भाग १०
परमेश्वरले स्थापना गर्नुहुने आश्चर्यपूर्ण नयाँ संसार
१, २. सबै कुरालाई सफा पार्ने आरमागेडोनको युद्धपछि के हुनेछ?
सबै कुरालाई सफा पार्ने परमेश्वरको युद्ध आरमागेडोन पछि के हुनेछ त? त्यसपछि एउटा सानदार नयाँ युग सुरु हुनेछ। परमेश्वरको शासनप्रति आफ्नो वफादारी प्रमाणित गरिसकेका ती आरमागेडोन पार गर्नेहरू त्यस नयाँ संसारमा प्रवेश गर्नेछन्। मानव परिवारले परमेश्वरबाट ती आश्चर्यपूर्ण लाभहरू पाउँदा साँच्चै नै त्यो मानव इतिहासको एउटा कस्तो रोमाञ्चकारी नयाँ काल हुनेछ!
२ ती बाँच्नेहरूले परमेश्वरको शासनले दिने निर्देशनअनुसार एउटा प्रमोदवन बनाउन सुरु गर्नेछन्। तिनीहरूको शक्ति निःस्वार्थ कामहरूमा लगाइनेछ, जसले त्यति बेला जीवित रहेका सबैलाई फाइदा पुऱ्याउनेछ। मानवजातिका निम्ति यस पृथ्वीलाई एउटा सुन्दर, शान्तिमय र आनन्ददायी घरमा परिणत गर्ने कामको सुरुवात हुनेछ।
धार्मिकताले दुष्टताको ठाउँ लिन्छ
३. आरमागेडोनपछि तुरुन्त कस्तो आराम महसुस गरिनेछ?
३ यी सब कुराहरू शैतानको संसारलाई नष्ट गरेर सम्भव गराइनेछन्। त्यहाँ फेरि फूट ल्याउने झूटा धर्म, सामाजिक रीतिरिवाज वा सरकारहरू हुनेछैनन्। मानिसहरूलाई भर्माउन शैतानी विचारको प्रचार हुनेछैन; त्यस्तो काम गर्ने सबै माध्यमहरू शैतानको रीतिरिवाजसँगसँगै नाश हुनेछन्। यसो विचार गर्नुहोस् त: शैतानको संसारको पूरै विषालु वातावरणलाई हटाइनेछ! साँच्चै नै त्यो कत्ति आनन्दायी हुनेछ!
४. त्यतिबेला शिक्षामा हुने परिवर्तनको वर्णन गर्नुहोस्।
४ त्यसबेला मानव शासनका विनाशकारी युक्तिहरूको ठाउँमा परमेश्वरबाट आउने फाइदाजनक शिक्षाहरू हुनेछन्। “सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्।” (यशैया ५४:१३) यस हितकारी निर्देशनका साथ बिस्तारै “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) मानिसहरूले फेरि कहिल्यै खराब कुराहरू सिक्नेछैनन्। बरु त्यसको सट्टा त्यस “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (यशैया २६:९) फाइदाजनक विचार र कामहरू दिनचर्या हुनेछ।—प्रेरित १७:३१; फिलिप्पी ४:८.
५. सबै दुष्टता र दुष्ट मानिसहरूलाई के हुनेछ?
५ अतः त्यहाँ हत्या, हिंसा, बलात्कार, लुटमार वा अरू कुनै किसिमका अपराधहरू हुनेछैनन्। अरूहरूको दुष्ट कामहरूको कारण कसैले दुःख-कष्ट भोग्नुपर्नेछैन। हितोपदेश १०:३० भन्छ: “धर्मी मानिस कहिल्यै डग्मगाउँदैन, तर दुष्ट मानिस पृथ्वीमा रहँदैन।”
सिद्ध स्वास्थ्य पुनःस्थापित
६, ७. (क) कुन कठोर वास्तविकतालाई राज्य शासनले अन्त गरिदिनेछ? (ख) पृथ्वीमा हुनुहुँदा यस कुरालाई येशूले कसरी प्रदर्शित गर्नुभयो?
६ सुरुको विद्रोहले गर्दा उठेका सबै खराब प्रभावहरूलाई हटाएर त्यस नयाँ संसारमा फेरि पहिलेकै अवस्था ल्याइनेछ। उदाहरणका लागि, त्यस राज्य शासनले रोग र वृद्धावस्थालाई हटाउनेछ। आज तपाईं जतिसुकै स्वस्थ र तन्दुरुस्त हुनुभए तापनि एकदिन तपाईं बूढो हुँदै जानुहुन्छ, तपाईंको आँखा धमिलो हुँदै जान्छ, दाँत बिग्रँदै जान्छ, छाला चाउरी पर्दै जान्छ, आन्तरिक अङ्गहरू कमजोर हुँदै जान्छन् र अन्तमा तपाईं मर्नुहुन्छ।
७ तथापि, हाम्रा प्रथम मातापिताबाट हामीले पाएका ती दुःखलाग्दा असरहरू चाँडै नै बितिसकेका कुराहरू हुनेछन्। पृथ्वीमा हुनुहुँदा स्वास्थ्यको सम्बन्धमा येशूले के प्रदर्शन गर्नुभएको थियो के तपाईंलाई याद छ? बाइबल यसबारे यसो भन्छ: “तब त्यहाँ लँगड़ा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूला भीड उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका लँगड़ाहरू हिंड़ेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्क परे।”—मत्ती १५:३०, ३१, छड्के अक्षर हाम्रो।
८, ९. नयाँ संसारमा सिद्ध स्वास्थ्य पुनःस्थापित गरिसकेपछि अनुभव गरिने आनन्दको वर्णन गर्नुहोस्।
८ हाम्रा सब रोगव्याधिहरू हटाइँदा साँच्चै नै त्यो नयाँ संसारमा कति ठूलो आनन्द हुनेछ! कमजोर स्वास्थ्यले गर्दा हुने दुःख-कष्टहरूले फेरि कहिल्यै हामीलाई सताउनेछैनन्। “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन् ‘म बिरामी परें।’ ” “तब अन्धाहरूका आँखा खोलिनेछन्, बहिराहरूका कान उघारिनेछन्। तब लँगड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३३:२४; ३५:५, ६.
९ हर बिहानी तपाईं हिजोभन्दा अझ तन्दुरुस्त भएको अनुभव गर्न पाउँदा के तपाईंको हृदय हर्षले गद्गद् हुनेछैन होला र? आफू एकदम जवान भएको अनि आदम र हव्वाले सुरुमा उपभोग गरेको सिद्धता एकदिन आफूले पनि प्राप्त गर्नेछु भनेर जान्न पाउनु के वृद्ध व्यक्तिहरूका लागि सुखद अनुभव हुनेछैन र? बाइबलको यो प्रतिज्ञा छ: “तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन् बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” (अय्यूब ३३:२५) हामीले लगाएका चस्मा, श्रवण सहायक यन्त्र, बैसाखी, ह्वील चेयर र औषधीहरूलाई फ्याँक्न पाउनु कति आनन्दायी हुनेछ! फेरि कहिल्यै अस्पताल, चिकित्सक र दन्त चिकित्सकको आवश्यकता पर्नेछैन।
१०. मृत्युलाई के हुनेछ?
१० त्यस्तो तन्दुरुस्त शरीरको आनन्द उठाउन पाउने व्यक्तिहरू मर्न चाहनेछैनन्। तिनीहरू मर्नुपर्ने जरुरत पनि छैन किनभने हामीले वंशानुगत पाएको असिद्धता र मृत्युको मुठ्ठीमा मानवजाति फेरि कहिल्यै पर्नेछैन। “[“परमेश्वरले,” NW] सारा शत्रुलाई [“उहाँको,” NW] पाउमनि नराखुञ्जेल” ख्रीष्टले “राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” “परमेश्वरको अनुग्रहको वरदान . . . अनन्त जीवन हो।”—१ कोरिन्थी १५:२५, २६; रोमी ६:२३; यशैया २५:८ पनि हेर्नुहोस्।
११. नयाँ संसारका फाइदाहरूको निचोडलाई प्रकाशको पुस्तकले कसरी वर्णन गर्दछ?
११ हाम्रो चिन्ता गर्नुहुने परमेश्वरले प्रमोदवनमा मानव परिवारलाई दिनुहुने आशिष्हरूको निचोड बाइबलको अन्तिम पुस्तकले यसप्रकार दिन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनु हुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
मरिसकेका व्यक्तिहरू फर्कन्छन्
१२. पुनरुत्थान गर्न उहाँलाई परमेश्वरले दिनुभएको शक्तिको प्रदर्शन येशूले कसरी गर्नुभयो?
१२ येशूले रोग निवारण गर्ने र लुला-लँगडाहरूलाई निको पार्नु मात्र भएन। मरिसकेका व्यक्तिहरूलाई पनि चिहानबाट फर्काएर ल्याउनुभयो। यसरी परमेश्वरले दिनुभएको पुनरुत्थान गर्ने चमत्कारपूर्ण शक्तिको उहाँले प्रदर्शन गर्नुभयो। आफ्नी छोरी मरेको एक जना मानिसको घरमा येशू जानुभएको घटना के तपाईंलाई याद छ? मरिसकेकी त्यस केटीलाई येशूले भन्नुभयो: “ए कन्या म तिमीलाई भन्दछु, उठ!” यसको नतिजा? “औ तुरुन्तै त्यो जुरूक्कै उठी, र हिंड़डुल गर्नलागी।” यस घटनालाई देखेर मानिसहरू “छक्कमाथि छक्क परे।” आफ्नो आनन्दलाई तिनीहरूले रोक्नै सकेनन्!—मर्कूस ५:४१, ४२; लूका ७:११-१६; यूहन्ना ११:१-४५ पनि हेर्नुहोस्।
१३. कस्ता खालका व्यक्तिहरूको पुनरुत्थान हुनेछ?
१३ नयाँ संसारमा “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान” हुनेछ। (प्रेरित २४:१५) त्यसबेला मृत व्यक्तिलाई जगाउन परमेश्वरले प्रदान गर्नुभएको शक्तिलाई येशूले प्रयोग गर्नुहुनेछ किनभने उहाँ आफैले “पुनरुत्थान र जीवन मैं हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ” भनेर भन्नुभएको थियो। (यूहन्ना ११:२५) उहाँले यसो पनि भन्नुभयो: “चिहानमा [परमेश्वरको सम्झनामा] हुनेहरू सबैले उसको [येशूको] सोर सुन्नेछन् . . . [र] निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९.
१४. मृत्यु नै नहुने हुँदा, कुन-कुन कुराहरू हुनेछैनन्?
१४ झुण्डका झुण्ड मृत व्यक्तिहरू पुनः जीवित भएर आफ्ना प्रिय जनहरूलाई फेरि भेट्न आउँदा साँच्चै नै संसारभरि कति ठूलो आनन्द हुनेछ! बाँचेकाहरूलाई फेरि दुःखी पार्न त्यहाँ समवेदनापूर्ण समाचारहरू हुनेछैनन्। बरु, यसको विपरीत कुरा अर्थात् तिनीहरूलाई प्रेम गर्नेहरूलाई आनन्दित तुल्याउन भर्खरै पुनरुत्थान भएका व्यक्तिहरूको घोषणा हुनेछ। अतः दाह-संस्कार, चिता, शवदाह गृह वा चिहान केही पनि हुनेछैन!
एउटा साँच्चैको शान्तिमय संसार
१५. मीकाको भविष्यवाणीलाई पूर्ण तवरमा कसरी अनुभव गरिनेछ?
१५ जीवनको सबै क्षेत्रमा साँचो शान्तिको अनुभव गरिनेछ। युद्ध, युद्धलाई सर्मथन गर्नेहरू र हात-हतियार उत्पादन गर्ने कामहरू भूतकालका कुराहरू हुनेछन्। किन? किनभने आपसमा फूट गराउने राष्ट्रिय, जनजातीय र जातीय स्वार्थहरू त्यहाँ हुनेछैनन्। तब पूर्ण तवरमा “जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्।”—मीका ४:३.
१६. परमेश्वरले युद्धलाई कसरी असम्भव गराइदिनुहुनेछ?
१६ युद्धै युद्धले ग्रसित मानिसको रक्तपिपासु इतिहासलाई विचार गर्दा यो कुरा पत्यारलाग्दो नहोला। तर ती सब कुराहरू मानवजाति र प्रेतहरूको शासनको अधीनमा मानिसहरू परेका हुनाकारण भएका हुन्। राज्य शासनको अधीनमा त्यस नयाँ संसारमा यस्तो घटना हुनेछ: “आओ परमप्रभुको काम हेर . . . पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। [युद्धका] रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:८, ९.
१७, १८. नयाँ संसारमा मानिस र जनावरहरूबीच कस्तो सम्बन्ध हुनेछ?
१७ अदनको बगैंचामा भएझैं मानिस र जङ्गली जनावर पनि एक आपसमा शान्तिसँग बस्नेछन्। (उत्पत्ति १:२८; २:१९) परमेश्वर भन्नुहुन्छ: “त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमीनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। . . . तिमीहरूलाई कुशलसित सुत्नदिनेछु।”—होशे २:१८.
१८ त्यो शान्ति कत्तिको व्यापक हुनेछ त? त्यसबेला “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेका पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ।” फेरि कहिल्यै मानिस र अरू जनावरहरूको निम्ति ती जङ्गली जनावरहरू डरको कारण हुनेछैनन्। यहाँसम्म कि “सिंहले गोरुले झैं पराल खाने छ”!—यशैया ११:६-९; ६५:२५, छड्के अक्षर हाम्रो।
प्रमोदवनमा परिवर्तन गरिएको पृथ्वी
१९. पृथ्वीलाई केमा परिर्वतन गरिनेछ?
१९ मानवजातिका निम्ति पूरै पृथ्वीलाई एउटा प्रमोदवनरूपी घरमा परिवर्तन गरिनेछ। त्यसैकारण त आफूमाथि विश्वास गर्ने एक जना मानिसलाई येशूले यसो भनेर प्रतिज्ञा गर्न सक्नुभयो: “तिमी मसित [“प्रमोदवनमा,” NW] हुनेछौ।” बाइबलले भन्छ: “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। . . . किनकि उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्।”—लूका २३:४३; यशैया ३५:१, ६.
२०. किन फेरि कहिल्यै मानवजातिलाई भोकले सताउनेछैन?
२० परमेश्वरको राज्यमा फेरि कहिल्यै लाखौं मानिसहरूलाई भोकले सताउनेछैन। “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।” “खेतमा भएका रूखहरूले फल दिनेछन्, भूमिले आफ्नो फसल दिनेछ, र मानिसहरू मनमा चैन लिएर निज भूमिमा बस्नेछन्।”—भजनसंग्रह ७२:१६; इजकिएल ३४:२७.
२१. घरबारविहिन मानिसहरू, फोहोर बस्तीहरू र खराब छिमेकहरूलाई के हुनेछ?
२१ गरिबी, घरबारविहीन व्यक्तिहरू, फोहोर बस्तीहरू वा अपराधले ग्रसित क्षेत्रहरू कहीं पनि हुनेछैनन्। “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।” “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—यशैया ६५:२१, २२; मीका ४:४.
२२. परमेश्वरको शासनले ल्याउने आशिष्को वर्णन बाइबलले कसरी गर्छ?
२२ प्रमोदवनमा यी सब र अझ योभन्दा पनि बढी कुराहरू मानिसहरूले पाउनेछन्। भजन १४५:१६ ले भन्छ: “तपाईंले [परमेश्वरले] आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” नभन्दै बाइबलको भविष्यवाणीले यसो भनेर घोषणा गर्छ: “तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्। . . . धर्मात्माहरूले देश अधिकार गर्नेछन् र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:११, २९.
बितेका कुराहरूलाई सच्याउनु
२३. हामीले भोगेका दुःख-कष्टहरूको असरलाई परमेश्वरको राज्यले कसरी मेटाइदिनेछ?
२३ बितेका छ हजार वर्षदेखि मानव परिवारले भोग्दै आएको हानि-नोक्सानीलाई परमेश्वरको राज्यले सम्पूर्ण रूपमा मेटाइदिनेछ। त्यतिबेला तिनीहरूले अनुभव गर्ने खुसीको सामुन्ने मानवजातिले अहिलेसम्म अनुभव गरेको हर दुःख-कष्ट केही जस्तो पनि हुनेछैन। बितेका समयमा भोगेका दुःख-कष्टहरूको नमिठो सम्झनाले फेरि कहिल्यै जीवनलाई व्याकुल बनाउनेछैन। फाइदाजनक विचार र क्रियाकलापहरू दैनिक जीवनको एउटा भाग हुनेछ र यसले बिस्तारै ती दुःखलाग्दा सम्झनाहरूलाई मेटाउनेछ।
२४, २५. (क) यशैयाले के हुनेछ भनेर अगमवाणी गरे? (ख) बितेका समयमा हामीले भोगेका दुःख-कष्टको स्मृति धमिलो हुँदै जानेछ भनेर हामी कसरी निश्चिन्त हुन सक्छौं?
२४ हाम्रो चिन्ता गर्नुहुने परमेश्वर घोषणा गर्नुहुन्छ: “किनकि हेर, म नयाँ आकाश [मानवजाति शासन गर्ने नयाँ स्वर्गीय सरकार] र नयाँ पृथ्वी [धार्मिक मानव समाज] सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।” “सारा पृथ्वीले विश्राम पाएको छ, र शान्त छ। तिनीहरू गाउनलागेका छन्।”—यशैया १४:७; ६५:१७, १८, छड्के अक्षर हाम्रो।
२५ अतः यतिका लामो समयसम्म चलिरहेको खराब अवस्थालाई परमेश्वरले आफ्नो राज्यद्वारा पूरै उल्टाइदिनुहुनेछ। हामीलाई अनन्तसम्म थुप्रै आशिष्हरू दिनुभएर उहाँले हामीप्रति आफ्नो चिन्ता व्यक्त गर्नुहुनेछ। जसको सामने बितेको समयमा हामीले भोगेका समस्याहरू नगण्य हुनेछन्। हामीले भोगेका समस्याहरूलाई याद गर्न खोज्यौं भने पनि ती कुराहरूको स्मृति धमिलो भइसकेको हुनेछ।
२६. परमेश्वरले बितेका समयको दुःख-कष्टको क्षतिपूर्ति किन दिनुहुनेछ?
२६ यसरी हामीले यस संसारमा झेलेका ती दुःख-कष्टहरूको क्षतिपूर्ति परमेश्वरले हामीलाई दिनुहुनेछ। हामी असिद्ध भएर जन्मनुमा हाम्रो कुनै दोष छैन किनभने हाम्रा प्रथम माता-पिताबाट नै हामीले उत्तराधिकारको रूपमा असिद्धता पाएका हौं भनेर उहाँ जान्नुहुन्छ। शैतानको वशमा परेको संसारमा जन्मनुमा पनि हाम्रो कुनै गल्ती छैन, किनभने आदम र हव्वा विश्वासी भइदिएका भए हामीहरू सबै प्रमोदवनमै जन्मने थियौं। अतः हामीमाथि आइपरेको त्यस नराम्रो अतीतलाई परमेश्वरले ठूलो सहानुभूतिका साथ हटाउनुका साथै हाम्रा लागि अरू कुराहरू पनि गर्नुहुनेछ।
२७. नयाँ संसारमा कुन कुन भविष्यवाणीहरूको अद्भुत पूर्ति हुनेछ?
२७ नयाँ संसारमा मानवजातिले रोमी ८:२१, २२ मा अगमवाणी गरिएको स्वतन्त्रताको अनुभव गर्नेछ: “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ। किनकि सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” त्यतिबेला मानवजातिले यस प्रार्थनाको पूर्ण पूर्ति देख्नेछ: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:१०) अनि प्रमोदवनरूपी पृथ्वीको अद्भुत परिस्थिति, स्वर्गकै परिस्थिति समान हुनेछ।
[पृष्ठ २३-मा भएको चित्र]
नयाँ संसारमा वृद्ध व्यक्तिहरू फेरि जवान हुनेछन्
[पृष्ठ २४-मा भएको चित्र]
सबै किसिमको रोग र अङ्गभङ्गलाई नयाँ संसारबाट हटाइने छ
[पृष्ठ २५-मा भएको चित्र]
नयाँ संसारमा मृत व्यक्तिहरूले पुनरुत्थानद्वारा फेरि जीवन प्राप्त गर्नेछन्
[पृष्ठ २६-मा भएको चित्र]
‘तिनीहरूले फेरि कहिल्यै लडाइँ गर्न सिक्नेछैनन्’
[पृष्ठ २७-मा भएको चित्र]
प्रमोदवनमा मानिस र जनावरहरू पूर्ण शान्तिमा रहनेछन्
[पृष्ठ २७-मा भएको चित्र]
‘परमेश्वरले आफ्नो मुठी खोल्नुहुन्छ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ’
[पृष्ठ २८-मा भएको चित्र]
परमेश्वरको राज्यले हामीले भोगेका सबै दुःख-कष्टलाई सम्पूर्णतः मेटाइदिनेछ