अप्रिल
शुक्रबार, अप्रिल १
पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्।—रोमी १५:४.
के तपाईँले कुनै गाह्रो परीक्षाको सामना गर्दै हुनुहुन्छ? सायद मण्डलीको कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाएको छ। (याकु. ३:२) अथवा सहकर्मी वा सहपाठीले तपाईँ यहोवाको साक्षी भएकोले तपाईँको गिल्ला गर्छन् होला। (१ पत्रु. ४:३, ४) परिवारका सदस्यहरूले तपाईँलाई सभा जान वा आफ्नो विश्वासबारे अरूलाई बताउनदेखि रोक्न खोज्छन् होला। (मत्ति १०:३५, ३६) अत्यन्तै गाह्रो परीक्षाको सामना गर्नुपर्दा तपाईँलाई यहोवाको सेवा गर्न छोडूँ कि जस्तो लाग्न सक्छ। तर तपाईँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि यहोवाले त्यसको सामना गर्ने बुद्धि र त्यो सहने बल दिनुहुनेछ भन्ने कुरामा तपाईँ विश्वस्त हुन सक्नुहुन्छ। यहोवाले आफ्नो वचन बाइबलमा विगतका त्रुटिपूर्ण मानिसहरूले कसरी गाह्रो परीक्षाहरूको सामना गरे भनेर विस्तृत रूपमा लेख्न लगाउनुभएको छ। किन? हामीले ती विवरणहरूबाट सिक्न सकोस् भनेर। यहोवाले प्रेषित पावललाई पनि त्यही कुरा लेख्न प्रेरणा दिनुभयो। ती विवरणहरू पढ्दा हामी केही हदसम्म सान्त्वना र आशा पाउन सक्छौँ। तर त्यसबाट लाभ उठाउन हामीले बाइबल पढेर मात्र पुग्दैन। धर्मशास्त्रमा पढेका कुराहरूले हाम्रो मन छुनुपर्छ र हामीलाई आफ्नो सोच्ने तरिका परिवर्तन गर्न उत्प्रेरित गर्नुपर्छ। w२१.०३ पृ. १४ अनु. १-२
शनिबार, अप्रिल २
खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्।—युह. ४:३५.
के तपाईँ आफ्नो इलाकाका मानिसहरूलाई सुसमाचार सुनाउँदा तिनीहरूलाई कटनीको लागि तयार भएको बालीको रूपमा हेर्नुहुन्छ? त्यसो हो भने तपाईँले यी तीन कुरा गर्नुहुनेछ: पहिलो, तपाईँले जोडतोडले प्रचार गर्नुहुनेछ। कटनीको समय सीमित हुन्छ; त्यसैले तपाईँले समय खेर फाल्नु हुनेछैन। दोस्रो, मानिसहरूले सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया देखाउँदा तपाईँ रमाउनुहुनेछ। बाइबल यसो भन्छ: ‘बाली काट्ने बेला मानिसहरू रमाउँछन्।’ (यसै. ९:३) अनि तेस्रो, तपाईँले मानिसहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नु भएकोले तिनीहरूको चासो जाग्ने तरिकामा आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहुनेछ। सामरियालीहरू कहिल्यै येसुको चेला बन्न सक्दैनन् भनेर येसुका चेलाहरूले सोचेका हुन सक्छन्। तर येसुले सामरियालीहरूप्रति त्यस्तो दृष्टिकोण राख्नुभएन। बरु उहाँले तिनीहरूलाई सम्भाव्य चेलाको रूपमा हेर्नुभयो। हामीले पनि आफ्नो इलाकाका मानिसहरूलाई ख्रिष्टको सम्भाव्य चेलाको रूपमा हेर्नुपर्छ। यस सन्दर्भमा प्रेषित पावलले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्। तिनले आफूले प्रचार गरेका मानिसहरूको आस्थाबारे केही कुरा थाह पाउन सके, तिनीहरूलाई केमा चासो छ भनेर बुझ्न सके र तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्न सके। w२०.०४ पृ. ८-९ अनु. ३-४
आइतबार, अप्रिल ३
चिहान र विनाशको खाडल त यहोवाको नजरमा उदाङ्ग छन् भने मानिसको हृदय उहाँसामु झन् कत्ति उदाङ्ग होला!—हितो. १५:११.
अर्को व्यक्तिको व्यवहारलाई न्याय गरिहाल्नुको साटो तिनी कस्तो महसुस गरिरहेका छन् भनेर बुझ्न सक्दो कोसिस गर्नुहोस्। हाम्रो विषयमा सबै कुरा बुझ्नुहुने यहोवा मात्र हुनुहुन्छ। त्यसैले अर्को व्यक्तिमा उहाँ के देख्नुहुन्छ, त्यो हेर्न र तिनीहरूलाई कसरी दया देखाउने भनी बुझ्न उहाँसित मदत माग्नुहोस्। कुनै-कुनै भाइबहिनीलाई हाम्रो कोमल दयाको खाँचो छ तर अरूलाई भने छैन भन्ने सोचाइ राख्नु हुँदैन। कुन भाइ वा कुन बहिनीलाई तपाईँको कोमल दया चाहिएको छ भनेर तपाईँ आफै छुट्ट्याउन सक्नुहुन्न। तिनीहरूले भोगिरहेका थुप्रै समस्या योना, एलिया, हागार र लुतले भोगेका जस्तै समस्या हुन्। थुप्रै अवस्थाहरूमा तिनीहरूले आफ्नै कारणले गर्दा समस्याहरू निम्त्याएका छन्। साँच्चै भन्ने हो भने हामी सबैले कहिलेकाहीँ आफैमाथि समस्या निम्त्याएका छौँ। त्यसैले एकअर्काको पीडा महसुस गर्न यहोवासित मदत माग्नु बुद्धिमानी हो। (१ पत्रु. ३:८) यहोवाको आज्ञा पालन गर्दा विविधताले भरिएको विश्वव्यापी परिवारको एकतालाई अझ बलियो बनाइरहेका हुन्छौँ। त्यसैले एकअर्कासित व्यवहार गर्दा सुन्ने, बुझ्ने र दया देखाउने सङ्कल्प गरौँ! w२०.०४ पृ. १८-१९ अनु. १५-१७
सोमबार, अप्रिल ४
ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।—१ पत्रु. २:२१.
यहोवाका आज्ञाहरू पालन गर्ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। त्यसैले यहोवाको आज्ञा पालन गर्ने एउटा महत्त्वपूर्ण तरिका येसुको पाइला राम्ररी पछ्याउनु हो। (युह. ८:२९) सत्यमा हिँडिरहन यहोवा सत्यका परमेश्वर हुनुहुन्छ र उहाँले आफ्नो वचन बाइबलमा भन्नुभएको सबै कुरा सत्य हुन् भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ। येसु प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्ने कुरामा पनि विश्वस्त हुनुपर्छ। आज थुप्रै मानिस येसु परमेश्वरको राज्यको राजाको रूपमा अभिषेक हुनुभएको छ भन्ने कुरामा शङ्का गर्छन्। अनि “छल गर्ने थुप्रै मानिस”-ले यहोवा र येसुबारे बाइबलमा पाइने सत्यको पक्षमा खडा हुन तयार नभएकाहरूलाई बहकाउनेछन् भनेर युहन्नाले चेतावनी दिए। (२ युह. ७-११) तिनले यस्तो लेखे: “येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गर्ने मानिस यदि झूटा होइन भने अरू को होला र?” (१ युह. २:२२) त्यस्ता मानिसहरूको बहकाउमा नपर्न हामीले परमेश्वरको वचन अध्ययन गर्नै पर्छ। अनि यसो गऱ्यौँ भने मात्र यहोवा र येसुलाई चिन्न सक्छौँ। (युह. १७:३) तब मात्र हामी आफूसित सत्य छ भन्ने कुरामा विश्वस्त हुन सक्छौँ। w२०.०७ पृ. २१ अनु. ४-५
मङ्गलबार, अप्रिल ५
तिमीहरू आफ्नो भाइसामु ठेस खाने ढुङ्गा . . . नराख्ने अठोट गर।—रोमी १४:१३.
अरू धावकको लागि “ठेस खाने ढुङ्गा” नबन्ने एउटा तरिका भनेको आफ्नै कुरामा जिद्दी गर्नुको सट्टा सम्भव भएसम्म तिनीहरूलाई आफ्नै तरिकाले काम गर्न दिएर हो। (रोमी १४:१९-२१; १ कोरि. ८:९, १३) वास्तविक दौडका धावकहरू र हामीबीचको मुख्य भिन्नता हो, तिनीहरू आफ्नो लागि मात्र पुरस्कार जित्ने प्रयास गर्छन्। ती धावकहरू कसरी दौड जित्ने भनेर आफ्नै कुरामा मात्र ध्यान दिन्छन्। त्यसैले सायद तिनीहरू अरूलाई धकेल्दै अगाडि बढ्न खोज्छन्। तर हामी भने एकअर्कासित प्रतिस्पर्धा गर्दैनौँ। (गला. ५:२६; ६:४) हाम्रो उद्देश्य धेरैभन्दा धेरै मानिसलाई हामीसँगै अन्तिम रेखा पार गर्न र जीवनको इनाम जित्न मदत गर्नु हो। त्यसैले हामी परमेश्वरको प्रेरणा पाएर दिइएको यो सल्लाह पालन गर्ने प्रयास गर्छौँ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” (फिलि. २:४) आफ्ना जनहरूले जुन दौड दौडिरहेका छन्, त्यो पूरा गरेमा यहोवाले तिनीहरूलाई इनाम दिने ग्यारेन्टी दिनुभएको छ। त्यो इनाम हो, स्वर्ग अथवा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन। w२०.०४ पृ. २८ अनु. १०; पृ. २९ अनु. १२
बुधबार, अप्रिल ६
यिनीहरू महासङ्कष्ट पार गरेर आएका मानिसहरू हुन्।—प्रका. ७:१४.
लाखौँ ख्रिष्टियन पुरुष तथा स्त्री नयाँ संसारमा प्रवेश गर्नेछन्। जिउँदै महासङ्कष्ट पार गरेकाहरूले मानिसजातिले मृत्युमाथि अर्को विजय हासिल गरेको घटना आफ्नै आँखाले देख्न पाउनेछन्; तिनीहरूले विगतमा मरेका अरबौँ मानिस फेरि जीवित भएको देख्नेछन्। हर्षोल्लासले भरिएको त्यो घडी कस्तो होला, कल्पना गर्नुहोस् त! (प्रेषि. २४:१५) यहोवाप्रति पूर्णतया आफ्नो वफादारी प्रमाणित गर्ने सबै मानिस जन्मजातै पाएको मृत्युमाथि समेत विजयी हुनेछन्। हो, तिनीहरू सधैँभरि बाँच्न सक्नेछन्। फेरि जीवित हुने आशाबारे पावलले कोरिन्थीहरूलाई लेखेका सान्त्वनादायी शब्दहरूको लागि आज सबै ख्रिष्टियन कृतज्ञ हुनुपर्छ। “प्रभुको काममा” आफूले सकेजति गर्न पावलले दिएको सल्लाह स्विकारेको देखाउने हर कारण हामीसित छ। (१ कोरि. १५:५८) वफादार र सक्रिय भएर यस काममा भाग लियौँ भने हामी भविष्यमा आनन्दित जीवन बिताउने समयको प्रतीक्षा गर्न सक्नेछौँ। त्यो जीवन हामीले कल्पना गरेको भन्दा कता हो कता रमाइलो हुनेछ। प्रभुमा हामीले गरेको परिश्रम व्यर्थ गएन भन्ने कुरा त्यतिबेला प्रमाणित हुनेछ। w२०.१२ पृ. १३ अनु. १६-१७
बिहीबार, अप्रिल ७
घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न . . . तिनीहरूका सेनाहरू एकसाथ भेला भए।—प्रका. १९:१९.
इजकिएल ३८:१०-२३; दानिएल २:४३-४५; ११:४४–१२:१ र प्रकाश १६:१३-१६, २१ मा पाइने भविष्यवाणीहरू केलाउँदा ती सबैले एउटै समयावधिमा हुने घटनाहरूबारे बताइरहेको जस्तो देखिन्छ। त्यसो हो भने हामी निम्न घटनाहरू हुने आशा गर्न सक्छौँ: महासङ्कष्ट सुरु भएको केही समयपछि ‘पृथ्वीभरिका राजाहरूले’ राष्ट्रहरूको एउटा गठबन्धन बनाउनेछन्। (प्रका. १६:१३, १४) त्यस गठबन्धनलाई बाइबलमा “मागोग देशको गोग” भनिएको छ। (इज. ३८:२) राष्ट्रहरूको त्यस गठबन्धनले परमेश्वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई सखाप पार्न अन्तिम प्रयास गर्नेछ। त्यस समयबारे गरिएको भविष्यवाणीमा प्रेषित युहन्नाले परमेश्वरका शत्रुहरूमाथि ठूलठूला असिनाहरू बर्सिनेछन् भनेर बताए। त्यसरी असिना बर्सिनुले यहोवाका जनहरूले घोषणा गर्ने न्यायको कडा सन्देशलाई चित्रण गरेको हुन सक्छ, जसले गर्दा नै मागोगको गोग परमेश्वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई पृथ्वीबाट नामेट पार्न तम्सिन सक्छ।—प्रका. १६:२१. w२०.०५ पृ. १५ अनु. १३-१४
शुक्रबार, अप्रिल ८
यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!—लुका ११:१३.
परमेश्वरको सक्रिय शक्ति हाम्रो लागि बहुमूल्य उपहार हो। पवित्र शक्तिले अहिले हाम्रो समयमा के-के गर्दै छ भनेर मनन गऱ्यौँ भने त्यसप्रतिको हाम्रो कृतज्ञता बढाउँदै लैजान सक्छौँ। स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) पवित्र शक्तिको मदत पाएर पृथ्वीको कुना-कुनाबाट लगभग ८५ लाख मानिस यहोवाको उपासना गर्न जम्मा भएका छन्। साथै हामी आध्यात्मिक प्रमोदवनमा पनि रहन पाएका छौँ किनभने परमेश्वरको पवित्र शक्तिले हामीलाई प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता अनि आत्मसंयमजस्ता सुन्दर गुणहरू विकास गर्न मदत गर्छ। यी गुणहरू “पवित्र शक्तिको फल”-का विभिन्न पक्ष हुन्। (गला. ५:२२, २३) पवित्र शक्ति साँच्चै बहुमूल्य उपहार हो! w२०.०५ पृ. २८ अनु. १०; पृ. २९ अनु. १३
शनिबार, अप्रिल ९
एकै जना पुरुषले गर्दा मृत्यु आयो, त्यसकारण मरेकाहरू पनि एकै जना पुरुषद्वारा फेरि जीवित पारिनेछन्।—१ कोरि. १५:२१.
हाम्रा प्रियजनहरू फेरि जीवित भएर आउँदा हामीले उनीहरूलाई चिन्न सक्नेछौँ भनेर अनुमान लगाउन सकिने केही कारण छन्। जस्तै: मरेकाहरूलाई जीवित पारिएका बाइबल विवरणहरू केलाउँदा यहोवाले मानिसहरूलाई उनीहरू मर्नुभन्दा अलिक समयअघि कस्तो देखिन्थे, कसरी बोल्थे र सोच्थे, त्यही रूपमा ब्युँताउनुहुनेछ जस्तो देखिन्छ। यो कुरा पनि याद गर्नुहोस्, येसुले मृत्युलाई निद्रासित अनि फेरि जीवित हुनुलाई निद्राबाट ब्युँझनुसित तुलना गर्नुभयो। (मत्ति ९:१८, २४; युह. ११:११-१३) मानिसहरू सुत्नुअघि जस्तो देखिन्छन् र जसरी बोल्छन्, निद्राबाट ब्युँझँदा पनि उनीहरू त्यस्तै हुन्छन् र उनीहरूको सम्झना पनि यथावत् रहन्छ। लाजरसको उदाहरण विचार गर्नुहोस्। तिनी मरेको चार दिन भइसकेकोले तिनको शरीर कुहिन थालिसकेको थियो। तैपनि यहोवाले तिनलाई जीवित पार्नुहुँदा तिनका दिदीहरूले चिनिहाले अनि लाजरसले पनि तिनीहरूलाई बिर्सेका थिएनन्।—युह. ११:३८-४४; १२:१, २. w२०.०८ पृ. १४ अनु. ३; पृ. १६ अनु. ८
आइतबार, अप्रिल १०
सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वरबाट अनि पाठोबाट हामीले उद्धार पाउँछौँ।—प्रका. ७:१०.
कुनै-कुनै तरिकामा अभिषिक्त जनहरू र अरू भेडा उस्तै छन्। यहोवा दुवै समूहलाई उत्तिकै माया गर्नुहुन्छ। दुवै समूह यहोवाको नजरमा उत्तिकै बहुमूल्य छन्। सोच्नुहोस् त, यहोवाले अभिषिक्त जनहरू र अरू भेडालाई किन्न एउटै मोल तिर्नुभयो अर्थात् उहाँले दुवै समूहको लागि आफ्नो प्यारो छोराको जीवन दिनुभयो। यी दुई समूहबीचको एउटा भिन्नता भनेको तिनीहरूको आशा फरक छ। दुवै समूह परमेश्वर र ख्रिष्टप्रति वफादार रहिरहनुपर्छ। (भज. ३१:२३) अनि यो कुरा पनि नबिर्सनुहोस्, परमेश्वरको पवित्र शक्तिले हामी सबैमा उत्तिकै काम गर्छ। यसको मतलब यहोवा प्रत्येकलाई तिनको आवश्यकताअनुसार पवित्र शक्ति दिनुहुन्छ। यहोवाले आफ्ना प्रत्येक समर्पित सेवकलाई भविष्यको लागि विशेष आशा दिनुभएको छ। (यर्मि. २९:११) हामीले कहिल्यै अन्त नहुने जीवन पाऔँ भनेर परमेश्वर र ख्रिष्टले ठूलो त्याग गर्नुभएको छ। ख्रिष्टको मृत्युको स्मरणार्थमा हामी प्रत्येकले यसको लागि उहाँहरूको प्रशंसा गर्ने ठूलो मौका पाउँछौँ। पक्कै पनि स्मरणार्थ उत्सव साँचो ख्रिष्टियनहरू एक ठाउँमा भेला हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण अवसर हो। w२१.०१ पृ. १८ अनु. १६; पृ. १९ अनु. १९
सोमबार, अप्रिल ११
यो गर्ने गर।—१ कोरि. ११:२५.
स्मरणार्थमा उपस्थित हुने अधिकांश मानिसहरूको पृथ्वीमै बस्ने आशा छ। त्यसोभए तिनीहरू किन यस उत्सवमा उपस्थित हुन्छन्? जस्तै: विवाह समारोहबारे विचार गरौँ। कुनै मानिस आफ्नो साथीको विवाहमा किन उपस्थित हुन्छन्? विवाह गर्न लागेको जोडीलाई माया र समर्थन गरेको देखाउन। त्यसैगरि अरू भेडा पनि ख्रिष्ट र अभिषिक्त जनहरूलाई माया र समर्थन गरेको देखाउन स्मरणार्थमा उपस्थित हुन्छन्। येसुले चढाउनुभएको बलिदानप्रति कृतज्ञ भएको देखाउन पनि अरू भेडा स्मरणार्थमा उपस्थित हुन्छन्, जुन बलिदानले गर्दा तिनीहरू पृथ्वीमा सधैँभरि बाँच्न सम्भव भएको छ। अरू भेडा स्मरणार्थमा उपस्थित हुनुको अर्को महत्त्वपूर्ण कारण भनेको तिनीहरू येसुको आज्ञा पालन गर्न चाहन्छन्। येसुले आफ्ना वफादार प्रेषितहरूसित त्यो विशेष भोज स्थापना गर्नुहुँदा उहाँले तिनीहरूलाई यसो भन्नुभएको थियो: “मेरो सम्झनामा यो गर्ने गर।” (१ कोरि. ११:२३-२६) त्यसैले पृथ्वीमा अभिषिक्त जनहरू बाँकी छउन्जेल तिनीहरूले प्रभुको साँझको भोज मनाइरहनेछन्। w२१.०१ पृ. १७ अनु. १३-१४
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ९) युहन्ना १२:१२-१९; मर्कुस ११:१-११
मङ्गलबार, अप्रिल १२
हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्वरले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।—१ युह. ४:९.
हामी अरूलाई साँच्चै प्रेम गर्छौँ भने त्यो कामबाट देखिनुपर्छ। (याकुब २:१७, २६ तुलना गर्नुहोस्) उदाहरणको लागि, यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। (१ युह. ४:१९) अनि उहाँ आफ्नो प्रेम बाइबलमा रेकर्ड गरिएका सुन्दर शब्दहरूद्वारा व्यक्त गर्नुहुन्छ। (भज. २५:१०; रोमी ८:३८, ३९) तर परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले भन्नुभएका कुराहरूबाट मात्र होइन, उहाँको कामबाट पनि स्पष्ट देख्न सक्छौँ। यहोवाले हाम्रो लागि आफ्नो एक मात्र छोरालाई दुःख भोग्न र मर्न पठाउनुभयो। (युह. ३:१६) यहोवा हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्ने कुरामा शङ्का गर्ने के कुनै ठाउँ छ र? यहोवा र येसुलाई प्रेम गरेको कुरा हामी उहाँहरूको आज्ञा पालन गरेर देखाउँछौँ। (युह. १४:१५; १ युह. ५:३) येसुले हामीलाई आपसमा प्रेम गर भनेर तोकेरै आज्ञा दिनुभएको छ। (युह. १३:३४, ३५) हामीले आफ्ना दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम आफ्नो बोलीद्वारा मात्र होइन तर कामद्वारा पनि देखाउनुपर्छ।—१ युह. ३:१८. w२१.०१ पृ. ९ अनु. ६; पृ. १० अनु. ८
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १०) युहन्ना १२:२०-५०
बुधबार, अप्रिल १३
मैले तिमीहरूलाई मित्र भनेको छु।—युह. १५:१५.
पवित्र शक्तिबाट अभिषेक भएकाहरूले परमेश्वरको राज्यमा येसुसितै शासन गर्नेछन्। तिनीहरूले खिष्टसितै हुने आशा राखेका छन् अर्थात् तिनीहरूले उहाँलाई देख्नेछन्, उहाँसित कुरा गर्नेछन् र उहाँसित सधैँभरि समय बिताउनेछन्। (युह. १४:२, ३) पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूले पनि येसुको प्रेम र हेरचाह पाउनेछन्। तिनीहरूले येसुलाई नदेखे तापनि यहोवा र येसुले तिनीहरूको लागि सम्भव तुल्याइदिनुभएको जीवनको आनन्द उठाउँदा येसुसित तिनीहरूको सम्बन्ध झन्झन् घनिष्ठ हुँदै जानेछ। (यसै. ९:६, ७) येसुको मित्र बन्ने निम्तो स्विकार्दा हामी थुप्रै आशिष् पाउँछौँ। उदाहरणको लागि, हामीले अहिल्यै उहाँको प्रेम र साथ पाउँछौँ। हामीले सधैँभरि बाँच्ने आशा पाएका छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, येसुसितको हाम्रो मित्रताले गर्दा हामीले अनमोल सम्पत्ति पाउनेछौँ अर्थात् उहाँको बुबा यहोवासित घनिष्ठ र आत्मीय सम्बन्ध गाँस्न सक्नेछौँ। येसुको मित्र बन्न पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! w२०.०४ पृ. २४-२५ अनु. १५-१६
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ११) लुका २१:१-३६
बिहीबार, अप्रिल १४
ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।—१ कोरि. १५:२२.
प्रेषित पावलले यो पत्र कोरिन्थका अभिषिक्त ख्रिष्टियनहरूलाई लेखेका थिए, जो मृत्युबाट जीवित भएर स्वर्ग जाने थिए। ती ख्रिष्टियनहरू ‘ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका थिए अनि पवित्र जनहरू बन्न बोलाइएका थिए।’ पावलले “मृत्युको चिर निद्रामा परेका ख्रिष्टका चेलाहरू”-बारे पनि उल्लेख गरे। (१ कोरि. १:२; १५:१८; २ कोरि. ५:१७) परमेश्वरको प्रेरणा पाएर लेखेको अर्को पत्रमा पावलले “[येसुजस्तै] मरेर उहाँसित एक भएका”-हरू ‘उहाँजस्तै फेरि जीवित भएर उहाँसित एक हुनेछन्’ भनेर लेखे। (रोमी ६:३-५) येसुलाई अदृश्य शरीरमा ब्युँताएर स्वर्ग लगियो। त्यसैले पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका सबै चेलालाई पनि अदृश्य शरीरमा ब्युँताएर स्वर्ग लगिने थियो। ख्रिष्ट “मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल”-को रूपमा जीवित पारिनुभयो भनेर पावलले लेखे। (१ कोरि. १५:२०) अदृश्य शरीरमा ब्युँताइने र अनन्त जीवन पाउने पहिलो व्यक्ति येसु हुनुहुन्थ्यो। w२०.१२ पृ. ५-६ अनु. १५-१६
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १२) मत्ति २६:१-५, १४-१६; लुका २२:१-६
स्मरणार्थको दिन
सूर्यास्तपछि
शुक्रबार, अप्रिल १५
हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।—१ थिस्स. ४:१७.
अहिले पार्थिव जीवन पूरा गर्ने अभिषिक्त जनहरूलाई तुरुन्तै ब्युँताएर स्वर्ग लगिन्छ। यस कुरालाई १ कोरिन्थी १५:५१, ५२ मा प्रेषित पावलले भनेका शब्दहरूले पुष्टि गर्छ। मृत्युबाट जीवित भएपछि ख्रिष्टका यी भाइहरू पूर्णरूपमा आनन्दित हुनेछन्। बाइबलले “आँखाको एक निमेषमा” परिवर्तन भएर स्वर्ग जानेहरूले त्यहाँ कस्तो काम गर्नेछन् भनेर बताउँछ। येसु तिनीहरूलाई यसो भन्नुहुन्छ: “जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई जातिजातिमाथि शासन गर्ने अख्तियार दिनेछु। अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ र तिनीहरूलाई माटाका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही अख्तियार पाएको छु।”—प्रका. २:२६, २७. w२०.१२ पृ. १२ अनु. १४-१५
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १३) मत्ति २६:१७-१९; मर्कुस १४:१२-१६; लुका २२:७-१३ (सूर्यास्तपछिका घटनाहरू: नीसान १४) युहन्ना १३:१-५; १४:१-३
शनिबार, अप्रिल १६
ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ।—१ कोरि. १५:२०.
प्रेषित पावलले येसुलाई “पहिलो फल” भन्दा उहाँपछि अरू मानिसहरूलाई पनि मृत्युबाट ब्युँताएर स्वर्ग लगिनेछ भनेर सङ्केत गर्दै थिए। प्रेषितहरू र पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका अरू चेलाहरूलाई पनि अन्ततः येसुलाई जस्तै ब्युँताएर स्वर्ग लगिने थियो। पावलले कोरिन्थीहरूलाई पत्र लेखेको समयमा पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका चेलाहरूलाई स्वर्ग लैजाने काम सुरु भइसकेको थिएन। बरु पावलले यो काम भविष्यमा हुनेछ भनेर यसरी सङ्केत गरे: “हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई। त्यसपछि जो ख्रिष्टका हुन्, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।” (१ कोरि. १५:२३; १ थिस्स. ४:१५, १६) अहिले हामी भविष्यवाणी गरिएको ख्रिष्टको “उपस्थिति”-मा बाँचिरहेका छौँ। त्यसैले प्रेषितहरू र अरू अभिषिक्त ख्रिष्टियनहरू, जो मरिसकेका थिए, तिनीहरूले ‘येसुजस्तै फेरि जीवित भएर उहाँसित एक हुन’ र स्वर्गीय इनाम पाउन उहाँको उपस्थितिलाई पर्खनुपर्ने थियो।—रोमी ६:५. w२०.१२ पृ. ५ अनु. १२; पृ. ६ अनु. १६-१७
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १४) युहन्ना १९:१-४२
आइतबार, अप्रिल १७
जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।—१ कोरि. १५:४२.
प्रेषित पावलले स्वर्गमा बस्न उपयुक्त “अदृश्य शरीर”-मा ब्युँताइएको व्यक्तिबारे कुरा गर्दै थिए। (१ कोरि. १५:४३, ४४) येसु पृथ्वीमा हुनुहुँदा उहाँको शरीर रगत र मासुको थियो। तर मृत्युबाट ब्युँताइएपछि उहाँ “जीवन दिने अदृश्य व्यक्ति” हुनुभयो र स्वर्ग फर्कनुभयो। त्यसैगरि अभिषिक्त ख्रिष्टियनहरूलाई पनि स्वर्गमा बस्न उपयुक्त अदृश्य शरीरमा ब्युँताइने थियो। पावलले यसो भने: “जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।” (१ कोरि. १५:४५-४९) यो कुरा मनमा राख्नुहोस्, येसुलाई मानव शरीरमा जीवित पारिएको थिएन। किनकि पावलले यसो भने: “रगत र मासु [स्वर्गमा] परमेश्वरको राज्यको हकदार हुन सक्दैन।” (१ कोरि. १५:५०) प्रेषितहरू र अरू अभिषिक्त जनहरूलाई विनाश भएर जाने रगत र मासुको शरीरसहित जीवित पारिने थिएन। w२०.१२ पृ. ११ अनु. १०-१२
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १५) मत्ति २७:६२-६६ (सूर्यास्तपछिका घटनाहरू: नीसान १६) युहन्ना २०:१
सोमबार, अप्रिल १८
ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?—१ कोरि. १५:५५.
प्रथम शताब्दीमा परमेश्वरले येसुका केही चेलालाई स्वर्गीय आशाबारे लेख्न प्रेरणा दिनुभयो। प्रेषित युहन्नाले यस्तो लेखे: “अहिले हामी परमेश्वरका सन्तान हौँ तर पछि हामी के हुने हौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन। हामीलाई थाह छ, जब उहाँ प्रकट हुनुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौँ।” (१ युह. ३:२) त्यसैले अदृश्य रूपमा ब्युँताएर स्वर्ग लगिएपछि आफ्नो जीवन कस्तो हुनेछ भनेर अभिषिक्त ख्रिष्टियनहरूलाई थाह छैन। तर स्वर्गीय इनाम पाएपछि तिनीहरूले यहोवालाई देख्न सक्नेछन्। बाइबलमा यस विषयमा केही कुरा बताइएका छन्। ख्रिष्टले ‘सबै सरकार, सबै अख्तियार र शक्तिलाई नामेट पार्नुहुँदा’ अभिषिक्त जनहरू उहाँसँगै हुनेछन्। नामेट पारिने कुराहरूमा हाम्रो अन्तिम “शत्रु मृत्यु” पनि समावेश छ। (१ कोरि. १५:२४-२८) अन्तमा येसु र उहाँका सह-शासकहरूले सबै कुरा यहोवाकै अधीनमा राखिदिनुहुनेछ र उहाँहरू आफै पनि यहोवाको अधीनमा बस्नुहुनेछ। (१ कोरि. १५:२४-२८) त्यो साँच्चै कत्ति रमाइलो क्षण हुनेछ! w२०.१२ पृ. ८ अनु. २
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १६) युहन्ना २०:२-१८
मङ्गलबार, अप्रिल १९
धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन् भनेर . . . आशा राखेको छु।—प्रेषि. २४:१५.
ख्रिष्टसँगै स्वर्गमा जीवन बिताउने आशा नपाएका अरू वफादार ख्रिष्टियनहरूले पनि फेरि जीवित हुने आशा पाएका छन्। बाइबलले बताएअनुसार प्रेषित पावललगायत स्वर्गीय आशा पाएका अरूलाई “मृत्युबाट सुरुमा जीवित पारिन्छ।” (फिलि. ३:११) के यसले मृत्युबाट जीवित पारिने अरू पनि छन् भनेर सङ्केत गर्दैन र? यो कुरा भविष्यको लागि आफूले राखेको आशाबारे अय्युबले भनेको कुरासित मेल खान्छ। (अय्यु. १४:१५) येसुले सबै सरकार, सबै अख्तियार र शक्तिलाई नामेट पार्नुहुँदा ‘जो ख्रिष्टका हुन्, तिनीहरू उहाँको उपस्थितिको दौडान’ उहाँसँगै स्वर्गमा हुनेछन्। हाम्रो अन्तिम “शत्रु मृत्यु”-लाई समेत नामेट पारिनेछ। जीवित पारेर स्वर्ग लगिनेहरू फेरि कहिल्यै मर्नेछैनन्। तर अरूबारे चाहिँ के भन्न सकिन्छ? (१ कोरि. १५:२३-२६) स्वर्गीय आशा नभएकाहरूले पावलले आजको पदमा भनेका शब्दहरूबाट आशा पाउन सक्छन्। स्पष्ट छ, कुनै पनि अधर्मी मानिस स्वर्ग जान सक्दैन। त्यसैले पावलका यी शब्दहरूले भविष्यमा पृथ्वीमा मानिसहरूलाई जीवित पारिने कुरालाई सङ्केत गर्छ। w२०.१२ पृ. ६-७ अनु. १८-१९
बुधबार, अप्रिल २०
[ख्रिष्टले] मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।—गला. २:२०.
हामीलाई यस्तो लाग्न सक्छ, ‘यहोवाले मदेखि हार मान्नुभएको छैन भनेर कसरी पक्का हुन सक्छु?’ आफैलाई यो प्रश्न सोध्नुको अर्थ यहोवा हामीलाई क्षमा दिन सक्नुहुन्छ भन्ने हो। दशकौँ पुरानो एउटा प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यसो भनिएको थियो: “हाम्रो पुरानो खराब बानीले हामीले सोचेभन्दा गहिरो जरा गाडेर बसेको हुन सक्छ। सायद त्यस्ता बानीले गर्दा हामी निकै चोटि ठोकर खाएर लडौँला। . . . अक्षम्य पाप गरेँ भनी नसम्झनुहोस्। किनभने तपाईँले त्यस्तै सोचोस् भन्ने सैतान चाहन्छ। वास्तवमा तपाईँ पश्चात्तापको ज्वालामा जल्नुको अर्थ नै तपाईँले अक्षम्य पाप गर्नुभएको छैन भन्ने प्रमाण हो। नम्र हुनुहोस् र क्षमा पाउन परमेश्वरलाई प्रार्थना गरिरहनुहोस् अनि फेरि सफा अन्तस्करण पाउन र गल्ती नदोहोऱ्याउन उहाँसित मदत माग्नुहोस्। ख्रिष्टियन बन्नुअघि प्रेषित पावलले केही गम्भीर गल्ती गरेका थिए। पावलले विगतमा गरेका गल्तीहरू बिर्सेका थिएनन्। (१ तिमो. १:१२-१५) पावलले फिरौतीको बलिदानलाई परमेश्वरले तिनलाई दिनुभएको उपहार ठाने। यसरी पावल अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिए र अबउसो यहोवालाई कसरी आफ्नो तर्फबाट उत्तम सेवा चढाउन सक्छु भन्ने कुरामा ध्यान केन्द्रित गरे। w२०.११ पृ. २७ अनु. १४; पृ. २९ अनु. १७
बिहीबार, अप्रिल २१
यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस् र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।—याकु. १:५.
सैतानले हामीलाई गलत काम गराउन थुप्रै प्रलोभन ल्याउँछ। त्यस्तो अवस्थामा हामी के गर्छौँ? हाम्रो मनमा यस्ता कुराहरू त्यत्ति खराब होइनन् भन्ने सोचाइ सजिलै आउन सक्छ। उदाहरणको लागि, हामीले यस्तो तर्क गर्न सक्छौँ: ‘यो काम गर्दा बहिष्कार हुँदैन, त्यसैले त्यति गम्भीर कुरा होइन।’ तर यस्तो तर्क गर्नु एकदमै गलत हो। बरु हामीले आफूलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘के सैतानले यो प्रलोभन चलाएर मेरो हृदयलाई विभाजित गर्न खोज्दै छ? म कुइच्छाको वशमा परेँ भने के मैले यहोवाको नामको बदनाम गर्नेछु? यो कदम चाल्दा म परमेश्वरसित नजिक हुन्छु कि झनै टाढा?’ यी प्रश्नहरूमा मनन गर्नुहोस्। यी प्रश्नहरूको इमानदार भई जवाफ दिन सकूँ भनेर बुद्धिको लागि प्रार्थना गर्नुहोस्। (याकु. १:५) यसो गर्दा साँच्चै हाम्रो सुरक्षा हुनेछ। यसले हामीलाई येसुजस्तै दृढ भई प्रलोभनलाई तिरस्कार गर्न मदत गर्नेछ, जसले यसो भन्नुभयो: “ए सैतान, पर गइहाल्!” (मत्ति ४:१०) नबिर्सनुहोस्, विभाजित हृदय बेकामको हुन्छ। w२०.०६ पृ. १२-१३ अनु. १६-१७
शुक्रबार, अप्रिल २२
म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान बरु . . . तिमीहरूले सुझबुझ चलाउन सक।—रोमी १२:३.
हामी नम्र हुँदै यहोवाको स्तरअनुसार चल्छौँ किनकि के गर्दा हाम्रो भलाइ हुन्छ, उहाँलाई राम्ररी थाह छ। (एफि. ४:२२-२४) नम्रताले हामीलाई आफ्नो भन्दा यहोवाको इच्छालाई पहिलो स्थानमा राख्न र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्न मदत गर्छ। परिणामस्वरूप, हामी यहोवासित र सङ्गी दाजुभाइ दिदीबहिनीसित सुमधुर सम्बन्ध गाँस्न सक्छौँ। (फिलि. २:३) तर होसियार भएनौँ भने हामी सैतानको संसारमा भएका घमन्डी र स्वार्थी मानिसहरूको प्रभावमा पर्न सक्छौँ। इस्वी संवत् प्रथम शताब्दीका केही ख्रिष्टियनहरू पनि त्यस्तै खतरामा परेका थिए जस्तो देखिन्छ। किनकि प्रेषित पावलले रोमीहरूलाई यस्तो लेखे: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान बरु . . . तिमीहरूले सुझबुझ चलाउन सक।” पावलले हामीमा आत्मसम्मान हुनुपर्छ भनेर स्विकारे। तर हामी नम्र छौँ भने आफूबारे सन्तुलित दृष्टिकोण राख्छौँ अनि आफूलाई जति ठान्नुपर्ने हो, त्योभन्दा बढ्ता ठान्दैनौँ। w२०.०७ पृ. २ अनु. १-२
शनिबार, अप्रिल २३
कोही पनि उनीसित लडाइँ गर्न आएनन्; देशमा शान्ति छायो।—२ इति. १४:६.
राजा आसाको शासनकालमा शान्ति छाएको समय धेरैबेर रहेन। इथियोपियाबाट १० लाख सिपाहीसहितको विशाल सेना आसासित युद्ध गर्न आयो। आफू र आफ्नो सेनाले यहुदालाई परास्त गर्न सक्छौँ भन्ने कुरामा इथियोपियाली सेनाका सेनापति जेरह विश्वस्त थिए। तर आसाले सिपाहीको सङ्ख्यामा नभई यहोवा परमेश्वरमाथि भरोसा राखे। आसाले यसरी प्रार्थना गरे: “हे हाम्रा परमेश्वर यहोवा, हामीलाई मदत गर्नुहोस् किनकि हामी तपाईँमै भर परेका छौँ। अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्न आएका छौँ।” (२ इति. १४:११) हुनत आसाको भन्दा इथियोपियाली सेनाको सिपाहीको सङ्ख्या झन्डै दोब्बर थियो। तैपनि यहोवा शक्तिशाली हुनुहुन्छ र उहाँले आफ्ना जनहरूलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा आसाले बुझेका थिए। यहोवाले उनलाई निराश तुल्याउनुभएन; इथियोपियाली सेनाले लज्जास्पद हार बेहोर्नुपऱ्यो। (२ इति. १४:८-१३) हुनत भविष्यमा हामी प्रत्येकले कस्तो अवस्थाको सामना गर्नुपर्नेछ भनेर हामीलाई एक-एक कुरा थाह छैन। तर अहिले परमेश्वरका जनहरू शान्ति छाएको अवस्थामा छन् भने पनि त्यो शान्ति सधैँभरि रहनेछैन भनेर हामीलाई थाह छ। नबिर्सनुहोस्, आफ्ना चेलाहरूलाई अन्तको दिनमा “सबै जातिले . . . घृणा गर्नेछन्” भनेर येसुले बताउनुभएको थियो।—मत्ति २४:९. w२०.०९ पृ. १७-१८ अनु. १४-१६
आइतबार, अप्रिल २४
म . . . अपमानमा . . . खुसी हुन्छु।—२ कोरि. १२:१०.
हामी कसैलाई पनि अरूले अपमान गरेको मन पर्दैन। तर शत्रुहरूले हाम्रो अपमान गरे अनि तिनीहरूले भनेको कुराले गर्दा असाध्यै चिन्तित भयौँ भने हामी निराश हुन सक्छौँ। (हितो. २४:१०) त्यसोभए विरोधीहरूले अपमान गर्दा हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? प्रेषित पावलजस्तै हामी “अपमानमा . . . खुसी” हुन सक्छौँ। किन? किनभने हामीले भोग्ने अपमान र विरोध हामी येसुका साँचो चेलाहरू हौँ भन्ने कुराको सङ्केत हो। (१ पत्रु. ४:१४) येसुले आफ्ना चेलाहरूको खेदो गरिनेछ भन्नुभयो। (युह. १५:१८-२०) हुन पनि प्रथम शताब्दीमा त्यस्तै भयो। त्यतिबेला ग्रीक समाजबाट प्रभावित व्यक्तिहरूले ख्रिष्टियनहरूलाई मूर्ख र कमजोर ठान्थे। अनि यहुदीहरूमाझ ख्रिष्टियनहरूलाई “अशिक्षित अनि साधारण मानिस” ठानिन्थ्यो, जस्तै: प्रेषित पत्रुस र युहन्ना। (प्रेषि. ४:१३) ती ख्रिष्टियनहरू कमजोर देखिन्थे; राजनैतिक वा सैन्य क्षेत्रमा तिनीहरूको कुनै पकड थिएन। अनि मानिसहरू तिनीहरूलाई समाजबाट बहिष्कृत व्यक्तिसरह ठान्थे। के विरोधीहरूले नकारात्मक दृष्टिकोण राख्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूले आफ्नो काम बन्द गरे? अहँ गरेनन्। w२०.०७ पृ. १४-१५ अनु. ३-४
सोमबार, अप्रिल २५
हामी आपसमा प्रेम गरिरहौँ किनकि प्रेम परमेश्वरबाट आउँछ र जसले प्रेम गर्छ, ऊ परमेश्वरबाट जन्मेको हुन्छ र उसले परमेश्वरलाई चिन्छ।—१ युह. ४:७.
प्रेषित युहन्ना आफ्नो भाइबहिनीको आध्यात्मिक हितको असाध्यै ख्याल राख्थे र यो कुरा तिनले उनीहरूलाई आफ्नो तीन वटा पत्रमा दिएको सल्लाहमा प्रस्टै झल्किन्छ। भविष्यमा येसुसँगै शासन गर्ने पुरुष तथा स्त्रीहरू पनि युहन्नाजस्तै अरूलाई माया र ख्याल गर्छन् भन्ने कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। (१ युह. २:२७) तिनले दिएको सल्लाह सधैँ मनमा राखौँ। हाम्रो जीवनको हर क्षेत्रमा यहोवाप्रति आज्ञाकारी भएर सत्यमा हिँडिरहने सङ्कल्प गरौँ। सत्यमा हिँडिरहन उहाँको वचन अध्ययन गर्नुहोस् र यसमाथि भरोसा राख्नुहोस्। येसुमाथिको विश्वास बलियो बनाउनुहोस्। मानव दर्शन र धर्मत्यागी शिक्षाहरूलाई तिरस्कार गर्नुहोस्। दोहोरो जीवन बिताउने र पाप गर्ने दबाबको प्रतिरोध गर्नुहोस्। यहोवाका उच्च नैतिक स्तरहरूअनुसार जीवन बिताउनुहोस्। अरूले हाम्रो चित्त दुखाउँदा क्षमा दिएर अनि खाँचोमा परेकाहरूलाई मदत गरेर हाम्रा भाइबहिनीलाई बलियो भइरहन मदत गरौँ। यसो गऱ्यौँ भने हामीले जति नै सङ्घर्ष गर्नु परे पनि सत्यमा हिँडिरहन सक्नेछौँ। w२०.०७ पृ. २४-२५ अनु. १५-१७
मङ्गलबार, अप्रिल २६
परमेश्वरले आफ्नो इच्छाअनुसार शरीरका प्रत्येक अङ्गलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ।—१ कोरि. १२:१८.
यहोवाले मण्डलीमा आफ्ना प्रत्येक वफादार सेवकलाई महत्त्वपूर्ण स्थान दिनुभएको छ। हाम्रो भूमिका फरक-फरक भए तापनि हामी सबै जना बहुमूल्य छौँ र हामी सबैलाई एकअर्काको साथ चाहिन्छ। प्रेषित पावलले जोड दिएझैँ हामीमध्ये कसैले पनि यहोवाको कुनै सेवकलाई यसो भन्न सक्दैनौँ: “मलाई तिम्रो खाँचो छैन।” (१ कोरि. १२:२१) मण्डलीको शान्तिपूर्ण वातावरण कायम राख्न हामीले एकअर्काको मोल गर्नुपर्छ र मिलेर काम गर्नुपर्छ। (एफि. ४:१६) हामीले एकतामा रहेर काम गऱ्यौँ भने मण्डलीका सबैले माया पाएको महसुस गर्नेछन् र मण्डली अझै बलियो हुनेछ। मण्डलीका सबै एल्डर यहोवाको पवित्र शक्तिद्वारा नियुक्त भएका हुन्छन्। तर उनीहरू प्रत्येकसित फरक-फरक वरदान र फरक-फरक क्षमता छ। (१ कोरि. १२:१७) उनीहरूमध्ये केही भर्खरै नियुक्त भएका छन् र अरूको तुलनामा कम अनुभवी छन्। कोही भने उमेर र स्वास्थ्य अवस्थाले गर्दा चाहेजति गर्न सक्दैनन्। तर कुनै पनि एल्डरले अर्को एल्डरलाई “मलाई तिम्रो खाँचो छैन” भन्ने महसुस गराउनु हुँदैन। बरु प्रत्येक एल्डरले रोमी १२:१० मा पावलले दिएको सल्लाह पालन गर्नुपर्छ। w२०.०८ पृ. २६ अनु. १-२; पृ. २७ अनु. ४
बुधबार, अप्रिल २७
यस संसारको दृश्य परिवर्तन हुँदै छ।—१ कोरि. ७:३१.
यहोवा पृथ्वीमा रहेको आफ्नो सङ्गठनमार्फत हामीलाई जीवनतर्फ लैजाने बाटोमा डोऱ्याउनुहुन्छ। सङ्गठनले बाइबलको कुनै बुझाइमा छाँटकाँट गर्दा वा नैतिकताको सन्दर्भमा बाइबलआधारित निर्देशन दिँदा हामी आनाकानी नगरी त्यो स्विकार्छौँ। तर सङ्गठनले हाम्रो जीवनको अरू पक्षलाई असर गर्ने कुनै छाँटकाँट गर्दा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? जस्तै: हामीले सभा गरिरहेको सभाभवन बिक्री गरिँदा। हामी यहोवाको लागि काम गरिरहेका छौँ र उहाँले नै आफ्नो सङ्गठनलाई डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरा मनमा राख्यौँ भने हामीले आफ्नो आनन्द कायम राख्न सक्नेछौँ। (कल. ३:२३, २४) राजा दाउदले मन्दिर बनाउन अनुदान दिएर हाम्रो लागि राम्रो उदाहरण बसाले। तिनले यसो भने: “यसरी राजीखुसीले तपाईँलाई भेटी दिन म को हुँ र? अनि मेरो प्रजा को हो र? किनकि सबथोक तपाईँबाटै आएको हो। हामीले तपाईँलाई जे-जे दियौँ, ती सब तपाईँले नै हामीलाई दिनुभएको हो।” (१ इति. २९:१४) हामीले पनि अनुदान दिँदा यहोवाले हामीलाई दिनुभएको कुरा नै उहाँलाई दिइरहेका हुन्छौँ। तैपनि उहाँको कामलाई अघि बढाउन हामीले आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गर्दा यहोवा त्यसको मोल गर्नुहुन्छ।—२ कोरि. ९:७. w२०.११ पृ. २२-२३ अनु. १४-१६
बिहीबार, अप्रिल २८
पानी पर्ला भनेर सुर्ता गर्नेले कहिल्यै कटनी गर्दैन।—उप. ११:४.
यहोवाको साक्षीको रूपमा हामी आफूले कति जना मानिसलाई यहोवाको सङ्गठनमा ल्याउन सक्यौँ, त्यसको आधारमा आफ्नो सफलता मापन गर्दैनौँ। (लुका ८:११-१५) हामी सुसमाचार प्रचार गर्ने र सिकाउने काममा लागिरहेका छौँ भने यहोवाले हामीलाई सफल ठान्नुहुनेछ। किन? किनभने हामीले उहाँ र उहाँको छोराको आज्ञा पालन गरिरहेका छौँ। (मर्कु. १३:१०; प्रेषि. ५:२८, २९) हामी मानिसहरूको जलारी भएकोले अहिल्यै प्रचारकार्यमा भाग लिनुपर्ने थप कारण छ। त्यो हो, यस युगको अन्त हुनै लागेको छ! मानिसहरूको जीवन बचाउने काम गर्ने समय अब धेरै बाँकी छैन। यस महत्त्वपूर्ण कार्यमा भाग लिन ढिलासुस्ती नगर्नुहोस् वा सबै चाँजोपाँजो मिलेपछि गरूँला भनेर पर्खेर नबस्नुहोस्। आफ्नो इच्छुकता, बाइबलको ज्ञान र साहस बढाउनुका साथै आत्मअनुशासन विकास गर्न अहिल्यै कदम चालिहाल्नुहोस्। प्रचारकार्यमा भाग लिइरहेका ८० लाखभन्दा धेरै जलारीको समूहमा सामेल हुनुहोस् अनि तपाईँले पनि यहोवाले दिनुहुने आनन्द अनुभव गर्नुहुनेछ। (नहे. ८:१०; लुका ५:१०) यस काममा पूरापूर भाग लिने र यहोवाले पुग्यो नभन्नुभएसम्म यसमा लागिरहने सङ्कल्प गर्नुहोस्। w२०.०९ पृ. ७ अनु. १८-२०
शुक्रबार, अप्रिल २९
तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख।—१ तिमो. ६:२०.
हामी भौतिक कुराहरू हासिल गर्नतर्फ अलमलिनु हुँदैन। “धनसम्पत्तिको भ्रामक शक्ति”-ले यहोवाप्रतिको हाम्रो प्रेमलाई, परमेश्वरको वचनप्रतिको हाम्रो कृतज्ञतालाई र परमेश्वरबारे अरूलाई बताउने हाम्रो इच्छालाई निसासिदिन सक्छ। (मत्ति १३:२२) यहोवाले हामीलाई सुम्पनुभएको बहुमूल्य कुराहरूलाई सुरक्षित राख्न हामीले खतरा देख्नेबित्तिकै कदम चालिहाल्नुपर्छ। इन्टरनेट चलाउँदा वा कुनै फिल्म वा टिभी कार्यक्रम हेर्दा अचानक कुनै अनैतिक दृश्य, अचाक्ली हिंसा भएको दृश्य वा धर्मत्यागीहरूले तयार पारेका सामग्रीहरू देख्यौँ भने के गर्ने भनेर पहिल्यै अभ्यास गर्नुपर्छ। कस्तो अवस्था आइपर्न सक्छ भनेर पहिल्यै तयारी गरेका छौँ भने आध्यात्मिक हानिबाट जोगिन र यहोवाको नजरमा शुद्ध रहिरहन तुरुन्तै कदम चाल्न सक्नेछौँ। (भज. १०१:३; १ तिमो. ४:१२) यहोवाले हामीलाई दिनुभएका बहुमूल्य कुराहरू अर्थात् अनमोल आध्यात्मिक सत्यहरू र ती सत्यहरूबारे अरूलाई सिकाउने सुअवसरलाई हामीले सँभालेर राख्नुपर्छ। यसो गऱ्यौँ भने हामीले सफा अन्तस्करण राख्न, अर्थपूर्ण जीवन बिताउन अनि अरूलाई यहोवाबारे सिक्न मदत गर्दा पाइने आनन्द अनुभव गर्न सक्नेछौँ। w२०.०९ पृ. ३० अनु. १६-१९
शनिबार, अप्रिल ३०
तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई देख्नेछौ।—यसै. ३०:२०.
के तपाईँले बप्तिस्मा गरिसक्नुभयो? यदि त्यसो हो भने तपाईँले यहोवामाथिको विश्वास र उहाँको सङ्गठनसँगै मिलेर सेवा गर्ने इच्छुकता सबैसामु जाहेर गरिसक्नुभयो। आज यहोवाले आफ्नो सङ्गठनलाई डोऱ्याइरहनुभएको तरिकामा उहाँको व्यक्तित्व, उद्देश्य र स्तरहरू झल्किन्छ। उहाँको सङ्गठनमा देखिने उहाँका तीन वटा गुणबारे विचार गर्नुहोस्। पहिलो, “परमेश्वर पक्षपाती हुनुहुन्न।” (प्रेषि. १०:३४) प्रेमले उत्प्रेरित भएर यहोवाले “सबैका लागि फिरौतीस्वरूप” आफ्नो छोरालाई अर्पण गर्नुभयो। (१ तिमो. २:६; युह. ३:१६) यहोवा सकेसम्म धेरै मानिसले फिरौतीबाट लाभ उठाएको चाहनुहुन्छ। त्यसैले सुन्न चाहने सबैलाई सुसमाचार सुनाउन उहाँ आफ्ना जनहरूलाई चलाउँदै हुनुहुन्छ। दोस्रो, यहोवा व्यवस्थित र शान्तिका परमेश्वर हुनुहुन्छ। (१ कोरि. १४:३३, ४०) त्यसैले उहाँका उपासकहरूले पनि व्यवस्थित तरिकामा र शान्तिमा रहेर उहाँको सेवा गरेको आशा गर्न सकिन्छ। तेस्रो, यहोवा “महान् शिक्षक” हुनुहुन्छ। (यसै. ३०:२१) त्यसैले उहाँको सङ्गठनले मण्डली र प्रचारकार्य दुवैमा उहाँको प्रेरित वचनबाट सिकाउने कामलाई जोड दिन्छ। w२०.१० पृ. २० अनु. १-३