लेवी
३ “‘कसैले गाईवस्तुको बगालबाट मेलबलि* चढाउने हो भने,+ चाहे त्यो जनावर भाले होस् वा पोथी, उसले यहोवा परमेश्वरसामु निष्खोट जनावर चढाओस्। २ उसले त्यस जनावरको टाउकोमा हात राखोस् र त्यो जनावर भेट हुने पालको* प्रवेशद्वारनजिकै काटियोस् अनि हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्। ३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्वरको निम्ति आगोमा बलि चढाओस्:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+ ५ हारुनको सन्तानले त्यसलाई वेदीको दाउरामा जलिरहेको अग्निभेटीमाथि राखेर जलाऊन्।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+
६ “‘भेडाबाख्राको बगालबाट यहोवा परमेश्वरलाई मेलबलि चढाउने हो भने उसले निष्खोट भाले वा पोथी चढाओस्।+ ७ यदि उसले भेडाको पाठो बलि चढाउने हो भने उसले त्यसलाई यहोवा परमेश्वरसामु ल्याओस्। ८ उसले त्यस जनावरको टाउकोमा हात राखोस् र त्यो जनावर भेट हुने पालको अगाडि काटियोस् अनि हारुनको सन्तानले वेदीको चारैतिर त्यसको रगत छर्कून्। ९ उसले मेलबलिको बोसो आगोमा जलाएर यहोवा परमेश्वरको निम्ति चढाओस्।+ उसले ढाडनेरको बोसेपुच्छर* काटेर निकालोस्। साथै आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो, १० कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो निकालोस्। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्।+ ११ अनि पुजारीले ती सबैलाई भोजनको* रूपमा वेदीमा जलाऊन्। यो यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने बलि हो।+
१२ “‘यदि बाख्राको बलि चढाउने हो भने उसले त्यसलाई यहोवा परमेश्वरसामु ल्याओस्। १३ उसले त्यस जनावरको टाउकोमा हात राखोस् र त्यो जनावर भेट हुने पालको अगाडि काटियोस् अनि हारुनको सन्तानले वेदीको चारैतिर त्यसको रगत छर्कून्। १४ उसले यहोवा परमेश्वरको निम्ति आगोमा यी कुराहरू चढाओस्: आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो,+ १५ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्। १६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्वरकै हुन्।+
१७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+