डरले संसारलाई छोप्छ
फेब्रुअरी २६, १९९३ का दिन शक्तिशाली कार बम विस्फोटनले न्यु योर्क शहरको ११० तले विश्व व्यापार केन्द्रलाई हल्लायो। हजारौं कामदारहरूमध्ये कोही बन्द लिफ्टभित्र फँसे भने कोही धुवैं धुवाँले भरिएको भऱ्याङ्गबाट भाग्नु पऱ्यो। अहिले यस हिंस्रक संसारमा सर्वव्याप्त भएको डर तिनीहरूले अनुभव गरे।
थुप्रै मुलुकका मानिसहरू बमको कारण आतंकित भएका छन्। आयरलैण्ड र लेबनान जस्ता देशहरूमा त्यस्तो कुरा साधारण भइसकेको छ। अरू कुरै छोडौं, मार्च १२, १९९३ का दिन भारतको बम्बईमा एकै दिनमा १३ वटा बम विस्फोटन भयो, जसमा परेर २०० मानिसहरूले आफ्नो ज्यान गुमाए। एक जना अवलोकनकर्ताले यसो भने: “बम्बईका मानिसहरू त्राही त्राही छन्।” न्युजविक पत्रिकाअनुसार कार बम विस्फोटन “जताततै हुनसक्ने भएकाले झनै भयानक भएको छ।”
आणविक डर यथावत
आणविक संयन्त्रहरूमा बम प्रहार गर्न सकिने डरले पनि मानिसहरू काँपिरहेका छन्। आणविक संयन्त्रमा बम प्रहार गर्न सफल भएमा अगण्य क्षति र कष्ट हुनसक्छ। एक जना मानिसले संयुक्त राज्यको थ्री माइल आइलण्ड आणविक भट्टिको सुरक्षा ढोका फोरेर भित्र पस्ने प्रयत्न गरेदेखि यो डर झनै बलियो भएको छ।
आतंककारीहरू र शक्तिका भोका शासकहरूले आणविक हात-हतियार हात पार्लान् भनेर धेरै मानिसहरू डराउँछन्। पहिलेको सोभियत सङ्घका थुप्रै बेरोजगार आणविक वैज्ञानिकहरूले आफ्नो सीप बेच्ने कोशिश गर्लान् भनेर पनि केही व्यक्तिहरू डराउँछन्। यस बाहेक स्टार्ट सन्धिअनुसार सामरिक महत्त्वका सबै आणविक हातहतियार नष्ट गर्नु पर्ने भए तापनि १९९९ वा अझ त्योभन्दा पछि सम्म पनि त्यो पूर्ण रूपले पालना भइसकेको हुनेछैन। त्यसबीच, भर्खर शक्तिमा आउने उग्रवादीहरूले त्यस्तो हातहतियार चलाउन सक्ने सम्भावना गर्जन लागेको कालो बादलझैं मडारिरहने छ।
हिंसाले डर बढाउँछ
चारैतिर बढिरहेको हिंस्रक अपराधको कारण मानिसहरू आफ्नै घर, सडकमा पनि भयभीत छन्। सन् १९९० मा अनुमानित २३,२०० अमेरिकीहरूको हत्या भएको थियो। शिकागो शहरमा कोकिनको प्रयोगले गर्दा एक वर्षमा झन्डै ७०० हत्याहरू भए। केही शहरहरूका कुनै कुनै इलाका रणभूमि भएका छन् र केटाकेटी लगायत लाखौं बटुवाहरू मुठभेटमा मारिएका छन्। एउटा पत्रिकाले यसो भन्छ: “मध्यम शहरहरूमा द्रुत गतिले अपराध बढिरहेको छ। . . . लागू पदार्थ र युवा हुल्याहाहरूले [संयुक्त राज्यका] बस्तीहरू भरिएको हुँदा सबैलाई त्यसको असर परेको छ। वर्षेनी ४ मध्ये १ अमेरिकी परिवारमाथि हिंस्रक अपराध वा चोरी हुने गर्छ।”—यु. एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट, अक्टोबर ७, १९९१.
बलात्कारको डरले स्त्रीहरूलाई आशङ्कित बनाउँछ। सन् १९८५ देखि १९९० बीच फ्रान्समा बलात्कारको रिपोर्ट गर्नेहरू ६२ प्रतिशतले वृद्धि भए। छ वर्षभित्र क्यानाडामा लैङ्गिक आक्रमण दोब्बर वृद्धि भएर २७,००० पुग्यो। जर्मनीको रिपोर्टअनुसार हरेक सात मिनेटभित्र एक स्त्रीमाथि लैङ्गिक आक्रमण हुने गर्छ।
आफ्नो सुरक्षाबारे केटाकेटीहरू पनि भयभीत छन्। न्युजविक को रिपोर्टअनुसार संयुक्त राज्यमा “चार, पाँच कक्षामा पढ्ने केटाकेटीहरूले समेत हातहतियार बोकेर हिंड्न थालेका छन्, जसले गर्दा स्कूलका शिक्षकहरू र अधिकारीहरू त्रसित छन्।” परिस्थिति यति गम्भीर भइसकेको छ, बृहत् शहरी स्कूल प्रशासन एकाइका एक चौथाइ स्कूलहरूले धातु सूचक यन्त्र प्रयोग गर्न थालिसकेका छन्। तापनि दृढ सङ्कल्पित युवाहरूले अरूलाई झ्यालबाट पास गरेर हुन्छ वा जसरी हुन्छ, स्कूलभित्र बन्दुक लान छोडेका छैनन्।
एड्सको डर
एड्स रोग सर्ला भनेर धेरैभन्दा धेरै मानिसहरू डराउँदैछन्। संयुक्त राज्यमा मात्रै २,३०,००० भन्दा बढी एड्स रोगीहरू छन्। पन्ध्रदेखि २४ वर्ष पुग्नेहरूबीच एड्स, मृत्युको छैटौं प्रमुख कारण बनेको छ। न्युजविक अनुसार “भविष्यमा अझ धेरै व्यापक रोगहरू आउन सक्ने डरलाग्दो सम्भावना छ।”
नाच, नाटक, चलचित्र, सङ्गीत, फेशन, टेलिभिजन, कला र त्यस्तै प्रकारका अन्य पेशाहरूमा लाग्ने मानिसहरूबीच एड्सबाट हुने मृत्यु झन् झन् बढ्दो छ। एउटा रिपोर्टअनुसार पत्रकारिता, कला र मनोरञ्जन क्षेत्रहरूमा संलग्न २५ देखि ४४ वर्षका ६० प्रतिशत प्यारिसका पुरुषहरूको एड्स रोगले गर्दा मृत्यु भएको थियो। डब्ल्युएचओ को (विश्व स्वास्थ्य संगठन) रिपोर्टअनुसार विश्वमा ८० लाखदेखि एक करोड मानिसहरू एचआइभीले ग्रस्त छन्। डब्ल्युएचओ का निर्देशक, डा. माइकल मर्सन यसो भन्छन्: “विशेषगरि विकासोन्मुख देशहरूमा एचआइभी संक्रमण द्रुत गतिले बढ्दैछ भनेर अब प्रष्ट भएको छ।”
निस्सन्देह, वातावरण र अन्य कुराहरूको पनि डर नभएको होइन। यद्यपि, माथि उल्लिखित रिपोर्टहरूले मात्र पनि यो संसारलाई डरले छोपेको छ भनेर प्रष्ट पार्छ। के यसको कुनै विशेष अर्थ छ? के हामी डरमुक्त भएर आनन्द उठाउने प्रत्याशा गर्नसक्छौं? (w94 7/15)