समयमै ऋण चुक्ता गरेर बैङ्कको भरोसा जितेझैँ आमाबुबाको आज्ञा पालन गरेर उहाँहरूको भरोसा जित्न सकिन्छ
युवाहरूका लागि
१० भरोसायोग्य हुनुहोस्
यसको अर्थ के हो?
भरोसायोग्य मानिसले नियम पालन गर्छ, आफ्नो वाचा पूरा गर्छ र सधैँ सत्य बोल्छ। उसका आमाबुबा, साथीभाइ र हाकिमले ऊमाथि पूरा भरोसा गर्छन्।
यस विषयमा किन चासो राख्नुपर्छ?
तपाईँले आमाबुबाको जति धेरै भरोसा जित्दै जानुहुन्छ, त्यति नै धेरै स्वतन्त्रता पाउन सक्नुहुन्छ।
“आमाबुबाको भरोसा जित्न उहाँहरूको अगाडि मात्र परिपक्व र जिम्मेवार भएर पुग्दैन। बरु हरसमय परिपक्व र जिम्मेवार भएको देखाउनुपर्छ।”—साराई
बाइबलको सिद्धान्त: “तिमीहरू कस्ता मानिसहरू हौ साबित गरिरहो।”—२ कोरिन्थी १३:५.
तपाईँ के गर्न सक्नुहुन्छ?
तपाईँ अझ भरोसायोग्य हुन चाहनुहुन्छ वा गुमाएको भरोसा फेरि कमाउन चाहनुहुन्छ भने निम्न कदमहरू चाल्नुहोस्:
इमानदार हुनुहोस्। झूट बोल्नुभयो भने तपाईँमाथिको मानिसहरूको भरोसा गुम्न सक्छ। अर्कोतर्फ, तपाईँ इमानदार हुनुहुन्छ र आफ्नो गल्ती लुकाउनुहुन्न भने अरूको भरोसा जित्न सक्नुहुन्छ।
“इमानदार हुन कहिलेकाहीँ सजिलो हुन्छ भने कहिलेकाहीँ गाह्रो। इमानदार हुँदा हामी अप्ठेरोमा पनि पर्न सक्छौँ। तर त्यस्तो बेला पनि हामी इमानदार भयौँ भने अरूले हामीलाई झनै भरोसा गर्नेछन्।”—काइमन
बाइबलको सिद्धान्त: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.
जिम्मेवार हुनुहोस्। अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा कामदार रोज्दा विज्ञहरूले कुन कुरामा ध्यान दिन्छन् भनेर सोधिएको थियो। अठहत्तर प्रतिशत विज्ञका अनुसार “जागिर पाउन चाहिने सबैभन्दा उपयोगी तीन वटा गुणमध्ये” जिम्मेवार हुनु एउटा हो। त्यसैले अहिल्यैदेखि जिम्मेवार हुन सिक्नुभयो भने वयस्क हुँदा तपाईँलाई नै फाइदा हुन्छ।
“घरको काम गर्न ममी-ड्याडीले मलाई दोहोऱ्याइ-तेहऱ्याइ सम्झाइरहनु पर्दैन। जिम्मेवार भएर आफ्नो काम गरेको देख्दा उहाँहरूलाई खुसी लाग्छ। अनि आफै अग्रसर भएर काम गरेकोले उहाँहरू ममाथि धेरै भरोसा गर्नुहुन्छ।”—सारा
बाइबलको सिद्धान्त: ‘तिमीले मेरो कुरा मान्नेछौ भनी भरोसा गर्छु र म जान्दछु, तिमीले मैले भनेको भन्दा पनि बढ्ता गर्नेछौ।’—फिलेमोन २१.
धीरजी हुनुहोस्। युवायुवतीहरू हलक्क बढेको प्रस्टै देखिन्छ तर तिनीहरू परिपक्व र जिम्मेवार भएको कुरा देखिन समय लाग्छ।
“एक-दुइटा काम गर्दैमा आमाबुबा र अरूको भरोसा जित्न सकिँदैन। बरु जिम्मेवार भएर काम गर्दै जानुभयो भने भरोसायोग्य हुन सक्नुहुन्छ।”—ब्रान्डन
बाइबलको सिद्धान्त: “धीरज धारण गर।”—कलस्सी ३:१२.