गर्नुहोस्‌। उहाँले हाम्रो लागि आफ्नो प्यारो छोराको बलिदान दिनुभयो। यहोवाले उहाँलाई त्यागेर गएकाहरूलाई आफूकहाँ फर्कन मायालु तरिकामा मदत गर्नुहुन्छ। येसुले बताउनुभएको हराएको छोराको उदाहरणमा जस्तै यहोवा तिनीहरू आफूकहाँ फर्कनेछन्‌ भनेर आशा गर्नुहुन्छ। (लुका १५:११-३२) सत्यलाई त्यागेर गएकाहरूमध्ये धेरै जना पछि स्वर्गमा बस्नुहुने मायालु बुबाकहाँ फर्केका छन्‌ र मण्डलीका भाइबहिनीले तिनीहरूलाई न्यानो स्वागत गरेका छन्‌। मण्डलीमा आफ्नो छोरा पुनर्बहाली हुँदा अगाडि उल्लेख गरिएकी एलिजाबेथ निकै खुसी भइन्‌। विगतलाई फर्केर हेर्दा तिनी यसो भन्छिन्‌: “मलाई आशा नमार्न प्रोत्साहन दिने भाइबहिनीप्रति म धेरै कृतज्ञ छु।”

१९. हामी किन यहोवामाथि भरोसा राखिरहन सक्छौँ?

१९ हामी यहोवामाथि सधैँ भरोसा राख्न सक्छौँ। उहाँ कहिल्यै पनि हामीलाई हानि हुने निर्देशन दिनुहुन्‍न। उहाँ उदार र कृपालु बुबा हुनुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँको उपासना गर्नेहरूलाई उहाँ धेरै माया गर्नुहुन्छ। तपाईँको दुःखको घडीमा यहोवाले तपाईँलाई त्याग्नुहुनेछैन भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हिब्रू १३:५, ६) अगाडि उल्लेख गरिएका मार्क यसो भन्छन्‌: “यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएको छैन। गाह्रो अवस्थाको सामना गर्नुपर्दा उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ।” यहोवाले तपाईँलाई “असाधारण शक्‍ति” दिइरहनुहुनेछ। (२ कोरि. ४:७) हो, प्रियजनले यहोवालाई त्यागे तापनि तपाईँ उहाँप्रति वफादार र आज्ञाकारी भइरहन सक्नुहुन्छ।

निम्न शास्त्रपदबाट तपाईँले के सिक्नुभयो?

  • भजन ७८:४०, ४१

  • भजन ३२:६-८

  • हिब्रू १२:११

गीत ४४ दुःखी मानिसको प्रार्थना

a आफ्नो प्रियजनले यहोवालाई त्याग्दा हामीलाई धेरै दुःख लाग्छ। त्यस्तो अवस्थामा यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ। साथै पीडा सहन र आफ्नो विश्‍वासलाई बलियो बनाइरहन परिवारका वफादार सदस्यहरूले गर्न सक्ने केही व्यावहारिक कुराबारे छलफल गर्नेछौँ। मण्डलीका सबै भाइबहिनीले त्यस परिवारलाई कसरी सान्त्वना र मदत गर्न सक्छन्‌, त्यसबारे पनि छलफल गर्नेछौँ।

b यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।

d तस्बिरको व्याख्या: एक जना भाइले आफ्नो परिवार र यहोवालाई त्याग्दा तिनकी श्रीमती र छोराछोरीलाई धेरै पीडा हुन्छ।

e तस्बिरको व्याख्या: दुई जना एल्डर त्यस परिवारलाई आध्यात्मिक प्रोत्साहन दिन आउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने