विश्वदर्शन
सेलुलर फोनबाट बेफाइदा
जापानमा हालै गरिएको एउटा अध्ययनले सेलुलर फोनबाट प्रसारित रेडियो तरंगहरूले अस्पतालका चिकित्सा उपकरणहरूमा गम्भीर समस्याहरू ल्याउनसक्ने पुष्टि गरेको छ। आशाही इभिनिंग न्यूज भन्छ, “४५ सेन्टिमिटर परबाट सेलुलर फोन प्रयोग गर्दा कृत्रिम श्वासप्रश्वास यन्त्र बन्द भयो।” अनुसन्धानकर्ताहरूले ७५ सेन्टिमिटर परबाट सेलुलर फोन प्रयोग गर्दा तरल पदार्थ पठाउने उपकरण तथा अर्बुद रोगको औषधी पठाउने उपकरणहरूबाट खतराको संकेत दिने आवाज आउनथाल्छ भन्ने थाह पाए। यसबाट ऐक्स रे उपकरण र टोनोमिटरहरूले (रगत, वायु आदिको चाप नाप्ने उपकरण) पनि यस्तै संकेत दिए। उक्त परीक्षणहरूबाट पत्ता लागेका कुराहरूको आधारमा हुलाक र दूर संचार मन्त्रालयले शल्यकक्ष तथा सघन उपचार कक्षहरूमा सेलुलर फोन नलैजाने सल्लाह दिन्छन्। एउटा सर्वेक्षणअनुसार के पत्ता लाग्यो भने, टोकियोका २५ वटा जति चिकित्सा संस्थानहरूमा सेलुलर फोन प्रयोगमा कडिकडाउ गरिसकियो। त्यसमध्ये १२ वटामा त निषेध नै छ।
सामान्य वृद्धिका आवश्यकताहरू
जर्नल डु ब्रजील आफ्नो प्रतिवेदनमा भन्छ, एउटा शिशुको वृद्धिमा वंशानुगत गुनले मात्र प्रभाव पार्दैन। “राम्रो वृद्धि हुन पोषिलो आहार चाहिन्छ” भनी सोही समाचारपत्र टिप्पणी गर्छ। तर मध्यमवर्गीय परिवारहरूमा समेत पोषिलो आहार दिइँदैन। इनड्रोक्राइनोलोजीका प्राध्यापक एमेल्यो गोदइ म्याटोस यसरी आफ्नो मन्तव्य व्यक्त गर्छन्, “वृद्धिको लागि अर्को आधारभूत तत्त्व नियमित व्यायाम पनि हो।” उनले अझ यसो भने, “यसमा मस्त निदाउनु पनि खाँचो छ। किनभने वृद्धिमा सघाउ पुऱ्याउने हर्मोन शिशु सुतेको बेलामा मात्र पैदा हुन्छ। भावनात्मक समस्याहरूजस्ता कुराले शिशुको वृद्धि सुस्त गराउनसक्छ। इनड्रोक्राइनोलोजीस्ट वालमेर कोतिन्यूअनुसार “घण्टौंसम्म टेलिभिजन हेर्नाले, अझ खास गरेर हिंसात्मक चलचित्रहरू हेर्दा शिशुको निन्द्रा बिग्रन्छ र यसले गर्दा उसको वृद्धि त्यति राम्ररी हुन पाउँदैन।”
आशावादीहरू स्वस्थ हुनसक्छन्
हालै फिनल्याण्डमा सञ्चालन गरिएको एउटा अध्ययनले निराशावादी दृष्टिकोणले मानसिक तथा शारीरिक स्वास्थ्यलाई हानि गर्छ तर आशावादी भयौं भने स्वस्थ हुनसक्छौं भनी पुनः ठोकुवा गरेको छ। बयालीसदेखि ६० वर्ष उमेरबीचका २,५०० जति मानिसहरूबारे ४ देखि १० वर्षसम्म अध्ययन गरियो। साइन्स न्यूज पत्रिकाअनुसार वैज्ञानिकहरूले यस्तो प्रतिवेदन दिए: “त्यति निराश नहुने वा निराश नभएका मानिसहरूको मृत्यु दरको तुलनामा असाध्यै निराश हुने र कहिलेकाहीं निराश हुने मानिसहरूको . . . मृत्यु दुइदेखि तीन गुणा बढी भयो; बढी निराश भएका मानिसहरूमा अर्बुद तथा हृदयघात पनि बढी देखियो।”
भिक्षुणीहरू कराँते सिक्छन्
महिलाहरूले दिनप्रतिदिन हिंसाको सामना गर्नु परेकोले दक्षिण भारतको तामिल नाडु राज्यको मदभारमस्थित सेन्ट एनी चर्चका केही भिक्षुणीहरूले कराँते प्रशिक्षण लिन सुरु गरेका छन। अल इन्डिया इशुन्रियू कराँते एसोसिएसनका अध्यक्ष सिहान हुसैनीले कराँते प्रशिक्षकको पेशामा २४ वर्ष बिताएका छन्। उनको भनाइअनुसार अन्य महिलाहरूका तुलनामा भिक्षुणीहरूले धेरै राम्रोसँग सिकिरहेका छन्। त्यसबारे उनी भन्छन्, ‘यसमा तिनीहरूको अन्तर्निहित शक्ति र अनुशासनको नै मुख्य भूमिका छ जस्तो मलाई लाग्छ।’ भिक्षुणीहरूलाई चलाउन सिकाइएको एउटा हतियारको नाम हो सान को। यसको आकार क्रूसजस्तो छ। हुसैनी ठोकुवा गर्दै भन्छन्, “यो हतियारद्वारा आक्रमणकारीलाई मार्न समेत सकिन्छ।”
गणितीय पाईको मान
धेरैले स्कूलमा अध्ययन गरेझैं पाई भनेको वृत्तको व्यास र परिधिको अनुपात हो। पाईको मानको दशमलवपछिको संख्याको कुनै अन्त्य नै नभएकोले पाईको मान ३.१४१५९ राखेर पनि सबैले सही हिसाब गर्नसक्छन्। अठाह्रौं शताब्दीमा उक्त मान दशमलवपछि १०० स्थानसम्म पत्ता लगाइयो। त्यस्तै १९७३ मा दुइ फ्रान्सेली गणितज्ञहरूले दश लाख स्थानसम्म पत्ता लगाउन सफल भए। अहिले जापानको टोकियो विश्वविद्यालयका यासुमासा कानाडाले त कम्प्युटरबाट दशमलवपछिको छ अरबभन्दा बढी स्थानसम्मको मान निकालेका छन्। त्यति धेरै संख्या कहिल्यै प्रयोग गर्नु पर्ला जस्तो देखिंदैन। किनभने लन्डनको द टाइम्स-को टिप्पणीअनुसार “ब्रह्मान्डको परिधिदेखि लिएर हाइड्रोजन परमाणुको अर्धव्यास पत्ता लगाउने हिसाब गर्न पनि दशमलवपछिको ३९ अंकहरू भए पुग्छ। पाईको मानको “कुनै सीमा नभएकोले यो चुनौतीपूर्ण लाग्छ” भनी प्राध्यापक कानाडा बताउँछन्। तर उनले निकालेको नतिजाको संख्या गनिरहन पट्टि चाहिं नलाग्नुस् नि। किनभने द टाइम्स भन्छ: “एक सेकेन्डमा एउटा अंकको दरले गन्ने हो भने पनि २०० वर्षजति लाग्नसक्छ।”
भारतमा भैंसे बिफरको महामारी
द टाइम्स अफ इन्डिया-को प्रतिवेदनअनुसार पश्चिमी भारतको बिड जिल्लामा ‘भैंसे बिफर देखा परेको छ। यो रोग ‘बिफर सार्नेजस्तै जीवाणुबाट’ लाग्छ। यो बिफर सामान्य बिफरभन्दा कम हानिकारक भए तापनि यो फैलिनसक्ने खतराबारे वैज्ञानिकहरू चिन्तित छन्। नेशनल इन्सटिच्यूट अफ भाइरोलोजीका निर्देशक डा. कल्याण वेनर्जी भन्छन्: “यो जीवाणुबारे हामीले गहिरिएर अध्ययन गर्नुपर्छ। यो कत्तिको गम्भीर छ भनेर अहिले हामी यसै भन्न सक्दैनौं।” ठूलो चिन्ताको विषय चाहिं के हो भने, उपचार सुविधा कम भएका दुर्गम गाउँघरतिर यो बिफर फैलिन सक्ने सम्भावना छ। भैंसे बिफरले मानिसमा ज्वरोको मात्रा बढाइदिन्छ, पानी भरिएका फोकाहरू निस्कन्छन्, शरीरभरि छ्याकटे दाग छोड्छ अनि कमजोर बनाउँछ।