अध्ययन लेख २०
गीत ७ यहोवा हाम्रा बल
सान्त्वनाको लागि यहोवामा भर पर्नुहोस्
‘कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्वरको प्रशंसा होस्।’—२ कोरि. १:३.
सिक्न सकिने कुरा
यस लेखमा यहोवाले निर्वासित यहुदीहरूलाई कसरी सान्त्वना दिनुभयो र त्यसबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ भनेर छलफल गर्नेछौँ।
१. बेबिलोनमा यहुदीहरूको जीवन कस्तो थियो?
यहुदीहरूले बारम्बार यहोवाको आज्ञा उल्लङ्घन गरे। त्यसैकारण उहाँले बेबिलोनीहरूलाई तिनीहरूको मातृभूमि विनाश गर्न र बेबिलोनमा तिनीहरूलाई कैदी बनाएर लैजान दिनुभयो। (२ इति. ३६:१५, १६, २०, २१) त्यहाँ तिनीहरूको जीवन कस्तो थियो? हुनत तिनीहरू दैनिक कामकुराहरू गर्न स्वतन्त्र थिए। (यर्मि. २९:४-७) तर तिनीहरूको जीवन सजिलो थिएन। तिनीहरू पक्कै पनि त्यहाँ बस्न चाहँदैनथे। निर्वासित जीवन बिताइरहेका एक जना वफादार यहुदीले भनेको कुरा याद गर्नुहोस्: “बेबिलोनको नदीको किनारमा बसेर हामी सियोनलाई सम्झँदै रोयौँ।” (भज. १३७:१) निराशामा डुबेका ती यहुदीहरूलाई सान्त्वना चाहिएको थियो। तर तिनीहरूले त्यस्तो सान्त्वना कहाँ पाउन सक्थे?
२-३. (क) यहोवाले यहुदीहरूको लागि के गर्नुभयो? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ यहोवा “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ। (२ कोरि. १:३) उहाँ आफ्ना सेवकहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूलाई सान्त्वना दिन चाहनुहुन्छ। बेबिलोनमा रहेका केही यहुदीहरूले पश्चात्ताप गर्नेछन् र उहाँकहाँ फर्कनेछन् भनेर यहोवालाई थाह थियो। (यसै. ५९:२०) त्यसैले तिनीहरूलाई बेबिलोनमा कैदी बनाएर लगिनुभन्दा १०० वर्षभन्दा धेरैअघि उहाँले भविष्यवक्ता यसैयालाई तिनकै नाममा एउटा किताब लेख्न लगाउनुभयो। किन? यसैया यसो भन्छन्: “तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!’” (यसै. ४०:१) यहोवाले यी भविष्यवक्तामार्फत यहुदीहरूलाई चाहिएकै सान्त्वना दिनुभयो।
३ ती यहुदीहरूलाई जस्तै हामीलाई पनि बेलाबेलामा सान्त्वना चाहिन्छ। यस लेखमा ती यहुदीहरूलाई यहोवाले सान्त्वना दिनुभएको तीन वटा तरिकाबारे विचार गर्नेछौँ: (१) उहाँले पश्चात्तापीहरूलाई क्षमा दिने प्रतिज्ञा गर्नुभयो, (२) उहाँले तिनीहरूलाई आशा दिनुभयो र (३) उहाँले तिनीहरूलाई डर हटाउन मदत गर्नुभयो। यहोवाले हामीलाई पनि त्यही तरिकामा सान्त्वना दिनुहुन्छ भनेर यस लेखमा छलफल गर्नेछौँ।
यहोवा हामीलाई क्षमा गर्नुहुन्छ
४. यहोवाले आफू कृपालु भएको कसरी देखाउनुभयो? (यसैया ५५:७)
४ यहोवा “कोमल कृपाका बुबा” हुनुहुन्छ। (२ कोरि. १:३) उहाँले पश्चात्तापी यहुदीहरूलाई क्षमा दिने प्रतिज्ञा गर्नुहुँदा यो गुण देखाउनुभयो। (यसैया ५५:७ पढ्नुहोस्।) उहाँले यसो भन्नुभयो: “म दया देखाउनेछु र सधैँभरि तिमीलाई माया गर्नेछु।” (यसै. ५४:८) यहोवाले कसरी दया देखाउनुहुने थियो? हुनत यहुदीहरूले आफ्नो गल्तीको नतिजा भोग्नुपर्ने थियो तर यहोवाले तिनीहरू सधैँभरि बेबिलोनमा बस्नुपर्नेछैन भनेर प्रतिज्ञा गर्नुभयो। (यसै. ४०:२) त्यस प्रतिज्ञाबाट ती पश्चात्तापी यहुदीहरूले कत्ति सान्त्वना र ढाडस पाए होलान्!
५. यहोवाले क्षमा दिनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन हामीले कस्तो थप कारण पाएका छौँ?
५ हाम्रो लागि पाठ? यहोवा आफ्ना सेवकहरूलाई खुला मनले क्षमा दिन चाहनुहुन्छ। यस कुरामा विश्वस्त हुन ती निर्वासित यहुदीहरूले भन्दा हामीले थप कारण पाएका छौँ। कस्तो कारण? यहोवाले कुन आधारमा क्षमा दिनुहुन्छ भनेर हामीले बुझेका छौँ। यहोवाले दिनुहुने क्षमाबारे यसैयाले बताएको सयौँ वर्षपछि यहोवाले आफ्नो प्यारो छोरालाई पृथ्वीमा पठाउनुभयो। येसुले पश्चात्ताप गर्ने सम्पूर्ण मानिसहरूको लागि फिरौतीस्वरूप आफ्नो जीवन दिनुभयो। यहोवा त्यही बलिदानको आधारमा हाम्रा पापहरू पूर्णतया ‘मेटाउनुहुन्छ।’ (प्रेषि. ३:१९; यसै. १:१८; एफि. १:७) कत्ति कृपालु परमेश्वर!
६. यहोवाको कृपामा ध्यान दिँदा हामी कस्तो लाभ उठाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
६ विगतमा गरेको पापको लागि पश्चात्ताप गरिसकेको भए पनि कसै-कसैलाई दोषी भावनाले सताइरहन सक्छ। विशेषगरि पापको नतिजा भोगिरहनुपरेको छ भने दोषी भावनाले सताइरहन सक्छ। त्यस्तो बेला हामी यसैया ५५:७ बाट सान्त्वना पाउन सक्छौँ। तर हामीले आफ्नो गल्ती स्विकारिसकेका छौँ र गलत काम गर्न छोडिसकेका छौँ भने यहोवाले हामीलाई क्षमा दिइसक्नुभएको छ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। हामीलाई क्षमा दिनुभएपछि उहाँले हाम्रा पापहरू सम्झनुहुन्न। (यर्मिया ३१:३४ तुलना गर्नुहोस्।) त्यसैले यहोवा त हाम्रा पापहरूलाई कोट्याउनुहुन्न भने हामीले पनि त्यसो गर्नु हुँदैन। उहाँ हामीले विगतमा गरेका पापहरूमा ध्यान दिनुहुन्न। बरु अहिले हामी के गर्दै छौँ, त्यसमा ध्यान दिनुहुन्छ। (इज. ३३:१४-१६) अब चाँडै नयाँ संसारमा हाम्रा कृपालु बुबाले हाम्रो पापको कारण भोग्नुपरेका दुःखद् नतिजाहरूलाई पूर्णतया हटाउनुहुनेछ।
यहोवा हामीले विगतमा गरेका पापहरूमा ध्यान दिनुहुन्न। बरु अहिले हामी के गर्दै छौँ, त्यसमा ध्यान दिनुहुन्छ (अनुच्छेद ६ हेर्नुहोस्)
७. हामीले आफ्नो पाप लुकाइरहेका छौँ भने एल्डरहरूको मदत माग्न हामीलाई केले उत्प्रेरित गर्नेछ?
७ हामीले गम्भीर पाप लुकाएको कारण अन्तस्करण घोचिरहेको छ भने हामीले के गर्नुपर्छ? बाइबलले हामीलाई एल्डरहरूको मदत माग्न प्रोत्साहन दिएको छ। (याकु. ५:१४, १५) तर हामीलाई आफ्नो गल्ती स्विकार्न गाह्रो लाग्न सक्छ। यहोवा हामीलाई मदत गर्न एल्डरहरूलाई प्रयोग गर्नुहुन्छ र तिनीहरूले हामीसित यहोवाले जस्तै मायालु अनि कृपालु तरिकामा व्यवहार गर्नेछन्। हामीले यो कुरा सम्झ्यौँ र पश्चात्ताप गऱ्यौँ भने हामी तिनीहरूको मदत माग्न उत्प्रेरित हुनेछौँ। आर्थरa भाइले यहोवाको कृपाबाट कसरी सान्त्वना पाउन सके, विचार गरौँ। तिनलाई अन्तस्करणले घोचिरहेको थियो। तिनले यसो भने: “करिब एक वर्षसम्म मैले अश्लील सामग्री हेरेँ। तर अन्तस्करणबारे एउटा भाषण सुनेपछि मैले आफ्नो गल्ती श्रीमती अनि एल्डरहरूसामु स्विकारेँ। त्यसपछि मेरो मनै हलुको भयो। तर आफूले गरेको गल्तीले गर्दा म निराश हुन्थेँ। एल्डरहरूले मलाई यहोवाले त्याग्नुभएको छैन भन्ने कुरा सम्झाउनुभयो। अनि उहाँले हामीलाई प्रेम गर्नुभएकोले अनुशासन दिनुहुन्छ भनेर पनि सम्झाउनुभयो। उहाँहरूको दयालु बोलीले मेरो मनै छोयो। यहोवाले मलाई साँच्चै क्षमा दिइसक्नुभयो भन्ने कुरामा म ढुक्क हुन सकेँ।” अहिले आर्थर नियमित अग्रगामी अनि सहायक सेवकको रूपमा सेवा गर्दै छन्। यहोवाले पश्चात्ताप गर्नेहरूलाई कृपा देखाउनुहुन्छ भनेर बुझ्न पाउनु कत्ति सान्त्वनादायी कुरा नि, होइन?
यहोवा हामीलाई आशा दिनुहुन्छ
८. (क) यहोवाले यहुदीहरूलाई कस्तो आशा दिनुभयो? (ख) यसैया ४०:२९-३१ अनुसार त्यो आशा पाएपछि यहुदीहरूले कस्तो महसुस गर्ने थिए?
८ मानिसको नजरबाट हेर्ने हो भने निर्वासनमा परेका यहुदीहरू आशाविहीन अवस्थामा थिए। बेबिलोनी विश्वशक्तिले आफ्ना कैदीहरूलाई मुक्त गर्दैनथ्यो। (यसै. १४:१७) तर यहोवाले आफ्ना जनहरूलाई कैदबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुभएको थियो र त्यसो गर्नदेखि उहाँलाई कुनै कुराले रोक्न सक्ने थिएन। (यसै. ४४:२६; ५५:१२) उहाँको नजरमा बेबिलोन धुलोजस्तै थियो। (यसै. ४०:१५) उहाँले एकचोटि ‘फु’ गरेको भरमा शत्रुहरूलाई नाश गर्न सक्नुहुन्थ्यो र आफ्ना मानिसहरूलाई कैदबाट मुक्त गर्न सक्नुहुन्थ्यो। यस्तो आशाले यहुदीहरूलाई कसरी मदत गर्ने थियो? त्यसले तिनीहरूलाई सान्त्वना दिने थियो। त्यति मात्र होइन, यसैयाले भनेझैँ ‘यहोवामा आशा राख्नेहरूले फेरि बल पाउने थिए।’ (यसैया ४०:२९-३१ पढ्नुहोस्।) हो, आशाले तिनीहरूलाई बलियो पार्ने थियो र ‘तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्ने थिए।’
९. आफूले छुटकारा पाउने कुरामा यहुदीहरू किन विश्वस्त हुन सक्थे?
९ आफूले छुटकारा पाउने कुरामा ती यहुदीहरू विश्वस्त हुन सक्थे। किन? किनभने यहोवाले विगतमा पूरा गरिसक्नुभएका भविष्यवाणीहरूबारे तिनीहरूलाई थाह थियो। जस्तै: भविष्यवाणी गरिएअनुसारै अस्सेरियालीहरूले इस्राएलको उत्तरी राज्यलाई हराएका थिए र त्यहाँका मानिसहरूलाई कैदी बनाएर लगेका थिए। (यसै. ८:४) अनि भविष्यवाणी गरिएअनुसारै बेबिलोनीहरूले यरुसलेमलाई विनाश गरेका थिए र त्यहाँका मानिसहरूलाई पनि कैदी बनाएर लगेका थिए। (यसै. ३९:५-७) राजा सिदकियाहको आँखा फोडिएको र तिनलाई बेबिलोन लगिएको बेला ती यहुदीहरू जीवितै थिए। (यर्मि. ३९:७; इज. १२:१२, १३) यहोवाले गर्नुभएका एक-एक भविष्यवाणीहरू पूरा भएका थिए। (यसै. ४२:९; ४६:१०) त्यसैले ती यहुदीहरूको विश्वास बलियो भएको हुनुपर्छ। त्यही विश्वासले गर्दा यहोवाले तिनीहरूलाई छुटकारा दिनुहुनेछ भन्ने कुरामा तिनीहरू विश्वस्त हुन सके।
१०. यस अन्तको दिनमा हामी कसरी आफ्नो आशालाई ताजा बनाइराख्न सक्छौँ?
१० हाम्रो लागि पाठ? हामी निराश हुँदा आशाले हामीलाई सान्त्वना दिन सक्छ र हामीले फेरि बल पाउन सक्छौँ। हामी असाध्यै कठिन समयमा बाँचिरहेका छौँ र हामीविरुद्ध खडा भएका शत्रुहरू निकै शक्तिशाली छन्। तर हामी निराश हुनुपर्दैन। यहोवाले हामीलाई साँचो शान्ति र सुरक्षा छाएको प्रमोदवनमा सधैँभरि बाँच्ने सुन्दर आशा दिनुभएको छ। हामीले त्यस आशालाई आफ्नो मनमस्तिष्कमा ताजा बनाइराख्नुपर्छ नत्र हाम्रो आशा धमिलो हुन सक्छ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, हाम्रो घरबाट एउटा सुन्दर दृश्य देखिन्छ तर हाम्रो झ्यालको सिसा धुलोले गर्दा धमिलो भएको छ। त्यस सिसाबाट हेऱ्यौँ भने त्यो दृश्य पनि धमिलै देखिन्छ। त्यो सुन्दर दृश्य हेर्नको लागि हामीले आफ्नो झ्यालको सिसा सफा गर्नुपर्छ। त्यसोभए हामी आफ्नो आशालाई कसरी ताजा बनाइराख्न सक्छौँ? हामीले नयाँ संसारमा हाम्रो जीवन कत्ति रमाइलो हुनेछ भनेर कल्पना गर्न नियमित रूपमा समय निकाल्नुपर्छ। हामी आशासित सम्बन्धित लेखहरू पढ्न, भिडियोहरू हेर्न र गीतहरू सुन्न सक्छौँ। साथै यहोवासित प्रार्थनामा कुराकानी गर्दा हामी कुन-कुन प्रतिज्ञाहरू पूरा भएको हेर्न एकदमै उत्सुक छौँ, त्यसबारे उहाँलाई बताउन सक्छौँ।
११. जोई बहिनीले कसरी फेरि बल पाउन सकिन्?
११ आशाले जोई बहिनीलाई कसरी सान्त्वना र बल दिएको छ, विचार गरौँ। तिनी गम्भीर स्वास्थ्य समस्याहरू झेल्दै छिन्। तिनी भन्छिन्: “म एकदमै निराश हुँदा आफ्नो मनको सबै कुरा यहोवालाई पोखाउँछु। उहाँले मेरो कुरा बुझ्नुहुन्छ भनेर मलाई थाह छ। गाह्रो भएको बेला यहोवाले मलाई ‘असाधारण शक्ति’ दिनुभएको छ।” (२ कोरि. ४:७) तिनी आफू नयाँ संसारमा भएको पनि कल्पना गर्छिन्, जहाँ “कुनै बासिन्दाले यसो भन्नेछैन: ‘म बिरामी छु।’” (यसै. ३३:२४) हामीले पनि आफ्नो मनको भावना यहोवालाई पोखायौँ र आशामा ध्यान केन्द्रित गऱ्यौँ भने फेरि बल पाउन सक्छौँ।
१२. यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१२ निर्वासित यहुदीहरूजस्तै हामी पनि यहोवाले गर्नुभएका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन् भन्ने कुरामा ढुक्क हुन सक्छौँ। किन? किनकि उहाँले गर्नुभएका भविष्यवाणीहरू पूरा भइरहेको हामीले देखिरहेका छौँ। जस्तै: अहिलेको विश्वशक्ति एङ्ग्लो-अमेरिका “कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर” छ। (दानि. २:४२, ४३) हामीले ‘ठाउँ-ठाउँमा भूकम्प’ गएको खबर पनि सुनिरहेका छौँ अनि हामीले “सबै जातिलाई” साक्षी दिइरहेका छौँ। (मत्ति २४:७, १४) यी तथा अन्य भविष्यवाणीहरू पूरा भएको देखेकोले हाम्रो विश्वास बलियो भएको छ। यसले गर्दा यहोवाले गर्नुभएका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन् भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ।
यहोवाका भविष्यवाणीहरू पूरा भइरहेको हामीले देखिरहेकोले उहाँका प्रतिज्ञाहरू पनि पक्कै पूरा हुनेछन् भनेर हामी ढुक्क हुन सक्छौँ (अनुच्छेद १२ हेर्नुहोस्)
यहोवा हाम्रो डर हटाउनुहुन्छ
१३. (क) आफ्नो छुटकारा नजिकिँदै जाँदा यहुदीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने थियो? (ख) यसैया ४१:१०-१३ अनुसार यहोवाले यहुदीहरूलाई कसरी सान्त्वना दिनुभयो?
१३ हुनत यहोवाले निर्वासित यहुदीहरूलाई सुन्दर आशा दिएर सान्त्वना दिनुभयो। तर तिनीहरूको छुटकाराको समय नजिकिँदै जाँदा तिनीहरूले चुनौतीहरूको सामना गर्नुपर्नेछ भनेर उहाँलाई थाह थियो। यहोवाले यहुदीहरूको निर्वासनको अन्ततिर एक जना शक्तिशाली राजाले बेबिलोनवरपरका राष्ट्रहरूलाई धुलोपिठो पार्नेछन् र त्यसपछि बेबिलोनमाथि आक्रमण गर्नेछन् भनेर भविष्यवाणी गर्नुभएको थियो। (यसै. ४१:२-५) के ती यहुदीहरू डराउनुपर्ने थियो? यहोवाले आफ्ना मानिसहरूलाई पहिल्यै यसो भनेर सान्त्वना दिनुभयो: “नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।” (यसैया ४१:१०-१३ पढ्नुहोस्।) उहाँले किन “म तिम्रा परमेश्वर हुँ” भन्नुभयो? उहाँले यहुदीहरूलाई उहाँको उपासना गर्न सम्झाइरहनुभएको थिएन। किनकि त्यो कुरा तिनीहरूलाई पहिल्यै थाह थियो। बरु उहाँ अझै पनि तिनीहरूको साथमा हुनुहुन्छ भनेर सम्झाउँदै हुनुहुन्थ्यो।—भज. ११८:६.
१४. यहोवाले यहुदीहरूलाई डर हटाउन अर्को कुन तरिकामा मदत गर्नुभयो?
१४ यहोवाले तिनीहरूलाई आफ्नो अथाह शक्ति र ज्ञानबारे सम्झाएर पनि डर हटाउन मदत गर्नुभयो। उहाँले तिनीहरूलाई आकाशका ताराहरू हेर्न भन्नुभयो। उहाँले ती ताराहरू आफूले बनाएको कुरा मात्र बताउनुभएन। बरु ती प्रत्येक ताराको नामसमेत थाह छ भन्नुभयो। (यसै. ४०:२५-२८) यहोवालाई प्रत्येक ताराको नाम त थाह छ भने आफ्ना प्रत्येक सेवकको नाम थाह नहुने त कुरै भएन। यहोवासित ताराहरू बनाउने शक्ति छ भने आफ्ना मानिसहरूलाई मदत गर्ने शक्ति पनि पक्कै छ। त्यसैले यहुदीहरू डराउनुपर्ने कुनै कारण थिएन।
१५. यहोवाले यहुदीहरूलाई पछि हुने कुराको लागि कसरी तयार पार्नुभयो?
१५ यहोवाले आफ्ना मानिसहरूलाई भविष्यको लागि पनि तयार पार्नुभयो। उहाँले तिनीहरूलाई पहिल्यै यस्तो निर्देशन दिइसक्नुभएको थियो: “आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” (यसै. २६:२०) यहुदीहरूले यो निर्देशन राजा कोरेसले बेबिलोनमाथि आक्रमण गर्दा पालन गरेका हुन सक्छन्। एक ग्रीक इतिहासकारले बताएअनुसार बेबिलोनभित्र प्रवेश गरेपछि ‘कोरेसले आफ्ना सैनिकहरूलाई घरबाहिर भेटिने सबै मानिसलाई मार्ने आदेश दिएका थिए।’ त्यतिबेला बेबिलोनका बासिन्दाहरू कत्ति डराएका थिए होलान्, कल्पना गर्नुहोस् त! तर निर्वासित यहुदीहरूले यहोवाका निर्देशनहरू पालन गरेकोले तिनीहरूको ज्यान जोगिएको हुन सक्छ।
१६. हामीले भविष्यबारे किन अचाक्ली चिन्ता गर्नुपर्दैन? (चित्र पनि हेर्नुहोस्।)
१६ हाम्रो लागि पाठ? हामीले अब चाँडै मानव इतिहासमा कहिल्यै नभएको सङ्कष्टको सामना गर्नेछौँ। महासङ्कष्ट सुरु हुँदा मानिसहरू अलमलमा पर्नेछन् र डराउनेछन्। तर यहोवाका जनहरू भने ढुक्क भएर बस्नेछन्। किनकि यहोवा हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हामी खडा भएर आफ्नो शिर उठाउनेछौँ। किनभने हामीलाई थाह छ, हाम्रो “छुटकारा नजिक आउँदै छ।” (लुका २१:२८) राष्ट्रहरूको गठबन्धनले हामीलाई आक्रमण गर्दा समेत हामी दृढ भई खडा हुनेछौँ। यहोवाले हामीलाई सुरक्षा दिन स्वर्गदूतहरू प्रयोग गर्नुहुनेछ र उहाँले महत्त्वपूर्ण निर्देशनहरू पनि दिनुहुनेछ। हामी ती निर्देशनहरू कसरी पाउनेछौँ? त्यो त समयले नै बताउनेछ। तर सायद हामीले त्यस्ता निर्देशनहरू आफ्नो मण्डलीमार्फत पाउनेछौँ। यस अर्थमा हामी जानुपर्ने ‘भित्री कोठाहरू’ हाम्रा मण्डलीहरू हुन सक्छन्, जहाँ हामी सुरक्षित रहनेछौँ। हामी भविष्यमा हुने कुराहरूको लागि कस्तो तयारी गर्न सक्छौँ? हामी आफ्ना भाइबहिनीसित घनिष्ठ हुनुपर्छ, यहोवाको सङ्गठनबाट आउने निर्देशनहरू पालन गर्न तयार हुनुपर्छ र यहोवाले नै आफ्नो सङ्गठनलाई डोऱ्याउँदै हुनुहुन्छ भनेर विश्वस्त हुनुपर्छ।—हिब्रू १०:२४, २५; १३:१७.
हामीलाई बचाउने यहोवाको शक्तिमा मनन गर्दा हामी महासङ्कष्टको बेला अचाक्ली चिन्तित हुनुपर्नेछैन (अनुच्छेद १६ हेर्नुहोस्)b
१७. तपाईँ सान्त्वनाको लागि कसरी यहोवामा भर परिरहन सक्नुहुन्छ?
१७ बेबिलोनमा निर्वासित यहुदीहरूको जीवन सजिलो थिएन। तर यहोवाले तिनीहरूलाई चाहिएको सान्त्वना दिनुभयो। उहाँले हामीलाई पनि त्यसै गर्नुहुनेछ। भविष्यमा जस्तोसुकै अवस्था आइपरे पनि सान्त्वनाको लागि यहोवामा भर परिरहनुहोस्। उहाँ कोमल कृपाका बुबा हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। आफ्नो आशालाई ताजा बनाइराख्नुहोस्। यहोवा तपाईँको साथमा हुनुहुन्छ भने तपाईँ कुनै कुरादेखि डराउनुपर्दैन।
गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
a केही नाम परिवर्तन गरिएका छन्।
b चित्रको व्याख्या: भाइबहिनीको एउटा सानो समूह एक ठाउँमा भेला भएको छ। पृथ्वीको जहाँसुकै भए पनि यहोवाले आफ्ना जनहरूलाई बचाउनुहुनेछ भन्ने कुरामा तिनीहरू विश्वस्त छन्।