प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. ८८-९७
  • सेप्टेम्बर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • बिहीबार, सेप्टेम्बर १
  • शुक्रबार, सेप्टेम्बर २
  • शनिबार, सेप्टेम्बर ३
  • आइतबार, सेप्टेम्बर ४
  • सोमबार, सेप्टेम्बर ५
  • मङ्‌गलबार, सेप्टेम्बर ६
  • बुधबार, सेप्टेम्बर ७
  • बिहीबार, सेप्टेम्बर ८
  • शुक्रबार, सेप्टेम्बर ९
  • शनिबार, सेप्टेम्बर १०
  • आइतबार, सेप्टेम्बर ११
  • सोमबार, सेप्टेम्बर १२
  • मङ्‌गलबार, सेप्टेम्बर १३
  • बुधबार, सेप्टेम्बर १४
  • बिहीबार, सेप्टेम्बर १५
  • शुक्रबार, सेप्टेम्बर १६
  • शनिबार, सेप्टेम्बर १७
  • आइतबार, सेप्टेम्बर १८
  • सोमबार, सेप्टेम्बर १९
  • मङ्‌गलबार, सेप्टेम्बर २०
  • बुधबार, सेप्टेम्बर २१
  • बिहीबार, सेप्टेम्बर २२
  • शुक्रबार, सेप्टेम्बर २३
  • शनिबार, सेप्टेम्बर २४
  • आइतबार, सेप्टेम्बर २५
  • सोमबार, सेप्टेम्बर २६
  • मङ्‌गलबार, सेप्टेम्बर २७
  • बुधबार, सेप्टेम्बर २८
  • बिहीबार, सेप्टेम्बर २९
  • शुक्रबार, सेप्टेम्बर ३०
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. ८८-९७

सेप्टेम्बर

बिहीबार, सेप्टेम्बर १

तब म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु।—योए. २:२८.

परमेश्‍वरको प्रेरणा पाएर पत्रुसले योएलको भविष्यवाणी उद्धरण गरे तर तिनले अलि फरक शब्द प्रयोग गरे। (प्रेषि. २:१६, १७) “तब” भनेर सुरु गर्नुको साटो पत्रुसले यसो भने: “अन्तको दिनमा।” तिनले चलाएको अन्तको दिनले यरुसलेम र त्यसको मन्दिर विनाश हुनुभन्दा ठीक अघिको समयलाई जनाउँथ्यो। त्यसबेला परमेश्‍वरले “सबै मानिसमाथि” पवित्र शक्‍ति खन्याउनुहुने थियो। यसले योएलको भविष्यवाणी पूरा हुनुअघि निकै समय बितेको थियो भनेर बुझाउँछ। परमेश्‍वरले प्रथम शताब्दीमा ख्रिष्टियनहरूमाथि खन्याउनुभएको पवित्र शक्‍तिले गर्दा नै प्रचारकार्य व्यापक रूपमा फैलिने थियो। प्रचारकार्य यत्ति व्यापक रूपमा फैलियो कि केही समयपछि अर्थात्‌ इस्वी संवत्‌ ६१ तिर प्रेषित पावलले कलस्सीहरूलाई लेखेको पत्रमा “आकाशमुनि भएका सबै मानिसमाझ” सुसमाचार प्रचार भयो भनेर बताए। (कल. १:२३) पावलले “सबै मानिसमाझ” भनेर चलाएको शब्दले त्यतिबेला पावल र अरूहरू यात्रा गरेर जान सक्ने ठाउँलाई बुझाउँछ। यहोवा परमेश्‍वरको पवित्र शक्‍तिको मदतले गर्दा अहिले हाम्रो समयमा प्रचारकार्य अझ व्यापक तवरमा “पृथ्वीको कुनाकुनासम्म” फैलिएको छ!—प्रेषि. १३:४७. w२०.०४ पृ. ६ अनु. १५-१६

शुक्रबार, सेप्टेम्बर २

म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।—इज. ३४:११.

यहोवा हामी प्रत्येकलाई माया गर्नुहुन्छ, बगालबाट बाटो बिराएको भेडालाई समेत। (मत्ति १८:१२-१४) आफ्ना हराएका भेडाहरूलाई खोज्नेछु र तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो पार्न मदत गर्नेछु भनेर यहोवाले वाचा गर्नुभयो। आफूले चाल्ने खास कदमहरू उहाँले उल्लेख गर्नुभयो। इस्राएली गोठालोले आफ्नो हराएको भेडा खोज्न पनि यी नै कदमहरू चाल्थे। (इज. ३४:१२-१६) सबैभन्दा पहिला गोठालोले भेडालाई खोज्थे अनि यसो गर्न निकै समय लाग्थ्यो र मेहनत गर्नुपर्ने हुन्थ्यो। बाटो बिराएको भेडा भेट्टाएपछि गोठालोले त्यसलाई बगालमा फर्काएर ल्याउँथे। अनि यदि भेडालाई चोटपटक लागेको छ वा भोकाएको छ भने गोठालोले त्यस कमजोर भेडालाई माया गरेर मलहमपट्टी लगाइदिन्थे, बोक्थे अनि खुवाउँथे। “परमेश्‍वरको बगाल”-को गोठालोको रूपमा सेवा गर्ने एल्डरहरूले मण्डलीबाट टाढिएकाहरूलाई मदत गर्न यी नै कदम चाल्नुपर्छ। (१ पत्रु. ५:२, ३) एल्डरहरू तिनीहरूलाई खोज्छन्‌, मण्डलीमा फर्कन मदत गर्छन्‌ र आवश्‍यक आध्यात्मिक मदत दिएर तिनीहरूलाई प्रेम गरेको देखाउँछन्‌। w२०.०६ पृ. २० अनु. १०

शनिबार, सेप्टेम्बर ३

बाली पाकेर पहेँला भइसकेका छन्‌।—युह. ४:३५.

धेरै जना आफ्नो पछि लाग्नेछन्‌ भन्ठानेर येसुले तिनीहरूलाई कटनीको लागि तयार भएको खेतको रूपमा हेर्नुभएको हो? त्यसो त होइन। किनकि थोरैले मात्र उहाँमा विश्‍वास गर्नेछन्‌ भनेर धर्मशास्त्रमा पहिल्यै बताइएको थियो। (युह. १२:३७, ३८) साथै येसुसित मानिसहरूको हृदय पढ्‌न सक्ने विशेष क्षमता थियो। (मत्ति ९:४) उहाँले आफूमाथि विश्‍वास गर्ने थोरै मानिसमा ध्यान केन्द्रित गर्नुभए तापनि जोसिलो भई सबैलाई प्रचार गर्नुभयो। त्यसोभए हामीले झन्‌ कत्ति जोसिलो भई प्रचार गर्नुपर्छ किनकि हामी मानिसहरूको हृदय पढ्‌न सक्दैनौँ। त्यसैले आफूले प्रचार गर्ने इलाका वा व्यक्‍तिविशेषप्रति नकारात्मक दृष्टिकोण राख्ने झुकावलाई हामीले हटाउनुपर्छ। बरु हामीले तिनीहरूलाई येसुको सम्भाव्य चेलाको रूपमा हेर्नुपर्छ। येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको कुरा याद गर्नुहोस्‌। उहाँले बाली पाकेर पहेँला भइसकेका छन्‌ अर्थात्‌ ती कटनीको लागि तयार भइसकेका छन्‌ भनेर बताउनुभयो। मानिसहरू परिवर्तन भएर ख्रिष्टको चेला बन्‍न सक्छन्‌। यहोवा ती सम्भाव्य चेलाहरूलाई “अनमोल थोकहरू” ठान्‍नुहुन्छ। (हाग्गै २:७) यदि हामी मानिसहरूप्रति यहोवा अनि येसुको जस्तै दृष्टिकोण राख्छौँ भने तिनीहरूको पृष्ठभूमि र तिनीहरूलाई चासो लाग्ने विषय के हो, थाह पाउने प्रयास गर्नेछौँ। हामी तिनीहरूलाई अपरिचित व्यक्‍तिको रूपमा नभई सम्भाव्य भाइबहिनीको रूपमा हेर्नेछौँ। w२०.०४ पृ. १३ अनु. १८-१९

आइतबार, सेप्टेम्बर ४

मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।—युह. १५:१५.

यहोवालाई खुसी पार्न चाहन्छौँ भने हामीले येसुलाई प्रेम गर्नुपर्छ र त्यस प्रेमलाई कायम राख्नुपर्छ भनेर परमेश्‍वरको वचनले स्पष्टसित बताउँछ। येसुको मित्र बन्‍न हामीले गर्न सक्ने एउटा कुरा भनेको उहाँलाई चिन्‍नु हो। मत्ति, मर्कुस, लुका र युहन्‍नाको किताब पढेर हामी येसुलाई चिन्‍न सक्छौँ। येसुको जीवनबारे लेखिएका बाइबल विवरणहरूमा मनन गर्दा हामी येसुलाई प्रेम र आदर गर्न उत्प्रेरित हुन्छौँ किनभने उहाँले मानिसहरूसित दयालु व्यवहार गर्नुभयो। उदाहरणको लागि, येसु आफ्ना चेलाहरूको मालिक हुनुभए तापनि उहाँले तिनीहरूसित दासजस्तो व्यवहार गर्नुभएन। बरु उहाँले तिनीहरूलाई आफ्नो भित्री विचार अनि भावना बताउनुभयो। तिनीहरू दुःखी हुँदा उहाँ पनि दुःखी हुनुभयो र तिनीहरूसितै रुनुभयो। (युह. ११:३२-३६) येसुको सन्देश स्विकार्नेहरू नै पछि गएर उहाँको मित्र बनेको कुरा उहाँका शत्रुहरूले समेत मानिलिए। (मत्ति ११:१९) येसुले आफ्ना चेलाहरूसित व्यवहार गर्नुभएको तरिका अनुकरण गर्दा अरूसितको हाम्रो सम्बन्ध सुध्रिनेछ, हामी अझ सन्तुष्ट र खुसी हुनेछौँ अनि ख्रिष्टप्रतिको हाम्रो कृतज्ञता बढ्‌नेछ। w२०.०४ पृ. २२ अनु. ९-१०

सोमबार, सेप्टेम्बर ५

दक्षिणका राजाले पनि अत्यन्तै विशाल सेना जम्मा गर्नेछन्‌ र युद्ध गर्न तम्तयार हुनेछन्‌।—दानि. ११:२५.

इस्वी संवत्‌ १८७० सम्ममा बेलायत संसारको सबैभन्दा विशाल साम्राज्य भइसकेको थियो र यससित सबैभन्दा शक्‍तिशाली सैन्य दल थियो। यस साम्राज्यलाई सानो सिङको रूपमा चित्रण गरिएको थियो, जसले अरू तीन वटा सिङ अर्थात्‌ फ्रान्स, स्पेन र नेदरल्याण्ड्‌सलाई परास्त गऱ्‍यो। (दानि. ७:७, ८) अनि यसले प्रथम विश्‍वयुद्धको दौडान निकै समयसम्म दक्षिणका राजाको भूमिका निर्वाह गऱ्‍यो। यही समयतिर संयुक्‍त राज्य अमेरिका संसारमा सबैभन्दा बलियो अर्थतन्त्र भएको देशको रूपमा देखा पऱ्‍यो र यसले बेलायतसित घनिष्ठ सम्बन्ध गाँस्न थाल्यो। प्रथम विश्‍वयुद्धको बेला अमेरिका र बेलायत मिलेर शक्‍तिशाली सैन्य गठबन्धन बनाए। त्यतिबेला बेलायत र यसले पहिला आफ्नो उपनिवेश बनाएको अमेरिका एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको रूपमा देखा पऱ्‍यो। दानिएलले भविष्यवाणी गरेझैँ यी राजाले “अत्यन्तै विशाल सेना” जम्मा गरिसकेका थिए। अन्तको समयको दौडान एङ्‌ग्लो-अमेरिकी गठबन्धनले नै दक्षिणका राजाको भूमिका निर्वाह गर्दै आएको छ। w२०.०५ पृ. ४-५ अनु. ७-८

मङ्‌गलबार, सेप्टेम्बर ६

ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन्‌।—उप. १:७.

पानी पृथ्वीमा उपलब्ध छ किनभने पृथ्वी सूर्यबाट ठिक्कको दूरीमा अवस्थित छ। पृथ्वी अहिलेभन्दा अलिकता मात्र सूर्यको नजिक भएको भए सबै पानी उम्लिएर सिद्धिनेथियो अनि पृथ्वी असाध्यै तातो चट्टानजस्तो हुनेथियो, जहाँ जीवन सम्भव हुनेथिएन। अर्कोतर्फ, सूर्यबाट अलिकता मात्र टाढा भएको भए सबै पानी जम्नेथियो र पृथ्वी बरफको विशाल ढिक्का बन्‍नेथियो। यहोवाले पृथ्वीलाई ठिक्कको दूरीमा राख्नुभएको छ। त्यसैले जल-चक्रले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। सूर्यले समुद्रको पानी र पृथ्वीको सतहमा भएको पानीलाई तताउँछ र पानी तातेपछि बाफको रूपमा उडेर बादल बन्छ। वर्षेनी सूर्यले पृथ्वीका सबै तालमा भएको पानीभन्दा धेरै पानीलाई बाफ बनाउँछ। यसरी बाफ बनेको पानी लगभग दस दिनसम्म वायुमण्डलमा रहन्छ अनि त्यसपछि पानी वा हिउँको रूपमा पृथ्वीमा झर्छ। यो पानी समुद्रमा वा अन्य जलकुण्डमा जम्मा हुन्छ र जल-चक्र निरन्तर चलिरहन्छ। जीवन धान्‍न नभई नहुने यो प्रभावकारी जल-चक्रले यहोवा बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्छ।—अय्यु. ३६:२७, २८. w२०.०५ पृ. २२ अनु. ६

बुधबार, सेप्टेम्बर ७

पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ।—प्रेषि. १:८.

येसुले हामीलाई पवित्र शक्‍तिको लागि प्रार्थना गरिरहन आग्रह गर्नुभयो। (लुका ११:९, १३) आफ्नो पवित्र शक्‍तिमार्फत यहोवा हामीलाई बल दिनुहुन्छ, उहाँ हामीलाई “असाधारण शक्‍ति” पनि दिनुहुन्छ। (२ कोरि. ४:७) परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाएर हामी आफूले सामना गरिरहेको जुनसुकै परीक्षा सहन सक्छौँ। पवित्र शक्‍तिले हामीलाई आफूले परमेश्‍वरको सेवामा पाएका विभिन्‍न असाइनमेन्टहरू पूरा गर्न अनि आफ्नो सीप र क्षमता तिखार्न पनि मदत गर्छ। साँच्चै भन्‍ने हो भने, हामीले हासिल गरेका राम्रा नतिजाहरू आफ्नै क्षमताले नभई परमेश्‍वरको पवित्र शक्‍तिको मदतले गर्दा मात्र सम्भव भएको हो। परमेश्‍वरको पवित्र शक्‍तिको मोल गरेको देखाउने अर्को तरिका, हाम्रो हृदयमा खराब सोचाइ वा कुइच्छा छ कि भनेर पत्ता लगाउन मदत दिनुहोस्‌ भनी यहोवालाई प्रार्थना गरेर हो। (भज. १३९:२३, २४) त्यसरी प्रार्थना गऱ्‍यौँ भने यहोवाले आफ्नो पवित्र शक्‍ति चलाएर हामीमा भएको खराब सोचाइ वा कुइच्छाबारे हामीलाई सजग गराउन सक्नुहुन्छ। अनि त्यसको वशमा नपर्न बल दिनुहोस्‌ भनेर पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। यसो गर्दा परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाउनदेखि रोक्ने कुनै पनि काम नगर्न कटिबद्ध छौँ भनेर देखाइरहेका हुन्छौँ।—एफि. ४:३०. w२०.०५ पृ. २८-२९ अनु. १०-१२

बिहीबार, सेप्टेम्बर ८

मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु।—युह. १७:२६.

यहोवाको नाम पवित्र पार्ने काममा भाग लिँदा हामीले येसु ख्रिष्टको उदाहरण अनुकरण गरिरहेका हुन्छौँ। येसुले आफ्नो बुबाको नाम प्रयोग गरेर मात्र होइन तर यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनी सिकाएर पनि उहाँको नाम प्रकट गर्नुभयो। उदाहरणको लागि, उहाँले फरिसीहरूको शिक्षालाई खण्डन गर्नुभयो, जसले मानिसहरूको मनमा यहोवा कठोर, अचाक्ली माग गर्ने, भावशून्य र क्रूर हुनुहुन्छ भन्‍ने छाप पारिदिएका थिए। येसुले आफ्नो बुबा यहोवा व्यावहारिक, धीरजी, दयालु र क्षमाशील हुनुहुन्छ भनी मानिसहरूलाई सिकाउनुभयो। उहाँले दैनिक जीवनमा आफ्नो बुबाका गुणहरू हुबहु अनुकरण गरेर पनि मानिसहरूलाई यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न मदत गर्नुभयो। (युह. १४:९) येसुले जस्तै हामी पनि मानिसहरूलाई यहोवा मायालु र दयालु परमेश्‍वर हुनुहुन्छ भनेर बताउन सक्छौँ। यसो गर्दा यहोवाबारे फैलाइएका झूटा कुराहरूलाई गलत साबित गर्न र उहाँको नाममा लागेको कलङ्‌क हटाउन सक्छौँ। मानिसहरूलाई यहोवाको नामलाई पवित्र ठान्‍न मदत गरेर हामी उहाँको नामलाई पवित्र पार्छौँ। यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर आफ्नो बोली र व्यवहारद्वारा देखाउँछौँ। यहोवाको नामबारे मानिसहरूले राखेका गलत धारणा हटाउन मदत गर्दा हामी उहाँको नामलाई पवित्र पार्छौँ। w२०.०६ पृ. ६ अनु. १७-१८

शुक्रबार, सेप्टेम्बर ९

हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।—गला. ५:२६.

हामी सामाजिक सञ्जाल राम्रो उद्देश्‍यको लागि प्रयोग गर्न सक्छौँ, जस्तै: परिवार र साथीभाइको हालखबर बुझ्न। तर तपाईँले पनि याद गर्नुभएको होला, मानिसहरू सामाजिक सञ्जालमा कतिपय कुराहरू आफ्नो रवाफ देखाउन पोस्ट गर्ने गर्छन्‌। तिनीहरूले “मलाई हेर” भन्‍ने खालको सन्देश दिन खोजेको जस्तो देखिन्छ। कसै-कसैले भने आफूले वा अरूले राखेको फोटोमा घोचपेच गर्ने र छाडा किसिमका कमेन्टहरू पोस्ट गर्छन्‌। हामी ख्रिष्टियनहरूले नम्र हुन र अरूलाई प्रेम गर्न सिकेकोले यस्तो तरिकामा सामाजिक सञ्जाल प्रयोग गर्नु उचित होइन। (१ पत्रु. ३:८) यदि तपाईँ सामाजिक सञ्जाल चलाउनुहुन्छ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मैले पोस्ट गर्ने कमेन्ट, फोटो वा भिडियोहरूले के मैले फुइँ लगाइरहेको भान पार्छ? के यसले अरूलाई डाही बनाउँछ?’ ख्रिष्टियनहरूलाई अरूले आफूलाई ठूलो ठान्‍नुपर्छ जस्तो लाग्दैन। तिनीहरू आजको पदमा दिइएको सल्लाहअनुसार चल्छन्‌। नम्रताले हामीलाई संसारका मानिसहरूले जस्तो आफैलाई ठूलो देखाउन खोज्ने झुकाव नराख्न मदत गर्छ।—१ युह. २:१६. w२०.०७ पृ. ६ अनु. १४-१५

शनिबार, सेप्टेम्बर १०

पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ।—१ तिमो. १:१३.

प्रेषित पावल ख्रिष्टको चेला बन्‍नुअघि तिनी सोमत नभएका युवक थिए र येसुका चेलाहरूलाई खेदो गर्थे। (प्रेषि. ७:५८) ख्रिष्टियन मण्डलीलाई खेदो गर्नदेखि येसु आफैले पावललाई रोक्नुभयो, जो त्यतिबेला सावल नामले चिनिन्थे। येसु तिनीसित स्वर्गबाट बोल्नुभयो र तिनलाई अन्धो बनाइदिनुभयो। आफ्नो दृष्टि फिर्ता पाउन पावल आफूले खेदो गरिरहेका मानिसहरूसितै मदत माग्न बाध्य भए। तिनले हननिया नाम गरेका चेलाको मदत नम्र भई स्विकारे, जसले तिनको दृष्टि फर्काइदिए। (प्रेषि. ९:३-९, १७, १८) पावल पछि ख्रिष्टियन मण्डलीको महत्त्वपूर्ण सदस्य बने तर तिनले दमिसक जाने बाटोमा येसुले सिकाउनुभएको पाठ कहिल्यै बिर्सेनन्‌। पावल नम्र भइरहे अनि आफ्ना भाइबहिनीले दिएको मदत खुसीसाथ स्विकारे। तिनले ती भाइबहिनी आफूलाई “बल दिने मदतगार” भएको कुरा मानिलिए।—कल. ४:१०, ११, फुटनोट। w२०.०७ पृ. १८ अनु. १६-१७

आइतबार, सेप्टेम्बर ११

तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।—लुका १२:३२.

यहोवा सर्वशक्‍तिमान्‌ हुनुभए तापनि उहाँ अरूलाई पनि केही जिम्मेवारी सुम्पनुहुन्छ। उदाहरणको लागि, उहाँले आफ्नो राज्यको राजा हुन येसुलाई नियुक्‍त गर्नुभयो र भविष्यमा येसुका १ लाख ४४ हजार सह-शासकलाई केही अख्तियार दिनुहुनेछ। यहोवाले येसुलाई राजा र प्रधानपुजारीको रूपमा सेवा गर्न तालिम दिनुभयो। (हिब्रू ५:८, ९) उहाँले येसुका सह-शासकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न तालिम दिनुहुन्छ तर तिनीहरूलाई जिम्मेवारी सुम्पेपछि तिनीहरूले गर्ने एक-एक कामको चियोचर्चो गर्नुहुन्‍न। बरु तिनीहरूले उहाँको इच्छाअनुसार गर्नेछन्‌ भन्‍ने कुरामा भरोसा राख्नुहुन्छ। (प्रका. ५:१०) हाम्रा स्वर्गमा बस्नुहुने बुबा जसलाई कसैको मदतको आवश्‍यकता छैन, उहाँले त अरूलाई केही जिम्मेवारी सुम्पनुहुन्छ भने हामीले चाहिँ झन्‌ त्यसो गर्नु नपर्ला र? उदाहरणको लागि, के तपाईँ परिवारको शिर वा मण्डलीको एल्डर हुनुहुन्छ? यहोवाको उदाहरण अनुकरण गर्दै अरूलाई जिम्मेवारी सुम्पनुहोस्‌ अनि जिम्मेवारी सुम्पेपछि तिनले गर्ने एक-एक कामको चियोचर्चो नगर्नुहोस्‌। यसरी यहोवाको अनुकरण गर्दा काम पूरा हुने मात्र होइन, तपाईँले अरूलाई तालिम पनि दिइरहनुभएको हुनेछ र तिनको आत्मविश्‍वास पनि बढ्‌नेछ।—यसै. ४१:१०. w२०.०८ पृ. ९-१० अनु. ५-६

सोमबार, सेप्टेम्बर १२

मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।—लुका १९:१०.

हराएको भेडाप्रति हामीले कस्तो महसुस गरेको यहोवा चाहनुहुन्छ? येसुले हाम्रो निम्ति नमुना बसाल्नुभएको छ। यहोवाको नजरमा सबै भेडा बहुमूल्य छन्‌ भनेर येसुलाई थाह थियो। त्यसैले “इस्राएलको घरानाका . . . हराएका भेडाहरू”-लाई यहोवाकहाँ फर्काउन येसुले सक्दो मदत गर्नुभयो। (मत्ति १५:२४) असल गोठालो येसुले पनि यहोवाको एउटै भेडा नहराऊन्‌ भनेर सक्दो कोसिस गर्नुभयो। (युह. ६:३९) प्रेषित पावलले एफिससको मण्डलीका एल्डरहरूलाई येसुको उदाहरण अनुकरण गर्न यसरी आग्रह गरे: “तपाईँहरूले . . . कमजोरहरूलाई मदत गर्नुपर्छ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।” (प्रेषि. २०:१७, ३५) स्पष्ट छ, आज एल्डरहरूले यहोवाका सेवकहरूको हेरचाह गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्‌। स्पेनका साल्भाडोर नाम गरेका एल्डर यसो भन्छन्‌: “यहोवा आफ्नो हराएको भेडाको कत्ति धेरै हेरचाह गर्नुहुन्छ भनेर सोच्दा तिनीहरूलाई सक्दो मदत गर्न उत्प्रेरित हुन्छु। मैले ती हराएको भेडाको हेरचाह गरेको यहोवा चाहनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु।” w२०.०६ पृ. २३ अनु. १५-१६

मङ्‌गलबार, सेप्टेम्बर १३

पहिलेका कुराहरू बितिसकेका छन्‌।—प्रका. २१:४.

हजार वर्षीय शासनको अन्तमा हामी त्रुटिरहित अवस्थामा नपुगुन्जेल यहोवा धीरजी हुँदै पर्खनुहुन्छ। त्यतिन्जेल उहाँ हाम्रा पापहरू क्षमा गर्न इच्छुक हुनुहुन्छ। त्यसैले हामीले पनि अरूमा भएका राम्रा गुणहरू हेर्नुपर्छ र तिनीहरूप्रति धीरजी हुनुपर्छ। पृथ्वी सृष्टि गरिँदा येसु र स्वर्गदूतहरू रमाउनुभएको थियो। यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने त्रुटिरहित मानिसहरूले पृथ्वी भरिएको देख्दा उहाँहरू झन्‌ कत्ति खुसी हुनुहोला, कल्पना गर्नुहोस्‌ त! ख्रिष्टसित स्वर्गमा शासन गर्न पृथ्वीबाट किनिएकाहरूले आफ्नो कामबाट मानिसहरूलाई फाइदा पुगिरहेको देख्दा उनीहरू कत्ति आनन्दित हुनेछन्‌, कल्पना गर्नुहोस्‌! (प्रका. ४:४, ९-११; ५:९, १०) पीडाको आँसुको साटो हर्षको आँसु बग्दा अनि बिमारी, दुःख र मृत्यु सदाको लागि बितेर जाँदा जीवन कस्तो होला, त्यो पनि कल्पना गर्नुहोस्‌! त्यतिन्जेल हाम्रा मायालु, बुद्धिमान्‌ र धीरजी बुबाको अनुकरण गरिरहने सङ्‌कल्प गर्नुहोस्‌। त्यसो गर्नुभयो भने जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि तपाईँले आफ्नो आनन्द गुमाउनुहुनेछैन। (याकु. १:२-४) यहोवाले मरेकाहरू “फेरि जीवित हुनेछन्‌” भन्‍ने प्रतिज्ञा गर्नुभएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौँ!—प्रेषि. २४:१५. w२०.०८ पृ. १८-१९ अनु. १८-१९

बुधबार, सेप्टेम्बर १४

राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।—मत्ति २४:१४.

बाइबल, यहोवाले हामीलाई दिनुभएको मायालु उपहार हो। स्वर्गमा बस्नुहुने बुबाले मानिसहरूलाई बाइबल लेख्न प्रेरणा दिनुभयो किनभने उहाँ पृथ्वीमा बस्ने आफ्ना छोराछोरीलाई असाध्यै माया गर्नुहुन्छ। हामीले सोध्ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ यहोवा हामीलाई बाइबलमार्फत दिनुहुन्छ। जस्तै: हामी कहाँबाट आयौँ? जीवनको उद्देश्‍य के हो? भविष्य कस्तो हुनेछ? आफ्ना सबै छोराछोरीले यी प्रश्‍नहरूको जवाफ पाएको यहोवा चाहनुहुन्छ। त्यसैले शताब्दीयौँदेखि उहाँले थुप्रै भाषामा बाइबल अनुवाद गर्न मानिसहरूलाई उत्प्रेरित गर्नुभएको छ। आज बाइबल पूरा वा आंशिक गरी तीन हजारभन्दा धेरै भाषामा उपलब्ध छ! इतिहास केलाउने हो भने सबैभन्दा धेरै अनुवाद र वितरण भएको किताब बाइबल हो। बाइबलप्रति कृतज्ञ भएको देखाउन हामीले यो दिनहुँ पढ्‌नुपर्छ, यसले सिकाउने कुरामा मनन गर्नुपर्छ अनि आफूले सिकेको कुरा लागू गर्न सक्दो प्रयास गर्नुपर्छ। साथै परमेश्‍वरप्रति कृतज्ञ भएको देखाउन हामीले बाइबलको सन्देश सकेसम्म धेरै मानिसलाई सुनाउन सक्दो प्रयास गर्नुपर्छ।—भज. १:१-३; मत्ति २८:१९, २०. w२०.०५ पृ. २४-२५ अनु. १५-१६

बिहीबार, सेप्टेम्बर १५

यहोवाको वचन सुनाएकोले मैले दिनभर अपमान र ठट्टा सहनुपरेको छ।—यर्मि. २०:८.

भविष्यवक्‍ता यर्मियालाई असाध्यै गाह्रो इलाकामा प्रचार गर्न खटाइएको थियो। एकचोटि तिनी असाध्यै निराश भए र प्रचार गर्न छोडूँ कि जस्तो तिनलाई लाग्यो। तर तिनले प्रचार गर्न छोडेनन्‌। किन? “यहोवाको वचन”-बारे बोल्न नपाएकोले तिनलाई आफूभित्र आगो थुनेर राखेझैँ भयो र तिनी नबोली बस्नै सकेनन्‌। (यर्मि. २०:९) आफ्नो दिमाग र हृदय परमेश्‍वरको वचनले भरेका छौँ भने हामीले पनि त्यस्तै महसुस गर्नेछौँ। यो हाम्रो लागि बाइबल पढ्‌ने र मनन गर्ने थप कारण हो। यसो गर्दा हाम्रो आनन्द अझ बढ्‌नेछ र हाम्रो प्रचारकार्य पनि अझ अर्थपूर्ण हुन सक्छ। (यर्मि. १५:१६) त्यसैले निराश हुँदा यहोवा परमेश्‍वरलाई मदतको लागि उत्कट बिन्ती गर्नुहोस्‌। उहाँले त्रुटिपूर्ण अवस्था, कमीकमजोरी र रोगसित जुझ्न तपाईँलाई मदत दिनुहुनेछ। सेवाका सुअवसरहरूप्रति सन्तुलित दृष्टिकोण राख्न उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। प्रचारकार्यप्रति सकारात्मक दृष्टिकोण राख्न पनि उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। साथै स्वर्गमा बस्नुहुने बुबालाई आफ्नो चिन्ता-फिक्री सबै पोखाउनुहोस्‌। उहाँको मदत पाएर तपाईँ निराशालाई जित्न सक्नुहुन्छ। w२०.१२ पृ. २७ अनु. २०-२१

शुक्रबार, सेप्टेम्बर १६

वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई चाहिँ चोखो मनले बहिनीलाई जस्तैगरि सम्झाऊ।—१ तिमो. ५:२.

केही बहिनीको लागि अरू भाइबहिनीसित भेट्‌ने मौका भनेकै सभाहरू हो। त्यसैले हामी सभामा तिनीहरूलाई स्वागत गर्न र तिनीहरूसित कुरा गर्न चाहन्छौँ अनि तिनीहरूको चासो राख्छौँ भनेर देखाउन चाहन्छौँ। येसुजस्तै हामी पनि बहिनीहरूसित सरसङ्‌गत गर्न समय निकाल्न सक्छौँ। (लुका १०:३८-४२) हामी तिनीहरूलाई साधारण खाना खान वा केही रमाइलो गर्न बोलाउन सक्छौँ कि? यस्तो मौकामा हामीले आफ्नो कुराकानीलाई उत्थानदायी बनाउनुपर्छ। (रोमी १:११, १२) एल्डरहरूले येसुको जस्तै मनोवृत्ति राख्नुपर्छ। अविवाहित रहनु कसै-कसैको निम्ति गाह्रो हुन सक्छ भनेर उहाँलाई थाह थियो। तर सधैँभरि आनन्दित रहन विवाह गर्नै पर्छ वा छोराछोरी जन्माउनै पर्छ भन्‍ने होइन भनेर उहाँले स्पष्ट पार्नुभयो। (लुका ११:२७, २८) बरु यहोवाको सेवालाई पहिलो स्थान दियौँ भने सधैँभरि आनन्दित रहन सक्छौँ भनेर उहाँले बताउनुभयो। (मत्ति १९:१२) विशेषगरि एल्डरहरूले ख्रिष्टियन स्त्रीहरूलाई आफ्ना आध्यात्मिक दिदीबहिनी र आमाजस्तै व्यवहार गर्नुपर्छ। एल्डरहरूले सभाअघि वा पछि बहिनीहरूसित कुरा गर्न समय निकाल्नु बेस हो। w२०.०९ पृ. २१-२२ अनु. ७-९

शनिबार, सेप्टेम्बर १७

एक जना किसानले भूमिको बहुमूल्य उब्जनी बटुल्न पर्खेर बस्छ . . . । तिमीहरू पनि धैर्य गर।—याकु. ५:७, ८.

इस्राएलमा किसानले शरद्‌ ऋतुको अघिल्लो वर्षापछि बिउ छर्थे अनि वसन्त ऋतुको पछिल्लो वर्षापछि कटनी गर्थे। (मर्कु. ४:२८) हामी पनि किसानले जस्तै धैर्य गरौँ। तर धैर्य गर्न सजिलो नहुन सक्छ। त्रुटिपूर्ण मानिसहरू आफ्नो परिश्रमको फल तुरुन्तै प्राप्त गर्न चाहन्छन्‌। तर बाली सप्रेर फल फलाएको चाहन्छौँ भने हामीले त्यसको निरन्तर हेरचाह गर्नुपर्छ; खेत खन्‍नुपर्छ, बिउ छर्नुपर्छ, गोडमेल गर्नुपर्छ अनि पानी हाल्नुपर्छ। चेला बनाउने काममा पनि हामीले त्यसरी नै परिश्रम गर्नुपर्छ। बाइबल विद्यार्थीहरूको मनबाट झाररूपी पूर्वाग्रह र भावशून्यतालाई उखेलेर फ्याँक्न पक्कै समय लाग्छ। हामी धीरजी छौँ भने मानिसहरूले हाम्रो कुरा नसुने पनि हामी निराश हुँदैनौँ। तर मानिसहरूले राम्रो प्रतिक्रिया देखाए भने पनि हामी धीरजी हुनुपर्छ। हामी बाइबल विद्यार्थीलाई विश्‍वास बढाउँदै लैजान जबरजस्ती गर्न सक्दैनौँ। येसुका चेलाहरूलाई पनि उहाँले सिकाउनुभएका कुनै-कुनै कुरा पूर्णरूपमा बुझ्न समय लाग्यो। (युह. १४:९) यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: हामी रोप्न र पानी हाल्न सक्छौँ तर हुर्काउने त परमेश्‍वर नै हुनुहुन्छ।—१ कोरि. ३:६. w२०.०९ पृ. १०-११ अनु. १०-११

आइतबार, सेप्टेम्बर १८

समुदायमा र सोझा मानिसहरूको समूहमा म सारा हृदयले यहोवाको प्रशंसा गर्नेछु।—भज. १११:१.

हामी आफ्ना विद्यार्थीहरूले बप्तिस्मासम्म प्रगति गरेको चाहन्छौँ। तिनीहरूलाई मदत गर्न हामीले गर्न सक्ने एउटा महत्त्वपूर्ण कुरा भनेको मण्डलीका सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनु हो। अध्ययन सुरु गरेदेखि नै सभामा आउन थाल्ने विद्यार्थीहरूले अक्सर छिटोछिटो प्रगति गर्छन्‌। केही सञ्चालकले विद्यार्थीलाई तिनीहरूले बाइबलको आधा शिक्षा अध्ययनबाट अनि आधा शिक्षा सभाहरूबाट पाउन सक्छन्‌ भनी बताउँछन्‌। विद्यार्थीसँगै हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌ अनि सभाहरूमा उपस्थित हुँदा तिनलाई कस्तो फाइदा हुन्छ भनी बुझाउनुहोस्‌। हालै तपाईँले सभाबाट सिक्नुभएको कुनै कुराबारे तिनलाई उत्साहित हुँदै बताउनुहोस्‌। विद्यार्थीलाई ‘सभामा आउनुहोस्‌’ मात्र भन्‍नुभन्दा यसो गर्नु अझ प्रभावकारी हुन्छ। तपाईँको विद्यार्थीले पहिलो सभामा अनुभव गर्ने कुरा तिनले अरू कुनै पनि धार्मिक सभामा अनुभव नगरेका हुन सक्छन्‌। (१ कोरि. १४:२४, २५) तिनले सभामा असल व्यक्‍तिहरू भेट्‌नेछन्‌ र उनीहरूको राम्रो उदाहरण अनुकरण गर्दा तिनले बप्तिस्मासम्म प्रगति गर्न सक्नेछन्‌। w२०.१० पृ. १०-११ अनु. १४-१५

सोमबार, सेप्टेम्बर १९

[परमेश्‍वरले] जस्तै सिकाउन सक्ने अरू को छ?—अय्यु. ३६:२२.

परमेश्‍वरको पवित्र शक्‍तिले तपाईँलाई परमेश्‍वरको वचनमा पढेका कुराहरू जीवनमा लागू गर्न मदत गर्नेछ। भजनरचयिताले जस्तै यसरी प्रार्थना गर्नुहोस्‌: “हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌। म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु। तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।” (भज. ८६:११) त्यसैले यहोवाले आफ्नो वचन र सङ्‌गठनमार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन लिइरहनुहोस्‌। तर तपाईँको लक्ष्य ज्ञान लिने मात्र हुनु हुँदैन। तपाईँ बाइबलको सत्य आफ्नो मनसम्म पुगेको चाहनुहुन्छ र ती आफ्नो जीवनमा लागू गर्न चाहनुहुन्छ। यहोवाको पवित्र शक्‍तिले तपाईँलाई त्यसो गर्न मदत दिन्छ। तपाईँ आफ्ना भाइबहिनीलाई प्रोत्साहन दिन पनि चाहनुहुन्छ। (हिब्रू १०:२४, २५) किन? किनकि तिनीहरू तपाईँको आध्यात्मिक परिवार हुन्‌। सभाहरूमा मनैदेखि टिप्पणी दिन र आफूले पाएको असाइनमेन्ट राम्ररी पूरा गर्न पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। यसरी तपाईँले यहोवाको र उहाँको छोरा येसुको बहुमूल्य “भेडा”-लाई माया गरेको देखाइरहनुभएको हुनेछ। (युह. २१:१५-१७) त्यसैले उहाँले हाम्रो लागि प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजबाट पूरापूर लाभ उठाएर महान्‌ शिक्षक यहोवाको कुरा सुनिरहनुहोस्‌। w२०.१० पृ. २४-२५ अनु. १५-१७

मङ्‌गलबार, सेप्टेम्बर २०

तिनीहरू सबै उहाँलाई छोडेर भागे।—मर्कु. १४:५०.

केही समय निरुत्साहित भएका प्रेषितहरूसित येसुले कस्तो व्यवहार गर्नुभयो? आफू जीवित भएको केही समयपछि येसुले केही चेलालाई यसो भन्‍नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई [म फेरि जीवित भइसकेँ] भनिदेओ।” (मत्ति २८:१०क) येसुले प्रेषितहरूलाई त्याग्नुभएन। तिनीहरूले उहाँलाई छोडेर भागे तापनि उहाँले तिनीहरूलाई “मेरा भाइहरू” भन्‍नुभयो। यहोवाजस्तै येसु पनि कृपालु र क्षमाशील हुनुहुन्छ। (२ राजा १३:२३) त्यसैगरि हामी पनि प्रचारकार्यमा भाग लिन छोडेकाहरूप्रति गहिरो चासो देखाउँछौँ। तिनीहरू हाम्रै दाजुभाइ दिदीबहिनी हुन्‌ र हामी तिनीहरूलाई माया गर्छौँ! सायद तिनीहरूमध्ये कतिपयले दशकौँसम्म यहोवाको सेवामा मेहनत गरेका थिए। हामी तिनीहरूको मेहनत अझै सम्झन्छौँ। (हिब्रू ६:१०) हामीलाई तिनीहरूको कमी खट्‌किन्छ! (लुका १५:४-७) त्यसैले निष्क्रिय भएकाहरूलाई सभामा आउन निम्तो दिनुहोस्‌। अनि निष्क्रिय भएको भाइ वा बहिनी सभामा आउँदा आफै अग्रसर भएर तिनलाई न्यानो स्वागत गर्नुहोस्‌। w२०.११ पृ. ६ अनु. १४-१७

बुधबार, सेप्टेम्बर २१

लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू।—१ कोरि. ४:६.

याकुब र युहन्‍ना आफ्नी आमासँगै येसुकहाँ आएर उहाँको अधिकारमा नभएको सुअवसरको लागि बिन्ती गर्दा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गर्नुहोस्‌। त्यतिबेला येसुले एकछिन पनि नसोचिकन परमेश्‍वरको राज्यमा आफ्नो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार स्वर्गमा बस्नुहुने बुबासँग मात्र छ भनेर बताउनुभयो। (मत्ति २०:२०-२३) यसरी येसुले आफ्नो सीमितता स्विकारेको कुरा देखाउनुभयो। उहाँ आफ्नो मर्यादामा बस्नुभयो। उहाँले कहिल्यै पनि यहोवाले दिनुभएको अधिकारको सीमा नाघ्न खोज्नुभएन। (युह. १२:४९) हामी येसुको असल उदाहरण कसरी अनुकरण गर्न सक्छौँ? आजको दैनिक पदमा दिइएको सल्लाह लागू गरेर हामी आफ्नो सीमितता स्विकार्ने सन्दर्भमा येसुको उदाहरण अनुकरण गर्छौँ। कसैले सल्लाह माग्दा हामीले कहिल्यै पनि आफ्नै धारणालाई अघि सार्नु हुँदैन वा सोचविचारै नगरी सल्लाह दिनु हुँदैन। बरु हामीले बाइबल र बाइबलआधारित प्रकाशनहरूमा दिइएको सल्लाहमा तिनीहरूको ध्यान खिच्नुपर्छ। यसरी हामी आफ्नो सीमितता स्विकारेको कुरा देखाउँछौँ। यसो गर्दा हामी नम्र भइरहेका हुन्छौँ किनभने हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरका “न्यायसङ्‌गत उर्दीहरू” हाम्रो तौरतरिकाभन्दा उच्च छन्‌ भनेर मानिलिन्छौँ।—प्रका. १५:३, ४. w२०.०८ पृ. ११-१२ अनु. १४-१५

बिहीबार, सेप्टेम्बर २२

आफूलाई बढ्‌तै धर्मी नठान अनि अरूसामु आफूलाई ज्यादै बुद्धिमान्‌ पनि नदेखाऊ। यसो गरेर तिमी किन आफैलाई हानि पुऱ्‍याउँछौ?—उप. ७:१६.

कुनै साथीलाई सल्लाह दिनुपर्ने आवश्‍यकता देख्नुभयो भने तपाईँले कस्ता कुराहरू मनमा राख्नुपर्छ? सल्लाह दिनुअघि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘के म “बढ्‌तै धर्मी” भइरहेको छु?’ आफूलाई बढ्‌तै धर्मी ठान्‍ने व्यक्‍तिले यहोवाका स्तरहरूको आधारमा नभई आफ्नै स्तरहरूको आधारमा अरूको न्याय गर्छ र ऊ अरूप्रति कृपालु नहुन पनि सक्छ। यसरी आफूलाई जाँचिसकेपछि तपाईँलाई अझै पनि साथीलाई सल्लाह दिनु आवश्‍यक छ जस्तो लाग्छ भने तिनलाई समस्या के हो भनेर स्पष्ट बताउनुहोस्‌ र तिनले आफ्नो गल्ती महसुस गर्न सकोस्‌ भनेर सोच्न लगाउने प्रश्‍नहरू सोध्नुहोस्‌। सल्लाह दिँदा बाइबलमा आधारित भएर दिनुहोस्‌। साथै तिनी तपाईँप्रति होइन, यहोवाप्रति जबाफदेही छन्‌ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। (रोमी १४:१०) परमेश्‍वरको वचनमा पाइने बुद्धिमा भर पर्नुहोस्‌ अनि अरूलाई सल्लाह दिँदा येसुको कृपा अनुकरण गर्नुहोस्‌। (हितो. ३:५; मत्ति १२:२०) हामीले किन त्यसो गर्नुपर्छ? किनकि हामी अरूसित जस्तो व्यवहार गर्छौँ, यहोवाले पनि हामीसित त्यस्तै व्यवहार गर्नुहुनेछ।—याकु. २:१३. w२०.११ पृ. २१ अनु. १३

शुक्रबार, सेप्टेम्बर २३

बाहिरबाट देखिने कुराको आधारमा न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।—युह. ७:२४.

के अरूले तपाईँको छालाको रङ, अनुहारको बनोट वा जीउको आकारको आधारमा न्याय गरेको मन पर्छ? पक्कै मन पर्दैन होला! त्यसैले यहोवाले हामीलाई बाहिरबाट देखिने कुराको आधारमा मात्र न्याय गर्नुहुन्‍न भनेर थाह पाउँदा कत्ति ढुक्क महसुस गर्छौँ! उदाहरणको लागि, समुएलले यिसैका छोराहरूलाई हेर्दा तिनले यहोवाको जस्तै दृष्टिकोणले हेर्न सकेनन्‌। यहोवाले समुएललाई यिसैका एक जना छोरा इस्राएलको राजा बन्‍नेछन्‌ भन्‍नुभएको थियो। तर कुनचाहिँ छोरा? समुएलले यिसैको जेठो छोरा एलिआबलाई देख्दा तिनले यसो भने, “यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” एलिआब राजाजस्तै देखिन्थे। तर यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “उसको रूपरङ्‌ग र उसको कदमा ध्यान नदेऊ, मैले रोजेको मानिस ऊ होइन।” यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवाले अझै यसो भन्‍नुभयो: “मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।” (१ समु. १६:१, ६, ७) हामी पनि यहोवाको अनुकरण गर्दै भाइबहिनीसँग त्यसरी नै व्यवहार गर्नुपर्छ। w२०.०४ पृ. १४ अनु. १; पृ. १५ अनु. ३

शनिबार, सेप्टेम्बर २४

आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।—युह. ४:३५.

येसु खेतको बाटो हुँदै हिँडिरहनुभएको थियो र सायद त्यो भर्खरै उम्रन थालेको जौको खेत थियो। (युह. ४:३-६) त्यो जौ कटनी गर्ने समय आउन लगभग चार महिना बाँकी थियो। येसुको यो कुरा चेलाहरूलाई अनौठो लागेको हुनुपर्छ: “आफ्नो आँखा उठाएर खेततिर हेर किनकि बाली पाकेर पहेँला भइसकेका छन्‌।” (युह. ४:३५, ३६) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? वास्तवमा येसु प्रतीकात्मक रूपमा मानिसहरूको कटनीबारे कुरा गर्दै हुनुहुन्थ्यो। भर्खरै के भएको थियो, विचार गर्नुहोस्‌। यहुदीहरू प्रायः सामरियालीहरूसित कुनै सम्बन्ध राख्दैन थिए। तर येसुले भर्खरै एउटी सामरियाली स्त्रीलाई प्रचार गर्नुभएको थियो र ती स्त्रीले येसुको कुरा ध्यान दिएर सुनेकी थिई। येसुले “बाली पाकेर पहेँला भइसकेका छन्‌” भन्‍नुहुँदा सामरियालीहरूको एउटा दल उहाँबाट अझ धेरै सिक्न आउँदै थियो किनभने तिनीहरूले ती स्त्रीबाट येसुको विषयमा सुनेका थिए। (युह. ४:९, ३९-४२) यस विवरणबारे एक बाइबलविद्‌ यसो भन्छन्‌: ‘ती मानिसहरूले देखाएको इच्छुकताले तिनीहरू कटनीको लागि तयार भएका बालीजस्तै थिए भन्‍न सकिन्छ।’ w२०.०४ पृ. ८ अनु. १-२

आइतबार, सेप्टेम्बर २५

आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ।—हिब्रू १०:२४.

हाम्रा सभाहरूले हामीलाई प्रभावकारी प्रचारक र शिक्षक हुन तालिम दिन्छ। उदाहरणको लागि, हामी शिक्षण सामग्रीमा भएका प्रकाशनहरू प्रभावकारी तरिकामा चलाउन सिक्छौँ। त्यसैले मण्डलीका सभाहरूको लागि राम्ररी तयारी गर्नुहोस्‌। सभामा ध्यान दिएर सुन्‍नुहोस्‌। सभामा सिकेका कुराहरू तुरुन्तै लागू गर्नुहोस्‌। यी कुराहरू गरेर तपाईँ “ख्रिष्ट येसुको सुयोग्य सिपाही” बन्‍न सक्नुहुन्छ। (२ तिमो. २:३) हामीसँग लाखौँलाख शक्‍तिशाली स्वर्गदूतहरूको साथ पनि छ। एउटा घटनामा एक जना स्वर्गदूतले कति जनालाई मारेको थियो, तपाईँलाई याद छ? (यसै. ३७:३६) त्यसोभए स्वर्गदूतहरूको विशाल सेना कत्ति शक्‍तिशाली होला, सोच्नुहोस्‌ त! कुनै पनि व्यक्‍ति वा प्रेत यहोवाको शक्‍तिशाली सेनासामु टिक्न सक्दैन। एक जना वफादार साक्षीको साथमा यहोवा हुनुहुन्छ भने तिनका विरोधीहरू जति धेरै भए पनि तिनी नै बलियो साबित हुनेछन्‌। (न्याय. ६:१६) यस कुरामा कसैको दुई मत छैन। सहकर्मी, सहपाठी वा विश्‍वासमा नभएका आफन्तले भनेको वा गरेको कुराले निरुत्साहित हुँदा यो कुरा सधैँ मनमा राख्नुहोस्‌। यस लडाइँमा तपाईँ एक्लो हुनुहुन्‍न भनेर कहिल्यै नबिर्सनुहोस्‌। यहोवाले तपाईँलाई डोऱ्‍याउँदै हुनुहुन्छ। w२१.०३ पृ. २९ अनु. १३-१४

सोमबार, सेप्टेम्बर २६

यदि मरेकाहरू ब्युँताइनेछैनन्‌ भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”—१ कोरि. १५:३२.

प्रेषित पावलले यसैया २२:१३ बाट उद्धृत गरेको हुन सक्छ, जुन पदमा इस्राएलीहरूको मनोवृत्तिबारे बताइएको छ। परमेश्‍वरसित नजिक हुनुको साटो तिनीहरू सुखसयलको जीवन बिताउनतिर लागे। ती इस्राएलीहरू “दुई दिनको जिन्दगीमा मोजमस्ती गर्नुपर्छ” भन्‍ने सोचाइ राख्थे, जुन आज पनि व्याप्त छ। यहोवा मरेकाहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भन्‍ने तथ्यले सङ्‌गतको विषयमा हाम्रो छनौटलाई प्रभाव पार्नुपर्छ। कोरिन्थका दाजुभाइ दिदीबहिनी फेरि जीवित हुने आशालाई नकार्ने मानिसहरूसित सङ्‌गत गर्नदेखि होसियार हुनुपर्थ्यो। यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ: आजको लागि मात्रै बाँच्ने मानिसहरूसित धेरै समय बिताउँछौँ भने तिनीहरूले हामीमा नराम्रो प्रभाव पार्न सक्छ। कुनै साँचो ख्रिष्टियन त्यस्ता मानिसहरूसित धेरै उठबस गर्छन्‌ भने त्यसले तिनको आनीबानी र दृष्टिकोणमा असर गर्न सक्छ। अझ भन्‍नुपर्दा, तिनी परमेश्‍वरले घृणा गर्नुहुने काम गर्ने हदसम्म पुग्न सक्छन्‌। त्यसैले पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई यस्तो कडा सल्लाह दिए: “होसमा आओ, असल काम गर र पाप गर्न छोडिदेओ।”—१ कोरि. १५:३३, ३४. w२०.१२ पृ. ९ अनु. ३, ५-६

मङ्‌गलबार, सेप्टेम्बर २७

हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रिष्टको शिर परमेश्‍वर हुनुहुन्छ।—१ कोरि. ११:३.

यहोवाले स्वर्ग र पृथ्वीमा भएको आफ्नो परिवारलाई कसरी व्यवस्थित पार्नुभएको छ भनेर यस पदमा बताइएको छ। शिरत्वमा दुइटा मुख्य कुरा समावेश छ: अख्तियार र जबाफदेहिता। यहोवा “शिर” हुनुहुन्छ र उहाँभन्दा माथि अरू कोही छैन। त्यसैले स्वर्ग र पृथ्वीमा भएका उहाँका सबै छोराछोरी उहाँप्रति जबाफदेही छन्‌। (रोमी १४:१०; एफि. ३:१४, १५) यहोवाले येसुलाई मण्डलीमाथि अख्तियार दिनुभएको छ र येसुले हामीसित गर्नुहुने व्यवहारको लागि उहाँ यहोवाप्रति जबाफदेही हुनुहुन्छ। (१ कोरि. १५:२७) यहोवाले पतिलाई पनि आफ्नी पत्नी र छोराछोरीमाथि अख्तियार दिनुभएको छ। तिनी परिवारको असल शिर कसरी बन्‍न सक्छन्‌? तिनले यहोवा तिनीबाट के चाहनुहुन्छ भनेर सुरुमा बुझ्नुपर्छ। तिनले यहोवाले शिरत्वको प्रबन्ध किन गर्नुभयो भनेर पनि बुझ्नुपर्छ। अनि विशेषगरि तिनले यहोवा र येसुको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌, त्यो पनि बुझ्नुपर्छ। यी कुराहरू थाह पाउनु किन महत्त्वपूर्ण छ? किनभने यहोवाले परिवारका शिरहरूलाई केही हदसम्म अख्तियार दिनुभएको छ र तिनीहरूले आफूले पाएको अख्तियार सही तरिकामा चलाएको यहोवा चाहनुहुन्छ।—लुका १२:४८ख. w२१.०२ पृ. २ अनु. १-३

बुधबार, सेप्टेम्बर २८

म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।—यसै. ४८:१७.

हामीले यहोवाको अनुकरण गर्दै कुनै-कुनै कुरा बिर्सने छनौट गर्नु बेस हो। उदाहरणको लागि, यहोवा एक-एक कुरा सम्झन सक्नुहुन्छ तर हामीले पश्‍चात्ताप गऱ्‍यौँ भने उहाँले हाम्रा गल्तीलाई क्षमा दिने र त्यसलाई बिर्सने छनौट गर्नुहुन्छ। (भज. २५:७; १३०:३, ४) अरूले गल्ती गरेर हाम्रो चित्त दुखाएका छन्‌ तर ती व्यक्‍ति पछुताउँछन्‌ भने हामीले पनि यहोवाको अनुकरण गर्दै तिनलाई क्षमा दिएको र तिनको गल्तीलाई बिर्सेको उहाँ चाहनुहुन्छ। (मत्ति ६:१४; लुका १७:३, ४) उपहारस्वरूप पाएको हाम्रो मस्तिष्कप्रति कृतज्ञ छौँ भने हामीले यसलाई यो उपहार दिनुहुनेको आदर हुने तरिकामा प्रयोग गर्नुपर्छ। कसै-कसैले आफ्नै स्वार्थी इच्छा पूरा गर्न मस्तिष्कको प्रयोग गर्छन्‌ अर्थात्‌ सही र गलतको स्तर आफैले तोक्छन्‌। यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले हामीले तोक्ने कुनै पनि स्तरभन्दा उहाँले हाम्रो लागि तोकिदिनुभएको स्तर कता हो कता उत्कृष्ट छ भनेर आशा गर्नु मनासिब हो। (रोमी १२:१, २) उहाँको स्तरअनुरूप चल्दा हाम्रो जीवनमा शान्ति छाउँछ। (यसै. ४८:१८) अनि हामीले आफ्नो जीवनको उद्देश्‍य के हो भनेर स्पष्टसित बुझ्न सक्छौँ। त्यो उद्देश्‍य हो, स्वर्गमा बस्नुहुने बुबा, जो हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, उहाँको आदर गर्नु अनि उहाँलाई खुसी बनाउनु।—हितो. २७:११. w२०.०५ पृ. २३-२४ अनु. १३-१४

बिहीबार, सेप्टेम्बर २९

एकअर्काप्रति . . . कोमल स्नेह देखाओ।—रोमी १२:१०.

आज हामी दाजुभाइ दिदीबहिनीलाई कसरी कोमल स्नेह देखाउन सक्छौँ? हामी उनीहरूलाई जत्ति राम्ररी चिन्दै जान्छौँ, उनीहरूलाई बुझ्न र कोमल स्नेह देखाउन त्यत्ति नै सजिलो हुनेछ। उमेर र पृष्ठभूमिलाई हामीबीच तगारो बन्‍न दिनु हुँदैन। याद गर्नुहोस्‌, जोनाथन दाउदभन्दा झन्डै ३० वर्ष जेठा थिए। तैपनि तिनले दाउदसित गहिरो मित्रता गाँसे। के तपाईँ पनि मण्डलीमा आफूभन्दा जेठो वा कान्छो कसैसित मित्रता गाँस्न सक्नुहुन्छ? यसो गर्दा तपाईँले “सबै भाइहरूलाई प्रेम” गरेको देखाउन सक्नुहुन्छ। (१ पत्रु. २:१७) दाजुभाइ दिदीबहिनीलाई कोमल स्नेह देखाउनुपर्छ भन्‍नुको अर्थ मण्डलीका सबैसित उत्तिकै नजिक हुनुपर्छ भन्‍ने हो? होइन। त्यसो गर्न सम्भव पनि छैन। उस्तै रुचिहरूले गर्दा कोही एक जनासँग भन्दा अर्कोसित नजिक हुनु स्वाभाविकै हो। येसुले आफ्ना सबै प्रेषितलाई “मित्र” भन्‍नुभयो तर उहाँ अरूसित भन्दा युहन्‍नासित धेरै नजिक हुनुहुन्थ्यो। (युह. १३:२३; १५:१५; २०:२) तर येसुले युहन्‍नालाई बढ्‌तै महत्त्व दिनुभएन।—मर्कु. १०:३५-४०. w२१.०१ पृ. २३ अनु. १२-१३

शुक्रबार, सेप्टेम्बर ३०

देवीदेवताहरूप्रति तपाईँहरूको भक्‍ति अरू मानिसको भन्दा धेरै रहेछ।—प्रेषि. १७:२२.

पावलले सभाघरमा आएका यहुदीहरूलाई सन्देश सुनाएकै तरिकामा एथेन्सका अन्यजातिहरूलाई सुनाएनन्‌। पावलले वरपरका कुराहरू नियाले अनि त्यहाँका मानिसहरूको धार्मिक प्रचलन याद गरे। (प्रेषि. १७:२३) त्यसपछि तिनले त्यहाँका मानिसहरूको उपासना गर्ने तरिका र धर्मशास्त्रमा पाइने सत्यबीचको समानता पत्ता लगाउने कोसिस गरे। यसकारण पावल आफ्नो प्रस्तुति छाँटकाँट गर्न तयार भए। आफूले सुनाएको सन्देश तिनीहरूले उपासना गर्न खोजिरहेको ‘अज्ञात देवबाट’ आएको हो भनेर तिनले एथेन्सवासीहरूलाई बताए। अन्यजातिहरूलाई धर्मशास्त्रको कुरा थाह नभए तापनि पावलले तिनीहरू कहिल्यै ख्रिष्टियन बन्‍नेछैनन्‌ भन्‍ने सोचाइ राखेनन्‌। बरु तिनले उनीहरूलाई कटनी गर्न तयार भएको बालीको रूपमा हेरे र आफ्नो प्रस्तुति छाँटकाँट गरे। पावलले जस्तै वरपरको कुरा नियाल्नुहोस्‌। आफ्नो इलाकाका मानिसहरू केमा विश्‍वास गर्छन्‌ भनेर देखाउने सङ्‌केतहरू याद गर्नुहोस्‌। तिनले आफ्नो घर अनि सवारी-साधन कसरी सजाएका छन्‌? तिनको नाम, पहिरन, कोरीबाटी वा तिनले प्रयोग गर्ने शब्दहरूबाटै तिनको धर्म थाह पाउन सकिन्छ कि? w२०.०४ पृ. ९-१० अनु. ७-८

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने