जून
बुधबार, जून १
तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार थियौँ।—१ थिस्स. २:८.
अध्ययन सञ्चालकले आफ्नो विद्यार्थीप्रति निष्कपट र व्यक्तिगत चासो देखाउनुपर्छ। तिनलाई भविष्यको आध्यात्मिक भाइ वा बहिनीको रूपमा हेर्नुहोस्। संसारका साथीहरू छोड्न अनि यहोवाको सेवा गर्नको लागि आवश्यक छाँटकाँट गर्न तिनलाई पक्कै सजिलो हुँदैन। प्रभावकारी अध्ययन सञ्चालकले आफ्नो विद्यार्थीलाई मण्डलीका अरू भाइबहिनी चिनाइदिन्छन्, जसले तिनमा राम्रो प्रभाव पार्न सक्छन्। तब मात्र विद्यार्थीलाई परमेश्वरका जनहरूसित सङ्गत गर्न रमाइलो लाग्नेछ, जसले तिनलाई आध्यात्मिक र भावनात्मक रूपमा साथ दिनेछन्। हामी आफ्ना प्रत्येक विद्यार्थीले आफू पनि मण्डलीको अनि आध्यात्मिक परिवारको भाग हुँ भनेर महसुस गरेको चाहन्छौँ। तिनले हाम्रो न्यानो र मायालु भ्रातृत्व अनुभव गरेको चाहन्छौँ। त्यसपछि मात्र यहोवालाई प्रेम नगर्ने मानिसहरूसित घनिष्ठ नहुन तिनलाई सजिलो हुनेछ। (हितो. १३:२०) पहिलाका साथीहरूले त्यागे भने पनि यहोवाको सङ्गठनमा साँचो साथीहरू पाउनेछु भन्ने कुरामा तिनी विश्वस्त हुन सक्नेछन्।—मर्कु. १०:२९, ३०; १ पत्रु. ४:४. w२०.१० पृ. १७ अनु. १०-११
बिहीबार, जून २
स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।—मत्ति २८:१८.
यहोवासित राम्रो सम्बन्ध गाँस्न चाहन्छौँ भने हामी येसुको मित्र बन्नै पर्छ। किन? थुप्रै कारणमध्ये दुइटा विचार गर्नुहोस्। पहिलो, येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ।” (युह. १६:२७) उहाँले यसो पनि भन्नुभयो: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (युह. १४:६) येसुसित घनिष्ठ मित्रता नगाँसीकन यहोवाको मित्र बन्न खोज्नु भनेको ढोकाबाट नभई अर्कै ठाउँबाट घरभित्र छिर्ने कोसिस गर्नुजस्तै हो। येसुले ढोकाकै उदाहरण चलाउनुभएर “म भेडाहरूको निम्ति ढोका हुँ” भन्नुभयो। (युह. १०:७) दोस्रो कारण, येसुले आफ्नो बुबाका गुणहरू दुरुस्तै नक्कल गर्नुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युह. १४:९) त्यसैले यहोवालाई चिन्ने एउटा महत्त्वपूर्ण तरिका भनेको येसुको जीवनी अध्ययन गरेर हो। हामी येसुबारे जति धेरै सिक्दै जान्छौँ, उहाँप्रतिको हाम्रो प्रेम त्यति नै बढ्दै जानेछ। अनि येसुसितको मित्रता बलियो हुँदै जाँदा उहाँको बुबाप्रतिको हाम्रो प्रेम पनि प्रगाढ हुनेछ। w२०.०४ पृ. २१ अनु. ५-६
शुक्रबार, जून ३
म . . . कमजोरीमा . . . खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।—२ कोरि. १२:१०.
के तपाईँ बिरामी परेकोले ओछ्यानमा अथवा व्हीलचेयरमा हुनुहुन्छ? के तपाईँको हातगोडा दुख्छ अथवा तपाईँको दृष्टि कमजोर छ? त्यसो हो भने पनि के तपाईँ जवान अनि स्वस्थ मानिसहरूसित मिलेर जीवनतर्फ लैजाने बाटोमा दौडन सक्नुहुन्छ? पक्कै सक्नुहुन्छ! थुप्रै वृद्ध र अशक्त मानिसहरू जीवनतर्फ लैजाने बाटोमा दौडिरहेका छन्। तिनीहरू आफ्नै बलको भरमा यो दौड दौडन सक्दैनन्। बरु टेलिफोनद्वारा सभाहरू सुनेर अथवा स्ट्रिमिङबाट हेरेर तिनीहरूले यहोवाबाट बल पाउँछन्। अनि तिनीहरूले डाक्टर, नर्स अनि आफन्तहरूलाई साक्षी दिएर चेला बनाउने काममा भाग लिन्छन्। शारीरिक अशक्तताले गर्दा जीवनको दौड दौडन सक्दिनँ भनेर कहिल्यै निराश नहुनुहोस्। तपाईँले यहोवामाथि विश्वास राख्नुभएकोले र अहिलेसम्म सेवा गर्दै आउनुभएकोले उहाँ तपाईँलाई माया गर्नुहुन्छ। तपाईँलाई पहिलेभन्दा अहिले झनै उहाँको मदतको आवश्यकता छ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुन्न। (भज. ९:१०) बरु उहाँ तपाईँसित झनै घनिष्ठ हुनुहुनेछ। w२०.०४ पृ. २९ अनु. १६-१७
शनिबार, जून ४
अरूलाई सुसमाचार बाँड्न म यसको निम्ति सबथोक गर्छु।—१ कोरि. ९:२३.
धर्ममा आस्था राख्ने व्यक्तिसित तपाईँ कस्ता विषयमा कुरा गर्न सक्नुहुन्छ? दुवै जना सहमत हुने विषयहरू खोज्नुहोस्। सायद तिनले एउटा मात्र ईश्वरको उपासना गर्लान् अनि तिनले येसु एक भविष्यवक्ता हुनुहुन्छ भनेर विश्वास गर्लान्। अथवा अहिलेको दुष्ट युग चाँडै अन्त हुनेछ भनेर सायद तिनले विश्वास गरेका हुन सक्छन्। ती व्यक्ति र आफ्नो आस्थामा कुनै समानता भेट्टाएपछि तिनलाई रोचक लाग्ने तरिकामा बाइबलको सन्देश बताउनुहोस्। आफ्नो धर्मले सिकाउने सबै कुरामा मानिसहरू विश्वास गर्दैनन् भन्ने कुरा मनमा राख्नुहोस्। त्यसैले कुनै व्यक्ति कुन धर्म मान्छन् भनेर थाह पाउनुभएपछि पनि तिनी वास्तवमा के विश्वास गर्छन्, त्यो पत्ता लगाउने प्रयास गर्नुहोस्। केही मानिसहरू त्रिएकमा विश्वास गरेको कुरा बताउँछन् तर वास्तवमा तिनीहरूले ‘पिता, पुत्र र पवित्र आत्मा एकै हुन्’ भनेर विश्वास नगरेका पनि हुन सक्छन् भनेर एक मिसनरी बताउँछन्। तिनी अझ यसो भन्छन्: “यो कुरा थाह पाउँदा त्यस्ता मानिसहरूसित सहमत हुने विषय भेट्टाउन झनै सजिलो हुन्छ।” त्यसैले मानिसहरू वास्तवमा के विश्वास गर्छन् भनेर पत्ता लगाउने प्रयास गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँ पनि प्रेषित पावलजस्तै “सबै किसिमका मानिसका लागि सबै कुरा” हुन सक्नुहुनेछ।—१ कोरि. ९:१९-२२. w२०.०४ पृ. १० अनु. ९-१०
आइतबार, जून ५
त्यसबेला तिम्रा मानिसहरू, जसको नाम पुस्तकमा लेखिएको छ, तिनीहरू त्यस सङ्कटबाट उम्कनेछन्।—दानि. १२:१.
हामी ढुक्क भई भविष्यको सामना गर्न सक्छौँ किनभने यहोवा र येसुको सेवा गर्नेहरू त्यस सङ्कष्टबाट उम्कनेछन् भनी दानिएल र युहन्ना दुवैले बताएका छन्। त्यस सङ्कष्टबाट उम्कनेहरूको नाम “पुस्तकमा लेखिएको” हुनेछ भनी दानिएल बताउँछन्। हामी त्यस पुस्तकमा आफ्नो नाम कसरी लेखाउन सक्छौँ? हामीले “परमेश्वरको पाठो” अर्थात् येसुमा विश्वास गरेको स्पष्ट प्रमाण दिनुपर्छ। (युह. १:२९) हामीले यहोवामा आफ्नो जीवन समर्पण गरेको चिन्हस्वरूप बप्तिस्मा गर्नुपर्छ। (१ पत्रु. ३:२१) अनि अरूलाई यहोवाबारे सिकाउन सक्दो प्रयास गरेर हामीले परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउनुपर्छ। यहोवा र उहाँका वफादार सेवकहरू मिलेर बनेको सङ्गठनमाथि आफ्नो भरोसा अझ बलियो बनाउने समय अहिल्यै हो। परमेश्वरको राज्यलाई समर्थन गर्ने समय पनि अहिल्यै हो। त्यसो गऱ्यौँ भने परमेश्वरको राज्यले उत्तरका राजा र दक्षिणका राजालाई नाश गर्दा हामी बच्नेछौँ। w२०.०५ पृ. १६ अनु. १८-१९
सोमबार, जून ६
हे यहोवा, तपाईँको नाम सदासर्वदा रहिरहनेछ।—भज. १३५:१३.
आदम र हव्वालाई यहोवाको नाम र त्यस नामले चिनिनुहुने परमेश्वरबारे महत्त्वपूर्ण सत्यहरू थाह थियो। तिनीहरूलाई उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह थियो, जसले तिनीहरूलाई जीवन, सुन्दर प्रमोदवन र सुहाउँदो जीवनसाथी दिनुभएको थियो। (उत्प. १:२६-२८; २:१८) तर के तिनीहरूले आफ्नो त्रुटिरहित दिमाग यहोवाले दिनुभएका कुराहरूबारे मनन गर्न प्रयोग गरिरहने थिए? के तिनीहरूले त्यस नामले चिनिनुहुने परमेश्वरप्रतिको प्रेम र कृतज्ञता विकास गरिरहने थिए? परमेश्वरको शत्रुले तिनीहरूको परीक्षा लिँदा यी प्रश्नहरूको जवाफ प्रस्ट भयो। सैतानले सर्पलाई आफ्नो कठपुतली बनाएर हव्वालाई यो प्रश्न सोध्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?” (उत्प. २:१६, १७; ३:१) त्यस प्रश्नमा नदेखिने विषजस्तै एउटा झूट लुकेको थियो। वास्तवमा परमेश्वरले तिनीहरूलाई ‘हरेक रूखबाट खान सक्छौ तर एउटा रूखबाट मात्र नखानू’ भन्नुभएको थियो। (उत्प. २:९) त्यसले परमेश्वर उदार हुनुहुन्न जस्तो देखायो। त्यसैले हव्वालाई यस्तो लागेको हुन सक्छ, ‘कतै परमेश्वरले मलाई कुनै असल कुराबाट वञ्चित गर्नुभएको त छैन?’ w२०.०६ पृ. ३-४ अनु. ८-९
मङ्गलबार, जून ७
एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।—कल. ३:१३.
यहोवाका केही सेवकलाई कुनै भाइ वा बहिनीले गर्दा चित्त दुख्न सक्छ। कहिलेकाहीँ कुनै भाइ वा बहिनीको “विरुद्धमा केही गुनासो” गर्ने जायज कारण हुन सक्छ भनी प्रेषित पावलले मानिलिए। हामी अन्यायपूर्ण व्यवहारको सिकारसमेत भएका हुन सक्छौँ। हामीले आफूलाई काबूमा राखेनौँ भने मनमा तीतोपना बढ्दै जान सक्छ। अनि यस्तो तीतो भावनाले गर्दा हामी बिस्तारै यहोवाका जनहरूदेखि टाढिन सक्छौँ। दक्षिण अमेरिकामा बस्ने पाब्लोलाई गलत काम गरेको झूटो आरोप लगाइएको थियो। त्यसैले तिनले मण्डलीमा पाइरहेको सुअवसर गुमाए। त्यसपछि तिनले के गरे? पाब्लो भन्छन्: “मलाई एकदमै रिस उठ्यो अनि म मण्डलीबाट बिस्तारै टाढिन थालेँ।” विगतमा परमेश्वरको नियम उल्लङ्घन गरेका कोही-कोहीलाई भने दोषी अन्तस्करणले पिरोल्न सक्छ र आफू परमेश्वरको प्रेम पाउन लायक छैनँ जस्तो लाग्न सक्छ। त्यस्तो व्यक्तिले पश्चात्ताप गरेर क्षमा पाइसकेको भए तापनि तिनलाई आफू परमेश्वरको जन भइरहन योग्य छैनँ जस्तो लाग्न सक्छ। हामीले अहिले छलफल गरेको भाइको जस्तै अवस्था भोगिरहेकाहरूप्रति तपाईँ कस्तो महसुस गर्नुहुन्छ? w२०.०६ पृ. १९ अनु. ६-७
बुधबार, जून ८
चतुर मानिस खतरा आएको देखेर लुक्छ।—हितो. २२:३.
हामी आफूलाई हानि गर्न सक्ने कुराहरूदेखि होसियार हुनुपर्छ र खतरा आएको देख्यौँ भने तुरुन्तै कदम चाल्नुपर्छ। (हिब्रू ५:१४) जस्तै: कोसित सङ्गत गर्ने र कस्तो मनोरञ्जन गर्ने भनेर छनौट गर्दा हामी होसियार हुनुपर्छ। टेलिभिजन कार्यक्रम र फिल्महरूमा अनैतिक कुराहरू खुलमखुला देखाइन्छ। त्यस्ता अनैतिक कुराहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ र त्यसले अवश्य हानि पुऱ्याउँछ। परमेश्वरप्रतिको हाम्रो प्रेमलाई बिस्तारै कमजोर बनाउँदै लैजाने यस्ता मनोरञ्जनहरूबाट हामी अलग्गै बस्छौँ। (एफि. ५:५, ६) हामीले धर्मत्यागीहरूले फैलाएका झूटा जानकारीहरू सुन्नु खतरनाक हुन सक्छ भनेर पनि बुझ्नुपर्छ। किनकि तिनीहरूले हाम्रा भाइबहिनी वा यहोवाको सङ्गठनबारे हाम्रो मनमा शङ्का उब्जाउन सक्छन्। (१ तिमो. ४:१, ७; २ तिमो. २:१६) यस्ता कुराहरूले हाम्रो विश्वासलाई कमजोर बनाउँछ। हामीले यस्ता अफवाहहरू पत्याउनु हुँदैन। किन? किनकि यस्ता अफवाहहरू “भ्रष्ट दिमाग भएका र सत्यबाट तर्किएका मानिसहरू”-ले फैलाएका हुन् र तिनीहरूको उद्देश्य भनेको हामीलाई ‘वादविवाद र बहस गर्न’ लगाउनु हो। (१ तिमो. ६:४, ५) हामीले तिनीहरूको झूट पत्याएको र भाइबहिनीलाई शङ्काको नजरले हेरेको तिनीहरू चाहन्छन्। w२०.०९ पृ. २९ अनु. १३, १५
बिहीबार, जून ९
आफ्नो होइन तर अर्को मानिसको फाइदा [खोज्नुहोस्]।—१ कोरि. १०:२४.
पति-पत्नीले एकअर्कालाई प्रेम र आदर गर्नुपर्छ। (एफि. ५:३३) बाइबलले हामीलाई लिनुमा भन्दा दिनुमा आनन्द छ भनी सिकाउँछ। (प्रेषि. २०:३५) एकअर्कालाई प्रेम र आदर गर्न विवाहित दम्पतीलाई कुन गुणले मदत गर्छ? पक्कै पनि नम्रताले। नम्रताले थुप्रै ख्रिष्टियन दम्पतीलाई आफ्नो वैवाहिक सम्बन्धबाट आनन्द उठाउन मदत गरेको छ। उदाहरणको लागि, स्टिभन नाम गरेका एक पति यसो भन्छन्: “यदि तपाईँहरू एउटा टिम हुनुहुन्छ भने विशेषगरि समस्या आइपर्दा सँगै काम गर्नुहुनेछ। ‘मेरो लागि सबैभन्दा राम्रो के हो?’ भन्ने सोचाइ राख्नुको सट्टा ‘हाम्रो लागि सबैभन्दा राम्रो के हो?’ भन्ने सोचाइ राख्नुहुनेछ।” तिनकी पत्नी स्टेफनी पनि त्यस्तै महसुस गर्छिन्। उनी भन्छिन्: “झगडालु व्यक्तिसँग बस्न कसैलाई पनि मन पर्दैन। मतभेद हुँदा हामी समस्या पत्ता लगाउने कोसिस गर्छौँ। त्यसपछि हामी प्रार्थना गर्छौँ, अनुसन्धान गर्छौँ र यसबारे आपसमा कुरा गर्छौँ। हामी एकअर्कालाई दोष दिने गर्दैनौँ बरु समस्या सुल्झाउने प्रयास गर्छौँ।” पति-पत्नीले आफूलाई जति ठान्नुपर्ने हो, त्योभन्दा बढ्ता नठान्दा दुवै जना खुसी हुन सक्छन्। w२०.०७ पृ. ४ अनु. ५-६
शुक्रबार, जून १०
आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ।—गला. १:१४.
यहोवाको सेवा गर्दा हामी आफ्नै शक्ति वा क्षमतामा भर पर्नु हुँदैन। प्रेषित पावलले उच्च शिक्षा हासिल गरेका थिए; तिनले त्यतिबेलाका प्रतिष्ठित यहुदी नेताहरूमध्ये गमलिएल नाम गरेका व्यक्तिबाट शिक्षादीक्षा हासिल गरेका थिए। (प्रेषि. ५:३४; २२:३) कुनै समय पावलले यहुदी समाजमा केही हदसम्म प्रभाव जमाएका पनि थिए। (प्रेषि. २६:४) तैपनि पावल आफैमाथि भर परेनन्। संसारको दृष्टिकोणबाट हेर्दा पावललाई जुन कुराहरूले शक्तिशाली बनाएको जस्तो देखिन्थ्यो, ती कुराहरूलाई तिनले खुसीसाथ त्यागे। (फिलि. ३:८) पावलले ख्रिष्टको चेला बन्दा मूल्य चुकाउनुपऱ्यो। तिनलाई आफ्नै जातिले घृणा गऱ्यो। (प्रेषि. २३:१२-१४) तिनलाई सङ्गी नागरिक अर्थात् रोमीहरूले पिटे र झ्यालखानामा हाले। (प्रेषि. १६:१९-२४, ३७) साथै आफ्नै सीमितताले गर्दा तिनले असाध्यै लाचार महसुस गरेका थिए। (रोमी ७:२१-२५) विरोधीहरूबाट खेदो आइपर्दा वा आफ्नै कमीकमजोरीसित सङ्घर्ष गर्नुपर्दा तिनले ख्रिष्टको चेला हुन छोडेनन् बरु तिनी “कमजोरीमा . . . खुसी” भए। किन? किनभने कमजोर हुँदा परमेश्वरको शक्तिले आफूमा काम गरेको तिनले अनुभव गरे।—२ कोरि. ४:७; १२:१०. w२०.०७ पृ. १६ अनु. ७-८
शनिबार, जून ११
जसले ममाथि विश्वास गर्छ, . . . उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ।—युह. १४:१२.
आज हामी राज्यको सुसमाचार प्रचार गर्ने काममा एकाग्र भई लाग्नु अत्यन्तै महत्त्वपूर्ण छ। यो काम अझ व्यापक रूपमा गरिनेछ र आफ्नो मृत्युपछि पनि लामो समयसम्म चलिरहनेछ भनेर येसुले भविष्यवाणी गर्नुभयो। फेरि जीवित हुनुभएपछि येसुले केही चेलालाई चमत्कारपूर्ण ढङ्गमा थुप्रै माछा पक्रन मदत गर्नुभयो। त्यस मौकामा उहाँले मानिसहरूको जलारीको रूपमा चेलाहरूले पाएको जिम्मेवारी अरू कुनै पनि कामभन्दा महत्त्वपूर्ण छ भनेर जोड दिनुभयो। (युह. २१:१५-१७) स्वर्ग जानुअघि येसुले आफूले सुरु गरेको साक्षीकार्य इस्राएलमा मात्र सीमित रहनेछैन, बरु टाढा-टाढासम्म फैलिनेछ भनेर चेलाहरूलाई बताउनुभयो। (प्रेषि. १:६-८) यसको वर्षौँपछि येसुले प्रेषित युहन्नालाई एउटा दर्शनमार्फत “प्रभुको दिनमा” के-कस्ता घटना हुनेछन् भनेर देखाउनुभयो। दर्शनमा युहन्नाले यस्तो एउटा उदेकलाग्दो घटना पनि देखे: “सदासर्वदा रहने सुसमाचार” एक जना स्वर्गदूतको डोऱ्याइमा “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” घोषणा गरिँदै थियो। (प्रका. १:१०; १४:६) कुरा स्पष्ट छ, यहोवाले पुग्यो नभन्नुभएसम्म आज हामीले यो व्यापक साक्षीकार्यमा भाग लिएको उहाँ चाहनुहुन्छ। w२०.०९ पृ. ९ अनु. ५
आइतबार, जून १२
विश्वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा इसहाकलाई झन्डै बलि चढाइसकेका थिए।—हिब्रू ११:१७.
अब्राहामको पारिवारिक जीवनमा समस्याहरू थिए। तिनी र तिनकी प्यारी पत्नी साराको छोराछोरी थिएन। यसले गर्दा तिनीहरू वर्षौँसम्म निराश थिए। आफू र अब्राहामको लागि छोराछोरी जन्माइदेओस् भनेर पछि साराले आफ्नी दासी हागार अब्राहामलाई दिइन्। तर हागार गर्भवती भएपछि उनले सारालाई हेप्न थालिन्। यसले गर्दा परिवारमा असाध्यै तनाव भयो र साराले हागारलाई घरबाट निकालिदिइन्। (उत्प. १६:१-६) पछि सारा गर्भवती भइन् र एउटा छोरो जन्माइन्। अब्राहामले उसको नाम इसहाक राखे। तिनी आफ्ना दुवै छोरा इस्माएल र इसहाकलाई माया गर्थे। तर इस्माएलले इसहाकको खिसी गरेको हुँदा अब्राहाम इस्माएल र हागारलाई घरबाट निकाल्न बाध्य भए। (उत्प. २१:९-१४) पछि यहोवाले इसहाकलाई बलिदानको रूपमा चढाउन अब्राहामलाई भन्नुभयो। (उत्प. २२:१, २; हिब्रू ११:१७-१९) यी दुवै अवस्थामा यहोवाले तिनका छोराहरूबारे गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर अब्राहामले भरोसा गर्नुपर्ने थियो। w२०.०८ पृ. ४ अनु. ९-१०
सोमबार, जून १३
[हामीले] नयाँ व्यक्तित्व धारण गर्नुपर्छ, जुन धार्मिकता अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।—एफि. ४:२४.
फेरि जीवित भएकाहरूले आफ्नो पुरानो व्यक्तित्वलाई फुकालेर परमेश्वरको धार्मिक स्तरअनुसार जीवन बिताउन थाल्दा कत्ति आनन्दित महसुस गर्नेछन्, कल्पना गर्नुहोस्! यस्तो परिवर्तन गर्ने व्यक्तिहरूले प्रमोदवनमा सधैँभरि बाँच्न पाउनेछन्। तर परिवर्तन गर्न नचाहने व्यक्तिहरूलाई प्रमोदवनमा सधैँभरि बाँच्न र त्यसको शान्ति भङ्ग गर्न दिइनेछैन। (यसै. ६५:२०; युह. ५:२८, २९) परमेश्वरको राज्यले शासन गर्न थालेपछि उहाँका सबै सेवकले हितोपदेश १०:२२ का यी शब्दहरूको सत्यता अनुभव गर्नेछन्: “यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।” यहोवाको पवित्र शक्तिको मदत पाएर उहाँका सेवकहरू आध्यात्मिक तवरमा धनी हुनेछन्; मतलब, तिनीहरू झन्झन् ख्रिष्टजस्तै हुनेछन् र त्रुटिरहित अवस्थातर्फ अघि बढ्नेछन्। (युह. १३:१५-१७; एफि. ४:२३) हरेक दिन तिनीहरू अझ बलियो र असल हुँदै जानेछन्। त्यतिबेला जीवन कत्ति आनन्दमय हुनेछ!—अय्यु. ३३:२५. w२०.०८ पृ. १७ अनु. ११-१२
मङ्गलबार, जून १४
अरूको कुरामा हात नहाल्ने . . . लक्ष्य राख।—१ थिस्स. ४:११.
अविवाहित भाइबहिनीको भावना र परिस्थितिको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? केही अविवाहित ख्रिष्टियनले विवाह नगर्ने निर्णय गरेका हुन्छन् भन्ने कुरा हामीले मनमा राख्नुपर्छ। कोही भने विवाह गर्न त चाहन्छन् तर मनले खाएको मान्छे नभेटेका हुन सक्छन्। अरू कतिले भने मृत्युले गर्दा आफ्नो जीवनसाथी गुमाएका हुन सक्छन्। कुरा जेसुकै भए पनि हामीले अविवाहित ख्रिष्टियनहरूलाई ‘किन विवाह नगर्नुभएको?’ वा ‘तपाईँको लागि जोडी खोजिदिऊँ कि?’ भनेर सोध्नु उपयुक्त हुँदैन। मदत नमागेको भाइ वा बहिनीलाई ‘जोडी खोजिदिऊँ कि?’ भन्यौँ भने तिनलाई कस्तो लाग्ला? (१ तिमो. ५:१३) हामीले अविवाहित भाइबहिनीलाई उनीहरू अविवाहित रहेकोले होइन, बरु उनीहरूका राम्रा गुणहरूको आधारमा मोल गऱ्यौँ भने उनीहरू हामीप्रति कृतज्ञ हुनेछन्। हामीले उनीहरूलाई बिचराको पात्र ठान्नुको साटो उनीहरूको वफादारीको मोल गर्नुपर्छ। यसो गऱ्यौँ भने हामीले अविवाहित भाइबहिनीलाई “मलाई तिम्रो खाँचो छैन” भनेको जस्तो कहिल्यै महसुस गराउनेछैनौँ। (१ कोरि. १२:२१) बरु हामीले उनीहरूलाई आदर गरेको अनि मण्डलीमा उनीहरूको स्थानको मोल गरेको उनीहरूले महसुस गर्नेछन्। w२०.०८ पृ. २९ अनु. १०, १४
बुधबार, जून १५
[ख्रिष्ट] एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो।—१ कोरि. १५:६.
पछि येसु प्रेषित पावलकहाँ पनि देखा पर्नुभयो। (१ कोरि. १५:८) पावल (सावल) दमिसकतर्फ जाँदै गर्दा तिनले जीवित हुनुभएको येसुको आवाज सुने र उहाँ स्वर्गमा हुनुभएको दर्शन देखे। (प्रेषि. ९:३-५) पावलको जीवनको यस घटनाले येसु जीवित हुनुभएको कुरा साँचो हो भन्ने कुराको थप प्रमाण दियो। (प्रेषि. २६:१२-१५) पावलको बयान सुनेर केही मानिसहरू छक्क परेका हुन सक्छन् किनकि कुनै समय तिनी ख्रिष्टियनहरूलाई खेदो गर्ने गर्थे। तर येसु जीवित हुनुभएको कुरामा पावल आफै विश्वस्त भएपछि तिनले अरूलाई पनि यस कुरामा विश्वस्त बनाउन कडा मेहनत गरे। यो सत्य मानिसहरूलाई प्रचार गर्दा तिनले थुप्रै चोटि कुटाइ खाए, झ्यालखानामा थुनिए अनि प्रचार-यात्राको दौडान कति पटक त तिनी चढेको जहाज क्षतिग्रस्त भयो। (१ कोरि. १५:९-११; २ कोरि. ११:२३-२७) येसु जीवित हुनुभएको कुरामा पावल यत्ति विश्वस्त थिए कि तिनी विश्वासको खातिर ज्यान दिनसमेत तयार भए। ती ख्रिष्टियनहरूले दिएको बयान विचार गर्दा के तपाईँ पनि येसु जीवित हुनुभएको कुरामा विश्वस्त हुनुभएन र? अनि के यसले फेरि जीवित हुने आशामा तपाईँको विश्वास बलियो बनाएन र? w२०.१२ पृ. ३ अनु. ८-१०
बिहीबार, जून १६
तिमीहरूले [यहोवाको] खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ।—२ इति. १५:२.
हामी आफैलाई यो प्रश्न सोध्न सक्छौँ: ‘के म नियमित रूपमा मण्डलीका सभाहरूमा उपस्थित हुन्छु?’ जब हामी यहोवाको सङ्गठनले प्रबन्ध गरेका सभाहरूमा उपस्थित हुन्छौँ, तब हामीले उत्थानदायी सङ्गतिको साथै साँचो आध्यात्मिक स्फूर्ति पाइरहेका हुन्छौँ। (मत्ति ११:२८) हामी आफैलाई यस्तो प्रश्न पनि सोध्न सक्छौँ: ‘के मेरो व्यक्तिगत अध्ययन गर्ने राम्रो बानी छ?’ यदि तपाईँ परिवारसित बस्नुहुन्छ भने के तपाईँ हरेक हप्ता पारिवारिक उपासनाको लागि समय छुट्ट्याउनुहुन्छ? अथवा एक्लै बस्नुहुन्छ भने पनि के तपाईँ त्यसरी नै अध्ययनको लागि समय छुट्ट्याउनुहुन्छ? अनि के तपाईँ प्रचार गर्ने र चेला बनाउने काममा यथासक्दो भाग लिनुहुन्छ? हामीले आफैलाई यी प्रश्नहरू किन सोध्नुपर्छ? बाइबलमा बताइएअनुसार यहोवाले हाम्रो हृदय र हाम्रो हरेक सोचाइ जाँच्नुहुने भएकोले हामीले पनि त्यसो गर्नुपर्छ। (१ इति. २८:९) यदि हामीले आफ्नो लक्ष्य, मनोवृत्ति वा सोचाइमा केही छाँटकाँट गर्नुपर्ने देख्यौँ भने यहोवासँग मदत माग्नुपर्छ। भविष्यमा हुने घटनाहरूको लागि आफूलाई तयार पार्ने समय अहिल्यै हो। w२०.०९ पृ. १९ अनु. १९-२०
शुक्रबार, जून १७
तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।—लुका १४:३३.
एकपटक येसुले एउटा उदाहरणद्वारा उहाँको चेला बन्न के गर्नुपर्छ भनी बुझाउनुभयो। उहाँले धरहरा बनाउने विचार गरिरहेको मानिसबारे अनि लडाइँमा जान खोजिरहेको राजाबारे बताउनुभयो। धरहरा बनाउन चाहेको मानिसले “त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब” गर्नुपर्छ अनि राजाले पनि आफ्नो सेनाले लडाइँ पूरा गर्न सक्छ कि सक्दैन भनेर “बसेर पहिला सल्लाह” गर्नुपर्छ भनी येसुले बताउनुभयो। (लुका १४:२७-३२) त्यसैगरि येसुलाई उहाँको चेला बन्न चाहने व्यक्तिले उहाँको पछि लाग्नुको अर्थ के हो भनेर राम्ररी बुझ्नुपर्छ भनी थाह थियो। त्यसैले पछि गएर येसुको चेला बन्न सक्ने हाम्रा विद्यार्थीहरूलाई हामीले हरेक हप्ता अध्ययन गर्न प्रोत्साहन दिनुपर्छ। अध्ययन सञ्चालकको रूपमा तपाईँले बाइबल अध्ययनको लागि हरेक चोटि राम्ररी तयारी गर्नुपर्छ। आफ्नो विद्यार्थीबारे सोच्नुहोस्; तिनले बुझ्न र लागू गर्न सक्ने तरिकामा कसरी सरल र स्पष्ट रूपमा व्याख्या गर्ने भनी मनन गर्नुहोस्।—नहे. ८:८; हितो. १५:२८क. w२०.१० पृ. ७ अनु. ५; पृ. ८ अनु. ७
शनिबार, जून १८
त्यसैले जाओ र . . . चेला बनाओ; . . . मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।—मत्ति २८:१९, २०.
येसुले दिनुभएको निर्देशन स्पष्ट छ। हामीले मानिसहरूलाई उहाँले आज्ञा गर्नुभएको सबै कुरा सिकाउनुपर्छ। तर हामीले उहाँको निर्देशनको एउटा महत्त्वपूर्ण पक्षलाई बेवास्ता गर्नु हुँदैन। येसुले यसो भन्नुभएन: ‘मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सिकाओ।’ बरु उहाँले यसो भन्नुभयो: “मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” बाइबल विद्यार्थीलाई सिकाउँदा यो खास निर्देशन लागू गर्न हामी शिक्षक मात्र भएर पुग्दैन, मार्गदर्शक पनि हुनुपर्छ। (प्रेषि. ८:३१) बाइबल अध्ययन गराउँदा हामी विद्यार्थीलाई परमेश्वरले हामीबाट चाहनुहुने कुरा सिकाउँछौँ। तर हामीले अर्को कुरा पनि गर्नुपर्छ। हामीले आफ्नो बाइबल विद्यार्थीलाई सिकेको कुरा दैनिक जीवनमा लागू गर्न सिकाउनुपर्छ। (युह. १४:१५; १ युह. २:३) स्कुलमा, काममा वा मनोरञ्जन गर्ने बेला बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सक्छौँ भनेर हामी विद्यार्थीलाई आफ्नै उदाहरणद्वारा सिकाउन सक्छौँ। हामी विद्यार्थीसँगै बसेर यहोवालाई प्रार्थना गर्न सक्छौँ र तिनलाई पवित्र शक्तिको डोऱ्याइ दिनुहोस् भनेर बिन्ती गर्न सक्छौँ।—युह. १६:१३. w२०.११ पृ. २-३ अनु. ३-५
आइतबार, जून १९
“न कुनै सैन्य शक्तिले, न त मानिसको बलले तर मेरो शक्तिले,” सेनाहरूका यहोवा भन्नुहुन्छ।—जक. ४:६.
येसुका चेलाहरूले चुनौतीहरूको सामना गर्नुपऱ्यो। जस्तै: त्यतिबेला धर्मशास्त्रका प्रतिहरू थोरै थिए। चेलाहरूसित अहिलेजस्तो धर्मशास्त्रलाई अझ राम्ररी बुझ्न मदत दिने सामग्रीहरू पनि थिएन। साथै तिनीहरूले विभिन्न भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्नुपर्थ्यो। यस्ता चुनौतीको बाबजुद ती जोसिला चेलाहरूले असम्भवजस्तो देखिने काम पूरा गर्न सके; केही दशकभित्रै तिनीहरूले सुसमाचार “आकाशमुनि भएका सबै मानिसमाझ प्रचार” गरिसकेका थिए। (कल. १:६, २३) आधुनिक समयमा पनि यहोवाले आफ्ना जनहरूलाई डोऱ्याइरहनुभएको छ र बल दिइरहनुभएको छ। हामी त्यस्तो डोऱ्याइ मुख्यतया परमेश्वरको पवित्र शक्तिद्वारा लेखिएको वचन बाइबलमार्फत पाउँछौँ। बाइबलमा येसुले गर्नुभएको सेवाबारे अनि आफूले सुरु गरेको कामलाई निरन्तरता दिन उहाँले चेलाहरूलाई दिनुभएको आज्ञाबारे लेखिएको छ। (मत्ति २८:१९, २०) यहोवा पक्षपाती हुनुहुन्न; उहाँले सुसमाचार “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” घोषणा गरिनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (प्रका. १४:६, ७) उहाँ राज्यको सन्देश सबै मानिसले सुनेको चाहनुहुन्छ। w२०.१० पृ. २१ अनु. ६-८
सोमबार, जून २०
नम्रहरूलाई तपाईँ जोगाउनुहुन्छ तर हठीहरूलाई तुच्छ दृष्टिले हेर्नुहुन्छ।—२ समु. २२:२८.
राजा दाउद “यहोवाको व्यवस्था”-लाई प्रेम गर्ने मानिस थिए। (भज. १:१-३) यहोवा नम्रहरूलाई जोगाउनुहुन्छ तर हठीहरूलाई घृणा गर्नुहुन्छ भनेर दाउदलाई थाह थियो। त्यसैले तिनले परमेश्वरको व्यवस्थामा भर पर्दै आफ्नो सोचाइ सुधारे। तिनले यस्तो लेखे: “मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु। रातमा पनि मेरा भित्री विचारहरूले मलाई सुधार्छन्।” (भज. १६:७) हामी नम्र छौँ भने गलत सोचाइले हामीलाई गलत काम गर्न लगाउनुअघि नै परमेश्वरको वचनले आफ्नो सोचाइ सुधार्न दिन्छौँ। परमेश्वरको वचनले हामीलाई यस्तो आवाज दिनेछ: “बाटो यही हो। यसैमा हिँड।” हामी जीवनको बाटोबाट तर्केर दाहिने वा देब्रे लाग्दा यसले हामीलाई चेतावनी दिन्छ। (यसै. ३०:२१) यहोवाको कुरा सुन्दा हामीले थुप्रै तरिकामा लाभ उठाउन सक्छौँ। (यसै. ४८:१७) उदाहरणको लागि, कसैले हामीलाई सुधार्दा हामीलाई अप्ठ्यारो लाग्न सक्छ। तर यहोवाको कुरा सुन्दा हामी त्यस्तो अवस्थाबाट जोगिनेछौँ। साथै हामी यहोवासित अझ नजिक हुनेछौँ किनकि उहाँले हामीलाई आफ्नै छोराछोरी ठानेर व्यवहार गर्दै हुनुहुन्छ भनेर बुझ्नेछौँ।—हिब्रू १२:७. w२०.११ पृ. २० अनु. ६-७
मङ्गलबार, जून २१
मरिसकेका मानिसहरू फेरि जीवित हुने विषयमा सुनेर कसै-कसैले तिनको गिल्ला गरे।—प्रेषि. १७:३२.
कोरिन्थका केही मानिसलाई यस्तो सोचाइले प्रभाव पारेको हुन सक्छ। (१ कोरि. १५:१२) केहीले भने फेरि जीवित हुने कुरालाई प्रतीकात्मक अर्थमा लिएको हुन सक्छ। तिनीहरू पापमा “मरेको” मानिस ख्रिष्टियन भएपछि “जीवित” हुन्छ भन्थे। तर तिनीहरूले जस्तोसुकै तर्क गरे पनि फेरि जीवित हुने कुरालाई नकार्ने ती मानिसहरूको विश्वास व्यर्थ थियो। यदि परमेश्वरले येसुलाई जीवित पार्नुभएको होइन भने फिरौतीको मोल पनि तिरिएको होइन र सबै मानिस पापी नै रहन्छन्। त्यसैले फेरि जीवित हुने आशालाई नकार्ने ती मानिसहरूसित साँचो आशा थिएन! (१ कोरि. १५:१३-१९; हिब्रू ९:१२, १४) ‘ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभयो’ भनेर प्रेषित पावलले आफ्नै अनुभवद्वारा थाह पाएका थिए। येसुलाई फेरि जीवित पारिएको कुरा मरेकाहरूलाई जीवित पारिएको विगतका घटनाहरूभन्दा उत्कृष्ट थियो किनकि ती मानिसहरू पछि फेरि मरे। पावलले येसुलाई “मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल” भने। उहाँ अदृश्य शरीरमा ब्युँताइने र स्वर्ग जाने पहिलो व्यक्ति हुनुहुन्थ्यो।—१ कोरि. १५:२०; प्रेषि. २६:२३; १ पत्रु. ३:१८, २२. w२०.१२ पृ. ५ अनु. ११-१२
बुधबार, जून २२
तिनीहरू . . . यरुसलेमका प्रेषित र एल्डरहरूले गरेको फैसला सुनाएर ती पालन गर्नू भनी बताउँथे।—प्रेषि. १६:४.
प्रथम शताब्दीमा परमेश्वरका जनहरूमाझ भएको शान्ति र सुव्यवस्था कायम राख्न यरुसलेममा भएको परिचालक निकायले एकताबद्ध भएर काम गऱ्यो। (प्रेषि. २:४२) उदाहरणको लागि, इस्वी संवत् ४९ मा खतनासम्बन्धी विवाद उठ्दा परिचालक निकायले पवित्र शक्तिको डोऱ्याइमा यस मामिलाबारे राम्ररी छलफल गऱ्यो। यस विवादले गर्दा मण्डली विभाजित अवस्थामै रहिरहेको भए प्रचारकार्यमा बाधा पुग्ने थियो। ती प्रेषितहरू र एल्डरहरू यहुदी थिए। तैपनि तिनीहरूले यहुदी रीतिथितिको प्रभावमा परेर वा त्यसका कट्टर समर्थकहरूको बहकाउमा परेर निर्णय गरेनन्। बरु तिनीहरूले परमेश्वरको वचन र उहाँको पवित्र शक्तिको डोऱ्याइ खोजे। (प्रेषि. १५:१, २, ५-२०, २८) यसको नतिजा कस्तो भयो? यहोवाले तिनीहरूलाई सही निर्णय गर्न मदत गर्नुभयो, मण्डलीमा शान्ति र एकता छायो अनि प्रचारकार्य अघि बढ्यो। (प्रेषि. १५:३०, ३१; १६:५) आधुनिक समयमा पनि यहोवाको सङ्गठनले परमेश्वरका जनहरूमाझ शान्ति र सुव्यवस्था कायम राख्न प्रयास गरिरहेको छ। w२०.१० पृ. २२-२३ अनु. ११-१२
बिहीबार, जून २३
परमेश्वरले मेरो छोरा सुलेमानलाई रोज्नुभएको छ।—१ इति. २९:१.
उमेर, स्वास्थ्य वा अन्य कारणले गर्दा हामीले आफूले चाहेको असाइनमेन्ट नपाउन सक्छौँ। यस सन्दर्भमा हामीले राजा दाउदको उदाहरणबाट सिक्न सक्छौँ। परमेश्वरको मन्दिर बनाउने दाउदको ठूलो धोको थियो। तर यस कामको लागि परमेश्वरले अर्कै व्यक्तिलाई रोज्नुभएको छ भनेर थाह पाउँदा तिनले ती व्यक्तिलाई पूर्ण समर्थन गरे। तिनले यस कामको लागि प्रशस्त अनुदानसमेत दिए। हाम्रो लागि कस्तो राम्रो उदाहरण! (२ समु. ७:१२, १३; १ इति. २९:३-५) फ्रान्सका ह्युग नाम गरेका भाइले आफ्नो स्वास्थ्य समस्याले गर्दा एल्डरको रूपमा सेवा गर्न छोडे र तिनी घरमा सानातिना काम गर्न पनि असमर्थ भए। तिनी भन्छन्: “सुरुमा त मैले आफूलाई बेकामको महसुस गरेँ र एकदमै निराश भएँ। तर समय बित्दै जाँदा मैले आफ्नो सीमितता स्विकार्नुपर्ने कुरा बुझेँ र अहिले यहोवाको सेवामा जे-जति गरिरहन सकेको छु, त्यसमै आनन्दित हुन सकेँ। थकाइले चुर भएका गिदोन र तिनका ३०० जना मानिसजस्तै म पनि लडिरहनेछु।”—न्याय. ८:४. w२०.१२ पृ. २५ अनु. १४-१५
शुक्रबार, जून २४
हामी आपसमा प्रेम गरिरहौँ।—१ युह. ४:७.
येसुको जीवनीबारे प्रेषित युहन्नाले लेखेको किताबमा “प्रेम” भन्ने शब्द बाँकी तीन वटा सुसमाचारका किताबमा भन्दा धेरै चोटि प्रयोग गरिएको छ। तिनले परमेश्वरको प्रेरणा पाएर लेखेका किताबहरूले हामी ख्रिष्टियनहरूले सबै काम प्रेमद्वारा उत्प्रेरित भएर गर्नुपर्छ भनी सिकाउँछ। (१ युह. ४:१०, ११) तर युहन्नालाई पनि यो कुरा बुझ्न समय लागेको थियो। युहन्ना जवान छँदा तिनी पनि प्रेम देखाउन चुकेका थिए। उदाहरणको लागि, येसु र उहाँका चेलाहरू सामरिया हुँदै यरुसलेमतर्फ यात्रा गर्दै हुनुहुन्थ्यो। यात्राको क्रममा सामरियाको एउटा गाउँका मानिसहरूले उहाँहरूलाई बास दिन मानेनन्। युहन्नाले येसुलाई आकाशबाट आगो बर्सेर गाउँलेहरू भस्म होऊन् भनी आज्ञा गरौँ भनी सोधे। (लुका ९:५२-५६) अर्को एकचोटि युहन्ना र तिनका दाइ याकुबले परमेश्वरको राज्यमा आफूहरूलाई महत्त्वपूर्ण स्थान दिन येसुलाई भनिदिनुहोस् भनेर आफ्नी आमालाई फकाए जस्तो देखिन्छ। अरू प्रेषितहरूले यो कुरा सुनेपछि तिनीहरू याकुब र युहन्नासित असाध्यै रिसाए। (मत्ति २०:२०, २१, २४) तर युहन्नाको यस्ता कमीकमजोरीको बाबजुद येसु तिनलाई प्रेम गर्नुहुन्थ्यो।—युह. २१:७. w२१.०१ पृ. ९ अनु. ३-४
शनिबार, जून २५
ख्रिष्टले . . . आफैलाई खुसी पार्न खोज्नुभएन।—रोमी १५:३.
यहोवा मानिसहरूको हित हुने तरिकामा निर्णयहरू गर्नुहुन्छ। उदाहरणको लागि, उहाँले आफ्नो खुसीको लागि नभई हामीले जीवनको आनन्द उठाउन सकोस् भनेर हामीलाई सृष्टि गर्ने निर्णय गर्नुभयो। साथै उहाँले अरू कसैको दबाबमा परेर हाम्रो लागि आफ्नो छोराको बलिदान दिनुभएको होइन। उहाँले हाम्रै भलाइको लागि राजीखुसीले त्यस्तो त्याग गर्ने निर्णय गर्नुभयो। येसुले पनि अरूको भलाइ हुने तरिकामा निर्णयहरू गर्नुभयो। उदाहरणको लागि, उहाँ थकित हुनुभए तापनि आराम गर्नुको साटो आफ्नो कुरा सुन्न आएका मानिसहरूलाई सिकाउने निर्णय गर्नुभयो। (मर्कु. ६:३१-३४) परिवारको असल शिरले गर्नुपर्ने सबैभन्दा गाह्रो काम भनेको आफ्नो परिवारको लागि बुद्धिमानी निर्णयहरू गर्नु हो र तिनी यो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्छन्। तिनी आफूखुसी वा भावनामा बहेर निर्णय गर्दैनन्। बरु तिनी यहोवाले दिनुहुने तालिम स्विकार्छन्। (हितो. २:६, ७) यसरी तिनी आफ्नै कुरामा नभई अरूको कुरामा ध्यान दिन्छन्। (फिलि. २:४) पतिले यहोवा र येसुको उदाहरण पछ्याउने प्रयास गर्छन् भने तिनी परिवारको असल शिर बन्न सक्नेछन्। w२१.०२ पृ. ७ अनु. १९-२१
आइतबार, जून २६
आसाले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे।—२ इति. १४:२.
जवान छँदा राजा आसा नम्र र साहसी थिए। उदाहरणको लागि, उनी आफ्नो बुबा अबियाहपछि राजा भए र देशबाट मूर्तिपूजा हटाउने अभियान चलाए। साथै उनले “यहुदाका मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको खोजी गर्न अनि उहाँको व्यवस्था र आज्ञा पालन गर्न अह्राए।” (२ इति. १४:१-७) इथियोपियाली जेरह आफ्नो १० लाख सिपाही लिएर यहुदामा आक्रमण गर्न आउँदा आसाले मदतको लागि यहोवालाई यसरी गुहारे: “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्ख्यामा धेरै होऊन् वा चाहे तिनीहरूसित कुनै शक्ति नहोस्। हे हाम्रा परमेश्वर यहोवा, हामीलाई मदत गर्नुहोस् किनकि हामी तपाईँमै भर परेका छौँ।” यो सुन्दर अभिव्यक्तिबाट आसा उनलाई र उनका मानिसहरूलाई बचाउन यहोवा सक्षम हुनुहुन्छ भन्ने कुरामा विश्वस्त थिए भनेर देखिन्छ। आसाले स्वर्गमा बस्नुहुने आफ्नो बुबामाथि भरोसा गरे र “यहोवा परमेश्वरले . . . इथियोपियाली सेनालाई हराउनुभयो।” (२ इति. १४:८-१२) दस लाख सिपाहीसित भिड्नु पक्कै पनि चानचुने कुरा होइन। तर आसाले यहोवामाथि भरोसा राखे र उनी सफल भए। w२१.०३ पृ. ५ अनु. १२-१३
सोमबार, जून २७
एकअर्काप्रति . . . कोमल स्नेह देखाओ।—रोमी १२:१०.
बाइबलमा त्रुटिपूर्ण मानिसहरूले कोमल स्नेह देखाएको विवरणहरू पाउँछौँ। जोनाथन र दाउदको उदाहरण विचार गर्नुहोस्। बाइबल यसो भन्छ: “जोनाथन र दाउदबीच गहिरो मित्रता गाँसियो। अनि जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।” (१ समु. १८:१) साउलपछि राजा हुन यहोवाले दाउदलाई अभिषेक गर्नुभएको थियो। त्यसपछि साउलले दाउदको ईर्ष्या गर्न थाले र तिनलाई मार्न खोजे। तर साउलले दाउदलाई मार्न खोज्दा जोनाथनले आफ्नो बुबालाई साथ दिएनन्। जोनाथन र दाउदले आफ्नो मित्रता कहिल्यै नटुटाउने र सधैँ एकअर्कालाई साथ दिने वाचा गरे। (१ समु. २०:४२) जोनाथन र दाउदलाई मित्रता गाँस्नदेखि रोक्न सक्ने केही कुराबारे विचार गर्दा तिनीहरूले एकअर्कालाई देखाएको कोमल स्नेह उल्लेखनीय थियो भनेर थाह हुन्छ। जस्तै, जोनाथन दाउदभन्दा झन्डै ३० वर्ष जेठा थिए। आफूभन्दा धेरै कान्छो र कम अनुभवी मानिससित कसरी मित्रता गाँस्न सक्छु र भनेर जोनाथनले सोच्न सक्थे। तर तिनले त्यस्तो सोचेनन्। तिनी दाउदलाई धेरै आदर गर्थे। w२१.०१ पृ. २२ अनु. ६-७
मङ्गलबार, जून २८
हे मेरा भाइ हो, विभिन्न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ।—याकु. १:२.
येसुले आफ्ना चेलाहरूले साँचो आनन्द पाउनेछन् भनेर प्रतिज्ञा गर्नुभयो। उहाँलाई प्रेम गर्नेहरूले परीक्षाहरूको सामना गर्नुपर्नेछ भनेर उहाँले चेतावनी पनि दिनुभयो। (मत्ति १०:२२, २३; लुका ६:२०-२३) ख्रिष्टको चेला हुन पाउँदा हामी आनन्दित छौँ। तर परिवारले विरोध गर्दा, सरकारले खेदो गर्दा वा काम गर्ने ठाउँका वा स्कुलका साथीहरूले गलत काम गर्ने दबाब दिँदा हामी कस्तो महसुस गर्छौँ? यस्ता कुराहरूबारे सोच्दा हामीलाई चिन्ता लाग्नु स्वाभाविकै हो। साधारणतया मानिसहरू खेदोलाई आनन्दित हुने कारणको रूपमा हेर्दैनन्। तर परमेश्वरको वचनले भने खेदोमा पर्दा हामी आनन्दित हुन सक्छौँ भनेर बताउँछ। उदाहरणको लागि, चेला याकुबले हामीमाथि परीक्षाहरू आइपर्दा अत्तालिनुको सट्टा त्यसलाई आनन्दित हुने कारणको रूपमा हेर्न सल्लाह दिए। (याकु. १:२, १२) अनि येसुले पनि खेदो आइपर्दा आनन्दित हुनुपर्छ भन्नुभयो। (मत्ति ५:११) यहोवाले याकुबलाई ती ख्रिष्टियनहरूलाई व्यावहारिक सुझाव दिन प्रेरणा दिनुभयो। ती सुझावहरू लागू गर्दा तिनीहरू परीक्षाहरूको बाबजुद आनन्दित भइरहन सक्ने थिए। w२१.०२ पृ. २६ अनु. १-२; पृ. २७ अनु. ५
बुधबार, जून २९
पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट . . . अलग बस।—१ तिमो. ६:२०.
तिमोथिको समयका केही ख्रिष्टियनले परमेश्वरको सहकर्मी भएर काम गर्ने सुअवसरको कदर गर्न सकेनन्। ती ख्रिष्टियनहरूमा डेमस, फाइगेलस, हर्मोजेनस, हाइमेनियस, अलेक्जेन्डर र फिलेतस पनि पर्छन्। तिनीहरूले धर्मत्यागीहरूको बहकाउमा परेर सत्यलाई त्यागे। (१ तिमो. १:१९, २०; २ तिमो. १:१५; २:१६-१८; ४:१०) यी सबै जना पहिला आध्यात्मिक रूपमा बलिया थिए जस्तो देखिन्छ तर आफूले पाएको ठूलो सुअवसर तिनीहरूलाई बहुमूल्य लाग्न छोड्यो। यहोवाले हामीलाई सुम्पनुभएको धन हामीले लत्याओस् भनेर सैतानले कस्तो प्रयास गर्छ? सैतानका केही चालहरू विचार गर्नुहोस्। सत्यलाई दह्रोसित पक्रिराख्न हामीलाई बाधा पुगोस् भनेर सैतानले मनोरञ्जन र सञ्चार माध्यममार्फत आफ्नो मूल्यमान्यता, सोचाइ र आनीबानीलाई बढावा दिन्छ। हामीले प्रचार गर्न छोडोस् भनेर त्यसले साथीभाइको दबाब वा खेदो प्रयोग गर्छ। अनि हामीले सत्य त्यागोस् भनेर त्यसले हामीलाई ‘सत्यसित मेल नखाने’ धर्मत्यागीहरूको “ज्ञान” सुन्ने प्रलोभनमा पार्न खोज्छ। हामी होसियार भएनौँ भने सत्य हाम्रो हातबाट बिस्तारै फुत्कन सक्छ।—१ तिमो. ६:२१. w२०.०९ पृ. २७-२८ अनु. ६-८
बिहीबार, जून ३०
अनुग्रहको लागि मैले पुकार्दा यहोवाले सुन्नुहुनेछ; यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ।—भज. ६:९.
के तपाईँको कुनै साथी वा परिवारको सदस्यले तपाईँको चित्त दुखाएको छ? यदि त्यसो हो भने तपाईँ राजा दाउदको छोरा अब्सालोमको विवरणबाट लाभ उठाउन सक्नुहुन्छ। (२ समु. १५:५-१४, ३१; १८:६-१४) यो विवरण मनमा राख्दै अरूले तपाईँसित नराम्रो व्यवहार गरेकोमा तपाईँलाई कस्तो लागिरहेको छ भनेर यहोवालाई बताउनुहोस्। (भज. ६:६-८) त्यसपछि आफ्नो जीवनमा यी सबै घटना भइरहँदा दाउदलाई कस्तो महसुस भएको थियो होला, कल्पना गर्नुहोस्। तिनी अब्सालोमलाई माया गर्थे र अहितोपेललाई भरोसा गर्थे। तर उनीहरू दुवै जनाले दाउदलाई धोका दिए। उनीहरूले तिनको निकै चित्त दुखाए र तिनलाई मार्ने प्रयाससमेत गरे। दाउदले आफ्ना अरू साथीहरूले पनि अब्सालोमको विद्रोहमा साथ दिइरहेका छन् कि भनेर शङ्का गर्न सक्थे र उनीहरूमाथि तिनको भरोसा गुम्न सक्थ्यो। तिनले आफैबारे मात्र सोचेर एक्लै देश छोड्ने निर्णय गर्न सक्थे। अथवा तिनी निराश भएर चुपचाप बस्न सक्थे। तर तिनले त्यसो गरेनन्। बरु मदतको लागि यहोवालाई प्रार्थना गरे। तिनले आफ्ना साथीहरूसित पनि मदत मागे। अनि तिनले आफ्नो निर्णयअनुसारै तुरुन्तै कदम पनि चाले। तिनले यहोवामाथि र आफ्ना साथीहरूमाथि भरोसा गरिरहे। w२१.०३ पृ. १५ अनु. ७-८; पृ. १७ अनु. १०-११