साँचो स्वतन्त्रता –कुन स्रोतबाट?
“हे परमप्रभु, [यहोवा न्यु. व.] मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन। —यर्मिया १०:२३, २४.
१, २. धेरै जसा मानिसहरूले स्वतन्त्रतालाई कुन दृष्टिले हेर्दछन्, तर अन्य अरू कुन कुराको पनि विचार गर्नु आवश्यक छ?
तपाईं निश्चय नै साँचो स्वतन्त्रता मन पराउनु हुन्छ। आफ्ना विचारहरू व्यक्त गर्न र कहाँ र कसरी बस्ने हो त्यो निर्णय गर्न तपाईं स्वतन्त्र हुन चाहनु हुन्छ। आफ्नो काम, खाने कुरा, साथी, सङ्गीत सबै तपाईं स्वयं रोज्न चाहनु हुन्छ। सानो, ठूलो सबै थोकमा तपाईंका आफ्नै अभिरुचिहरू छन्। थोरै मात्र स्वतन्त्रता भएको अथवा स्वतन्त्रता चयन गर्नै न पाइने अधिनायकवादी शासनको दासत्वमा सामान्यतया कोही पनि बस्न चाँहदैन।
२ तथापि, अरूहरूका साथ साथै तपाईंले पनि साँचो स्वतन्त्रताको लाभ उठाउन सक्नु हुने खालको एउटा संसार के तपाईं चाहनु हुन्न? एउटा यस्तो संसार जहाँ हरेकले आफ्नो जीवनमा सम्पूर्ण अभिव्यक्ति गर्न पाउन् भनेर स्वतन्त्रताको सुरक्षा गरिनेछ। र यदि सम्भव भएमा के तपाईं भय, अपराध, भोक, दरिद्रता, प्रदूषण, बिमारी, र युद्धबाट मुक्त भएको संसार चाहनु हुँदैन? जरुर पनि यस प्रकारका स्वतन्त्रताहरू धेरै नै वाञ्छनीय छन्।
३. स्वतन्त्रतालाई हामी किन महत्त्व दिन्छौं?
३ स्वतन्त्रताबारे मानिसहरू यतिको प्रवल भावना किन राख्तछन्? बाइबल भन्दछ: “जहाँ प्रभुका [यहोवाका न्यु. व.] आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) अतः यहोवा स्वतन्त्रताका परमेश्वर हुनुहुन्छ। र उहाँले हामीलाई उहाँको आफ्नै ‘स्वरूप र प्रतिरूपमा’ सृजना गर्नु भएको हुनाले उहाँले हामीलाई स्वेच्छाको भावना पहिराइ दिनु भएको छ ताकि हामी स्वतन्त्रताको मूल्याङ्कन गर्न सकौं र त्यसबाट लाभ उठाउन सकौं।—उत्पत्ति १:२६.
स्वतन्त्रताको दुरुपयोग
४, ५. इतिहासभरि स्वतन्त्रताको दुरुपयोग कसरी गरिएको छ?
४ अरूहरूले स्वेच्छाको दुरुपयोग गरेका हुनाले लाखौं मानिसहरू दासत्वमा परेका, यातना भोगेका, वा मारिएका हामी इतिहासभरि पाउँछौं। बाइबल बयान गर्दछ कि लगभग ३,५०० वर्ष अघि, “मिश्रीहरूले इस्राएली जातिलाई कठोरतासाथ काम लगाए। औ उनीहरूको जीवन नै खल्लो बनाइदिए।” (प्रस्थान १:१३, १४) इनसाइक्लोपिडिया अमेरिकाना भन्दछ कि सा. यु. पू. चौथो शताब्दीमा, एथेन्स र दुइटा अन्य युनानी शहरहरूका बासिन्दाहरूमा स्वतन्त्र नागरिकहरूको भन्दा दासहरूको संख्या चार गुणा बढी थियो। यो स्रोतले यो पनि भन्दछ: “पहिले पहिले रोममा दासको केही हक नै थिएन। साधारण अपराधकालागि पनि उसले मृत्यु-दण्ड पाउन सक्थियो।” कोम्पटन्स इनसाइक्लोपिडिया भन्छ: “रोममा राज्यको जग नै दास मजदूरी थियो। . . . दासहरूलाई अक्सर साङ्गलोमा बाँधेर नै खेतहरूमा काम गराइन्थियो। राती उनीहरूलाई एकसाथ बाँधेर जमीन मनि आधा गाडिएका ठूल-ठूला झ्यालखानहरूमा बन्द गरिन्थियो।” धेरै जसा ती दासहरू एक समयमा स्वतन्त्र भएका हुनाले, ती बरबाद प्राणीहरूले कस्तो तीतोपन अनुभव गरे होलान् भनी कल्पना गर्नु होस्।
५ शदियौंसम्म मसीही जगत एउटा अत्याचारी दास व्यापारमा व्यस्त थियो। द वर्ल्ड बुक इनसाइक्लोपिडिया भन्छ: “सा. यु. १५०० देखि १८०० सम्म, युरोपियालीहरूले अफ्रिकाबाट लगभग १ करोड काला दासहरूलाई पश्चिमी गोलार्धमा पठाए।” यो वीसवीं शताब्दीमा नै लाखौं कैदीहरूले मरुञ्जेल काम गर्न पर्यो अथवा सरकारी नीति बमोजिम उनीहरू नाट्सी निरोधन शिविरहरूमा मारिए। त्यसरी शिकार भएर कैदमा परेकाहरू मध्ये धेरै जना यहोवाका साक्षीहरू थिए किनभने तिनीहरूले त्यो हत्यारा नाट्सी शासनलाई समर्थन गर्न अस्वीकार गरेका थिए।
झूटो धर्मको बन्धन
६. पुरातन कनानमा झूटो धर्मले मानिसहरूलाई कसरी दासत्वमा पारेको थियो?
६ झूटो धर्मसित टाँसिनाले पनि दासत्वमा पर्न सकिन्छ। उदाहरणकालागि, पुरातन कनानमा मोलेकलाई केटा-केटीको बलिदान चढाइन्थ्यो। यो झूटो देवताको विशाल मूर्ति भित्र एउटा अग्निकुण्ड बलिरहन्थ्यो भन्छन्। त्यस मूर्तिको फैलिएका बाहुलीहरूमा जिउँदै केटा-केटीहरूलाई फालिदिएर उनीहरूलाई तल आगोमा घचेटी दिने गर्द थिए। कुनै कुनै इस्राएलीहरू समेतले पनि यस प्रकारको झूटो उपासनामा भाग लिए। परमेश्वर भन्नु हुन्छ कि ‘तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मोलेकको लागि आगोमा बलि चढाए। यस्ता घिनलाग्दा काम गरून् भनी उहाँले (परमेश्वरले) तिनीहरूलाई कहिल्यै आज्ञा दिनु भएन, न यस्तो कुरो कहिल्यै उहाँको मनमा आएको थियो।’ (यर्मिया ३२:३५) मोलेकबाट उसका उपासकहरूले के लाभ उठाउन सके? ती कनानी जातिहरू र मोलेकको उपासना आज कहाँ छ? ती सबै नै हराएर गए। त्यो झूटो उपासना थियो। त्यो उपासना सत्यमा आधारित नभएर झूटहरूमा आधारित थियो।—यशैया ६०:१२.
७. एजटेक धर्मसित कुन घिनलाग्दो प्रथा गाँसिएको थियो?
७ शदियौं अघि, उत्तरी अमेरिकामा, एजटेक्स भन्ने जाति झूटो धर्मको दासत्वमा परेका थिए। व्यक्ति व्यक्तिको आफ्नै व्यक्तिगत देवताहरू थिए, प्राकृतिक शक्तिहरूलाई देवता मानेर त्यसको पूजा गर्थे, दैनिक जीवनको प्रत्येक काम-कुराकालागि बेग्ला-बेग्लै देवताहरू थिए, बाली-बिरुवाहरूको आफ्नै देवता थियो, यहाँसम्म कि आत्म-हत्या समेतको पनि एउटा देवता थियो। द एनसियन्ट सन किङ्गडम्स आफ द अमेरिकाज भन्ने पुस्तकले भन्दछ: “सकेसम्म धेरै मानव हृदयहरू चढाएर ती अदृश्य शक्तिहरूलाई समर्थन गर्न र अनि त्यसबाट उनीहरूलाई शान्त राख्ने प्रबन्ध एजटेक मेक्सिकोको सरकारले माथि देखिन् तलसम्म मिलाएको हुन्थियो। ती देवताहरूको पिउने पदार्थ रगत थियो। ती देवताहरूलाई बलिदान चढाउनका निम्ति उपयुक्त कैदी शिकारहरू प्राप्त गर्न, निरन्तर साना-साना युद्धहरू भइरहन्थ्यो।” १४८६ मा एउटा विशाल स्तुपाकार मन्दिरको समर्पणा हुँदा, “बलि चढाइने ढँङ्गमा हात खुट्टा बाँधेर काटिनका निम्ति” हजारौं मानिसहरू शिकार सरह “पंक्तिबद्ध भएर पर्खी रहन्थे। उनीहरूका हृदयहरू काटेर निकाले पछि” सूर्य देवतालाई खुशी तुल्याउन “ती हृदयहरूलाई सूर्य तर्फ एक छिनका लागि राखिन्थ्यो।” द वर्ल्ड बुक इनसाइक्लोपिडिया भन्दछ: “कहिलेकाहीं उपासकहरूले बलिदानमा चढाइएको व्यक्तिको शरीरको केही अंश खाने गर्द थिए।” तरपनि, त्यस प्रकारका चलनहरूले एजटेक साम्राज्य वा तिनको झूटो धर्मलाई बचाउन सकेन।
८. एजटेकीहरूले गरिएको काटमार भन्दा धेरै नै ठूलो आधुनिक काटमारको विषयमा एउटा भ्रमण-प्रदर्शकको के भनाइ थियो?
८ एक पटक दर्शकहरू एउटा म्युजियमको भ्रमण गरिरहेका थिए जहाँ एजटेक पूजाहारीहरूले एउटा नौजवानको हृदयलाई काटिरहेको दृश्य सोकेसमा प्रदर्शित गरिएको थियो। त्यो दृश्य देखेर पर्यटकहरूको समूहबाट कसै कसैले आश्चर्य प्रकट गरे। त्यसो गर्दा, भ्रमण-प्रदर्शकले भन्यो: “गैर-मसीही देवताहरूलाई नौजवानहरू बलि चढाउने एजटेक प्रथा देखेर तपाईंहरू विचलित हुनु भएको म देख्तछु। तरैपनि, यस २० वीं शताब्दीमा युद्धका देवतालाई लाखौं नौजवानहरू बलि चढाइएको छ। के यो कुनै कम हो र?” वास्तवमा, सबै राष्ट्रहरूका धर्मगुरुहरूले युद्धमा विजयका निम्ति प्रार्थना गर्दछन् र फौजलाई आशिष दिने गर्छन् जब कि एक अर्काको हत्या गर्न दुवै पक्षमा अकसर एउटै धर्म मान्ने मानिसहरू हुन्छन्।”—१ यूहन्ना ३:१०-१२; ४:८, २०, २१; ५:३.
९. इतिहासमा सबै भन्दा बढी नावालिगहरूको ज्यान कुन प्रथाले लिने गरेको छ?
९ मोलेक र एजटेक देवताहरूलाई वा युद्धमा बलि चढाइने नौजवानहरूको संख्या भन्दा धेरै नै बढी सङ्खयामा प्रत्येक वर्ष विश्वभरि लगभग चार वा पाँच करोड बच्चाहरू गर्भ-पात द्वारा मारिन्छन्। बितेका तीन वर्षहरूमा मात्र गर्भ-पात द्वारा मारिएका बच्चाहरूको संख्या यस शताब्दीका जम्मै युद्धहरूमा मारिएका १० करोड मानिसहरूको सङ्खया भन्दा बढी छ। नाट्सी शासनकालका १२ वर्ष भित्र हत्या भएका मानिसहरू भन्दा कई गुणा धेरै बच्चाहरू प्रत्येक साल गर्भपात द्वारा मारिन्छन्। हालसालैका दशकहरूमा मोलेक वा एजटेक देवताहरूलाई बलि चढाइएको भन्दा हजारौं गुणा अधिक बच्चाहरूको हत्या तिनीहरू कोखैमा छँदा भएको छ। तरैपनि, गर्भपात गराउनेहरू वा गर्नेहरूमध्य सबैले नभए पनि धेरै जसोले कुनै न कुनै धर्म मान्ने गर्छन्।
१०. मानिसहरू झूटो धर्मको दासत्वमा अरू कुन तरिकाबाट फँसेका छन्?
१० झूटो धर्मले मानिसहरूलाई अन्य अरू तरिकाहरू द्वारा पनि दासत्वमा पार्दछ। उदाहरणकालागि, मृत् व्यक्तिहरू आत्मिक संसारमा बाँचेकै छन् भन्ने विश्वास धेरै मानिसहरू राख्तछन्। यस प्रकारको झूटो विश्चासको फलःस्वरूप, मृत् पूर्वजहरूबाट तथाकथित लाभ प्राप्त गर्ने आशा राख्दै तिनीहरूको भय र उपासना गरिन्छ। यसले गर्दा, मानिसहरू धामीहरू, झाँक्रीहरू, र पादरीहरूको दासत्वमा पर्दछन् र मृतकहरूलाई खुशी तुल्याउन तथाकथित मदत पाउनका निम्ति बाँचेकाहरूले ती धर्मगुरुहरूसित सर-सल्लाह गर्ने गर्छन्। यसैकारण, यो प्रश्न सोध्न सकिन्छ, के यस प्रकारको दासत्वबाट उम्कने कुनै बाटो छ?—व्यवस्था १८:१०-१२; उपदेशक ९:५, १०. (w 4/01/92)
[पृष्ठ ९-मा भएको चित्र]
कतिले आफ्नो स्वेच्छाको दुरुपयोग गर्दै, अरूहरूलाई दासत्वमा पारेको कुरा इतिहासभरि पाइन्छ