प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. ४७-५७
  • मे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • आइतबार, मे १
  • सोमबार, मे २
  • मङ्‌गलबार, मे ३
  • बुधबार, मे ४
  • बिहीबार, मे ५
  • शुक्रबार, मे ६
  • शनिबार, मे ७
  • आइतबार, मे ८
  • सोमबार, मे ९
  • मङ्‌गलबार, मे १०
  • बुधबार, मे ११
  • बिहीबार, मे १२
  • शुक्रबार, मे १३
  • शनिबार, मे १४
  • आइतबार, मे १५
  • सोमबार, मे १६
  • मङ्‌गलबार, मे १७
  • बुधबार, मे १८
  • बिहीबार, मे १९
  • शुक्रबार, मे २०
  • शनिबार, मे २१
  • आइतबार, मे २२
  • सोमबार, मे २३
  • मङ्‌गलबार, मे २४
  • बुधबार, मे २५
  • बिहीबार, मे २६
  • शुक्रबार, मे २७
  • शनिबार, मे २८
  • आइतबार, मे २९
  • सोमबार, मे ३०
  • मङ्‌गलबार, मे ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. ४७-५७

मे

आइतबार, मे १

उहाँ . . . तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।—लुका २:५१.

ठिटो छँदा येसुले आफ्ना आमाबुबाको अधीनमा बस्ने छनौट गर्नुभयो। उहाँले आफ्ना आमाबुबाको निर्देशनलाई कहिल्यै तिरस्कार गर्नुभएन न त उहाँले आमाबुबालाई भन्दा आफूलाई धेरै थाह छ भनेर तर्क नै गर्नुभयो। परिवारको जेठो छोराको रूपमा येसुले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उहाँले आफ्नो मानव बुबासित काम सिक्न पक्कै धेरै मेहनत गर्नुभयो, जसले गर्दा उहाँले परिवारलाई आर्थिक तवरमा सघाउन सक्नुभयो। येसुका आमाबुबाले उहाँको जन्म एउटा चमत्कार थियो भनेर उहाँलाई बताएको हुनुपर्छ। साथै उहाँको विषयमा परमेश्‍वरका सन्देशवाहकहरूले भनेको कुरा पनि बताएको हुनुपर्छ। (लुका २:८-१९, २५-३८) तर येसु आफूले सुनेको कुरामा मात्रै चित्त बुझाएर बस्नुभएन। बरु उहाँले आफूबारे धर्मशास्त्रमा लेखिएका कुराहरू राम्ररी अध्ययन पनि गर्नुभयो। येसु परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौँ? किनकि उहाँ ठिटै छँदा यरुसलेमका शिक्षकहरू ‘उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परेका थिए।’ (लुका २:४६, ४७) यहोवा आफ्नो बुबा हुनुहुन्छ भन्‍ने कुरामा येसु बाह्र वर्षको उमेरमै विश्‍वस्त भइसक्नुभएको थियो।—लुका २:४२, ४३, ४९. w२०.१० पृ. २९-३० अनु. १३-१४

सोमबार, मे २

ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो।—१ कोरि. १५:१२.

येसु जीवित हुनुभएको कुरामा विश्‍वास गर्नु हाम्रो ख्रिष्टियन आशाको मुख्य आधार हो। प्रेषित पावलले फेरि जीवित हुने आशाबारे चर्चा गर्दा सुरुमै यी तीन वटा तथ्य उल्लेख गरे: (१) “ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो।” (२) उहाँलाई “गाडियो।” (३) “धर्मशास्त्रमा लेखिएबमोजिमै उहाँ तेस्रो दिनमा ब्युँताइनुभयो।” (१ कोरि. १५:३, ४) येसुको मृत्यु हुनु, उहाँलाई गाडिनु र उहाँ फेरि जीवित हुनुले हाम्रो लागि कस्तो अर्थ राख्छ? भविष्यवक्‍ता यसैयाले बताएअनुसार मसीहलाई ‘जीवितहरूको देशबाट हटाइने थियो’ र उहाँलाई ‘दुष्ट मानिसहरूसँगै गाडिने थियो।’ तर यसैयाले अर्को एउटा कुरा पनि बताए। मसीहले “थुप्रै मानिसको पाप” आफ्नो शिरमा लिनुहुने थियो। येसुले फिरौतीस्वरूप आफ्नो ज्यान दिएर यसो गर्नुभयो। (यसै. ५३:८, ९, १२; मत्ति २०:२८; रोमी ५:८) येसुको मृत्यु भएको, उहाँलाई गाडिएको र उहाँ फेरि जीवित हुनुभएको कुराले हामीलाई पाप र मृत्युबाट छुटकारा पाउने र मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌ने आशामा विश्‍वास गर्ने ठोस कारण दिन्छ। w२०.१२ पृ. २-३ अनु. ४-६; पृ. ५ अनु. ११

मङ्‌गलबार, मे ३

यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ। यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन्‌ धेरै छ।—फिलि. ३:४.

प्रेषित पावल अक्सर यहुदी सभाघरहरूमा सिकाउँथे। उदाहरणको लागि, तिनले थिस्सलोनिकाको सभाघरमा “तीन हप्तासम्म हरेक विश्रामदिनमा ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।” (प्रेषि. १७:१, २) सायद पावललाई सभाघरहरूमा सिकाउन सजिलो लाग्थ्यो। तिनी पनि एक यहुदी थिए। (प्रेषि. २६:४, ५) तिनी यहुदीहरूको कुरा बुझ्न सक्थे, त्यसैले निर्धक्क भई तिनीहरूलाई प्रचार गर्न सके। (फिलि. ३: ५) थिस्सलोनिकामा अनि पछि बिरियामा मानिसहरूको विरोधले गर्दा पावल भागेर एथेन्स जान बाध्य भए। त्यहाँ पनि “सभाघरभित्र पसेर तिनले यहुदीहरू अनि परमेश्‍वरको उपासना गर्ने अरू मानिससित तर्क गर्न थाले।” (प्रेषि. १७:१७) तर पावलले बजारमा भेटेका मानिसहरू भने फरक थिए। तिनीहरूमध्ये कोही-कोही दार्शनिक अनि अन्यजातिका थिए, जसले पावलको सन्देशलाई “नौलो शिक्षा” ठाने। त्यसैले तिनीहरूले पावललाई यसो भने: “हामीले कहिल्यै नसुनेको कुरा तपाईँ सिकाउँदै हुनुहुन्छ।”—प्रेषि. १७:१८-२०. w२०.०४ पृ. ९ अनु. ५-६

बुधबार, मे ४

जब म जे ठीक छ, त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।—रोमी ७:२१.

आफ्ना कमीकमजोरीसित सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने आफू बेकामको छु भन्‍ने नसोच्नुहोस्‌। नबिर्सनुहोस्‌, हामीमध्ये कोही पनि आफ्नै बलबर्कतमा यहोवासामु धर्मी ठहरिन सक्दैनौँ। परमेश्‍वरले फिरौतीमार्फत देखाउनुभएको असीम अनुग्रह हामी सबैलाई चाहिन्छ। (एफि. १:७; १ युह. ४:१०) हाम्रो आध्यात्मिक परिवारले हामीलाई प्रोत्साहन दिनेछन्‌। हामीले कुरा गर्न खोज्दा तिनीहरूले हाम्रो कुरा सुन्छन्‌ र तिनीहरूका आश्‍वासनदायी शब्दहरूले हाम्रो मनलाई हल्का बनाउन सक्छ। (हितो. १२:२५; १ थिस्स. ५:१४) निराशासित सङ्‌घर्ष गरेकी नाइजेरियाकी जोइ बहिनी यसो भन्छिन्‌: “मण्डलीका दाजुभाइ दिदीबहिनी नभएको भए म कुन हालतमा हुन्थेँ होला? उहाँहरूबाट पाएको प्रोत्साहन यहोवा मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुराको प्रमाण हो। मन भाँचिएकाहरूलाई कसरी प्रोत्साहन दिने भनेर समेत मैले उहाँहरूबाट सिकेकी छु।” तर हामीलाई प्रोत्साहन चाहिएको कुरा हाम्रा दाजुभाइ दिदीबहिनीलाई सधैँ थाह नहुन सक्छ। त्यसैले परिपक्व भाइ वा बहिनीकहाँ गएर आफूलाई मदत चाहिएको कुरा बताउन हामी आफै अग्रसर हुनुपर्छ। w२०.१२ पृ. २४ अनु. ७-८

बिहीबार, मे ५

मैले तिमीहरूलाई मित्र भनेको छु।—युह. १५:१५.

प्रायजसो कसैसित घनिष्ठ मित्रता गाँस्न अक्सर चाल्नुपर्ने पहिलो कदम भनेको तिनीसित समय बिताउनु हो। एकअर्कासित कुरा गर्दा अनि आफ्नो सोचाइ र भावना साटासाट गर्दा तपाईँ एकअर्काको मित्र बन्‍नुहुन्छ। तर येसुसित घनिष्ठ मित्रता गाँस्न भने त्यति सजिलो नहुन सक्छ। एउटा कारण हो, हामीले येसुलाई भेटेका छैनौँ। प्रथम शताब्दीका थुप्रै ख्रिष्टियनले पनि येसुलाई भेटेका थिएनन्‌। तैपनि प्रेषित पत्रुसले यसो भने: “तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तैपनि उहाँमाथि विश्‍वास गर्छौ।” (१ पत्रु. १:८) त्यसकारण हामीले येसुलाई नभेटे पनि उहाँसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। अर्को कारण हो, हामी येसुसित कुरा गर्न सक्दैनौँ। प्रार्थना गर्दा हामी यहोवासित कुरा गरिरहेका हुन्छौँ। हुनत हामी येसुको नाममा प्रार्थना गर्छौँ तर सीधै उहाँसित कुरा भने गर्दैनौँ। वास्तवमा हामीले येसुलाई प्रार्थना गरेको उहाँ चाहनुहुन्‍न। किन? किनभने प्रार्थना उपासनाको एउटा भाग हो अनि हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ। (मत्ति ४:१०) तैपनि हामी येसुलाई प्रेम गरेको देखाउन सक्छौँ। w२०.०४ पृ. २० अनु. १-३

शुक्रबार, मे ६

[परमेश्‍वरले] तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ।—१ पत्रु. ५:१०.

ग्रीसमा आयोजना गरिने दौडका धावकहरूले थकान र दुखाइजस्ता अवरोधहरू पार गर्दै दौड दौडिरहनुपर्थ्यो। तिनीहरू आफूले पाएको तालिम र आफ्नो बलमा भर परेमा दौड पूरा गर्न सक्थे। हामी ती धावकहरूजस्तै हौँ किनभने दौड कसरी पूरा गर्ने भनेर हामीले पनि तालिम पाएका छौँ। तर हामीसित ती वास्तविक धावकहरूसित नभएको एउटा ठूलो मदत छ। हामी शक्‍तिको असीमित स्रोत यहोवामा भर पर्न सक्छौँ। उहाँमा भर पऱ्‍यौँ भने उहाँले हामीलाई तालिम दिने मात्र नभई हामीलाई बलियो पार्ने प्रतिज्ञा पनि गर्नुभएको छ। प्रेषित पावलले थुप्रै अवरोधको सामना गर्नुपरेको थियो। मानिसहरूले तिनको अपमान र खेदो गरे। त्यति मात्र होइन, तिनले कहिलेकाहीँ कमजोर महसुस गरे अनि आफ्नो “शरीरमा एउटा छेस्को” पनि सहनुपऱ्‍यो। (२ कोरि. १२:७) ती अवरोधहरूलाई ठेस लाग्ने कारण ठान्‍नुको साटो तिनले त्यसलाई यहोवामा भर पर्ने मौकाको रूपमा लिए। (२ कोरि. १२:९, १०) पावलको यस्तो मनोवृत्तिले गर्दा यहोवाले तिनलाई सबै अवरोधहरू पार गर्दै अघि बढ्‌न मदत गर्नुभयो। w२०.०४ पृ. २९ अनु. १३-१४

शनिबार, मे ७

बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।—युह. ६:४४.

हाम्रो आँखाले देख्न नसक्ने एउटा धन हो, हामीले यहोवा, येसु अनि स्वर्गदूतहरूको “सहकर्मी” हुने अमूल्य सुअवसर पाएका छौँ। (२ कोरि. ६:१) चेला बनाउने काममा भाग लिँदा हामीले यहोवा र उहाँको सङ्‌गठनको स्वर्गमा रहेको भागसँगसँगै काम गरिरहेका हुन्छौँ। पावलले आफूलगायत यस काममा भाग लिनेहरूबारे यसो भने: “हामी परमेश्‍वरका सहकर्मीहरू हौँ।” (१ कोरि. ३:९) प्रचारकार्यमा भाग लिँदा हामी येसुको पनि सहकर्मी भइरहेका हुन्छौँ। “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भनेर आफ्ना चेलाहरूलाई आज्ञा दिनुभएपछि येसुले के भन्‍नुभयो, सम्झनुहोस्‌ त। उहाँले यसो भन्‍नुभयो: “म . . . तिमीहरूसितै छु।” (मत्ति २८:१९, २०) स्वर्गदूतहरूबारे चाहिँ के भन्‍न सकिन्छ? “पृथ्वीमा बास गर्नेहरू[लाई] . . . सदासर्वदा रहने सुसमाचार” सुनाउने काममा स्वर्गदूतहरूको डोऱ्‍याइ पाउँदा हामी साँच्चै कृतज्ञ छौँ! (प्रका. १४:६) यहोवा, येसु अनि स्वर्गदूतहरूको साथ पाएर हामीले के गर्न सकेका छौँ? हामीले राज्यको बिउ छर्दा कुनै-कुनै बिउ हाम्रो सन्देश सुन्‍न चाहने मानिसहरूको मनमा पर्छ र त्यो बढ्‌छ। (मत्ति १३:१८, २३) सत्यका ती बिउहरू कसले गर्दा बढ्‌छन्‌ र फल फलाउँछन्‌? यसको जवाफ येसुले आजको पदमा दिनुभएको छ। w२०.०५ पृ. ३० अनु. १४-१५

आइतबार, मे ८

तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड।—रोमी १२:२.

आज लाखौँ परिवार सम्बन्धविच्छेदले गर्दा टुक्रिएका छन्‌। एउटै घरमा बस्ने परिवार पनि अपरिचित मानिसहरू जस्तो हुन सक्छन्‌। पारिवारिक जीवनसम्बन्धी एक परामर्शदाता यसो भन्छन्‌: “आमाबुबा र छोराछोरीको एकअर्कासितको सम्बन्ध टुट्‌छ र तिनीहरूको सम्बन्ध कम्प्युटर, ट्याबलेट, फोन र भिडियो गेमसित जोडिन्छ। यस्ता परिवारहरू एउटै छतमुनि बसे तापनि एकअर्कालाई खासै चिनेका हुँदैनन्‌।” हामी प्रेमरहित संसारको चालढालअनुसार चल्न चाहँदैनौँ। बरु हामीले आफ्नो परिवारका सदस्यहरूलाई मात्र होइन, मण्डलीका दाजुभाइ दिदीबहिनीलाई पनि कोमल स्नेह देखाउनुपर्छ। (रोमी १२:१०) कोमल स्नेह भनेको के हो? यसले विशेषगरि परिवारका सदस्यहरूबीच हुने न्यानो र मायालु सम्बन्धलाई बुझाउँछ। यस्तो प्रकारको प्रेम हामीले हाम्रो आध्यात्मिक परिवार अर्थात्‌ हाम्रा ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई पनि देखाउनुपर्छ। हामीले कोमल स्नेह देखाउँदा एकता कायम गर्न मदत गरिरहेका हुन्छौँ, जुन साँचो उपासनाको महत्त्वपूर्ण भाग हो।—मिका २:१२. w२१.०१ पृ. २० अनु. १-२

सोमबार, मे ९

तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।—भज. ८६:११.

सबै सदस्य एकजुट भएको खेलकूद टिमले जित्ने सम्भावना धेरै हुन्छ। तपाईँको सोचाइ, इच्छा र भावना यहोवाको सेवा गर्न एकाग्र छन्‌ भने हृदय सफल टिमजस्तो हुनेछ। नबिर्सनुहोस्‌, सैतान तपाईँको हृदयलाई विभाजित पार्न चाहन्छ। त्यसले तपाईँको सोचाइ, इच्छा र भावनाबीच बेमेल ल्याउन र तपाईँलाई यहोवाको स्तरसित मेल नखाने कदम चाल्न उक्साउँछ। तर यहोवाको सेवा गर्न तपाईँले आफ्नो हृदयलाई एकचित्तको बनाउनुपर्छ। (मत्ति २२:३६-३८) तपाईँको हृदयलाई विभाजित पार्न सैतानलाई कहिल्यै मौका नदिनुहोस्‌! दाउदले जस्तै यसरी प्रार्थना गर्नुहोस्‌: “तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।” यही प्रार्थनाअनुरूप जीवन बिताउन यथासक्दो प्रयास गर्नुहोस्‌। हरेक दिन तपाईँले गर्ने साना-ठूला निर्णयहरूमा यहोवाको पवित्र नामको गहिरो श्रद्धा गरेको देखाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ यहोवाको साक्षी भएकोले उहाँको नाममा कलङ्‌क लाग्ने कुनै काम गर्नुहुनेछैन। (हितो. २७:११) अनि हामी सबै जना भविष्यवक्‍ता मिकाले जस्तै यसो भन्‍न सक्नेछौँ: “हामी . . . सदासर्वदा यहोवा हाम्रा परमेश्‍वरको नाममा हिँड्‌नेछौँ।”—मिका ४:५. w२०.०६ पृ. १३ अनु. १७-१८

मङ्‌गलबार, मे १०

तिनी रिसले चूर भएर धेरैलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेट्‌न निस्किनेछन्‌।—दानि. ११:४४.

उत्तरका राजाले अरू मानव सरकारहरूसित मिलेर परमेश्‍वरका जनहरूलाई आक्रमण गर्दा सर्वशक्‍तिमान्‌ परमेश्‍वर क्रोधित हुनुहुनेछ र आरमागेडोनको युद्ध सुरु हुनेछ। (प्रका. १६:१४, १६) त्यतिबेला, मागोगको गोगको भाग बनेका राष्ट्रहरूसँगै उत्तरका राजा पनि नाश हुनेछन्‌ र “तिनलाई मदत गर्ने कोही हुनेछैन।” (दानि. ११:४५) दानिएल १२:१ मा उत्तरका राजा र त्यसका समर्थकहरू कसरी नाश हुनेछन्‌ र हामी कसरी बच्नेछौँ भनेर थप जानकारी दिइएको छ। यस पदको अर्थ के हो? परमेश्‍वरको राज्यको राजा ख्रिष्ट येसुको अर्को नाम माइकल हो। इस्वी संवत्‌ १९१४ मा स्वर्गमा राजा हुनुभएदेखि उहाँ परमेश्‍वरका जनहरूको पक्षमा “खडा” भइरहनुभएको छ। निकट भविष्यमा उहाँ आफ्ना शत्रुहरूलाई नाश गर्न आरमागेडोनको युद्धमा “खडा” हुनुहुनेछ। यो युद्ध दानिएलले वर्णन गरेका घटनाहरूमध्ये अन्तिम हुनेछ, जुन मानव इतिहासले पहिला कहिल्यै अनुभव नगरेको “सङ्‌कटको समय” हुनेछ।—प्रका. ६:२; ७:१४. w२०.०५ पृ. १५-१६ अनु. १५-१७

बुधबार, मे ११

इस्माएलीहरूले युसुफलाई मिश्र लगे।—उत्प. ३९:१.

युसुफ दास छँदा र पछि झ्यालखानामा पर्दा आफ्नो परिस्थिति सुधार्न तिनले गर्न सक्ने खासै केही थिएन। तिनले कसरी सकारात्मक मनोवृत्ति राख्न सके? आफूले गर्न नसक्ने कुरामा ध्यान दिनुको सट्टा तिनले लगनशील भई आफूलाई अह्राइएको काम गरे। युसुफले जीवनमा यहोवा परमेश्‍वरलाई प्रथम स्थानमा राखे। अनि यहोवाले पनि तिनको हरेक काम सफल तुल्याइदिनुभयो। (उत्प. ३९:२१-२३) युसुफको विवरणले यो संसार क्रूर छ र मानिसहरूले हामीलाई अन्यायी व्यवहार गर्नेछन्‌ भनेर सम्झाउँछ। हाम्रै दाजुभाइ दिदीबहिनीले समेत हाम्रो चित्त दुखाउन सक्छ। तर यहोवालाई हाम्रो चट्टान र शरणस्थान बनायौँ भने हामी निराश हुनेछैनौँ वा उहाँको सेवा गर्न छोड्‌नेछैनौँ। (भज. ६२:६, ७; १ पत्रु. ५:१०) यहोवाले युसुफलाई भविष्यसूचक सपनाहरू देखाउनुहुँदा तिनी करिब १७ वर्षको मात्र थिए भन्‍ने कुरा पनि याद गर्नुहोस्‌। हो, यहोवा आफ्ना जवान सेवकहरूमाथि भरोसा राख्नुहुन्छ। आज थुप्रै जवान युसुफजस्तै छन्‌। तिनीहरू पनि यहोवामा भरोसा राख्छन्‌। तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो वफादारीमा सम्झौता नगरेकोले कतिपयलाई अन्यायपूर्ण तरिकाले झ्यालखानामा हालिएको छ।—भज. ११०:३. w२०.१२ पृ. १६ अनु. ३; पृ. १७ अनु. ५, ७

बिहीबार, मे १२

तिनीहरूले . . . प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए र येसुको नाममा बोल्दै नबोल्नू भन्‍ने आदेश [दिए]।—प्रेषि. ५:४०.

प्रेषित पत्रुस र युहन्‍नाले येसुको पछि लागेकोमा र उहाँका शिक्षाहरू अरूलाई सिकाएकोमा खेदो सहनुपर्दा त्यसलाई सम्मानको कुरा ठाने। (प्रेषि. ४:१८-२१; ५:२७-२९, ४१, ४२) ती चेलाहरूले लज्जित महसुस गर्नुपर्ने कुनै कारण थिएन। इतिहास केलाउने हो भने प्रथम शताब्दीका ती नम्र ख्रिष्टियनहरूले मानिसहरूको हित हुने काम तिनीहरूका कुनै पनि विरोधीहरूले भन्दा धेरै गरे। उदाहरणको लागि, ती ख्रिष्टियनहरूमध्ये कसै-कसैले लेखेका ईश्‍वरप्रेरित किताबहरूले अहिले पनि लाखौँ मानिसहरूलाई मदत गर्नुका साथै आशा दिइरहेका छन्‌। अनि तिनीहरूले प्रचार गरेको परमेश्‍वरको राज्य अहिले पनि अस्तित्वमा छ र त्यसले चाँडै सम्पूर्ण मानिसजातिमाथि शासन गर्नेछ। (मत्ति २४:१४) तर ती ख्रिष्टियनहरूलाई खेदो गर्ने शक्‍तिशाली राजनैतिक शक्‍तिको भने अहिले नामोनिसान छैन। साथै येसुका ती वफादार चेलाहरू अहिले स्वर्गमा राजाको रूपमा शासन गर्दै छन्‌। तर तिनीहरूका विरोधीहरू मरिसके। यदि ती विरोधीहरू फेरि जीवित भइहाले भने पनि उनीहरू ती ख्रिष्टियनहरूले प्रचार गरेको राज्यको प्रजा हुनेछन्‌, जसलाई उनीहरूले घृणा गरेका थिए।—प्रका. ५:१०. w२०.०७ पृ. १५ अनु. ४

शुक्रबार, मे १३

[अब्राहाम] साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको रचनाकार र निर्माता परमेश्‍वर हुनुहुन्छ।—हिब्रू ११:१०.

अब्राहामले परमेश्‍वरका प्रतिज्ञाहरूमा यति बलियो विश्‍वास राखेका थिए कि तिनको लागि परमेश्‍वरको राज्यको राजा बन्‍नुहुने अभिषिक्‍त जन अर्थात्‌ मसीह आफ्नै आँखाले देखेझैँ थियो। यसकारण येसुले आफ्नो समयका यहुदीहरूलाई यसो भन्‍न सक्नुभयो: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।” (युह. ८:५६) कुरा स्पष्ट छ, अब्राहामलाई आफ्ना सन्तान परमेश्‍वरले स्थापना गर्नुहुने राज्यको भाग हुनेछ भनेर थाह थियो। अनि तिनी यहोवाले त्यो प्रतिज्ञा पूरा गर्नुहुने समय पर्खन इच्छुक थिए। परमेश्‍वरले रचना गर्नुभएको सहरको अर्थात्‌ उहाँको राज्यको प्रतीक्षा गरिरहेको अब्राहामले कसरी देखाए? सर्वप्रथम, अब्राहाम पृथ्वीको कुनै राज्यको प्रजा भएनन्‌। तिनले फिरन्ते जीवन बिताए; तिनी कुनै एउटा ठाउँमा बसोबास गरेनन्‌ अनि तिनले कुनै मानव राजालाई समर्थन गरेनन्‌। साथै तिनले आफ्नै राज्य स्थापना गर्ने प्रयास गरेनन्‌। बरु यहोवाको आज्ञा पालन गरिरहे अनि उहाँले प्रतिज्ञा पूरा गर्नुहुने समयको प्रतीक्षा गरे। यसरी अब्राहामले यहोवामाथि असाधारण विश्‍वास देखाए। w२०.०८ पृ. ३ अनु. ४-५

शनिबार, मे १४

जो मर्छ, ऊ आफ्नो पापबाट मुक्‍त हुन्छ।—रोमी ६:७.

ख्रिष्टको शासनमा कसैले पनि “म बिरामी छु” भन्‍नेछैन भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (यसै. ३३:२४) त्यसैले मरेकाहरूलाई जीवित पारिँदा तिनीहरू स्वस्थ शरीरसहित ब्युँतनेछन्‌। तर तिनीहरू तुरुन्तै त्रुटिरहित भने हुनेछैनन्‌। यदि त्यसो भयो भने त तिनीहरूका प्रियजनहरूले तिनीहरूलाई चिन्‍नेछैनन्‌। ख्रिष्टको हजार वर्षीय शासनको दौडान सबै मानिस बिस्तारै त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ जस्तो देखिन्छ। हजार वर्षीय शासनको अन्तमा मात्र येसुले आफ्नो बुबालाई उहाँको राज्य सुम्पनुहुनेछ। त्यतिन्जेल परमेश्‍वरको राज्यले आफ्नो सबै काम पूरा गरिसकेको हुनेछ, जसमा सबै मानिसलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनु पनि समावेश छ। (१ कोरि. १५:२४-२८; प्रका. २०:१-३) मरेका प्रियजनहरूसित फेरि भेट्‌न पाउँदा कस्तो होला, कल्पना गर्नुहोस्‌ त! तपाईँ खुसीले हाँस्नुहुनेछ कि रुनुहुनेछ? के तपाईँ यहोवाको प्रशंसा गर्दै गीत गाउन थाल्नुहुनेछ? एउटा कुरा भने पक्का छ, मरेकाहरूलाई फेरि भेट्‌न पाउने अनमोल आशा दिनुभएकोमा हाम्रा मायालु बुबा र उहाँको निःस्वार्थी छोराप्रति तपाईँको हृदय अपार प्रेमले भरिनेछ। w२०.०८ पृ. १६-१७ अनु. ९-१०

आइतबार, मे १५

हरेकले परमेश्‍वरबाट आ-आफ्नै वरदान पाएको हुन्छ, कसैले यस्तो त कसैले त्यस्तो।—१ कोरि. ७:७.

प्रेषित पावलले ख्रिष्टियनहरूलाई अविवाहितै रहेर यहोवाको सेवा गर्न सकिन्छ कि भनेर विचार गर्न प्रोत्साहन दिए। (१ कोरि. ७:८, ९) पावलले अविवाहित ख्रिष्टियनहरूलाई कहिल्यै तुच्छ नजरले हेरेनन्‌। वास्तवमा तिनले गहन जिम्मेवारीहरू सम्हाल्न अविवाहित र जवान भाइ तिमोथिलाई रोजे। (फिलि. २:१९-२२) त्यसैले कुनै भाइ विवाहित वा अविवाहित भएकै आधारमा तिनी धेरै वा कम योग्य छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। (१ कोरि. ७:३२-३५, ३८) ख्रिष्टियनहरूले विवाह गर्नै पर्छ वा अविवाहित रहनै पर्छ भनेर येसु र पावल दुवै जनाले सिकाउनुभएन। त्यसोभए विवाह गर्ने र अविवाहित रहनेबारे हामी के भन्‍न सक्छौँ? अक्टोबर १, २०१२ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यस प्रश्‍नको राम्रो जवाफ दिइएको थियो। त्यहाँ यस्तो लेखिएको थियो: “[विवाहित र अविवाहित] दुवै अवस्थालाई परमेश्‍वरको वरदान भन्‍न सकिन्छ। . . . यहोवा [अविवाहित अवस्थालाई] लाज मान्‍नुपर्ने वा दुःखी हुनुपर्ने कुराको रूपमा हेर्नुहुन्‍न।” यो कुरा मनमा राख्दै हामीले मण्डलीमा अविवाहित भाइबहिनीको स्थानको कदर गर्नुपर्छ। w२०.०८ पृ. २८ अनु. ८-९

सोमबार, मे १६

त्यस दिन र समयको विषयमा कसैले जान्दैन, . . . बुबाले मात्र जान्‍नुहुन्छ।—मत्ति २४:३६.

कुनै-कुनै देशका मानिसहरूले सुसमाचार सुन्दा असाध्यै राम्रो प्रतिक्रिया देखाउँछन्‌। वास्तवमा तिनीहरू यस्तै कुराको खोजीमा हुन्छन्‌! अरू कतिपय देशका मानिसहरू भने परमेश्‍वर वा बाइबलमा त्यत्ति चासो देखाउँदैनन्‌। तपाईँको इलाकाका प्रायजसो मानिसहरूले चाहिँ कस्तो प्रतिक्रिया देखाउँछन्‌? मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि यहोवाले पुग्यो नभन्‍नुभएसम्म हामी प्रचारकार्यमा लागिरहेको उहाँ आशा गर्नुहुन्छ। यहोवाले तोक्नुभएको समयमा प्रचारकार्य बन्द हुनेछ र त्यसपछि “यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) येसुले अन्तको दिनलाई सङ्‌केत गर्ने र चेलाहरूलाई प्रचारकार्यमा लाग्नदेखि अलमल्याउन सक्ने घटनाहरू र परिस्थितिहरूबारे भविष्यवाणी गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई “जागा रहो” भन्‍नुभयो। (मत्ति २४:४२) नुहको समयका मानिसहरू विभिन्‍न कुरामा अलमलिएकोले नुहको चेतावनीमा ध्यान दिएनन्‌। आज हामीलाई पनि त्यस्तै कुराहरूले अलमल्याउन सक्छ। (मत्ति २४:३७-३९; २ पत्रु. २:५) त्यसैले यहोवाले दिनुभएको काममा हामी एकाग्र भई लाग्न चाहन्छौँ। w२०.०९ पृ. ८ अनु. १-२, ४

मङ्‌गलबार, मे १७

ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।—२ तिमो. ३:१२.

सैतान “असाध्यै रिसाएको छ” अनि त्यसको रिसबाट आफू कुनै न कुनै तरिकामा उम्कन सक्छु भन्ठान्छौँ भने आफैलाई धोका दिइरहेका हुन्छौँ। (प्रका. १२:१२) निकट भविष्यमा हामी सबैको सत्यनिष्ठाको जाँच हुनेछ। चाँडै “यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।” (मत्ति २४:२१) त्यतिबेला हाम्रै परिवारका सदस्यहरू हामीविरुद्ध उठ्‌न सक्छन्‌ अनि हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाइन सक्छ। (मत्ति १०:३५, ३६) के त्यतिबेला हामी प्रत्येकले राजा आसाले जस्तै मदत र सुरक्षाको लागि यहोवामाथि भरोसा गर्नेछौँ? (२ इति. १४:११) यहोवाले हामीलाई भविष्यमा हुने घटनाहरूको लागि आध्यात्मिक रूपमा तयार पार्दै हुनुहुन्छ। हामीलाई बलियो बनाउने पोसिलो आध्यात्मिक भोजन “ठीक समयमा” उपलब्ध गराउन यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई डोऱ्‍याइरहनुभएको छ। (मत्ति २४:४५) तर हामीले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नुपर्छ र यहोवामाथि अटल विश्‍वास राख्नुपर्छ।—हिब्रू १०:३८, ३९. w२०.०९ पृ. १८ अनु. १६-१८

बुधबार, मे १८

राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो, उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।—हितो. २१:१.

कुनै कुरा यहोवाको उद्देश्‍यअनुरूप छ भने त्यो पूरा गर्न उहाँ आफ्नो पवित्र शक्‍ति चलाएर अख्तियारमा भएका व्यक्‍तिहरूलाई समेत प्रयोग गर्न सक्नुहुन्छ। मानिसहरूले कुलो खनेर खोलाको पानीलाई आफूले चाहेको दिशामा मोड्‌न सक्छ। त्यसरी नै यहोवाले पनि आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र शक्‍ति चलाएर शासकहरूको सोचाइलाई मोडिदिन सक्नुहुन्छ। फलस्वरूप अख्तियारमा भएका व्यक्‍तिहरू परमेश्‍वरका सेवकहरूलाई फाइदा पुग्ने निर्णयहरू गर्न उत्प्रेरित हुन्छन्‌। (एज्रा ७:२१, २५, २६ तुलना गर्नुहोस्‌) हामी के गर्न सक्छौँ? ‘राजाहरू र उच्च अख्तियारवालाहरू’ हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्यलाई असर गर्ने निर्णयहरू गर्नुपर्ने अवस्थामा हुँदा हामी तिनीहरूको लागि प्रार्थना गर्न सक्छौँ। (१ तिमो. २:१, २, फुटनोट; नहे. १:११) प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै हामी पनि जेलमा भएका हाम्रा दाजुभाइ दिदीबहिनीको लागि तनमनले प्रार्थना गर्छौँ।—प्रेषि. १२:५; हिब्रू १३:३. w२०.११ पृ. १५ अनु. १३-१४

बिहीबार, मे १९

सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई . . . बप्तिस्मा गराओ।—मत्ति २८:१९.

तपाईँले बाइबल अध्ययन गराएको व्यक्‍तिले बप्तिस्मा गरेको देख्दा तपाईँलाई पक्कै खुसी लाग्छ! (१ थिस्स. २:१९, २०) भर्खरै बप्तिस्मा गरेका चेलाहरू तिनीहरूको बाइबल अध्ययन सञ्चालकको लागि मात्र होइन, पूरै मण्डलीको लागि राम्रो “सिफारिसपत्र” हुन्‌। (२ कोरि. ३:१-३) चार वर्षको अवधिमा यहोवाका साक्षीहरूले संसारभर हरेक महिना औसतमा लगभग एक करोड बाइबल अध्ययन सञ्चालन गरे। अनि ती वर्षहरूको दौडान औसतमा प्रत्येक वर्ष २ लाख ८० हजारभन्दा धेरैले बप्तिस्मा गरेर यहोवाको साक्षी र येसु ख्रिष्टको नयाँ चेला बनेका छन्‌। तर अझ धेरै बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ? अहिले यहोवाले धैर्य गरेर मानिसहरूलाई ख्रिष्टको चेला बन्‍ने समय र मौका दिइरहनुभएको छ। त्यसैले हामी तिनीहरूलाई सकेसम्म चाँडो बप्तिस्मासम्म पुग्न सक्दो मदत गर्न चाहन्छौँ। किनकि समय थोरै मात्र बाँकी छ!—१ कोरि. ७:२९क; १ पत्रु. ४:७. w२०.१० पृ. ६ अनु. १-२

शुक्रबार, मे २०

परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।—याकु. ४:६.

राजा साउलले यहोवाको आज्ञा पालन गरेनन्‌। अनि भविष्यवक्‍ता समुएलले त्यसबारे सोध्दा तिनले आफ्नो गल्ती स्विकारेनन्‌। तिनले आफूले गरेको गल्ती त्यत्ति गम्भीर होइन भनेर सफाइ दिन खोजे र अरूमाथि दोष थोपरे। (१ समु. १५:१३-२४) साउलले पहिला पनि त्यस्तै मनोवृत्ति देखाएका थिए। (१ समु. १३:१०-१४) दुःखको कुरा, तिनले आफ्नो हृदयलाई घमन्डले फुल्न दिए। तिनले आफ्नो सोचाइ सुधारेनन्‌। त्यसैले यहोवाले तिनलाई सजाय दिनुभयो र तिनलाई त्याग्नुभयो। हामी साउलजस्तो हुन चाहँदैनौँ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘परमेश्‍वरको वचनमा कुनै सल्लाह पढ्‌दा के म त्यो लागू नगर्न बहाना बनाउँछु? कुनै गल्ती गर्दा के म आफ्नो गल्ती त्यत्ति गम्भीर होइन भन्‍ने सोचाइ राख्छु? के म अरूमाथि दोष थोपर्न खोज्छु?’ यी प्रश्‍नहरूबारे विचार गर्दा आफूले पनि कुनै क्षेत्रमा यस्तै गर्दै छु जस्तो लाग्छ भने हामीले आफ्नो सोचाइ र मनोवृत्तिमा छाँटकाँट गर्नै पर्छ। नत्र त हामी अहङ्‌कारी हुनेछौँ र यहोवाले हामीसितको मित्रता तोड्‌नुहुनेछ। w२०.११ पृ. २० अनु. ४-५

शनिबार, मे २१

युवावस्थामै आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना गर, दुःखका दिनहरू आउनुअघि नै, जब तिमीले भन्‍नेछौ, “अब त केही गर्ने मन छैन।”—उप. १२:१.

युवाहरू हो, कसको सेवा गर्ने भनी निर्णय गर्नुहोस्‌। यहोवा को हुनुहुन्छ, उहाँको उद्देश्‍यमा के-कस्ता कुरा समावेश छन्‌ अनि तपाईँ कसरी उहाँको इच्छा पूरा गर्न सक्नुहुन्छ भनी राम्ररी मनन गर्नुहोस्‌। (रोमी १२:२) तब तपाईँले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न सक्नुहुनेछ र त्यो हो, यहोवाको सेवा गर्ने निर्णय। (यहो. २४:१५) नियमित रूपमा बाइबल पढ्‌ने र अध्ययन गर्ने बानी बसाल्नुभयो भने यहोवाप्रतिको तपाईँको प्रेम बढ्‌दै जानेछ अनि उहाँमाथिको विश्‍वास पनि बलियो हुनेछ। यहोवाको इच्छालाई पहिलो स्थानमा राख्ने छनौट गर्नुहोस्‌। सैतानको संसारले तपाईँले आफ्नो खुबी आफ्नै फाइदाको लागि चलाउनुभयो भने तपाईँ खुसी हुनुहुनेछ भनी सिकाउँछ। तर वास्तविकता के हो भने, भौतिक कुराहरू हासिल गर्नमै लग्गू हुनेहरूले “थुप्रै पीडाले आफूलाई चोटैचोट” पुऱ्‍याउँछन्‌। (१ तिमो. ६:९, १०) अर्कोतर्फ तपाईँले यहोवाको कुरा सुन्‍नुभयो र उहाँको इच्छालाई पहिलो स्थानमा राख्ने छनौट गर्नुभयो भने तपाईँको जीवन सफल हुनेछ अनि “बुद्धि पुऱ्‍याएर कदम चाल्न” सक्नुहुनेछ।—यहो. १:८. w२०.१० पृ. ३०-३१ अनु. १७-१८

आइतबार, मे २२

मैले . . . परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।—लुका ४:४३.

प्रथम शताब्दीमा येसुले सुनाउनुभएको सन्देशले मानिसहरूमा आशा जगायो। उहाँले आफ्ना चेलाहरूलाई आफूले सुरु गरेको कामलाई निरन्तरता दिन र “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन आज्ञा दिनुभयो। (प्रेषि. १:८) तिनीहरूले पक्कै पनि यो काम आफ्नै बलमा गर्न सक्ने थिएनन्‌। तिनीहरूलाई येसुले प्रतिज्ञा गर्नुभएको “मदतगार” अर्थात्‌ पवित्र शक्‍तिको आवश्‍यकता पर्ने थियो। (युह. १४:२६; जक. ४:६) येसुका चेलाहरूले इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन पवित्र शक्‍ति पाए। पवित्र शक्‍ति पाएपछि तिनीहरूले तुरुन्तै प्रचार गर्न थाले अनि छोटो समयमै हजारौँले सुसमाचार स्विकारे। (प्रेषि. २:४१; ४:४) खेदो आइपर्दा चेलाहरू डराएर पछि हटेनन्‌। बरु मदतको लागि परमेश्‍वरमा भर परे। तिनीहरूले यसरी प्रार्थना गरे: “आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌।” त्यसपछि तिनीहरू पवित्र शक्‍तिले भरिए अनि “निडर भएर परमेश्‍वरको वचन बोल्न थाले।”—प्रेषि. ४:१८-२०, २९, ३१. w२०.१० पृ. २१ अनु. ४-५

सोमबार, मे २३

धर्मशास्त्रमा लेखिएबमोजिमै ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो अनि . . . उहाँ . . . ब्युँताइनुभयो।—१ कोरि. १५:३, ४.

यहोवाले येसुलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौँ? मृत्युबाट जीवित हुनुभएको येसुलाई थुप्रै मानिसले देखे। (१ कोरि. १५:५-७) येसुलाई देखेका मानिसहरूको सूचीमा प्रेषित पावलले उल्लेख गरेको पहिलो व्यक्‍ति प्रेषित पत्रुस (केफास) थिए। साथै जीवित हुनुभएको येसुलाई पत्रुसले देखेको कुरा साँचो हो भनेर केही चेलाले बताए। (लुका २४:३३, ३४) यसबाहेक येसु जीवित हुनुभएपछि “बाह्रै” प्रेषितले उहाँलाई देखे। त्यसपछि सायद मत्ति २८:१६-२० मा चर्चा गरिएको गालिलको उत्साहजनक सभामा ख्रिष्ट “एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो।” साथै येसु “याकुबकहाँ . . . देखा पर्नुभयो,” जो सायद उहाँका भाइ थिए र उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरामा पहिला तिनी विश्‍वास गर्दैनथे। (युह. ७:५) तर जीवित हुनुभएको येसुलाई देखेपछि तिनी यस कुरामा पक्का भए। रोचक कुरा त, इस्वी संवत्‌ ५५ मा पावलले यो पत्र लेख्दा फेरि जीवित हुनुभएको येसुलाई आफ्नै आँखाले देखेका थुप्रै व्यक्‍ति अझै जीवितै थिए। त्यसैले कसैलाई यस कुरामा शङ्‌का लागेमा ती साक्षीहरूलाई सोध्न सक्थे। w२०.१२ पृ. ३ अनु. ५, ७-८

मङ्‌गलबार, मे २४

ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ।—भज. ४१:३.

बिरामी हुँदा र विशेषगरि दीर्घकालीन रोगसित लड्‌नुपर्दा सकारात्मक सोच राख्न हामीलाई गाह्रो हुन सक्छ। त्यसैले मदतको लागि यहोवालाई पुकार्नुहोस्‌। हुनत यहोवाले अहिले हामीलाई चमत्कारपूर्ण तरिकामा निको पार्नुहुन्‍न तर उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र सहने बल दिन सक्नुहुन्छ। (भज. ९४:१९) उदाहरणको लागि, हामीलाई घरायसी काम गर्न मदत चाहिँदा यहोवाले सङ्‌गी ख्रिष्टियनहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ। उहाँले हाम्रा दाजुभाइ दिदीबहिनीलाई हामीसँगै प्रार्थना गर्न उत्प्रेरित गर्नुहुन्छ। अथवा उहाँले आफ्नो वचनमा पाइने सान्त्वनादायी कुरा सम्झन हामीलाई मदत गर्न सक्नुहुन्छ, जस्तै: आउँदै गरेको नयाँ संसारमा रोगबिमार र पीडाविनाको त्रुटिरहित जीवनको आशा। (रोमी १५:४) तर हामीलाई प्रचारकार्यमा आफूले चाहेजति गर्न नसकेको महसुस हुन सक्छ। लोरेल नाम गरेकी बहिनी ३७ वर्षसम्म सास फेर्न मदत गर्ने मेसिनको भरमा बाँचिन्‌। तिनलाई क्यान्सर र गम्भीर किसिमको छालाका रोगहरूले सतायो अनि ठूलठूला शल्यक्रिया गर्नुपऱ्‍यो। तर तिनले प्रचार गर्न छोडिनन्‌। तिनले आफ्नो घरमा आउने नर्सहरू र स्वास्थ्यकर्मीहरूलाई प्रचार गरिन्‌। अनि तिनले कम्तीमा पनि १७ जनालाई बाइबलको सही ज्ञान लिन मदत गरिन्‌! w२०.१२ पृ. २४ अनु. ९; पृ. २५ अनु. १२

बुधबार, मे २५

यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ मानिसले मलाई के गर्न सक्छ र?—भज. ११८:६.

प्रेषित पावललाई मदत चाहिएको थियो। इस्वी संवत्‌ ५६ तिर भीडले तिनलाई घिसार्दै मन्दिरबाहिर ल्याएर मार्न खोजेका थिए। त्यसको भोलिपल्ट पावललाई न्यायपरिषद्‌सामु उभ्याइँदा तिनका शत्रुहरूले तिनलाई लछारपछार गरेर झन्डै मार्न लागेका थिए। (प्रेषि. २१:३०-३२; २२:३०; २३:६-१०) त्यसबेला पावललाई यस्तो लागेको हुन सक्छ, ‘यस्तो दुर्व्यवहार मैले कतिन्जेल सहन सकूँला?’ पावलले कस्तो मदत पाए? पावल गिरफ्तार भएपछि त्यही रात “प्रभु” येसु तिनको छेउमा उभिनुभयो र यसो भन्‍नुभयो: “साहसी होऊ! किनकि तिमीले मेरो विषयमा यरुसलेममा राम्ररी साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।” (प्रेषि. २३:११) यस कुराबाट पावलले साँच्चै प्रोत्साहन पाए। तिनले यरुसलेममा दिएको साक्षीको लागि येसुले तिनको प्रशंसा गर्नुभयो। साथै उहाँले पावल सकुशल रोम पुग्नेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो र तिनले त्यहाँ पनि साक्षी दिने थिए। एउटा बच्चाले आफ्नो बुबाको अङ्‌गालोमा जत्ति सुरक्षित महसुस गर्छ, पावलले पनि यो आश्‍वासन पाएपछि त्यत्ति नै सुरक्षित महसुस गरेका हुन सक्छन्‌। w२०.११ पृ. १२ अनु. १; पृ. १३ अनु. ३, ४

बिहीबार, मे २६

यो आशा . . . पक्का र अटल छ।—हिब्रू ६:१९.

परमेश्‍वरको राज्यको आशा “हाम्रो जीवनको लङ्‌गर हो,” जसले हामीलाई चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्नुपर्दा वा चिन्ताले सताउँदा अडिग रहन मदत गर्छ। यहोवाले भविष्यको लागि प्रतिज्ञा गर्नुभएको नयाँ संसारबारे मनन गर्नुहोस्‌, जहाँ हामीलाई कुनै पनि किसिमको नकारात्मक भावनाहरूले सताउनेछैन। (यसै. ६५:१७) शान्तिमय नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्नुहोस्‌, जहाँ हामीलाई चिन्तित बनाउने परिस्थितिहरू हुनेछैन। (मिका ४:४) आफ्नो आशाबारे अरूलाई बताउँदा पनि तपाईँको आशा अझ बलियो हुनेछ। प्रचार गर्ने र चेला बनाउने काममा सक्दो गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ “आफ्नो आशा पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त हुन” सक्नुहुनेछ। (हिब्रू ६:११) यस संसारको अन्त नजिकिँदै जाँदा हामीले चिन्तित बनाउने अझ धेरै गाह्रा परिस्थितिहरूको सामना गर्नुपर्नेछ। आफ्नै बलमा नभई यहोवामाथि भरोसा गरेर हामी यस्तो गाह्रा परिस्थितिहरूको सामना गर्न र शान्त रहन सक्छौँ। आफ्नो कामद्वारा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाऔँ: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”—यसै. ३०:१५. w२१.०१ पृ. ७ अनु. १७-१८

शुक्रबार, मे २७

यहोवा परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण . . . हुनुहुन्छ।—याकु. ५:११.

याद गर्नुहोस्‌, याकुब ५:११ मा यहोवाले देखाउनुहुने कोमल स्नेहसँगसँगै हामीलाई उहाँसित नजिकिन मदत गर्ने उहाँको अर्को गुण कृपाबारे पनि उल्लेख गरिएको छ। (प्रस्थ. ३४:६) यहोवाले हामीलाई कृपा देखाउनुहुने एउटा तरिका हाम्रा गल्तीहरूको लागि क्षमा दिएर हो। (भज. ५१:१) बाइबलअनुसार कृपा देखाउनुमा क्षमा दिनु मात्र समावेश छैन। कृपा भनेको कोही दुःखमा परेको देख्दा कसैमा भित्री मनदेखि आउने गहिरो भावना हो र यसले दुःखमा परेको व्यक्‍तिलाई मदत गर्न उत्प्रेरित गर्छ। हामीलाई मदत गर्ने यहोवाको चाहना एउटी आमाको आफ्नो बच्चाप्रतिको भावनाभन्दा गहिरो छ भनी बाइबल बताउँछ। (यसै. ४९:१५) हामी दुःखमा पर्दा हामीलाई मदत गर्न यहोवालाई उहाँको कृपाले उत्प्रेरित गर्छ। (भज. ३७:३९; १ कोरि. १०:१३) कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउने काम गर्दा तिनलाई क्षमा दिएर र मनमा रिस नराखेर हामी तिनलाई कृपा देखाउन सक्छौँ। (एफि. ४:३२) तर कृपा देखाउने एउटा महत्त्वपूर्ण तरिका भनेको हाम्रा दाजुभाइ दिदीबहिनीले कठिनाइ भोग्दा तिनीहरूलाई मदत गरेर हो। यसरी हामीले कोमल स्नेहका उत्कृष्ट उदाहरण यहोवाको देखासिकी गरिरहेका हुन्छौँ।—एफि. ५:१. w२१.०१ पृ. २१ अनु. ५

शनिबार, मे २८

ख्रिष्टले . . . तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।—१ पत्रु. २:२१.

परिवारको शिर सन्तुलित हुनुपर्छ। तिनी आफ्नो परिवारको आध्यात्मिक र भावनात्मक आवश्‍यकता पूरा गर्नै नसक्नेगरि काममा लग्गू हुनु हुँदैन। तिनले आफ्नो परिवारलाई तालिम पनि दिनुपर्छ। यहोवा हाम्रै भलाइको लागि हामीलाई तालिम र अनुशासन दिनुहुन्छ। (हिब्रू १२:७-९) येसु पनि आफ्नो अधीनमा भएकाहरूलाई मायालुपूर्वक तालिम दिनुहुन्छ। (युह. १५:१४, १५) आवश्‍यक पर्दा उहाँ स्पष्ट सल्लाह दिनुहुन्छ तर दयालु पनि हुनुहुन्छ। (मत्ति २०:२४-२८) हामी त्रुटिपूर्ण भएकोले हामीबाट अक्सर गल्ती भइरहन्छ भनेर उहाँ बुझ्नुहुन्छ। (मत्ति २६:४१) यहोवा र येसुको अनुकरण गर्ने परिवारको शिरले परिवारका सदस्यहरू पनि त्रुटिपूर्ण छन्‌ भन्‍ने कुरा मनमा राख्छन्‌। तिनी आफ्नी पत्नी वा छोराछोरीसित “रिसले चूर” हुँदैनन्‌। (कल. ३:१९) बरु तिनी गलाती ६:१ मा भएको सिद्धान्त लागू गर्छन्‌ र आफू पनि त्रुटिपूर्ण छु भन्‍ने कुरा स्विकार्दै तिनीहरूलाई “कोमलताको भावले” सच्याउने कोसिस गर्छन्‌। येसुले जस्तै आफ्नो उदाहरणद्वारा सिकाउनु नै सबैभन्दा राम्रो तरिका हो भनेर तिनी मानिलिन्छन्‌। w२१.०२ पृ. ६-७ अनु. १६-१८

आइतबार, मे २९

हे सास हुने हरेक जीव, याहको प्रशंसा गर।—भज. १५०:६.

यहोवाले मण्डलीका प्रत्येक दाजुभाइ दिदीबहिनी र येसुमाथि विश्‍वास गर्ने प्रत्येक मानिसको जीवन बचाउन फिरौतीको प्रबन्ध गर्नुभयो। (मर्कु. १०:४५; प्रेषि. २०:२८; १ कोरि. १५:२१, २२) येसुले फिरौतीको रूपमा आफ्नो जीवन बलिदान दिनुभएकोले यहोवाले उहाँलाई मण्डलीको शिर नियुक्‍त गर्नु उचित हो। येसु हाम्रो शिर हुनुभएकोले प्रत्येक व्यक्‍ति, परिवार र पूरै मण्डलीको लागि नियमहरू बनाउने र ती लागू गराउने अधिकार उहाँसित छ। (गला. ६:२) तर येसु नियमहरू बनाउनु मात्र हुन्‍न। बरु उहाँ हामी प्रत्येकलाई खुवाउनुहुन्छ र स्याहार्नुहुन्छ। (एफि. ५:२९) मण्डलीका दिदीबहिनीहरूले तिनीहरूको हेरचाह गर्न नियुक्‍त गरिएका पुरुषहरूले दिने निर्देशन पालन गरेर ख्रिष्टको आदर गरेको देखाउँछन्‌। मण्डलीका दाजुभाइहरूले दिदीबहिनीहरूलाई आदर गरेर शिरत्वको प्रबन्धलाई राम्ररी बुझेको कुरा देखाउँछन्‌। मण्डलीका सबैले शिरत्वको सिद्धान्त राम्ररी बुझ्दा र त्यसको कदर गर्दा मण्डलीमा शान्ति छाउँछ। अझ महत्त्वपूर्ण कुरा, हामीले स्वर्गमा बस्नुहुने मायालु बुबा यहोवाको प्रशंसा गरिरहेका हुन्छौँ। w२१.०२ पृ. १८-१९ अनु. १४-१७

सोमबार, मे ३०

दाउदले यहोवा परमेश्‍वरलाई सोधे।—१ समु. ३०:८.

पलिस्तियालीहरूको इलाकामा बस्दा दाउद र तिनका मानिसहरू आफ्नो परिवारलाई घरमा छोडेर शत्रुहरूलाई आक्रमण गर्न गएका थिए। त्यतिबेला केही शत्रुहरू तिनीहरूको घरमा आए र परिवारलाई बन्दी बनाएर लगे। दाउद एक अनुभवी योद्धा थिए। त्यसैले बन्दी बनाएर लगिएकाहरूलाई छुटाएर ल्याउन राम्रो योजना बनाउन सक्छु भनेर तिनले सोच्न सक्थे। तर तिनले यहोवाको डोऱ्‍याइ खोजे। दाउदले यहोवालाई यस्तो प्रश्‍न सोधे: “म ती आक्रमणकारीहरूलाई खेद्‌न जाऊँ कि नजाऊँ?” यहोवाले शत्रुहरूलाई खेद्‌न जाऊ भन्‍नुभयो र तिनी सफल हुनेछन्‌ भनेर आश्‍वासन पनि दिनुभयो। (१ समु. ३०:७-१०) यो विवरणबाट तपाईँ कस्तो पाठ सिक्न सक्नुहुन्छ? निर्णयहरू गर्नुअघि अरूसित सल्लाह माग्नुहोस्‌। जवानहरू हो, आफ्ना आमाबुबासित कुरा गर्नुहोस्‌। तपाईँ अनुभवी एल्डरहरूबाट पनि राम्रो सुझाव पाउन सक्नुहुन्छ। यहोवा यी नियुक्‍त पुरुषहरूमाथि भरोसा गर्नुहुन्छ र तपाईँ पनि गर्न सक्नुहुन्छ। यहोवा यी पुरुषहरूलाई मण्डलीको लागि “वरदान”-को रूपमा हेर्नुहुन्छ। (एफि. ४:८) तिनीहरूको विश्‍वासको अनुकरण गर्दा र तिनीहरूले दिएका बुद्धिमानी सल्लाहहरू सुन्दा तपाईँले लाभ उठाउन सक्नुहुन्छ। w२१.०३ पृ. ४-५ अनु. १०-११

मङ्‌गलबार, मे ३१

कुनै सृष्टिले . . . परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न [सक्नेछैन]।—रोमी ८:३८, ३९.

आफूले पढेको कुरा लागू गर्दैनौँ भने हामी येसुले बताउनुभएको बालुवामाथि घर बनाउने मानिसजस्तै हुन्छौँ। तिनले मेहनत त गर्छन्‌ तर तिनको मेहनत खेर जान्छ। किन? बतास र बाढीले तिनको घरलाई बेसरी हान्छ र त्यो पूरै ध्वस्त हुन्छ। (मत्ति ७:२४-२७) त्यसैगरि हामी पनि आफूले पढेको कुरा लागू गर्दैनौँ भने हाम्रो मेहनत खेर जान्छ। परीक्षा र खेदो आइपर्दा हाम्रो विश्‍वासको जाँच हुन्छ अनि हामी विश्‍वासमा अडिग रहिरहन सक्दैनौँ। अर्कोतर्फ हामीले बाइबल पढ्यौँ र लागू गऱ्‍यौँ भने राम्रा निर्णयहरू गर्न सक्नेछौँ, अझ धेरै शान्ति पाउनेछौँ र हाम्रो विश्‍वास अझ बलियो हुनेछ। (यसै. ४८:१७, १८) परीक्षा आइपर्दा सत्यनिष्ठा कायम राख्न हामीले प्रार्थना गरेर यहोवामा भर पर्नुपर्छ र उहाँको वचन नियमित रूपमा अध्ययन गर्नुपर्छ। अनि हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको यहोवाको महिमा गर्नु हो भन्‍ने कुरा पनि हामीले सधैँ मनमा राख्नुपर्छ। यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन र उहाँको प्रेमबाट हामीलाई कुनै पनि कुराले अलग पार्न सक्नेछैन भन्‍ने कुरामा हामी पक्का हुन सक्छौँ।—हिब्रू १३:५, ६. w२१.०३ पृ. १५ अनु. ६; पृ. १८ अनु. २०

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने