प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ३/१५ pp. ३०-३१
  • सेनेगलमा मसीही आशाबारे अरूलाई बताउँदै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेनेगलमा मसीही आशाबारे अरूलाई बताउँदै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मानिसहरूका जलाहारी”
  • सत्य स्वीकार्ने चुनौती
  • सबै प्रकारका मानिसहरूले सुनिरहेका छन्‌
  • मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • विश्‍वव्यापी पानीहरूमा मानिसहरू पक्रन जाल हान्‍नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के तपाईँ मानिसहरूको जलारी बन्‍न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ३/१५ pp. ३०-३१

हामी विश्‍वास भएकाहरू हौं

सेनेगलमा मसीही आशाबारे अरूलाई बताउँदै

पुरातन समयदेखि नै माछा, आधारभूत भोजनको रूपमा लोकप्रिय हुँदै आएको छ। मानिसहरूले पृथ्वीको समुद्र, ताल र नदीहरूमा माछा मार्दै आएको हजारौं वर्ष भइसक्यो। येशू ख्रीष्टका केही प्रेरितहरू गालील समुद्रका मछुवाहरू थिए। तथापि, येशूले तिनीहरूलाई अर्कै प्रकारको माछा मार्ने कामबारे बताउनुभयो। यो आध्यात्मिक माछा मार्ने काम थियो र यसबाट मछुवा मात्र होइन तर माछालाई पनि फाइदा हुनेथियो।

यस सन्दर्भमा येशूले एक मछुवा अर्थात्‌ पत्रुसलाई यसो भन्‍नुभयो: “अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ।” (लूका ५:१०) यसप्रकारको माछा मार्ने काम अहिले सेनेगल लगायत २३० भन्दा बढी मुलुकहरूमा भइरहेको छ। (मत्ती २४:१४) यहाँ, आधुनिक समयका “मानिसहरूका जलाहारी[हरू]” निडर भई अरूलाई आफ्नो मसीही आशाबारे बताउँछन्‌।—मत्ती ४:१९.

सेनेगल, अफ्रिकाको सबैभन्दा पश्‍चिमी किनारामा अवस्थित छ। यो, उत्तरमा सहारा मरूभूमिको बलौटे भूभागदेखि लिएर दक्षिणमा कासामान्जको उष्ण जंगलसम्म फैलिएको छ। सेनेगलमा मरुभूमिको तातो हावाको साथै आन्द्र महासागरको चिसो र शीतल हावा पनि बहन्छ। यहाँ ९० लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन्‌। सेनेगलका मानिसहरू अतिथि सत्कार गर्ने स्वभावको लागि चिरपरिचित छन्‌। प्रायजसो तिनीहरूले आफूलाई इसाई भन्दैनन्‌। तिनीहरूमध्ये धेरैजसो गोठालाहरू हुन्‌ भने कतिपयको चाहिं गाईवस्तु, ऊँटको ठूलठूलो बगाल नै हुन्छ। यहाँ किसानहरू पनि छन्‌ र तिनीहरू बदाम, सुती, चामल आदिको खेती गर्छन्‌। अनि, जसले आन्द्र महासागर र देशभरिका अरू थुप्रै ठूलठूला नदीहरूबाट जालभरि टन्‍न माछा मार्ने मछुवाहरू पनि छन्‌। सेनेगलको अर्थव्यवस्थामा मत्स्य उद्योगको ठूलो हात छ। यहाँको प्रख्यात राष्ट्रिय भोजन, चीबु जेन पनि भात, माछा र तरकारीहरूको स्वादिलो परिकार हो।

“मानिसहरूका जलाहारी”

सेनेगलमा परमेश्‍वरको राज्यका ८६३ जना जोसिला प्रचारकहरू छन्‌। आध्यात्मिक माछा मार्ने काम यहाँ १९५० दशकको सुरुतिर थालिएको हो। सन्‌ १९६५ मा राजधानी डाकारमा वाच टावर सोसाइटीको शाखा कार्यालय स्थापना गरियो। मिसनरी “जलाहारी” टाढ-टाढाका मुलुकहरूबाट आउन थाले। “माछा मार्ने” काम सुरु भयो र मसीही आशाबारे अरूलाई बताउने कार्य पनि बिस्तारै अघि बढ्‌न थाल्यो। अन्ततः डाकार शहरबाहिर आल्माडिजमा नयाँ शाखा कार्यालय निर्माण गरेर जून १९९९ मा यहोवालाई समर्पण गरियो। यो एकदमै रमाहटको समय थियो!

सत्य स्वीकार्ने चुनौती

विभिन्‍न पृष्ठभूमिका मानिसहरूसित सधैंजसो भेटघाट भइरहन्छ र कोही कोहीले परमेश्‍वरको वचनमा पाइने सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌। प्रायजसोलाई बाइबलबारे खासै ज्ञान नभए तापनि यहोवा परमेश्‍वरले पुरातन समयका विश्‍वासी अगमवक्‍ताहरूलाई गर्नुभएका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनी थाह पाउँदा खुसी हुन्छन्‌।

मसीही सिद्धान्तहरूको लागि दृढ अडान लिन प्रायजसो अवस्थामा साहस चाहिन्छ, विशेष गरी पारिवारिक परम्परा र चलनहरू मुछिएको बेला। उदाहरणका लागि, सेनेगलमा बहुविवाहको व्यापक चलन छ। बाइबल अध्ययन थाल्दा दुइटी श्रीमती भएको एक जना मानिसबारे विचार गर्नुहोस्‌। के तिनले मसीही सत्य स्वीकारेर धर्मशास्त्रीय निर्देशनअनुरूप एउटै मात्र श्रीमती राख्ने साहस बटुल्नसक्छन्‌? (१ तिमोथी ३:२) अनि के तिनले आफ्नो युवावस्थाकी पत्नी अर्थात्‌ पहिलो श्रीमती राख्नेछन्‌? तिनले त्यसै गरे र अहिले डाकार इलाकाको एउटा ठूलो मण्डलीमा जोसिलो प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌। तिनको पहिलो श्रीमती लगायत १२ जनै छोराछोरीले सत्य स्वीकारेका छन्‌। यसमा १० जना छोराछोरी पहिलो श्रीमतीबाट र २ जना दोस्रोबाट हुन्‌।

मसीही आशा स्वीकार्ने अर्को अवरोध असाक्षरता पनि हो। के यसको मतलब असाक्षर मानिसहरूले सत्य स्वीकारेर त्यसलाई व्यवहारमा उतार्न सक्दैनन्‌ भनेको हो? पटक्कै होइन। मारीलाई विचार गर्नुहोस्‌। उनी ८ जना स-साना बालबच्चाकी इलमी आमा हुन्‌। उनले बालबच्चा स्कूल र आफू काममा जानुअघि बाइबल पद छलफल गर्नुपर्ने महत्त्व बुझिन्‌। तर उनले अक्षर नजानेकीले कसरी गर्न सक्थिन्‌? बिहान सबेरै उनी दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका लिएर आफ्नो घरको ढोकाबाहिर बलौटे सडकमा उभिन्थिन्‌। अनि बाटोमा हिंडिरहेका मानिसहरूलाई तिनीहरू पढ्‌न सक्छन्‌ कि भनेर सोध्थिन्‌। पढ्‌न जान्‍ने मान्छे भेटिएपछि त्यो पुस्तिका दिएर बिन्ती गर्थिन्‌: “म पढ्‌न जान्दिनँ, त्यसकारण मेरो लागि यति पढीदिनु हुन्छ कि?” उनी पढाइलाई ध्यान दिएर सुन्थिन्‌। त्यसपछि, त्यो बटुवालाई धन्यवाद दिएर छिटछिटो घरभित्र जान्थिन्‌ र आफ्ना बालबच्चाहरू स्कूल जानुअघि तिनीहरूसित रमाइलो छलफल गर्थिन्‌!

सबै प्रकारका मानिसहरूले सुनिरहेका छन्‌

सेनेगलमा मानिसहरू सडकको छेउछाउमा बसेर माछा, तरकारी वा बजारमा फलफूल बेचिरहेका हुन्छन्‌ वा विशाल बाउबाब रूखमा अडेस लिएर अलिअलि तीतो हरियो चिया, अटाया पिइरहेका हुन्छन्‌। आफूले भेटेजति सबैलाई सुसमाचार बताउन कटिबद्ध दुई जना भाइहरूले बाटोमा मागिरहेका एक जना अपांगसित कुरा गरे। अभिवादन गरिसकेपछि तिनीहरूले भने: “धेरै जना मानिसहरूले तपाईंलाई पैसा त दिन्छन्‌ तर कुरा भने गर्दैनन्‌। हामी तपाईंलाई तपाईंको भविष्यबारे एकदमै महत्त्वपूर्ण कुरा बताउन आएका हौं।” माग्ने छक्क परे। भाइहरूले भने, “हामी तपाईंलाई एउटा प्रश्‍न सोध्न चाहन्छौं। तपाईंको विचारमा संसारमा यति धेरै दुःखकष्ट हुनुको कारण के होला?” माग्नेले जवाफ दिए, “यो परमेश्‍वरकै इच्छा हो।”

त्यसपछि भाइहरूले तिनलाई धर्मशास्त्रबाट प्रकाश २१:४ बारे बताए। यो आशाको सन्देशले तिनको हृदय त छोयो नै साथै बटुवाले तिनीप्रति चासो देखाएर बाइबलको कुरा बताएकोमा तिनी प्रभावित भए। तिनको गहभरि आँसु भयो। त्यो माग्नेले पैसा माग्नुको साटो आफ्नो थालीमा भएको सबै पैसा लैजानुहोस्‌ भने! तिनले एकदमै जिद्दी गरिरहेको हुँदा अरू बटुवाहरू पनि त्यहाँ झुम्मिन थाले। बल्लतल्ल भाइहरूले त्यो माग्नेलाई पैसा लैजाँदैनौं भनेर मनाउन सके। बल्ल तिनले कुरा माने र भाइहरूलाई तिनीकहाँ फेरि आउन आग्रह गरे।

डाकारको ठूलो विश्‍वविद्यालयमा पनि आध्यात्मिक अर्थमा माछा मार्ने काम भइरहेको छ। झाँ ल्वी नाउँ गरेका चिकित्सा विषयका विद्यार्थीले बाइबल अध्ययन गर्न थाले। तिनले चाँडै सत्य स्वीकारे, यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिए। तिनी पूर्ण-समय सेवकाई गरेर परमेश्‍वरको सेवा गर्न चाहन्थे तर तिनलाई चिकित्सा अध्ययन पनि रमाइलो लाग्थ्यो। आफ्नो देशसितको अनुबन्धनले गर्दा तिनी पढाइ पूरा गर्न बाध्य थिए। यद्यपि, पढ्‌नुको साथसाथै तिनले सहायक अग्रगामी पनि गर्न थाले। एक दक्ष चिकित्सकको हैसियतमा स्नातक पाउने बित्तिकै तिनलाई बेथेल परिवारको चिकित्सकको हैसियतमा सेवा गर्न अफ्रिकाको ठूलो बेथेलेमा बोलाइयो। डाकार विश्‍वविद्यालयमै भेट भएका अर्का एक जना मानिस पनि आफ्नै देशको बेथेलमा सेवारत छन्‌।

सेनेगलमा आध्यात्मिक माछा मार्ने काम साँच्चै इनामदायी भएको छ। यहोवाका साक्षीहरूले वितरण गर्ने बाइबल साहित्यको एकदमै मूल्यांकन गरिन्छ र अहिले स्थानीय वोलोफ भाषामा पनि प्रकाशनहरू छन्‌। आफ्नै मातृभाषामा सुसमाचार सुन्‍न पाउँदा इमानदार हृदय भएका थुप्रै मानिसहरू कृतज्ञताले प्रफुल्लित भएका छन्‌। निस्सन्देह, सेनेगलका जोसिला “मानिसहरूका जलाहारी[ले]” विश्‍वास र साहसका साथ अरूलाई मसीही आशाबारे बताउँदै जाँदा यहोवाको आशिष्‌ पाएर थुप्रै प्रतीकात्मक माछाहरू जालमा पर्नेछन्‌।

[पृष्ठ ३१-मा भएको नक्सा/चित्र]

सेनेगल

[चित्र]

सेनेगलमा मसीही आशा अरूलाई बताउँदै

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने