विश्वदर्शन
आशावादी हुनुहोस् र स्वस्थ रहनुहोस्!
साऊ पाऊलु युनिभर्सिटिका प्राध्यापक सुली डामर्ज्यान बताउँछन्, “हँसीमिजासद्वारा मानिस अझ सहनशील हुन्छन्, अचाक्ली निराश हुँदैनन् अनि शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्छन्।” ब्राजिलको समाचारपत्र ओ एस्टाडो डे सान् पाऊलु-अनुसार पढ्नु र लेख्नुझैं असल प्रकारको हँसीमिजास पनि सिक्न सकिने कुरा हो। स्पष्ट छ, यसो गर्न चिढिने स्वभाव भएको व्यक्तिले सोचाइमा परिवर्तन गर्नुपर्छ। मनोविज्ञानका प्राध्यापक राकेल रोड्रीग्स कर्बावी बताउँछिन्: “कुनै व्यक्तिले सबै जना ठीक हुँदा मात्र म खुशी हुनसक्नेछु भनेर सोच्छन् भने तिनी जीवनभरि चिढी नै रहनेछन्। आखिर, अन्याय त जहिंतहीं छँदै छ नि।” व्यस्त भए तापनि असल स्वभावको मानिस समाजसित हेलमेल गरेर रमाउँछ भनेर रिपोर्टले बताउँछ। तिनीहरूले “गफ गर्नु, मिठाई खानु वा पाँच मिनेट असल संगीत सुन्नु” जस्ता स-साना कुराहरूलाई पनि मूल्यवान् ठान्छन्। तथापि, डामर्ज्यान सचेत गराउँछन्: “असल हँसीमिजासलाई ख्यालठट्टा र अशिष्ट बोली भन्ठान्नु हुँदैन।”
केटाकेटीले मन पराउने र मन नपराउने कुराहरू
केटाकेटीलाई के गर्न मनै पर्दैन? इटालीको मिलानस्थित विश्वविद्यालयका प्राध्यापक गुस्तोभो पेट्रोपोली शेर्मतले ९ देखि ११ वर्षका केटाकेटीहरूसित सोधपूछ गर्दा तिनीहरूमध्ये अधिकांशले मनै नपर्ने कुराबारे भने: “घरमा बसेर टिभी हेर्नु” वा “घरमा आमासित बसेर होमवर्क गर्नु।” नृत्य, अंग्रेजी, पियानो र अरू त्यस्तै कुराहरू सिक्न शहरका विभिन्न ठाउँमा “दौडधूप गर्नु” तिनीहरूलाई सबैभन्दा मन नपर्ने कुरा हो भनेर ला रिपब्लिका पत्रिकाले बताउँछ। साधारणतया, तिनीहरूलाई “एक्लै बस्न” पनि मन पर्दैन। एकातिर ४९ प्रतिशत केटाहरू आमाबाबुले “छोराछोरीलाई बाहिर खेल्न पठाओस्” भन्ने चाहन्छन् भने अर्कोतिर केटीहरू आमाबाबु “आफ्ना छोराछोरीसितै बसेर रमाइलो गरून्” भनेर चाहन्छन्। वास्तवमा, केटीहरू भन्छन्: ‘आमा मसित खेल्नुहुँदा उहाँ ख्यालठट्टा गर्न पाउनुहुन्न। उहाँलाई रमाइलो लागेन भने मलाई पनि लाग्दैन।’
छनौट गर्नुहोस्
न्यु साइन्टिस पत्रिकाको एउटा लेखमा यसरी सोधिएको थियो, “के तपाईंको नयाँ वर्षको सुरुआत राम्रो भएन? सुर्ता नगर्नुहोस्, संसारभरि अझै १४ वटा नयाँ वर्षहरू छन् त्यसबाट एउटा छान्न सक्नुहुन्छ।” वास्तवमा, ग्रेगोरियन तिथिपात्रोलाई आधार मान्ने देशहरूले मात्र जनवरी १ लाई वर्षको पहिलो दिन भनेर स्वीकारेका हुन्। जुलियस सिजरले सा.यु.पू. ४६ मा जनवरी १ देखि क्यालेन्डरमा वर्षको पहिलो दिन सुरु हुन्छ भनेर निर्णय गरे। पोप ग्रेगरीले सन् १५८२ मा यस पद्धतिलाई संशोधन गरेपछि त झन् यस्तै हुन थाल्यो। विभिन्न संस्कृतिमा आ-आफ्नै तिथिपात्रो बनिएपछि कम्तीमा २६ नयाँ वर्षहरू देखा परे। तीमध्ये आज रहेकाहरूमा चिनियाँ पद्धति सबैभन्दा पुरानो हो। तिनीहरूको यस पालीको नयाँ वर्ष फेब्रुअरी ७ मा सुरु हुन्छ। यहूदी नयाँ वर्ष अक्टोबर २ मा पर्छ। मुस्लिमको चान्द्रो तिथिपात्रोमा भने नयाँ वर्ष अर्कै तारिख अर्थात् मे ८ मा पर्नेछ।
“चीनमा वृद्धहरूको जनसंख्या”
चाइना टुडे पत्रिकाको प्रतिवेदनअनुसार “चीनमा वृद्धहरूको जनसंख्या दनादन बढिरहेको छ। सन् १९९४ को अन्तसम्म ६० वर्षमाथिका वृद्ध नागरिकहरूको जनसंख्या १९९० को भन्दा १४.१६ प्रतिशत वृद्धि भएर ११,६९,७०,००० पुग्यो।” देशको कुल जनसंख्यामा ६० वर्षमाथिका मानिसहरू १० प्रतिशत छन्। अनि वृद्धहरूको जनसंख्या कुल जनसंख्याभन्दा झन्डै तीन गुणाको दरले चाँडचाँडो बढिरहेको छ। तिनीहरूको देखभाल कसरी गरिंदैछ? कामबाट हुने आमदानी, वृद्ध भत्ता, सामाजिक बिमा र राहत प्रबन्धले थुप्रैको आवश्यकता पूरा गर्ने भए तापनि ५७ प्रतिशतभन्दा धेरै वृद्ध नागरिकहरू तिनीहरूका छोराछोरी वा आफन्तहरूको सहारामा छन्। चाइना टुडे बताउँछ, “तुलनात्मक हिसाबले चीनमा पारिवारिक सम्बन्ध बलियो छ र त्यहाँ वृद्धहरूको आदर र हेरचाह गर्ने असाध्यै राम्रो परम्परा छ। त्यसैले अधिकांश वृद्ध नागरिकहरू आफन्तहरूसित बस्छन् र ती आफन्तहरूले तिनीहरूको राम्ररी हेरचाह गरिरहेका छन्। चीनको ७ प्रतिशत वृद्ध मानिसहरू मात्र एक्लै बस्नु परेको छ।”
बाल श्रमिक—बढ्दो समस्या
अन्तरराष्ट्रिय श्रमिक संगठनको हालैको प्रतिवेदनअनुसार विश्वमा १० देखि १४ वर्षबीचका १३ प्रतिशत अर्थात् लगभग ७.३ करोड केटाकेटीलाई जबरजस्ती काममा लगाइन्छ। त्यस प्रतिवेदनमा अझ के बताइएको छ भने, यदि दश वर्षमुनिका केटाकेटी र घरमा काम गर्ने केटीहरूको संख्या गन्ने हो भने शायद विश्वका बाल श्रमिकहरूको संख्या दशौं करोड पुग्ने थियो। जेनेभामा स्थापित संगठनले ८० वर्षदेखि बाल श्रमिक विरुद्ध संघर्ष गरिरहेको भए तापनि यो समस्या त्यतिकै बढिरहेको छ र फैलिरहेको छ। विशेषगरि अफ्रिका र ल्याटिन अमेरिकामा झन् वृद्धि भइरहेको छ। श्रमिक हुनु र खतरापूर्ण स्थितिमा काम गर्नु नै यी करोडौं केटाकेटीको जीवनपद्धति भए तापनि खास समस्या त यिनीहरूमाथि गरिएको वेश्यावृत्ति भएको छ। केही देशहरूमा “वयस्कहरूले [एचआइभी] संक्रमणबाट बच्ने सबैभन्दा असल तरिका ठान्दै केटाकेटीसित लैंगिक सम्बन्ध राख्छन्” भनेर प्रतिवेदनले बताउँछ। पेरिसको इन्टरनेशनल हेरल्ड ट्रिब्युन-अनुसार त्यस संगठनले “ती समस्याप्रति आँखा चिम्लिने सरकारी अधिकारीहरूलाई दोषी ठहराएको छ।”