प्रश्न पेटी
◼ सेलुलर फोन तथा इलेक्ट्रोनिक पेजर प्रयोग गर्दा हामीले के बिर्सनुहुँदैन?
हामी जहाँसुकै भए तापनि यस्ता साधनहरूले हामीलाई अरूसित सम्पर्क राख्न सजिलो बनाउँछ। यो धेरै उपयोगी हुन सक्छ तर हाम्रो सेवकाई वा मसीही सभाहरूमा अरूको ध्यान भंग हुन नदिन हामी यसको प्रयोगबारे सजग हुनै पर्छ। यसले कसरी अरूको ध्यान भंग गर्न सक्छ?
क्षेत्र सेवकाईमा साक्षी दिइरहेको बेला हाम्रो सेलुलर फोन बज्यो वा हाम्रो पेजरमा आवाज आयो भने त्यसले कस्तो असर पार्ला विचार गर्नुहोस् त। घरधनीले के सोच्ला? घरधनीसित कुरा रोकेर सेलुलर फोनमा जवाफ फर्काउन थाल्यौं वा पेजरमा के खबर आएछ भनी चेक गर्न थाल्यौं भने त्यसले कस्तो छाप छोड्ला? राज्य सन्देश सुन्न अरूलाई बाधा पुऱ्याउने त्यस्ता कुनै पनि काम हामी गर्न चाहँदैनौं। (२ कोरि. ६:३) तसर्थ, यदि हामीले सेलुलर फोन वा पेजर बोकेका छौं भने, हामीले यसलाई क्षेत्र सेवकाईमा भाग लिइरहेको बेला हामी वा अरूलाई बाधा नपुऱ्याउने किसिमले मिलाएर राख्नुपर्छ।
अरूले साक्षी दिइरहेको बेला हामीचाहिं पर्खिरहेका छौं भने नि? यदि हामीले क्षेत्र सेवाको लागि निश्चित समय छुट्याएका छौं भने, के हामीले आफ्नो ध्यान त्यसै गतिविधिमा लगाउनुपर्दैन र? पवित्र सेवाप्रति आदर देखाउँदै कृपया अनावश्यक व्यक्तिगत कारोबार वा सामाजिक कामकुरा अरू नै बेला गर्नुहोस्। (रोमी १२:७) निस्सन्देह, यसको मतलब फोनमार्फत थप साक्षी दिन वा अरूसित भेट्ने समय मिलाउन यसको प्रयोग गर्नै हुँदैन भनेको चाहिं होइन।
विशेष गरी सवारीसाधन चलाइरहेको बेला सेलुलर फोन प्रयोग नगर्न हामी सतर्क हुनुपर्छ किनकि केही अध्ययनहरूले देखाएअनुसार यसो गर्दा दुर्घटना हुने सम्भावना एकदमै बढी हुन्छ। सवारीसाधन चलाउँदा सेलुलर फोन प्रयोग गर्न निषेध गरिएको कुनै पनि नियम कानूनलाई हामीले कडिकडाइसाथ पालन गर्नुपर्छ।
हामी यहोवाको उपासना गर्न र उहाँबाट सिक्न मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा आउँछौं। के यी अवसरहरूको पवित्रताप्रतिको कृतज्ञताले हामीलाई सेलुलर फोन वा पेजरहरू आफ्नो वा अरूको ध्यान भंग नहुने किसिमले मिलाएर राख्न उत्प्रेरित गर्दैन र? जरुरी कुरा गर्नु परेमा हामी सभा स्थलबाहिर जानुपर्छ। होइन भने, उपासनाको लागि तोकिएको समयबाहेक अरू नै बेला व्यक्तिगत वा सांसारिक कामकुराको लागि समय मिलाउनुपर्छ।
हामीले प्रयोग गर्ने सेलुलर फोन वा अन्य कुनै इलेक्ट्रोनिक उपकरणले हामी अरूको ख्याल राख्छौं र आध्यात्मिक कुराको गहिरो मूल्यांकन गर्छौं भन्ने कुरा सधैं झल्काउन सकौं।