प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जनवरी pp. २०-२५
  • यहोवाले तपाईँलाई गाह्रो अवस्थामा मदत गर्नुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईँलाई गाह्रो अवस्थामा मदत गर्नुहुनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तपाईँको रक्षा गर्नुहुनेछ
  • यहोवाले तपाईँलाई स्थिर पार्नुहुनेछ
  • यहोवाले तपाईँलाई थाम्नुहुनेछ
  • यहोवाले तपाईँलाई सान्त्वना दिनुहुनेछ
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामी कहिल्यै एक्लो छैनौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जनवरी pp. २०-२५

अध्ययन लेख ३

गीत १२४ सधैँ वफादार रहौँ!

यहोवाले तपाईँलाई गाह्रो अवस्थामा मदत गर्नुहुनेछ

“[यहोवाले] तिमीहरूलाई स्थिर गराउनुहुनेछ।”—यसै. ३३:६.

सिक्न सकिने कुरा

गाह्रो अवस्थामा यहोवाले दिनुहुने मदतबाट लाभ उठाउन हामी के गर्न सक्छौँ?

१-२. यहोवाका वफादार सेवकहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ?

दुःखदायी घटनाहरूले गर्दा हाम्रो जीवन रातारात परिवर्तन हुन सक्छ। जस्तै: एक वफादार भाइ लुइसलेa आफूलाई प्राणघातक क्यान्सर लागेको कुरा थाह पाए। डाक्टरले अब तिनी केही महिना मात्र बाँच्नेछन्‌ भनेर बताए। मोनिका र तिनका पति आध्यात्मिक गतिविधिमा व्यस्त थिए। तिनका पति एल्डर थिए। तर एकदिन मोनिकाले आफ्नो पतिले वर्षौँदेखि दोहोरो जीवन बिताइरहेको थाह पाइन्‌। एक अविवाहित बहिनी ओलिभिया विनाशकारी आँधी आउन लागेको कुरा थाह पाएकोले घर छोडेर भाग्न बाध्य भइन्‌। आँधी थामिएपछि घर फर्कँदा तिनले आफ्नो घर तहसनहस भएको देखिन्‌। पलभरमै लुइस, मोनिका र ओलिभियाको जीवन परिवर्तन भयो। के तपाईँले पनि आफ्नो जीवनै उथलपुथल गरिदिने दुःखदायी घटनाको सामना गर्नुपरेको छ?

२ हामीले पनि अरू मानिसहरूले जस्तै गाह्रो अवस्था र रोगबिमारको सामना गर्नुपर्छ। अनि ख्रिष्टियन भएकोले हामीले विरोधीहरूबाट खेदोको पनि सामना गर्नुपर्ने हुन सक्छ। यहोवाले हामीमाथि यस्ता गाह्रा अवस्थाहरू आइपर्नै दिनुहुन्‍न भन्‍ने त होइन तर उहाँले हामीलाई मदत गर्ने वाचा भने गर्नुभएको छ। (यसै. ४१:१०) उहाँको मदत पाएर हामी आफ्नो आनन्द कायम राख्न सक्छौँ, सही निर्णयहरू गर्न सक्छौँ र एकदमै गाह्रो अवस्थामा पनि उहाँप्रति वफादार रहिरहन सक्छौँ। जीवनमा कालो बादल छाउँदा यहोवाले हामीलाई मदत गर्नुहुने चार वटा तरिकाबारे यस लेखमा बुझ्नेछौँ। अनि उहाँले दिनुहुने मदतबाट लाभ उठाउन हामीले के गर्नुपर्छ, त्यसबारे पनि छलफल गर्नेछौँ।

यहोवाले तपाईँको रक्षा गर्नुहुनेछ

३. दुःखदायी अवस्थामा हामीलाई के गर्न गाह्रो हुन सक्छ?

३ चुनौती। दुःखदायी अवस्थामा पर्दा हामीलाई राम्ररी सोचविचार गर्न र सही निर्णय गर्न गाह्रो हुन सक्छ। किन? किनभने त्यस्तो अवस्थामा हाम्रो हृदय असह्‍य पीडाले छटपटाइरहेको हुन सक्छ अनि हाम्रो दिमाग चिन्ता-फिक्रीको बोझले दबिएको हुन सक्छ। हामीलाई निस्पट्ट अन्धकारमा हिँडिरहेको जस्तो लाग्न सक्छ, कुन बाटो जाने भनेर थाहै नहुन सक्छ। अघि पनि उल्लेख गरिएका दुई बहिनीले चुनौती आइपर्दा कस्तो महसुस गरे, विचार गरौँ। ओलिभिया भन्छिन्‌: “आँधीले मेरो घर तहसनहस पारेको देखेपछि मैले केही सोच्नै सकिनँ।” मोनिका भन्छिन्‌: “श्रीमान्‌ले धोका दिएको कुरा थाह पाउँदा मेरो मुटुमा छुरा रोपेझैँ भयो। मेरो जीवन भताभुङ्‌ग भयो; दैनिक कामकुरा गर्न समेत गाह्रो भयो। यस्तो होला भनेर सपनामा पनि चिताएकी थिइनँ।” यस्तो गाह्रो अवस्थामा यहोवाले हामीलाई मदत गर्ने वाचा गर्नुभएको छ। तर कसरी?

४. फिलिप्पी ४:६, ७ अनुसार यहोवाले हामीलाई के दिने वाचा गर्नुभएको छ?

४ यहोवाले के गर्नुहुनेछ? उहाँले हामीलाई शान्ति दिने वाचा गर्नुभएको छ र त्यस शान्तिलाई बाइबलमा “परमेश्‍वरको शान्ति” भनिएको छ। (फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।) हामीले त्यस्तो शान्ति उहाँसित अनमोल सम्बन्ध गाँस्यौँ भने मात्र पाउन सक्छौँ अनि त्यसले हाम्रो हृदय र दिमागलाई शान्त बनाउँछ। यस्तो शान्ति “मानिसको समझभन्दा बाहिरको” हुन्छ। भन्‍नुको मतलब त्यो शान्ति कत्ति उत्कृष्ट हुन्छ भनेर हामी मानिसहरूले कल्पनासमेत गर्न सक्दैनौँ। के तपाईँले पनि व्यग्र प्रार्थना गरेपछि आफ्नो हृदय र दिमाग शान्त भएको महसुस गर्नुभएको छ? छ भने त्यो नै “परमेश्‍वरको शान्ति” हो।

५. परमेश्‍वरको शान्तिले कसरी हाम्रो हृदय र दिमागको रक्षा गर्छ?

५ पद ७ मा परमेश्‍वरको शान्तिले “तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ” भनिएको छ। “रक्षा” भनेर अनुवाद गरिएको मूल भाषाको शब्द शत्रुहरूको आक्रमणबाट सहरलाई सुरक्षित राख्न पहरा दिने सिपाहीहरूलाई बुझाउन प्रयोग गरिन्थ्यो। मूलढोकाहरूमा सिपाहीहरूले पहरा दिइरहेका छन्‌ भनेर थाह भएकोले सहरका बासिन्दाहरू ढुक्क भएर सुत्न सक्थे। त्यसैगरि परमेश्‍वरको शान्तिले हाम्रो हृदय र दिमागको रक्षा गर्छ भनेर थाह भएकोले हामी ढुक्क महसुस गर्छौँ। (भज. ४:८) हाम्रो अवस्था पनि हन्‍नाको जस्तै तुरुन्तै परिवर्तन नहोला तर हामी केही हदसम्म ढुक्क महसुस गर्न सक्छौँ। (१ समु. १:१६-१८) अनि त्यस्तो शान्तिले हामीलाई राम्ररी सोचविचार गर्न र सही निर्णय गर्न मदत गर्न सक्छ।

एक जना पतिले आफ्नी पत्नीको हात समाउँदै प्रार्थना गरिरहेका छन्‌। टेबुलमा औषधीका बट्टाहरू छन्‌। घेराभित्रको चित्रमा दुई जना सैनिकले सहरको मूलढोकामा पहरा दिइरहेको देखाइएको छ।

हृदय र दिमागको रक्षा गर्ने “परमेश्‍वरको शान्ति” पाएको महसुस नभएसम्म निरन्तर प्रार्थना गर्नुहोस्‌ (अनुच्छेद ४-६ हेर्नुहोस्‌)


६. परमेश्‍वरको शान्तिबाट लाभ उठाउन हामीले के गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

६ हामीले के गर्नुपर्छ? गाह्रो अवस्था आइपर्दा सहरका बासिन्दाहरूले पहरेदारलाई गुहारेजस्तै हामीले पनि आफ्नो रक्षक यहोवालाई गुहार्नुपर्छ। कसरी? उहाँले दिनुहुने शान्ति पाएको महसुस नभएसम्म उहाँलाई निरन्तर प्रार्थना गरेर। (लुका ११:९; १ थिस्स. ५:१७) अगाडि उल्लेख गरिएका लुइस र तिनकी पत्नी आनाले आफूमाथि आइपरेको गाह्रो अवस्था कसरी सामना गर्न सके? लुइसले यसो भने: “यस्तो अवस्थामा स्वास्थ्य उपचारसम्बन्धी कुरा अनि अन्य कुराहरूको निर्णय गर्न असाध्यै गाह्रो हुन्छ। तर प्रार्थना गरेकोले मात्र हामीले यस्तो गाह्रो अवस्थामा पनि शान्ति पाएको महसुस गर्न सक्यौँ।” लुइस र तिनकी पत्नीले बारम्बार अनि व्यग्रतासाथ परमेश्‍वरलाई प्रार्थना गरिरहे। तिनीहरूले उहाँसित आफ्नो हृदय र दिमागलाई शान्त राख्न सकूँ भनेर बिन्ती गरे। अनि सही निर्णय गर्न चाहिने बुद्धि मागे। तिनीहरूले यहोवाको मदत पाएको महसुस गरे। यदि तपाईँले पनि गाह्रो अवस्थाको सामना गरिरहनुपरेको छ भने व्यग्रतासाथ प्रार्थना गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले यहोवाको शान्ति पाएको महसुस गर्नुहुनेछ र त्यसले तपाईँको हृदय अनि दिमागको रक्षा गर्नेछ।—रोमी १२:१२.

यहोवाले तपाईँलाई स्थिर पार्नुहुनेछ

७. गाह्रो अवस्थाको सामना गर्नुपर्दा हामीलाई कस्तो महसुस हुन सक्छ?

७ चुनौती। गाह्रो अवस्थाको सामना गर्नुपर्दा हाम्रो भावना, विचार र व्यवहार अरू बेलाजस्तो सामान्य हुँदैन। जसरी समुद्रमा आएको छालले जहाजलाई उछालपछार गरेर यताउता हुर्ऱ्याउँछ। त्यसैगरि मनमा उर्लिएका भावनाहरूको छालले हामीलाई यताउता हुर्ऱ्याउन सक्छ। अगाडि उल्लेख गरिएकी आनाले आफ्नो पतिको मृत्यु भएपछि विभिन्‍न किसिमका भावनासित सङ्‌घर्ष गर्नुपऱ्‍यो। तिनले यसो भनिन्‌: “एक्लो महसुस हुँदा आफै देखेर दया लाग्थ्यो। अनि बेलाबेलामा रिस पनि उठ्‌थ्यो।” लुइसले सम्हाल्दै आएका मामिलाहरू आना एक्लैले सम्हाल्नुपर्दा तिनी एक्लो अनि निराश महसुस गर्थिन्‌। कहिलेकाहीँ तिनलाई आफू समुद्री आँधीमा फसेको जस्तै लाग्थ्यो। भावनाहरूको छालले यताउता हुर्ऱ्याउन थाल्दा यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ?

८. यसैया ३३:६ मा यहोवाले हामीलाई कस्तो आश्‍वासन दिनुभएको छ?

८ यहोवाले के गर्नुहुनेछ? उहाँले हामीलाई स्थिर पार्ने आश्‍वासन दिनुभएको छ। (यसैया ३३:६ पढ्‌नुहोस्‌।) ठूलो आँधी आउँदा जहाज बेस्सरी हल्लिन सक्छ। धेरैजसो जहाजको मुन्तिर पाताजस्ता पखेटाहरू हुन्छन्‌। दुवैपट्टि हुने यी पखेटाहरूले जहाजको हल्लाइलाई धेरै हदसम्म कम गर्छन्‌, जसले गर्दा यात्रा तुलनात्मक रूपमा सुरक्षित र आरामदायी हुन्छ। तर सामान्यतया जहाज अघि बढिरहेको छ भने यस्ता पखेटाहरूले राम्रोसँग काम गर्न सक्छन्‌। त्यसैगरि परीक्षा आइपर्दा हामी वफादार भई अघि बढिरहेका छौँ भने यहोवाले हामीलाई स्थिर गराउनुहुनेछ।

एक बहिनी “JW लाइब्रेरी”-बाट अध्ययन गर्दै छिन्‌ र पढेको कुरामा मनन गर्दै छिन्‌। घेराभित्रको चित्रमा आँधीहुरी चल्दा जहाजलाई स्थिर राख्न मदत गर्ने पखेटा देखाइएको छ।

अनुसन्धान सामग्रीहरू प्रयोग गरेर स्थिर भइरहनुहोस्‌ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)


९. अनुसन्धान सामग्रीहरूले हामीलाई स्थिर रहिरहन कसरी मदत गर्न सक्छ? (चित्र पनि हेर्नुहोस्‌।)

९ हामीले के गर्नुपर्छ? भावनाहरूको आँधी आएको बेला पनि आफ्नो आध्यात्मिक तालिकाअनुसार चल्न सक्दो कोसिस गर्नुपर्छ। हुनत तपाईँले पहिलाजति गर्न सक्नुहुन्‍न होला तर यहोवा तपाईँले सक्नेभन्दा धेरै माग गर्नुहुन्‍न भनेर नबिर्सनुहोस्‌। (लुका २१:१-४ तुलना गर्नुहोस्‌।) आध्यात्मिक तालिका कायम राख्ने कोसिस गर्दा व्यक्‍तिगत अध्ययन र मननको लागि पनि समय छुट्ट्याउनुहोस्‌। यसो गर्नु किन आवश्‍यक छ? यहोवाले आफ्नो सङ्‌गठनमार्फत हामीलाई स्थिर रहन मदत गर्ने लेखहरू र भिडियोहरू उपलब्ध गराउनुभएको छ। त्यसैले आफूलाई चाहिएको जानकारी भेट्टाउन तपाईँ अनुसन्धान सामग्रीहरू प्रयोग गर्न सक्नुहुन्छ। जस्तै: JW लाइब्रेरी एप, यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी)। अगाडि उल्लेख गरिएकी मोनिका भावनाहरूको आँधी आउन थालेको महसुस गरेपछि अनुसन्धान गर्थिन्‌। जस्तै: कहिलेकाहीँ तिनी “रिस” भन्‍ने शब्द टाइप गरेर खोज्थिन्‌ भने कहिलेकाहीँ “धोका” वा “वफादारी”-जस्ता शब्दहरू टाइप गरेर खोज्थिन्‌। त्यसपछि आफ्नो मन शान्त नभएसम्म पढिरहन्थिन्‌। तिनले यसो भनिन्‌: “आफ्ना भावनाहरूले गर्दा असह्‍य पीडा भएको बेला यसरी पढिरहँदा यहोवाले मलाई अङ्‌गालोमा बाँध्नुभएको जस्तै लाग्थ्यो। यहोवा मेरा भावनाहरू बुझ्नुहुन्छ र उहाँ मलाई मदत गर्दै हुनुहुन्छ भनेर महसुस गर्न सकेँ।” यहोवाले दिनुहुने यस्तो मदतले भावनाहरूको आँधी नथामिएसम्म तपाईँलाई स्थिर रहिरहन मदत गर्नेछ।—भज. ११९:१४३, १४४.

यहोवाले तपाईँलाई थाम्नुहुनेछ

१०. एकदमै पीडादायी अवस्थाबाट गुज्रेपछि हामीले कस्तो महसुस गर्न सक्छौँ?

१० चुनौती। एकदमै पीडादायी अवस्थाबाट गुज्रेपछि हामीलाई बेलाबेलामा शारीरिक र भावनात्मक रूपमा गाह्रो हुन सक्छ। हाम्रो अवस्था घाइते धावकको जस्तै हुन सक्छ। तिनी पहिला एकदमै छिटोछिटो दौडन सक्थे तर अहिले भने खुट्टा खोच्याउँदै हिँड्‌छन्‌। गाह्रो अवस्थाबाट गुज्रेपछि हामीलाई पहिला सजिलैसित गर्न सक्ने काम गर्न पनि अहिले गाह्रो लाग्न सक्छ। वा पहिला रमाइलो लाग्ने कामकुरा गर्न समेत जोसजाँगरै नआउन सक्छ। एलियालाई जस्तै हामीलाई पनि उठ्‌न समेत गाह्रो हुन सक्छ; सुतिरहूँ जस्तो लाग्न सक्छ। (१ राजा १९:५-७) यस्तो अवस्थामा यहोवाले के गर्ने वाचा गर्नुभएको छ?

११. यहोवा हामीलाई अर्को कुन तरिकामा मदत गर्नुहुन्छ? (भजन ९४:१८)

११ यहोवाले के गर्नुहुनेछ? उहाँले हामीलाई थाम्ने वाचा गर्नुभएको छ। (भजन ९४:१८ पढ्‌नुहोस्‌।) जसरी घाइते धावकलाई हिँड्‌नको लागि सहारा चाहिन्छ, त्यसैगरि हामीलाई पनि यहोवाको सेवामा लागिरहन मदत चाहिन सक्छ। यहोवाले हामीलाई यस्तो आश्‍वासन दिनुभएको छ: “म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’” (यसै. ४१:१३) राजा दाउदले त्यस्तो मदत पाएको अनुभव गरे। परीक्षाहरू र शत्रुहरूको सामना गर्नुपर्दा तिनले यहोवालाई यसो भने: “तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ।” (भज. १८:३५) तर यहोवा हामीलाई कसरी थाम्नुहुन्छ?

दुई जना एल्डर एक दम्पतीसित कुरा गर्दै छन्‌। घेराभित्रको चित्रमा एक डाक्टरले एक जना मान्छेको चोट लागेको खुट्टामा ब्यान्डेज बाँध्दै गरेको देखाइएको छ।

आफ्नो परिवार, साथीभाइ र एल्डरहरूको मदत स्विकार्नुहोस्‌ (अनुच्छेद ११-१३ हेर्नुहोस्‌)


१२. कमजोर हुँदा हामीलाई मदत गर्न यहोवा कसलाई चलाउन सक्नुहुन्छ?

१२ यहोवा अक्सर अरूलाई चलाएर हामीलाई थाम्नुहुन्छ। जस्तै: एक पटक दाउदले निकै कमजोर महसुस गरेका थिए। त्यतिबेला जोनाथन तिनलाई भेट्‌न आए र प्रोत्साहनदायी कुरा गरेर तिनलाई हौसला दिए। (१ समु. २३:१६, १७) त्यसैगरि यहोवाले एलियालाई व्यावहारिक मदत दिन एलिसालाई रोज्नुभयो। (१ राजा १९:१६, २१; २ राजा २:२) आज पनि यहोवा हाम्रो परिवार, साथीभाइ र एल्डरहरूलाई चलाएर हामीलाई थाम्न सक्नुहुन्छ। तर एकदमै निराश भएको बेला हामीलाई एक्लै बसिरहूँ जस्तो लाग्न सक्छ; कसैलाई भेट्‌न वा कसैसित कुरा गर्न समेत मन नलाग्न सक्छ। त्यस्तो लाग्नु स्वाभाविकै हो। तर यहोवाले दिनुहुने मदत पाउन हामी के गर्न सक्छौँ?

१३. यहोवाले दिनुहुने मदतबाट लाभ उठाउन हामीले के गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१३ हामीले के गर्नुपर्छ? एक्लै बस्न मन लागे पनि अरूबाट नटाढिन सक्दो कोसिस गर्नुपर्छ। एक्लै बसिरह्‍यौँ भने आफू वा आफ्ना समस्याहरूबाहेक हाम्रो दिमागमा अरू केही आउँदैन। अनि हामी सही निर्णय गर्न सक्दैनौँ। (हितो. १८:१) हुनत दुःखदायी अवस्थामा हामी सबैलाई एकान्तमा बस्ने समय पनि चाहिन्छ। तर लामो समयसम्म अरूदेखि टाढिएर बस्यौँ भने यहोवाले थाम्न चलाउनुहुने माध्यमलाई नै हामीले तिरस्कार गरिरहेका हुन्छौँ। त्यसैले जत्तिसुकै गाह्रो भए पनि आफ्नो परिवार, साथीभाइ र एल्डरहरूको मदत स्विकार्नुहोस्‌। तिनीहरूलाई यहोवाले तपाईँलाई थाम्न चलाउनुहुने व्यक्‍तिको रूपमा हेर्नुहोस्‌।—हितो. १७:१७; यसै. ३२:१, २.

यहोवाले तपाईँलाई सान्त्वना दिनुहुनेछ

१४. हामीले कस्तो डरलाग्दो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ?

१४ चुनौती। गाह्रो अवस्थामा पर्दा हामीलाई डर पनि लाग्न सक्छ। बाइबलमा शत्रुहरूको विरोध वा अन्य दबाबले गर्दा निराश र त्रसित महसुस गरेका वफादार सेवकहरूबारे बताइएको छ। (भज. १८:४; ५५:१, ५) हामीले पनि स्कुलमा, काम गर्ने ठाउँमा वा परिवार अथवा सरकारबाट विरोधको सामना गरिरहेका हुन सक्छौँ। कुनै रोग लाग्दा हामीलाई ‘अब म मर्छु होला’ भनेर डर लाग्न सक्छ। हामीले सानो बालकले जस्तै निस्सहाय महसुस गर्न सक्छौँ। त्यस्तो बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

१५. भजन ९४:१९ मा हामी कस्तो आश्‍वासन पाउँछौँ?

१५ यहोवाले के गर्नुहुनेछ? उहाँले हामीलाई सान्त्वना र दिलासा दिनुहुन्छ। (भजन ९४:१९ पढ्‌नुहोस्‌।) भजनका यी शब्दहरू बुझ्न एउटा उदाहरण विचार गरौँ। एउटी सानी नानी गड्याङ्‌गुडुङ गरेकोले अनि बिजुली चम्केकोले एकदमै डराइरहेकी छिन्‌ र निदाउन सकेकी छैनन्‌। तिनका बुबा आउँछन्‌ र तिनी ननिदाएसम्म आफ्नो अङ्‌गालोमा लिन्छन्‌। हुनत हुरीबतास थामिएको छैन तर बुबाले अङ्‌गालोमा लिएकोले ती सानी नानी सुरक्षित महसुस गर्छिन्‌। त्यसैगरि डरलाग्दा परीक्षाहरूको सामना गर्नुपर्दा शान्त महसुस नभएसम्म स्वर्गमा बस्नुहुने बुबाको न्यानो अङ्‌गालोमा बाँधियौँ भने हामी पनि सुरक्षित महसुस गर्न सक्छौँ। हामी कसरी उहाँबाट त्यस्तो सान्त्वना पाउन सक्छौँ?

एक बहिनी बाइबलमा पढेको कुरामा मनन गर्दै छिन्‌। घेराभित्रको चित्रमा आँधीहुरीले तर्सिएकी सानी छोरीलाई बुबाले शान्त पार्दै छन्‌।

स्वर्गमा हुनुहुने बुबाले तपाईँलाई बाइबलमार्फत दिनुभएको सान्त्वना स्विकार्नुहोस्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)


१६. यहोवाले दिनुहुने सान्त्वनाबाट लाभ उठाउन हामी के गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ हामीले के गर्नुपर्छ? प्रार्थना गरेर अनि बाइबल पढेर नियमित रूपमा यहोवासित समय बिताउनुपर्छ। (भज. ७७:१, १२-१४) यस्तो बानी विकास गर्नुभएको छ भने तनावपूर्ण अवस्था आइपर्नेबित्तिकै तपाईँले सबैभन्दा पहिला यहोवालाई नै सम्झिनुहुनेछ। आफ्नो डर र चिन्ता-फिक्रीबारे यहोवालाई बताउनुहोस्‌। बाइबल पढेर उहाँको कुरा सुन्‍नुहोस्‌ अनि उहाँले दिनुहुने सान्त्वना महसुस गर्नुहोस्‌। (भज. ११९:२८) डर लागेको बेला बाइबलको कुनै खास अंशले तपाईँलाई सान्त्वना दिन सक्छ। जस्तै: अय्युब, भजन र हितोपदेशको किताबबाट अनि मत्ति अध्याय ६ मा पाइने येसुका शब्दहरूबाट तपाईँ प्रोत्साहन पाउन सक्नुहुन्छ। यसरी यहोवालाई प्रार्थना गर्दा अनि उहाँको वचन पढ्‌दा तपाईँले उहाँबाट सान्त्वना पाउन सक्नुहुन्छ।

१७. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

१७ जीवनमा कालो बादल छाउँदा यहोवा हाम्रो साथमा हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। हामी कहिल्यै एक्लो हुनेछैनौँ। (भज. २३:४; ९४:१४) यहोवाले हाम्रो रक्षा गर्ने, हामीलाई स्थिर पार्ने, साथ दिने र सान्त्वना दिने वाचा गर्नुभएको छ। यहोवाबारे यसैया २६:३ यसो भन्छ: “तपाईँमा पूरै भर पर्नेहरूलाई तपाईँले जोगाउनुहुनेछ। तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्‌।” त्यसैले यहोवामा भरोसा गर्नुहोस्‌ र उहाँले मदत दिन चलाउनुहुने माध्यमहरूको पूरापूर सदुपयोग गर्नुहोस्‌। यसो गर्नुभयो भने गाह्रो अवस्थामा पनि तपाईँ फेरि बलियो हुन सक्नुहुन्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीलाई खासगरि कस्तो अवस्थामा यहोवाको मदत चाहिन्छ?

  • यहोवाले मदत दिनुहुने चार वटा तरिकाबारे बताउनुहोस्‌।

  • यहोवाले दिनुहुने मदतबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

a केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने