मसीही युवक-युवतीहरू विश्वासमा दह्रो हुनु होस्
“सबै नै उपस्थित हुनु पर्छ।” उद्घोषण यही थियो। कुनै एउटा जापानी स्कूलमा, सबै नै विद्यार्थीहरू सभा-गृहमा भेला हुनु परेको थियो। स्कूल-गानमा व्यक्त गरिने कुनै कुनै विचारहरूसँग एक जना जवान मसीही विद्यार्थी सहमत हुन सकेनन्। तर तिनले यस प्रकार सोंचे: “केही छैन। मलाई थाह छ, त्यहाँ स्कूल-गान बजाइनेछ। तर मलाई केही अप्ठ्यारो हुनेछैन। म सदा झैं पछाड़ि गएर बस्नेछु।”
तर यहोवाका यी जवान साक्षी सभा-गृहमा प्रवेश गर्दा, स्कूलका सबै शिक्षकहरू पछाड़िको पंक्तिमा बसिसकेका तिनले देखे। यसकारण, तिनले शिक्षकहरूको सामुन्ने बस्नु पऱ्यो। स्कूल-गानका निम्ति अरू सबै विद्यार्थीहरू उठ्दा, तिनी आदरपूर्वक बसी रहे। तर यो देखेर शिक्षकहरू क्रोधित भए। तिनीहरूले यी जवान साक्षीलाई बलजफत साथ उठाउने प्रयास गरे। के तपाईं यस प्रकारको परिस्थितिमा पर्नु भएको कल्पना गर्न सक्नु हुन्छ? तपाईं के गर्नु हुने थियो?
दह्रो विश्वास किन आवश्यक छ
मसीहीहरूलाई बाइबलद्वारा प्रशिक्षित तिनीहरूका अन्तस्करण अनुसार जीवन बिताउन मानिसहरूले दिए त राम्रो हुने थियो। तर अकसर, मसीहीहरूले क्लेशपूर्ण परिस्थितिहरूको सामना गर्नु पर्दछ। यसबाट हामी छक्क पर्नु हुँदैन किनभने परमेश्वरका आफ्नै पुत्र, येशू ख्रीष्टले भन्नु भयो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउने छन्।” (यूहन्ना १५:२०) खुल्लम-खुल्ला सतावट बाहेक, यहोवाका सेवकहरूले आफ्नो विश्वासका विभिन्न जाँचहरूको पनि सामना गर्दछन्।
स्कूलमा आइ पर्ने जाँचहरूको सामना गर्न मसीही युवक-युवतीहरूलाई अकसर दह्रो विश्वासको आवश्यकता पर्दछ। तिनीहरूले एउटै कक्षामा, फोहोर बोली बोल्ने अथवा ईश्वरको अनादर गर्ने प्रवृत्ति भएका विद्यार्थीहरूसँग एकै साथ बस्नु पर्ला। राष्ट्रियतालाई बढ़दो महत्त्व दिने र क्लबहरू, स्कूलको राजनीति वा आत्मिक तौरमा हानिकारक हुने किसिमका अन्य कार्यहरूमा सामेल हुने दबाउको सामना जवान मसीहीहरूले गर्न सक्तछन्। जवान मसीहीहरूलाई आफ्ना सिद्धान्तहरूको उल्लङ्घन गराउन कोशिश गर्ने दबाउ, शिक्षकहरू वा सहपाठीहरूबाट आउन सक्तछ। यसकारण, आफ्नो आशाको संरक्षण गर्न सक्नका लागि, ईश्वर-भक्त मसीही जवानहरूले यहोवाको आत्मामा भरोसा गर्न जरुरी छ।—मत्ती १०:१९, २०; गलाती ५:२२, २३.
‘जवाफ दिन सधैं तयार भइरहो’
प्रेरित पत्रुसले दिएको सल्लाह जवान र वयस्क दुवै वर्गका मसीहीहरूका निम्ति उपयुक्त छ। तिनले भने: “तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) यस प्रकार जवाफ दिन तयार हुँदा, कुन कुन कुरा आवश्यक छ? सर्व प्रथम, शास्त्रमा के सिकाइएको छ, सो तपाईंले बुझ्नु पर्दछ। स्कूलमा राष्ट्रियता, राजनीति, लागू पदार्थको कुसेवन अथवा नैतिकता सम्बन्धी अड़ान लिनका निम्ति, तपाईंले सबै भन्दा पहिले, मसीही अड़ानको कारण बुझ्नु पर्दछ र त्यसलाई साँचो हृदयसाथ विश्वास गर्न जरुरी छ।
उदाहरणकालागि, प्रेरित पावलले आफ्ना सङ्गी मसीहीहरूलाई भने: “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) यो कुरासँग के तपाईं सहमत हुनु हुन्छ? पावलले सङ्केत गरेझैं, सङ्गतको विषयमा भ्रममा पर्न सजिलो छ। कुनै एउटा व्यक्ति हेर्नमा मित्रैलो र मिलनसार होलान्। तर यहोवाको सेवाका निम्ति तिनको केही चासो छैन अथवा तिनले बाइबलमा पाइने प्रतिज्ञाहरूमा पनि विश्वास गर्दैनन् भने, तिनी खराब सङ्गत हुन्। किन? किनभने तिनको जीवन बेग्लै सिद्धान्तहरूमा आधारित छ र एक जना मसीहीका लागि जुन कुराहरू अति नै महत्त्वपूर्ण छन्, ती कुराहरू तिनका लागि केही जस्तो पनि न होला।
यो कुनै छक्क पर्ने कुरा होइन, किनभने येशूले आफ्ना चेलाहरूबारे भन्नु भयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:१६) एक जना व्यक्ति एका तिर साँचो मसीही हुन र अर्कोतिर शैतानलाई परमेश्वर मान्ने यस संसारको भाग हुन, सम्भव छैन। (२ कोरिन्थी ४:४) संसारबाट यस प्रकार अलग हुँदा, आज धेरैलाई पिरोल्ने भ्रष्टाचार र कलहबाट एक जना मसीही कसरी सुरक्षित हुन सक्छ भनी के तपाईं देख्नु हुन्छ? देख्नु हुन्छ भने, तपाईंले स्कूलका केही कार्यक्रमहरूमा भाग लिन न सक्ने भएता पनि, आफूलाई किन सधैं अलग राख्न जरुरी छ भन्ने विषयलाई तपाईंले बुझ्न सक्नु हुनेछ।a
विश्वासमा दह्रो हुनु र जीवनमा राज्यलाई प्राथमिकता दिनु कति महत्त्वपूर्ण कुराहरू हुन् भनी एउटी मसीही युवतीसँग घटेको घटना द्वारा प्रदर्शित भएको छ। (मत्ती ६:३३) स्कूलमा स्नातकहरूलाई डिग्री प्रदान गर्ने समारोहको पूर्वाभ्यास गर्ने दिनबारे घोषणा हुँदा तिनले के थाह पाइन् भने, पूर्वाभ्यास त्यही दिनमा हुने रहेछ जुन दिन यहोवाका साक्षीहरूको एउटा सम्मेलनमा उपस्थित हुने तिनले योजना मिलाएकी थिइन्। त्यो पूर्वाभ्यासमा तिनी हाजिर हुन न सक्ने कारण बताउँदै, तिनले आदरपूर्वक एउटा पत्र लेखिन् र कक्षामा पढ़ाइ शुरु हुन भन्दा अघि, पत्र आफ्ना शिक्षकलाई दिइन्। पढ़ाइ समाप्त भए पछि, शिक्षकले तिनलाई एक छेउमा बोलाएर पूर्वाभ्यासमा उपस्थित हुन न सक्ने कारण फेरि व्याख्या गर्न भने। यी युवती भन्छिन्: “पत्रमा लेखिएका शब्दहरू र मैले बोल्ने शब्दहरू एकै छन् वा छैनन् भनी तिनले थाह गर्न चाहे। के ती वास्तवमा मेरा आफ्नै विचार थिए वा मेरी आमाका विचारहरू थिए? यस विषयमा तिनले मेरो व्यक्तिगत आस्था देखे पछि, मेरो विरोध गरेनन्।”
“हरेकलाई जवाफ दिन तयार भइरहो”
मसीही युवक-युवतीहरूले अक्सर अनुभव गरेकाछन् कि कुनै विवाद उत्पन्न हुनु भन्दा अघि नै त्यस विषयमा आफ्नो अड़ान तिनीहरूले स्कूलका शिक्षकहरूलाई वा अरू विद्यार्थीहरूलाई बताइ दिंदा, समस्याहरूको सामना गर्ने बेलामा, दबाउ त्यतिको जोरदार हुँदैन। एउटी जापानी युवतीलाई अझ पनि याद छ कि जब तिनी ११ वर्षकी थिइन्, तिनी पढ़ने स्कूलका सबै विद्यार्थीहरू क्रिसमसको एउटा भोजमा उपस्थित हुन अनिवार्य थियो। ठूलो कक्षाका विद्यार्थीहरूले तिनलाई भाग लिन जोर लगाए तर तिनी उपस्थित भइनन् र तिनी उपस्थित न भएको कारण, तिनका शिक्षकले बुझेका थिए। तर कसरी? स्कूलमा वार्षिक पढ़ाइ शुरु हुने बेलामा, यी साक्षी र तिनका आमा-बाबु शिक्षकसँग भेट गर्न गएर आफ्ना मसीही अड़ानका विभिन्न पक्ष बताइ दिएका थिए।
क्षेत्र सेवकाईमा भाग लिंदा, आफ्ना सहपाठीहरू अथवा शिक्षकहरूसँग भेट होला भनी केही मसीही युवक-युवतीहरू डराउँछन्। के तपाईंलाई पनि त्यस्तै लाग्छ? लाग्छ भने, तपाईं प्रचार गर्न घर-घर जानु हुन्छ र यसरी किन जानु हुन्छ भनी स्वयं अघि सर्नु भएर आफ्ना कक्षाका सहपाठीहरूलाई किन बताउनु हुन्न? यहोवाका एक जना १४ वर्षीय साक्षीले यो रिपोर्ट दिएका छन्: “मेरो मसीही अडान बारे स्कूलमा सबैलाई थाह छ। वास्तवमा, तिनीहरूलाई यति राम्रोसँग थाह छ कि म क्षेत्र सेवकाईमा भाग लिइरहेको बेलामा कुनै सहपाठीसँग भेट भयो भने, मलाई लाज लाग्दैन। आफ्ना सहपाठीहरूले अकसर सुनी दिन्छन् र धेरै पटक बाइबल सम्बन्धी साहित्यहरू पनि स्वीकार गर्छन्।” एक जना १२ वर्षीय युवकले क्षेत्र-सेवकाईमा हिंड़ेको बेलामा आफ्ना सहपाठीहरू भेट्ने प्रतिक्षा गर्छन्। तिनीहरूलाई भेट्दा अलमल्ल पर्नुको सट्टा, तिनीहरूसँग भेट हुँदा भन्ने कुराको राम्रोसँग पूर्वाभ्यास गर्छन्। यस प्रकार, आफ्नो विश्वास बारे ठोस कारणहरू प्रस्तुत गर्न तिनी तयार रहन्छन्।
धेरै स्कूलहरूमा, दैनिक पढ़ाइको समय पछि हुने कार्यक्रममा भाग लिनु न लिनु एउटा व्यक्तिगत रोजाइको कुरा हुन्छ। तर वास्तवमा, यी गतिविधिहरूमा भाग लिन लगाउन, शिक्षकहरू र विद्यार्थीहरूले व्यक्ति-व्यक्तिमाथि धेरै नै जोर लगाउँछन्। यस प्रकारको दबाउको मुकाबिला गर्ने उपाय, एउटी २० वर्षीया युवतीले भेट्टाइन्। तिनी भन्छिन्: “हाइ-स्कूलमा म पढ़ुञ्जेल, सहायक अग्रगामीको हैसियतमा सेवा गरिनै रहें। सबैलाई थाह थियो कि म आफ्नो धार्मिक गतिविधिहरूमा अति नै व्यस्त भएको हुनाकारण, अरू काम-कुरामा भाग लिने मलाई फुर्सत थिएन।” यी साक्षीकी कान्छी बहिनीले पनि यही मार्ग अपनाइन्। केही मसीही युवक-युवतीहरू स्कूलको पढ़ाइ समाप्त हुनासाथै, सहायक अग्रगामीबाट सोझै नियमित अग्रगामी भएर पूर्ण समय राज्यको घोषणा गर्न बिताउन थाल्छन्।
तपाईंको असल चालचलन र निडरताका साथ दिनु हुने साक्षीको राम्रो प्रभावको उपेक्षा न गर्नुहोस्। चुप लागेर बस्नु भन्दा, तपाईं विश्वासमा दह्रो हुनु हुन्छ भन्ने कुरा, आरदपूर्वक तर निडरताका साथ बोलेर किन प्रदर्शित न गर्ने? अशुरी सेनापति नामानको घरानामा कैदी बनाइएर लगिएकी एउटी इस्राएली युवतीले यसै गरी। (२ राजा ५:२-४) ती सानी केटी बोल्न अघि सरेकी हुनाकारण, यहोवाको नाउँको प्रशंसा भयो। तपाईंमा पनि त्यसै प्रकारको विश्वास छ भने, परमेश्वरको आदर गर्न सक्नु हुनेछ र अरूहरूलाई पनि उहाँका नाउँको प्रशंसा गर्ने मद्दत दिन सक्नु हुनेछ।
कुरा के हो भने, आफ्नो विश्वासको विपरीत काम गर्दै, हामी मसीही रही रहन सक्तैनौं। येशूले भन्नु भयो: “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु।” (मत्ती १०:३२, ३३) येशूको एक जना चेला भएर, विश्वासमा दह्रो रहनु एउटा गम्भीर जिम्मेवारी हो, होइन र?
उपलव्ध सहायता
यहोवाको एक जना साक्षी भएर दृढ़ताकासाथ आफ्नो अड़ानमा बस्नका लागि, तपाईंलाई दह्रो विश्वास चाहिन्छ। यसका लागि, तपाईंले लगनशीलताका साथ बाइबल अध्ययन गर्नु, मसीही सभाहरूमा उपस्थित हुनु र क्षेत्र सेवकाईको काममा भाग लिनु पर्दछ। यी सबै गरेर पनि तपाईंलाई कुनै कुराको अभाव महसुस भइरहेको छ भने, के गर्न सक्नु हुन्छ? येशूका चेला याकूबले भने: “तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस् र त्यसलाई सो दिइनेछ।” (याकूब १:५) तपाईंका समस्याहरूबारे यहोवासँग प्रार्थना द्वारा कुरा गर्नु होस्; कष्टहरू अथवा आफ्नो विश्वासका जाँचहरूको सामना गर्न उहाँले तपाईंलाई बलियो तुल्याउन सक्नु हुन्छ।
एक जना जवान मसीहीले अरू के पनि गर्न सक्छन्? हितोपदेशको पुस्तकमा हामीलाई भनिएको छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” (हितोपदेश २३:२२) यो सल्लाहलाई समर्थन गर्दै, प्रेरित पावलले भने: “ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।” (कलस्सी ३:२०) मसीही आमाबाबुहरूले तपाईंलाई विश्वासमा दह्रो हुने मद्दत दिन सक्तछन्। तिनीहरूले दिएका सर-सल्लाहरू सुन्ने गर्नुहोस्। तिनीहरूको मद्दत लिंदै, नया विचारहरू, सल्लाह र अनुभवहरूका लागि, शास्त्र र बाइबलमा आधारित विभिन्न प्रकाशनहरूमा खोजी गर्नुहोस्। यसो गर्नु, तपाईं र तपाईंका आमाबाबु, दुवैका लागि एउटा अति नै रमाइलो अनुभव हुनेछ र यसबाट तपाईंले आफ्नो लज्जालुपना अथवा भयलाई जित्ने मद्दत पाउनु हुनेछ।—२ तिमोथी १:७.
यहोवा परमेश्वरले मसीही मण्डली द्वारा मिलाउनु भएका सारा प्रबन्धहरूबाट पूर्ण लाभ उठाउनु होस्। सभाहरूका निम्ति राम्रोसँग तयारी गर्नुहोस्। तपाईंले हाल सामना गरिरहनु भएका कुराहरू अनुभव गरिसकेका नियुक्त प्राचीनहरू र अन्य अरूहरूसँग कुरा गर्नु होस्। सुलेमानले भने: “हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान मानिसका आहान र अड़कोहरू बुझ्न बुद्धिमान मानिसले यो ध्यानसित सुन्यो भने आफ्नो विद्या बढ़ाउनेछ।” यसकारण, यी पाको उमेर भएकाहरूबाट सिक्ने गर्नुहोस्। साथै, तपाईंका जस्तै समस्याहरूको सफलतापूर्वक सामना गरिरहेका अरू मसीही युवक-युवतीहरूबाट पनि तपाईं सिक्न सक्नु हुन्छ।
विश्वासिलोपनाद्वारा आशिषहरू आउँछन्
विश्वासमा दह्रो हुनु भयो भने, तपाईंले पावलका यी सल्लाह प्रयोगमा ल्याउनु भएको हुनेछ: “स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ।” (१ कोरिन्थी १५:५८) तपाईंले सामना गर्नु परेका समस्याहरू यहोवा जान्नु हुन्छ र उहाँले ती बुझ्नु हुन्छ। यस्तै प्रकारका कठिनाइहरूको सामना गर्ने धेरैलाई उहाँले बलियो तुल्याउनु भएको छ र उहाँले तपाईंलाई पनि बलियो पार्नु हुनेछ। तपाईंले परमेश्वरमा भरोसा राख्नु भयो भने, उहाँले तपाईंलाई सम्हाल्नु हुनेछ किनकि भजनसंग्रहका लेखकले भने: “तेरो भारी परमप्रभुमा [यहोवामा, न्यु. व.] राख र उहाँले तँलाई सह्माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनु हुनेछैन।”—भजनसंग्रह ५५:२२.
पत्रुसले लेखे: “असल विवेक राख, र जुन कुरामा तिमीहरूका विरुद्धमा खराबी बोलिन्छ, ख्रीष्टमा भएको तिमीहरूको जीवनको असल चाल-चलनलाई निन्दा गर्नेहरू त्यसैमा शर्माउन परोस्।” (१ पत्रुस ३:१६) परमेश्वरका धार्मिक नियमहरू र सिद्धान्तहरू उल्लङ्घन गर्न तपाईंले इन्कार गर्नु भयो भने, तपाईंको अन्तस्करण सफा रहनेछ र यो नै यहोवाबाट पाइने एउटा ठूलो आशिष हो। साथै, ती मसीही युवक-युवतीहरूका लागि, जसको विश्वास कमजोर होला, तपाईंले एउटा राम्रो उदाहरण कायम गर्नु हुनेछ। (१ तिमोथी ४:१५, १६) तपाईंको चाल-चलनले तिनीहरूलाई आफ्नो विश्वासमा दह्रो हुने प्रयास गर्न प्रोत्साहित पार्न सक्तछ र यस प्रकार तिनीहरू जाँचहरूको सामना गर्न सक्षम हुनेछन्।
शुरु शुरुमा तपाईंको मसीही अड़ानको विरोध गर्ने व्यक्तिहरूलाई पनि तपाईंले मद्दत दिन सक्नु होला। आशा जागृत गराउने यी शब्दहरू सम्झनु होस्: “बिहान समयमानै बिउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न न छोड़, किनभने अहिले छरेको अथवा भरै छरेको कुन चाहिं सफल हुन्छ, अथवा दुवैनै राम्रो हुन्छन् होला भनी तँ जान्दैनस्।” (उपदेशक ११:६) तपाईंका विश्वासी कार्यहरू द्वारा छर्नु भएको असल बिउका कस्ता कस्ता असल परिणाम हुनेछन् कसलाई थाह छ र?
तपाईंले कटनी गर्नु हुने सबै भन्दा ठूलो इनाम, यहोवाका सामुन्ने ग्रहणयोग्य हुनु हो। अन्ततोगत्वा, विश्वासमा दह्रो हुनाले, अनन्त जीवन पाउनु हुनेछ। (यूहन्ना १७:३; याकूब १:१२ सँग तुलना गर्नुहोस्) सिद्धान्तको उल्लङ्घन द्वारा जाँचबाट उम्केर पाउने अल्पकालीन आरामका लागि त्यो उपहार गुमाउनु उचित छैन।
यो लेखको शुरुमा उल्लेख गरिएका युवकलाई के भयो? तिनले आफ्नो जाँचको सामना गरे। स्कूलको भेला समाप्त भए पछि, तिनले परिपाटिकासाथ शिक्षकहरूलाई आफ्नो अड़ान बताउने कोशिश गरे। तिनको कुरा मान्न कोही पनि तयार भएनन्। तापनि, यहोवाको हृदयलाई आनन्दित तुल्याउन पाएकोमा तिनले सन्तोष अनुभव गरे। (हितोपदेश २७:११) स्कूलको पढ़ाइ समाप्त नहोउञ्जेल, तिनले आफ्नो विश्वासको रक्षा गरिनै रहे। त्यस पछि तिनी एउटा अग्रगामी सेवक भए। तपाईंको विश्वासपूर्ण धैर्यको पनि यस्तै आनन्दमय परिणाम होस्। र हुने पनि छ, यदि तपाईं विश्वासमा दह्रो हुनु भयो भने। (w07/15/91)
[फुटनोट]
a यी र बाइबलका अन्य सिद्धान्तहरूको छलफलका लागि, वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु र्योक द्वारा प्रकाशित, क्वेस्चन्स यङ्ग पिपल आस्क—आन्सर्स द्याट वर्क भन्ने पुस्तक हेर्नुहोस्.
[पृष्ठ २५-मा भएको पेटी]
उपलब्ध सहायता
◻ तपाईंका धर्मभीरू आमाबाबुको बुद्धिका कुराहरू सुन्नु होस्।
◻ मसीही मण्डलीमा पाइने आध्यात्मिक प्रबन्धहरूबाट लाभ उठाउनु होस्।
◻ बितेको समयमा तपाईंका जस्तै समस्याहरू अनुभव गरिसकेका नियुक्त प्राचीनहरू र अन्य अरूहरूसँग पनि कुरा गर्नु होस्।
◻ समान वाधा-विघ्नहरूको सफलतापूर्वक सामना गरिरहेका अन्य अरू जवान मसीहीहरूसँग कुरा गर्नुहोस्।