पाठकहरूका प्रश्नहरू
मानव रक्तबाट निकालिएको अल्बुमिन तत्त्व भएको खोप वा अन्य सुई लिनु के उपयुक्त होला?
स्पष्टसाथ भन्ने हो भने, यस सम्बन्धमा प्रत्येक मसीहीले व्यक्तिगत निर्णय गर्नुपर्छ।
रगतबाट अलग बस्नू भनी प्रेरित १५:२८, २९ मा दिइएको निर्देशन परमेश्वरका सेवकहरू पूर्ण औचित्यका साथ पालन गर्न चाहन्छन्। त्यसै निर्देशनअनुरूप मसीहीहरूले रगत ननिखारिएका मासु अथवा रगत मिसाएको ससेजजस्ता कुराहरू खाँदैनन्। तर परमेश्वरको नियम चिकित्सा क्षेत्रमा पनि लागू हुन्छ। ‘रक्तक्षेपण, रगत, रातो रक्त कोषिका, श्वेत रक्त कोषिका, प्लेटलेट्स अथवा रगत प्लाज्मा’ लिन इन्कार गर्छौं भनी उल्लेख गरिएको पत्र यहोवाका साक्षीहरूले बोक्छन्। तर ज्यादै कम मात्रामा रक्त प्रोटिन भएको सीरम सुईबारे के भन्न सकिन्छ?
यो हरेकले आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणअनुसार गर्नुपर्ने व्यक्तिगत निर्णय हो भनेर साक्षीहरूले निकैअघि बुझिसकेका छन्। जून १, १९९०, द वाचटावर को “पाठकहरूका प्रश्नहरू” मा उक्त कुरा औंल्याइएको थियो। केही खास रोगहरू लाग्दा चिकित्सकले सीरम सुई लिने सल्लाह दिएमा के गर्ने भनेर त्यो लेखमा छलफल गरिएको थियो। सैद्धान्तिक रूपमा भन्ने हो भने, त्यस्ता सुईहरूको सक्रिय तत्त्व रगत प्लाज्मा नभइ विकसित रोग प्रतिरोध क्षमता भएकाहरूको रगत प्लाज्माबाट निकालिएको रोगप्रतिकारक हो। आफ्नो अन्तस्करणलाई धक्का नदिइकन त्यस्ता सुईहरू लिन सक्छु भनी महसुस गर्ने केही मसीहीहरूले गर्भवती स्त्रीहरूको रगतको रोगप्रतिकारक गर्भमा भएको बच्चाको रगतमा गएर मिसिएको पाएका छन्। “पाठकहरूका प्रश्नहरू” मा उपरोक्त बुँदाका साथै गर्भवती स्त्रीहरूबाट केही अल्बुमिन बच्चामा पनि सर्छ भनी उल्लेख गरिएको थियो।
रगत प्रयोग नगरिने केही खोपहरूमा त्यसका तत्त्वलाई यथावत अवस्थामा राख्न तुलनात्मक रूपमा ज्यादै कम प्लाज्मा अल्बुमिन प्रयोग गरिने वा मिसाइने भएकोले धेरैले यो कुरामा ध्यान दिनुपर्ने आवश्यकता महसुस गरेका छन्। हाल सिन्थेटिक हार्मोन इपिओ का (इराइथ्रोपोइटिन) सुईहरूमा ज्यादै कम अल्बुमिन मिसाइन्छ। चिकित्सकले रक्तक्षेपण गर्नुपर्ने आवश्यकता महसुस नगरोस् भनेर केही साक्षीहरूले रक्त कोषिकाको उत्पादनमा वृद्धि ल्याउन इपिओ का सुईहरू लिएका छन्।
औषधी निर्माताहरूले नयाँ उत्पादनहरू वा पुरानै उत्पादनहरूको मिस्रणमा परिवर्तनहरू गर्नेहुँदा तुलनात्मक रूपमा कम मात्रामा अल्बुमिन प्रयोग गरिएका औषधीहरू भविष्यमा प्रयोग हुन सक्छन्। तसर्थ अल्बुमिन, चिकित्सकहरूले सुझाव दिएको खोप वा अन्य सुईहरूको तत्त्व हो वा होइन भनेर मसीहीहरूले विचार गर्न चाहनेछन्। यदि शङ्का लागेमा वा अल्बुमिन खोप वा सुईको तत्त्व हो भनी लागेमा तिनीहरूले आफ्ना चिकित्सकहरूलाई सोध्न सक्छन्।
माथि उल्लेख गरिएझैं धेरै साक्षीहरूले ज्यादै कम अल्बुमिन भएका सुई लिन आपत्ति जनाएका छैनन्। यद्यपि, कुनै व्यक्तिगत निर्णय गर्नुअघि कसैले राम्ररी सोचविचार गर्न चाहेमा जून १, १९९०, द वाचटावर को “पाठकहरूका प्रश्नहरू” मा दिइएको जानकारी फेरि हेर्नसक्छन्। (w94 10/1)
असल र खराबको ज्ञानको रूखबाट पहिले हव्वा र पछि आदमले खाएको फल के स्याउ थियो?
हामीलाई थाह छैन। धेरैले त्यस ‘निषेधित फल’ स्याउ नै होला भनी सोचेका छन् र शताब्दीऔंदेखि चित्रकारहरूले पनि अक्सर स्याउकै चित्र कोरेका छन्। तर बाइबलले रूख वा फलको नाउँ भने बताएको छैन। हव्वाले त्यसलाई “बगैंचाको बीचमा रहेको रूखको फल” मात्र भनेकी थिई।—उत्पत्ति ३:३
यस सन्दर्भमा, इन्साइट अन द स्क्रिप्चर्स मा दिइएको “स्याउ” विषयक लेख चाखलाग्दो छ:
“हिब्रू शब्द टाप्पुआक ले दर्शाउने रूख र फलको परिचयबारे धेरै अड्कल काटिएको पाइन्छ। त्यो फल आफ्नो सुगन्ध वा बास्ना द्वारा चिनिन्छ भनी उक्त शब्द आफैले देखाउँछ। त्यसको मूल शब्द नापाक हो, जसको अर्थ ‘फुक्नु; हाँफ्नु; सास फेर्ने प्रयास गर्नु’ हुन्छ। (उ २:७; अ ३१:३९; यर्मि १५:९) यस सन्दर्भमा एम. सि. फिशरले यसरी लेखे: ‘झट्ट हेर्दा [नापाक] सँगको सम्बन्ध शब्दशास्त्रको नियमबाहिर जस्तो देखिन्छ तर “सास फेर्नु” र “दुर्गन्धित श्वास निकाल्नु” एकआपसमा सम्बन्धित छन्। नापाक शब्दको पर्यायवाची शब्द पुआ को पनि (बतासको) “वेग” र “मीठो श्वास निकाल्नु, सुवासित हुनु” भन्ने अर्थ लाग्छ।’—आर. एल. ह्यारिस्द्वारा सम्पादित थिओलोजिकल बुक अफ दि ओल्ड टेस्टामेन्ट १९८०, खण्ड २, पृ. ५८६.
“स्याउको ठाउँमा सुन्तला, ज्यामिर, बेल र खुर्पानीजस्ता अन्य फलहरू पनि सुझाव गरिएका छन्। . . . तथापि, ती फलहरूसित सम्बन्धित अरबी शब्द तुफक को मौलिक अर्थ ‘स्याउ’ हो। यो शब्दको प्रयोगद्वारा तप्पूह र बेत्तप्पूह (शायद वरपर प्रशस्त मात्रामा यो फल पाइने हुनाले यी नामहरू रहन गएको हुनुपर्छ) जस्ता स्थानका हिब्रू नामहरू त्यसका अरबी समानार्थमा यथावत रहनु चाखलाग्दो छ। (यहो १२:१७; १५:३४, ५३; १६:८; १७:८) यी स्थानहरू फाँटमा नभइ साधारणतया मन्द हावापानी भएका पहाडी मुलुकमा अवस्थित थिए। यसको अतिरिक्त त्यतिबेला हावापानीमा परिवर्तनहरू भएनन् भनेर ठोकुवा गर्न मिल्दैन। इस्राएलमा अहिले स्याउका रूखहरू छन् र यो बाइबलले दिएको विवरणसित चित्तबुझ्दो गरी मिल्छ जस्तो देखिन्छ। गत शताब्दी सिरिया र प्यालेष्टाइनमा निकै वर्ष बिताइसकेका विलियम थमसनले पनि फिलिस्तियाको फाँट, आश्केलोनका इलाकामा स्याउ बगानहरू भेट्टिएको रिपोर्ट गरेका थिए।—जे. ग्रान्डेद्वारा संशोधित द ल्याण्ड एण्ड द बुक १९१०, पृ. ५४५, ५४६.
“स्याउको रूख (पाइरस मालस) विशेषगरि श्रेष्ठगीतको पुस्तकमा उल्लेख गरिएको छ। त्यहाँ शुलम्मेनीको गोठालो प्रेमीको प्रेमपूर्ण अभिव्यक्तिहरूलाई स्याउको रूखको रमाइलो छाँया र फलको मिठाससित मिलान गरिएको छ। (श्रे २:३, ५) प्रत्युत्तरमा तिनको प्रेमीले उनको सासलाई स्याउहरूको सुगन्धसित तुलना गर्छन्। (श्रे ७:९; ८:५ पनि हेर्नुहोस्।) हितोपदेशमा (२५:११) ठीक समयमा बोलेको ठीक वचनलाई ‘चाँदीको टोकरीमा सुनको स्याउ’ सित दाँजिएको छ। स्याउ उल्लेख गरिएको एक मात्र अर्को प्रसङ्ग योएल १:१२ मा पाइन्छ। जे होस्, अदनमा रहेको निषेधित फल स्याउ नै थियो भन्ने सर्वमान्य परम्पराको कुनै शास्त्रीय आधार छैन। त्यसैगरि किङ्ग जेम्स भर्सन मा (भज १७:८; हितो ७:२; र अन्य शास्त्रपदहरू) “एप्पल अफ दि आइ” [आँखाको स्याउ] भन्ने अङ्ग्रेजी अभिव्यक्ति पाइन्छ। तर यसको शाब्दिक अनुवाद ‘आँखाको नानी’ भएकोले यो हिब्रू अभिव्यक्ति होइन।”—वाचटावर बाइबल एण्ड ट्याक्ट सोसाइटी अफ न्यु योर्क, इन्क. द्वारा १९८८ मा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ १३१-२. (w94 10/15)