जुलाई
शुक्रबार, जुलाई १
स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।—मत्ति २८:१८.
आफ्नो प्रार्थनाको जवाफ चाहन्छौँ भने हामीले येसुसित राम्रो सम्बन्ध गाँस्नै पर्छ। यसको लागि हामीले प्रार्थनाको अन्तमा “येसु ख्रिष्टको नाममा” भन्ने वाक्यांश थप्नु मात्र पर्याप्त छैन। हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा येसुलाई कसरी चलाउनुहुन्छ भनेर हामीले बुझ्नुपर्छ। येसुले प्रेषितहरूलाई यसो भन्नुभयो: “तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु।” (युह. १४:१३) हुनत हाम्रो प्रार्थना सुन्ने र त्यसको जवाफ दिने यहोवा परमेश्वर हुनुहुन्छ तर उहाँको निर्णयबमोजिम कदम चाल्ने अधिकार उहाँले येसुलाई दिनुभएको छ। त्यसैले परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुअघि हामीले येसुको आज्ञा पालन गरेका छौँ कि छैनौँ भनी हेर्नुहुन्छ। उदाहरणको लागि, येसुले यसो भन्नुभयो: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” (मत्ति ६:१४, १५) त्यसैले यहोवा र येसु हामीसित जस्तो व्यवहार गर्नुहुन्छ, हामीले पनि अरूसित त्यस्तै व्यवहार गर्नु झन् कत्ति महत्त्वपूर्ण छ! w२०.०४ पृ. २१ अनु. ६
शनिबार, जुलाई २
यी निरर्थक कुराहरूबाट फर्केर . . . जीवित परमेश्वरकहाँ आउनुहोस् भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ।—प्रेषि. १४:१५.
प्रेषित पावलले आफ्ना श्रोतालाई चासो लाग्ने विषयहरू पत्ता लगाए अनि त्यसैअनुसार प्रस्तुति छाँटकाँट गरे। उदाहरणको लागि, तिनले लिस्त्रामा कुरा गरेको भीडसित धर्मशास्त्रबारे थोरै मात्र ज्ञान थियो वा छँदै थिएन। त्यसैले पावलले तिनीहरूले बुझ्न सक्ने तर्क प्रस्तुत गरे। तिनले प्रशस्त बाली र आनन्दित जीवनबारे कुरा गरे। तिनले चलाएका शब्द र उदाहरणहरू तिनका श्रोताले सजिलै बुझ्न सक्थे। तपाईँको इलाकाका मानिसहरूलाई चासो लाग्ने विषय पत्ता लगाउन अन्तरदृष्टि चलाउनुहोस् र त्यसैअनुसार आफ्नो प्रस्तुति छाँटकाँट गर्नुहोस्। कुनै व्यक्तिलाई कस्तो कुरामा चासो छ भनेर तिनी वा तिनको घरबाट कसरी पत्ता लगाउन सकिन्छ? वरपरको कुरा नियाल्नुहोस्। तिनी बगैँचामा गोडमेल गरिरहेका छन् कि? किताब पढ्दै वा सवारी साधन मर्मत गर्दै छन् कि? अथवा अरू केही गर्न व्यस्त पो छन् कि? उपयुक्त छ भने तिनले गरिरहेको कामबारे नै कुरा थाल्नुभए कसो होला? (युह. ४:७) कुनै व्यक्तिको लुगाबाट पनि तिनीबारे थुप्रै कुरा थाह हुन्छ। जस्तै, त्यो लुगाले तिनी कहाँका हुन्, तिनको पेसा अथवा तिनलाई मन पर्ने खेलको टिमबारे पो बताउँछ कि? w२०.०४ पृ. ११ अनु. ११-१२
आइतबार, जुलाई ३
तिमीहरूले आफ्नो सारा फिक्री [परमेश्वरमाथि] बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।—१ पत्रु. ५:७.
अचाक्ली चिन्ताले व्याकुल भएकोले केही दाजुभाइ दिदीबहिनी सामान्य दिनचर्यामा अरूसित कुराकानी गर्न डराउँछन् र अप्ठेरो मान्छन्। तिनीहरूलाई हूलमूलमा बस्न गाह्रो लाग्न सक्छ तैपनि तिनीहरू सभा, सम्मेलन अनि अधिवेशनहरूमा उपस्थित हुन छोड्दैनन्। तिनीहरूलाई अपरिचित मानिसहरूसित बोल्न अप्ठेरो लाग्छ तैपनि तिनीहरू प्रचारकार्यमा अरूसित कुराकानी गर्छन्। तपाईँलाई पनि यस्तै लाग्छ भने तपाईँ एक्लो हुनुहुन्न भनेर नबिर्सनुहोस्। धेरैले यस्तै महसुस गर्छन्। तपाईँले मनैदेखि गर्नुभएको प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भनेर नबिर्सनुहोस्। तपाईँले अहिलेसम्म हार मान्नुभएको छैन भन्ने कुराले यहोवाले तपाईँलाई आशिष् र आवश्यक बल दिँदै हुनुहुन्छ भन्ने प्रमाण दिन्छ। (फिलि. ४:६, ७) शारीरिक अशक्तता वा भावनात्मक समस्याको बाबजुद यहोवाको सेवा गर्दै हुनुहुन्छ भने तपाईँ उहाँलाई खुसी बनाउँदै हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्। हामीमध्ये धेरैजसोको स्वास्थ्य अवस्था ठीक नभए तापनि धैर्य गर्दै दौडिरहेका छौँ। (२ कोरि. ४:१६) यहोवाको मदत पाएर हामी सबैले दौड पूरा गर्न सक्नेछौँ! w२०.०४ पृ. ३०-३१ अनु. २०-२१
सोमबार, जुलाई ४
उहाँका अदृश्य गुणहरू . . . सृष्टिदेखि नै छर्लङ्गै देखिँदै आएका छन्।—रोमी १:२०.
यहोवाले हाम्रो घर अर्थात् पृथ्वी बनाउनुभएको तरिकाबाट उहाँको बुद्धि छर्लङ्गै देखिन्छ। (हिब्रू ३:४) मानव जीवन धान्न चाहिने उचित अवस्था पृथ्वीमा मात्र छ। त्यसैले यो बेजोड छ। ब्रह्माण्डमा रहेको पृथ्वीलाई विशाल समुद्रमा तैरिरहेको डुङ्गासित तुलना गर्न सकिन्छ। तर मानिसले बनाएको डुङ्गा र पृथ्वीबीच उल्लेखनीय भिन्नताहरू छन्। उदाहरणको लागि, डुङ्गामा यात्रा गरिरहेकाहरूले अक्सिजन, खानेकुरा र पानी आफैले उत्पादन गर्नुपऱ्यो अनि तिनीहरूले कुनै पनि फोहोर पानीमा फ्याँक्न सकेनन् भने तिनीहरू कतिन्जेल बाँच्न सक्लान्? धेरै दिन बाँच्न सक्नेछैनन्। तर पृथ्वीको कुरा गर्ने हो भने अरबौँ जीवजीवात पृथ्वीमा बाँचिरहेका छन्। पृथ्वीले हामीलाई चाहिने अक्सिजन, खानेकुरा र पानी प्रशस्त मात्रामा उत्पादन गर्छ र हामीलाई यी अत्यावश्यक कुराहरू कहिल्यै अपुग हुँदैन। पृथ्वीबाट निस्कने फोहोर अन्तरिक्षमा फ्याँकिदैन। तैपनि पृथ्वी सुन्दर र जीवजीवात बस्न योग्य भइरहन्छ। त्यो कसरी सम्भव छ? यहोवाले पृथ्वीलाई यहाँ उपलब्ध स्रोतसाधन विभिन्न प्रक्रियाद्वारा प्रशोधन गर्न सकिने चक्रहरूसहित बनाउनुभएको छ। w२०.०५ पृ. २० अनु. ३-४
मङ्गलबार, जुलाई ५
अहँ! तिमीहरू कदापि मर्नेछैनौ!—उत्प. ३:४.
वास्तवमा सैतानले हव्वालाई यहोवा झूटा हुनुहुन्छ भनिरहेको थियो। सैतान यसरी दियाबल अर्थात् निन्दक बन्यो। हव्वालाई पूर्णतया बहकाइयो; उनले सैतानको कुरा पत्याइन्। (१ तिमो. २:१४) उनले यहोवामा भन्दा सैतानमा बढी भरोसा राखिन्। यसले गर्दा हव्वा असाध्यै मूर्ख निर्णय गर्ने हदसम्म पुगिन्। उनले यहोवाको आज्ञा पालन नगर्ने छनौट गरिन्। उनले यहोवाले निषेध गर्नुभएको फल खाइन्। त्यसपछि उनले आदमलाई पनि त्यो फल दिइन्। (उत्प. ३:६) हव्वाले सैतानलाई के भन्नुपर्ने थियो, एकछिन सोच्नुहोस् त। कल्पना गर्नुहोस्, तिनले यस्तै केही भनिन्: “म तँलाई चिन्दिनँ तर मेरो बुबा यहोवालाई राम्ररी चिन्छु अनि उहाँलाई माया र भरोसा गर्छु। उहाँले आदम र मलाई सबै कुरा दिनुभएको छ। उहाँबारे यस्तो नराम्रो कुरा भन्ने तेरो कत्रो आँट! यहाँबाट गइहाल्!” आफ्नो प्यारी छोरीले आफूप्रति वफादार हुँदै सैतानलाई त्यस्तो जवाफ दिएको सुन्न पाउनुभएको भए यहोवालाई कत्ति खुसी लाग्थ्यो होला! (हितो. २७:११) तर हव्वाको मनमा यहोवाप्रति अटल प्रेम थिएन; आदमसित पनि त्यस्तो प्रेम थिएन। आफ्नो बुबा यहोवाप्रति यस्तो प्रेम नभएकोले उहाँको नामको निन्दा गरिँदा आदम र हव्वा त्यसलाई गलत साबित गर्नदेखि चुके। w२०.०६ पृ. ४ अनु. १०-११
बुधबार, जुलाई ६
स्त्रीहरूको विशाल सेनाले उहाँको सुसमाचार घोषणा गर्छ।—भज. ६८:११.
हाम्रा बहिनीहरू प्रशंसाको योग्य छन्। किनकि तिनीहरूले यहोवाको सेवामा विभिन्न काम गरिरहेका छन्। तिनीहरूमध्ये कोही-कोही भवनहरू निर्माण गर्ने र मर्मतसम्भार गर्ने काममा भाग लिन्छन्, कोही-कोही विदेशी भाषाका समूहहरूलाई मदत गर्छन् अनि कोही-कोही भने बेथेलमा स्वयम्सेवा गर्छन्। बहिनीहरूले राहतकार्यमा पनि सघाउँछन्, हाम्रा प्रकाशनहरू अनुवाद गर्छन् अनि अग्रगामी र मिसनरीको रूपमा सेवा गर्छन्। साथै विवाहित बहिनीहरूले आफ्ना पतिहरूलाई मण्डलीको र सङ्गठनको महत्त्वपूर्ण कार्यभार सँभाल्न मदत गर्छन्। यी जिम्मेवार भाइहरू, जो “वरदानको रूपमा पुरुषहरू” हुन्, यिनीहरूले आफ्ना पत्नीहरूको साथ नपाउने हो भने अहिलेजस्तै पूरापूर यहोवाको सेवा गर्न सक्ने थिएनन्। (एफि. ४:८) हाम्रा बहिनीहरू भनेको इच्छुक सेवकहरूको “विशाल सेना” हुन् र तिनीहरू अक्सर प्रचारकार्यमा सबैभन्दा प्रभावकारी साबित भएका छन् भनेर बुद्धिमान् एल्डरहरूलाई थाह छ। साथै वफादार र परिपक्व बहिनीहरूले आफूभन्दा कम उमेरका बहिनीहरूलाई चुनौतीहरूको सामना गर्न प्रभावकारी तरिकामा मदत गर्न सक्छन् भनेर एल्डरहरूले राम्ररी बुझेका छन्। (ति. २:३-५) हाम्रा बहिनीहरू हामीबाट आदर पाउन साँच्चै योग्य छन्! w२०.०९ पृ. २३-२४ अनु. १३-१४
बिहीबार, जुलाई ७
स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्न।—मत्ति १८:१४.
पहिला यहोवाको सेवा गरेका तर केही समयको लागि उहाँका जनहरूसित सङ्गत गर्न छोडेकाहरूलाई उहाँ बिर्सनुहुन्न न त तिनीहरूले गरेको काम नै बिर्सनुहुन्छ। (हिब्रू ६:१०) यहोवा आफ्ना सेवकहरूको कसरी हेरचाह गर्नुहुन्छ भनेर बुझाउन भविष्यवक्ता यसैयाले एउटा सुन्दर उदाहरण चलाए। तिनले यस्तो लेखे: “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ। आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।” (यसै. ४०:११) कुनै एउटा भेडाले बाटो बिराउँदा महान् गोठालो यहोवा कस्तो महसुस गर्नुहुन्छ? येसुले यहोवाको भावना झल्काउँदै आफ्ना चेलाहरूलाई यस्तो प्रश्न सोध्नुभयो: “तिमीहरूलाई कस्तो लाग्छ? यदि कुनै मानिसको १०० वटा भेडा छन् र तीमध्ये एउटाले बाटो बिरायो भने ९९ वटालाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडा खोज्न जाँदैन र? अनि उसले त्यसलाई केही गरी भेट्टाइहाल्यो भने म तिमीहरूलाई साँच्चै भन्छु, बाटो नबिराएका ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि ऊ धेरै रमाउनेछ।”—मत्ति १८:१२, १३. w२०.०६ पृ. १९-२० अनु. ८-९
शुक्रबार, जुलाई ८
यदि कुनै पुरुष निरीक्षक बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।—१ तिमो. ३:१.
आफूले जसरी सक्छौँ, त्यसरी यहोवाको सेवा गर्न पाउनुलाई हामी सुअवसर ठान्छौँ। (भज. २७:४; ८४:१०) कुनै भाइ यहोवाको सङ्गठनमा अझ धेरै गर्न तत्पर छन् भने त्यो धेरै राम्रो कुरा हो। तर ती भाइले जिम्मेवारी पाएपछि आफूलाई आवश्यकभन्दा धेरै ठान्नु हुँदैन। (लुका १७:७-१०) तिनको लक्ष्य नम्र हुँदै अरूको सेवा गर्ने हुनुपर्छ। (२ कोरि. १२:१५) बाइबलमा आफूलाई बढ्तै महत्त्व दिएका व्यक्तिहरूको चेतावनीमूलक उदाहरणहरू पाउँछौँ। डियोत्रिफसले अहङ्कारी हुँदै मण्डलीमा “पहिलो स्थान” ओगट्न खोजे। (३ युह. ९) उज्जियाह पनि घमन्डी हुँदै यहोवाले आफूलाई नअह्राउनुभएको काम गर्न पुगे। (२ इति. २६:१६-२१) अब्सालोमले पनि धूर्त चाल चलेर इस्राएलीहरूको मन जित्न खोजे किनकि तिनी राजा बन्न चाहन्थे। (२ समु. १५:२-६) यी बाइबल विवरणहरूले देखाएझैँ यहोवा आफ्नै मान खोज्ने मानिसहरूदेखि खुसी हुनुहुन्न। (हितो. २५:२७) त्यस्ता घमन्डी र अहङ्कारी मानिसहरूको पतन हुन्छ।—हितो. १६:१८. w२०.०७ पृ. ४ अनु. ७-८
शनिबार, जुलाई ९
हरेकले आफ्नो भारी आफै बोक्नेछ।—गला. ६:५.
केही ख्रिष्टियन परिवार शरणार्थीको रूपमा वा कामको लागि अर्को देशमा बसाइँ सरेका छन्। यस्तो अवस्थामा तिनीहरूका छोराछोरीले स्कुलमा त्यही देशको मुख्य भाषामा पढ्नुपर्ने हुन सक्छ। आमाबुबाले पनि काम पाउन त्यही देशको मुख्य भाषा सिक्नुपर्ने हुन सक्छ। तर त्यहाँ उनीहरूकै मातृभाषाको कुनै मण्डली वा समूह छ भने नि? उनीहरू कुन मण्डलीमा जानुपर्छ? त्यही देशको मुख्य भाषा बोलिने मण्डलीमा कि परिवारको मातृभाषा बोलिने मण्डलीमा? आफ्नो परिवारलाई कुन भाषाको मण्डलीमा लैजाने भनेर परिवारको शिरले निर्णय गर्नुपर्छ। यो नितान्त व्यक्तिगत मामिला भएकोले के गर्दा परिवारको भलाइ हुन्छ, तिनले त्यो विचार गर्नुपर्छ। परिवारको शिरले गरेको निर्णयको हामीले कदर गर्नुपर्छ। तिनले जे निर्णय गरे तापनि तिनको निर्णय स्विकारौँ अनि तिनको परिवारलाई मण्डलीको महत्त्वपूर्ण अङ्गको रूपमा स्वागत गरौँ।—रोमी १५:७. w२०.०८ पृ. ३० अनु. १७-१८
आइतबार, जुलाई १०
परमेश्वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो।—१ कोरि. १:२७.
हामी यहोवाबाट शक्ति पाउन चाहन्छौँ भने शारीरिक बल, शिक्षा, सामाजिक पृष्ठभूमि वा धनसम्पत्तिको आधारमा आफू कत्तिको महत्त्वपूर्ण छु भन्ने सोचाइ राख्नु हुँदैन। हामीलाई यहोवाको नजरमा उपयोगी बनाउने यस्ता कुराहरूले होइन। वास्तवमा परमेश्वरका जनहरूमध्ये “धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी” छैनन्। (१ कोरि. १:२६) तपाईँ अरूको नजरमा कमजोरजस्तो देखिनुहोला। तैपनि तपाईँ यहोवाको सेवा गर्न सक्नुहुन्छ। आफ्नो अवस्थालाई यहोवाको शक्तिले तपाईँमा काम गर्ने मौकाको रूपमा हेर्नुहोस्। उदाहरणको लागि, तपाईँलाई आफ्नो विश्वासमा शङ्का गर्न लगाउने मानिसहरूलाई साक्षी दिन डर लाग्छ भने आफ्नो विश्वासको पक्षमा साहसी भई बोल्न सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्। (एफि. ६:१९, २०) तपाईँ कुनै गम्भीर अस्वस्थतासित सङ्घर्ष गर्दै हुनुहुन्छ भने यहोवाको सेवामा सक्दो व्यस्त रहन चाहिने बल दिनुहोस् भनेर उहाँसित बिन्ती गर्नुहोस्। हरेक चोटि यहोवाले मदत गर्नुभएको महसुस गर्दा तपाईँको विश्वास अझ बढ्नेछ र तपाईँ झनै बलियो हुनुहुनेछ। w२०.०७ पृ. १६ अनु. ९
सोमबार, जुलाई ११
राज्यलाई . . . पहिलो स्थान [देओ]।—मत्ति ६:३३.
परमेश्वरको सहर अर्थात् उहाँको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिन हामी अब्राहामजस्तै परमेश्वरलाई खुसी बनाउने त्यागहरू गर्न इच्छुक हुनुपर्छ। (मर्कु. १०:२८-३०; हिब्रू ११:८-१०) आफ्नो जीवन समस्यामुक्त हुनेछ भन्ने आस नगर्नुहोस्। यहोवाको सेवामा आफ्नो पूरै जीवन समर्पित गर्नेहरूले पनि अनेकन् समस्या भोग्नुपर्छ। (याकु. १:२; १ पत्रु. ५:९) आज हामीले भविष्यमा ध्यान केन्द्रित गर्नुपर्ने अझ धेरै कारण छन्। संसारमा भइरहेका घटनाहरूले हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौँ भनेर देखाउँछ। परमेश्वरको राज्यमा हामीले पाउने थुप्रै आशिष्मध्ये एउटा हो, मृत्यु भइसकेका प्रियजनहरू फेरि जीवित हुँदा हामी उनीहरूलाई भेट्न पाउनेछौँ। त्यतिबेला, अब्राहामले देखाएको विश्वास र धीरजको इनामस्वरूप यहोवाले तिनी र तिनको परिवारलाई फेरि जीवित पार्नुहुनेछ। के तपाईँ तिनीहरूलाई स्वागत गर्न त्यहाँ हुनुहुनेछ? अब्राहामजस्तै परमेश्वरको राज्यको लागि त्यागहरू गर्न इच्छुक हुनुभयो, समस्याहरूको बाबजुद यहोवामाथि भरोसा राख्नुभयो र धीरजी भई यहोवाको प्रतिज्ञा पूरा हुने समय पर्खनुभयो भने तपाईँ पनि त्यहाँ हुनुहुनेछ।—मिका ७:७. w२०.०८ पृ. ५-६ अनु. १३-१४; पृ. ७ अनु. १७
मङ्गलबार, जुलाई १२
मृत्युसम्मै आफूलाई विश्वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।—प्रका. २:१०.
हामीलाई थाह छ, शत्रुहरूले हामीलाई मारे तापनि यहोवाले हामीलाई फेरि जीवित पार्नुहुनेछ। कुनै पनि कुराले यहोवासितको हाम्रो मित्रता तोड्न सक्दैन भनेर हामी विश्वस्त छौँ। (रोमी ८:३५-३९) हामीलाई फेरि जीवित हुने आशा दिनुभएर यहोवाले कस्तो अतुलनीय बुद्धि देखाउनुभएको छ! यही आशालाई चलाएर उहाँ सैतानको सबैभन्दा शक्तिशाली हतियारलाई बेकामको तुल्याइदिनुहुन्छ र हामीलाई बलियो हतियारको रूपमा अदम्य साहस दिनुहुन्छ। यहोवाका शत्रुहरूले तपाईँलाई मार्ने धम्की दिए भने के तपाईँ यहोवाले फेरि जीवित पार्नुहुनेछ भनेर भरोसा गर्नुहुनेछ? आफूमा यस्तो भरोसा छ कि छैन भनेर तपाईँ कसरी थाह पाउन सक्नुहुन्छ? एउटा तरिका भनेको आफूलाई यो प्रश्न सोध्नु हो, ‘के मैले हरेक दिन गर्ने ससाना निर्णयहरूबाट म यहोवामाथि भरोसा राख्छु भन्ने देखिन्छ?’ (लुका १६:१०) अर्को प्रश्न हो, ‘मैले यहोवाको राज्यलाई पहिलो स्थान दिएँ भने उहाँले मेरा भौतिक आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भनेर भरोसा गरेको के मेरो जीवनशैलीबाट देखिन्छ?’ (मत्ति ६:३१-३३) यदि यी प्रश्नहरूको सकारात्मक जवाफ दिनुहुन्छ भने तपाईँ जस्तोसुकै परीक्षाको सामना गर्न तयार हुनुहुनेछ।—हितो. ३:५, ६. w२०.०८ पृ. १७-१८ अनु. १५-१६
बुधबार, जुलाई १३
आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।—२ तिमो. २:१५.
हामी पनि परमेश्वरको वचन चलाउन सिपालु हुनुपर्छ। तीमध्ये केही सीप हामी सभाबाट सिक्न सक्छौँ। तर बाइबलको सत्य साँच्चै बहुमूल्य छ भनेर अरूलाई विश्वस्त बनाउन हामीले व्यक्तिगत बाइबल अध्ययन गर्ने राम्रो तालिका बनाउनुपर्छ र त्यसअनुसार चल्नुपर्छ। आफ्नो विश्वास बलियो बनाउन हामीले परमेश्वरको वचन प्रयोग गर्नुपर्छ। यसको लागि बाइबल पढ्नु मात्र पर्याप्त छैन। बरु आफूले पढेको कुरामा मनन गर्नुपर्छ अनि हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। यसो गऱ्यौँ भने बाइबलका कुराहरू अझ राम्ररी बुझेर लागू गर्न सक्छौँ। (१ तिमो. ४:१३-१५) त्यसपछि हामीले परमेश्वरको वचन प्रयोग गरेर अरूलाई सिकाउन सक्नेछौँ। अरूलाई सिकाउँदा बाइबल पढेर सुनाउनु मात्र पर्याप्त छैन। बरु उनीहरूलाई बाइबलका कुराहरू अझ राम्ररी बुझ्न र ती लागू गर्न मदत गर्नुपर्छ। नियमित रूपमा व्यक्तिगत बाइबल अध्ययन गऱ्यौँ भने अरूलाई सिकाउँदा परमेश्वरको प्रेरित वचन प्रयोग गर्न हामी अझ सिपालु हुनेछौँ।—२ तिमो. ३:१६, १७. w२०.०९ पृ. २८ अनु. १२
बिहीबार, जुलाई १४
[येसुलाई] ध्यान दिएर हेर, . . . यसो गऱ्यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।—हिब्रू १२:३.
हामीलाई प्रचारकार्यमा सघाउन यहोवाले कत्ति धेरै काम गरिरहनुभएको छ भनेर विचार गर्दा हामी यस काममा एकाग्र भई लाग्न सक्छौँ। उदाहरणको लागि, छापिएको र डिजिटल प्रकाशन, अडियो र भिडियो रेकर्डिङ र JW ब्रोडकास्टिङमार्फत उहाँले प्रशस्त मात्रामा आध्यात्मिक भोजन उपलब्ध गराइरहनुभएको छ। सोच्नुहोस् त, हाम्रो आधिकारिक वेबसाइटमा १ हजारभन्दा धेरै भाषामा जानकारी उपलब्ध छ! (मत्ति २४:४५-४७) प्रचारकार्यमा एकाग्र भई लाग्ने अर्को तरिका येसुको उदाहरण पछ्याउनु हो। उहाँ सत्यको साक्षी दिनदेखि रोक्ने कुनै पनि कुरामा अलमलिनुभएन। (युह. १८:३७) सैतानले “संसारका सबै राज्य र त्यसको महिमा” दिने प्रस्ताव राख्दा येसु त्यसको प्रलोभनमा पर्नुभएन। साथै मानिसहरूले उहाँलाई राजा बनाउन खोज्दा उहाँले राजा बन्न अस्वीकार गर्नुभयो। (मत्ति ४:८, ९; युह. ६:१५) उहाँ भौतिक कुराहरूको पछि लाग्नुभएन न त खेदो आउँदा डराउनु नै भयो। (लुका ९:५८; युह. ८:५९) प्रेषित पावलले आजको दैनिक पदमा दिएको सल्लाह मनमा राख्यौँ भने विश्वासको परीक्षा हुँदा समेत हामी प्रचारकार्यमा एकाग्र भई लाग्न सक्नेछौँ। w२०.०९ पृ. ९-१० अनु. ६-७
शुक्रबार, जुलाई १५
मैले ख्रिष्टको अनुकरण गरेजस्तै तिमीहरू मेरो अनुकरण गर।—१ कोरि. ११:१.
हामीमाझ मण्डलीमा कडा परिश्रम गर्ने यति धेरै बहिनीहरू भएकोमा हामी साँच्चै खुसी छौँ! तिनीहरू सभामा र प्रचारकार्यमा भाग लिन्छन्। कोही-कोही राज्यभवनको मर्मतकार्यमा सघाउँछन् र अरू भाइबहिनीप्रति व्यक्तिगत चासो देखाउँछन्। तिनीहरूले विभिन्न समस्याहरू पनि झेलिरहेका हुन्छन्। कोही-कोही आफ्ना वृद्ध आमाबुबाको हेरचाह गर्छन्। अरूले भने परिवारका सदस्यहरूबाट विरोध खेपिरहेका छन्। अनि अरू कतिपय भने एकल आमा भएकोले आफ्ना छोराछोरीको लालनपालन गर्न दिनरात खटिरहेका छन्। हामीले किन बहिनीहरूलाई मदत गर्नुपर्छ? किनभने स्त्रीहरूले जुन आदर पाउनुपर्ने हो, संसारले तिनीहरूलाई अक्सर त्यस्तो आदर दिँदैन। साथै स्त्रीहरूलाई मदत गर्न बाइबलले हामीलाई प्रोत्साहन दिन्छ। उदाहरणको लागि, बहिनी फिबीलाई स्वागत गर्न र “उनलाई जे-जस्तो मदतको खाँचो पर्छ, मदत” गर्न प्रेषित पावलले रोमको मण्डलीलाई भने। (रोमी १६:१, २) पावल हुर्केको समाजमा स्त्रीहरूलाई तुच्छ ठानिन्थ्यो। तर ख्रिष्टियन भइसकेपछि भने तिनले येसुको अनुकरण गरे अनि स्त्रीहरूलाई मर्यादापूर्ण र दयालु व्यवहार गरे। w२०.०९ पृ. २० अनु. १-२
शनिबार, जुलाई १६
चेला बनाओ; . . . मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।—मत्ति २८:१९, २०.
बाइबल विद्यार्थीलाई अरूसित सुसमाचार बाँड्ने इच्छुकता बढाउन मदत गर्न हामी तिनलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: “राज्यको सन्देश स्विकार्दा तपाईँको जीवन कसरी अझ राम्रो भएको छ? तपाईँलाई अरूले पनि यो सन्देश सुन्नुपर्छ जस्तो लाग्छ? तिनीहरूलाई मदत गर्न तपाईँ के गर्न सक्नुहुन्छ?” (हितो. ३:२७; मत्ति ९:३७, ३८) नबिर्सनुहोस्, येसुले हामीलाई “मैले . . . आज्ञा गरेको सबै कुरा . . . पालन गर्न सिकाओ” भनी निर्देशन दिनुभएको थियो। यसमा पक्कै पनि दुई वटा सबैभन्दा महत्त्वपूर्ण आज्ञा समावेश छन्: परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई प्रेम गर्नु। यी दुवै आज्ञा प्रचार गर्ने र चेला बनाउने कामसित सम्बन्धित छ। (मत्ति २२:३७-३९) हामीलाई प्रचारकार्यमा भाग लिन उत्प्रेरित गर्ने मुख्य कुरा भनेको प्रेम नै हो। हुनत केही बाइबल विद्यार्थीलाई प्रचारकार्यमा भाग लिने कुरा सोच्दा मात्रै पनि डर लाग्न सक्छ। तर हामी त्यस्ता विद्यार्थीलाई यहोवाको मदत पाएर बिस्तारै मानिसको डरलाई जित्न सकिन्छ भनेर आश्वासन दिन सक्छौँ।—भज. १८:१-३; हितो. २९:२५. w२०.११ पृ. ३ अनु. ६-८
आइतबार, जुलाई १७
हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ।—कल. १:९.
अध्ययनको लागि तयारी गर्दा विद्यार्थीबारे र तिनलाई कुन क्षेत्रमा मदत चाहिएको छ, त्यसबारे यहोवालाई प्रार्थना गर्नुहोस्। विद्यार्थीको मनसम्म पुग्नेगरि बाइबलबाट सिकाउन यहोवासित मदत माग्नुहोस्। तपाईँको लक्ष्य तिनलाई बप्तिस्मासम्म पुग्न मदत दिनु हो भन्ने कुरा सधैँ मनमा राख्नुहोस्। तिनले पनि यहोवासित कुराकानी गर्नुपर्छ। कसरी? यहोवाको कुरा सुनेर र उहाँलाई आफ्नो कुरा बताएर। तिनले हरेक दिन बाइबल पढेर परमेश्वरको कुरा सुन्न सक्छन्। (यहो. १:८; भज. १:१-३) विद्यार्थीले हरेक दिन प्रार्थना गरेर यहोवासित कुरा गर्न सक्छन्। त्यसैले बाइबल अध्ययनको सुरुमा र अन्तमा मनैदेखि प्रार्थना गर्नुहोस् अनि प्रार्थनामा विद्यार्थीको लागि पनि बिन्ती गरिदिनुहोस्। तिनले तपाईँको प्रार्थना सुनेर मनैदेखि प्रार्थना गर्न अनि येसु ख्रिष्टको नाममा यहोवा परमेश्वरलाई प्रार्थना गर्न सिक्नेछन्। (मत्ति ६:९; युह. १५:१६) विद्यार्थीले हरेक दिन बाइबल पढ्दा (यहोवाको कुरा सुन्दा) अनि प्रार्थना गर्दा (यहोवालाई आफ्नो कुरा बताउँदा) तिनी परमेश्वरसित कत्ति नजिक हुनेछन्, सोच्नुहोस् त!—याकु. ४:८. w२०.१० पृ. ८ अनु. ८; पृ. ९ अनु. १०-११
सोमबार, जुलाई १८
शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा [रहो]।—एफि. ४:३.
सुरुसुरुका ख्रिष्टियनहरूले जस्तै आज पनि यहोवाको सङ्गठनले शान्ति र सुव्यवस्था कायम गर्न प्रयास गरिरहेको स्पष्टै देखिन्छ। (प्रेषि. १६:४, ५) एउटा उदाहरण विचार गरौँ। मानौँ, तपाईँ अर्को मण्डलीमा वा अर्कै देशमा प्रहरीधरहरा अध्ययनमा उपस्थित हुनुभयो। तपाईँलाई छलफल कसरी गरिन्छ अनि कुन लेख छलफल गरिन्छ भनेर थाह हुन्छ। तपाईँलाई आफ्नै मण्डलीमा भएको जस्तो महसुस हुन्छ! परमेश्वरको पवित्र शक्तिको डोऱ्याइ नहुने हो भने यस्तो एकता कसरी सम्भव हुन्थ्यो र! (सप. ३:९, फुटनोट) तपाईँ के गर्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्: ‘के म मण्डलीको शान्ति र एकता कायम राख्न प्रयास गर्छु? के म नेतृत्व लिइरहेका भाइहरूप्रति आज्ञाकारी छु? के अरू भाइबहिनीले मलाई भरोसा गर्न सक्छन्? अझ विशेषगरि मैले मण्डलीमा जिम्मेवारीहरू सम्हालिरहेको छु भने नि? के म समयनिष्ठ, मदतकारी र अरूको सेवा गर्न इच्छुक छु?’ (याकु. ३:१७) आफूले उन्नति गर्नुपर्ने ठाउँ देख्नुभयो भने प्रार्थनामा पवित्र शक्ति माग्नुहोस्। आफ्नो व्यक्तित्व र व्यवहारलाई जति धेरै पवित्र शक्तिको प्रभावमा पर्न दिनुहुन्छ, भाइबहिनीले तपाईँलाई त्यति नै धेरै माया गर्नेछन् र बहुमूल्य ठान्नेछन्। w२०.१० पृ. २३ अनु. १२-१३
मङ्गलबार, जुलाई १९
वचन पालन गर्ने होओ, सुन्ने मात्र होइन।—याकु. १:२२.
परमेश्वरको वचनले हाम्रो लागि ऐनाको जस्तै काम गर्न सक्छ। (याकु. १:२३-२५) हामीमध्ये धेरै जनाले हरेक बिहान घरबाट निस्कनुअघि ऐना हेर्छौं। ऐना हेर्दा हामीले आफ्नो पहिरन र कोरीबाटीमा केही नमिलेको देख्न सक्छौँ र हामी त्यो मिलाउँछौँ। त्यसैगरि हरेक दिन बाइबल पढ्दा हामीले आफ्नो सोचाइ र मनोवृत्तिमा केही छाँटकाँट गर्नुपर्ने देख्न सक्छौँ। धेरै जनाले हरेक बिहान घरबाट निस्कनुअघि दैनिक पद पढ्नु मदतकारी पाएका छन्। तिनीहरू आफूले पढेको कुराले आफ्नो सोचाइमा प्रभाव पार्न दिन्छन्। अनि दिनभरि परमेश्वरको वचनबाट पाएको उक्त सल्लाह लागू गर्ने मौका खोजिरहन्छन्। साथै हामीले अध्ययन गर्ने राम्रो तालिका बनाउनुपर्छ, जसमा हरेक दिन परमेश्वरको वचन पढ्नु र मनन गर्नु पनि समावेश छ। यसो गर्नु साधारणजस्तो देखिए पनि यो जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिँडिरहन हामीले गर्नुपर्ने महत्त्वपूर्ण कामहरूमध्ये एउटा हो। एक अर्थमा परमेश्वरको वचन एक्स-रे मेसिनजस्तै हो, जसले हामी भित्र कस्तो छौँ भनेर हेर्न मदत गर्छ। तर बाइबल वा परमेश्वरका प्रतिनिधिहरूले दिने निर्देशनबाट लाभ उठाउन हामी नम्र हुनै पर्छ। w२०.११ पृ. १८ अनु. ३; पृ. २० अनु. ८
बुधबार, जुलाई २०
मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गयो।—प्रेषि. १६:५.
प्रथम शताब्दीका ख्रिष्टियनहरूले अक्सर खेदो भोग्नुपरे तापनि त्यतिबेला शान्ति छाएको समय पनि थियो। ती चेलाहरूले त्यस्तो समयको कसरी सदुपयोग गरे? ती विश्वासी पुरुष र स्त्रीहरूले हार नमानी सुसमाचार घोषणा गरे। प्रेषितको विवरणअनुसार तिनीहरू “परमेश्वरको डर” मान्दै हिँडिरहे। तिनीहरूले सुसमाचार घोषणा गरिरहे र परिणामस्वरूप “मण्डलीको वृद्धि हुँदै गयो।” शान्ति छाएको समयमा तिनीहरूले गरेको जोसिलो प्रचारकार्यमाथि यहोवाले आशिष् दिनुभएको कुरा स्पष्टै देखियो। (प्रेषि. ९:२६-३१) प्रथम शताब्दीका ख्रिष्टियनहरूले सुसमाचार फैलाउने हरेक मौकाको सदुपयोग गरे। उदाहरणको लागि, प्रेषित पावलले एफिससमा छँदा आफ्नो निम्ति एउटा ठूलो ढोका खुलेको कुरा बुझे अनि त्यहाँ प्रचार गर्ने र चेला बनाउने मौकाको सदुपयोग गरे। (१ कोरि. १६:८, ९) चेलाहरूले जोडतोडले “यहोवा परमेश्वरको वचनको सुसमाचार” घोषणा गर्न थाले। (प्रेषि. १५:३०-३५) परिणाम कस्तो भयो? परिणाम आजको पदमा बताइएको छ। w२०.०९ पृ. १६ अनु. ६-८
बिहीबार, जुलाई २१
एकै जना पुरुषले गर्दा मृत्यु आयो।—१ कोरि. १५:२१.
पाप गरेर आदमले आफैमाथि र आफ्ना सन्तानमाथि विपत्ति ल्याए। तिनको अनाज्ञाकारिताले गर्दा हामीले अझै पनि थुप्रै दुःखद नतिजा भोगिरहेका छौँ। परमेश्वरले आफ्नो छोरालाई जीवित पार्नुभएकोले नतिजा कत्ति फरक भएको छ! “मरेकाहरू . . . एकै जना पुरुष” येसुद्वारा “फेरि जीवित पारिनेछन्।” प्रेषित पावलले यस्तो तर्क गरे: “जसरी आदमले गर्दा सबै मर्दै छन्, त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।” (१ कोरि. १५:२२) “आदमले गर्दा सबै मर्दै छन्” भनेर पावलले के भन्न खोज्दै थिए? पावलले आदमका सन्तानबारे बताउँदै थिए, जो जन्मजातै पापी र त्रुटिपूर्ण भए अनि नतिजास्वरूप तिनीहरूले मृत्यु भोग्नुपर्ने भयो। (रोमी ५:१२) आदम “जीवित पारिने” मानिसहरूमध्ये पर्दैनन्। ख्रिष्टले तिर्नुभएको फिरौतीको मोलले तिनलाई बचाउन सक्दैन किनकि आदम त्रुटिरहित थिए र तिनी जानाजानी यहोवाप्रति अनाज्ञाकारी भए। आदमले भोगेको नतिजा र भविष्यमा “मानिसको छोरा”-ले “बाख्रा”-को रूपमा न्याय गर्नुहुने मानिसहरूले भोग्ने नतिजा उस्तै हुनेछ। तिनीहरू “सधैँका लागि नाश हुनेछन्।”—मत्ति २५:३१-३३, ४६; हिब्रू ५:९. w२०.१२ पृ. ५ अनु. १३-१४
शुक्रबार, जुलाई २२
यहोवा . . . नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ।—भज. १३८:६.
हामीले आफूले चाहेको कुनै सुअवसर पाएका छैनौँ भने वफादार स्वर्गदूतहरूको उदाहरण विचार गर्न सक्छौँ। राजा आहाबको शासनकालमा यहोवाले ती दुष्ट राजालाई कसरी झुक्क्याउन सकिन्छ भनेर स्वर्गदूतहरूलाई सोध्नुभयो। स्वर्गदूतहरूले आ-आफ्नो विचार व्यक्त गरे। तर परमेश्वरलाई एक जना स्वर्गदूतको विचार चित्त बुझ्यो र उहाँले तिनी सफल हुनेछन् भन्नुभयो। (१ राजा २२:१९-२२) के अरू वफादार स्वर्गदूतहरूले निराश भएर ‘मैले बेकार आफ्नो समय बरबाद गरेँ’ भन्ने सोचे होलान्? तिनीहरूले पक्कै त्यस्तो सोचेनन्। स्वर्गदूतहरू साँच्चै नम्र छन् र तिनीहरू सबै कुराको श्रेय यहोवालाई दिन चाहन्छन्। (न्याय. १३:१६-१८; प्रका. १९:१०) परमेश्वरको नाम वहन गर्ने र उहाँको राज्यको घोषणा गर्ने सुअवसरमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। हाम्रो असाइनमेन्टले हामीलाई परमेश्वरको नजरमा अनमोल ठहऱ्याउने होइन। हामी नम्र छौँ भने मात्र यहोवा र हाम्रा दाजुभाइ दिदीबहिनीको नजरमा अनमोल हुनेछौँ। त्यसैले नम्र रहिरहन यहोवासित मदत माग्नुहोस्। परमेश्वरको वचनमा पाइने नम्रताका उदाहरणहरूमा मनन गर्नुहोस्। राजीखुसीले हाम्रा दाजुभाइ दिदीबहिनीको सेवा गर्नुहोस्।—१ पत्रु. ५:५. w२०.१२ पृ. २६ अनु. १६-१७
शनिबार, जुलाई २३
उद्धारको टोप लगाओ अनि पवित्र शक्तिको तरबार अर्थात् परमेश्वरको वचन पनि भिर।—एफि. ६:१७.
उद्धारको टोप भनेको यहोवाले हामीलाई दिनुभएको आशा हो। यहोवाले आफ्नो इच्छाअनुसार चल्नेहरूलाई इनाम दिनुहुनेछ र हामी मऱ्यौँ भने पनि उहाँले हामीलाई जीवित पार्नुहुनेछ भन्ने आशा हामीले पाएका छौँ। (१ थिस्स. ५:८; १ तिमो. ४:१०; ति. १:१, २) उद्धारको आशाले हाम्रो सोच्ने क्षमतालाई जोगाउँछ। यसले हामीलाई परमेश्वरका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गर्न र समस्याहरूप्रति सही दृष्टिकोण राख्न मदत गर्छ। आफ्नो सोचाइलाई परमेश्वरको सोचाइअनुरूप ढालेर हामी यो टोप लगाउन सक्छौँ। उदाहरणको लागि, हामी अस्थिर धनसम्पत्तिमा होइन तर परमेश्वरमा आशा राख्छौँ। (भज. २६:२; १०४:३४; १ तिमो. ६:१७) पवित्र शक्तिको तरबार भनेको परमेश्वरको वचन बाइबल हो। त्यो तरबारमा झूटको पर्दाफास गर्ने र मानिसहरूलाई झूटा शिक्षाहरू अनि खराब आनीबानीबाट मुक्त गर्ने शक्ति छ। (२ कोरि. १०:४, ५; २ तिमो. ३:१६, १७; हिब्रू ४:१२) व्यक्तिगत अध्ययन गरेर र सङ्गठनबाट पाएको तालिम स्विकारेर हामी त्यो तरबार राम्ररी चलाउन सिक्छौँ।—२ तिमो. २:१५. w२१.०३ पृ. २७ अनु. ४; पृ. २९ अनु. १०-११
आइतबार, जुलाई २४
परमेश्वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ।—प्रका. १:९.
येसुबारे प्रचार गरेकोले झ्यालखानामा पर्दा समेत प्रेषित युहन्नाले अरूलाई प्रेम गरेको देखाए। उदाहरणको लागि, तिनले प्रकाशको किताब लेखे र दाजुभाइ दिदीबहिनीले “छिट्टै हुन लागेका कुराहरू” थाह पाऊन् भनेर मण्डलीहरूलाई पठाए। (प्रका. १:१) अनि सम्भवतः पत्मोस टापुको निर्वासनबाट मुक्त भएपछि युहन्नाले येसुको जीवन र सेवाबारे सुसमाचारको किताब लेखे। दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन र बल दिन तिनले तीन वटा पत्र पनि लेखे। तपाईँ युहन्नाको आत्मत्यागी जीवनशैलीको अनुकरण गर्न सक्नुहुन्छ। अनि मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा आफ्नो जीवनमा गर्ने छनौटबाट देखाउन सक्नुहुन्छ। सैतानको संसार तपाईँले आफ्नो भएभरको समय र बल नाम-दाम कमाउन खर्च गरेको चाहन्छ। अर्कोतर्फ संसारभर रहेका आत्मत्यागी राज्य प्रचारकहरूले भने सुसमाचार प्रचार गर्न र मानिसहरूलाई यहोवाको नजिक हुन मदत गर्न सक्दो समय बिताउँछन्। w२१.०१ पृ. १० अनु. ९-१०
सोमबार, जुलाई २५
जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।—१ समु. १८:१.
जोनाथनले दाउदको ईर्ष्या गर्न सक्थे। राजा साउलको छोरा भएकोले जोनाथनले राजपदको असली हकदार आफू हुँ भनेर दाबी गर्न सक्थे। (१ समु. २०:३१) तर जोनाथन नम्र र यहोवाप्रति वफादार थिए। त्यसैले दाउदलाई राजा बनाउने यहोवाको निर्णयलाई तिनले पूर्ण समर्थन गरे। तिनी दाउदप्रति पनि वफादार रहे। तिनले आफ्नो बुबाको रिस खप्नु परे तापनि दाउदलाई साथ दिइरहे। (१ समु. २०:३२-३४) जोनाथनको मनमा दाउदप्रति कोमल स्नेह थियो। त्यसैले तिनले दाउदलाई प्रतिद्वन्द्वीको रूपमा हेरेनन्। जोनाथन सिपालु धनुर्धारी र वीर योद्धा थिए। जोनाथन र तिनका बुबा साउलले “चीलभन्दा तेजिला” र “सिंहभन्दा बलिया” भन्ने नाम कमाएका थिए। (२ समु. १:२२, २३) त्यसैले जोनाथनले आफ्नो बहादुरीको धाक लगाउन सक्थे। तर जोनाथनमा प्रतिस्पर्धी भावना वा ईर्ष्या थिएन। बरु तिनले दाउदको साहस अनि यहोवामाथिको उनको भरोसाको प्रशंसा गरे। वास्तवमा भन्ने हो भने दाउदले गोल्यतलाई मारेपछि जोनाथनले उनलाई आफूलाई जत्तिकै माया गर्न थालेका थिए। w२१.०१ पृ. २२ अनु. ६, ८-९
मङ्गलबार, जुलाई २६
स्त्रीको शिर पुरुष [हो]।—१ कोरि. ११:३.
सबै ख्रिष्टियन त्रुटिरहित शिर येसु ख्रिष्टको अधीनमा छन्। तर कोही स्त्रीले विवाह गरेपछि तिनी त्रुटिपूर्ण पुरुषको अधीनमा हुन्छिन्। यो तिनको लागि चुनौतीपूर्ण हुन सक्छ। यदि तिनले कसैलाई सम्भाव्य जीवनसाथीको रूपमा हेर्दै छिन् भने तिनले आफैलाई यस्ता प्रश्नहरू सोध्नु राम्रो हुन्छ: ‘उक्त भाइ परिवारको असल शिर बन्न सक्नुहुन्छ भनेर कस्ता कुराहरूले देखाउँछ? के उहाँले आफ्नो जीवनमा यहोवाको सेवालाई प्राथमिकता दिनुहुन्छ? होइन भने के उहाँ विवाहपछि राम्रो आध्यात्मिक शिर बन्न सक्नुहुन्छ?’ ती बहिनीले आफैलाई यस्ता प्रश्नहरू सोध्नु पनि राम्रो हो: ‘हाम्रो वैवाहिक सम्बन्धलाई राम्रो बनाउने कस्ता गुणहरू मसित छ? के म धीरजी र उदार छु? के यहोवासितको मेरो सम्बन्ध बलियो छ?’ (उप. ४:९, १२) कुनै बहिनीले विवाहअघि नै असल निर्णयहरू गरेकी छिन् भने तिनको वैवाहिक जीवन सुखमय हुने सम्भावना धेरै हुन्छ। हाम्रा लाखौँ ख्रिष्टियन बहिनीहरूले आफ्नो पतिको अधीनमा बसेर उत्कृष्ट उदाहरण बसालेका छन्। उनीहरू प्रशंसाको योग्य छन्। w२१.०२ पृ. ८ अनु. १-२
बुधबार, जुलाई २७
म्यासिडोनिया आउनुहोस् र हामीलाई मदत गर्नुहोस्।—प्रेषि. १६:९.
हालैका वर्षहरूमा थुप्रै प्रकाशकले आफ्नो सेवालाई अझ विस्तार गर्न नयाँ भाषा सिक्ने अनि राज्य प्रचारकहरूको धेरै आवश्यकता भएको मण्डलीमा सर्ने लक्ष्य बनाएका छन्। राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिन यी ख्रिष्टियनहरूले गरेको निर्णय उनीहरूको व्यक्तिगत निर्णय हो। हुनत नयाँ भाषा फरर्र बोल्न वर्षौँ लाग्न सक्छ। तैपनि तिनीहरूले मण्डलीमा ठूलो योगदान पुऱ्याउँछन्। तिनीहरूका राम्रा गुणहरू र अनुभवले मण्डलीलाई अझै बलियो र सुदृढ बनाउँछ। हामी यी आत्मत्यागी भाइबहिनीको धेरै मोल गर्छौँ! कुनै भाइले आफूले सेवा गरिरहेको मण्डलीको भाषा फरर्र बोल्न सक्दैनन् भन्दैमा एल्डरहरूको निकाय ती भाइलाई एल्डर वा सहायक सेवकको लागि सिफारिस गर्नदेखि पछि हट्दैन। एल्डरहरूले ती भाइ एल्डर वा सहायक सेवक हुन योग्य छन् कि छैनन् भन्ने कुरा तिनी स्थानीय मण्डलीको भाषा फरर्र बोल्न सक्छन् कि सक्दैनन्, त्यसको आधारमा नभई धर्मशास्त्रीय योग्यताको आधारमा पक्का गर्छन्।—१ तिमो. ३:१-१०, १२, १३; ति. १:५-९. w२०.०८ पृ. ३० अनु. १५-१६
बिहीबार, जुलाई २८
हे मेरा भाइ हो, विभिन्न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ।—याकु. १:२.
स्वास्थ्य राम्रो छ, प्रशस्त पैसा छ र परिवार सुखमय छ भने मात्र आफू आनन्दित हुन सक्छु भनेर कसै-कसैलाई लाग्न सक्छ। तर याकुबले जुन किसिमको आनन्दबारे लेखे, त्यो पवित्र शक्तिको फलको एउटा पक्ष हो र यो मानिसको परिस्थितिमा निर्भर हुँदैन। (गला. ५:२२) यहोवालाई प्रसन्न बनाइरहेको छु र येसुको अनुकरण गरिरहेको छु भनेर महसुस गर्दा ख्रिष्टियनहरू भित्रैदेखि आनन्दित हुन सक्छन्। (लुका ६:२२, २३; कल. १:१०, ११) यस्तो किसिमको आनन्दलाई लालटिनको चिमभित्र बलिरहेको आगोको ज्वालासित तुलना गर्न सकिन्छ। हामीले जीवनमा जस्तोसुकै परिस्थितिको सामना गरिरहेको भए तापनि हामी मनमा भने आनन्दित भइरहन सक्छौँ। बिरामी पर्दा वा पैसाको अभाव हुँदा हाम्रो आनन्द घट्दैन अनि परिवारका सदस्यहरू वा अरूको खिसी र विरोधले हाम्रो आनन्द खोस्न सक्दैन। विरोधीहरूले जति नै प्रयास गरे तापनि हाम्रो आनन्द घट्नुको साटो झन्झनै बढ्दै जानेछ। आफ्नो विश्वासको खातिर हामीले भोग्ने परीक्षाहरूले हामी ख्रिष्टका साँचो चेलाहरू हौँ भन्ने प्रमाण दिन्छ। (मत्ति १०:२२; २४:९; युह. १५:२०) त्यसैले याकुबले आजको पदका शब्दहरू लेखे। w२१.०२ पृ. २८ अनु. ६
शुक्रबार, जुलाई २९
मीठो बोलीले मन हल्का बनाउँछ।—हितो. १२:२५.
शान्त हुनु र यहोवामाथि भरोसा गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर देखाउने बाइबल पदहरू भेट्टाउँदा ती कण्ठस्थ पार्ने प्रयास गर्नुहोस्। ती पदहरू कण्ठस्थ पार्न ठूलो स्वरले पढ्नु वा बेलाबेलामा हेर्न मिल्नेगरि लेखेर राख्नु मदतकारी हुन सक्छ। यहोसुलाई व्यवस्थाको किताब नियमित रूपमा गुनगुनाएर पढ्न आज्ञा दिइएको थियो। यसो गर्दा तिनले बुद्धि पुऱ्याएर कदम चाल्न सक्ने थिए। व्यवस्थामा लेखिएका कुराहरूले तिनलाई नडराउन बरु साहसी भएर परमेश्वरका मानिसहरूलाई डोऱ्याउन मदत गर्ने थियो। (यहो. १:८, ९) परमेश्वरको वचनमा पाइने थुप्रै अभिव्यक्तिले तपाईँलाई चिन्तित वा त्रसित बनाउन सक्ने अवस्थाहरूमा पनि मनोशान्ति पाउन मदत गर्नेछ। (भज. २७:१-३; हितो. ३:२५, २६) सभामा दिइने भाषणहरूबाट, श्रोताहरूले दिने टिप्पणीबाट अनि हाम्रा दाजुभाइ दिदीबहिनीसितको उत्थानदायी कुराकानीबाट हामी लाभ उठाउन सक्छौँ। (हिब्रू १०:२४, २५) मण्डलीमा मन मिल्ने साथीहरूलाई आफ्नो भावना पोखाउँदा पनि हाम्रो मन हल्का हुन सक्छ। w२१.०१ पृ. ६ अनु. १५-१६
शनिबार, जुलाई ३०
विश्वासी जनहरूको निम्ति उदाहरण बन।—१ तिमो. ४:१२.
बप्तिस्मा गर्दा तपाईँले यहोवामाथि बलियो विश्वास र भरोसा देखाउनुभयो। अनि यहोवाले पनि तपाईँलाई खुसीसाथ आफ्नो परिवारको सदस्यको रूपमा स्विकार्नुभयो। अब तपाईँले गर्नुपर्ने कुरा भनेको यहोवामाथि सधैँ भर परिरहनु हो। जीवनमा ठूलठूला निर्णयहरू गर्नुपर्दा तपाईँ यहोवामाथि भर पर्नुहुन्छ होला। तर अरू निर्णयहरू गर्नुपर्दा नि? कस्तो मनोरञ्जन गर्ने, कस्तो जागिर खाने अनि कस्तो लक्ष्य राख्ने भन्ने विषयमा निर्णयहरू गर्नुपर्दा यहोवामाथि भर पर्नु उत्तिकै महत्त्वपूर्ण छ। आफ्नै बुद्धिमा भर नपर्नुहोस्। बरु तपाईँको परिस्थितिमा लागू हुने सिद्धान्तहरू खोज्नुहोस् र त्यसअनुसार चल्नुहोस्। (हितो. ३:५, ६) यसो गर्नुभयो भने तपाईँले यहोवालाई खुसी बनाउन सक्नुहुनेछ र मण्डलीका दाजुभाइ दिदीबहिनीको आदर पनि कमाउन सक्नुहुनेछ। हामीजस्तै तपाईँ पनि त्रुटिपूर्ण हुनुहुन्छ र कहिलेकाहीँ तपाईँबाट गल्ती हुन पुग्छ। तर यसले तपाईँलाई यहोवाको सेवामा आफूले गर्न सक्नेजति गर्न नरोकोस्। w२१.०३ पृ. ६ अनु. १४-१५
आइतबार, जुलाई ३१
उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।—२ तिमो. ४:१७.
के तपाईँले परिवारका सदस्यहरूबाट विरोधको सामना गर्दै हुनुहुन्छ? अथवा के तपाईँको देशमा यहोवाका साक्षीहरूको गतिविधिमाथि कडिकडाउ गरिएको छ वा प्रतिबन्ध लगाइएको छ? यदि त्यसो हो भने तपाईँ २ तिमोथि १:१२-१६ र ४:६-११, १७-२२ मा लेखिएका कुराहरूबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। प्रेषित पावलले धर्मशास्त्रको यो अंश जेलमा छँदा लेखेका थिए। यी पदहरू पढ्नुअघि यहोवालाई आफ्नो समस्याबारे र तपाईँलाई कस्तो महसुस भइरहेको छ भन्नेबारे बताउनुहोस्। तोकेरै प्रार्थना गर्नुहोस्। त्यसपछि पावलको विवरणमा आफूले भोगिरहेको चुनौतीको सामना गर्न मदत दिने सिद्धान्तहरू भेट्टाउन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्। ख्रिष्टियन भएकोले पावलले खेदोको सामना गर्नुपर्नेछ भनेर यहोवाले पहिल्यै भन्नुभएको थियो। (प्रेषि. २१:११-१३) यहोवाले पावललाई कसरी मदत गर्नुभयो? उहाँले तिनका प्रार्थनाहरूको जवाफ दिनुभयो अनि तिनलाई शक्ति पनि दिनुभयो। पावलले जुन इनाम पाउन यति धेरै मेहनत गरेका थिए, त्यो इनाम पाउने कुराको तिनले आश्वासन पाए। साथै पावललाई व्यावहारिक मदत दिन यहोवाले तिनका वफादार साथीहरूलाई चलाउनुभयो। w२१.०३ पृ. १७-१८ अनु. १४-१५, १९