बढ्दो महङ्गी—एउटा ठूलो समस्या
सन्तुष्ट हुनुहोस्
आफूसित भएको कुरामा सन्तुष्ट हुने व्यक्ति आनन्दित रहन सक्छ। यस्ता व्यक्तिहरूले परिस्थिति परिवर्तन हुँदा त्यसैअनुसार आफ्नो जीवनशैली छाँटकाँट गर्न सक्छन्।
यसो गर्नु किन महत्त्वपूर्ण छ?
मनोवैज्ञानिक जेसिका कोयलरले बताएअनुसार सन्तुष्ट व्यक्तिहरूले हरेक अवस्थालाई सकारात्मक दृष्टिकोणबाट हेर्न सक्छन्। साथै त्यस्ता व्यक्तिहरू अरूप्रति डाही हुँदैनन् भनेर पनि उनी बताउँछिन्। हो, सन्तुष्ट मानिसहरू प्रायजसो अरूभन्दा आनन्दित र कम चिन्तित हुन्छन्। अनि आर्थिक रूपमा सम्पन्न नभए तापनि केही मानिसहरूले आनन्दित जीवन बिताइरहेका छन्। यस्ता मानिसहरू जीवनको सबैभन्दा महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन्छन्, जसलाई पैसाले किन्न सकिँदैन। जस्तै, परिवार र साथीभाइसित समय बिताउँदा पाइने आनन्द।
तपाईँ के गर्न सक्नुहुन्छ?
अरूसित तुलना नगर्नुहोस्। आफ्नो साधारण जीवनलाई अरूको विलासी जीवनसित तुलना गर्न थाल्यौँ भने हामी असन्तुष्ट अनि डाही हुन पुग्छौँ। विलासी जीवन बिताएका प्रायजसो मानिसहरूको यथार्थ भने फरक हुन्छ। बाहिरबाट जति नै सम्पन्न देखिए तापनि वास्तवमा तिनीहरू ऋणको भारले दबिएका हुन्छन्। सेनेगलमा बस्ने निकोल यसो भन्छिन्: “मलाई खुसी हुन धेरै कुरा चाहिँदैन। अरूसित जति नै धेरै कुरा किन नहोस्, म आफूसित भएको कुरामा सन्तुष्ट भएकीले आनन्दित हुन सकेकी छु।”
यसो गरे कसो होला? सामाजिक सञ्जालमा वा विज्ञापनहरूमा देखाइने तडकभडकदेखि टाढै बस्नुहोस्।
कृतज्ञ हुनुहोस्। कृतज्ञ हुने व्यक्तिहरू सन्तुष्ट रहन्छन् र आफूसित भएको कुराभन्दा बढी माग गर्दैनन्। हाइटीमा बस्ने रोबर्टन यसो भन्छन्: “अरूले म र मेरो परिवारप्रति देखाएको दयालु व्यवहारबारे म समय निकालेर सोच्ने गर्छु। अनि म यस्तो व्यवहारप्रति धन्यवादी भएको कुरा उहाँहरूलाई व्यक्त गर्छु। मैले आफ्नो आठ वर्षको छोरालाई पनि अरूबाट केही कुरा पाउँदा धन्यवाद भन्न सिकाएको छु।”
यसो गरे कसो होला? तपाईँ के-कस्ता कुराको लागि “धन्यवादी” हुनुहुन्छ भनेर एउटा सूची बनाउनुहोस्। अनि हरेक दिनको अन्तमा आफू धन्यवादी भएको केही कुरा लेख्नुहोस्। जस्तै, तपाईँ राम्रो स्वास्थ्य, परिवार, साँचो साथीहरू र सूर्यास्तको मनमोहक दृश्यबारे लेख्न सक्नुहुन्छ।
कहिलेकाहीँ हामीलाई सन्तुष्ट रहन गाह्रो लाग्न सक्छ। तर हामीले गर्ने प्रयास खेर जानेछैन। सन्तुष्ट रह्यौँ भने हामी खुसी हुन सक्छौँ र यस्तो खुसी पैसाले किन्न सकिँदैन।