मार्च
मङ्गलबार, मार्च १
आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन्।—लुका ६:२२.
अरूले हामीलाई घृणा गरेको हामी पक्कै पनि चाहँदैनौँ र हामी विश्वासको खातिर सहिद हुन खोजिरहेका पनि होइनौँ। त्यसोभए मानिसहरूले घृणा गर्दा हामी किन आनन्दित हुन सक्छौँ? तीन वटा कारण विचार गर्नुहोस्। पहिलो, घृणा सहँदा हामीले यहोवाको अनुमोदन पाउँछौँ। (१ पत्रु. ४:१३, १४) दोस्रो, हाम्रो विश्वास अझ खारिन्छ र बलियो हुन्छ। (१ पत्रु. १:७) अनि तेस्रो, हामीले इनामस्वरूप अनन्त जीवन पाउनेछौँ। (रोमी २:६, ७) येसु फेरि जीवित हुनुभएको केही समयपछि प्रेषितहरूले उहाँले बताउनुभएको आनन्द अनुभव गर्न सके। विरोधीहरूले तिनीहरूलाई कोर्रा लगाए र प्रचार नगर्नू भनेर आदेश दिए। तैपनि तिनीहरू आनन्दित थिए। किन? किनकि तिनीहरू “[येसुको] नाममा अपमान सहन योग्य” ठहरिएका थिए। (प्रेषि. ५:४०-४२) शत्रुहरूको डरभन्दा आफ्नो गुरुप्रतिको तिनीहरूको प्रेम बलियो थियो। अनि तिनीहरूले सुसमाचार घोषणा गर्न ‘बन्द नगरेर’ त्यो प्रेम आफ्नो व्यवहारमा देखाए। आज पनि हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी कठिनाइको बाबजुद वफादार भई सेवा गरिरहेका छन्। तिनीहरूले परमेश्वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई यहोवा बिर्सनुहुन्न भनेर तिनीहरूलाई थाह छ। w२१.०३ पृ. २४-२५ अनु. १८-१९
बुधबार, मार्च २
उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो।—उप. ३:११.
अभिषिक्त ख्रिष्टियनहरूले जन्मँदै स्वर्गीय आशा पाएका हुँदैनन्। परमेश्वरले नै तिनीहरूको मनमा यस्तो आशा हालिदिनुहुन्छ। तिनीहरू आफ्नो आशाबारे सोच्छन्, त्यसबारे प्रार्थना गर्छन् र स्वर्गीय इनाम पाउन उत्सुक हुन्छन्। स्वर्गमा आफूले कस्तो शरीर पाउँछु भनेर तिनीहरूलाई थाह छैन। (फिलि. ३:२०, २१; १ युह. ३:२) तैपनि तिनीहरू स्वर्गीय राज्यमा हुने दिनको तीव्र प्रतीक्षामा छन्। अरू भेडा पृथ्वीमा सधैँभरि जीवन बिताउने प्रतीक्षामा छन् र यो मानिसमा स्वाभाविक रूपमै आउने चाहना हो। तिनीहरू पूरै पृथ्वीलाई प्रमोदवन बनाउने काममा सघाउन उत्सुक छन्। तिनीहरू आफ्नै घर बनाउने, बगैँचा लगाउने र आफ्नो परिवारसितै मिलेर स्वस्थ जीवनको आनन्द उठाउने दिनको तीव्र प्रतीक्षा गर्छन्। (यसै. ६५:२१-२३) तिनीहरू डाँडाकाँडा, वनजङ्गल र समुद्रलगायत यहोवाको सम्पूर्ण सृष्टिलाई नजिकबाट नियाल्ने दिनलाई उत्सुकतासाथ पर्खिरहेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यतिबेला यहोवासितको आफ्नो सम्बन्ध अझ बलियो र अझ घनिष्ठ हुँदै जानेछ भन्ने कुरा थाह पाउँदा तिनीहरू असाध्यै खुसी छन्। w२१.०१ पृ. १८ अनु. १७-१८
बिहीबार, मार्च ३
उनले साँचो परमेश्वरको भवनमा . . . आगो लगाइदिए . . . र हरेक बहुमूल्य चिज नाश गरिदिए।—२ इति. ३६:१९.
बेबिलोनीहरूले त्यो सहर नाश गरिसकेपछि मानिसहरूले यसो भने: “यो भूमि निर्जन हुनेछ, यहाँ कुनै मानिस वा पशु रहनेछैन, यो कल्दियालीहरूको हातमा सुम्पिइएको छ।” (यर्मि. ३२:४३) योएलले भविष्यवाणी गरेको लगभग दुई सय वर्षपछि यहोवा परमेश्वरले त्यस आक्रमणबारे अरू थप भविष्यवाणी गर्न यर्मियालाई चलाउनुभयो। खराब कामकुरा गर्ने इस्राएलीहरूलाई आक्रमणकारीहरूले खोजीखोजी पक्रनेछन् अनि तिनीहरू सबैलाई कैदी बनाउनेछन् भनेर यर्मियाले बताए। “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म धेरै जलारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई जालमा पार्नेछन्। त्यसपछि म थुप्रै सिकारी पठाउनेछु, तिनीहरूले तिमीहरूलाई डाँडापाखा अनि पहराका कुनाकाप्चामा खोजीखोजी सिकार गर्नेछन्। . . . म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु।’” पश्चात्ताप नगर्ने इस्राएलीहरूलाई बेबिलोनीहरूको हातबाट न समुद्रले न त जङ्गलले नै लुकाउन सक्ने थियो।—यर्मि. १६:१६, १८. w२०.०४ पृ. ५ अनु. १२-१३
शुक्रबार, मार्च ४
लुतले आलेटाले गरिरहे।—उत्प. १९:१६.
जीवनको कठिन मोडमा लुतले यहोवाको निर्देशनबमोजिम चल्न आनाकानी गरे। हामीलाई लुत यहोवाको कुराको वास्तै नगर्ने र अनाज्ञाकारी मानिसजस्तो लाग्न सक्छ। तर यहोवाले लुतलाई बचाउन कोसिस गरिरहनुभयो। “यहोवा परमेश्वरले लुतमाथि दया देखाउनुभएकोले” ती स्वर्गदूतहरूले तिनको परिवारलाई हातै समातेर सहरबाहिर पुऱ्याए। (उत्प. १९:१५, १६) यहोवाले विभिन्न कारणले गर्दा लुतमाथि दया देखाउनुभएको हुन सक्छ। सहरबाहिरका मानिसहरूको डरले गर्दा लुतले आफ्नो घर छोड्न आनाकानी गरेका हुन सक्छन्। यसबाहेक अरू खतरा पनि थिए। सायद लुतले नजिकैको बेँसीमा बिटुमिन अर्थात् अलकत्राको दलदलमा फसेका दुई जना राजाबारे सुनेका थिए। (उत्प. १४:८-१२) लुत पति र बुबा भएकोले तिनलाई आफ्नो परिवारको चिन्ता लागेको हुनुपर्छ। साथै लुत धनी भएकाले सदोममा तिनको भव्य घर पनि थियो होला। (उत्प. १३:५, ६) कारण जस्तोसुकै भए तापनि लुतले यहोवाको आज्ञा तुरुन्तै पालन गर्नुपर्ने थियो। तैपनि यहोवाले लुतको गल्तीलाई मात्र हेर्नुभएन बरु तिनलाई “धर्मी मानिस” ठान्नुभयो।—२ पत्रु. २:७, ८. w२०.०४ पृ. १८ अनु. १३-१४
शनिबार, मार्च ५
तिम्रो साथमा जवानहरूको दल हुनेछ, . . . जो . . . शीतका थोपाहरूजस्तै हुन्छन्।—भज. ११०:३.
जवान भाइहरू हो, तपाईँलाई सानैदेखि चिनेकाहरूलाई तपाईँ अब ठूलो हुनुभयो भनेर स्विकार्न केही समय लाग्न सक्छ। तर ढुक्क हुनुहोस्, यहोवा तपाईँको बाहिरी रूप मात्र हेर्नुहुन्न। तपाईँ कस्तो हुनुहुन्छ र के गर्न सक्नुहुन्छ भनेर उहाँलाई थाह छ। (१ समु. १६:७) परमेश्वरसितको आफ्नो सम्बन्ध बलियो बनाउनुहोस्। उहाँको सृष्टिका कुराहरू नियालेर दाउदले उहाँसितको सम्बन्ध बलियो बनाए। यहोवाको सृष्टिले उहाँबारे के प्रकट गर्छ भनेर तिनले मनन गरे। (भज. ८:३, ४; १३९:१४; रोमी १:२०) तपाईँले गर्न सक्ने अर्को कुरा भनेको बलको लागि यहोवामा भर पर्नु हो। उदाहरणको लागि, तपाईँ यहोवाको साक्षी भएकोले के तपाईँका स्कुलका साथीहरूले तपाईँलाई हाँसोमा उडाउँछन्? यदि त्यसो हो भने यो समस्याको सामना गर्न मदत गर्नुहोस् भनेर यहोवालाई प्रार्थना गर्नुहोस्। उहाँको वचन अनि बाइबलआधारित प्रकाशनहरू र भिडियोहरूमा पाइने व्यावहारिक सुझावहरू लागू गर्नुहोस्। प्रत्येक पटक यहोवाले तपाईँलाई कुनै समस्याको सामना गर्न मदत गर्नुभएको देख्दा उहाँप्रतिको तपाईँको भरोसा अझै बढ्नेछ। साथै तपाईँ यहोवामाथि भर परेको देख्दा अरूले पनि तपाईँमाथि भरोसा गर्नेछन्। w२१.०३ पृ. ४ अनु. ७
आइतबार, मार्च ६
सोझो मानिसको प्रार्थना सुन्न [यहोवा] मन पराउनुहुन्छ।—हितो. १५:८.
हाम्रो आँखाले देख्न नसक्ने अर्को धन हो, प्रार्थना। घनिष्ठ मित्रहरू एकअर्कासित आफ्नो सोचाइ अनि भावना साटासाट गर्न मन पराउँछन्। के यहोवासितको हाम्रो मित्रता पनि त्यस्तै हो? हो! यहोवा आफ्नो वचनमार्फत हामीसित बोल्नुहुन्छ अनि त्यसमार्फत उहाँ हामीलाई आफ्नो सोचाइ अनि भावना प्रकट गर्नुहुन्छ। प्रार्थनामार्फत हामी उहाँसित कुराकानी गर्छौँ र हामी उहाँलाई आफ्नो भित्री सोचाइ अनि भावना पोख्न सक्छौँ। यहोवा हाम्रो मायालु साथी हुनुभएकोले उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ। कहिलेकाहीँ उहाँ तुरुन्तै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भने कहिलेकाहीँ हामीले कुनै विषयमा प्रार्थना गरिरहनुपर्ने हुन सक्छ। तैपनि परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ उचित समयमा अनि उत्तम तरिकामा दिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ। हो, परमेश्वरले दिनुहुने जवाफ हामीले सोचेभन्दा फरक पनि हुन सक्छ। उदाहरणको लागि, हामीले भोगिरहेको परीक्षा हटाउनुको साटो उहाँ त्यो परीक्षा “सहन” हामीलाई बुद्धि र बल दिन सक्नुहुन्छ। (१ कोरि. १०:१३) प्रार्थना गर्ने अनमोल उपहारप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? एउटा तरिका भनेको “निरन्तर प्रार्थना गर” भन्ने परमेश्वरको सल्लाह लागू गरेर हो।—१ थिस्स. ५:१७. w२०.०५ पृ. २७-२८ अनु. ७-८
सोमबार, मार्च ७
जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।—मत्ति २४:१३.
लामो दूरीको दौडमा भाग लिने धावकहरूले ठेस खानदेखि जोगिन अगाडिको बाटोमा ध्यान केन्द्रित गर्छन्। तिनीहरू लडिहाले तापनि उठ्छन् र फेरि दौडन थाल्छन्। तिनीहरू आफूले ठेस खाएको कुरामा नभई अन्तिम रेखा र आफूले जित्ने आशा गरेको पुरस्कारमा नै ध्यान केन्द्रित गर्छन्। हामी जीवनको दौडमा धेरै चोटि ठेस खान सक्छौँ किनभने हामी आफ्नो बोली अनि व्यवहारमा चुक्छौँ। अथवा अर्को धावकले गरेको गल्तीले हामीलाई चोट पुग्न सक्छ। तर त्यसो हुँदा हामीले अचम्म मान्नुपर्दैन। किनभने हामी सबै त्रुटिपूर्ण छौँ र जीवनतर्फ लैजाने साँघुरो बाटोमा दौडिरहेका छौँ। त्यसैले हामी कहिलेकाहीँ एकअर्कासित “ठोक्किन” सक्छौँ र एकअर्काको विरुद्धमा “गुनासो” गर्ने कारण दिन्छौँ। (कल. ३:१३) तर आफूले ठेस खाएको कुरामा नभई आफ्नो अगाडि राखिएको इनाममा ध्यान केन्द्रित गरौँ र दौडिरहौँ। हामी कसैसित रिसाएर मनमा द्वेष पालिराख्यौँ र यहोवाको सेवा गर्न छोड्यौँ भने अन्तिम रेखा पार गर्न सक्नेछैनौँ अनि इनाम पाउनेछैनौँ। त्यसको साथै जीवनतर्फ लैजाने साँघुरो बाटोमा दौडन प्रयास गरिरहेकाहरूको लागि पनि अवरोध साबित भइरहेका हुन सक्छौँ। w२०.०४ पृ. २६ अनु. १; पृ. २७-२८ अनु. ८-९
मङ्गलबार, मार्च ८
[त्यस राज्यले] . . . सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।—दानि. २:४४.
भविष्यवक्ता दानिएलले एउटा विशाल मूर्तिबारे बताए, जसको शरीरका भागहरू विभिन्न धातुले बनेका थिए। प्रत्येक भागले परमेश्वरका थुप्रै सेवक बसोबास गर्ने ठाउँमा शासन गर्ने विभिन्न सरकारलाई चित्रण गर्छ। यी सरकारहरूले विभिन्न समयमा शासन गरे। त्यस मूर्तिका खुट्टाहरू फलाम र माटो मिसिएर बनेका थिए। ती खुट्टाहरूले अन्तिम सरकार अर्थात् एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई बुझाउँछ। परमेश्वरको राज्यले सबै मानव सरकारलाई नाश गर्दा त्यसले अझै शासन गरिरहेको हुनेछ भनेर दानिएलको यस भविष्यवाणीबाट प्रस्ट हुन्छ। प्रेषित युहन्नाले पनि परमेश्वरका जनहरूलाई असर गर्ने विभिन्न विश्वशक्तिबारे बताए। युहन्नाले ती सरकारहरूलाई सात वटा टाउको भएको जङ्गली जनावरको रूपमा चित्रण गरे। त्यस जङ्गली जनावरको सातौँ टाउकोले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई चित्रण गर्छ। यो कुरा बुझ्नु महत्त्वपूर्ण छ किनभने यस जनावरको सातौँ टाउको नै यसको अन्तिम टाउको हो। यस सातौँ टाउकोले शासन गरिरहेकै बेला ख्रिष्ट र उहाँको स्वर्गीय सेनाले यो सातौँ टाउकोलगायत पूरै जनावरलाई नाश गर्नुहुनेछ।—प्रका. १३:१, २; १७:१३, १४. w२०.०५ पृ. १४ अनु. ११-१२
बुधबार, मार्च ९
परमेश्वर प्रेम हुनुहुन्छ।—१ युह. ४:८.
यस सरल वाक्यमा एउटा आधारभूत सत्य लुकेको छ: जीवनको स्रोत यहोवा प्रेमको पनि स्रोत हुनुहुन्छ। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँको प्रेमले गर्दा हामी सुरक्षित, आनन्दित र सन्तुष्ट महसुस गर्छौँ। ख्रिष्टियनहरूले प्रेम देखाउनै पर्छ; यसको कुनै विकल्प छैन। किनभने यो एउटा आज्ञा हो। (मत्ति २२:३७-४०) यहोवालाई राम्ररी चिनेपछि येसुले दिनुभएको पहिलो आज्ञा पालन गर्न सजिलो लाग्न सक्छ। किनकि यहोवा त्रुटिरहित हुनुहुन्छ। उहाँ हाम्रो चासो राख्नुहुन्छ र हामीसित दयालु व्यवहार गर्नुहुन्छ। तर हामीलाई दोस्रो आज्ञा पालन गर्न गाह्रो लाग्न सक्छ। किन? किनभने हाम्रा दाजुभाइ दिदीबहिनी, जो हाम्रो सबैभन्दा नजिकका छिमेकी हुन्, तिनीहरू त्रुटिपूर्ण छन्। कहिलेकाहीँ तिनीहरूले सोचविचारै नगरी हामीलाई केही भन्न सक्छन् वा हामीसित रुखो व्यवहार गर्न सक्छन्। हामीलाई यो आज्ञा पालन गर्न गाह्रो हुन सक्छ भनेर यहोवालाई थाह थियो। त्यसैले हामीले किन आपसमा प्रेम गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा तोकेरै सल्लाह दिन यहोवाले बाइबलका केही लेखकलाई प्रेरणा दिनुभयो। ती लेखकहरूमध्ये एक जना प्रेषित युहन्ना थिए।—१ युह. ३:११, १२. w२१.०१ पृ. ८ अनु. १-२
बिहीबार, मार्च १०
सैतान हामीमाथि हाबी हुन नपाओस्।—२ कोरि. २:११.
हामीले भर्खरै यहोवाको सेवा गर्न थालेका होऔँ वा वर्षौँदेखि, आफूलाई यो प्रश्न सोध्नुपर्छ, ‘मेरो हृदयलाई विभाजित पार्ने सैतानको प्रयासलाई के म प्रतिरोध गर्दै छु?’ उदाहरणको लागि, तपाईँले टिभी वा इन्टरनेटमा कामवासना जगाउन सक्ने चित्र देख्नुभयो भने के गर्नुहुन्छ? त्यस्तो चित्र वा चलचित्रलाई अश्लील सामग्री भन्न खासै मिल्दैन भन्ने तर्क गर्नु सजिलो छ। तर त्यो तपाईँको हृदयलाई विभाजित पार्ने सैतानको प्रयास पो हो कि? त्यस चित्रलाई एक जना मानिसले बडेमाको मुढोलाई दुई फ्याक पार्न प्रयोग गर्ने बन्चरोसित तुलना गर्न सकिन्छ। सुरुमा त्यस मानिसले बन्चरोको धारिलो भागले मुढोमा हिर्काउँछ। अनि बन्चरोको धार भित्रसम्म छिरेपछि मुढो दुई फ्याक हुन्छ। कामवासना जगाउने चित्रहरूले कतै तपाईँको हृदयमा त्यो बन्चरोको धारले जस्तै काम गरिरहेको छ कि? झट्ट हेर्दा सानो र अहानिकारकजस्तो देखिने कुराले मानिसको हृदयलाई विभाजित बनाउन सक्छ, जसले गर्दा तिनी पापमा फस्न सक्छन् र तिनले आफ्नो सत्यनिष्ठा तोड्न सक्छन्। त्यसैले आफ्नो हृदयमा कुनै पनि किसिमको अनुचित कुरा छिर्न नदिनुहोस्! यहोवाको नामको डर मान्न आफ्नो हृदयलाई एकाग्र बनाइराख्नुहोस्! w२०.०६ पृ. ११-१२ अनु. १४-१५
शुक्रबार, मार्च ११
हामी[ले] . . . तिनीहरूका कमजोरीहरू सहनुपर्छ, जो बलिया छैनन्।—रोमी १५:१.
हामीले निष्क्रियहरूलाई निरन्तर साथ दिइरहनुपर्छ। येसुले बताउनुभएको उदाहरणको हराएको छोराले जस्तै तिनीहरूले पनि गहिरो भावनात्मक चोट भोगेका हुन सक्छन्। (लुका १५:१७-२४) अनि सैतानको संसारमा रुमलिएकोले तिनीहरू आध्यात्मिक तवरमा कमजोर भएका छन् होला। यहोवामाथिको विश्वास फेरि बलियो बनाउन हामीले तिनीहरूलाई मदत गर्नुपर्छ। येसुले हराएको भेडाको उदाहरणमा गोठालोले भेडा भेटेपछि त्यसलाई आफ्नो काँधमा राखेर बगालमा फिर्ता ल्याएको कुरा बताउनुभयो। भेडालाई खोज्न गोठालोले निकै समय र शक्ति खर्च गरिसकेका थिए। तैपनि त्यस भेडासित बगालमा फर्कने तागतै नभएकोले गोठालोले त्यसलाई बोकेरै बगालमा ल्याउनुपर्ने महसुस गर्छन्। (लुका १५:४, ५) फेरि यहोवाको सेवा गर्न निष्क्रियहरूलाई कुनै कमीकमजोरीले बाधा पुऱ्याइरहेको हुन सक्छ। तिनीहरूलाई ती कमीकमजोरी हटाउन मदत गर्न हामीले निकै समय र शक्ति खर्च गर्नुपर्ने हुन सक्छ। तर यहोवाको पवित्र शक्ति, उहाँको वचन र सङ्गठनमार्फत पाएका प्रकाशनहरूको मदतले हामी तिनीहरूलाई आध्यात्मिक तवरमा फेरि बलियो हुन मदत गर्न सक्छौँ। त्यसैले निष्क्रिय व्यक्तिलाई बाइबल अध्ययन गराउन आग्रह गरियो भने त्यो सुअवसर खुसीसाथ स्विकार्नुभए कसो होला? w२०.०६ पृ. २८ अनु. १४-१५
शनिबार, मार्च १२
तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।—युह. १३:३५.
हामी प्रत्येकले प्रेम देखाउनुपर्छ, जुन साँचो ख्रिष्टियनहरूको चिनारी हो। तर हामीलाई “सही ज्ञान र पूर्ण समझ” पनि चाहिन्छ। (फिलि. १:९) अन्यथा “हरकिसिमका शिक्षा”-ले अनि धर्मत्यागीहरू लगायत अन्य “मानिसहरूको छल”-ले हामीलाई यताउता हुर्ऱ्याउन सक्छ। (एफि. ४:१४) प्रथम शताब्दीमा येसुका थुप्रै चेलाले उहाँलाई छोडेर जाँदा प्रेषित पत्रुसले भने येसुसित “अनन्त जीवनका वचनहरू” छन् भनेर आफू विश्वस्त भएको कुरा बताए। (युह. ६:६७, ६८) हुनत त्यतिबेला पत्रुसले आफू के भन्दै छु भनेर सबै कुरा बुझेका थिएनन्। तर तिनी वफादार रहिरहे किनभने तिनले ख्रिष्टबारे सत्य कुरा बुझेका थिए। तपाईँ पनि बाइबलले सिकाउने कुरामा आफ्नो विश्वास बलियो बनाउन सक्नुहुन्छ। यदि त्यसो गर्नुभयो भने परीक्षाको समयमा तपाईँको विश्वास ढलपल हुनेछैन अनि तपाईँले अरूको विश्वास बलियो बनाउन पनि मदत गर्न सक्नुहुनेछ।—२ युह. १, २. w२०.०७ पृ. ८ अनु. २; पृ. १३ अनु. १८
आइतबार, मार्च १३
हे साना केटाकेटी हो, हामीले वचन र मुखले होइन तर कामद्वारा साँचो प्रेम गर्नुपर्छ।—१ युह. ३:१८.
भाइबहिनीलाई करुणा देखाएर हामी उनीहरूलाई सत्यमा रहिरहन मदत गर्न सक्छौँ। (१ युह. ३:१०, ११, १६, १७) हामीले परिस्थिति सहज हुँदा मात्र होइन, समस्याहरू आइपर्दा पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। उदाहरणको लागि, आफ्नो प्रियजन गुमाएको कसैलाई सान्त्वना वा कुनै मदत चाहिएको छ कि? अथवा प्राकृतिक प्रकोपले गर्दा क्षति भोगेका भाइबहिनीलाई सभाभवन वा निजी घरहरू पुनर्निर्माण गर्न मदत चाहिएको छ कि? हाम्रो मनमा भाइबहिनीप्रति अथाह माया र करुणा छ भन्ने कुरा हामी आफ्नो बोलीद्वारा मात्र होइन, व्यवहारद्वारा पनि देखाउँछौँ। हामीले एकअर्कालाई प्रेम देखाउँदा स्वर्गमा हुनुहुने मायालु बुबाको अनुकरण गरिरहेका हुन्छौँ। (१ युह. ४:७, ८) प्रेम देखाउने एउटा राम्रो तरिका एकअर्कालाई क्षमा दिनु हो। उदाहरणको लागि, कसैले हाम्रो चित्त दुखाउन सक्छन् तर पछि माफी माग्न सक्छन्। तिनलाई माफी दिएर अनि तिनको गल्तीलाई बिर्सेर हामी तिनलाई प्रेम देखाउँछौँ।—कल. ३:१३. w२०.०७ पृ. २४ अनु. १४-१५
सोमबार, मार्च १४
धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्।—प्रेषि. २४:१५.
अहिले हामीले बाइबल अध्ययन सञ्चालन गरेझैँ के त्यतिबेला फेरि जीवित भएका प्रत्येक व्यक्तिलाई एक-एक जनाले सिकाउनेछ? के ती नयाँ व्यक्तिहरूलाई मण्डलीहरूमा खटाइनेछ अनि तिनीहरूपछि जीवित पारिनेहरूलाई सिकाउन तालिम दिइनेछ? त्यो त समयले नै बताउनेछ। तर हामीलाई योचाहिँ थाह छ, ख्रिष्टको हजार वर्षीय शासनको अन्तसम्ममा “पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।” (यसै. ११:९) त्यो एक हजार वर्ष कत्ति व्यस्त र रमाइलो समय हुनेछ! ख्रिष्टको हजार वर्षीय शासनको दौडान पृथ्वीमा बसोबास गर्ने यहोवाका सबै सेवकले उहाँलाई खुसी पार्न परिवर्तनहरू गरिरहनुपर्नेछ। त्यसैले तिनीहरूले फेरि जीवित भएर आएकाहरूलाई पापी झुकावविरुद्ध लड्न र यहोवाका स्तरहरूअनुसार जीवन बिताउन मदत गर्दा उनीहरूको पीडा महसुस गर्न सक्नेछन्। (१ पत्रु. ३:८) फेरि जीवित भएर आएकाहरू यहोवाका नम्र जनहरूतर्फ आकर्षित हुनेछन् भन्ने कुरामा कुनै शङ्का छैन किनभने ती नम्र जनहरूले पनि “आफ्नो उद्धारको निम्ति . . . प्रयत्न” गरिरहेका हुनेछन्।—फिलि. २:१२. w२०.०८ पृ. १५-१६ अनु. ६-७
मङ्गलबार, मार्च १५
हरेकले आफ्नो काम जाँचोस्, . . . अरूसित तुलना गरेर होइन।—गला. ६:४.
प्रेषित पावलको सल्लाह लागू गऱ्यौँ र आफ्नै काम जाँच्यौँ भने हामीले आफूमा कुनै विशेष वरदान र क्षमता भएको याद गर्न थाल्छौँ होला। उदाहरणको लागि, कुनै एल्डर मञ्चबाट भाषण दिन त्यत्ति सिपालु छैनन् होला तर तिनी चेला बनाउने काममा प्रभावकारी हुन सक्छन्। अथवा तिनी मण्डलीका अरू एल्डरजस्तो व्यवस्थित तरिकाले काम गर्न सक्दैनन् होला तर तिनी मायालु गोठालोको रूपमा चिनिन्छन्, जससित भाइबहिनीहरू बाइबलआधारित सल्लाह माग्न सजिलो महसुस गर्छन्। अथवा तिनले अतिथि-सत्कार गर्ने सन्दर्भमा राम्रो नाम कमाएका हुन सक्छन्। (हिब्रू १३:२, १६) हामीले आफूसित कस्तो क्षमता र वरदान छ भनेर राम्रोसित बुझेका छौँ भने आफूले पनि मण्डलीको लागि केही योगदान दिन सक्छु भन्ने महसुस गर्नेछौँ। अनि आफूसित भन्दा फरक वरदान भएका भाइहरूको ईर्ष्या पनि गर्नेछैनौँ। यहोवाको मण्डलीमा हामीले जुनसुकै स्थान पाएको भए तापनि हामी सबै नै यहोवाको सेवामा प्रगति गर्न र आफ्नो क्षमतालाई तिखार्न इच्छुक हुनुपर्छ। w२०.०८ पृ. २३-२४ अनु. १६-१८
बुधबार, मार्च १६
कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड मैले देखेँ।—प्रका. ७:९.
सन् १९३५ मा अमेरिकाको वासिङ्टन, डि. सि.-मा आयोजना गरिएको अधिवेशनमा भाइ जे. एफ. रदरफोर्डले “ठूलो भीड” विषयको एउटा ऐतिहासिक भाषण दिनुभएको थियो। त्यस भाषणमा भाइ रदरफोर्डले प्रकाश ७:९ मा उल्लेख गरिएको “ठूलो भीड” को हो भनेर बताउनुभयो। त्यसअघि यस समूहले स्वर्ग जाने दोस्रो दर्जाका मानिसहरूलाई बुझाउँछ भन्ने सोचाइ थियो, जसको विश्वास अभिषिक्त जनहरूको भन्दा कम थियो। भाइ रदरफोर्डले धर्मशास्त्रबाटै ठूलो भीड स्वर्ग जान रोजिएको होइन बरु तिनीहरू ख्रिष्टका अरू भेडा हुन्, जसले “महासङ्कष्ट” जिउँदै पार गर्नेछन् र पृथ्वीमा सधैँभरि बाँच्नेछन् भनेर बुझाउनुभयो। (प्रका. ७:१४) येसुले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन्; तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्।” (युह. १०:१६) येसुले बताउनुभएको अरू भेडाले पार्थिव प्रमोदवनमा सधैँभरि बाँच्ने आशा पाएका यहोवाका वफादार साक्षीहरूलाई बुझाउँछ।—मत्ति २५:३१-३३, ४६. w२१.०१ पृ. १४ अनु. १-२
बिहीबार, मार्च १७
तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्। तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।—मत्ति १०:२२.
अन्तसम्म सहेर प्रचारको काम पूरा गर्न हामीसित आत्मअनुशासन हुनुपर्छ। (मत्ति २८:१९, २०) आत्मअनुशासन भनेको हामीसित जन्मजात हुने गुण होइन। बरु हामीसित अक्सर सजिलो बाटो रोज्ने जन्मजात झुकाव छ। आत्मअनुशासित हुन आत्मसंयम चाहिन्छ। त्यसैले आफूलाई गाह्रो लाग्ने कुराहरू गर्न हामीलाई तालिम चाहिन्छ। यहोवा हामीलाई उहाँको पवित्र शक्तिद्वारा त्यस्तो मदत दिनुहुन्छ। (गला. ५:२२, २३) प्रेषित पावल आत्मअनुशासित थिए। तर तिनले सही काम गर्न आफ्नो शरीरलाई ‘कुट्नुपरेको अनि पिट्नुपरेको’ कुरा मानिलिए। (१ कोरि. ९:२५-२७) आफैलाई अनुशासन दिन र सबै कुरा “शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले” गर्न तिनले अरूलाई आग्रह गरे। (१ कोरि. १४:४०) हामी आत्मअनुशासित छौँ भने मात्र राम्रो आध्यात्मिक तालिका कायम गर्न सक्छौँ र यसमा नियमित तवरले प्रचारकार्यमा भाग लिनु पनि समावेश छ।—प्रेषि. २:४६. w२०.०९ पृ. ६ अनु. १५-१७
शुक्रबार, मार्च १८
सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।—मर्कु. १३:१०.
आज थुप्रै देशमा हामी कुनै रोकटोकविना प्रचार गर्न सक्छौँ। के तपाईँ धार्मिक स्वतन्त्रता भएको देशमा बस्नुहुन्छ? यदि बस्नुहुन्छ भने आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘के म यस्तो स्वतन्त्रताको सदुपयोग गर्दै छु?’ महत्त्वपूर्ण घटनाहरू भइरहेको यस अन्तको दिनमा यहोवाको सङ्गठनले संसारमा अहिलेसम्म कहिल्यै नभएको व्यापक प्रचारकार्य र शिक्षणकार्य अघि बढाउँदै छ। यहोवाको सेवामा हामीसामु थुप्रै मौका खुला छन्। तपाईँ शान्ति छाएको समयको कसरी सदुपयोग गर्न सक्नुहुन्छ? (२ तिमो. ४:२) आफ्नो अवस्था केलाउनुभए कसो होला? तपाईँ वा तपाईँको परिवारको कुनै सदस्यले प्रचारकार्यमा अझ धेरै भाग लिन सक्नुहुन्छ कि? सायद अग्रगामी सेवा नै गर्न सकिन्छ कि? अहिलेको समय धनसम्पत्ति र भौतिक चिजबिज थुपार्ने समय होइन। किनभने महासङ्कष्टमा हामी आफूसँगै ती कुरालाई जोगाउन सक्नेछैनौँ। (हितो. ११:४; मत्ति ६:३१-३३; १ युह. २:१५-१७) थुप्रै प्रकाशकले प्रचार गर्ने र सिकाउने कामलाई विस्तार गर्न नयाँ भाषा सिकेका छन्। तिनीहरूलाई सघाउन यहोवाको सङ्गठनले १ हजारभन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू तयार पारेको छ! w२०.०९ पृ. १६ अनु. ९-११
शनिबार, मार्च १९
असल लडाइँ लड्दै जाऊ।—१ तिमो. १:१८.
एक जना असल सिपाही वफादार हुन्छ। आफूले माया गर्ने कुनै मानिस वा आफूले मोल गर्ने कुनै चिजको सुरक्षा गर्न ऊ डटेर लड्छ। पावलले तिमोथिलाई परमेश्वरको भक्ति गर्न प्रोत्साहन दिए। (१ तिमो. ४:७) परमेश्वरको भक्ति गर्नु भनेको उहाँप्रति वफादार रहिरहनु हो। परमेश्वरप्रतिको हाम्रो प्रेम र भक्ति जत्ति गहिरो भयो, सत्यलाई दह्रोसित पक्रिराख्ने हाम्रो इच्छा पनि त्यत्ति नै बलियो हुन्छ। (१ तिमो. ४:८-१०; ६:६) लडाइँको लागि सधैँ तयार रहन असल सिपाहीले आफैलाई अनुशासनमा पनि राख्नुपर्छ। तिमोथि आध्यात्मिक रूपमा बलिया थिए। किनकि तिनी पावलको सल्लाह पालन गर्दै कुइच्छाहरूदेखि भागे, असल गुणहरू विकास गरे अनि सङ्गी विश्वासीहरूसित सङ्गत गरे। (२ तिमो. २:२२) त्यसो गर्न आत्मअनुशासन चाहिन्थ्यो। शरीरका कुइच्छाहरूलाई जित्न हामीमा आत्मअनुशासन हुनुपर्छ। (रोमी ७:२१-२५) पुरानो व्यक्तित्वलाई फुकालेर फ्याँक्न र नयाँ व्यक्तित्व धारण गर्न पनि हामीलाई आत्मअनुशासन चाहिन्छ। (एफि. ४:२२, २४) अनि दिनभरि काम गरेर थकित भइसकेपछि सभामा उपस्थित हुन हामीले निकै जोर गर्नुपर्ने हुन सक्छ।—हिब्रू १०:२४, २५. w२०.०९ पृ. २८ अनु. ९-११
आइतबार, मार्च २०
मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्कल्प गरेको छु। म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै।—भज. ११९:११२.
विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म प्रगति गर्न मदत दिँदा हामी धीरजी हुनुपर्छ। तर अध्ययन अघि बढ्दै जाँदा तिनी साँच्चै यहोवा परमेश्वरको सेवा गर्न चाहन्छन् कि चाहँदैनन् भनेर पत्ता लगाउनु पनि आवश्यक छ। विद्यार्थीले येसुका आज्ञाहरू पालन गर्न प्रयास गरिरहेको के कुनै सङ्केत देखिन्छ? अथवा तिनको उद्देश्य बाइबलको ज्ञान लिने मात्र हो कि? विद्यार्थीले कस्तो प्रगति गरिरहेका छन् भनेर नियमित रूपमा केलाउनुहोस्। जस्तै: के तिनी यहोवाप्रतिको आफ्नो भावना व्यक्त गर्छन्? के तिनी यहोवालाई प्रार्थना गर्छन्? (भज. ११६:१, २) के तिनलाई बाइबल पढ्न रमाइलो लाग्छ? (भज. ११९:९७) के तिनी सभामा नियमित रूपमा उपस्थित भइरहेका छन्? (भज. २२:२२) के तिनले आफ्नो जीवनशैलीमा आवश्यक छाँटकाँट गरेका छन्? के तिनले आफूले सिकेको कुरा परिवार र साथीभाइलाई बताउन थालिसकेका छन्? (भज. ९:१) सबैभन्दा महत्त्वपूर्ण कुरा, के तिनी यहोवाको साक्षी बन्न चाहन्छन्? (भज. ४०:८) यदि विद्यार्थीले यी क्षेत्रहरूमा प्रगति गरेका छैनन् भने किन गरेका छैनन् भनेर कुशलतापूर्वक पत्ता लगाउने कोसिस गर्नुहोस्। अनि त्यसबारे तिनीसित दयालुपूर्वक तर खुलस्त रूपमा कुरा गर्नुहोस्। w२०.१० पृ. १८ अनु. १४-१५
सोमबार, मार्च २१
मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ; उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनकि म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।—युह. ८:२९.
येसुको स्वर्गमा बस्नुहुने बुबा यहोवा सधैँ राम्रा छनौटहरू गर्नुहुन्छ अनि येसुका मानव आमाबुबाले पनि बुद्धिमानी निर्णयहरू गरे। तर हुर्कँदै जाँदा येसुले आफ्नो लागि आफै छनौटहरू गर्नुपर्ने थियो। (गला. ६:५) हामीसित जस्तै उहाँसित पनि छनौट गर्ने स्वतन्त्रता थियो। उहाँले आफूलाई जे मन लाग्छ, त्यही गर्न सक्नुहुन्थ्यो। तर उहाँले यहोवासित राम्रो सम्बन्ध कायम राख्ने छनौट गर्नुभयो। येसुले यहोवाको उद्देश्यमा आफ्नो भूमिका बुझेपछि त्यो असाइनमेन्ट स्विकार्ने छनौट गर्नुभयो। (युह. ६:३८) आफूलाई थुप्रै मानिसले घृणा गर्नेछन् भनेर उहाँलाई थाह थियो। यो कुरा सोच्दा उहाँको मनै भारी भएको हुनुपर्छ। तैपनि उहाँले यहोवाप्रति आज्ञाकारी हुने छनौट गर्नुभयो। येसुले इस्वी संवत् २९ मा बप्तिस्मा गर्नुहुँदा उहाँको जीवनको मुख्य लक्ष्य भनेको यहोवाको इच्छाअनुसार चल्नु थियो। (हिब्रू १०:५-७) यातनाको खम्बामा मृत्युदण्ड भोग्नुपर्दा समेत आफ्नो बुबाको इच्छा पूरा गर्न उहाँ दृढ हुनुहुन्थ्यो।—युह. १९:३०. w२०.१० पृ. २९ अनु. १२; पृ. ३० अनु. १५
मङ्गलबार, मार्च २२
म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।—हिब्रू १३:५.
तपाईँको मण्डलीको कुनै भाइ वा बहिनी बिरामी छन् कि अथवा तिनले कुनै गाह्रो परिस्थितिको सामना गर्दै छन् कि? अथवा कसैले मृत्युको कारण आफूले माया गरेको व्यक्ति गुमाएका हुन सक्छन्। मदत चाहिएको कुनै भाइ वा बहिनीबारे थाह पायौँ भने तिनलाई केही प्रोत्साहनदायी शब्दहरू भन्न वा तिनको लागि कुनै दयालु काम गरिदिन सकूँ भनेर यहोवालाई प्रार्थना गर्न सक्छौँ। हामीले भनेको वा गरेको कुराबाट ती भाइ वा बहिनीले धेरै प्रोत्साहन पाउन सक्छन्। (१ पत्रु. ४:१०) हामी साहसी हुन सक्छौँ किनकि यहोवा हामीसित हुनुहुन्छ। उहाँ हामीलाई येसु र स्वर्गदूतहरूमार्फत मदत गर्नुहुन्छ। साथै कुनै कुरा उहाँको उद्देश्यअनुरूप छ भने यहोवा अख्तियारमा भएका व्यक्तिहरूलाई चलाएर हामीलाई मदत गर्न सक्नुहुन्छ। अनि हामीमध्ये धेरैले अनुभव गरेजस्तै यहोवाले सङ्गी दाजुभाइ दिदीबहिनीलाई मदत गर्न पवित्र शक्तिद्वारा आफ्ना सेवकहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ। त्यसैले हामी पनि प्रेषित पावलजस्तै विश्वस्त भएर यसो भन्न सक्छौँ: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”—हिब्रू १३:६. w२०.११ पृ. १६-१७ अनु. १९-२०
बुधबार, मार्च २३
शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।—यसै. ३०:१५.
प्रेषितहरूले यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भन्ने कुराको स्पष्ट प्रमाण पाएका थिए। यहोवाले तिनीहरूलाई चमत्कार गर्ने शक्ति दिनुभएको थियो। (प्रेषि. ५:१२-१६; ६:८) तर आज हामीले चमत्कार गर्ने शक्ति पाएका छैनौँ। तैपनि यहोवाको वचनबाट हामी यस्तो मायालु आश्वासन पाउन सक्छौँ: असल काम गरेकोले दुःख भोग्नुपर्दा यहोवाको पवित्र शक्ति हामीसित छ र उहाँ हामीसित खुसी हुनुहुन्छ। (१ पत्रु. ३:१४; ४:१४) भविष्यमा खेदोको सामना गर्नुपर्दा आफूले कस्तो प्रतिक्रिया देखाउँछु होला भनेर चिन्ता नगर्नुहोस्। बरु हामीलाई मदत र सुरक्षा दिने यहोवाको क्षमतामा आफ्नो भरोसा कसरी बलियो बनाउन सक्छु भन्ने कुरामा ध्यान दिनुहोस्। हामीले उहाँको यस प्रतिज्ञामा भरोसा राख्नुपर्छ: “म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्।” येसुले हामीलाई यस्तो ग्यारेन्टी दिनुभएको छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” (लुका २१:१२-१९) यो कुरा पनि कहिल्यै नबिर्सनुहोस्, यहोवाले मृत्युसम्मै वफादार रहेका आफ्ना सेवकहरूलाई फेरि जीवित पार्न उनीहरूको सानोभन्दा सानो कुरा पनि सम्झनुहुन्छ। w२१.०१ पृ. ४ अनु. १२
बिहीबार, मार्च २४
धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन् भनेर . . . मैले पनि परमेश्वरमा आशा राखेको छु।—प्रेषि. २४:१५.
फेरि जीवित हुने आशाबारे बताउने पहिलो व्यक्ति प्रेषित पावल थिएनन्। कुलपिता अय्युबले पनि यस आशाबारे बताएका थिए। परमेश्वरले तिनलाई सम्झनुहुनेछ र फेरि जीवित पार्नुहुनेछ भन्ने कुरामा अय्युब विश्वस्त थिए। (अय्यु. १४:७-१०, १२-१५) “मरेकाहरू फेरि जीवित हुने” आशा सम्पूर्ण ख्रिष्टियन शिक्षाको “जग” अर्थात् “प्राथमिक शिक्षा”-को भाग हो। (हिब्रू ६:१, २) पहिलो कोरिन्थी अध्याय १५ मा पावलले फेरि जीवित हुने आशाबारे चर्चा गरेका छन्। तिनले लेखेको कुराबाट प्रथम शताब्दीका ख्रिष्टियनहरूले पक्कै प्रोत्साहन पाएको हुनुपर्छ। हामीले यस आशामा विश्वास गर्न थालेको जत्ति नै लामो समय भए पनि यस अध्यायबाट हामी प्रोत्साहन पाउन सक्छौँ र यो आशा पक्कै साकार हुनेछ भनेर विश्वस्त हुन सक्छौँ। येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराबाट हामीले गुमाएका प्रियजनहरू फेरि जीवित हुनेछन् भनेर विश्वस्त हुन सक्छौँ। पावलले कोरिन्थीहरूलाई सुनाएको “सुसमाचार”-मा येसु फेरि जीवित हुनुभएको कुरा पनि समावेश थियो। (१ कोरि. १५:१, २) कुनै ख्रिष्टियनले येसु ब्युँताइनुभएको कुरामा विश्वास गर्दैनन् भने तिनको विश्वास व्यर्थ हो भनेर पावलले बताए।—१ कोरि. १५:१७. w२०.१२ पृ. २ अनु. २-४
शुक्रबार, मार्च २५
येसुले भन्नुभएको . . . कुरा पत्रुसले सम्झे . . . अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।—मत्ति २६:७५.
प्रेषित पत्रुसलाई फेरि उठ्न केले मदत गऱ्यो? एउटा त, येसुले पत्रुसको विश्वास नडगमगाओस् भनेर प्रार्थना गर्नुभएको थियो। यहोवाले येसुको यो बिन्ती सुन्नुभयो। पछि सायद पत्रुसलाई प्रोत्साहन दिन येसु आफै तिनीकहाँ देखा पर्नुभयो। (लुका २२:३२; २४:३३, ३४; १ कोरि. १५:५) रातभरि जाल हान्दा पनि एउटै माछा पक्रन नसकेका प्रेषितहरूकहाँ येसु देखा पर्नुभयो। यस अवसरमा येसुले पत्रुसलाई तिनी उहाँलाई कत्ति माया गर्छन् भनेर व्यक्त गर्ने मौका दिनुभयो। येसुले आफ्नो प्रिय मित्रलाई क्षमा दिइसक्नुभएको थियो र उहाँले पत्रुसलाई थप जिम्मेवारी सुम्पनुभयो। (युह. २१:१५-१७) येसुले पत्रुससित गर्नुभएको व्यवहारबाट उहाँ आफ्नो बुबाजस्तै कृपालु हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसैले हामीबाट गल्ती हुँदा यहोवाले हामीलाई कहिल्यै क्षमा दिनुहुन्न भनेर सोच्नु हुँदैन। सैतान हामीले त्यस्तै सोचेको चाहन्छ भन्ने कुरा मनमा राख्नुपर्छ। यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रा सीमितताहरू बुझ्नुहुन्छ अनि उहाँ हामीलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर सम्झनुपर्छ। अरूले हाम्रो चित्त दुखाउँदा हामीले यहोवाको अनुकरण गर्नुपर्छ।—भज. १०३:१३, १४. w२०.१२ पृ. २०-२१ अनु. १७-१९
शनिबार, मार्च २६
म निश्चिन्त रहनेछु।—भज. २७:३.
शान्त रहन र यहोवामाथि भरोसा राख्नदेखि चुकेका मानिसहरूबाट हामी पाठ सिक्न सक्छौँ। ती खराब उदाहरणहरूबारे अध्ययन गर्दा हामी तिनीहरूले जस्तै गल्ती गर्नदेखि जोगिन सक्छौँ। उदाहरणको लागि, आफ्नो शासनकालको सुरु-सुरुतिर राजा आसा समस्याहरू आइपर्दा यहोवामा भर परे। तर पछि तिनी यहोवामा भर पर्नदेखि चुके र आफैले समस्या सुल्झाउन खोजे। (२ इति. १६:१-३, १२) झट्ट हेर्दा आसाले सिरियासित सैन्य मदत माग्नु सही थियो जस्तो देखिन्थ्यो। तर तिनको सफलता क्षणिक थियो। यहोवाले एक जना भविष्यवक्तामार्फत तिनलाई यस्तो सन्देश दिनुभयो: “तपाईँ आफ्ना परमेश्वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।” (२ इति. १६:७) समस्या आइपर्दा डोऱ्याइको लागि यहोवाको वचनमा भर पर्नुको साटो आफ्नो समस्या आफै सुल्झाउन सक्छु भनेर अति विश्वस्त हुनदेखि हामी होसियार हुनुपर्छ। तुरुन्तै कुनै निर्णय गर्नुपर्ने अवस्थामा पर्दा समेत हामी शान्त भएर यहोवामा भर पर्नुपर्छ र उहाँले हामीलाई सही निर्णय गर्न मदत गर्नुहुनेछ। w२१.०१ पृ. ६ अनु. १३-१५
आइतबार, मार्च २७
तिनीहरू फेरि कहिल्यै [भोकाउनेछैनन्]।—प्रका. ७:१६.
अहिले यहोवाका केही सेवकहरू आर्थिक कठिनाइले गर्दा वा देशभित्र मच्चिरहेको कलह वा युद्धले गर्दा भोकभोकै बस्नुपर्ने अवस्था छ। अरू केही भने विश्वासको खातिर जेलमा परेका छन्। तर यस दुष्ट युगको विनाशबाट जोगिएपछि शारीरिक र आध्यात्मिक भोजनको कुनै कमी हुनेछैन भनेर थाह पाउँदा ठूलो भीडकाहरू असाध्यै खुसी छन्। सैतानको संसारमाथि विनाशको बतास छोडिँदा यहोवाले राष्ट्रहरूमाथि पोखाउनुहुने क्रोधको “ताप”-बाट ठूलो भीडलाई जोगाइनेछ। महासङ्कष्ट अन्त भएपछि येसुले आरमागेडोन पार गरेर आएका यी मानिसहरूलाई “[अनन्त] जीवन दिने पानी”-तर्फ डोऱ्याउनुहुनेछ। (प्रका. ७:१७) सोच्नुहोस् त: ठूलो भीडले कत्ति विशेष आशा पाएको छ। अहिलेसम्म बाँचेका अरबौँ मानिसमध्ये हुन सक्छ तिनीहरू कहिल्यै मर्नेछैनन्। (युह. ११:२६) अरू भेडा आफूले पाएको अद्भुत आशाको लागि यहोवा र येसुप्रति धन्यवादी छन्। w२१.०१ पृ. १६-१७ अनु. ११-१२
सोमबार, मार्च २८
प्रभु विश्वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र . . . जोगाउनुहुनेछ।—२ थिस्स. ३:३.
पृथ्वीमा आफ्नो जीवनको अन्तिम रातमा येसु आफ्ना चेलाहरूले सामना गर्नुपर्ने चुनौतीहरूबारे सोच्दै हुनुहुन्थ्यो। चेलाहरूप्रतिको प्रेमले उत्प्रेरित भएर येसुले आफ्ना बुबालाई “त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्” भनेर बिन्ती गर्नुभयो। (युह. १७:१४, १५) आफू स्वर्ग फर्केपछि सैतानले यहोवाको सेवा गर्न चाहने जोसुकैसित लडाइँ लडिरहनेछ भनेर येसुलाई थाह थियो। त्यसैले यहोवाका जनहरूलाई सुरक्षा चाहिन्छ। अहिले हामीलाई पहिलाभन्दा झन् धेरै यहोवाको सुरक्षा चाहिन्छ। सैतानलाई स्वर्गबाट फ्याँकिएको छ र त्यो “असाध्यै रिसाएको छ।” (प्रका. १२:१२) हाम्रो खेदो गर्नेहरूलाई आफूले “परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु” भनेर सोच्न लगाउन सैतान सफल भएको छ। (युह. १६:२) परमेश्वरमाथि विश्वास नगर्ने अरू मानिसहरूले भने हामी संसारका मानिसहरूभन्दा फरक भएकोले हाम्रो खेदो गर्छन्। तर मानिसहरूले हामीलाई जुनसुकै कारणले खेदो गर्ने भए पनि हामी डराउनु पर्दैन। किन? जवाफ आजको दैनिक पदमा पाइन्छ। w२१.०३ पृ. २६ अनु. १, ३
मङ्गलबार, मार्च २९
कुनै सृष्टिले हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न [सक्दैन]।—रोमी ८:३९.
यहोवा सबै काम प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। हामीप्रतिको प्रेमले गर्दा उहाँ हाम्रो सबै आवश्यकता पूरा गर्नुहुन्छ। प्रेमको कारणले नै उहाँले हाम्रो लागि फिरौतीको प्रबन्ध गर्नुभयो। येसु पनि हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँले हाम्रो लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। (युह. ३:१६; १५:१३) यहोवा र येसुप्रति वफादार रहनेहरूलाई उहाँहरूको प्रेमबाट कुनै पनि कुराले अलग पार्न सक्दैन। (युह. १३:१; रोमी ८:३५) त्यसैगरि परिवारको शिरले हरेक काम प्रेमले उत्प्रेरित भएर गर्नुपर्छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? प्रेषित युहन्ना यस्तो जवाफ दिन्छन्: “जसले आफूले देखेको भाइलाई [वा परिवारलाई] प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।” (१ युह. ४:११, २०) आफ्नो परिवारलाई प्रेम गर्ने अनि यहोवा र येसुको उदाहरण अनुकरण गर्न चाहने पुरुषले आफ्नो परिवारको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्यकता पूरा गर्छन्। (१ तिमो. ५:८) तिनी आफ्नो छोराछोरीलाई तालिम र अनुशासन दिन्छन्। तिनी यहोवाको आदर हुने र परिवारलाई पनि फाइदा पुग्ने निर्णय गर्न प्रयास गरिरहन्छन्। w२१.०२ पृ. ५ अनु. १२-१३
बुधबार, मार्च ३०
आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।—भज. ५५:२२.
स्वर्गमा बस्नुहुने मायालु बुबालाई हाम्रो विगतका तीता अनुभवहरू र हाम्रो नकारात्मक सोचाइले हामीलाई कसरी असर गरिरहेको छ भनेर थाह छ। तर उहाँले हामीमा भएका असल गुणहरू पनि देख्नुहुन्छ, जुन हामी आफैलाई याद नहुन सक्छ। (१ युह. ३:१९, २०) कोही व्यक्तिले आफूमा नराम्ररी जरा गाडेको खराब बानी हटाउन निकै सङ्घर्ष गरिरहेको हुन सक्छ। तर त्यो बानी फेरि फर्कन सक्छ र यस्तो हुँदा तिनी निराश हुन सक्छन्। पक्कै पनि आफूले पाप गर्दा दोषी महसुस गर्नु स्वाभाविक हो। (२ कोरि. ७:१०) तर हामीले अचाक्ली दोषी महसुस गरेर यस्तो सोच्ने हदसम्म पुग्नु हुँदैन: ‘म बेकामको छु। यहोवाले मलाई कहिल्यै क्षमा दिनुहुन्न।’ यस्तो सोचाइ सही होइन किनकि यसले हामीलाई यहोवाको सेवा गर्नदेखि तर्काउन सक्छ। बरु प्रार्थनामा यहोवासामु गएर र क्षमा मागेर उहाँसित ‘मामिला सुल्झाउनुहोस्।’ (यसै. १:१८, फुटनोट) तपाईँले मनैदेखि पश्चात्ताप गर्नुभएको छ भने उहाँले तपाईँलाई क्षमा दिनुहुनेछ। यसबाहेक एल्डरहरूसित कुरा गर्नुहोस्। आध्यात्मिक रूपमा निको हुन तिनीहरूले तपाईँलाई धीरजी हुँदै मदत गर्नेछन्।—याकु. ५:१४, १५. w२०.१२ पृ. २३ अनु. ५-६
बिहीबार, मार्च ३१
वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ . . . बहिनीलाई जस्तैगरि [व्यवहार गर]।—१ तिमो. ५:२.
येसुले स्त्रीहरूलाई आदर गर्नुभयो। उहाँले स्त्रीहरूसित फरिसीहरूले जस्तो व्यवहार गर्नुभएन। फरिसीहरू स्त्रीहरूलाई तुच्छ ठान्थे र उनीहरूलाई धर्मशास्त्रको कुरा सिकाउनु त परै जाओस्, सार्वजनिक ठाउँमा भेट्दा बोल्दा पनि बोल्दैनथे। तर येसुले भने आफ्ना चेलाहरूसित धर्मशास्त्रको गहिरो छलफल गर्नुहुँदा स्त्रीहरूलाई पनि सामेल गराउनुभयो। (लुका १०:३८, ३९, ४२) विभिन्न ठाउँमा प्रचारमा जानुहुँदा उहाँले स्त्रीहरूलाई पनि आफूसँगै आउन अनुमति दिनुभयो। (लुका ८:१-३) अनि येसुले आफ्ना प्रेषितहरूलाई आफू मृत्युबाट जीवित भएको खबर दिने सुअवसर पनि स्त्रीहरूलाई नै दिनुभयो। (युह. २०:१६-१८) प्रेषित पावलले स्त्रीहरूलाई आदर गर्न तिमोथिलाई स्पष्ट सल्लाह दिए। पावलले तिमोथिलाई परिपक्व ख्रिष्टियन बन्न धेरै मदत गरेका थिए तर सुरुमा तिमोथिलाई “पवित्र लेखोटहरू” सिकाउने तिनकी आमा र बज्यै हुन् भनेर पावलले मानिलिएका थिए। (२ तिमो. १:५; ३:१४, १५) तिनले रोमीहरूलाई लेखेको पत्रमा दिदीबहिनीहरूको नामै उल्लेख गरेर अभिवादन पठाएका थिए। तिनले उनीहरूको काम याद मात्र गरेनन्, बरु त्यसको लागि कृतज्ञता पनि व्यक्त गरे।—रोमी १६:१-४, ६, १२; फिलि. ४:३. w२१.०२ पृ. १५ अनु. ५-६