अगस्त
शुक्रबार, अगस्त १
धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।—भज. ३४:१९.
आजको पदमा बताइएको दुइटा महत्त्वपूर्ण बुँदा याद गर्नुहोस्: (१) धर्मी मानिसहरूले समस्याहरू भोग्नुपर्छ। (२) यहोवा हामीलाई परीक्षाहरूबाट बचाउनुहुन्छ। उहाँ हामीलाई कसरी बचाउनुहुन्छ? एउटा तरिका भनेको हामीलाई जीवनप्रति व्यावहारिक दृष्टिकोण राख्न मदत दिएर हो। यहोवाले हामी उहाँको सेवामा आनन्दित हुन सक्छौँ भनेर प्रतिज्ञा गर्नुभएको छ। तर हाम्रो जीवन चिन्तामुक्त हुनेछ भन्ने ग्यारेन्टी भने दिनुभएको छैन। (यसै. ६६:१४) उहाँ हामीलाई भविष्यमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुहुन्छ, जहाँ हामीले सधैँभरि जीवनको आनन्द उठाउन सक्नेछौँ। (२ कोरि. ४:१६-१८) त्यतिन्जेल उहाँ हामीलाई हरेक दिन उहाँको सेवामा लाग्न मदत गर्नुहुन्छ। (विला. ३:२२-२४) पुरातन र हाम्रो समयका वफादार सेवकहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामीले पनि सोच्दै नसोचेका समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तर यहोवामा भर पऱ्यौँ भने उहाँले सधैँ हामीलाई सम्हाल्नुहुनेछ।—भज. ५५:२२. w२३.०४ पृ. १४-१५ अनु. ३-४
शनिबार, अगस्त २
हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्।—रोमी १३:१.
असहज भए पनि उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुन तयार हुने सन्दर्भमा हामी युसुफ र मरियमबाट पाठ सिक्न सक्छौँ। (लुका २:१-६) मरियम गर्भवती भएको नौ महिनाजति हुँदा युसुफ र मरियमले एउटा गाह्रो अवस्थाको सामना गर्नुपऱ्यो। रोमी साम्राज्यका शासक अगस्तसले मानिसहरूलाई आ-आफ्नो नाम दर्ता गर्नू भनी एउटा उर्दी जारी गरे। त्यसको लागि युसुफ र मरियम पहाडी इलाका हुँदै १५० किलोमिटर लामो यात्रा गरेर बेतलेहेम जानुपर्थ्यो। त्यो यात्रा विशेषगरि मरियमको लागि सजिलो हुने थिएन। युसुफलाई आफ्नी पत्नी र तिनको गर्भमा भएको बच्चाको चिन्ता लागेको हुन सक्छ। यात्रा गर्दा गर्दै बेथा लाग्यो भने के गर्ने भनेर पनि चिन्ता लागेको हुन सक्छ। तिनीहरू आफ्नो बच्चालाई सुरक्षित राख्न चाहन्थे किनभने मरियमको गर्भमा हुर्किरहेको बच्चा प्रतिज्ञा गरिएका मसीह थिए। के यी कारणहरूले गर्दा तिनीहरूले सरकारको आज्ञा उल्लङ्घन गर्ने थिए? यस्ता चिन्ताहरूको बाबजुद युसुफ र मरियमले नियम पालन गरे। आज्ञाकारी भएकोले यहोवाले तिनीहरूलाई आशिष् दिनुभयो। मरियम सुरक्षितसाथ बेतलेहेम पुगिन्, स्वस्थ बच्चालाई जन्म दिइन् र बाइबलको भविष्यवाणी पूरा भयो!—मिका ५:२. w२३.१० पृ. ८ अनु. ९; पृ. ९ अनु. ११-१२
आइतबार, अगस्त ३
एकअर्कालाई प्रोत्साहन दिइरहौँ।—हिब्रू १०:२५.
सभामा टिप्पणी दिने कुरा सोच्दा मात्र पनि तपाईँलाई डर लाग्छ भने नि? राम्ररी तयारी गर्नु मदतकारी हुन सक्छ। (हितो. २१:५) लेखको विषयवस्तु जत्ति राम्ररी बुझ्नुहुन्छ, हात उठाउन त्यत्ति नै सजिलो लाग्नेछ। साथै छोटो टिप्पणी दिनुहोस्। (हितो. १५:२३; १७:२७) यसो गर्दा तपाईँलाई धेरै डर लाग्नेछैन। आफ्नै शब्दमा छोटो टिप्पणी दिँदा तपाईँले राम्ररी तयारी गर्नुभएको र विषयवस्तु राम्ररी बुझ्नुभएको देखिन्छ। यीमध्ये केही सुझाव लागू गर्नुभए तापनि तपाईँलाई एक/दुई चोटिभन्दा धेरै टिप्पणी दिन अझै डर लाग्छ भने नि? तपाईँले मनदेखि गर्नुभएको प्रयासको यहोवा कदर गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्। (लुका २१:१-४) आफ्नो तर्फबाट सबैभन्दा उत्कृष्ट दिनुको अर्थ आफूले थेग्नै नसक्ने भार बोक्नु होइन। (फिलि. ४:५) टिप्पणी दिन तपाईँ अझ के गर्न सक्नुहुन्छ भनेर पत्ता लगाउनुहोस्, त्यो पूरा गर्ने लक्ष्य राख्नुहोस् र मन शान्त राख्न प्रार्थना गर्नुहोस्। सुरुमा एउटा छोटो टिप्पणी दिने लक्ष्य राख्न सक्नुहुन्छ। w२३.०४ पृ. २१ अनु. ६-८
सोमबार, अगस्त ४
कवच अनि . . . टोप लगाऔँ।—१ थिस्स. ५:८.
प्रेषित पावल हामीलाई युद्धको लागि तयार अनि सचेत रहने सिपाहीसित तुलना गर्छन्। युद्धको बेला सिपाहीहरू हरसमय तयार रहनुपर्छ। हाम्रो सन्दर्भमा पनि यस्तै भन्न सकिन्छ। विश्वास र प्रेमको कवच अनि आशाको टोप लगाएर हामी यहोवाको दिनको लागि सधैँ तयार रहन्छौँ। कवचले सिपाहीको मुटु जोगाउँछ। त्यसैगरि विश्वास र प्रेमले हाम्रो प्रतीकात्मक मुटुलाई जोगाउँछ। यी गुणहरूले परमेश्वरको सेवामा लागिरहन र येसुलाई पछ्याइरहन मदत गर्छ। जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ भन्ने कुरामा पक्का हुन विश्वासले मदत गर्छ। (हिब्रू ११:६) विश्वासले हामीलाई कठिनाइहरूको बाबजुद हाम्रो नेता येसुप्रति वफादार रहिरहन उत्प्रेरित गर्छ। खेदो र आर्थिक कठिनाइको बाबजुद निष्ठावान् रहेका भाइबहिनीको उदाहरणबाट हामी आफ्नो विश्वास बलियो बनाउन सक्छौँ। साथै राज्य गतिविधिलाई पहिलो स्थान दिन आफ्नो जीवन सरल बनाउनेहरूको उदाहरण अनुकरण गऱ्यौँ भने हामी भौतिकवादको पासोदेखि जोगिन सक्नेछौँ। w२३.०६ पृ. १० अनु. ८-९
मङ्गलबार, अगस्त ५
पानी पर्ला भनेर सुर्ता गर्नेले कहिल्यै कटनी गर्दैन।—उप. ११:४.
आत्मसंयम भनेको आफ्नो भावना र कामलाई नियन्त्रणमा राख्न सक्ने क्षमता हो। लक्ष्यसम्म पुग्न आत्मसंयम चाहिन्छ, विशेषगरि कुनै लक्ष्यसम्म पुग्न गाह्रो छ अथवा त्यस लक्ष्यसम्म पुग्न मेहनत गर्न मन लाग्दैन भने। नबिर्सनुहोस्, आत्मसंयम पवित्र शक्तिको फलको एउटा पक्ष हो। त्यसैले यो महत्त्वपूर्ण गुण विकास गर्न यहोवासित पवित्र शक्ति माग्नुहोस्। (लुका ११:१३; गला. ५:२२, २३) सबै कुरा मिलेपछि गरूँला भनेर नबस्नुहोस्। यस संसारमा सबै कुरा सधैँ हामीले सोचेजस्तो हुँदैन। त्यसैले सबै कुरा मिलेपछि गरूँला भनेर पर्खेर बस्यौँ भने सायद हामी कहिल्यै लक्ष्यसम्म पुग्न सक्दैनौँ। आफूले राखेको लक्ष्य एकदमै गाह्रोजस्तो लाग्छ भने हामीमा त्यो लक्ष्य हासिल गर्ने इच्छा कम हुन सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने छोटो समयमा हासिल गर्न सकिने ससानो लक्ष्य राख्न सक्नुहुन्छ कि? कुनै गुण विकास गर्ने लक्ष्य राख्नुभएको छ भने सुरुमा त्यो गुण ससानो तरिकामा देखाउने कोसिस गर्नुभए कसो होला? यदि तपाईँले पूरै बाइबल पढिसिध्याउने लक्ष्य राख्नुभएको छ भने सुरुमा थोरै समय पढ्ने तालिका बनाउनुभए कसो होला? w२३.०५ पृ. २९ अनु. ११-१३
बुधबार, अगस्त ६
धर्मीको बाटो बिहानको उज्यालोजस्तै हो; मध्याह्न नभएसम्म त्यो झन्झनै चहकिलो हुँदै जान्छ।—हितो. ४:१८.
अन्तको दिनमा हामीलाई “पवित्र मार्ग”-मा हिँडिरहन मदत गर्न यहोवाले आफ्नो सङ्गठनमार्फत प्रशस्त मात्रामा आध्यात्मिक भोजनको प्रबन्ध गर्नुभएको छ। (यसै. ३५:८; ४८:१७; ६०:१७) कुनै व्यक्तिले बाइबल अध्ययन स्विकार्दा तिनले “पवित्र मार्ग”-मा हिँड्ने मौका पाउँछन्। कोही-कोही यस मार्गमा केही समयको लागि मात्र हिँड्छन्। अरू भने गन्तव्यसम्म पुग्ने लक्ष्य राख्दै यसैमा हिँडिरहने सङ्कल्प गर्छन्। यस मार्गले कहाँ डोऱ्याउनेछ? स्वर्गीय आशा भएकाहरूलाई “पवित्र मार्ग”-ले “परमेश्वरको प्रमोदवनमा” डोऱ्याउनेछ। (प्रका. २:७) पार्थिव आशा भएकाहरूलाई ख्रिष्टको हजार वर्षीय शासनको अन्तसम्म डोऱ्याउनेछ र त्यतिबेला सबै मानिस त्रुटिरहित हुनेछन्। तपाईँ यस मूलबाटोमा हिँड्दै हुनुहुन्छ भने आफूले छोडेर आएका कुराहरूलाई फर्केर नहेर्नुहोस्। नयाँ संसारसम्मको यात्रा पूरा नहोउन्जेल यस बाटोमा हिँडिरहनुहोस्! w२३.०५ पृ. १७ अनु. १५-१६; पृ. १९ अनु. १७-१८
बिहीबार, अगस्त ७
हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।—१ युह. ४:१९.
यहोवाले तपाईँको लागि गर्नुभएका कुराहरूबारे सोच्दा तपाईँ उहाँप्रति कृतज्ञ हुनुहुनेछ र तपाईँको मनमा उहाँलाई आफ्नो जीवन समर्पण गर्ने इच्छा जाग्नेछ। (भज. ११६:१२-१४) यहोवा “हरेक असल वरदान र हरेक उत्तम उपहार”-का स्रोत हुनुहुन्छ। (याकु. १:१७) उहाँले दिनुभएको सबैभन्दा ठूलो उपहार उहाँको छोरा येसुको फिरौतीको बलिदान हो। यस उत्तम उपहारबारे सोच्नुहोस् त! फिरौतीको बलिदानले गर्दा नै तपाईँले यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न सक्नुभयो। अनि सधैँभरि जिउने आशा पनि पाउनुभयो। (१ युह. ४:९, १०) यहोवालाई जीवन समर्पण गर्दा तपाईँले उहाँले देखाउनुभएको सबैभन्दा ठूलो प्रेम र उहाँले दिनुभएका अन्य आशिष्हरूप्रति कृतज्ञता देखाइरहनुभएको हुनेछ।—व्यव. १६:१७; २ कोरि. ५:१५. w२४.०३ पृ. ५ अनु. ८
शुक्रबार, अगस्त ८
सोझो बाटोमा हिँड्ने मानिसले यहोवाको डर मान्छ।—हितो. १४:२.
संसारका मानिसहरूको नैतिक आचरण देख्दा हामी धर्मी लुतले जस्तै महसुस गर्छौँ। तिनी “कुकर्मीहरूको निर्लज्ज आचरण देखेर असाध्यै चिन्तित भएका थिए।” यहोवा खराब आचरणलाई घृणा गर्नुहुन्छ भनेर लुतलाई थाह थियो। (२ पत्रु. २:७, ८) यहोवाप्रतिको प्रेम र डरले गर्दा लुत त्यतिबेलाको खस्कँदो नैतिक स्तरबाट अलग रहन सके। आज हामी पनि यहोवाको नैतिक स्तरलाई पटक्कै आदर नगर्ने मानिसहरूको बीचमा बाँचिरहेका छौँ। यसको बाबजुद यहोवाप्रतिको प्रेम र डरलाई कायम राख्यौँ भने हामी नैतिक रूपमा स्वच्छ रहिरहन सक्नेछौँ। यसो गर्न यहोवा हामीलाई हितोपदेशको किताबमार्फत मायालु प्रोत्साहन दिनुहुन्छ। यसमा पाइने बुद्धिमानी सल्लाहबाट पुरुष, स्त्री, जवान र वृद्ध सबै ख्रिष्टियनले लाभ उठाउन सक्छन्। यहोवाको डर मान्यौँ भने हामी खराब काम गर्नेहरूलाई साथी बनाउनेछैनौँ। w२३.०६ पृ. २० अनु. १-२; पृ. २१ अनु. ५
शनिबार, अगस्त ९
यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, दिनहुँ आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।—लुका ९:२३.
तपाईँले परिवारको विरोधको सामना गर्नुभयो होला अथवा परमेश्वरको राज्यलाई पहिलो स्थान दिन धेरै पैसा कमाउने जागिर वा भौतिक कुराहरू त्याग्नुभयो होला। (मत्ति ६:३३) तपाईँका यस्ता त्यागहरू यहोवाले याद गर्नुभएको छ भन्ने कुरामा ढुक्क हुनुहोस्। (हिब्रू ६:१०) सायद तपाईँले येसुका यी शब्दहरू आफैले अनुभव गर्नुभएको होला: “मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ, उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ अनि आउने युगमा अनन्त जीवन पाउनेछ।” (मर्कु. १०:२९, ३०) हो, तपाईँले त्यागहरूको तुलनामा कता हो कता धेरै आशिष् पाउनुभएको छ!—भज. ३७:४. w२४.०३ पृ. ९ अनु. ५
आइतबार, अगस्त १०
साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।—हितो. १७:१७.
यहुदियामा ठूलो अनिकाल परेको सुनेपछि एन्टिओकका भाइबहिनीले “आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।” (प्रेषि. ११:२७-३०) अनिकालबाट प्रभावित भाइबहिनी धेरै टाढा बस्ने भए पनि एन्टिओकका ख्रिष्टियनहरू तिनीहरूलाई मदत गर्न अघि सरे। (१ युह. ३:१७, १८) भाइबहिनीहरू कुनै प्रकोपमा परेको थाह पाएपछि हामी पनि कोमल करुणा देखाउन सक्छौँ। त्यस्तो खबर सुन्नेबित्तिकै हामीले कुनै तरिकामा मदत गर्न सकिन्छ कि भनेर एल्डरहरूलाई सोध्न सक्छौँ, विश्वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ र प्रभावित भाइबहिनीको लागि प्रार्थना गर्न सक्छौँ। हाम्रा भाइबहिनीलाई आधारभूत आवश्यकताहरू पूरा गर्न पनि मदत चाहिन सक्छ। हाम्रा राजा येसु ख्रिष्ट न्याय गर्न आउनुहुने समयमा हामीले कोमल करुणा देखाइरहेको पाउनुभयो भने उहाँले हामीलाई “राज्य अधिकार” गर्न निम्तो दिनुहुनेछ।—मत्ति २५:३४-४०. w२३.०७ पृ. ४ अनु. ९-१०; पृ. ६ अनु. १२
सोमबार, अगस्त ११
तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।—फिलि. ४:५.
येसुले यहोवाको व्यावहारिकताको अनुकरण गर्नुभयो। उहाँलाई मुख्यतया ‘इस्राएलको घरानाका हराएका भेडाहरूलाई’ सुसमाचार सुनाउन पृथ्वीमा पठाइएको थियो। तर सुसमाचार सुनाउने सन्दर्भमा पनि उहाँले व्यावहारिकता देखाउनुभयो। एकचोटि एक जना गैर-इस्राएली स्त्रीले आफ्नी छोरीलाई निको पारिदिन येसुसित बिन्ती गरिन्। उनकी छोरीलाई “प्रेतले साह्रै सताइरहेको” थियो। येसुले दया देखाउँदै उनकी छोरीलाई निको पार्नुभयो। (मत्ति १५:२१-२८) अर्को उदाहरण विचार गरौँ। येसुले एकचोटि यसो भन्नुभयो: ‘जसले मलाई इन्कार गर्छ, म पनि उसलाई इन्कार गर्नेछु।’ (मत्ति १०:३३) तर के येसुले आफूलाई तीन-तीन पटक इन्कार गर्ने पत्रुसलाई इन्कार गर्नुभयो? गर्नुभएन। पत्रुसले पश्चात्ताप गरेका छन् र तिनी वफादार छन् भनेर येसुलाई थाह थियो। येसु फेरि जीवित हुनुभएपछि पत्रुसकहाँ देखा पर्नुभयो र सम्भवतः उहाँले तिनलाई क्षमा दिइसकेको अनि अझै पनि प्रेम गरिरहेको कुरा बताउनुभयो। (लुका २४:३३, ३४) हामीले यहोवा परमेश्वर र येसु ख्रिष्ट दुवै व्यावहारिक हुनुहुन्छ भनेर बुझ्यौँ। यहोवा हामी पनि व्यावहारिक भएको चाहनुहुन्छ। w२३.०७ पृ. २१-२२ अनु. ६-७
मङ्गलबार, अगस्त १२
मृत्यु हुनेछैन।—प्रका. २१:४.
पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर शङ्का गर्नेहरूलाई हामी के भन्न सक्छौँ? पहिलो, यहोवाले त्यो प्रतिज्ञा आफै गर्नुभएको हो। प्रकाशको किताबमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’” उहाँसित आफ्नो प्रतिज्ञा पूरा गर्ने बुद्धि, शक्ति र इच्छा छ। दोस्रो, उहाँ आफ्नो प्रतिज्ञा पूरा हुने कुरामा यत्ति पक्का हुनुहुन्छ कि उहाँको नजरमा ती पूरा भइसके। त्यसैले उहाँले यसो भन्नु उपयुक्त छ: “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। . . . यी वचनहरू पूरा भइसकेका छन्!” तेस्रो, यहोवाले कुनै काम सुरु गर्नुभएपछि त्यो पूरा गरेरै छोड्नुहुन्छ। त्यसैले उहाँले यसो भन्नुभयो: “अल्फा र ओमेगा म नै हुँ।” (प्रका. २१:६) सैतान झूटा हो र त्यसले कुनै पनि हालतमा यहोवाको उद्देश्य पूरा हुनदेखि रोक्न सक्दैन भनेर उहाँले प्रमाणित गर्नुहुनेछ। तर मानिसहरूले “कुरा त राम्रै हो तर यस्तो हुनै सक्दैन” भनेमा प्रकाश २१:५, ६ पढेर त्यसको व्याख्या गर्न सक्नुहुन्छ। त्यहाँ लेखिएको कुरा आफ्नो प्रतिज्ञा पूरा हुनेछ भन्ने कुराको ग्यारेन्टी दिन यहोवाले गर्नुभएको हस्ताक्षरजस्तै हो भनेर बताउनुहोस्।—यसै. ६५:१६. w२३.११ पृ. ७ अनु. १८-१९
बुधबार, अगस्त १३
म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।—उत्प. १२:२.
यहोवाले अब्राहाम ७५ वर्षको हुँदा यो प्रतिज्ञा गर्नुभएको थियो। त्यतिबेला तिनको कुनै सन्तान थिएन। के अब्राहामले त्यो प्रतिज्ञा पूरा भएको देखे? पूर्ण रूपमा त देखेनन्। युफ्रेटिस नदी पार गरेर २५ वर्ष पर्खेपछि अब्राहामले आशै नगरेको कुरा भयो। तिनले आफ्नो छोरा इसहाक जन्मेको अनि त्यसको ६० वर्षपछि नातिहरू एसाव र याकुब जन्मेको देखे। (हिब्रू ६:१५) तर अब्राहामले आफ्ना सन्तानहरू एउटा ठूलो जाति भएको र तिनीहरूले प्रतिज्ञा गरिएको देशमा बसोबास गरेको भने कहिल्यै देखेनन्। तैपनि यी वफादार पुरुषले आफ्नो सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध गाँसे। (याकु. २:२३) अब्राहामले विश्वास र धीरज देखाएकोले सबै राष्ट्रका मानिसहरूले आशिष् पाए। (उत्प. २२:१८) तिनी फेरि जीवित भएपछि यो कुरा थाह पाउँदा कत्ति खुसी हुन्छन् होला! यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाका सबै प्रतिज्ञा पूरा भएको आफ्नै आँखाले नदेखौँला। तर अब्राहामजस्तै धीरजी भयौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवाले हामीलाई अहिल्यै इनाम दिनुहुनेछ र नयाँ संसारमा अझ धेरै आशिष् दिनुहुनेछ।—मर्कु. १०:२९, ३०. w२३.०८ पृ. २४ अनु. १४
बिहीबार, अगस्त १४
तिनले साँचो परमेश्वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।—२ इति. २६:५.
जवान छँदा राजा उज्जियाह नम्र थिए। तिनले “साँचो परमेश्वरको भय मान्न” सिकेका थिए। तिनी ६८ वर्षसम्म बाँचे र तिनले यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो। (२ इति. २६:१-४) उज्जियाहले थुप्रै शत्रु राष्ट्रलाई हराए र यरुसलेमको सुरक्षा प्रणालीलाई बलियो बनाए। (२ इति. २६:६-१५) उज्जियाहले गरेका विभिन्न काममा परमेश्वरले मदत दिनुभएकोले तिनी पक्कै खुसी थिए। (उप. ३:१२, १३) राजा उज्जियाह अरूलाई विभिन्न सल्लाह-सुझाव दिने गर्थे। त्यसैले तिनलाई आफूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्दैन भन्ने लागेको हुन सक्छ। एकदिन उज्जियाह यहोवाको मन्दिरभित्र गए र अहङ्कारी हुँदै धूप बाल्ने वेदीमा धूप बाल्न खोजे, जुन काम गर्न राजाहरूलाई निषेध गरिएको थियो। (२ इति. २६:१६-१८) प्रधानपुजारी अजर्याहले तिनलाई रोक्न खोजे तर तिनी रिसले चूर भए। दुःखको कुरा, उज्जियाह यहोवाप्रति अवफादार भए र उहाँले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (२ इति. २६:१९-२१) तिनी नम्र भइरहेका भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. १० अनु. ९-१०
शुक्रबार, अगस्त १५
‘तिनी खतना भएका मानिसहरूसित डराएर अन्यजातिका मानिसहरूदेखि पन्छिए।’—गला. २:१२.
प्रेषित पत्रुस अभिषिक्त ख्रिष्टियन भइसके तापनि तिनले आफ्ना कमीकमजोरीहरूसित अझै सङ्घर्ष गर्नुपऱ्यो। इस्वी संवत् ३६ मा परमेश्वरले पत्रुसलाई अन्यजातिका कर्निलियसकहाँ पठाउनुभयो र त्यहाँ परमेश्वरले कर्निलियसलाई पवित्र शक्तिद्वारा अभिषेक गर्नुभयो। यसबाट “परमेश्वर पक्षपाती हुनुहुन्न” र अन्यजातिका मानिसहरू पनि ख्रिष्टियन मण्डलीको भाग बन्न सक्छन् भन्ने कुरा प्रस्ट भयो। (प्रेषि. १०:३४, ४४, ४५) त्यसपछि पत्रुसले अन्यजातिका मानिसहरूसँगै बसेर खान थाले, जुन तिनले पहिला कहिल्यै गरेका थिएनन्। तर केही यहुदी ख्रिष्टियनलाई अन्यजातिका मानिसहरूसँगै बसेर खानु अनुचित लाग्थ्यो। त्यसैले यस्तो विचारधारा राख्ने केही यहुदी ख्रिष्टियन एन्टिओक आउँदा पत्रुसले अन्यजातिका भाइहरूसँगै बसेर खान छोडिदिए। सायद तिनलाई यहुदी ख्रिष्टियनहरूले के भन्लान् भनेर डर लागेको थियो। प्रेषित पावलले पत्रुसको यस्तो देखावटी व्यवहार याद गरे र तिनलाई सबैको सामुन्ने सच्याए। (गला. २:१३, १४) तर यस्तो गल्तीको बाबजुद पत्रुसले परमेश्वरको सेवा गर्न छोडेनन्। w२३.०९ पृ. २२ अनु. ८
शनिबार, अगस्त १६
उहाँले तिमीलाई स्थिर बनाउनुहुनेछ।—१ पत्रु. ५:१०.
एल्डरहरू हो, के तपाईँ स्वेच्छाले र तत्परतासाथ परमेश्वरको बगालको हेरचाह गर्न अझ कटिबद्ध हुनुभयो? इमानदार भई यी प्रश्नहरू विचार गर्दा आफूले उन्नति गर्नुपर्ने कुनै क्षेत्र याद गर्नुहुन्छ होला। तर निराश नहुनुहोस्। किनकि “प्रभु [येसु] दयालु हुनुहुन्छ।” (१ पत्रु. २:३) उहाँले तपाईँलाई उन्नति गर्न मदत गर्नुहुनेछ। प्रेषित पत्रुसले हामीलाई यस्तो आश्वासन दिए: “परमेश्वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ।” पत्रुसले एकपटक आफू परमेश्वरको छोराको छेउमा उभिन समेत लायकको छैन भन्ने महसुस गरे। (लुका ५:८) तर यहोवा र येसुको मायालु साथ पाएकोले तिनी वफादार भई येसुको पछि लागिरहे। त्यसो गरेकोले तिनले “हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र महिमायुक्त प्रवेश” पाए। (२ पत्रु. १:११) कत्ति ठूलो इनाम! पत्रुसजस्तै तपाईँ पनि यहोवाको सेवामा लागिरहनुभयो र उहाँलाई आफ्नो तालिम पूरा गर्न दिनुभयो भने तपाईँले पनि अनन्त जीवन पाउन सक्नुहुन्छ। ‘तपाईँको विश्वासले गर्दा तपाईँले इनामस्वरूप उद्धार पाउनुहुनेछ।’—१ पत्रु. १:९. w२३.०९ पृ. ३१ अनु. १६-१७
आइतबार, अगस्त १७
उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।—प्रका. १४:७.
वासस्थानमा एउटा चोक थियो, जुन चारैतिर पाल टाँगेर बनाइएको थियो। त्यस खुला चोकमा पुजारीहरू आ-आफ्नो जिम्मेवारी पूरा गर्थे। चोकमा अग्निभेटी चढाउनको लागि तामाको एउटा ठूलो वेदी थियो। अनि भेट हुने पाल र वेदीको बीचमा तामाको एउटा ठूलो बाटा थियो, जहाँको पानीले पुजारीहरू पवित्र सेवा चढाउनुअघि आफ्नो हातखुट्टा धुन्थे। (प्रस्थ. ३०:१७-२०; ४०:६-८) अहिले पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूले आध्यात्मिक मन्दिरको भित्री चोकमा वफादार भई सेवा गर्छन्। त्यस चोकको पानी भएको ठूलो बाटाले तिनीहरूलाई र सबै ख्रिष्टियनलाई नैतिक तथा आध्यात्मिक रूपमा शुद्ध हुनुपर्ने महत्त्वपूर्ण कुरा सम्झाउँछ। त्यसोभए “ठूलो भीड”-ले कहाँ रहेर उपासना गर्छ? प्रेषित युहन्नाले तिनीहरूलाई ‘सिंहासनको अगाडि उभिएर दिनरात परमेश्वरलाई पवित्र सेवा चढाइरहेको’ देखे। (प्रका. ७:९, १३-१५) ठूलो भीडले यसै पृथ्वीमा रहेर आध्यात्मिक मन्दिरको बाहिरी चोकमा यहोवाको उपासना गर्छ। यहोवाको महान् आध्यात्मिक मन्दिरमा उहाँको उपासना गर्ने अनमोल सुअवसर पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ! w२३.१० पृ. २८ अनु. १५-१६
सोमबार, अगस्त १८
परमेश्वरले तिनीसित प्रतिज्ञा गर्नुभएको हुनाले . . . तिनको विश्वासले गर्दा तिनी बलियो भए।—रोमी ४:२०.
यहोवा हामीलाई एल्डरहरूमार्फत पनि बल दिनुहुन्छ। (यसै. ३२:१, २) त्यसैले चिन्ताफिक्रीले सताउँदा आफ्ना भावनाहरू कुनै एल्डरलाई बताउनुहोस्। तिनले मदत दिँदा कृतज्ञ भई स्विकार्नुहोस्। एल्डरहरूमार्फत यहोवा तपाईँलाई बलियो पार्न सक्नुहुन्छ। चाहे हाम्रो आशा पृथ्वीमा सधैँभरि बाँच्ने होस् वा स्वर्गमा, त्यसले हामीलाई बल दिन सक्छ। (रोमी ४:३, १८, १९) यस आशाले हामीलाई परीक्षाहरू सहन, साक्षीकार्यमा लागिरहन र मण्डलीमा विभिन्न असाइनमेन्ट पूरा गर्न बल दिन्छ। (१ थिस्स. १:३) प्रेषित पावललाई पनि यही आशाले बल दिएको थियो। तिनी “थिचिएका,” “अन्योलमा परेका” र ‘पछारिएका’ थिए। तिनको “खेदो गरिएको” थियो अनि तिनको ज्यानसमेत खतरामा परेको थियो। (२ कोरि. ४:८-१०) पावलले आफ्नो आशामा ध्यान केन्द्रित गर्दा सहने बल पाए। (२ कोरि. ४:१६-१८) पावलले स्वर्गमा अमर जीवन पाउने आशामा ध्यान केन्द्रित गरे। त्यस आशामा मनन गरेकोले तिनले आफ्नो भित्री व्यक्तित्व “दिनदिनै नयाँ हुँदै गइरहेको” महसुस गरे। w२३.१० पृ. १५-१६ अनु. १४-१७
मङ्गलबार, अगस्त १९
यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ, यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।—भज. २९:११.
प्रार्थना गर्दा ‘के यहोवाले मेरो प्रार्थनाको जवाफ दिने समय आइसक्यो?’ भनेर विचार गर्नुहोस्। हामीलाई आफ्नो प्रार्थनाको जवाफ तुरुन्तै पाउनुपर्छ जस्तो लाग्न सक्छ। तर हामीलाई मदत गर्ने सबैभन्दा उचित समय यहोवालाई थाह छ। (हिब्रू ४:१६) आफूले मागेको कुरा तुरुन्तै नपाउँदा यहोवाले जवाफ दिनुभएन जस्तो लाग्न सक्छ। तर उहाँको तर्फबाट जवाफ यस्तो पनि हुन सक्छ: ‘अहिले अलि बेला भएको छैन।’ जस्तै: गम्भीर रोग लागेका भाइले निको होस भनेर प्रार्थना गरे तर तिनको स्वास्थ्यमा कुनै सुधार आएन। यहोवाले तिनलाई चमत्कारपूर्ण ढङ्गमा निको पार्नुभएको भए सैतानले उहाँलाई यसो भन्न सक्थ्यो: ‘तपाईँले निको पार्नुभएकोले मात्र उसले तपाईँको सेवा गरिरहेको हो।’ (अय्यु. १:९-११; २:४) यसबाहेक यहोवाले सबै रोगबिमार निको पार्ने समय तोकिसक्नुभएको छ। (यसै. ३३:२४; प्रका. २१:३, ४) त्यो समय नआएसम्म हामी चमत्कारपूर्ण ढङ्गमा निको हुने आशा गर्न सक्दैनौँ। त्यसैले ती भाइले यहोवासित आफ्नो रोगसित लड्न र वफादार भई उहाँको सेवा गरिरहन बल र मनोशान्ति माग्नु उचित हुन्थ्यो। w२३.११ पृ. २३ अनु. १३
बुधबार, अगस्त २०
उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।—भज. १०३:१०.
सिमसोनले गम्भीर गल्ती गरेका थिए। तैपनि तिनले यहोवाको सेवा गर्न छोडेनन्। तिनले पलिस्तियालीहरूसित युद्ध लड्ने मौका खोजिरहे किनभने त्यो जिम्मेवारी परमेश्वरले तिनलाई दिनुभएको थियो। (न्याय. १६:२८-३०) सिमसोनले यहोवा परमेश्वरलाई यसरी पुकारे: “यी पलिस्तियालीहरूसित . . . बदला लिन सकूँ।” साँचो परमेश्वरले सिमसोनको बिन्ती सुन्नुभयो र तिनलाई फेरि शक्ति दिनुभयो। नतिजास्वरूप तिनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरैलाई आफ्नो मृत्युको दिनमा मारे। हुनत सिमसोनले आफ्नो गल्तीको कारण दुःखदायी नतिजा भोग्नुपऱ्यो तर तिनी यहोवाको इच्छाअनुसार चल्न छोडेनन्। हामीले पनि गल्ती गरेकोले सुधार पायौँ वा कुनै सुअवसर गुमायौँ भने यहोवाको इच्छाअनुसार चल्न छोड्नु हुँदैन। नबिर्सनुहोस्, यहोवा हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८, ९) गल्तीहरू गरे तापनि सिमसोनलाई जस्तै यहोवाले हामीलाई पनि उहाँको इच्छाअनुसार चल्न बल दिनुहुनेछ। w२३.०९ पृ. ६ अनु. १५-१६
बिहीबार, अगस्त २१
सहनशीलताबाट परमेश्वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ अनि परमेश्वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्न गराउँछ।—रोमी ५:४.
सहनशील हुँदा तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ। तर यसको मतलब तपाईँले परीक्षा वा समस्या भोग्दा यहोवा खुसी हुनुहुन्छ भन्ने त पटक्कै होइन। बरु तपाईँले वफादार भई सहनुभएकोमा उहाँ खुसी हुनुहुन्छ र तपाईँलाई अनुमोदन दिनुहुन्छ। योभन्दा ठूलो आशिष् अरू के नै होला र? (भज. ५:१२) नबिर्सनुहोस्, अब्राहामले परीक्षाहरू सहे र परमेश्वरको अनुमोदन पाए। यहोवाले तिनलाई आफ्नो मित्र ठान्नुभयो र धर्मी ठहराउनुभयो। (उत्प. १५:६; रोमी ४:१३, २२) हाम्रो सन्दर्भमा पनि त्यसै भन्न सक्छौँ। परमेश्वरको सेवामा के-कति गरेका छौँ वा कस्ता सुअवसरहरू पाएका छौँ भन्ने आधारमा उहाँले हामीलाई अनुमोदन दिनुहुने होइन। बरु वफादार भई सह्यौँ भने उहाँ हामीलाई अनुमोदन दिनुहुन्छ। हाम्रो उमेर, परिस्थिति वा क्षमता जस्तोसुकै भए पनि हामी सहनशील हुन सक्छौँ। के तपाईँ अहिले वफादार भई कुनै परीक्षा सहँदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँले परमेश्वरको अनुमोदन पाउनुभएको छ। यस कुरामा ढुक्क हुनुभयो भने तपाईँको आशा अझ बलियो हुनेछ। w२३.१२ पृ. ११ अनु. १३-१४
शुक्रबार, अगस्त २२
‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’—एफि. ४:१३, फुटनोट।
ख्रिष्टियन पुरुषले राम्ररी कुराकानी गर्न सिक्नुपर्छ। यस्तो सीप भएको भाइले अरूको कुरा ध्यान दिएर सुन्छन् र तिनीहरूको सोचाइ अनि भावना बुझ्छन्। (हितो. २०:५) साथै अरूको बोल्ने शैली, अनुहारको भाव र शरीरको हाउभाउ हेरेर तिनीहरूले महसुस गरिरहेको कुरा बुझ्ने कोसिस गर्न सक्छन्। तपाईँले मानिसहरूसित समय बिताउनुभएन भने यस्तो सीप विकास गर्न सक्नुहुन्न। यदि तपाईँ जतिखेर पनि इमेल र मेसेजमार्फत मात्र कुराकानी गर्नुहुन्छ भने तपाईँलाई मानिसहरूसित भेटेरै कुराकानी गर्न झन्झनै गाह्रो हुन सक्छ। त्यसैले अरूसित भेटेरै कुराकानी गर्ने मौकाहरू खोज्नुहोस्। (२ युह. १२) परिपक्व ख्रिष्टियन पुरुषले आफ्नो र आफ्नो घरपरिवारको भौतिक आवश्यकता पूरा गर्नुपर्छ। (१ तिमो. ५:८) तपाईँले काम पाउन सजिलो हुन सक्ने सीप सिक्नु राम्रो हो। (प्रेषि. १८:२, ३; २०:३४; एफि. ४:२८) मेहनती र काम नसिद्धिउन्जेल त्यसमा लागिरहने व्यक्तिको रूपमा नाम कमाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिराख्न सजिलो हुन सक्छ। w२३.१२ पृ. २७ अनु. १२-१३
शनिबार, अगस्त २३
यहोवा परमेश्वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।—१ थिस्स. ५:२.
बाइबलमा “यहोवाको दिन”-ले उहाँले शत्रुहरूलाई नाश गर्ने र आफ्ना मानिसहरूको उद्धार गर्ने समयलाई बुझाउँछ। विगतमा यहोवाले सजाय दिन केही राष्ट्रलाई नाश गर्नुभयो। (यसै. १३:१, ६; इज. १३:५; सप. १:८) आज हाम्रो समयमा “यहोवाको दिन” महान् बेबिलोनमाथि आक्रमण हुँदा सुरु हुनेछ र आरमागेडोनको युद्धमा अन्त हुनेछ। त्यस “दिन”-मा नाश हुनदेखि बच्न हामी अहिल्यैदेखि तयार रहनुपर्छ। येसुले हामीलाई “महासङ्कष्ट”-को लागि “तयार रहो” भन्नुभयो। यस अभिव्यक्तिले निरन्तर गरिरहनुपर्ने कुरालाई सङ्केत गर्छ। (मत्ति २४:२१; लुका १२:४०) प्रेषित पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा यहोवाको न्यायको महान् दिनको लागि हरदम तयार रहन सल्लाह दिए। यो कुरा बुझाउन तिनले थुप्रै उदाहरण चलाए। यहोवाको दिन तुरुन्तै आइहाल्दैन भनेर पावललाई थाह थियो। (२ थिस्स. २:१-३) तैपनि तिनले त्यो दिन भोलि नै आउने जस्तैगरि तयार रहन भाइहरूलाई आग्रह गरे। हामीले पनि तिनको सल्लाह लागू गर्नुपर्छ। w२३.०६ पृ. ८ अनु. १-२
आइतबार, अगस्त २४
हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ।—१ कोरि. १५:५८.
सन् १९७८ मा जापानको टोकियोमा एउटा ६० तल्ले भवन निर्माण गरियो। टोकियोमा भूकम्प गइरहने भएकोले मानिसहरूलाई त्यो भवन ढल्छ जस्तो लागेको थियो। तर त्यस गगनचुम्बी भवनलाई भूकम्पले खासै असर गरेन। किन? इन्जिनियरहरूले त्यो भवन भूकम्पका धक्काहरूलाई थेग्न सक्नेगरि डिजाइन गरेका थिए। त्यो भवन मजबुत हुनुका साथै लचकदार पनि थियो। ख्रिष्टियनहरू पनि त्यो गगनचुम्बी भवनजस्तै हुन्। कुन अर्थमा? ख्रिष्टियनहरूले अटल हुनु र लचिलो हुनुबीच सन्तुलन कायम राख्नुपर्छ। यहोवाको नीतिनियम र स्तर पालन गर्ने सन्दर्भमा तिनीहरू बलियो र स्थिर हुनुपर्छ। तिनीहरू “आज्ञाकारी” हुन्छन् र कुनै सम्झौता गर्दैनन्। अर्कोतर्फ, कुनै अवस्थामा सम्भव छ भने तिनीहरू “व्यावहारिक” अर्थात् लचिलो हुनुपर्छ अथवा कहिलेकाहीँ लचिलो हुनै पर्ने पनि हुन सक्छ। (याकु. ३:१७) सन्तुलित हुन सिकेका ख्रिष्टियनले यस्तै हुनुपर्छ भनेर कडिकडाउ गर्दैनन् वा जे गरे पनि हुन्छ भन्ने हल्का सोचाइ राख्दैनन्। w२३.०७ पृ. १४ अनु. १-२
सोमबार, अगस्त २५
तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ।—१ पत्रु. १:८.
येसुलाई सैतानले विभिन्न प्रलोभन देखायो; यहाँसम्म कि त्यसले येसुलाई सीधै यहोवाप्रति अनाज्ञाकारी हुन दबाब दियो। (मत्ति ४:१-११) सैतान येसुलाई जसरी भए पनि पाप गर्न लगाउन लागिपरेको थियो किनभने येसुले फिरौतीको बलिदान दिएको त्यो चाहँदैनथ्यो। पृथ्वीमा हुनुहुँदा येसुले अरू परीक्षाहरूको पनि सामना गर्नुभयो। उहाँले खेदो भोग्नुभयो र शत्रुहरू उहाँलाई मार्न चाहन्थे। (लुका ४:२८, २९; १३:३१) उहाँले विभिन्न कमीकमजोरी भएका अनुयायीहरूसित व्यवहार गर्नुपऱ्यो। (मर्कु. ९:३३, ३४) पुर्पक्षको बेला उहाँलाई सास्ती दिइयो र उहाँको गिल्ला गरियो। उहाँलाई असाध्यै पीडादायी र बेइज्जतीपूर्ण तरिकामा मृत्युदण्ड दिइयो। (हिब्रू १२:१-३) उहाँले जीवनको अन्तिम घडीमा यहोवाको सुरक्षाविना नै परीक्षा सहनुभयो। (मत्ति २७:४६) स्पष्ट छ, येसुले फिरौतीको मोल तिर्न धेरै कुरा सहनुभयो। उहाँले राजीखुसीले हाम्रो लागि गर्नुभएका त्यागहरूबारे सोच्दा के उहाँप्रतिको हाम्रो प्रेम अझै प्रगाढ हुँदैन र? w२४.०१ पृ. १०-११ अनु. ७-९
मङ्गलबार, अगस्त २६
हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।—हितो. २१:५.
धीरजले हामीलाई अरूसित राम्रो सम्बन्ध बनाइराख्न मदत गर्छ। यसले अरूले बोलिरहेको बेला ध्यान दिएर सुन्न मदत गर्छ। (याकु. १:१९) साथै शान्ति कायम गर्न पनि मदत गर्छ। यसले तनावमा भएको बेला प्याच्च केही कुरा भन्नदेखि पनि रोक्छ। अनि धीरजी छौँ भने कसैले हाम्रो चित्त दुखाउँदा हामी रिसाइहाल्दैनौँ। बदला लिनुको साटो हामी ‘एकअर्कालाई सहिरहन्छौँ अनि खुला मनले क्षमा गरिरहन्छौँ।’ (कल. ३:१२, १३) धीरजले बुद्धिमानी निर्णयहरू गर्न पनि मदत गर्न सक्छ। धीरजले हामीलाई हतारमा निर्णय गर्नुको सट्टा आफूसित के-कस्ता विकल्पहरू छन् भनेर राम्ररी सोचविचार गर्न मदत गर्छ। जस्तै: हामी कुनै काम खोज्दै छौँ भने सुरुमा जुन काम भेट्टियो, त्यही स्विकारिहाल्ने झुकाव हामीमा हुन सक्छ। तर हामी धीरजी छौँ भने त्यस कामले पारिवारिक र आध्यात्मिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ भनेर राम्ररी सोचविचार गर्छौँ। यसरी धीरजी हुँदा गलत निर्णय गर्नदेखि जोगिन सक्छौँ। w२३.०८ पृ. २२ अनु. ८-९
बुधबार, अगस्त २७
म आफ्नो शरीरमा बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ। अनि मेरो शरीरमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।—रोमी ७:२३.
पापी झुकावहरूले तपाईँलाई निराश बनाएको छ भने आफूले गरेको समर्पणको वाचा सम्झनुहोस्। यसो गर्नुभयो भने प्रलोभनहरूविरुद्ध लड्ने तपाईँको सङ्कल्प अझै बलियो हुनेछ। कसरी? यहोवालाई जीवन समर्पण गर्दा तपाईँले आफूलाई इन्कार गरिरहनुभएको हुन्छ। यसको अर्थ यहोवालाई दुःखी तुल्याउने इच्छा र लक्ष्यहरूलाई तिरस्कार गर्नु हो। (मत्ति १६:२४) त्यसैले कुनै परीक्षा आइपर्दा तपाईँ ‘के गर्ने कसो गर्ने’ भनेर अलमलिनुहुनेछैन। किनकि तपाईँले यहोवाप्रति वफादार रहने सङ्कल्प गरिसक्नुभएको छ। यहोवालाई खुसी तुल्याउने कुरामा तपाईँ अडिग रहनुहुनेछ। तपाईँ अय्युबजस्तै हुनुहुनेछ। तिनले एकदमै गाह्रा परीक्षाहरूको सामना गर्नुपर्दा समेत दृढ भई यसो भने: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”—अय्यु. २७:५. w२४.०३ पृ. ९ अनु. ६-७
बिहीबार, अगस्त २८
यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्।—भज. १४५:१८.
‘प्रेमका परमेश्वर’ यहोवा हामीसित हुनुहुन्छ। (२ कोरि. १३:११) उहाँ हामी प्रत्येकमा चासो राख्नुहुन्छ। हामी “उहाँको अटल प्रेमले घेरिएका” छौँ। (भज. ३२:१०) उहाँको प्रेममा जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँ हामीलाई वास्तविक लाग्नेछ र उहाँसित अझ घनिष्ठ भएको महसुस हुनेछ। हामी उहाँलाई नहिचकिचाईकन प्रार्थना गर्न सक्छौँ र हामीलाई उहाँको प्रेम कत्ति आवश्यक छ भनेर बताउन सक्छौँ। उहाँ हाम्रो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै आफ्नो सबै चिन्ता-फिक्री उहाँमा बिसाउन सक्छौँ। (भज. १४५:१८, १९) मौसम चिसो भएको बेला हामी न्यानो आगोतर्फ खिचिन्छौँ। त्यसैगरि यहोवाको न्यानो मायाले हामीलाई उहाँतर्फ खिच्छ। हुनत यहोवाको प्रेम शक्तिशाली छ तर त्यो कोमल पनि छ। त्यसैले यहोवाले तपाईँलाई आफ्नो न्यानो अङ्गालोमा बाँध्न खोज्नुहुँदा तपाईँ पनि उहाँको अङ्गालोमा बाँधिनुहोस्। अनि उहाँलाई यसो भन्नुहोस्: ‘म तपाईँलाई प्रेम गर्छु’!—भज. ११६:१. w२४.०१ पृ. ३१ अनु. १९-२०
शुक्रबार, अगस्त २९
मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु।—युह. १७:२६.
येसुको समयका यहुदीहरूलाई परमेश्वरको नाम यहोवा हो भनेर थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई परमेश्वरको नाम मात्र बताउनुभएन बरु परमेश्वरको विषयमा ‘वयान गर्नुभयो।’ (युह. १:१७, १८, संशोधित संस्करण) जस्तै: हिब्रू धर्मशास्त्रमा यहोवा कृपालु र दयालु हुनुहुन्छ भनिएको छ। (प्रस्थ. ३४:५-७) यस कुरालाई अझ स्पष्ट पार्न येसुले हराएको छोराको उदाहरण चलाउनुभयो। यस उदाहरणमा बुबाले आफ्नो पश्चात्तापी छोरालाई ‘टाढैबाट आउँदै गरेको देखेपछि’ दौडँदै गए र उसलाई अङ्गालो हाले अनि मनैदेखि क्षमा दिए। यसबाट यहोवा कत्ति दयालु र कृपालु हुनुहुन्छ भनेर छर्लङ्गै भयो। (लुका १५:११-३२) येसुले यहोवा कस्तो व्यक्ति हुनुहुन्छ भनेर बुझ्न मानिसहरूलाई मदत गर्नुभयो। w२४.०२ पृ. १० अनु. ८-९
शनिबार, अगस्त ३०
जुन सान्त्वना हामीले परमेश्वरबाट पाएका छौँ, त्यही सान्त्वनाद्वारा . . . परीक्षामा परेकाहरूलाई सान्त्वना दिन सकौँ।—२ कोरि. १:४.
यहोवा दुःखमा परेकाहरूलाई स्फूर्ति र सान्त्वना दिनुहुन्छ। करुणा महसुस गर्ने र अरूलाई सान्त्वना दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? एउटा तरिका भनेको सान्त्वना दिन मदत गर्ने गुणहरू विकास गर्नु हो। तीमध्ये केही गुण के-के हुन्? हामी कसरी हरेक दिन एकअर्कालाई प्रेम गरिरहन र ‘सान्त्वना दिइरहन’ सक्छौँ? (१ थिस्स. ४:१८) भ्रातृस्नेह, दया अनि एकअर्काको पीडा महसुस गर्नेजस्ता गुणहरू विकास गरेर। (कल. ३:१२; १ पत्रु. ३:८) यी गुणहरूले हामीलाई के गर्न मदत गर्छ? करुणा र त्यससित सम्बन्धित गुणहरूलाई आफ्नो व्यक्तित्वको अभिन्न भाग बनायौँ भने दुःखमा परेकाहरूलाई सान्त्वना नदिई हामी बस्नै सक्दैनौँ। हो, येसुले भन्नुभएझैँ “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ। असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ।” (मत्ति १२:३४, ३५) साँच्चै, दुःखमा परेका भाइबहिनीलाई प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका सान्त्वना दिनु हो। w२३.११ पृ. १० अनु. १०-११
आइतबार, अगस्त ३१
अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्।—दानि. १२:१०.
बाइबलको भविष्यवाणी बुझ्न हामीलाई मदत चाहिन्छ। यो उदाहरण विचार गरौँ। तपाईँ पहिला कहिल्यै नगएको ठाउँमा घुम्न जाँदै हुनुहुन्छ। अनि तपाईँसँगै त्यस ठाउँबारे राम्रो ज्ञान भएको साथी पनि छन्। तपाईँहरू कहाँ हुनुहुन्छ र कुन बाटो कहाँ जान्छ भनेर तिनलाई थाह छ। तिनी तपाईँसँगै आउन राजी भएकोमा तपाईँ पक्कै खुसी हुनुहुन्छ। यहोवा पनि त्यस्तै साथी हुनुहुन्छ। उहाँलाई हामी कुन समयमा बाँचिरहेका छौँ र हाम्रो भविष्य कस्तो छ भनेर थाह छ। त्यसैले बाइबलको भविष्यवाणी बुझ्न हामीले नम्र भई यहोवासित मदत माग्नुपर्छ। (दानि. २:२८; २ पत्रु. १:१९, २०) असल आमाबुबाजस्तै यहोवा आफ्ना छोराछोरीको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ। (यर्मि. २९:११) मानव आमाबुबाले छोराछोरीको भविष्य यस्तै हुन्छ भनेर बताउन सक्दैनन्। तर यहोवाले भने भविष्यबारे सही कुरा बताउन सक्नुहुन्छ। हामीले महत्त्वपूर्ण घटनाहरू पहिल्यै थाह पाउन सकौँ भनेर उहाँले आफ्नो वचनमा भविष्यवाणीहरू लेख्न लगाउनुभयो।—यसै. ४६:१०. w२३.०८ पृ. ८ अनु. ३-४