अध्ययन लेख १९
गीत ६ आकाशले परमेश्वरको महिमा गर्छ
वफादार स्वर्गदूतहरूको अनुकरण गर्नुहोस्
“हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर।”—भज. १०३:२०.
सिक्न सकिने कुरा
वफादार स्वर्गदूतहरूबाट सिक्न सकिने पाठहरू।
१-२. (क) हामी र स्वर्गदूतबीच कस्ता भिन्नता छन्? (ख) हामी र स्वर्गदूतबीच कस्ता समानता छन्?
यहोवाको उपासना गर्न थाल्दा हामी एउटा ठूलो मायालु परिवारको भाग बन्यौँ। यस परिवारमा संसारभरिका भाइबहिनी र लाखौँ स्वर्गदूतहरू छन्। (दानि. ७:९, १०) स्वर्गदूतहरूबारे सोच्दा तिनीहरू हामीभन्दा कत्ति फरक छन् जस्तो लाग्छ होला। जस्तै: तिनीहरू हामीभन्दा धेरैअघि सृष्टि गरिएका थिए। (अय्यु. ३८:४, ७) तिनीहरू हामीभन्दा धेरै शक्तिशाली छन् अनि तिनीहरू जत्तिको पवित्र र धर्मी हामी त्रुटिपूर्ण मानिसहरू कहिल्यै हुन सक्दैनौँ।—लुका ९:२६.
२ तर स्वर्गदूतहरू र हामीबीच थुप्रै समानता छन्। उदाहरणको लागि, तिनीहरूजस्तै हामी पनि यहोवाका मनमोहक गुणहरू झल्काउन सक्छौँ। हामीसित पनि छनौट गर्ने स्वतन्त्रता छ। तिनीहरूको जस्तै हाम्रो नाम र आ-आफ्नै व्यक्तित्व छ। अनि हामीले पनि यहोवाको सेवामा विभिन्न जिम्मेवारी पाएका छौँ। तिनीहरूको जस्तै हाम्रो पनि आध्यात्मिक आवश्यकता छ र आनन्दित हुन त्यो आवश्यकता पूरा गर्नै पर्छ।—१ पत्रु. १:१२.
३. वफादार स्वर्गदूतहरूबाट हामी के सिक्न सक्छौँ?
३ हामी र स्वर्गदूतहरूबीच थुप्रै समानता भएकोले तिनीहरूको असल उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौँ र प्रोत्साहन पाउन सक्छौँ। यस लेखमा वफादार स्वर्गदूतहरूले देखाएको नम्रता, मानिसहरूप्रति तिनीहरूको प्रेम, तिनीहरूको सहनशीलता र मण्डलीलाई स्वच्छ राख्न तिनीहरूले गरेको प्रयास हामी कसरी अनुकरण गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।
स्वर्गदूतहरू नम्र छन्
४. (क) स्वर्गदूतहरू कसरी नम्रता देखाउँछन्? (ख) स्वर्गदूतहरू किन नम्र छन्? (भजन ८९:७)
४ वफादार स्वर्गदूतहरू नम्र छन्। तिनीहरू अनुभवी, शक्तिशाली र बुद्धिमान् छन्। तैपनि तिनीहरू यहोवाका आदेशहरू पालन गर्छन्। (भज. १०३:२०) यहोवाले अह्राउनुभएको काम गर्दा तिनीहरू आफ्नो अलौकिक शक्ति प्रयोग गरेर मानिसहरूको ध्यान आफूतिर खिच्दैनन् न त आफूले गरेको कामको धाक लगाउँछन्। तिनीहरू महत्त्वपूर्ण कामहरू गर्छन् तर बाइबलमा तिनीहरूको नाम कतै उल्लेख गरिएको पाइँदैन।a तैपनि तिनीहरू खुसी भई यहोवाको सेवा गरिरहन्छन्। (उत्प. ३२:२४, २९; २ राजा १९:३५) यहोवाले पाउनुपर्ने महिमा कसैले तिनीहरूलाई दिन खोज्दा तिनीहरू इन्कार गर्छन्। स्वर्गदूतहरू किन यत्तिको नम्र छन्? किनभने तिनीहरू यहोवालाई प्रेम गर्छन् र उहाँको गहिरो आदर गर्छन्।—भजन ८९:७ पढ्नुहोस्।
५. प्रेषित युहन्नालाई सच्याउँदा एक जना स्वर्गदूतले कसरी नम्रता देखाए? (चित्र पनि हेर्नुहोस्।)
५ स्वर्गदूतहरू नम्र छन् भनेर देखाउने एउटा घटना विचार गरौँ। इस्वी संवत् ९६ तिर येसुले आफ्नो स्वर्गदूत पठाएर प्रेषित युहन्नालाई एउटा दर्शन प्रकट गर्नुभयो। बाइबलमा ती स्वर्गदूतको नाम उल्लेख गरिएको छैन। (प्रका. १:१) यो दर्शन देखेपछि युहन्नाले के गरे? तिनले स्वर्गदूतको उपासना गर्न खोजे तर ती स्वर्गदूतले तुरुन्तै तिनलाई रोक्दै यसो भने: “होसियार! त्यसो नगर! किनकि म तिम्रो अनि तिम्रा भाइहरू[को] . . . सङ्गी दास मात्र हुँ।” (प्रका. १९:१०) कस्तो नम्र स्वर्गदूत! ती स्वर्गदूतले अरूबाट महिमा वा प्रशंसा खोजेनन् बरु तुरुन्तै युहन्नाको ध्यान यहोवातर्फ खिचे। साथै ती स्वर्गदूतले युहन्नालाई तुच्छ ठानेनन्। हुनत ती स्वर्गदूतले युहन्नाले भन्दा लामो समयदेखि यहोवाको सेवा गरेका थिए र युहन्नाभन्दा शक्तिशाली थिए। तैपनि नम्र भई युहन्नालाई मेरो सङ्गी दास भने। हुनत ती स्वर्गदूतले युहन्नालाई सच्याउनुपऱ्यो। तैपनि ती वृद्ध भइसकेका प्रेषितलाई गाली गरेनन् वा तिनीसित रुखो व्यवहार गरेनन् बरु दयालु भई बोले। यस्तो अचम्मलाग्दो दर्शन देखेकोले युहन्ना चकित भए होलान्, त्यसैले तिनले उपासना गर्न खोजेका होलान् भनेर ती स्वर्गदूतले बुझेको हुनुपर्छ।
युहन्नासित कुरा गर्ने स्वर्गदूतले नम्रता देखाए (अनुच्छेद ५ हेर्नुहोस्)
६. हामी कसरी स्वर्गदूतहरूजस्तै नम्र हुन सक्छौँ?
६ हामी कसरी स्वर्गदूतहरूजस्तै नम्र हुन सक्छौँ? यहोवाले अह्राउनुभएको काम गर्दा धाक नलगाएर अनि आफूले गरेको कामको श्रेय लिन नखोजेर हामी स्वर्गदूतहरूजस्तै नम्र हुन सक्छौँ। (१ कोरि. ४:७) साथै अरूले भन्दा हामीले यहोवाको सेवा गरेको लामो समय भइसकेको छ अथवा केही सुअवसरहरू पाएका छौँ भने अरूभन्दा आफूलाई श्रेष्ठ ठान्नु हुँदैन। साँच्चै भन्ने हो भने हामीले जत्ति धेरै सुअवसरहरू पाएका छौँ, आफूलाई त्यत्ति नै सानो सम्झनुपर्छ। (लुका ९:४८) स्वर्गदूतहरूजस्तै हामी अरूको सेवा गर्न चाहन्छौँ। हामी आफूलाई अरूभन्दा महत्त्वपूर्ण ठान्न चाहँदैनौँ।
७. कसैलाई सच्याउँदा वा सल्लाह दिँदा हामी कसरी नम्रता देखाउन सक्छौँ?
७ कसैलाई सच्याउनुपर्दा वा सल्लाह दिनुपर्दा पनि हामी नम्रता देखाउन सक्छौँ। जस्तै: कुनै भाइबहिनीलाई वा आफ्नो छोराछोरीलाई। कहिलेकाहीँ हामीले कडा सल्लाह दिनुपर्ने हुन सक्छ। तर स्वर्गदूतले युहन्नालाई मायालु तरिकामा सच्याएजस्तै हामीले पनि ती व्यक्ति हतोत्साहित नहुने तरिकामा सल्लाह दिनुपर्छ। आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनौँ भने अरूलाई आदरपूर्वक अनि दयालु ढङ्गमा बाइबलआधारित सल्लाह दिन सक्नेछौँ।—कल. ४:६.
स्वर्गदूतहरू मानिसहरूलाई प्रेम गर्छन्
८. (क) लुका १५:१० अनुसार स्वर्गदूतहरू मानिसहरूलाई प्रेम गरेको कसरी देखाउँछन्? (ख) स्वर्गदूतहरू हामीलाई साक्षीकार्यमा कसरी मदत गर्छन्? (चित्र पनि हेर्नुहोस्।)
८ स्वर्गदूतहरू मानिसहरूलाई प्रेम गर्छन् र तिनीहरूमा चासो राख्छन्। कुनै पापीले पश्चात्ताप गर्दा तिनीहरू रमाउँछन्। भन्नुको मतलब, गम्भीर पाप गर्ने व्यक्ति पश्चात्ताप गरेर यहोवाकहाँ फर्कँदा वा कुनै व्यक्तिले आफ्नो जीवनशैली परिवर्तन गरेर यहोवाको उपासना गर्न थाल्दा तिनीहरू रमाउँछन्। (लुका १५:१० पढ्नुहोस्।) स्वर्गदूतहरूले हामीलाई साक्षीकार्यमा सक्रियतासाथ मदत पनि गर्छन्। (प्रका. १४:६) हुनत तिनीहरूले सीधै मानिसहरूलाई साक्षी दिँदैनन्। तर कुनै प्रकाशकलाई यहोवाबारे सिक्ने इच्छा भएका व्यक्तिसम्म डोऱ्याउन सक्छन्। हामीलाई कुनै व्यक्तिसम्म स्वर्गदूतले नै डोऱ्याएका हुन् भनेर हामी ठोकुवा गर्न सक्दैनौँ। किनकि यहोवाले मानिसहरूलाई मदत गर्न अथवा आफ्ना सेवकहरूलाई ती मानिसहरूसम्म डोऱ्याउन अरू माध्यम पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै: पवित्र शक्ति। (प्रेषि. १६:६, ७) तर उहाँ साक्षीकार्यमा हामीलाई मदत गर्न स्वर्गदूतहरूलाई व्यापक रूपमा प्रयोग गर्नुहुन्छ। त्यसैले सुसमाचार सुनाउने काममा हामीलाई मदत गर्न स्वर्गदूतहरू सधैँ तयार छन् भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ।—“तिनीहरूले प्रार्थनाको जवाफ पाए” भन्ने पेटी पनि हेर्नुहोस्।b
एक दम्पती सार्वजनिक साक्षीकार्य सिद्ध्याएर फर्कँदै छ। बाटोमा ती साक्षी बहिनीले एउटी असाध्यै निराश स्त्रीलाई देख्छिन्। आध्यात्मिक मदत खोजिरहेको व्यक्तिकहाँ पुग्न स्वर्गदूतहरूले हामीलाई मदत गर्न सक्छन् जस्तो ती बहिनीलाई लाग्छ। तिनी त्यस स्त्रीलाई सान्त्वना दिन उत्प्रेरित हुन्छिन् (अनुच्छेद ८ हेर्नुहोस्)
९. हामी कसरी स्वर्गदूतहरूले जस्तै मानिसहरूलाई प्रेम गर्न सक्छौँ?
९ हामी कसरी स्वर्गदूतहरूले जस्तै मानिसहरूलाई प्रेम गर्न सक्छौँ? मण्डलीमा कोही व्यक्ति पुनर्बहाली भएको घोषणा सुन्दा हामी स्वर्गदूतहरूजस्तै रमाउन सक्छौँ। हामी ती भाइ वा बहिनीलाई खुला मनले स्वागत गर्न र तिनलाई प्रेम गर्छौँ भन्ने कुरामा ढुक्क बनाउन सक्छौँ। (लुका १५:४-७; २ कोरि. २:६-८) साक्षीकार्यमा सक्दो भाग लिएर पनि हामी स्वर्गदूतहरूको अनुकरण गर्न सक्छौँ। (उप. ११:६) जसरी स्वर्गदूतहरूले हामीलाई सुसमाचार सुनाउने काममा साथ दिन्छन्, त्यसरी नै हामी पनि भाइबहिनीलाई साक्षीकार्यमा साथ दिन सक्छौँ। जस्तै: हामी नयाँ प्रकाशकसित सँगै जान सक्छौँ कि? कुनै वृद्ध वा अशक्त भाइबहिनीलाई साक्षीकार्यमा भाग लिन मदत दिन सक्छौँ कि?
१०. सेरा बहिनीको अनुभवबाट हामी के सिक्न सक्छौँ?
१० आफ्नो परिस्थितिले गर्दा हामी यहोवाको सेवामा आफूले चाहेजति गर्न सक्दैनौँ भने नि? त्यस्तो अवस्थामा पनि स्वर्गदूतहरूले हामीलाई साक्षीकार्यमा मदत गर्न सक्छन्। इन्डियाकी एउटी बहिनी सेराकोc अनुभव विचार गरौँ। तिनले लगभग २० वर्ष अग्रगामी सेवा गरिन्। पछि तिनी असाध्यै बिरामी भइन् र ओछ्यानमै थला परिन्। हुनत तिनी साह्रै निराश भइन् तैपनि तिनले अग्रगामी सेवा गर्न छोडिनन्। आध्यात्मिक परिवारको मायालु साथ पाएपछि र नियमित रूपमा बाइबल पढ्न थालेपछि तिनी यहोवाको सेवामा फेरि रमाउन सकिन्। असाध्यै बिरामी भएकीले तिनले नयाँ तरिकामा साक्षीकार्यमा भाग लिनुपर्ने भयो। तिनी बसेर चिठीसम्म पनि लेख्न सक्दिनथिन्। तिनी फोनबाट मात्र साक्षी दिन सक्थिन्। तिनले आफ्ना पुनःभेटहरूलाई फोन गरिन् अनि तिनीहरूले बाइबलमा चासो राख्ने अरू व्यक्तिहरूबारे तिनलाई बताए। परिणाम कस्तो भयो? केही महिनाभित्रै सेराको ७० वटा बाइबल अध्ययन भयो। त्यत्तिका धेरै बाइबल अध्ययन त तिनी एक्लैले गर्न सक्ने कुरै थिएन। त्यसैले तिनले मण्डलीका अरू भाइबहिनीलाई केही बाइबल अध्ययन दिइन्। तीमध्ये थुप्रै विद्यार्थीहरू अहिले सभामा आउँछन्। साक्षीकार्यमा सक्दो गर्ने सेरा बहिनीलाई जस्तै अरू भाइबहिनीलाई साथ दिन पाउँदा स्वर्गदूतहरू कत्ति रमाउँछन्!
स्वर्गदूतहरू सहनशीलता देखाउँछन्
११. वफादार स्वर्गदूतहरूले देखाएको सहनशीलता किन उल्लेखनीय छ?
११ सहनशीलता देखाउने सन्दर्भमा वफादार स्वर्गदूतहरूले उल्लेखनीय उदाहरण बसालेका छन्। तिनीहरूले अन्याय र दुष्टता सहेको हजारौँ वर्ष भइसक्यो। सैतान र अरू थुप्रै स्वर्गदूतले यहोवाको विद्रोह गरेको तिनीहरूले देखेका थिए, जसले पहिला तिनीहरूसँगै यहोवाको सेवा गरेका थिए। (उत्प. ३:१; ६:१, २; यहु. ६) बाइबलमा एक जना वफादार स्वर्गदूतको विरुद्धमा एक शक्तिशाली प्रेत खडा भएको विवरण पाउँछौँ। (दानि. १०:१३) साथै मानव इतिहासको सुरुदेखि नै स्वर्गदूतहरूले थोरै मानिसले मात्र यहोवाको उपासना गर्ने छनौट गरेको देखेका छन्। यी सबको बाबजुद वफादार स्वर्गदूतहरूले आनन्दित हुँदै जोसका साथ यहोवाको सेवा गरिरहेका छन्। परमेश्वरले सबै अन्याय ठीक समयमा हटाउनुहुनेछ भनेर तिनीहरूलाई थाह छ।
१२. हामी कसरी सहनशीलता देखाउन सक्छौँ?
१२ हामी कसरी स्वर्गदूतहरूले जस्तै सहनशीलता देखाउन सक्छौँ? स्वर्गदूतहरूले जस्तै हामी आफूवरपर अन्याय अत्याचार देख्छौँ होला। तर परमेश्वरले ठीक समयमा सबै दुष्टता हटाउनुहुनेछ भनेर हामी पनि स्वर्गदूतहरूजस्तै विश्वस्त छौँ। त्यसैले हामी पनि ‘असल काम गर्न हरेस खाँदैनौँ।’ (गला. ६:९) अनि परमेश्वरले हामीलाई सहन बल दिने प्रतिज्ञा गर्नुभएको छ। (१ कोरि. १०:१३) हामी यहोवाको पवित्र शक्तिको लागि प्रार्थना गर्न सक्छौँ, जसले गर्दा हामी धीरजी र आनन्दित हुन सक्नेछौँ। (गला. ५:२२; कल. १:११) तपाईँले खेदो भोग्नुपऱ्यो भने नि? नडराउनुहोस् बरु यहोवामा पूरा भरोसा राख्नुहोस्। यहोवाले तपाईँलाई सधैँ साथ दिनुहुनेछ र बलियो बनाउनुहुनेछ।—हिब्रू १३:६.
स्वर्गदूतहरूले मण्डलीलाई स्वच्छ राख्न मदत गर्छन्
१३. यहोवाले स्वर्गदूतहरूलाई कुन विशेष काम दिनुभएको छ? (मत्ति १३:४७-४९)
१३ यस अन्तको समयमा यहोवाले स्वर्गदूतहरूलाई एउटा विशेष काम दिनुभएको छ। (मत्ति १३:४७-४९ पढ्नुहोस्।) अहिले संसारभरिका लाखौँ मानिसहरूले सुसमाचारप्रति चासो देखाएका छन्। तीमध्ये केहीले यहोवाको उपासना गर्न कदम चाल्छन् भने केहीले चाल्दैनन्। यहोवाले स्वर्गदूतहरूलाई “धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्ने” काम दिनुभएको छ। त्यसैले तिनीहरू मण्डलीलाई स्वच्छ राख्न मदत गर्छन्। तर यसको मतलब यहोवाको उपासना गर्न छोडेकाहरू फेरि कहिल्यै उहाँकहाँ फर्कन सक्दैनन् भन्ने होइन। अनि मण्डलीमा कहिल्यै समस्याहरू हुनेछैनन् भन्ने पनि होइन। तर हामी यो कुरामा ढुक्क हुन सक्छौँ: स्वर्गदूतहरूले मण्डलीलाई स्वच्छ राख्न कडा मेहनत गरिरहेका छन्।
१४-१५. मण्डलीलाई आध्यात्मिक र नैतिक तवरमा स्वच्छ राख्ने सन्दर्भमा हामी कसरी स्वर्गदूतहरूको अनुकरण गर्न सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
१४ मण्डलीलाई स्वच्छ राख्ने सन्दर्भमा हामी कसरी स्वर्गदूतहरूको अनुकरण गर्न सक्छौँ? मण्डलीलाई नैतिक र आध्यात्मिक रूपमा स्वच्छ राख्न आफ्नो तर्फबाट सक्दो गरेर। मण्डलीलाई स्वच्छ राख्न हामी आफ्नो हृदयलाई सुरक्षित राख्न प्रयास गर्छौँ। कसरी? असल साथी छानेर अनि यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्न सक्ने कुनै पनि कुरालाई तिरस्कार गरेर। (भज. १०१:३) साथै हामी सङ्गी भाइबहिनीलाई यहोवाप्रति वफादार रहिरहन पनि मदत गर्न सक्छौँ। जस्तै: कुनै भाइबहिनीले गम्भीर पाप गरेको कुरा थाह पायौँ भने हामीले के गर्नुपर्छ? तिनलाई प्रेम गरेकोले त्यसबारे एल्डरहरूलाई बताउन तिनलाई सल्लाह दिनुपर्छ। यदि तिनले त्यसो गरेनन् भने त्यसबारे हामी आफैले एल्डरहरूलाई बताउनुपर्छ। हामी आध्यात्मिक रूपमा कमजोर भएका भाइबहिनीले तुरुन्तै मदत पाएको चाहन्छौँ।—याकु. ५:१४, १५.
१५ दुःखको कुरा, गम्भीर पाप गर्ने कसै-कसैलाई मण्डलीबाट हटाउनुपर्ने हुन्छ। त्यस्ता मानिसहरूसित हामी ‘सङ्गत गर्न छोड्छौँ।’d (१ कोरि. ५:९-१३) यस्तो प्रबन्धले मण्डलीलाई स्वच्छ राखिराख्न मदत गर्छ। साथै मण्डलीबाट हटाइएका व्यक्तिहरूसित सङ्गत नगर्दा वास्तवमा हामीले तिनीहरूलाई दया देखाइरहेका हुन्छौँ। हाम्रो दृढ अडानले गर्दा तिनीहरूको होस खुल्न सक्छ र तिनीहरू यहोवाकहाँ फर्कन सक्छन्। तिनीहरूले त्यसो गरे भने हामी यहोवा र स्वर्गदूतहरूसँगसँगै रमाउँछौँ।—लुका १५:७.
कुनै भाइबहिनीले गम्भीर पाप गरेको कुरा थाह पायौँ भने हामीले के गर्नुपर्छ? (अनुच्छेद १४ हेर्नुहोस्)e
१६. तपाईँ स्वर्गदूतहरूजस्तै के गर्न चाहनुहुन्छ?
१६ स्वर्गदूतहरूबारे सिक्न र तिनीहरूसित काम गर्न पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! त्यसैले तिनीहरूका यी असल गुणहरू अनुकरण गर्न प्रयास गरौँ: तिनीहरूको नम्रता, मानिसहरूप्रतिको तिनीहरूको प्रेम र तिनीहरूको सहनशीलता। अनि मण्डलीलाई नैतिक र आध्यात्मिक तवरमा स्वच्छ राख्ने सन्दर्भमा तिनीहरूले जस्तै प्रयास गरौँ। हामीले वफादार स्वर्गदूतहरूको अनुकरण गऱ्यौँ भने हामी पनि सधैँको लागि यहोवाको परिवारको भाग बन्न सक्नेछौँ।
गीत १२३ ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!
a लाखौँ स्वर्गदूतहरूमध्ये बाइबलमा दुई जनाको मात्र नाम उल्लेख गरिएको छ: माइकल र गब्रिएल।—दानि. १२:१; लुका १:१९.
b अनुसन्धान सहयोगी-मा “स्वर्गदूतहरू”-अन्तर्गत अरू अनुभवहरू पढ्न सक्नुहुन्छ।
c नाम परिवर्तन गरिएको छ।
d २०२४ परिचालक निकायबाट अपडेट #२ अनुसार मण्डलीबाट हटाइएको व्यक्ति सभामा आउँदा प्रकाशकहरूले आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करण चलाउँदै तिनलाई साधारण अभिवादन गरेर स्वागत गर्ने कि नगर्ने भनेर निर्णय गर्न सक्छन्।
e चित्रको व्याख्या: एउटी बहिनीले आफ्नो साथीलाई तिनले गरेको पापबारे एल्डरहरूलाई बताउन भन्छिन्। केही समय बितिसक्दा पनि साथीले आफ्नो पापबारे केही नभनेकीले ती बहिनी आफैले एल्डरहरूलाई बताउँछिन्।