प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१ pp. १४-१९
  • हाम्रो धन माटोको भाँडामा छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो धन माटोको भाँडामा छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन इस्राएललाई ढालियो
  • आध्यात्मिक राष्ट्रलाई ढाल्ने
  • आज परमेश्‍वरको इस्राएललाई ढाल्ने
  • “हेर! ठूलो भीड़”
  • महान्‌ कुमाले अनि उहाँको काम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मसीही युगमा ईश्‍वरतान्त्रिक प्रशासन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१ pp. १४-१९

हाम्रो धन माटोको भाँडामा छ

“शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो धन माटाको भाँड़ामा छ।”—२ कोरिन्थी ४:७.

१. येशूको उदाहरणले हामीलाई कसरी प्रोत्साहित गर्नुपर्छ?

यस पृथ्वीमा यहोवाद्वारा ढालिनुहुँदा येशूले प्रत्यक्ष रूपमा मानव कमजोरीहरू अनुभव गर्नुभयो। उहाँको निष्ठाको उदाहरणले हामीलाई साह्रै प्रोत्साहित गर्नुपर्ने हो! प्रेरित पत्रुस यसो भन्छन्‌: “किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) त्यसरी ढालिन राजी हुनुभएर येशूले संसारमाथि विजय हासिल गर्नुभयो। उहाँले आफ्ना प्रेरितहरूलाई पनि विजयी हुन प्रोत्साहन दिनुभयो। (प्रेरित ४:१३, ३१; ९:२७, २८; १४:३; १९:८) अनि तिनीहरूलाई आखिरी भाषण दिनुहुँदा उहाँले कत्ति ठूलो प्रोत्साहन दिनुभयो! उहाँले घोषणा गर्नुभयो: “ममा तिमीहरूलाई शान्ति होस्‌ भनेर मैले तिमीहरूलाई यी कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाड़स गर, मैले संसारलाई जितेको छु।”—यूहन्‍ना १६:३३.

२. संसार अन्धा भए तापनि हामीसँग कस्तो चमक छ?

२ त्यसैगरि, प्रेरित पावलले “यस संसारको देवले” तुल्याएको अन्धोपन र ‘महिमाको सुसमाचारको चमकबीच’ तुलना गरेपछि हाम्रो बहुमूल्य सेवकाईबारे यसो भने: “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो धन माटाको भाँड़ामा छ। हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं। अन्योलमा परेका छौं, तापनि निराश भएका छैनौं। खेदिएका छौं, तापनि त्यागिएका छैनौं। पिटिएका छौं, तापनि नष्ट भएका छैनौं।” (२ कोरिन्थी ४:४, ७-९) हामी नाजुक “माटाको भाँड़ा” भए तापनि परमेश्‍वरले उहाँको आत्माद्वारा हामीलाई शैतानको संसारमाथि पूर्णतया विजयी हुनसक्नेगरी ढाल्नुभएको छ।—रोमी ८:३५-३९; १ कोरिन्थी १५:५७.

पुरातन इस्राएललाई ढालियो

३. इस्राएल राष्ट्रलाई ढाल्ने कुरा यशैयाले कसरी वर्णन  गरे?

३ यहोवाले व्यक्‍तिविशेषलाई मात्र होइन सारा राष्ट्रलाई नै ढाल्नुहुन्छ। उदाहरणका लागि, पुरातन इस्राएल यहोवाद्वारा ढालिन तयार हुँदा फलिफाप भएको थियो। तर अन्ततः त्यो राष्ट्र कठोर भएर अनाज्ञाकारी भयो। परिणामस्वरूप, इस्राएलको संस्थापकले त्यसलाई “धिक्कार” भन्‍नुभयो। (यशैया ४५:९) सा.यु.पू. आठौं शताब्दीमा यशैयाले इस्राएलको घोर पाप यहोवालाई यसरी सुनाए: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं, र तपाईं चाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं। . . . हाम्रा सबै मनपर्ने थोकहरू उजाड़ पारिएका छन्‌।” (यशैया ६४:८-११) इस्राएल विनाश योग्य भाँडाको आकारमा ढालिएको थियो।

४. यर्मियाले कस्तो दृष्टान्त देखाए?

४ यसको एक शताब्दीपछि जसै न्यायको दिन नजिक आयो, यहोवाले यर्मियालाई गाग्रो लिएर यरूशलेमका केही बूढाप्रधानहरूसहित हिन्‍नोमको बेंसीमा जाने निर्देशन दिनुहुँदै यसो भन्‍नुभयो: “तैंले त्यो गाग्री तँसँग जानेहरूकै सामने फुटाइदिनू, र तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, “जसरी कसैले कुमालेको भाँड़ा कहिल्यै नजोड़िने गरी फुटाउँछ, त्यसरीनै म यस प्रजा र यस शहरलाई नाश पार्नेछु।” ’ ”—यर्मिया १९:१०, ११.

५. यहोवाले इस्राएलमाथि कति विस्तृत न्याय गर्नुभयो?

५ सा.यु.पू. ६०७ मा नबूकदनेसरले यरूशलेम र त्यसको मन्दिर नाश गरे अनि जीवित रहेका यहूदीहरूलाई कैदी बनाएर बेबिलोन लगे। तर ७० वर्ष निर्वासनमा बिताएपछि पश्‍चात्तापी यहूदीहरू यरूशलेम र त्यसको मन्दिर पुनर्निर्माण गर्न यरूशलेम फर्कन सके। (यर्मिया २५:११) तथापि, सा.यु. प्रथम शताब्दीसम्ममा इस्राएलले फेरि महान्‌ कुमालेलाई त्यागिसकेका थिए। अनि अन्ततः परमेश्‍वरको पुत्रको हत्या गरेर घोर अपराधसमेत गरे। परमेश्‍वरले इस्राएल राष्ट्र नाश गर्न सा.यु. ७० मा रोमी विश्‍व शक्‍तिलाई प्रतिशोधीको रूपमा चलाउनुभयो अनि यरूशलेम र त्यसको मन्दिर तहसनहस गर्नुभयो। त्यसपछि इस्राएल राष्ट्रलाई “पवित्र र सुन्दर” बनाउन यहोवाले फेरि कहिल्यै आकार दिनुहुने थिएन।a

आध्यात्मिक राष्ट्रलाई ढाल्ने

६, ७. (क) पावलले आध्यात्मिक इस्राएललाई कसरी ढालिन्छ भनेर वर्णन गरे? (ख) ‘कृपा पात्रहरूको’ पूर्ण संख्या कति हो अनि त्यो संख्या कसरी पूरा भयो?

६ येशूलाई स्वीकार्ने यहूदीहरू नयाँ राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल[का]” प्रारम्भिक सदस्यका रूपमा ढालिए। (गलाती ६:१६) तसर्थ, पावलका शब्दहरू अति उपयुक्‍त छन्‌: “के एउटै माटोको डल्लोबाट एउटालाई आदरको र अर्कोलाई अनादरको भाँड़ा बनाउने कुमालेलाई माटोमाथि अधिकार छैन? औ यदि परमेश्‍वरले आफ्नो क्रोध देखाउन र आफ्नो शक्‍ति जनाउन इच्छा गरेर विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँड़ाहरूलाई साह्रै धीरजसँग सहनुभयो, र आफ्नो महिमाका सम्पत्ति आफूले अघिबाटै महिमाको निम्ति तयार गर्नुभएको कृपा पात्रहरूमाथि [देखाउनुभयो]।”—रोमी ९:२१-२३.

७ पुनरुत्थान हुनुभएको येशूले यी “कृपा पात्रहरू” १,४४,००० हुनेछन्‌ भनी पछि बताउनुभयो। (प्रकाश ७:४; १४:१) जन्मजात यहूदीहरूद्वारा उक्‍त संख्या पूरा नभएकोले यहोवाले अन्य राष्ट्रका मानिसहरूप्रति कृपा देखाउनुभयो। (रोमी ११:२५, २६) भर्खरै स्थापना भएको मसीही मण्डली दिनानुदिन विस्तार हुँदै गयो। तीस वर्षभित्र सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।” (कलस्सी १:२३) फलतः थुप्रै ठाउँमा छरिएका अनेकौं स्थानीय मण्डलीहरूको उचित देखभाल गर्नु आवश्‍यक पऱ्‍यो।

८. को को मिलेर प्रारम्भिक परिचालक निकाय बन्यो अनि तिनीहरूको संख्या कसरी वृद्धि भयो?

८ येशूले १२ प्रेरितहरूलाई परिचालक निकायको प्रारम्भिक सदस्य बन्‍न तयार पारिसक्नुभएको थियो। उहाँले तिनीहरूलाई र अरूलाई पनि सेवकाईको निम्ति प्रशिक्षण दिनुभयो। (लूका ८:१; ९:१, २; १०:१, २) सा.यु. ३३ पेन्तिकोसमा मसीही मण्डली स्थापित भयो। अनि समयको दौडान परिचालक निकायमा “यरूशलेम[का] प्रेरितहरू र धर्मगुरुहरू” पनि समावेश गरिए। येशूको सौतेनी भाइ याकूब प्रेरित नभए तापनि तिनले लामो समयसम्म अध्यक्षको हैसियतमा काम गरेजस्तो देखिन्छ। (प्रेरित १२:१७; १५:२, ६, १३; २१:१८) इतिहासकार युसिबसअनुसार, प्रेरितहरू सतावटको सिकार भए अनि तिनीहरू अन्य इलाकाहरूमा तितरबितर भए। त्यसबखत परिस्थितिअनुसार परिचालक निकायको व्यवस्था मिलाइयो।

९. येशूले कस्ता दुःखद स्थिति आउनेछ भनी भविष्यवाणी गर्नुभयो?

९ प्रथम शताब्दीको अन्ततिर ‘शत्रु शैतानले’ गहुँजस्ता ‘राज्यका सन्तानहरूबीच’ सामा छर्न थाल्यो। यो दुःखद स्थिति “जगत्‌को अन्तमा” फसलको समय नआउञ्जेल रहिरहनेछ भनी येशूले भविष्यवाणी गर्नुभयो। त्यसपछि फेरि “धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुने[थिए]।” (मत्ती १३:२४, २५, ३७-४३) त्यो कहिले हुने थियो?

आज परमेश्‍वरको इस्राएललाई ढाल्ने

१०, ११. (क) वर्तमान समयमा परमेश्‍वरको इस्राएललाई कसरी ढालिंदैछ? (ख) मसीहीजगत्‌ र समर्पित बाइबल स्टुडेन्ट्‌सको शिक्षाहरूबीच कस्तो भिन्‍नता थियो?

१० सन्‌ १८७० मा चार्ल्स टेज रसलले पिट्‌स्बर्ग, पेन्सिलभानिया, सं.रा.अ.-मा बाइबल अध्ययन समूह गठन गरे। सन्‌ १८७९ मा तिनले अहिले प्रहरीधरहरा भनिने मासिक पत्रिका प्रकाशित गर्न थाले। बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यी व्यक्‍तिहरूले केही समयभित्रै मसीहीजगत्‌ले प्राणको अमरता, नरक, पापमोचन स्थान, त्रिएक परमेश्‍वर र शिशुलाई बप्तिस्मा दिने जस्ता गैरशास्त्रीय शिक्षा अपनाएका रहेछन्‌ भनेर थाह पाए।

११ तथापि, बाइबल सत्यलाई प्रेम गर्ने यी व्यक्‍तिहरूले त्योभन्दा महत्त्वपूर्ण काम गरे। तिनीहरूले येशूको छुटकाराको बलिदानद्वारा मुक्‍ति पाउने अनि पुनरुत्थानद्वारा परमेश्‍वरको राज्य अन्तर्गत शान्तिमय प्रमोदवनमा अनन्त जीवन पाउने जस्ता बाइबलका आधारभूत शिक्षा पुनर्स्थापित गरे। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्‍वर ब्रह्‍माण्डका सार्वभौम प्रभुको हैसियतमा उच्च पारिने समय आउनै लागेको छ भनेर तिनीहरूले जोड दिए। बाइबल स्टुडेन्ट्‌स प्रभुको यो प्रार्थनाको जवाफ पाउने बेला आउनै लागेको छ भन्‍ने विश्‍वास गर्थे: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:९, १०) तिनीहरू परमेश्‍वरको आत्माद्वारा ढालिएर शान्तिप्रिय मसीहीहरूको विश्‍वव्यापी समाज बन्दै थिए।

१२. बाइबल स्टुडेन्ट्‌सले कसरी एउटा महत्त्वपूर्ण तारिखबारे थाह पाए?

१२ दानियल अध्याय ४ अनि अरू भविष्यवाणीहरू गहन अध्ययन गरेपछि येशू मसीही राजाको हैसियतमा उपस्थित हुने समय नजिकै छ भनी बाइबल स्टुडेन्ट्‌स विश्‍वस्त भए। तिनीहरूले १९१४ मा “अन्यजातिको समय” अन्त हुनेछ भनेर बुझे। (लूका २१:२४; इजकिएल २१:२६, २७) बाइबल स्टुडेन्ट्‌सले बाइबल समूहहरू (पछि मण्डली) गठन गरेर संयुक्‍त राज्यको कुना कुनासम्म आफ्नो क्रियाकलाप विस्तार गरे। तर १९ औं शताब्दीको प्रारम्भतिर तिनीहरूको बाइबल आधारित शैक्षिक कार्य युरोप र अस्ट्रेलियामा विस्तार भइसकेको थियो। अतः सुव्यवस्थित संगठनको आवश्‍यकता खट्‌कियो।

१३. बाइबल स्टुडेन्ट्‌सले कस्तो कानुनी मान्यता हासिल गरे अनि सोसाइटीका प्रथम अध्यक्षले कस्तो उल्लेखनीय सेवा गरे?

१३ बाइबल स्टुडेन्ट्‌सले कानुनी मान्यता प्राप्त गर्न १८८४ मा संयुक्‍त राज्यमा जायन्स वाच टावर ट्राक्ट सोसाइटी नामक संस्था दर्ता गराए। अनि मुख्यालय पिट्‌स्बर्ग, पेन्सिलभानियामा बनाइयो। यसका निर्देशकहरूले केन्द्रिय परिचालक निकायको हैसियतमा परमेश्‍वरको राज्यको विश्‍वव्यापी प्रचारकार्यको हेरचाह गर्न थाले। सोसाइटीको प्रथम अध्यक्ष चार्ल्स टि. रसलले धर्मशास्त्रको अध्ययन-को (अंग्रेजी) छ खण्ड लेखे अनि व्यापक प्रचार भ्रमण गरे। तिनले बाइबल अध्ययन सुरु गर्नुअघि आर्जन गरेका ठूलो धनराशी पनि विश्‍वव्यापी प्रचारकार्यको निम्ति अनुदान दिए। सन्‌ १९१६ मा युरोपमा ठूलो युद्ध मच्चिरहेको थियो। त्यसैताक प्रचार भ्रमणको क्रममा लखतरान भएका भाइ रसलको मृत्यु भयो। तिनले आफूसँग भएको सम्पूर्ण कुरा परमेश्‍वरको राज्यबारे साक्षी दिने काम विस्तार गर्न अर्पण गरे।

१४. जे. एफ. रदरफोर्डले कसरी ‘उत्तम लड़न्त लड़े’? (२ तिमोथी ४:७)

१४ जोसेफ एफ. रदरफोर्ड दोस्रो अध्यक्ष भए। त्यसअघि तिनी मिसोरीमा अस्थायी न्यायाधीश थिए। तिनले निर्भयसाथ बाइबल सत्यको वकालत गरे। फलस्वरूप, राजनीतिज्ञहरूसँग मिलेर मसीहीजगत्‌का पादरीहरूले ‘नियमद्वारा अधर्म रचे।’ जून २१, १९१८ मा भाइ रदरफोर्ड तथा अन्य सात जना अग्रज बाइबल स्टुडेन्ट्‌सलाई विभिन्‍न अभियोग लगाएर १० वा २० वर्षको कारागार सजाय दिइयो। बाइबल स्टुडेन्ट्‌सले मुद्दा दायर गरे। (भजन ९४:२०; फिलिप्पी १:७) अपील गरेपछि मार्च २६, १९१९ मा तिनीहरूको रिहाइ भयो अनि वैध अख्तियारविरुद्ध विद्रोह गरेको झूटो आरोपबाट पूर्णतया दोषमुक्‍त गरियो।b यो अनुभवले तिनीहरूलाई सत्यको पक्षमा वकालत गर्न अझ बलियो बनायो। साथै, तिनीहरूले महान्‌ बेबिलोनको विरोधको बावजूद यहोवाको मदतद्वारा सुसमाचार घोषणा गरेर आध्यात्मिक लडन्तमा विजयी हुन हरेक कदम चाले। यो लडन्त अहिले १९९९ सम्म पनि चलिरहेको छ।—मत्ती, अध्याय २३ तुलना गर्नुहोस्‌; यूहन्‍ना ८:३८-४७.

१५. किन १९३१ सालको ऐतिहासिक महत्त्व छ?

१५ सन्‌ १९२० र १९३० दशकको दौडान परमेश्‍वरको अभिषिक्‍त इस्राएल महान्‌ कुमालेको निर्देशनमा अझ ढालिए। धर्मशास्त्रका भविष्यसूचक कुराहरू स्पष्ट हुन थाल्यो। त्यसले यहोवाको आदर गर्नुका साथै येशूको मसीही राज्यप्रति ध्यान केन्द्रित गऱ्‍यो। सन्‌ १९३१ मा यहोवाका साक्षीहरू भन्‍ने नयाँ नाउँ धारण गर्न पाउँदा बाइबल स्टुडेन्ट्‌स साह्रै हर्षित भए।—यशैया ४३:१०-१२; मत्ती ६:९, १०; २४:१४.

१६ र पृष्ठ १९ को पेटी. कहिले १,४४,००० संख्या पूरा भयो अनि यसको के प्रमाण छ?

१६ सन्‌ १९३० को दशकमा “बोलावट भएका, चुनिएका र विश्‍वासीहरू[को]” संख्या अर्थात्‌ १,४४,००० पूरा भयो जस्तो देखियो। (प्रकाश १७:१४; पृष्ठ १९ को पेटी हेर्नुहोस्‌।) प्रथम शताब्दीमा कति जना अभिषिक्‍त जनहरू जम्मा गरिए अनि मसीहीजगत्‌को ठूलो धर्मत्यागको अँध्यारो शताब्दीको दौडान “सामा[हरूबाट] कति जम्मा गरिए, हामीलाई थाह छैन। तर १९३५ मा विश्‍वव्यापी तवरमा ५२,४६५ प्रकाशकहरू थिए भने स्मरणार्थका प्रतीकहरू खाएर आफ्नो स्वर्गीय आशा प्रदर्शित गर्नेहरूको शिखर संख्या ५६,१५३ थियो। अझै जम्मा गर्न बाँकी रहेका थुप्रै मानिसहरूको भविष्य चाहिं कस्तो होला?

“हेर! ठूलो भीड़”

१७. सन्‌ १९३५ मा कस्तो ऐतिहासिक घटना भयो?

१७ सन्‌ १९३५ मा स.रा.अ.-को वाशिंगटन डि.सी.-मा मे ३० देखि जून ३ तारिखसम्म चलेको अधिवेशनमा भाइ रदरफोर्डले ऐतिहासिक भाषण प्रस्तुत गरे। उक्‍त भाषणको शीर्षक थियो, “ठूलो जमात।”c आत्मिक इस्राएलको १,४४,००० माथि अन्तिम छाप लगाउने काम सक्ने सक्ने बेला, “कसैले गन्‍न नसक्ने” यो ठूलो भीड देखा पर्नेथियो। यिनीहरूले पनि “थुमाको रगत” अर्थात्‌ येशूको रगतको छुडौतीको शक्‍तिमाथि विश्‍वास गर्ने थिए साथै यहोवाको मन्दिरमा पवित्र सेवा चढाउने थिए। यिनीहरू सामूहिक रूपमा ‘फेरि मृत्यु नहुने’ पार्थिव प्रमोदवनमा प्रवेश गर्न “महा संकष्टबाट” जीवितै आउने थिए। उक्‍त अधिवेशनअघि वर्षौंसम्म यो समूहलाई यहोनादाब भनिन्थ्यो।—प्रकाश ७:९-१७; २१:४; यर्मिया ३५:१०.

१८. कुन कुन अर्थमा १९३८ निर्णायक वर्ष थियो?

१८ यी दुई समूहको स्पष्ट परिचय दिन १९३८ निर्णायक वर्ष साबित भयो। मार्च १५ अनि अप्रिल १, १९३८ को प्रहरीधरहरा-मा “उहाँको बगाल” भन्‍ने दुई भाग भएको अध्ययन लेख प्रकाशित भए। ती लेखहरूले अभिषिक्‍त जन र तिनीहरूका सहयोगी अर्थात्‌ ठूलो भीडको सापेक्षिक स्थानबारे स्पष्ट पाऱ्‍यो। त्यसपछि, जून १ अनि जून १५ को अंकमा “संगठन”-बारे अध्ययन लेखहरू प्रकाशित भए। ती लेखहरू यशैया ६०:१७ मा आधारित थिए। ईश्‍वरतान्त्रिक प्रबन्धलाई अझै राम्रो बनाउन सबै मण्डलीहरूलाई स्थानीय सेवकहरू नियुक्‍त गर्न परिचालक निकायलाई अनुरोध गर्ने आग्रह गरियो। मण्डलीहरूले त्यसै गरे।

१९ र पादटिप्पणी. ‘अरू भेडाहरूलाई’ बोलाउने कार्य ६० वर्षभन्दा अघिदेखि भइरहेको छ भनेर कस्ता तथ्यहरूले प्रमाणित गर्छन्‌?

१९ सन्‌ १९३९ सालको यहोवाका साक्षीहरूको वार्षिक पुस्तक-ले (अंग्रेजी) यस्तो रिपोर्ट दियो: “येशू ख्रीष्टका अभिषिक्‍त अनुयायीहरू अहिले पृथ्वीमा थोरै मात्र छन्‌ अनि तिनीहरूको संख्या कहिल्यै बढ्‌नेछैन। यिनीहरूलाई धर्मशास्त्रमा सियोन अर्थात्‌ परमेश्‍वरको संगठनका सन्तानका ‘अभिषिक्‍त जनहरू’ भनिएको छ। (प्रकाश १२:१७) अहिले प्रभुले ‘अरू भेडाहरू’ जम्मा गरिरहनुभएको छ र तिनीहरूद्वारा नै ‘ठूलो जमात’ बनिनेछ। (यूहन्‍ना १०:१६) अहिले जम्मा गरिंदै गरेकाहरू शेष जनहरूका सहयोगीहरू हुन्‌ र तिनीहरूले शेष जनहरूसँगसँगै काम गर्छन्‌। अबउसो ‘ठूलो जमात’ जम्मा नगरूञ्जेल ‘अरू भेडाहरूको’ संख्या बढ्‌दै जानेछ।” शेष अभिषिक्‍त जनहरूलाई ठूलो भीड जम्मा गर्ने कामको हेरचाह गर्न ढालिएको थियो। अब यो ठूलो भीडलाई पनि ढाल्नुपर्थ्यो।d

२०. सन्‌ १९४२ देखि कस्ता संगठनात्मक परिवर्तनहरू भएका  छन्‌?

२० जनवरी १९४२ मा दोस्रो विश्‍वयुद्ध असाध्यै चर्किरहेको बेला जोसेफ रदरफोर्डको मृत्यु भयो र तिनीपछि नेथेन नोर अध्यक्ष भए। सोसाइटीका तेस्रो अध्यक्षले मण्डलीहरूमा ईश्‍वरतान्त्रिक पाठशाला र मिसनरीहरूलाई प्रशिक्षण दिन गिलियड स्कूल स्थापना गरे। यस कार्यको निम्ति तिनको मीठो सम्झना गरिन्छ। तिनले सोसाइटीको सदस्यता भौतिक कुरामा नभई आध्यात्मिक कुरामा आधारित हुनुपर्छ भनेर सोसाइटीको बडापत्र संशोधन गरिएको छ भनी १९४४ मा सोसाइटीको वार्षिक सभामा घोषणा गरे। त्यसपछिका ३० वर्षभित्र विश्‍वव्यापी खेतालाहरूको संख्या १,५६,२९९ बाट वृद्धि भएर २१,७९,२५६ पुग्यो। सन्‌ १९७१-७५ को दौडान अरू संगठनात्मक परिवर्तनहरू आवश्‍यकता पऱ्‍यो। अध्यक्षको हैसियतमा सेवा गर्ने एक जना पुरुषले मात्र परमेश्‍वरको विश्‍वव्यापी राज्य प्रचारकार्यको हेरचाह गर्नसक्ने कुरा भएन। अतः समय समयमा फेरिने एक जना अध्यक्षसहित परिचालक निकायको सदस्य संख्या १८ बनाइयो। तिनीहरूमध्ये झन्डै आधा जतिले हाल आफ्नो पार्थिव जीवन पूरा गरिसकेका छन्‌।

२१. कुन कुराले सानो बगालका सदस्यहरूलाई परमेश्‍वरको राज्य पाउने योग्यको बनाएका छन्‌?

२१ सानो बगालका बाँकी सदस्यहरू दशकौंको परीक्षाहरूद्वारा ढालिएका छन्‌। ‘आत्माको गवाही पाएर’ तिनीहरू साँच्चै प्रोत्साहित भएका छन्‌। येशूले तिनीहरूलाई यसो भन्‍नुभएको छ: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।”—रोमी ८:१६, १७; लूका १२:३२; २२:२८-३०.

२२, २३. सानो बगाल र अरू भेडाहरूलाई कसरी ढालिएको छ?

२२ पृथ्वीमा शेष आत्म-अभिषिक्‍त जनहरूको संख्या घट्‌दै जाँदा, विश्‍वभरिका प्रायः सबैजसो मण्डलीहरूको आध्यात्मिक क्रियाकलाप हेरचाह गर्ने जिम्मेवारी ठूलो भीडका परिपक्व भाइहरूलाई सुम्पिएको छ। अन्तिम वृद्ध अभिषिक्‍त साक्षीहरूले आफ्नो पार्थिव जीवन अर्थात्‌ सरिम पूरा गरिसकुञ्जेल पृथ्वीमा राजाको हैसियतमा प्रशासकीय कामकुराहरू सम्हाल्न ठूलो भीडका राजकुमारहरूले राम्रो प्रशिक्षण पाइसकेका हुनेछन्‌।—इजकिएल ४४:३; यशैया ३२:१.

२३ सानो बगाल र अरू भेडाहरूलाई आदरको भाँडा बनाउन ढाल्ने काम भइरहनेछ। (यूहन्‍ना १०:१४-१६) हाम्रो आशा चाहे “नयाँ आकाश[को]” होस्‌ वा “नयाँ पृथ्वी[को],” मनतनले यहोवाको यो निमन्त्रणा स्वीकारौं: “तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। किनकि हेर, म [स्वर्गीय] यरूशलेमलाई हर्षित र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।” (यशैया ६५:१७, १८) हामी निर्बल मानिसहरू भए तापनि ‘असामान्य शक्‍ति’ अर्थात्‌ परमेश्‍वरको पवित्र आत्माको शक्‍तिद्वारा ढालिएर सधैं उहाँको सेवा गरिरहौं!—२ कोरिन्थी ४:७; यूहन्‍ना १६:१३.

[फुटनोटहरू]

a पुरातन इस्राएलले पूर्वचित्रित गर्ने धर्मत्यागी मसीहीजगत्‌ले पनि यस्तै न्याय भोग्नुपर्ने हुँदा सचेत रहून्‌।—१ पत्रुस ४:१७, १८.

b यहोवाका साक्षीहरूलाई जमानतमा रिहाइ गर्न इन्कार गर्ने रोमन क्याथोलिक न्यायाधीश मेन्टनलाई पछि घूस खाएको आरोपमा झ्यालखानामा हालियो।

c सन्‌ १९५० मा विमोचित युनानी शास्त्रको नयाँ विश्‍व अनुवाद-मा (अंग्रेजी) प्रेरित युनानी पदावलीको सही अनुवाद “ठूलो भीड” भन्‍ने प्रयोग गरिएको छ।

d सन्‌ १९३८ मा विश्‍वव्यापी स्मरणार्थ उपस्थिति ७३,४२० थियो भने तिनीहरूमध्ये ३९,२२५ अर्थात्‌ ५३ प्रतिशतले प्रतीकहरू खाएर भाग लिए। सन्‌ १९९८ मा उपस्थिति वृद्धि भएर १,३८,९६,३१२ पुग्यो भने तिनीहरूमध्ये ८,७५६ ले अर्थात्‌ १० मण्डलीहरूमा औसतन एक जनाभन्दा कमले प्रतीकहरूमा भाग लिए।

के तपाईंलाई सम्झना छ?

◻ आफ्नो पिताद्वारा ढालिन राजी हुनुभएर येशूले कसरी हाम्रो निम्ति उदाहरण छोड्‌नुभयो?

◻ पुरातन इस्राएललाई कसरी ढालियो?

◻ कसरी ‘परमेश्‍वरको इस्राएललाई’ अहिले पनि ढालिंदैछ?

◻ कुन उद्देश्‍यका लागि ‘अरू भेडालाई’ ढालिंदै छ?

[पृष्ठ १८-मा भएको पेटी]

मसीहीजगत्‌लाई अझ ढाल्ने

एथेन्स ग्रीसबाट असोशिएटेड प्रेसले हालै नियुक्‍त भएको ग्रीक अर्थोडक्स चर्चका प्रमुखबारे यस्तो रिपोर्ट पठाएको थियो: “शान्तिका सन्देशवाहक हुनुपर्ने ठाउँमा ग्रीक अर्थोडक्स चर्चका नेता त लडाइँ तयारी गर्ने सेनापति जस्ता पो देखिन्छन्‌।

“ग्रीसको शस्त्र दिवस र कुमारी मरियम स्वर्गारोहण भएको पवित्र दिवसको अवसरमा हालै आर्कविशप ख्रीष्टोडसलले यसो भने, ‘ “हामी आवश्‍यक परे रगत बगाउन र बलिदान चढाउन तयार छौं। हामी चर्चका मानिसहरू शान्तिका लागि प्रार्थना गर्छौं . . . तर आवश्‍यक परेको खण्डमा पवित्र हातहतियारलाई आशीर्वाद पनि दिन्छौं।” ’ ”

[पृष्ठ १९-मा भएको पेटी]

“अब थपिने छैन”

सन्‌ १९७० को गिलियड स्नातक समारोहमा वाच टावर सोसाइटीका तत्कालीन उपाध्यक्ष फ्रेडरिक फ्रान्जले पार्थिव आशा भएका उपस्थित सबै विद्यार्थीहरूले अभिषिक्‍त जनहरू भनेर दाबी गर्नेहरूलाई बप्तिस्मा दिनसक्छन्‌ भनी बताए। के त्यो सम्भव हुनसक्छ? बप्तिस्मा दिने यूहन्‍ना भेडा वर्गका थिए अनि तिनले येशू र केही प्रेरितहरूलाई बप्तिस्मा दिए भनेर तिनले बुझाए। त्यसपछि, तिनले के अझै पनि शेष जनहरू जम्मा गर्ने बोलावट हुँदैछ भन्‍ने प्रश्‍न उठाए। “अहँ, अब थपिने छैन! उक्‍त बोलावट त १९३१-३५ को दौडान नै पूरा भइसक्यो!” भनी तिनले जवाफ दिए। तत्पश्‍चात्‌, कोही पनि थपिने थिएन। त्यसो भए, स्मरणार्थ प्रतीकहरूमा भर्खरै भाग लिन थाल्ने नयाँ व्यक्‍तिहरू चाहिं को हुन्‌? यदि तिनीहरू शेष जनहरू हुन्‌ भने, प्रतिस्थापित शेष जनहरू हुन्‌! तिनीहरू थप शेष जनहरू होइनन्‌ तर विश्‍वासबाट तर्केर जानेहरूको सट्टामा आएका प्रतिस्थापित व्यक्‍तिहरू हुन्‌।”

[पृष्ठ १५-मा भएको चित्र]

हामी हाम्रो सेवाको धनलाई अति मूल्यवान्‌ ठान्छौं!

[पृष्ठ १६-मा भएको चित्र]

पुरातन इस्राएल मात्र विनाशको योग्य भाँडो बनिन सके

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने