अगस्त
सोमबार, अगस्त १
मट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।—युह. १५:५.
येसुसित घनिष्ठ मित्रता गाँसेकाहरूले मात्र उहाँले चढाउनुभएको फिरौतीको बलिदानबाट लाभ उठाउनेछन्। येसुले “आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण” गर्नेछु भनेर बताउनुभएको थियो। (युह. १५:१३) येसु पृथ्वीमा आउनुअघिका विश्वासी व्यक्तिहरूले उहाँबारे सिकेर उहाँलाई प्रेम गर्नुपर्नेछ। त्यस्ता पुरुष तथा स्त्रीहरू फेरि जीवित हुनेछन्। तर यहोवाका ती धर्मी सेवकहरूले पनि अनन्त जीवन पाउन येसुसित मित्रता गाँस्नुपर्नेछ। (युह. १७:३; प्रेषि. २४:१५; हिब्रू ११:८-१२, २४-२६, ३१) हामीले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने र सिकाउने काममा येसुसितै भाग लिने मौका पाएका छौँ। येसु पृथ्वीमा हुनुहुँदा उहाँ मानिसहरूको शिक्षक हुनुहुन्थ्यो। अनि स्वर्ग फर्कनुभएपछि पनि उहाँले मण्डलीको शिरको रूपमा प्रचारकार्य र शिक्षणकार्यलाई डोऱ्याउँदै हुनुहुन्छ। थुप्रैले येसु र उहाँको बुबालाई चिनून् भनेर तपाईँले प्रयास गर्नुभएको देख्दा उहाँ खुसी हुनुहुन्छ। वास्तवमा हामी यो काम यहोवा परमेश्वर अनि येसुको मदतद्वारा मात्रै पूरा गर्न सक्छौँ।—युह. १५:४. w२०.०४ पृ. २२ अनु. ७-८
मङ्गलबार, अगस्त २
यी दुई राजा . . . एउटै टेबुलमा बसेर एकअर्कासित झूट बोल्नेछन्।—दानि. ११:२७.
“उत्तरका राजा” र “दक्षिणका राजा” भन्ने पदवीले सुरुमा इस्राएल राष्ट्रबाट उत्तर र दक्षिण दिशामा पर्ने राजनैतिक शक्तिहरूलाई बुझाउँथ्यो। (दानि. १०:१४) इस्वी संवत् ३३ पेन्तिकोससम्म वास्तविक इस्राएल राष्ट्र नै परमेश्वरका जनहरू थिए। तर त्यसपछि यहोवाले येसुका वफादार चेलाहरूलाई आफ्ना जनको रूपमा स्विकार्नुभएको प्रस्ट पार्नुभयो। त्यसैले दानिएल अध्याय ११ मा पाइने भविष्यवाणीको प्रायजसो अंश वास्तविक इस्राएल राष्ट्रसित नभई ख्रिष्टका चेलाहरूसित सम्बन्धित छ। (प्रेषि. २:१-४; रोमी ९:६-८; गला. ६:१५, १६) अनि उत्तरका राजा र दक्षिणका राजाको चिनारी समयको दौडान परिवर्तन भएको छ। तैपनि ती सबै शासकमा केही समानता पाइन्छ। पहिलो, ती राजाहरूले परमेश्वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरे वा तिनीहरूको खेदो गरे। दोस्रो, तिनीहरूले परमेश्वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरूले साँचो परमेश्वर यहोवालाई घृणा गरेको प्रस्ट पारे। तेस्रो, आफू शक्तिशाली बन्न ती दुई राजाहरू एकअर्काविरुद्ध लडिरहे। w२०.०५ पृ. २-३ अनु. ३-४
बुधबार, अगस्त ३
म जे बन्न चाहन्छु, त्यही बन्नेछु।—प्रस्थ. ३:१४.
यहोवा आफ्नो उद्देश्य पूरा गर्न जे पनि बन्न सक्नुहुन्छ। यहोवाको सेवा गर्न र उहाँको उद्देश्य पूरा गर्न उहाँ आफ्ना त्रुटिपूर्ण मानव सेवकहरूलाई समेत जे पनि बनाउन सक्नुहुन्छ। (यसै. ६४:८) यी तरिकाहरूमा यहोवा आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ। उहाँका उद्देश्यहरू पूरा गर्नदेखि उहाँलाई कुनै पनि कुराले रोक्न सक्दैन। (यसै. ४६:१०, ११) स्वर्गमा बस्नुहुने हाम्रा बुबाले गर्नुभएका र हामीलाई गर्न सक्षम बनाउनुभएका कुराहरूबारे मनन गरेर उहाँप्रतिको कृतज्ञता बढाउन सक्छौँ। उदाहरणको लागि, यहोवाको अद्भुत सृष्टिबारे मनन गर्दा उहाँले गर्नुभएका कुराहरूप्रति र उहाँले गर्दा अस्तित्वमा आएका कुराहरूप्रति हामी श्रद्धाले भरिन्छौँ। (भज. ८:३, ४) अनि हामीले यहोवाको इच्छा पूरा गर्न सकौँ भनेर उहाँले हामीलाई के बन्न मदत गर्नुभएको छ, त्यसबारे मनन गर्दा हाम्रो मनमा उहाँप्रति गहिरो आदर जाग्छ। यहोवा नामले हामीमा साँच्चै श्रद्धा जगाउँछ! यस नाममा उहाँ कस्तो बुबा हुनुहुन्छ, उहाँले हाम्रो लागि के-के गर्नुभएको छ र भविष्यमा के-के गर्नुहुनेछ, यी सबै कुरा समावेश छन्।—भज. ८९:७, ८. w२०.०६ पृ. ९-१० अनु. ६-७
बिहीबार, अगस्त ४
परमेश्वर . . . सबै मानिसलाई जीवन [अनि] सास . . . दिनुहुन्छ।—प्रेषि. १७:२४, २५.
अक्सिजन भनेको हामीलगायत केही जीवजीवातको जीवन धान्न नभई नहुने ग्याँस हो। जीवजीवातले वर्षेनी एक खरब टन अक्सिजन लिन्छन् भनेर अनुमान गरिएको छ। अनि यी जीवजीवातले कार्बन डाइअक्साइड भनिने फोहोर ग्याँस बाहिर फ्याँक्छन्। तैपनि अक्सिजन कहिल्यै सिद्धिँदैन। अनि वायुमण्डल “फोहोर” ग्याँस कार्बन डाइअक्साइडले कहिल्यै भरिभराउ पनि हुँदैन। किन? किनभने कार्बन डाइअक्साइड लिन र अक्सिजन फ्याँक्न यहोवाले विभिन्न किसिमका वनस्पति बनाउनुभएको छ। जस्तै, ठूलठूला रूखहरूदेखि स-साना लेउसम्म। अक्सिजन-चक्रले आजको पदमा लेखिएका शब्दहरूलाई शाब्दिक अर्थमै प्रमाणित गर्छ। हाम्रो अद्भुत पृथ्वी र यसले दिने सबै स्रोतसाधनप्रति आफ्नो कृतज्ञता कसरी बढाउन सक्छौँ? (भज. ११५:१६) एउटा तरिका भनेको यहोवाले बनाउनुभएका कुराहरूमा मनन गरेर हो। यसो गर्दा यहोवाले हामीलाई दिनुभएका असल कुराहरूको लागि हरेक दिन उहाँलाई धन्यवाद दिन जुरमुरिनेछौँ। अनि पृथ्वीको लागि कृतज्ञ छौँ भने आफू बस्ने ठाउँवरपर सकेसम्म सफा राख्न प्रयास गर्नेछौँ। w२०.०५ पृ. २२ अनु. ५, ७
शुक्रबार, अगस्त ५
जातिजातिबीच कलङ्कित भएको मेरो महान् नामलाई म निश्चय नै पवित्र पार्नेछु।—इज. ३६:२३.
यहोवाले बुद्धि, न्याय र धैर्य देखाउँदै सैतानको चुनौतीको जवाफ दिनुभएको छ। उहाँले विभिन्न तरिकामा आफ्नो महान् शक्ति पनि देखाउनुभएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले गर्नुहुने सबै काममा उहाँको प्रेम झल्किन्छ। (१ युह. ४:८) आफ्नो नाम पवित्र पार्न यहोवाले अथक प्रयास गरिरहनुभएको छ। अहिले पनि सैतानले परमेश्वरको नामको निन्दा गरिरहेको छ। त्यसले परमेश्वर शक्तिशाली, न्यायी, बुद्धिमान् र मायालु हुनुहुन्छ भन्ने कुरामा मानिसहरूको मनमा शङ्का उब्जाउँछ। उदाहरणको लागि, सैतानले यहोवा सृष्टिकर्ता हुनुहुन्न भनेर मानिसहरूलाई विश्वास दिलाउन खोज्छ। अनि परमेश्वरको अस्तित्व स्विकार्नेहरूलाई पनि सैतानले परमेश्वर र उहाँका स्तरहरू असाध्यै कडा र अन्यायपूर्ण छन् भनेर विश्वास दिलाउन खोज्छ। त्यसले यहोवा कठोर र निर्दयी परमेश्वर हुनुहुन्छ र उहाँले मानिसहरूलाई नरकको आगोमा तड्पाउनुहुन्छ भनेर समेत सिकाउँछ। यस्तो निन्दालाई पत्याउनेहरूले अर्को गलत कदम चाल्ने सम्भावना प्रबल हुन्छ। त्यो हो, यहोवाको न्यायोचित शासनलाई तिरस्कार गर्ने। सैतानको विनाश नभएसम्म त्यसले तपाईँलाई पनि आफ्नो तारो बनाउनेछ। के तपाईँ त्यसलाई सफल हुन दिनुहुनेछ? w२०.०६ पृ. ५ अनु. १३-१५
शनिबार, अगस्त ६
जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन, न दास न स्वतन्त्र मानिस; तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।—कल. ३:११.
थुप्रै मण्डलीमा नयाँ भाषा बोल्न निकै कोसिस गरिरहेका भाइबहिनी छन्। तिनीहरूलाई आफूले भन्न चाहेको कुरा व्यक्त गर्न गाह्रो हुन सक्छ। तैपनि हामीले तिनीहरूको भाषा बोल्ने क्षमतालाई मात्र ध्यान दिएनौँ भने यहोवाप्रति तिनीहरूको प्रेम र उहाँको सेवा गर्ने तिनीहरूको इच्छा देख्नेछौँ। यस्ता सुन्दर गुणहरू देख्न सक्यौँ भने हामी ती भाइबहिनीको गहिरो मोल र आदर गर्नेछौँ। तिनीहरूले हाम्रो भाषा फरर्र बोल्न सक्दैनन् भन्दैमा “मलाई तिम्रो खाँचो छैन” भन्ने महसुस गराउनेछैनौँ। (१ कोरि. १२:२१) यहोवाले हामीलाई उहाँको मण्डलीमा महत्त्वपूर्ण स्थान दिनुभएको छ र यो साँच्चै अनमोल सुअवसर हो! हामी पुरुष होऔँ वा स्त्री, विवाहित होऔँ वा अविवाहित, जवान होऔँ वा वृद्ध अनि कुनै भाषा फरर्र बोल्न सक्ने होऔँ वा थोरै मात्र, हामी यहोवाको लागि र एकअर्काको लागि बहुमूल्य छौँ। (रोमी १२:४, ५; कल. ३:१०) यहोवाको मण्डलीमा आफ्नो र अरूको स्थानको कदर गर्न सक्ने तरिकाहरू खोजिरहौँ। w२०.०८ पृ. ३१ अनु. २०-२२
आइतबार, अगस्त ७
कोही-कोहीले तिनलाई साथ दिइरहे अनि येसुको अनुयायी बने।—प्रेषि. १७:३४.
एथेन्सवासीहरूको सहर मूर्तिपूजा, अवैध यौनसम्बन्ध र झूटा दर्शनहरूले भरिएको थियो। तिनीहरूले प्रेषित पावलको खिल्लीसमेत उडाएका थिए, तैपनि पावलले तिनीहरूलाई प्रचार गर्न छोडेनन्। पावल आफै पनि “परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस” थिए, जो पछि ख्रिष्टियन बने। (१ तिमो. १:१३) जसरी येसुले पावललाई सम्भाव्य चेलाको रूपमा हेर्नुभयो, त्यसरी नै पावलले पनि एथेन्सवासीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेरे। तिनको त्यो आशा खेर गएन। (प्रेषि. ९:१३-१५) प्रथम शताब्दीमा विभिन्न पृष्ठभूमिका मानिसहरू येसुको चेला बनेका थिए। कोरिन्थका ख्रिष्टियनहरूलाई पत्र लेख्दा पावलले त्यहाँका केही भाइबहिनी पहिला अपराधी थिए वा असाध्यै अनैतिक जीवन बिताउँथे भनेर उल्लेख गरे। तिनले यसो भने: ‘तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर तिमीहरूलाई धोएर शुद्ध बनाइएको छ।’ (१ कोरि. ६:९-११) त्यहाँ हुनुभएको भए के तपाईँले ती मानिसहरू परिवर्तन भएर कुनै दिन येसुको चेला बन्ने सम्भावना देख्नुहुनेथियो? w२०.०४ पृ. १२ अनु. १५-१६
सोमबार, अगस्त ८
अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्।—१ राजा १९:४.
‘यहोवाको सेवा गर्दा कुनै फाइदा छ र?’ भनेर कसैले शङ्का गरेमा एल्डरहरूले तिनलाई दोषी ठहराइहाल्नु हुँदैन। बरु तिनले त्यसो भन्नु र त्यस्तो व्यवहार गर्नुको कारण एल्डरहरूले बुझ्ने कोसिस गर्नुपर्छ। तब मात्र एल्डरहरूले तिनलाई बाइबलबाट आवश्यक प्रोत्साहन दिन सक्छन्। भविष्यवक्ता एलिया रानी ईजेबेलदेखि भागे। (१ राजा १९:१-३) तिनलाई आफूले गरिरहेको काम बेकार छ जस्तो लाग्यो र तिनी मर्न चाहन्थे। (१ राजा १९:१०) यहोवाले एलियालाई दोषी ठहराउनुको साटो तिनी एक्लो छैनन्, तिनले परमेश्वरको शक्तिमाथि भरोसा राख्न सक्छन् र तिनले गर्नुपर्ने काम अझै बाँकी छ भनेर तिनलाई आश्वासन दिनुभयो। एलियाले चिन्ता व्यक्त गर्दा यहोवाले दयालु भई सुन्नुभयो र तिनलाई नयाँ असाइनमेन्टहरू दिनुभयो। (१ राजा १९:११-१६, १८) यसबाट कस्तो पाठ सिक्न सक्छौँ? हामी सबैले, अझ विशेषगरि एल्डरहरूले यहोवाको भेडासित दयालु व्यवहार गर्नुपर्छ। कुनै व्यक्तिले जीवनमा तीतोपना महसुस गर्दा वा यहोवाको कृपा पाउन योग्य छैनँ जस्तो लागेकोले मनको बह पोख्दा एल्डरहरूले तिनको कुरा ध्यान दिएर सुन्नेछन्। त्यसपछि एल्डरहरूले ती हराएको भेडालाई तिनी यहोवाको नजरमा बहुमूल्य छन् भनेर ढुक्क बनाउने कोसिस गर्नेछन्। w२०.०६ पृ. २१-२२ अनु. १३-१४
मङ्गलबार, अगस्त ९
साँचो मित्रले सधैँ माया गर्छ।—हितो. १७:१७.
यहोवा हामीले साथीहरू र परिवारका सदस्यहरूसित समय बिताएर आनन्द उठाएको चाहनुहुन्छ। (भज. १३३:१) येसुको पनि असल साथीहरू थिए। (युह. १५:१५) बाइबलमा साँचो साथीहरू बनाउँदा कस्तो फाइदा हुन्छ भनेर बताइएको छ। (हितो. १८:२४) आफूलाई अरूबाट अलग्याउनु राम्रो होइन भनेर पनि बाइबलमा बताइएको छ। (हितो. १८:१) धेरैलाई सामाजिक सञ्जाल भनेको थुप्रै साथी बनाउने र एक्लोपन हटाउने राम्रो माध्यम हो जस्तो लाग्छ। तर अरूसित कुराकानी गर्ने यो माध्यम चलाउँदा हामी होसियार हुनुपर्छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका कुराहरू हेर्न वा पढ्न धेरै समय बिताउने मानिसहरू एक्लोपन र डिप्रेसनको सिकार हुन सक्छन् भनेर अध्ययनहरूले देखाएको छ। किन? एउटा सम्भाव्य कारण भनेको मानिसहरू अक्सर सामाजिक सञ्जालमा रमाइलो गरेका फोटोहरू मात्र पोस्ट गर्छन्; तिनीहरू आफ्नो, आफ्ना साथीहरूको र आफू घुम्न गएको रमाइला ठाउँहरूको फोटो मात्र छानी-छानी राख्छन्। सामाजिक सञ्जालमा त्यस्ता फोटोहरू हेर्ने मानिसहरू अरूको तुलनामा आफ्नो जीवन असाध्यै पट्टाइलाग्दो र निरस छ भन्ने निष्कर्षमा पुग्न सक्छन्। w२०.०७ पृ. ५-६ अनु. १२-१३
बुधबार, अगस्त १०
यस विषयमा छलफल गर्न प्रेषित र एल्डरहरू एकै ठाउँमा भेला भए।—प्रेषि. १५:६.
अक्टोबर १, १९८८ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यसो भनिएको थियो: “कुनै खास परिस्थितिमा लागू हुने वा महत्त्वपूर्ण निर्णय गर्न चाहिने बाइबल सिद्धान्त सम्झन ख्रिष्टले पवित्र शक्तिद्वारा एल्डरहरूको निकायमा भएका कुनै पनि एल्डरलाई मदत गर्न सक्नुहुन्छ भन्ने कुरा एल्डरहरू मानिलिन्छन्। (प्रेषि. १५:७-१५) पवित्र शक्तिले एल्डरहरूको निकायका सबै एल्डरलाई मदत गर्छ, एक जनालाई मात्र होइन।” यदि कुनै एल्डरले सङ्गी एल्डरलाई आदर गर्छन् भने तिनी एल्डरहरूको सभामा सधैँ आफै पहिला बोल्न खोज्दैनन्। तिनी अरूलाई बोल्नै नदिई आफै मात्र बोलेको बोल्यै गर्दैनन् र आफ्नो कुरा नै सही हो भनेर जिद्दी गर्दैनन्। बरु तिनी आफ्नो धारणा नम्र हुँदै र मर्यादित ढङ्गमा व्यक्त गर्छन्। तिनी अरूको कुरा ध्यान दिएर सुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी छलफल भइरहेको विषयसित सम्बन्धित बाइबल सिद्धान्तहरू अरूलाई बताउन अनि “विश्वासी र बुद्धिमान् दास”-को निर्देशन पछ्याउन तयार हुन्छन्। (मत्ति २४:४५-४७) एल्डरहरूले एकअर्कालाई प्रेम र आदर देखाउँदै छलफल गर्दा उनीहरूमाझ परमेश्वरको पवित्र शक्तिले काम गर्छ अनि यसले उनीहरूलाई सही निर्णयहरू गर्न डोऱ्याउँछ।—याकु. ३:१७, १८. w२०.०८ पृ. २७ अनु. ५-६
बिहीबार, अगस्त ११
खराबीलाई भलाइले जितिरहो।—रोमी १२:२१.
प्रेषित पावलका शत्रुहरू तिनीभन्दा असाध्यै शक्तिशाली थिए। धेरै चोटि उनीहरूको आदेशमा पावललाई कुटियो र झ्यालखानामा हालियो। साथै तिनलाई केही व्यक्तिहरूले नराम्रो व्यवहार गरे, जसले तिनलाई वास्तवमा आफ्नो साथी ठान्नुपर्ने थियो। ख्रिष्टियन मण्डलीका कसै-कसैले तिनको विरोधसमेत गरे। (२ कोरि. १२:११; फिलि. ३:१८) तर पावल आफ्नो विरोध गर्ने सबैमाथि विजयी भए। कसरी? विरोध आए पनि तिनले प्रचार गर्न छोडेनन्। आफ्ना भाइबहिनीले निराश बनाउँदासमेत तिनी उनीहरूप्रति वफादार रहिरहे। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी आफ्नो जीवनको अन्तसम्मै यहोवाप्रति वफादार रहे। (२ तिमो. ४:८) जस्तोसुकै बाधाविघ्न आइपरे तापनि तिनी विजयी हुन सके। किन? किनभने तिनी आफ्नै शक्तिमा होइन, यहोवामा भर परे। के तपाईँले अपमान वा खेदो भोग्नुपरेको छ? तपाईँको लक्ष्य भनेको मानिसहरूको दिमाग र हृदयमा परमेश्वरको वचन ठप्प हालिदिनु हो। मानिसहरूले सोध्ने प्रश्नहरूको जवाफ दिन बाइबलमा भर परेर, तपाईँसित नराम्रो व्यवहार गर्ने व्यक्तिहरूप्रति आदरपूर्ण र दयालु व्यवहार गरेर अनि आफ्ना शत्रुहरूलाई समेत प्रेम गरेर यो लक्ष्य हासिल गर्न सक्नुहुन्छ।—मत्ति ५:४४; १ पत्रु. ३:१५-१७. w२०.०७ पृ. १७-१८ अनु. १४-१५
शुक्रबार, अगस्त १२
तपाईँको नम्रताले मेरो मान बढाएको छ।—२ समु. २२:३६.
यहोवा नम्र हुनुहुन्छ भनेर के हामी साँच्चै भन्न सक्छौँ? हो, सक्छौँ। आजको पदमा दाउदले यो कुरा मानिलिए। (भज. १८:३५) सायद त्यतिबेला दाउदले भविष्यवक्ता समुएल तिनको बुबाको घरमा इस्राएलको भावी राजालाई अभिषेक गर्न आएको दिनबारे सोचिरहेका थिए। दाउद आठ जना दाजुभाइमध्ये कान्छो थिए। तैपनि यहोवाले राजा साउलपछि राजा हुन दाउदलाई नै छान्नुभएको थियो। (१ समु. १६:१, १०-१३) यहोवाबारे यी शब्दहरू लेख्ने भजनरचयितासित दाउद पक्कै पनि सहमत भए होलान्: “आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ। उहाँ दीनदुःखीलाई धुलोबाट अनि गरिबलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ ताकि ऊ . . . प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्।” (भज. ११३:६-८) आफ्ना त्रुटिपूर्ण मानव उपासकहरूसँग व्यवहार गर्दा यहोवाले आफू नम्र छु भनेर देखाउनुभएको छ। उहाँ हामीले चढाएको उपासना स्विकार्नुका साथै हामीलाई आफ्नो मित्र ठान्नुहुन्छ। (भज. २५:१४) हामीले यहोवासँग मित्रता गाँस्न सकोस् भनेर उहाँ आफ्नो छोरालाई हाम्रो पापको लागि बलिदानको रूपमा चढाउन अग्रसर हुनुभयो। यहोवा साँच्चै कृपालु र दयालु हुनुहुन्छ! w२०.०८ पृ. ८ अनु. १-३
शनिबार, अगस्त १३
[यहोवा] कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।—२ पत्रु. ३:९.
यस दुष्ट संसारको विनाश गर्न यहोवाले निश्चित दिन र समय तोक्नुभएको छ। (मत्ति २४:३६) उहाँ अधीर भएर तोकिएको समयभन्दा पहिल्यै कदम चाल्नुहुनेछैन। उहाँ मरेकाहरूलाई जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ तर उहाँ धैर्य गर्दै हुनुहुन्छ। (अय्यु. १४:१४, १५) उहाँ मरेकाहरूलाई जीवित पार्ने उपयुक्त समय पर्खँदै हुनुहुन्छ। (युह. ५:२८) यहोवाले धीरज देखाउनुभएकोमा उहाँप्रति कृतज्ञ हुनुपर्ने थुप्रै कारण छन्। एकछिन सोच्नुहोस् त, यहोवा धीरजी हुनुभएकोले थुप्रैले “पश्चात्ताप” गर्ने मौका पाएका छन्, जसमा हामी पनि पर्छौँ। यहोवा सकेसम्म धेरै मानिसले अनन्त जीवन पाएको चाहनुहुन्छ। त्यसैले यहोवाको धीरजको लागि उहाँप्रति कृतज्ञ भएको देखाऔँ। कसरी? “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका व्यक्तिहरूलाई जोडतोडले खोजेर अनि यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न तिनीहरूलाई मदत गरेर। (प्रेषि. १३:४८) यसो गऱ्यौँ भने हामीले जस्तै तिनीहरूले पनि यहोवाको धीरजबाट लाभ उठाउनेछन्। w२०.०८ पृ. १८ अनु. १७
आइतबार, अगस्त १४
हे यहोवा, मलाई तपाईँको मार्ग देखाउनुहोस्; मलाई तपाईँको बाटोमा हिँड्न सिकाउनुहोस्।—भज. २५:४.
अध्ययनबाट सिक्ने कुराले विद्यार्थीको दिमाग मात्र होइन, मनलाई पनि छुनुपर्छ। किन? किनकि हाम्रो मनमा हाम्रो इच्छा, चाहना र भावना हुन्छ अनि मनमा जे छ, त्यसले हामीलाई कदम चाल्न जुरमुऱ्याउँछ। येसु तर्कपूर्ण ढङ्गमा सिकाउनुहुन्थ्यो। त्यसैले मानिसहरू उहाँको कुरा सुन्न चाहन्थे। तर मानिसहरू उहाँको पछि लाग्नुको कारण भनेको उहाँ तिनीहरूको मन छुने तरिकामा सिकाउनुहुन्थ्यो। (लुका २४:१५, २७, ३२) तपाईँको विद्यार्थीले यहोवालाई वास्तविक व्यक्तिको रूपमा हेर्न सिक्नुपर्छ, जसले गर्दा तिनले उहाँसित व्यक्तिगत सम्बन्ध गाँस्न अनि उहाँलाई आफ्नो बुबा, परमेश्वर र साथीको रूपमा हेर्न सक्नेछन्। (भज. २५:५) बाइबल अध्ययनको दौडान विद्यार्थीलाई यहोवाका सुन्दर गुणहरूबारे थाह पाउन मदत गर्नुहोस्। (प्रस्थ. ३४:५, ६; १ पत्रु. ५:६, ७) जुनसुकै विषयमा छलफल गर्दा पनि यहोवा कस्तो किसिमको परमेश्वर हुनुहुन्छ भन्ने कुरामा जोड दिनुहोस्। विद्यार्थीलाई प्रेम, दया र कृपाजस्ता यहोवाका मनमोहक गुणहरूबारे बुझ्न मदत गर्नुहोस्। येसुले “सबैभन्दा ठूलो र पहिलो आज्ञा” भनेको ‘यहोवा परमेश्वरलाई प्रेम गर्नु’ हो भनी बताउनुभयो। (मत्ति २२:३७, ३८) त्यसैले विद्यार्थीलाई यहोवाप्रतिको गहिरो प्रेम विकास गर्न मदत गर्नुहोस्। w२०.१० पृ. ९-१० अनु. १२
सोमबार, अगस्त १५
मार्था, तिनकी बहिनी र लाजरसलाई येसु माया गर्नुहुन्थ्यो।—युह. ११:५.
येसुले सबै स्त्रीलाई मर्यादापूर्ण व्यवहार गर्नुभयो। (युह. ४:२७) तर उहाँले आफ्नो बुबाको इच्छा पूरा गर्ने स्त्रीहरूलाई भने अझ धेरै आदर गर्नुभयो। आफ्नो आध्यात्मिक परिवार को हो भनेर बताउनुहुँदा येसुले पुरुष र स्त्री दुवैलाई समावेश गर्नु साँच्चै उल्लेखनीय छ। (मत्ति १२:५०) येसु तिनीहरूको साँचो साथी पनि बन्नुभयो। मरियम र मार्थासित उहाँको मित्रताबारे विचार गर्नुहोस्। उनीहरू दुवै जना अविवाहित थिए जस्तो देखिन्छ। (लुका १०:३८-४२) येसुले आफ्नो बोली र व्यवहारद्वारा उनीहरूलाई सजिलो महसुस गराउनुभयो। मरियमलाई येसुको पाउनेर उहाँको चेलाजस्तै गरी बस्न अप्ठ्यारो लागेन। अनि मरियमले नसघाएकोले रिस उठ्दा मार्था पनि येसुलाई आफ्नो मनको कुरा बताउन हिचकिचाइनन्। यस्तो जमघटको बेला येसुले ती दुवै स्त्रीलाई आध्यात्मिक तवरमा मदत गर्नुभयो। अनि उहाँले ती स्त्रीहरू र उनीहरूका भाइ लाजरसलाई अरू बेला पनि भेट्न गएर उनीहरूको ख्याल गरेको देखाउनुभयो। (युह. १२:१-३) त्यसैले लाजरस सिकिस्त बिरामी पर्दा मरियम र मार्था येसुले मदत दिनुहुनेछ भन्ने कुरामा ढुक्क थिए।—युह. ११:३. w२०.०९ पृ. २० अनु. ३; पृ. २१ अनु. ६
मङ्गलबार, अगस्त १६
परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनेछ भनेर तिनीहरूले सोचिरहेका थिए।—लुका १९:११.
येसुका चेलाहरूले परमेश्वरको राज्य “तुरुन्तै प्रकट हुने” र रोमीहरूको दमनबाट छुटकारा पाउने आशा गरिरहेका थिए। हामी पनि परमेश्वरको राज्यले दुष्टता हटाएको र धार्मिकताले भरिएको नयाँ संसार स्थापना गरेको हेर्न तीव्र इच्छा गर्दै छौँ। (२ पत्रु. ३:१३) त्यतिन्जेल हामीले धैर्य गर्नुपर्छ र यहोवाले तोक्नुभएको समय पर्खनुपर्छ। यहोवाले नुहलाई जहाज बनाउन र “धार्मिकताबारे प्रचार” गर्न पर्याप्त समय दिनुभयो। (२ पत्रु. २:५; १ पत्रु. ३:२०) अब्राहामले सदोम र गमोरा सहरका दुष्ट मानिसहरूलाई नाश गर्ने यहोवाको निर्णयबारे पटक-पटक प्रश्न गर्दा उहाँले तिनको कुरा ध्यान दिएर सुन्नुभयो। (उत्प. १८:२०-३३) अनि यहोवाले आफूप्रति वफादार नरहेको इस्राएल राष्ट्रलाई सयौँ वर्षसम्म धीरज देखाउनुभयो। (नहे. ९:३०, ३१) आज पनि यहोवाले धैर्य गर्दै हुनुहुन्छ; उहाँ जसलाई आफूतर्फ खिच्न चाहनुहुन्छ, तिनीहरूले “पश्चात्ताप गरून्” भनेर उहाँले समय दिइरहनुभएको छ। (२ पत्रु. ३:९; युह. ६:४४; १ तिमो. २:३, ४) यहोवाको उदाहरणलाई विचार गर्दा हामी पनि प्रचार गर्दा र सिकाउँदा मानिसहरूप्रति धैर्य गर्न उत्प्रेरित हुन्छौँ। w२०.०९ पृ. १० अनु. ८-९
बुधबार, अगस्त १७
[मरेकाहरू ] फेरि जीवित हुनेछन्।—प्रेषि. २४:१५.
यहोवाले मरेकाहरूलाई जीवित पार्नुहुँदा तिनीहरूको सम्झना र व्यक्तित्व पहिलाको जस्तै बनाइदिनुहुनेछ। यसको अर्थबारे एकछिन सोच्नुहोस् त! यहोवा तपाईँलाई असाध्यै माया गर्नुहुन्छ। त्यसैले तपाईँ के सोच्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ, के भन्नुहुन्छ र के गर्नुहुन्छ, त्यो यहोवाले याद गरिरहनुभएको छ र उहाँ ती कुराहरू कहिल्यै बिर्सनुहुन्न। त्यसैले तपाईँलाई फेरि जीवित पार्दा तपाईँको सम्झना, मनोवृत्ति र व्यक्तित्व पहिलाको जस्तै बनाइदिन उहाँलाई पटक्कै गाह्रो हुनेछैन। राजा दाउदलाई यहोवा हामी प्रत्येकमा असाध्यै चासो राख्नुहुन्छ भनेर राम्ररी थाह थियो। (भज. १३९:१-४) यहोवाले हामीलाई राम्ररी चिन्नुहुन्छ भनेर थाह पाउँदा हामी कस्तो महसुस गर्छौँ? यहोवालाई हाम्रो एक-एक कुरा थाह छ भनेर सोच्दा हामी चिन्तित हुनु पर्दैन। किन? यहोवा हामीमा असाध्यै चासो राख्नुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। उहाँ हामी प्रत्येकसित भएका गुणहरूको कदर गर्नुहुन्छ, जुन हाम्रो चिनारी बनेको छ। हामीले जीवनमा भोगेका के-कस्ता अनुभवले हामीलाई आकार दिएको छ, त्यो उहाँ याद गर्नुहुन्छ। यो कुरा थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ! हामीले कहिल्यै पनि एक्लो महसुस गर्नु पर्दैन। हरेक दिन हरेक पल यहोवा हामीसँगै हुनुहुन्छ र हामीलाई मदत गर्न मौका खोज्दै हुनुहुन्छ।—२ इति. १६:९. w२०.०८ पृ. १७ अनु. १३-१४
बिहीबार, अगस्त १८
म तिमीलाई समझ दिनेछु र तिमी हिँड्नुपर्ने बाटोमा तिमीलाई डोऱ्याउनेछु।—भज. ३२:८.
आफ्ना जनहरूलाई सिकाउन पाउँदा यहोवालाई खुसी लाग्छ। तिनीहरूले उहाँलाई चिनेको, प्रेम गरेको र तिनीहरू उहाँका प्रिय छोराछोरीको रूपमा सधैँभरि बाँचेको यहोवा चाहनुहुन्छ। उहाँले हामीलाई शिक्षा नदिनुभएको भए यी सब सम्भव हुने थिएन। (युह. १७:३) प्रथम शताब्दीमा यहोवाले आफ्ना जनहरूलाई सिकाउन ख्रिष्टियन मण्डलीलाई चलाउनुभयो। (कल. १:९, १०) येसुले प्रतिज्ञा गर्नुभएको “मदतगार” अर्थात् पवित्र शक्तिले महत्त्वपूर्ण भूमिका खेल्यो। (युह. १४:१६) यसले चेलाहरूलाई परमेश्वरको वचन अझ राम्ररी बुझ्न अन्तर्दृष्टि दियो। साथै यसले तिनीहरूलाई येसुले भन्नुभएका र गर्नुभएका कुराहरू सम्झन मदत गऱ्यो, जुन कुराहरू पछि सुसमाचारका किताबहरूमा रेकर्ड गरियो। यस्तो ज्ञानले ती ख्रिष्टियनहरूलाई आफ्नो विश्वासका साथै परमेश्वर, उहाँको छोरा अनि एकअर्काप्रतिको प्रेम बलियो बनाउन मदत गऱ्यो। “आखिरी समयमा” सबै राष्ट्रका मानिसहरू उहाँका स्तरहरूबारे सिक्न प्रतीकात्मक डाँडामा ओइरिनेछन् भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (यसै. २:२, ३) आज हामीले त्यो भविष्यवाणी पूरा भइरहेको देखेका छौँ। w२०.१० पृ. २४ अनु. १४-१५
शुक्रबार, अगस्त १९
समझदार मानिसले भरपर्दो डोऱ्याइ खोज्छ।—हितो. १:५.
कसै-कसैले माया गर्ने साथीले दिएको राम्रो सल्लाह किन स्विकार्दैनन्? घमन्डले गर्दा। घमन्डी मानिसहरू ‘आफूलाई जे सुन्न मन पर्छ, त्यही मात्र सुन्न’ रुचाउँछन्। तिनीहरू ‘सत्य सुन्नदेखि आफ्नो कान फर्काउँछन्।’ (२ तिमो. ४:३, ४) तिनीहरू आफूलाई कसैको सल्लाह चाहिँदैन भन्ने सोचाइ राख्छन् किनकि तिनीहरूलाई आफू अरूभन्दा बुद्धिमान् र ठूलो छु जस्तो लाग्छ। तर प्रेषित पावलले यस्तो लेखे: “यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको हुन्छ।” (गला. ६:३) राजा सुलेमानले यस कुरालाई एकदमै राम्ररी व्याख्या गरे। तिनले यस्तो लेखे: “बुढेसकाल लागेर पनि अरूको सल्लाह नसुन्ने मूर्ख राजाभन्दा गरिब तर बुद्धिमान् बालक नै असल हो।” (उप. ४:१३) पावलले पत्रुसलाई सबैको अगाडि सुधार्दा पत्रुसले हाम्रो लागि राम्रो उदाहरण बसाले। (गला. २:११-१४) पावलले सल्लाह दिएको तरिकामा वा तिनले सबैको अगाडि सल्लाह दिएको कुरामा मात्र ध्यान दिएको भए पत्रुस तिनको कुरा सुनेर रिसाउन सक्थे। तर पत्रुस बुद्धिमान् थिए। उनले सल्लाह स्विकारे अनि पावलविरुद्ध मनमा रिस पालेर राखेनन्। पछि पत्रुसले पावललाई “प्रिय भाइ”-समेत भने।—२ पत्रु. ३:१५. w२०.११ पृ. २१ अनु. ९, ११-१२
शनिबार, अगस्त २०
मानिसहरूलाई चेला बनाओ; . . . सिकाओ।—मत्ति २८:१९, २०.
आध्यात्मिक प्रगति गर्न बाइबल विद्यार्थीलाई धेरै हदसम्म केले मदत गर्छ? ख्रिष्टियन सभाहरूले। सभामा बाइबलआधारित कुराहरू सुन्दा तिनको ज्ञान अझ बढ्नेछ, विश्वास अझ बलियो हुनेछ र परमेश्वरप्रतिको प्रेम पनि बढ्नेछ। (प्रेषि. १५:३०-३२) मण्डलीका कुनै प्रकाशकले ती विद्यार्थीलाई यहोवाप्रतिको प्रेम बढ्दै जाँदा तिनी उहाँका आज्ञाहरू पालन गर्न कसरी उत्प्रेरित भए भनेर बताउन सक्छन्। (२ कोरि. ७:१; फिलि. ४:१३) अनि फरक-फरक अवस्थाका वफादार दाजुभाइ दिदीबहिनीलाई चिन्दै जाँदा विद्यार्थीले तिनीहरूको उदाहरणबाट परमेश्वर र छिमेकीलाई प्रेम गर्नू भन्ने ख्रिष्टको आज्ञा पालन गर्नुको अर्थ बुझ्नेछन्। (युह. १३:३५; १ तिमो. ४:१२) विद्यार्थीले अरू प्रकाशकहरूले पनि आफ्नो जस्तै समस्याहरूको सामना गरिरहेका रहेछन् भनेर देख्नेछन् अनि ख्रिष्टको चेला बन्न आफूले पनि आवश्यक छाँटकाँट गर्न सक्छु भनेर हौसला पाउनेछन्। (व्यव. ३०:११) बाइबल विद्यार्थीहरूको आध्यात्मिक प्रगतिमा मण्डलीका सबैले विभिन्न तरिकामा योगदान पुऱ्याउन सक्छन्।—मत्ति ५:१६. w२०.११ पृ. ५ अनु. १०-१२
आइतबार, अगस्त २१
मैले . . . एफिससमा जङ्गली जनावरहरूसित [लडेँ]।—१ कोरि. १५:३२.
प्रेषित पावलले एफिससको रङ्गशालामा जनावरहरूसित लडेको विषयमा कुरा गरेको हुन सक्छ। (२ कोरि. १:८; ४:१०; ११:२३) अथवा तिनले “जङ्गली जनावर”-को जस्तो आक्रामक स्वभाव भएका यहुदीहरू वा अरूलाई सङ्केत गरेको हुन सक्छ। (प्रेषि. १९:२६-३४; १ कोरि. १६:९) जेहोस्, खतरनाक परिस्थितिहरूको सामना गर्नुपर्दा समेत पावलले भविष्यबारे सकारात्मक दृष्टिकोण राख्न सके। (१ कोरि. १५:३०, ३१; २ कोरि. ४:१६-१८) हामी पनि खतरनाक समयमा बाँचिरहेका छौँ। हाम्रा केही दाजुभाइ दिदीबहिनी अपराधको सिकार भएका छन्। अरू कतिपय युद्धग्रस्त इलाकाहरूमा बस्छन्, जहाँ तिनीहरूको सुरक्षाको कुनै ग्यारेन्टी छैन। कोही-कोही भने हाम्रो प्रचारकार्यमाथि कडिकडाउ गरिएको वा पूरै प्रतिबन्ध लगाइएको देशहरूमा यहोवाको सेवा गर्छन्। त्यस्ता देशहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीको ज्यानै जाने वा स्वतन्त्रता हनन हुने खतरा छ। तैपनि यी सबै दाजुभाइ दिदीबहिनीले यहोवाको उपासनामा लागिरहेर हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्। अहिले आफ्नो ज्यान गुमाउनुपऱ्यो भने पनि यहोवाले तिनीहरूको लागि ठूलो इनाम साँचेर राख्नुभएको छ भन्ने कुरामा तिनीहरू ढुक्क छन्। w२०.१२ पृ. ९ अनु. ३-४
सोमबार, अगस्त २२
हामी परमेश्वरका सहकर्मीहरू हौँ। तिमीहरूचाहिँ खेतीपाती गरिएको परमेश्वरको खेत अनि परमेश्वरको भवन हौ।—१ कोरि. ३:९.
इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाएकोले वा घरघरको प्रचारकार्यमा मानिसहरूलाई भेट्न नसकेकोले के तपाईँ कहिल्यै निराश हुनुभएको छ? यस्तो बेला आफ्नो आनन्द कायम राखिराख्न अथवा त्यसलाई अझै बढाउन के गर्न सकिन्छ? प्रचारकार्यप्रति सही दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। यसमा के समावेश छ? परमेश्वरको नाम र उहाँको राज्यको घोषणा गर्ने काममा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। जीवनतर्फ लैजाने बाटोमा हिँड्नेहरू थोरै हुनेछन् भनेर येसुले स्पष्ट पार्नुभयो। (मत्ति ७:१३, १४) प्रचारकार्यमा भाग लिँदा हामीले यहोवा, येसु र स्वर्गदूतहरूसँगै काम गर्ने सुअवसर पाइरहेका हुन्छौँ। (मत्ति २८:१९, २०; प्रका. १४:६, ७) यहोवाले उहाँको सेवा गर्न चाहनेहरूलाई आफूतर्फ खिच्नुहुन्छ। (युह. ६:४४) कसैले हाम्रो सन्देशप्रति चासो नदेखाए तापनि अर्को पटक तिनले हाम्रो सन्देश सुन्न सक्छन्। डेबोरा नाम गरेकी बहिनी यसो भन्छिन्: “निराशा सैतानले हामीविरुद्ध चलाउने शक्तिशाली हतियार हुन सक्छ।” सैतानका हतियारहरू यहोवा परमेश्वरको शक्तिको अगाडि एकछेउ पनि छैन। w२०.१२ पृ. २६ अनु. १८-१९; पृ. २७ अनु. २१
मङ्गलबार, अगस्त २३
हामी आपसमा प्रेम गरिरहौँ किनकि प्रेम परमेश्वरबाट आउँछ।—१ युह. ४:७.
थुप्रै वफादार ख्रिष्टियनहरू आफू र आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्नको लागि पूर्ण-समय जागिर खान बाध्य छन्। तैपनि तिनीहरू परमेश्वरको सङ्गठनलाई आफूले सक्ने तरिकामा सघाउँछन्। उदाहरणको लागि, कोही-कोही राहतकार्यमा सघाउँछन्, अरू कोही-कोही निर्माण परियोजनामा भाग लिन्छन्। यसबाहेक हामी सबैले विश्वव्यापी कामको लागि अनुदान दिन सक्छौँ। परमेश्वर र सङ्गी मानिसहरूप्रतिको प्रेमले गर्दा हामी यी सब गर्छौँ। हरेक हप्ता मण्डलीका सभाहरूमा उपस्थित भएर र त्यसमा भाग लिएर हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको देखाउँछौँ। थकाइ लागे पनि हामी सभामा जान्छौँ। डर लागे पनि टिप्पणी गर्छौँ। अनि हामी सबैको आ-आफ्नै समस्या भए पनि सभाअघि र पछि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। (हिब्रू १०:२४, २५) हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीको यस्तो प्रयासको हामी मनैदेखि कदर गर्छौँ। w२१.०१ पृ. १० अनु. ११
बुधबार, अगस्त २४
हामी फोस्रो घमन्ड नगरौँ।—गला. ५:२६.
घमन्डी मानिसहरूलाई अरूको प्रशंसा गर्न गाह्रो लाग्छ। तिनीहरू अरूले भन्दा आफैले प्रशंसा पाएको चाहन्छन्। तिनीहरूले आफूलाई अरूसँग तुलना गर्ने र प्रतिस्पर्धी भावना राख्ने सम्भावना धेरै हुन्छ। अरूलाई तालिम र अख्तियार दिनुको साटो तिनीहरू यसो भन्छन् होला, “कुनै काम ठीकसँग गर्ने हो भने त्यो मैले नै गर्नुपर्छ।” मतलब, तिनीहरू आफ्नै तरिकाले काम गर्न चाहन्छन्। घमन्डी मानिस प्रायजसो महत्त्वाकाङ्क्षी र डाही हुन्छ। हामीमा घमन्डी मनोभाव भएको चाल पायौँ भने त्यो दुर्गुणले हामीमा जरा नगाडोस् भनेर हामीले निष्कपट भई यहोवालाई प्रार्थना गर्नुपर्छ र ‘आफ्नो सोचाइ नयाँ बनाउन’ उहाँको मदत माग्नुपर्छ। (रोमी १२:२) यहोवाको उदाहरणबाट सिक्न पाएकोमा हामी कत्ति खुसी छौँ! (भज. १८:३५) आफ्ना जनहरूसँग व्यवहार गर्नुहुँदा उहाँले कसरी नम्रता देखाउनुभयो भनेर हामीले थाह पायौँ र हामी उहाँको अनुकरण गर्न चाहन्छौँ। साथै आफ्नो सीमितता स्विकारेका बाइबल पात्रहरूको उदाहरण पनि हामी अनुकरण गर्न चाहन्छौँ, जो मर्यादामा रहेर परमेश्वरसित हिँडे। यहोवालाई उहाँले पाउनुपर्ने महिमा र आदर सधैँ दिइरहौँ।—प्रका. ४:११. w२०.०८ पृ. १३ अनु. १९-२०
बिहीबार, अगस्त २५
जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ।—१ कोरि. ७:२८.
परमेश्वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धमा कुनै त्रुटि छैन। तर हामी मानिसहरू भने त्रुटिपूर्ण छौँ। (१ युह. १:८) त्यसैले परमेश्वरको वचनले विवाहित दम्पतीहरूले चुनौतीहरूको सामना गर्नुपर्नेछ भनेर चेतावनी दिएको छ। बाइबलमा ती चुनौतीहरूलाई “शारीरिक दुःखकष्ट” भनिएको छ। यहोवा ख्रिष्टियन पतिहरूले आफ्नो परिवारको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्यकता पूरा गरेको चाहनुहुन्छ। (१ तिमो. ५:८) तर विवाहित बहिनीहरूले आफू जति नै व्यस्त भए पनि हरेक दिन बाइबल पढ्न अनि मनन गर्न र यहोवालाई मनैदेखि प्रार्थना गर्न समय निकाल्नुपर्छ। यसो गर्न कहिलेकाहीँ चुनौतीपूर्ण हुन सक्छ। पत्नीहरू घरायसी काममा व्यस्त हुन्छन्। तर तिनीहरूले समय निकाल्नु महत्त्वपूर्ण छ। किन? किनभने यहोवा हामी प्रत्येकले उहाँसित व्यक्तिगत सम्बन्ध गाँसेको र त्यसलाई कायम राखेको चाहनुहुन्छ। (प्रेषि. १७:२७) आफ्नो त्रुटिपूर्ण पतिको अधीनमा बस्न पत्नीले धेरै प्रयास गर्नुपर्ने हुन सक्छ। तर तिनले यसो गर्नुको धर्मशास्त्रीय कारण राम्ररी बुझेकी छिन् अनि त्यसलाई स्विकारेकी छिन् भने तिनलाई परिवारमा आफ्नो भूमिका पूरा गर्न सजिलो हुन्छ। w२१.०२ पृ. ८ अनु. ३; पृ. ९ अनु. ६-७
शुक्रबार, अगस्त २६
यसरी जाँचिएको तिमीहरूको विश्वासले सहनशीलता उत्पन्न गराउँछ।—याकु. १:३.
परीक्षाहरूलाई फलामबाट हतियार बनाउन प्रयोग गरिने आगोसित तुलना गर्न सकिन्छ। फलामलाई आगोमा तताएर चिस्याएपछि त्यो झनै मजबुत हुन्छ। त्यसैगरि परीक्षाहरू सहँदा हाम्रो विश्वास बलियो हुन्छ। त्यसैले याकुबले यस्तो लेखे: “सहनशीलतालाई त्यसको काम पूरा गर्न देओ, तब तिमीहरू हरक्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ।” (याकु. १:४) परीक्षाहरूले हाम्रो विश्वासलाई झन्झनै बलियो बनाएको अनुभव गर्दा हामीले खुसीसाथ ती परीक्षाहरू सहन सक्नेछौँ। याकुबले आफ्नो पत्रमा हाम्रो आनन्द खोस्न सक्ने केही चुनौतीहरूबारे चर्चा गरे। एउटा चुनौती भनेको के गर्ने भनेर थाह नहुनु हो। कुनै परीक्षाको सामना गर्नुपर्दा यहोवालाई खुसी बनाउने, दाजुभाइ दिदीबहिनीलाई फाइदा पुग्ने र आफ्नो सत्यनिष्ठा कायम राख्न मदत दिने निर्णयहरू गर्न यहोवामा भर पर्न चाहन्छौँ। (यर्मि. १०:२३) परीक्षा आइपर्दा कस्तो कदम चाल्ने अनि विरोधीहरूलाई कसरी जवाफ दिने भनेर बुझ्न हामीलाई बुद्धि चाहिन्छ। के गर्ने भनेर थाह नहुँदा हामी परिस्थितिको वशमा पर्न सक्छौँ र निस्सहाय महसुस गर्न सक्छौँ अनि हाम्रो आनन्द क्षणभरमै गुम्न सक्छ। w२१.०२ पृ. २८ अनु. ७-९
शनिबार, अगस्त २७
एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।—१ पत्रु. १:२२.
यस सन्दर्भमा यहोवाले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। हामीप्रति उहाँको प्रेम यत्ति प्रगाढ छ कि हामी उहाँप्रति वफादार भइरह्यौँ भने उहाँले हामीलाई कहिल्यै प्रेम गर्न छोड्नुहुनेछैन। (रोमी ८:३८, ३९) “प्रगाढ” भनेर अनुवाद गरिएको ग्रीक शब्दले कुनै कुरालाई बल लगाएर तन्काउनु भन्ने अर्थ दिन्छ। कहिलेकाहीँ दाजुभाइ दिदीबहिनीलाई कोमल स्नेह देखाउन हामीले पनि आफैलाई “तन्काउनुपर्ने” वा कडा मेहनत गर्नुपर्ने हुन सक्छ। अरूले हामीलाई रिस उठाउँदा हामीले ‘प्रेम देखाउँदै एकअर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहनुपर्छ।’ (एफि. ४:१-३) हामीले दाजुभाइ दिदीबहिनीको गल्तीमा मात्र ध्यान दिनु हुँदैन र तिनीहरूलाई यहोवाले जसरी नै हेर्न सक्दो प्रयास गर्नुपर्छ। (१ समु. १६:७; भज. १३०:३) विशेषगरि दाजुभाइ दिदीबहिनीको कमजोरीहरूबारे हामीलाई थाह छ भने कोमल स्नेह देखाउन सधैँ सजिलो नहुन सक्छ। यस सन्दर्भमा प्रथम शताब्दीका केही ख्रिष्टियनहरूलाई गाह्रो भएको थियो जस्तो देखिन्छ, जस्तै: इयोदिया र सिन्तके। प्रेषित पावलले उनीहरूलाई “प्रभुमा एकै मनका” हुन आग्रह गरे।—फिलि. ४:२, ३. w२१.०१ पृ. २२-२३ अनु. १०-११
आइतबार, अगस्त २८
हे युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु किनकि तिमीहरू बलिया छौ, परमेश्वरको वचन तिमीहरूमा छ अनि तिमीहरूले त्यस दुष्टमाथि विजय हासिल गरेका छौ।—१ युह. २:१४.
तपाईँ जवान भाइहरूसँगै “काँधमा काँध मिलाएर” सेवा गर्न पाउँदा मण्डलीका दाजुभाइ दिदीबहिनी खुसी हुन्छन्। (सप. ३:९) आफूलाई सुम्पिइएको काम तपाईँले जोसिलो भएर अनि पूरा बल लगाएर गरेको देख्दा तिनीहरूको मन छुन्छ। तिनीहरूको नजरमा तपाईँ अनमोल हुनुहुन्छ। जवान भाइहरू हो, यहोवा तपाईँलाई माया र भरोसा गर्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। अन्तको दिनमा राजीखुसीले उहाँको सेवा गर्ने जवानहरूको दल हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (भज. ११०:१-३) तपाईँ यहोवालाई माया गर्नुहुन्छ र तनमन लगाएर उहाँको सेवा गर्न चाहनुहुन्छ भनेर उहाँलाई थाह छ। त्यसैले अरूहरूसित अनि आफूसित पनि धीरजी हुनुहोस्। तपाईँबाट कुनै गल्ती हुँदा अनुशासन पाउनुहुन्छ होला। त्यसलाई यहोवाबाट पाएको तालिमको रूपमा स्विकार्नुहोस्। (हिब्रू १२:६) आफूले पाएका जिम्मेवारीहरू लगनशील भई पूरा गर्नुहोस्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले गर्ने हरेक काममा स्वर्गमा बस्नुहुने तपाईँको बुबाले गर्व गर्न सकून्!—हितो. २७:११. w२१.०३ पृ. ७ अनु. १७-१८
सोमबार, अगस्त २९
सङ्कष्टको समयमा तिमी निराश भयौ भने तिम्रो बल घट्नेछ।—हितो. २४:१०, फुटनोट।
हामी थुप्रै कुराले गर्दा निराश हुन सक्छौँ—केही आन्तरिक हुन्छन् त केही बाह्य। यसमा त्रुटिपूर्ण अवस्था, कमीकमजोरी र स्वास्थ्य समस्या समावेश छन्। यहोवाको सेवामा आफूले चाहेको असाइनमेन्ट नपाउँदा वा हाम्रो सन्देशप्रति चासो नदेखाउने इलाकामा प्रचार गर्नुपर्दा पनि हामी निराश हुन सक्छौँ। आफ्नो त्रुटिपूर्ण अवस्था र कमीकमजोरीबारे सन्तुलित दृष्टिकोण राख्न पक्कै पनि सजिलो छैन। आफूबाट भएका गल्तीहरूले गर्दा यहोवाले मलाई उहाँको नयाँ संसारमा कहिल्यै स्वागत गर्नुहुनेछैन भन्ने सोचाइ हाम्रो मनमा आउन सक्छ। यस्तो सोचाइ हानिकारक हुन सक्छ। येसु ख्रिष्टबाहेक “सबैले पाप गरेका छन्” भनी बाइबल बताउँछ। (रोमी ३:२३) तर यहोवा हाम्रा गल्तीमा मात्र ध्यान दिनुहुन्न र हामीबाट कुनै त्रुटि नभएको आशा गर्नुहुन्न। बरु उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ। उहाँ धीरजी पनि हुनुहुन्छ। आफ्ना कमीकमजोरीसित लड्न र आफूबारे सन्तुलित दृष्टिकोण राख्न हामीले गरिरहेको सङ्घर्ष उहाँ देख्नुहुन्छ र उहाँ हामीलाई मदत गर्न तयार हुनुहुन्छ।—रोमी ७:१८, १९. w२०.१२ पृ. २२ अनु. १-३
मङ्गलबार, अगस्त ३०
अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो।—२ कोरि. १३:११.
हामी सबै जना एउटा यात्रामा छौँ। हाम्रो गन्तव्य अर्थात् लक्ष्य भनेको यहोवाको मायालु शासनअन्तर्गत नयाँ संसारमा जीवन बिताउनु हो। हामी हरेक दिन जीवनतर्फ लैजाने बाटोमा हिँड्ने प्रयास गर्छौँ। तर येसुले भन्नुभएझैँ त्यो बाटो साँघुरो छ र त्यो बाटोमा हिँड्न कहिलेकाहीँ गाह्रो हुन्छ। (मत्ति ७:१३, १४) हामी त्रुटिपूर्ण भएकोले हामी सजिलै त्यस बाटोबाट तर्किन सक्छौँ। (गला. ६:१) जीवनतर्फ लैजाने साँघुरो बाटोबाट तर्केर नजाने हो भने हामी आफ्नो सोचाइ, मनोवृत्ति र व्यवहारमा छाँटकाँट गर्न इच्छुक हुनुपर्छ। प्रेषित पावल हामीलाई ‘छाँटकाँट गरिरहन’ प्रोत्साहन दिन्छन्। हाम्रो सोचाइ र भावना कस्तो छ भनेर जाँच्न सजिलो छैन। हाम्रो हृदय छली भएकोले यसले हामीलाई कतातिर डोऱ्याइरहेको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। (यर्मि. १७:९) “झूटा तर्कहरू”-ले गर्दा हामी सजिलै धोका खान सक्छौँ। (याकु. १:२२) त्यसैले परमेश्वरको वचन प्रयोग गर्दै हामीले आफैलाई जाँच्नुपर्छ। हामी भित्र कस्तो किसिमको मानिस हौँ, हाम्रो हृदयको “विचार र आशय” कस्तो छ भनेर थाह पाउन परमेश्वरको वचनले मदत गर्छ।—हिब्रू ४:१२, १३. w२०.११ पृ. १८ अनु. १-३
बुधबार, अगस्त ३१
एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।—रोमी १२:१०.
नम्र हुँदा र आफ्नो सीमितता स्विकार्दा हामी आनन्दित हुने सम्भावना धेरै हुन्छ। किन? आफ्नो सीमितता बुझेका छौँ भने हामी खुसीसाथ अरूको मदत स्विकार्छौँ र त्यसको लागि कृतज्ञ हुन्छौँ। उदाहरणको लागि, येसुले दस जना कुष्ठरोगीलाई निको पार्नुभएको घटना विचार गर्नुहोस्। आफ्नो गम्भीर रोग निको पारिदिनुभएकोमा येसुलाई धन्यवाद दिन तीमध्ये एक जना मात्र फर्के, जुन रोग तिनी आफैले कहिल्यै निको पार्न सक्ने थिएनन्। नम्र र आफ्नो सीमितता बुझेका ती मानिस आफूले पाएको मदतको लागि कृतज्ञ भए र आफू निको भएकोमा परमेश्वरको महिमा गरे। (लुका १७:११-१९) नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरूलाई अरूसँग मिलेर बस्न सजिलो हुन्छ र तिनीहरूले थुप्रै घनिष्ठ साथीहरू बनाउन सक्छन्। किन? किनभने तिनीहरू अरूसँग पनि असल गुणहरू छन् भनेर खुसीसाथ स्विकार्छन् र ती व्यक्तिहरूलाई भरोसा गर्छन्। नम्र र आफ्नो सीमितता स्विकार्ने मानिसहरू अरूले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दा खुसी हुन्छन् अनि तिनीहरूको प्रशंसा र आदर गर्न अग्रसर हुन्छन्। w२०.०८ पृ. १२-१३ अनु. १७-१८