अक्टोबर
शनिबार, अक्टोबर १
“यहोवा परमेश्वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?” तर हामीसित भने ख्रिष्टको सोचाइ छ।—१ कोरि. २:१६.
हामीले येसुलाई चिन्यौँ भने उहाँको सोचाइ र व्यवहार गर्ने तरिका अनुकरण गर्न सक्नेछौँ। येसुको सोचाइ हामी जति राम्ररी बुझ्छौँ अनि अनुकरण गर्छौँ, उहाँसितको मित्रता त्यति नै घनिष्ठ हुनेछ। हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? एउटा उदाहरण विचार गर्नुहोस्। येसुले आफैलाई खुसी पार्न खोज्नुको साटो अरूलाई मदत गर्नेबारे सोच्नुभयो। (मत्ति २०:२८; रोमी १५:१-३) यस्तो मनोभाव राख्नुभएकोले उहाँ आत्मत्यागी अनि क्षमाशील हुनुहुन्थ्यो। मानिसहरूले आफूबारे भन्ने कुराहरूले गर्दा उहाँले चित्त दुखाइहाल्नुहुन्नथ्यो। (युह. १:४६, ४७) अनि कसैले विगतमा गरेको गल्तीलाई सम्झँदै ‘त्यो व्यक्ति त्यस्तै हो’ भन्ने सोचाइ उहाँले राख्नुभएन। (१ तिमो. १:१२-१४) येसुले यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।” (युह. १३:३५) आफैलाई यस्तो प्रश्न सोध्नुभए कसो होला, “भाइबहिनीसित शान्ति कायम गर्न सक्दो कोसिस गरेर के मैले येसुको अनुकरण गरिरहेको छु?” w२०.०४ पृ. २२ अनु. ११
आइतबार, अक्टोबर २
तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्।—यसै. २९:२३.
यहोवाको नामको निन्दा र बदनाम गर्ने मानिसहरूले भरिएको संसारमा बाँच्नु परे तापनि तपाईँसित सत्यको पक्षमा खडा हुने र सत्य बोल्ने मौका छ—यहोवा पवित्र, धर्मी, असल र मायालु हुनुहुन्छ भन्ने सत्य। तपाईँ उहाँको शासनलाई समर्थन गर्न सक्नुहुन्छ। उहाँको शासन गर्ने तरिका मात्र साँच्चै न्यायोचित छ र त्यसले सबै सृष्टिलाई शान्ति र आनन्द दिनेछ भनेर तपाईँ घोषणा गर्न सक्नुहुन्छ। (भज. ३७:९, ३७; १४६:५, ६, १०) अरूलाई बाइबल सत्य सिकाउँदा हामी धेरैजसो यहोवाको सार्वभौमिकतालाई अर्थात् ब्रह्माण्डमा शासन गर्ने अधिकार उहाँकै हो भन्ने कुरालाई जोड दिन्छौँ। हुनत मानिसहरूलाई सिकाउँदा परमेश्वरका नियमहरूबारे जोड दिनु महत्त्वपूर्ण छ तर हाम्रो मुख्य उद्देश्य भनेको तिनीहरूलाई हाम्रा बुबा यहोवालाई प्रेम गर्न र उहाँप्रति वफादार हुन मदत गर्नु हो। त्यसैले यहोवाका मनमोहक गुणहरूबारे जोड दिँदै यहोवा नामले चिनिनुहुने परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भनेर बुझाउनु अत्यावश्यक छ। (यसै. ६३:७) यसरी सिकाउँदा हामीले तिनीहरूको मनमा यहोवाप्रतिको प्रेम र उहाँप्रति वफादार हुने इच्छा जगाइरहेका हुन्छौँ, जसले गर्दा तिनीहरू उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुनेछन्। w२०.०६ पृ. ६ अनु. १६; पृ. ७ अनु. १९
सोमबार, अक्टोबर ३
मानिसको मुख कसले बनायो? . . . त्यसो गर्न सक्ने म यहोवाबाहेक अरू कोही छ र?—प्रस्थ. ४:११.
मानव मस्तिष्क अचम्मलाग्दो तरिकाले बनाइएको छ। आमाको गर्भमा छँदा तपाईँको मस्तिष्क सुव्यवस्थित तरिकामा विकास हुँदै गयो र प्रति मिनेट हजारौँ नयाँ कोषहरू बनिँदै गए! अनुसन्धानकर्ताहरूले अनुमान गरेअनुसार एक वयस्कको मस्तिष्कमा १०० अरबजति विशेष किसिमका कोषहरू हुन्छन्, जसलाई न्युरोन भनिन्छ। यी कोषहरू मिलेर हाम्रो मस्तिष्क बन्छ, जसको वजन साढे एक किलोजति हुन्छ। मस्तिष्कको एउटा अद्भुत क्षमता भनेको बोली हो। तपाईँले हरेक शब्द उच्चारण गर्दा तपाईँको मस्तिष्कले जिब्रो, घाँटी, ओठ, बङ्गारा र छातीमा भएका लगभग १०० वटा मांसपेशीसित तालमेल मिलाउनुपर्छ। ती सबै मांसपेशी सही क्रममा चलेको खण्डमा मात्र हामीले उच्चारण गरेको शब्द अरूले बुझ्न सक्छन्। सन् २०१९ मा प्रकाशित एउटा अध्ययनअनुसार नवजात शिशुले पनि आफूले सुनेको शब्दको अर्थ बुझ्न र त्यसैअनुसार प्रतिक्रिया देखाउन सक्छ। यस अध्ययनले थुप्रै अनुसन्धानकर्ताको धारणालाई समर्थन गर्छ। त्यो हो, हामीले आफूले सुनेको शब्दको अर्थ बुझ्ने र भाषा सिक्ने क्षमता जन्मजात पाएका हुन्छौँ। हाम्रो बोल्ने क्षमता परमेश्वरले दिनुभएको उपहार हो भन्ने कुरामा कुनै शङ्का छैन! w२०.०५ पृ. २२-२३ अनु. ८-९
मङ्गलबार, अक्टोबर ४
तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको रचनाकार र निर्माता परमेश्वर हुनुहुन्छ।—हिब्रू ११:१०.
अब्राहाम उर सहरको सुविधासम्पन्न जीवन त्यागेर अन्तै जान राजी भए। किन? किनभने तिनी “साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए।” (हिब्रू ११:८-१०, १६) अब्राहामले प्रतीक्षा गरेको सहर परमेश्वरको राज्य हो। यस राज्यको राजा येसु ख्रिष्ट हुनुहुन्छ। उहाँसँगै मिलेर १ लाख ४४ हजार अभिषिक्त ख्रिष्टियनले शासन गर्नेछन्। पावलले त्यस राज्यलाई “जीवित परमेश्वरको सहर, स्वर्गको यरुसलेम” भनेका छन्। (हिब्रू १२:२२; प्रका. ५:८-१०; १४:१) येसुले आफ्ना चेलाहरूलाई त्यही राज्यको लागि प्रार्थना गर्न अनि यहोवाको इच्छा स्वर्गमा जसरी पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस् भनेर बिन्ती गर्न सिकाउनुभयो। (मत्ति ६:१०) के अब्राहामलाई परमेश्वरको राज्य कस्तो हुनेछ भनेर सबै कुरा थाह थियो? थिएन। शताब्दीऔँसम्म त्यो जानकारी “पवित्र रहस्य” थियो। (एफि. १:८-१०; कल. १:२६, २७) तर आफ्ना कोही-कोही सन्तान राजा हुनेछन् भनेर चाहिँ अब्राहामलाई थाह थियो। किनभने यहोवाले नै अब्राहामलाई त्यो प्रतिज्ञा गर्नुभएको थियो।—उत्प. १७:१, २, ६. w२०.०८ पृ. २-३ अनु. २-४
बुधबार, अक्टोबर ५
[प्रभुसित] एकतामा रहिरहो अनि उहाँमै जरा गाडेर बढ्दै जाओ र विश्वासमा अटल हुँदै जाओ।—कल. २:६, ७.
हामीले धर्मत्यागी शिक्षाहरूलाई तिरस्कार गर्नुपर्छ। ख्रिष्टियन मण्डली स्थापना भएदेखि नै दियाबलले परमेश्वरका वफादार सेवकहरूको हृदयमा शङ्काको बिउ रोप्न थुप्रै छली मानिसलाई चलाउँदै आएको छ। त्यसैले सत्य के हो र झूट के हो, त्यो कसरी छुट्ट्याउने भनेर बुझ्नु आवश्यक छ। यहोवामाथिको हाम्रो भरोसालाई र हाम्रा भाइबहिनीप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउन शत्रुहरूले इन्टरनेट र सामाजिक सञ्जाल चलाउन सक्छ। त्यस्ता अफवाहहरूको पछाडि कसको हात छ भनेर कहिल्यै नबिर्सनुहोस् र त्यसलाई तिरस्कार गर्नुहोस्। (१ युह. ४:१, ६; प्रका. १२:९) सैतानका आक्रमणहरूको प्रतिरोध गर्न हामीले येसुमाथिको र परमेश्वरको उद्देश्यमा उहाँले महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ भन्ने कुरामाथिको विश्वास बलियो बनाउनुपर्छ। साथै यहोवाले आज आफ्नो सङ्गठनलाई डोऱ्याउन प्रयोग गरिरहनुभएको एक मात्र माध्यममा पनि भरोसा गर्नुपर्छ। (मत्ति २४:४५-४७) नियमित रूपमा परमेश्वरको वचन अध्ययन गरेर हामी आफ्नो भरोसा बलियो बनाउन सक्छौँ। यसो गर्दा हाम्रो विश्वास बलियोगरि जरा गाडेको रूखजस्तै हुनेछ। आजको पदमा प्रेषित पावलले पनि यस्तै कुरा बताए। w२०.०७ पृ. २३-२४ अनु. ११-१२
बिहीबार, अक्टोबर ६
मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।—१ समु. १६:७.
त्रुटिपूर्ण भएकोले अरू मानिसको बाहिरी रूपरङ्ग हेरेर न्याय गर्ने झुकाव हामी सबैसित छ। (युह. ७:२४) तर बाहिरी रूपरङ्ग हेरेर हामी सबै कुरा थाह पाउन सक्दैनौँ। उदाहरणको लागि, सिपालु र अनुभवी डाक्टरले समेत बिरामीलाई हेर्नेबित्तिकै सबै कुरा थाह पाउन सक्दैनन्। डाक्टरले बिरामीको स्वास्थ्य विवरण, तिनको भावनात्मक अवस्था वा हाल देखिएका लक्षणहरूबारे बुझ्न तिनको कुरा ध्यान दिएर सुन्नुपर्छ। डाक्टरले बिरामीको शरीरभित्रको अवस्था बुझ्न एक्सरे गर्नसमेत भन्न सक्छन्। अन्यथा उनले बिरामीको गलत उपचार गर्ने सम्भावना हुन्छ। त्यसरी नै, हामीले भाइबहिनीको बाहिरी रूपरङ्ग हेर्नेबित्तिकै तिनीहरूको सबै कुरा बुझ्न सक्दैनौँ। हामीले भित्री रूप अर्थात् तिनी वास्तवमा कस्तो व्यक्ति हुन् भनेर चिन्ने प्रयास गर्नुपर्छ। हो, हामी मानिसको हृदय पढ्न सक्दैनौँ। तैपनि हामी यहोवाको अनुकरण गर्न सक्दो प्रयास गर्न सक्छौँ। उहाँ आफ्ना सेवकहरूको कुरा सुन्नुहुन्छ। उहाँ तिनीहरूको पृष्ठभूमि र अवस्था बुझ्नुहुन्छ। अनि उहाँ तिनीहरूलाई दया देखाउनुहुन्छ। w२०.०४ पृ. १४-१५ अनु. १-३
शुक्रबार, अक्टोबर ७
तिमीहरूले सुझबुझ चलाउन सक।—रोमी १२:३.
हामीले नम्र हुन सिक्नु आवश्यक छ किनकि घमन्डी मानिसले “सुझबुझ” चलाउन सक्दैन। घमन्डी मानिस झगडालु र ईर्ष्यालु हुन्छ। उसको सोचाइ र व्यवहारले गर्दा अक्सर आफैलाई र अरूलाई पनि चोट पुग्न सक्छ। घमन्डी मानिसले आफ्नो सोच्ने तरिका परिवर्तन गरेन भने सैतानको बहकाउमा परेर उसको दिमाग अन्धो र भ्रष्ट हुनेछ। (२ कोरि. ४:४; ११:३) नम्र मानिसले सुझबुझ चलाउँछ। ऊ आफूप्रति सन्तुलित दृष्टिकोण राख्छ र आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्दैन; उसले अरू मानिस आफूभन्दा थुप्रै तरिकामा श्रेष्ठ छन् भन्ने कुरा मानिलिन्छ। (फिलि. २:३) “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ” भन्ने कुरा पनि उसले बुझेको हुन्छ। (१ पत्रु. ५:५) त्यसैले सुझबुझ चलाउने मानिस कहिल्यै पनि परमेश्वरको विरुद्धमा उठ्न चाहँदैन। नम्र भइरहन हामीले बाइबलको यो सल्लाह लागू गर्नै पर्छ: “पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ अनि . . . नयाँ व्यक्तित्व धारण गर।” यसो गर्न धेरै प्रयास चाहिन्छ। हामीले येसुले बसाल्नुभएको उदाहरणबारे अध्ययन गर्नुपर्छ र सकेसम्म राम्ररी उहाँको अनुकरण गर्नुपर्छ।—कल. ३:९, १०; १ पत्रु. २:२१. w२०.०७ पृ. ७ अनु. १६-१७
शनिबार, अक्टोबर ८
शरीर एउटै छ तर यसका अङ्गहरू धेरै छन्।—१ कोरि. १२:१२.
यहोवाको मण्डलीको भाग हुन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! हामी शान्तिप्रिय र आनन्दित मानिसहरूले भरिएको आध्यात्मिक प्रमोदवनमा बसिरहेका छौँ। यहोवाको मण्डलीमा तपाईँको स्थान के हो? प्रेषित पावलले मण्डलीलाई मानव शरीरसित तुलना गरे। तिनले मण्डलीका भाइबहिनीलाई चाहिँ शरीरका अङ्गहरूसित तुलना गरे। (रोमी १२:४-८; १ कोरि. १२:१२-२७; एफि. ४:१६) पावलले चलाएको उदाहरणबाट हामीले सिक्न सक्ने एउटा पाठ भनेको यहोवाको परिवारमा हामी प्रत्येकको महत्त्वपूर्ण स्थान छ। पावल आफ्नो उदाहरण यसरी सुरु गर्छन्: “जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग छन् तर सबै अङ्गको काम एउटै हुँदैन, त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्गहरू हौँ।” (रोमी १२:४, ५) पावलले के भन्न खोज्दै थिए? मण्डलीमा सबैको भूमिका फरक-फरक छ तर हामी प्रत्येक नै बहुमूल्य छौँ। w२०.०८ पृ. २० अनु. १-२; पृ. २१ अनु. ४
आइतबार, अक्टोबर ९
यहोवा परमेश्वरले सोध्नुभयो: “तिमी कसरी झुक्क्याउँछौ?”—१ राजा २२:२१.
आमाबुबा हो, तपाईँ कसरी यहोवाको नम्रताको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ? मिल्छ भने कुनै काम कसरी गर्ने भनेर छोराछोरीको राय लिनुहोस्। अनि उपयुक्त छ भने उनीहरूको सुझावअनुसारै गर्नुहोस्। यहोवाले धीरजी हुने सन्दर्भमा पनि राम्रो उदाहरण बसाल्नुभएको छ। कोही सेवकले उहाँको निर्णयमा प्रश्न उठाउँदासमेत उहाँ धीरज देखाउनुहुन्छ। जस्तै: अब्राहामले सदोम र गमोरालाई नाश गर्ने यहोवाको निर्णयबारे आफूलाई लागेको कुरा बताउँदा उहाँले तिनको कुरा सुन्नुभयो। (उत्प. १८:२२-३३) यहोवाले अब्राहामकी पत्नी सारासित कस्तो व्यवहार गर्नुभयो, त्यो पनि सम्झनुहोस्। यहोवाले वृद्ध भइसकेकी सारा गर्भवती हुनेछिन् भनेर प्रतिज्ञा गर्नुहुँदा सारा हाँसिन् तर त्यो देख्दा यहोवाले आफ्नो अपमान भएको ठान्नुभएन वा रिसाउनुभएन। (उत्प. १८:१०-१४) बरु उहाँले सारासित आदरपूर्वक व्यवहार गर्नुभयो। आमाबुबा तथा एल्डरहरू हो, तपाईँ यहोवाको उदाहरणबाट के सिक्न सक्नुहुन्छ? तपाईँको अधीनमा भएको कसैले तपाईँको निर्णयमा प्रश्न उठाउँदा के गर्नुहुन्छ? तपाईँ तुरुन्तै आफ्नो सफाइ दिन खोज्नुहुन्छ कि तिनको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहुन्छ? अख्तियार पाएकाहरूले यहोवाको अनुकरण गर्दा परिवार र मण्डली दुवैले लाभ उठाउन सक्छन्। w२०.०८ पृ. १० अनु. ७-९
सोमबार, अक्टोबर १०
कमजोर हुँदा तिमीले मेरो पूरा शक्ति पाउँछौ।—२ कोरि. १२:९.
सुरुमा यहोवाका जनहरूसित सङ्गत गर्न थाल्दा अरूबाट मदत स्विकार्न हामी उत्सुक थियौँ होला किनभने त्यतिबेला आफू आध्यात्मिक तवरमा शिशुजस्तै भएकोले धेरै कुरा सिक्न बाँकी छ भन्ने महसुस गर्थ्यौँ। (१ कोरि. ३:१, २) तर अहिले नि? हामीले यहोवाको सेवा गरिरहेको धेरै वर्ष भइसक्यो र निकै अनुभव बटुलिसकेका छौँ भने हामी अरूको मदत स्विकार्न त्यति इच्छुक नहुन सक्छौँ, अझ विशेषगरि सत्यमा आफूभन्दा नयाँ व्यक्तिको। तर यहोवा हामीलाई बलियो बनाउन अक्सर हाम्रा भाइबहिनीलाई नै चलाउनुहुन्छ। (रोमी १:११, १२) यहोवाले दिनुहुने बल पाउने हो भने हामीले भाइबहिनीको मदत स्विकार्नु जरुरी छ भनेर मानिलिनै पर्छ। सफलता भनेको आफ्नो शारीरिक बल, शिक्षा, धनसम्पत्ति वा सामाजिक पृष्ठभूमिमा नभई नम्र हुँदा र यहोवामा भर पर्दा प्राप्त हुन्छ। हामी सबै (१) यहोवामा भर परौँ, (२) बाइबलका उदाहरणहरूबाट सिकौँ अनि (३) सङ्गी उपासकहरूको मदत स्विकारौँ। यसो गऱ्यौँ भने हामीले जतिसुकै कमजोर महसुस गरे तापनि यहोवाले हामीलाई बलियो पार्नुहुनेछ! w२०.०७ पृ. १४ अनु. २; पृ. १९ अनु. १८-१९
मङ्गलबार, अक्टोबर ११
तिमीहरू हरेकले यस्तै मेहनत गरिरहो . . . अनि तिमीहरू अल्छे होइन बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो विश्वास अनि धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्।—हिब्रू ६:११, १२.
हामीलाई धैर्य गर्न गाह्रो हुने एउटा क्षेत्र भनेको बेग्लै धर्म मान्ने परिवारका सदस्यहरूलाई साक्षी दिँदा हो। उपदेशक ३:७ मा पाइने सिद्धान्तले हामीलाई मदत गर्न सक्छ। त्यहाँ यस्तो लेखिएको छ: “चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” त्यसैले हामी आफ्नो असल आचरणद्वारा तिनीहरूलाई विनावचन साक्षी दिन सक्छौँ। तर हामीले तिनीहरूलाई सत्यबारे बताउने मौका भने खोजिरहनुपर्छ। (१ पत्रु. ३:१, २) जोसका साथ प्रचार गर्दा र सिकाउँदा हामी सबैप्रति धीरजी हुनुपर्छ र त्यसमा परिवारका सदस्यहरू पनि पर्छन्। बाइबलकालीन समयका र आधुनिक समयका परमेश्वरका वफादार सेवकहरूबाट हामी धैर्य गर्ने सन्दर्भमा पाठ सिक्न सक्छौँ। हबकुक दुष्टता अन्त भएको हेर्न चाहन्थे तर तिनले आफ्नो सङ्कल्पबारे यसो भने: “म आफ्नो चौकीमा उभिरहनेछु।” (हब. २:१) प्रेषित पावलले सेवाको काम “पूरा” गर्ने आफ्नो इच्छाबारे बताए। तर तिनले धैर्य गर्दै “सुसमाचारको विस्तृत साक्षी” पनि दिइरहे।—प्रेषि. २०:२४. w२०.०९ पृ. ११-१२ अनु. १२-१४
बुधबार, अक्टोबर १२
[येसुले] अख्तियार हडप्ने अर्थात् परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।—फिलि. २:६.
येसु ब्रह्माण्डमा यहोवा परमेश्वरपछिको दोस्रो ठूलो व्यक्ति हुनु भए तापनि उहाँले आफूलाई जति ठान्नुपर्ने हो, त्योभन्दा बढ्ता ठान्नुभएन। येसुजस्तै हामी पनि नम्र छौँ भने अरूलाई अझ धेरै प्रेम देखाउनेछौँ अनि उहाँले परमेश्वरका साँचो उपासकहरूको चिनारी प्रेम हो भन्नुभएको थियो। (लुका ९:४८; युह. १३:३५) मण्डलीमा समस्याहरू भइरहेको जस्तो देखियो तर एल्डरहरूले ती सुल्झाउन प्रयास गरेका छैनन् जस्तो तपाईँलाई लाग्यो भने के गर्नुपर्छ? गनगन गर्नुको साटो अगुवाइ लिइरहेका दाजुभाइलाई साथ दिएर हामी नम्रता देखाउन सक्छौँ। (हिब्रू १३:१७) त्यसो गर्न आफैलाई यी प्रश्नहरू सोध्नुहोस्: ‘मैले देखिरहेका समस्याहरू सुल्झाउनै पर्ने हदसम्मको ठूलो हो र? के अहिले यी समस्याहरू सुल्झाउने सही समय हो? के यी समस्याहरू सुल्झाउने जिम्मेवारी मेरो हो? इमानदार भएर भन्नुपर्दा, मैले मण्डलीको एकतामा योगदान पुऱ्याइरहेको छु कि अरूको नजरमा ठूलो बन्न खोजिरहेको छु?’ यहोवा हाम्रो क्षमता होइन, नम्रता हेर्नुहुन्छ अनि उहाँ हाम्रो दक्षताको होइन, हामीमाझ भएको एकताको मोल गर्नुहुन्छ। त्यसैले नम्र हुँदै यहोवाको सेवा गर्न सक्दो कोसिस गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँले मण्डलीको एकतामा योगदान पुऱ्याइरहनुभएको हुनेछ।—एफि. ४:२, ३. w२०.०७ पृ. ४-५ अनु. ९-११
बिहीबार, अक्टोबर १३
येसुले तिनीहरूलाई भन्नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ।”—मत्ति २८:१०.
केही ईश्वरभक्त स्त्रीहरूले “आफ्नो सम्पत्ति खर्चेर” येसुको सेवा गर्दा उहाँले त्यस्तो मदतको कदर गर्नुभयो। (लुका ८:१-३) उहाँले तिनीहरूलाई गहिरा आध्यात्मिक सत्यहरू प्रकट गर्नुभयो। उदाहरणको लागि, उहाँले तिनीहरूलाई आफ्नो मृत्यु हुने र फेरि जीवित पारिने कुरा बताउनुभयो। (लुका २४:५-८) उहाँले आफ्ना प्रेषितहरूलाई जस्तै ती स्त्रीहरूलाई पनि पछि भोग्नुपर्ने परीक्षाहरूको लागि तयार पार्नुभयो। (मर्कु. ९:३०-३२; १०:३२-३४) यो कुरा पनि याद गर्नुहोस्, येसु पक्राउ पर्नुहुँदा प्रेषितहरू उहाँलाई छोडेर भागे तर उहाँको सेवा गर्ने केही स्त्रीहरू भने उहाँलाई यातनाको खम्बामा झुन्ड्याइएको बेला त्यहीँ थिए। (मत्ति २६:५६; मर्कु. १५:४०, ४१) उहाँ मृत्युबाट ब्युँतनुभएको कुरा सबैभन्दा पहिला थाह पाउने ईश्वरभक्त स्त्रीहरू नै थिए। येसुले ती स्त्रीहरूलाई प्रेषितहरूकहाँ गएर उहाँ मृत्युबाट जीवित हुनुभएको खबर दिन पनि लगाउनुभयो। (मत्ति २८:५, ९, १०) साथै इस्वी संवत् ३३ पेन्तिकोसको दिनमा चेलाहरूमाथि पवित्र शक्ति खन्याइँदा त्यहाँ स्त्रीहरू पनि उपस्थित भएका हुन सक्छन् र त्यहाँ भएका सबैले विभिन्न भाषामा बोल्ने क्षमता पाएर अरूलाई “परमेश्वरको विषयमा अद्भुत कुराहरू” बताए।—प्रेषि. १:१४; २:२-४, ११. w२०.०९ पृ. २३ अनु. ११-१२
शुक्रबार, अक्टोबर १४
आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।—१ तिमो. ४:१६.
चेला बनाउने काम जीवन बचाउने काम हो! हामी किन त्यसो भन्न सक्छौँ? मत्ति २८:१९, २० मा येसुले यस्तो आज्ञा दिनुभयो: “जाओ . . . चेला बनाओ . . . बप्तिस्मा गराओ।” बप्तिस्माको महत्त्वबारे हामीलाई कुन कुरा थाह छ? उद्धार पाउन चाहन्छौँ भने बप्तिस्मा गर्नै पर्छ। येसुले आफ्नो जीवन बलिदानस्वरूप दिनुभएकोले र उहाँ फेरि जीवित हुनुभएकोले मात्र हाम्रो उद्धार सम्भव भएको हो भन्ने कुरामा बप्तिस्मा गर्न लागेकाहरूले विश्वास गर्नुपर्छ। त्यसैले प्रेषित पत्रुसले सङ्गी ख्रिष्टियनहरूलाई यसो भने: “बप्तिस्मा[ले] येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराद्वारा अहिले तिमीहरूलाई बचाउँदै छ।” (१ पत्रु. ३:२१) त्यसैले कुनै नयाँ चेलाले बप्तिस्मा गर्दा तिनले उद्धार पाउने आशा राख्न सक्छन्। चेला बनाउन हामीले आफ्नो “शिक्षणकला” तिखार्दै लैजानुपर्छ। (२ तिमो. ४:१, २) किन? किनकि येसुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ: “जाओ . . . चेला बनाओ . . . सिकाओ।” यस काममा ‘लागिरहन’ प्रेषित पावलले सल्लाह दिए। किनकि ‘यसो गऱ्यौँ भने हामीले आफ्नो र हाम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौँ।’ w२०.१० पृ. १४ अनु. १-२
शनिबार, अक्टोबर १५
अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।—लुका ५:१०.
पत्रुसले मानिसहरूको जलारी बन्ने कामलाई पनि माया गर्न सिके। अनि यहोवाको साथ पाएर पत्रुस त्यो काममा सिपालु भए। (प्रेषि. २:१४, ४१) हामी प्रचार गर्छौँ किनभने हामी यहोवालाई प्रेम गर्छौँ। हामी यो काम गर्न इच्छुक हुनुको मुख्य कारण यही हो। यहोवाप्रतिको प्रेमले हामीलाई आफू अयोग्य छु भन्ने भावना हटाउन मदत गर्न सक्छ। येसुले पत्रुसलाई मानिसहरूको जलारी बन्न निम्तो दिँदा उहाँले यसो भन्नुभयो: “डराउन छोड।” (लुका ५:८-११) आफू चेला बन्यो भने के हुने होला भनेर पत्रुस डराएका थिएनन्। बरु येसुको मदत पाएर भर्खरै धेरै माछा समात्न सकेकोले तिनी चकित भएका थिए। त्यसैले येसुसँगै काम गर्न पत्रुसले आफू अयोग्य भएको महसुस गरे। अर्कोतर्फ, ख्रिष्टको चेला बन्नुमा के-के समावेश छ भनेर बुझेपछि तपाईँ अतालिनुहोला। त्यसो हो भने यहोवा, येसु र छिमेकीप्रतिको प्रेम बढाउनुहोस्। यसो गर्दा येसुको निम्तो स्विकारेर मानिसहरूको जलारी बन्ने तपाईँको इच्छुकता बढ्नेछ।—मत्ति २२:३७, ३९; युह. १४:१५. w२०.०९ पृ. ३ अनु. ४-५
आइतबार, अक्टोबर १६
त्यसैले जाओ र . . . चेला बनाओ; . . . सिकाओ।—मत्ति २८:१९, २०.
“अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूलाई खोज्न हामी राजीखुसीले आफ्नो समय, शक्ति र स्रोतसाधन दिन तयार छौँ। (प्रेषि. १३:४८) यो हाम्रो मनैदेखिको इच्छा हो। यसो गर्दा हामीले येसुको अनुकरण गरिरहेका हुन्छौँ। उहाँले भन्नुभयो: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (युह. ४:३४; १७:४) हामी पनि आफूलाई सुम्पिइएको काम पूरा गर्न चाहन्छौँ। (युह. २०:२१) निष्क्रिय भएकाहरूलगायत अरूले हामीसँगै मिलेर यस काममा अन्तसम्मै भाग लिएको हामी चाहन्छौँ। (मत्ति २४:१३) येसुले दिनुभएको यो महत्त्वपूर्ण आज्ञा पूरा गर्न पक्कै सजिलो छैन। तर यो काम हामी एक्लैले गरिरहेका छैनौँ। येसुले उहाँ सधैँभरि हामीसित रहने प्रतिज्ञा गर्नुभएको थियो। हामी “परमेश्वरका सहकर्मीहरू”-को रूपमा र “ख्रिष्टको साथमा” रहेर चेला बनाउने जिम्मेवारी पूरा गर्छौँ। (१ कोरि. ३:९; २ कोरि. २:१७) त्यसैले हामी यो काम अवश्य पूरा गर्न सक्छौँ। यो जिम्मेवारी पूरा गर्नु र अरूलाई पनि त्यसै गर्न मदत दिनु साँच्चै ठूलो सुअवसर हो र यसो गर्दा हामी सन्तुष्टि पाउँछौँ।—फिलि. ४:१३. w२०.११ पृ. ७ अनु. १९-२०
सोमबार, अक्टोबर १७
येसु झन्झन् बुद्धिमान् हुँदै अनि हुर्कँदै जानुभयो र उहाँले परमेश्वर अनि मानिसहरूको अनुग्रह पनि झन्झन् पाउँदै जानुभयो।—लुका २:५२.
आमाबुबाले गर्ने छनौटहरूले अक्सर छोराछोरीलाई पछिसम्म असर गर्छ। आमाबुबाले गलत छनौटहरू गरे भने छोराछोरीले समस्या भोग्नुपर्ने हुन सक्छ। तर बुद्धिमानी छनौटहरू गरे भने तिनीहरूले छोराछोरीलाई आनन्दित र सन्तोषजनक जीवन बिताउने मौका दिइरहेका हुन्छन्। अर्कोतर्फ, छोराछोरीले पनि राम्रा निर्णयहरू गर्नुपर्छ। हामीले गर्न सक्ने सबैभन्दा उत्कृष्ट निर्णय भनेको स्वर्गमा बस्नुहुने हाम्रा मायालु बुबा यहोवाको सेवा गर्नु हो। (भज. ७३:२८) येसुका आमाबुबा आफ्ना छोराछोरीलाई यहोवाको सेवा गर्न मदत दिन चाहन्थे। अनि यो नै उनीहरूको जीवनको मुख्य लक्ष्य थियो भनेर उनीहरूका छनौटहरूबाट देखियो। (लुका २:४०, ४१, ५२) त्यसैगरि येसुले पनि राम्रा छनौटहरू गर्नुभयो, जसले उहाँलाई यहोवाको उद्देश्यमा आफ्नो भूमिका पूरा गर्न मदत गऱ्यो। (मत्ति ४:१-१०) ठूलो भएपछि येसु दयालु, वफादार र साहसी पुरुष बन्नुभयो। परमेश्वरको डर मान्ने आमाबुबाको लागि आफ्ना छोराछोरी पनि येसुजस्तै असल भएको हेर्न पाउनु साँच्चै गर्व र आनन्दको कुरा हुनेछ। w२०.१० पृ. २६ अनु. १-२
मङ्गलबार, अक्टोबर १८
तिम्रो आँखाले सीधा अगाडि हेरोस्।—हितो. ४:२५.
यी तीन दृश्य कल्पना गर्नुहोस्। एउटी वृद्ध ख्रिष्टियन बहिनी आफूले विगतमा बिताएका रमाइला क्षणहरू सम्झन्छिन्। अहिले उनको जीवन कष्टकर भए पनि उनी यहोवाको सेवामा सक्दो गरिरहेकी छिन्। (१ कोरि. १५:५८) उनी हरेक दिन आफूले माया गर्ने व्यक्तिहरूसँगै प्रतिज्ञा गरिएको नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्छिन्। अर्की बहिनी भने सङ्गी ख्रिष्टियनले गर्दा आफ्नो चित्त दुखेको कुरा सम्झन्छिन्। तर तिनी मनमा द्वेष पालेर नराख्ने निर्णय गर्छिन्। (कल. ३:१३) एक भाइले विगतमा गरेका गल्तीहरू बिर्सेका छैनन्। तर तिनी अबउसो कसरी वफादार भइरहने भन्ने कुरामा ध्यान दिन्छन्। (भज. ५१:१०) यी तीन ख्रिष्टियनबीच कस्तो समानता छ? तीनै जनाले विगतका कुराहरू सम्झन्छन् तर तिनीहरू विगतमा जिउँदैनन्। बरु तिनीहरू “सीधा अगाडि” भविष्यतर्फ हेर्छन्। यसो गर्नु किन महत्त्वपूर्ण छ? कुनै व्यक्तिले घरीघरी पछाडि फर्केर हेर्छ भने ऊ सीधा अगाडि हिँड्न सक्दैन। त्यसरी नै हामी पनि घरीघरी विगतका कुराहरूलाई फर्केर हेर्छौँ भने यहोवाको सेवामा अगाडि बढ्न सक्दैनौँ।—लुका ९:६२. w२०.११ पृ. २४ अनु. १-३
बुधबार, अक्टोबर १९
त्यसले दाउदलाई हेपेर खिल्ली उडाउन थाल्यो।—१ समु. १७:४२.
शक्तिशाली योद्धा गोल्यतले दाउदलाई कमजोर ठानेका थिए। दाउदको तुलनामा गोल्यत अजङ्गको, हातहतियारले सुसज्जित अनि निपुण योद्धा थिए। तर दाउद भने साधारण ठिटो थिए, जो युद्धको लागि तयार भएजस्तो पटक्कै देखिँदैनथे। दाउद शक्तिको लागि यहोवामा भर परे र शत्रुलाई हराए। (१ समु. १७:४१-४५, ५०) दाउदले अर्को समस्या पनि सामना गर्नुपरेको थियो, जसले गर्दा तिनले कमजोर र निस्सहाय महसुस गर्न सक्थे। यहोवाले नियुक्त गर्नुभएको इस्राएलका राजा साउलको दाउदले वफादार भई सेवा गरेका थिए। सुरुमा राजा साउलले दाउदको आदर गर्थे। तर पछि साउल घमन्डी भए र दाउदको डाह गर्न थाले। साउलले दाउदलाई असाध्यै नराम्रो व्यवहार गरे, यहाँसम्म कि तिनलाई मार्नसमेत खोजे। (१ समु. १८:६-९, २९; १९:९-११) राजा साउलले असाध्यै नराम्रो व्यवहार गरे तापनि दाउदले यहोवाले नियुक्त गर्नुभएका राजाप्रति आदर देखाइरहे। (१ समु. २४:६) यो कठिन परीक्षाको सामना गर्न चाहिने बलको लागि दाउद यहोवामाथि भर परे।—भज. १८:१, परिचय। w२०.०७ पृ. १७ अनु. ११-१३
बिहीबार, अक्टोबर २०
अन्तको समयमा दक्षिणका राजा तिनीसित [अर्थात् उत्तरका राजासित] भिड्नेछन्।—दानि. ११:४०.
उत्तरका राजा र दक्षिणका राजाबारे बताइएको भविष्यवाणीको प्रायजसो भाग पूरा भइसकेको छ। त्यसैले बाँकी भाग पनि पूरा हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। दानिएल अध्याय ११ मा रेकर्ड गरिएको भविष्यवाणी बुझ्न हामीले कुन कुरा याद गर्नुपर्छ भने, त्यसमा परमेश्वरका जनहरूलाई प्रत्यक्ष असर गर्ने शासक र सरकारहरूको चिनारी मात्र प्रकट गरिएको छ। हुनत विश्व जनसङ्ख्याको तुलनामा यहोवाका सेवकहरू थोरै मात्र छन्। तैपनि ती सरकारहरूले किन परमेश्वरका जनहरूलाई आफ्नो आक्रमणको तारो बनाएका छन्? किनभने सैतान र त्यसको पूरै संसारको एक मात्र लक्ष्य भनेको यहोवा र येसुको सेवा गर्नेहरूलाई नामेट पार्नु हो। (उत्प. ३:१५; प्रका. ११:७; १२:१७) साथै दानिएलले लेखेका भविष्यवाणीहरू परमेश्वरको वचनमा पाइने अरू भविष्यवाणीसित पनि मेल खानुपर्छ। वास्तवमा दानिएलको भविष्यवाणीलाई बाइबलका अरू विवरणसित दाँजेर हेऱ्यौँ भने मात्र त्यसबारे सही बुझाइ पाउन सक्छौँ। w२०.०५ पृ. २ अनु. १-२
शुक्रबार, अक्टोबर २१
मरेकाहरू कसरी ब्युँताइनेछन्? तिनीहरू कस्तो किसिमको शरीर लिएर आउनेछन्?—१ कोरि. १५:३५.
मृत्युपछि के हुन्छ भन्नेबारे आज मानिसहरूको आ-आफ्नै धारणा छ। तर बाइबलले चाहिँ के भन्छ? मानिस मरेपछि उसको शरीर कुहिन्छ। तर शून्यबाट विशाल ब्रह्माण्ड सृष्टि गर्नुहुने परमेश्वरले मरेको मानिसलाई फेरि जीवित पार्न र उसलाई उपयुक्त शरीर दिन सक्नुहुन्छ। (उत्प. १:१; २:७) परमेश्वरले कसैलाई फेरि जीवित पार्नुहुँदा उसलाई पहिलाकै शरीर दिनु आवश्यक छैन भनेर बुझाउन प्रेषित पावलले एउटा उदाहरण चलाए। कुनै अन्नको “गेडा” वा “बिउ”-लाई लिनुहोस्। जमिनमा बिउ छरेपछि त्यो अङ्कुराउँछ र बोट बन्छ। हुर्किसकेको बोट सुरुमा छरेको बिउभन्दा फरक हुन्छ। पावलले यस्तो उदाहरण चलाएर हाम्रो सृष्टिकर्ताले मानिसलाई “[उहाँको] इच्छाअनुसारको शरीर” दिन सक्नुहुन्छ भनेर बुझाउन खोज्दै थिए। पावलले “स्वर्गीय शरीर र पार्थिव शरीर पनि छन्” भनेर पनि लेखे। हुन पनि पृथ्वीमा रगत र मासुको शरीर भएका जीवहरू छन् भने स्वर्गमा चाहिँ अदृश्य शरीर भएका, जस्तै स्वर्गदूतहरू।—१ कोरि. १५:३६-४१. w२०.१२ पृ. १० अनु. ७-९
शनिबार, अक्टोबर २२
दिनदिनै मनमा बोझ लिएर कतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?—भज. १३:२.
हामी सबै सुखशान्तिको जीवन बिताउन चाहन्छौँ। हामी कसैलाई पनि चिन्तित भएर बस्न मन पर्दैन। तर कहिलेकाहीँ हामीलाई चिन्ताले सताउन सक्छ र यहोवालाई राजा दाउदले आजको पदमा सोधेको जस्तो प्रश्न सोध्न सक्छौँ। हामीलाई चिन्तित बनाउने केही कुराहरू हाम्रो वशमा हुँदैन। उदाहरणको लागि, प्रत्येक वर्ष खानेकुरा, घरभाडा, लत्ताकपडाजस्ता कुराहरूमा बढिरहेको महँगीलाई हामी रोक्न सक्दैनौँ। हामीलाई बेइमानी गर्न वा अवैध यौनसम्बन्ध राख्न दबाब दिन सक्ने हाम्रा सहकर्मीहरू वा स्कुलका साथीहरूको मनोवृत्तिलाई पनि हामी नियन्त्रण गर्न सक्दैनौँ। न त हामी हाम्रो टोलछिमेकमा हुने अपराधका घटनाहरूलाई रोक्न नै सक्छौँ। अहिले हामीले यस्ता कठिन परिस्थितिहरूको सामना गर्नुपर्छ किनकि हामी बाँचिरहेको संसारका प्रायजसो मानिसहरू बाइबल सिद्धान्तअनुसार चल्दैनन्। साथै “यस संसारमा आइपर्ने फिक्री”-ले केही मानिसलाई यहोवाको सेवा गर्नदेखि बाधा पुऱ्याउनेछ भनेर यस संसारको ईश्वर सैतानलाई थाह छ। (मत्ति १३:२२; १ युह. ५:१९) त्यसैले यो संसार हामीलाई चिन्तित बनाउने समस्याहरूले भरिनु छक्कलाग्दो कुरा होइन! w२१.०१ पृ. २ अनु. १, ३
आइतबार, अक्टोबर २३
हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।—१ युह. ३:१५.
प्रेषित युहन्नाले दाजुभाइ दिदीबहिनीलाई घृणा नगर्न सल्लाह दिए। यो सल्लाह पालन गरेनौँ भने सैतानले हामीलाई सजिलै त्यसको इसारामा नचाउन सक्छ। (१ युह. २:११) प्रथम शताब्दीको अन्ततिर यस्तै भएको थियो। परमेश्वरका जनहरूमाझ घृणा र फुट ल्याउन सैतान लागिपरेको थियो। युहन्नाले आफ्ना पत्रहरू लेखुन्जेल मण्डलीमा सैतानको जस्तै मनोभाव भएका मानिसहरू घुसिसकेका थिए। उदाहरणको लागि, डियोत्रिफसले मण्डलीमा दाजुभाइ दिदीबहिनीमाझ फुट पैदा गरिरहेको थियो। (३ युह. ९, १०) उसले त्यतिबेलाको परिचालक निकायका प्रतिनिधिहरूलाई आदर देखाएन। आफूलाई मन नपर्ने मानिसहरूलाई स्वागत-सत्कार गर्न खोज्नेहरूलाई उसले मण्डलीबाट निकाल्न समेत खोज्यो। कस्तो घमन्डी! सैतान अहिले पनि परमेश्वरका जनहरूमाझ फुट गराउन लागिपरेको छ। घृणाको कारण मण्डलीमा कहिल्यै फुट हुन नदेऔँ। w२१.०१ पृ. ११ अनु. १४
सोमबार, अक्टोबर २४
तिनीहरूले साक्षी दिने काम सिध्याएपछि . . . जङ्गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।—प्रका. ११:७.
प्रथम विश्वयुद्धमा जर्मन सरकार र बेलायती सरकार दुवैले परमेश्वरका सेवकहरूको खेदो गरे किनभने तिनीहरूले हातहतियार उठाउन इन्कार गरे। अनि प्रकाश ११:७-१० मा गरिएको भविष्यवाणीको पूर्तिस्वरूप अमेरिकी सरकारले प्रचारकार्यमा नेतृत्व लिइरहेकाहरूलाई झ्यालखानामा हालिदियो। इस्वी संवत् १९३० पछि र खासगरि दोस्रो विश्वयुद्धको बेला उत्तरका राजाले परमेश्वरका जनहरूमाथि निर्ममतापूर्वक आक्रमण गरे। हिटलर र तिनका समर्थकहरूले परमेश्वरका जनहरूको काममाथि प्रतिबन्ध लगाए। ती विरोधीहरूले यहोवाका सयौँ सेवकहरूलाई मारे अनि हजारौँलाई यातना शिविरहरूमा पठाए। जनसमक्ष यहोवाको नामको प्रशंसा गर्ने परमेश्वरका जनहरूको स्वतन्त्रतामा प्रतिबन्ध लगाएर उत्तरका राजाले ‘पवित्र स्थानलाई अपवित्र पारे’ अनि ‘नियमित रूपमा चढाइने बलिलाई हटाए।’ (दानि. ११:३०ख, ३१क) तिनीहरूका नेता हिटलरले परमेश्वरका जनहरूलाई जर्मनीबाट नामेट पार्ने कसमसमेत खाएका थिए। w२०.०५ पृ. ५-६ अनु. १२-१३
मङ्गलबार, अक्टोबर २५
एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।—रोमी १२:१०.
एकअर्कालाई कोमल स्नेह देखाउँदा हामीले मण्डलीलाई प्रतिस्पर्धी मनोभावबाट जोगाइरहेका हुन्छौँ। याद गर्नुहोस्, जोनाथनले राजपदको लागि दाउदलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दै तिनीसित प्रतिस्पर्धा गर्न खोजेनन्। (१ समु. २०:४२) हामी सबैले जोनाथनको उदाहरण अनुकरण गर्न सक्छौँ। दाजुभाइ दिदीबहिनीको योग्यताहरूले गर्दा तिनीहरूलाई आफ्नो प्रतिद्वन्द्वी नठान्नुहोस्। बरु नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुहोस्। (फिलि. २:३) हामी प्रत्येकले मण्डलीमा कुनै न कुनै तरिकामा योगदान पुऱ्याउन सक्छौँ भनेर नबिर्सनुहोस्। नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान्दा हामीले दाजुभाइ दिदीबहिनीका असल गुणहरू देख्नेछौँ र तिनीहरूको वफादारीको उदाहरणबाट लाभ उठाउनेछौँ। (१ कोरि. १२:२१-२५) एकअर्कालाई कोमल स्नेह देखाउँदा परमेश्वरका जनहरूबीचको एकता बलियो हुन्छ। अनि हामी येसुका चेलाहरू हौँ भनेर प्रमाणित हुन्छ र यसले इमानदार हृदय भएका मानिसहरूलाई साँचो उपासनातर्फ आकर्षित गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्वर” यहोवाको महिमा गरिरहेका हुन्छौँ।—२ कोरि. १:३. w२१.०१ पृ. २४ अनु. १४; पृ. २५ अनु. १६
बुधबार, अक्टोबर २६
तिमीहरू यस संसारका होइनौ; . . . संसारले तिमीहरूलाई घृणा गर्छ।—युह. १५:१९.
वर्तमान समयमा पनि संसारका मानिसहरूले कहिलेकाहीँ हामी यहोवाका जनहरूलाई मूर्ख र कमजोर ठान्छन् र हाम्रो गिल्ला गर्छन्। किन? किनभने हामी तिनीहरूको जस्तो मनोवृत्ति राख्दैनौँ। हामी नम्र, कोमल स्वभावका र आज्ञाकारी हुन प्रयास गर्छौँ। अर्कोतर्फ, संसारका मानिसहरू भने घमन्डी, अहङ्कारी र विद्रोहीहरूको तारिफ गर्छन्। हामी राजनीतिमा भाग लिँदैनौँ अनि कुनै पनि देशको सेनामा भर्ती हुँदैनौँ। हामी संसारको चालढालअनुसार चल्दैनौँ। त्यसैले मानिसहरू हामीलाई तुच्छ ठान्छन्। (रोमी १२:२) संसारले हामीबारे जस्तोसुकै दृष्टिकोण राखे तापनि यहोवाले हामीलाई चलाएर ठूलठूला कामहरू गरिरहनुभएको छ। उहाँले हामीलाई चलाएर मानव इतिहासकै सबैभन्दा व्यापक प्रचारकार्य गरिरहनुभएको छ। अहिले उहाँका सेवकहरूले संसारमा सबैभन्दा धेरै अनुवाद र वितरण हुने पत्रिकाहरू प्रकाशित गरिरहेका छन्। अनि तिनीहरूले बाइबल प्रयोग गरेर लाखौँ मानिसको जीवन उकास्न मदत गरिरहेका छन्। यी सबैको श्रेय यहोवा परमेश्वरलाई जान्छ। w२०.०७ पृ. १५ अनु. ५-६
बिहीबार, अक्टोबर २७
बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु।—युह. १४:३१.
येसु यहोवाको अधीनमा बस्नुहुन्छ। तर त्यसको मतलब उहाँसित बुद्धि अनि क्षमताको कमी छ भन्ने त होइन। येसुजस्तो बुद्धिमान् व्यक्तिले मात्र सरल र स्पष्टसँग सिकाउन सक्छ। (युह. ७:४५, ४६) येसु कति क्षमतावान् हुनुहुन्छ भनेर यहोवालाई थाह थियो। त्यसैले उहाँले येसुलाई सृष्टिको काममा आफूलाई सघाउन चलाउनुभयो। (हितो. ८:३०; हिब्रू १:२-४) येसुलाई फेरि जीवित पार्नुभएपछि यहोवाले उहाँलाई “स्वर्ग र पृथ्वीको सबै अधिकार” दिनुभयो। (मत्ति २८:१८) येसुसँग थुप्रै क्षमता भए तापनि उहाँ डोऱ्याइको लागि यहोवामा भर पर्नुहुन्छ। किन? किनभने उहाँ आफ्नो बुबालाई प्रेम गर्नुहुन्छ। यहोवाले स्त्रीलाई पुरुषभन्दा तुच्छ ठान्नुभएकोले तिनीहरूलाई पतिको अधीनमा बस्ने आज्ञा दिनुभएको होइन भन्ने कुरा पतिहरूले बुझ्नुपर्छ। येसुको सह-शासक हुन पुरुषहरूसँगै स्त्रीहरूलाई पनि रोज्नुभएर यहोवाले यो कुरा प्रमाणित गर्नुभएको छ। (गला. ३:२६-२९) येसुलाई अख्तियार सुम्पनुभएर यहोवाले उहाँमाथि भरोसा गरेको देखाउनुभएको छ। त्यसैगरि बुद्धिमान् पतिले आफ्नी पत्नीलाई केही हदसम्म अख्तियार दिन्छन्। w२१.०२ पृ. ११ अनु. १३-१४
शुक्रबार, अक्टोबर २८
सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।—याकु. ५:११.
परमेश्वरको वचनले ऐनाले जस्तै काम गर्छ। यसले हामीलाई सुधार गर्नुपर्ने क्षेत्रहरू चिन्न र सुधार गर्न मदत गर्छ। (याकु. १:२३-२५) उदाहरणको लागि, परमेश्वरको वचन अध्ययन गरेपछि हामीले आफ्नो रिसलाई काबूमा राख्नुपर्ने आवश्यकता महसुस गर्न सक्छौँ। यहोवाको मदत पाएर हामी आफूलाई रिस उठाउने मानिसहरूसित व्यवहार गर्दा वा समस्याहरूको सामना गर्नुपर्दा शान्त रहन सक्नेछौँ। शान्त रहँदा हामीले अझ राम्ररी सोच्न सक्नेछौँ र राम्रा निर्णयहरू गर्न सक्नेछौँ। (याकु. ३:१३) बाइबललाई राम्ररी बुझ्नु साँच्चै महत्त्वपूर्ण छ! कहिलेकाहीँ हामीले गल्ती गरेपछि मात्र यस्तो गर्न नहुने रहेछ भनेर सिक्छौँ। बुद्धि पाउने राम्रो तरिका भनेको अरूले गरेको राम्रो काम र गल्ती दुवैबाट सिक्नु हो। त्यसैले याकुब हामीलाई अब्राहाम, राहाब, अय्युब र एलियाजस्ता बाइबल पात्रहरूको उदाहरणबाट सिक्न प्रोत्साहन दिन्छन्। (याकु. २:२१-२६; ५:१०, ११, १७, १८) यहोवाका यी वफादार सेवकहरूले तिनीहरूको आनन्द खोस्न सक्ने परीक्षाहरूको सफलतासाथ सामना गर्न सके। तिनीहरूको सहनशीलताको उदाहरणले यहोवाको मदत पाएर हामी पनि त्यसै गर्न सक्छौँ भनेर देखाउँछ। w२१.०२ पृ. २९-३० अनु. १२-१३
शनिबार, अक्टोबर २९
सरसल्लाह गरेर बनाएको योजना सफल हुन्छ; सही निर्देशन खोजेर युद्ध लड।—हितो. २०:१८.
बाइबल अध्ययन गराउँदा विद्यार्थीलाई परमेश्वरको वचनबाट बुझाउने मुख्य जिम्मेवारी अध्ययन सञ्चालकको हो। अध्ययन सञ्चालकले तपाईँलाई आफ्नो अध्ययनमा बोलाउँदा तपाईँले सहयोगीको भूमिका निभाउनुपर्छ। (उप. ४:९, १०) बाइबल अध्ययनमा सहयोगीको भूमिका राम्रोसँग निभाउन तपाईँ के गर्न सक्नुहुन्छ? बाइबल अध्ययनको लागि तयारी गर्नुहोस्। सुरुमा अध्ययन सञ्चालकसित विद्यार्थीको विषयमा केही जानकारी लिनुहोस्। बाइबल विद्यार्थीको पृष्ठभूमि कस्तो छ? उनीसित कुन विषयमा छलफल गर्नुहुन्छ? विद्यार्थीले कुन कुरा बुझेको चाहनुहुन्छ? अध्ययनको दौडान बाइबल विद्यार्थीलाई भन्न मिल्ने वा नमिल्ने र गर्न हुने वा नहुने केही कुरा छन् कि? विद्यार्थीलाई प्रगति गर्न म कसरी प्रोत्साहन दिन सक्छु? अध्ययन सञ्चालकले विद्यार्थीको कुनै गोप्य कुरा त बताउनेछैनन् तर तिनले विद्यार्थीबारे जे-जति बताउँछन्, त्यो तपाईँको लागि पक्कै मदतकारी हुनेछ। जोए नाम गरेकी मिसनरी बहिनी यसो भन्छिन्, “अध्ययनमा सँगै जान लागेको साथीलाई यस्ता कुराहरू पहिल्यै बताउँदा तिनले विद्यार्थीलाई चासो दिन सकेको र अध्ययनमा के भन्ने भनेर पहिल्यै विचार गर्न सकेको मैले महसुस गरेकी छु।” w२१.०३ पृ. ९ अनु. ५-६
आइतबार, अक्टोबर ३०
यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।—युह. १५:१८.
परमेश्वरको धार्मिक स्तरबमोजिम चल्ने भएकोले कहिलेकाहीँ हामी घृणाको सिकार हुन्छौँ। परमेश्वरको स्तर र संसारको पतित स्तरबीच आकाश-जमिनको भिन्नता छ। उदाहरणको लागि, आज थुप्रै मानिसहरू घोर अनैतिकतालाई खुल्लमखुल्ला स्विकार्छन्। यस्तो अनैतिक चालचलन परमेश्वरले नाश गर्नुभएको सदोम र गमोरामा पनि व्याप्त थियो। (यहु. ७) यस्तो चालचलनप्रति बाइबलले राख्ने दृष्टिकोणलाई समर्थन गर्ने भएकोले थुप्रै मानिसहरू हाम्रो गिल्ला गर्छन् र हामीलाई कट्टर भन्छन्। (१ पत्रु. ४:३, ४) मानिसहरूले गर्ने घृणा र अपमान सहन हामीलाई कुन कुराले मदत गर्छ? यहोवाले हामीलाई मदत गर्नुहुन्छ भन्ने कुरामा हाम्रो विश्वास बलियो हुनुपर्छ। ढालले जस्तै हाम्रो विश्वासले “त्यस दुष्टका सबै अग्निबाण निभाउन” सक्छ। (एफि. ६:१६) तर हामीसित विश्वासको साथै प्रेम पनि हुनुपर्छ। किन? किनकि प्रेम “आवेशमा आउँदैन।” यसले हामीलाई चोट पुऱ्याउने सबै कुरा खप्न र सहन मदत गर्छ। (१ कोरि. १३:४-७, १३) यहोवा, सङ्गी उपासकहरू र शत्रुहरूलाई समेत प्रेम गर्दा हामी घृणा सहन सक्छौँ। w२१.०३ पृ. २१ अनु. ३-४
सोमबार, अक्टोबर ३१
कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर। त्यसो त मूर्खले मात्र गर्छ।—उप. ७:९.
कहिलेकाहीँ केही कुराहरू नगर्ने छनौट गरेर पनि हामी दाजुभाइ दिदीबहिनीलाई प्रेम देखाउन सक्छौँ। उदाहरणको लागि, कसैले हाम्रो चित्त दुख्ने कुरा गर्दा हामी त्यो मनमा लिएर बस्दैनौँ। पृथ्वीमा येसुको जीवनको अन्ततिर भएको एउटा घटना विचार गर्नुहोस्। उहाँले आफ्ना चेलाहरूलाई जीवन पाउन उहाँको शरीर खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भन्नुभयो। (युह. ६:५३-५७) उहाँको यो कुरा थुप्रै चेलालाई चित्त बुझेन र उहाँलाई छोडेर गए। तर उहाँका साँचो मित्रहरू वफादार भई उहाँसँगै रहे। तिनीहरूले येसुको कुरा बुझेका थिएनन् र उहाँको कुरा सुनेर छक्क पनि परे होलान्। तैपनि उहाँका ती वफादार मित्रहरूले उहाँले भन्नुभएको कुरा गलत हो भनेर सोचेनन् र ठेस खाएनन्। बरु उहाँमाथि भरोसा गरे किनकि उहाँ सधैँ सत्य बोल्नुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। (युह. ६:६०, ६६-६९) त्यसैले हामीले पनि आफ्ना मित्रहरूले चित्त दुखाउने कुरा गर्दा त्यसलाई मनमा लिनु हुँदैन। बरु उनीहरूलाई आफ्नो कुरा स्पष्टसित बताउने मौका दिनुपर्छ।—हितो. १८:१३. w२१.०१ पृ. ११ अनु. १३