जीवनी
यहोवाको मार्गमा अघि बढ्दै जानु हाम्रो बल र आनन्दको स्रोत हो
लुइजी डि. भ्यालेनटिनोको वृत्तान्तमा आधारित
“बाटो यही हो, यसैमा तिमीहरू हिंड़” भनी यहोवा सल्लाह दिनुहुन्छ। (यशैया ३०:२१) साठी वर्षअघि बप्तिस्मा लिएदेखि यो सल्लाह पालन गर्ने मेरो लक्ष्य भएको छ। म सानै छँदा मेरो आमाबाबुको असल उदाहरण देखेर मैले यो लक्ष्य राख्नसकें। उहाँहरू इटालीका आप्रवासी हुनुहुन्थ्यो र सन् १९२१ देखि सं.रा.अ., ओहायोको क्लिभल्याण्ड भन्ने ठाउँमा बसोबास गर्न थाल्नुभयो। त्यहाँ उहाँहरूले तीन जना छोराछोरी अर्थात् मेरो दाइ माइक, बहिनी लिडिया र मलाई हुर्काउनुभयो।
मेरो आमाबाबुले विभिन्न धर्महरू केलाउनुभयो तर पछि निराश भएर यसो गर्न छोडिदिनुभयो। तर एक दिनको कुरा हो सन् १९३२ मा बुबा इटालेली भाषामा रेडियो कार्यक्रम सुनिरहनुभएको थियो। त्यो कार्यक्रम यहोवाका साक्षीहरूले प्रसारण गरेका रहेछन् र बुबालाई आफूले सुनिरहेको कुरा मन पऱ्यो। उहाँले थप जानकारीको लागि चिठी लेख्नुभयो र यहोवाका साक्षीहरूको ब्रूकलिन, न्यु योर्कस्थित मुख्यालयबाट एक इटालेली साक्षी हामीकहाँ आउनुभयो। बिहानीपखसम्मै चलेको उत्साहवर्धक छलफलपछि मेरो आमाबाबु साँचो धर्म यही हो भनेर विश्वस्त हुनुभयो।
आमाबाबुले मसीही सभाहरू धाउन थाल्नुभयो र परिभ्रमण निरीक्षकहरूलाई खुसीसाथ घरमा बास दिनुहुन्थ्यो। म सानै भए पनि ती पुरुषहरूले मलाई प्रचारकार्यमा सँगै लग्नुहुन्थ्यो र मैले पनि यहोवालाई पूर्ण-समय सेवा गर्नेबारे सोच्न थालें। त्यस्तै एक जना पाहुना क्यारी डब्ल्यु. बार्बर हुनुहुन्थ्यो। उहाँ अहिले यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य हुनुहुन्छ। त्यसको केही समयपछि फेब्रुअरी १९४१ मा १४ वर्षको उमेरमा मैले बप्तिस्मा लिएँ र १९४४ मा मैले क्लिभल्याण्डमा अग्रगामीको रूपमा सेवा गर्न थालें। माइक र लिडिया पनि सच्चाइमा आए। माइकले आफ्नो मृत्यु नहोउञ्जेल सेवा गरे भने लिडियाले चाहिं २८ वर्षसम्म आफ्नो पति ह्यारोल्ड विड्नरलाई परिभ्रमण कार्यमा साथ दिइन्। अहिले तिनीहरू विशेष अग्रगामीको रूपमा सेवा गर्दैछन्।
जेल सजायले मेरो अघि बढ्ने अठोटलाई झन् बलियो बनाउँछ
मेरो बाइबल प्रशिक्षित अन्तस्करणले मलाई तरवार पिटेर हलोको फाली बनाऊ भन्ने यशैया २:४ अनुरूप चल्न उत्प्रेरित गरेकोले म सन् १९४५ को सुरुतिर ओहायोको चिलिकोथे फेड्रल जेलमा परें। सुरुमा त जेलका अधिकारीहरूले हामी झन्डै २०० जना साक्षीहरूलाई, यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल साहित्यहरू राख्न दिएनन्। तथापि, नजिकैको मण्डलीका साक्षीहरूले हामीलाई मदत गरे। मध्यराततिर तिनीहरूले जेलसँगैको खेतमा केही प्रकाशनहरू खसाल्थे। भोलिपल्ट बिहान हामीलाई काम गर्ने ठाउँमा लगिंदा हामी ती प्रकाशनहरू खोज्थ्यौं र जसोतसो जेलमा ल्याउँथ्यौं। हामी प्रत्येकले पत्रिका वा पुस्तक अर्को भाइलाई पास गर्नुअघि पन्ध्र मिनेट मात्र आफूसँग राख्थ्यौं। त्यतिबेला मैले साँच्चि नै यहोवाले प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजनको कदर गर्न सिकें र यो पाठ मैले अहिले पनि प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को प्रत्येक नयाँ अंक प्राप्त गर्दा सम्झन्छु।
केही समयपछि झ्यालखानामा हामीलाई मण्डलीका सभाहरू सञ्चालन गर्न दिइयो तर गैरसाक्षीहरू उपस्थित हुन पाउँदैनथे। तैपनि, जेलका केही अधिकारी र कैदीहरू लुकीछिपी उपस्थित हुन्थे र तीमध्ये कोही कोहीले सत्य पनि स्वीकारे। (प्रेरित १६:३०-३४) भाइ ए. एच. म्याकमिलनको भ्रमण साँच्चै उल्लेखनीय सान्त्वनाको स्रोत थियो। हामीले झ्यालखानामा बिताएको समय व्यर्थमा जाँदैन किनभने यसले हामीलाई भावी कार्यभारहरूको निम्ति तयार गर्छ भनी उहाँले सधैं आश्वासन दिनुहुन्थ्यो। यस प्रिय वृद्ध भाइले मेरो हृदय छुनुभयो र यहोवाको मार्गमा हिंड्ने मेरो अठोटलाई अझ बलियो बनाउनुभयो।
मैले सहयोगी पाएँ
दोस्रो विश्वयुद्धको अन्तपछि हामीलाई मुक्त गरियो र मैले अग्रगामीको काम अर्थात् पूर्ण-समय सेवकाई थालें। तर सन् १९४७ मा बुबा बित्नुभयो। परिवारलाई सहयोग गर्न मैले जागिर खाएँ र म योग्यता प्राप्त मालिस गर्ने व्यक्ति पनि भएँ। यस सीपले झन्डै ३० वर्षपछि म र मेरी श्रीमतीलाई कठिनाइको समयमा मदत गर्ने थियो। ए, मैले त कथा अर्कैतिर पो मोडेछु। पहिला म तपाईंहरूलाई मेरी श्रीमतीबारे बताउँछु।
सन् १९४९ को एक दिउँसो म राज्यभवनमै छँदा फोनको घण्टी बज्यो। मैले फोन उठाएँ र मीठो स्वरमा यस्तो भनेको सुनें: “मेरो नाउँ क्रिस्टिन गेन्चर हो। म यहोवाको एक साक्षी हुँ। जागिर खोज्न म क्लिभल्याण्ड आएकी हुँ र म मण्डलीमा सरसंगत गर्न चाहन्छु।” तिनी बसिरहेकी ठाउँबाट हाम्रो राज्यभवन टाढा थियो तर मलाई तिनको स्वर मनपऱ्यो र मैले तिनलाई हाम्रो राज्यभवनको बाटो बताइदिएँ। आइतबारको सभामा आउन प्रोत्साहन दिएँ र त्यस दिन मेरो जनभाषण थियो। आइतबारको दिन राज्यभवन पुग्ने पहिलो व्यक्ति म नै थिएँ र नचिनेको अनुहार भएको कोही पनि बहिनी आएको देखिएन। भाषणभरि नै समय समयमा मेरो आँखा ढोकातिर जान्थ्यो तर कोही पनि आएन। भोलिपल्ट मैले तिनलाई फोन गरें र तिनलाई बसका रूटहरू अझ राम्ररी थाह नभएको कुरा बताइन्। त्यसैले तिनलाई बाटोहरू राम्ररी बुझाइदिन भेट्ने कुरा मिलाएँ।
तिनका आमाबाबु चेकोस्लोभाकियाबाट आएका आप्रवासी भएको कुरा थाह पाएँ र ह्वेर आर ड देड? भन्ने पुस्तिका पढेपछि बाइबल स्टुडेन्ट्ससँग संगत गर्न थालेका रहेछन्। तिनको आमाबाबुले सन् १९३५ मा बप्तिस्मा लिएका रहेछन्। सन् १९३८ मा क्रिस्टिनको बुबा सं.रा.अ., पेन्सलभेनियाको क्लाइमर भन्ने ठाउँमा यहोवाका साक्षीहरूको मण्डलीमा कम्पनी सेवक (अहिले मण्डलीको अध्यक्ष भनिन्छ) हुनुभएछ। क्रिस्टिनले सन् १९४७ मा १६ वर्षको उमेरमा बप्तिस्मा लिइछन्। यस राम्री, आध्यात्मिक झुकाउ भएकी बहिनीसित मायाप्रीती गाँस्न मलाई धेरै समय लागेन। हामीले जून २४, १९५० मा बिहे गऱ्यौं र त्यतिबेलादेखि क्रिस्टिन मेरो विश्वासीलो जीवन साथी भएकी छिन्। उनी राज्य गतिविधिलाई प्रथम स्थान दिन सधैं तयार हुन्छिन्। यस सुयोग्य सहयोगीले मेरो जीवनमा साथ दिन इच्छुक भएकोले म यहोवाप्रति कृतज्ञ छु।—हितोपदेश ३१:१०.
अत्यन्तै अचम्मको कुरा
नोभेम्बर १, १९५१ मा हामीले सँगै अग्रगामीको काम गर्न थाल्यौं। दुई वर्षपछि टोलेडो, ओहायोमा आयोजित अधिवेशनमा भाइ ह्युगो राइमर र अल्बर्ट श्रोडरले मिसनरी सेवा गर्न इच्छुक अग्रगामीहरूको समूहसँग कुरा गर्नुभयो। हामी पनि त्यही समूहमै थियौं। हामीलाई क्लिभल्याण्डमै अग्रगामीको काम गर्न प्रोत्साहन दिइयो तर त्यसको अर्को महिना, फेब्रुअरी १९५४ देखि सुरु हुने वाचटावर बाइबल स्कूल अफ गिलियडको २३ औं कक्षामा भाग लिन निमन्त्रणा पाउँदा हामी त तीन छक पऱ्यौं!
त्यतिबेला न्यु योर्कको साउथ ल्यानसिङस्थित गिलियड स्कूल जाने क्रममा क्रिस्टिन यस्तो आत्तिएकी थिइन् कि मैले गाडी हाँक्दै गर्दा तिनले “बिस्तारै चलाउनुस्, बिस्तारै चलाउनुस् न भन्या!” भनेको भनेकै गरेकी थिइन्। मैले भनें, “क्रिस्टिन अब योभन्दा पनि बिस्तारै चलायो भने त गाडी रोकिन्छ।” तर स्कूल पुगेपछि चाँडै हामीलाई अप्ठ्यारो महसुस हुन छोड्यो। भाइ नेथन नोरले विद्यार्थीहरूको समूहलाई स्वागत गर्नुभयो र हामीलाई यताउता घुमाउनुभयो। उहाँले हामीलाई पानी र विद्युत् कसरी बचाउन सकिन्छ भनेर पनि बताउनुभयो र राज्य गतिविधिको देखभाल गर्दा मितव्ययी हुनु सद्गुण हो भनी जोड दिनुभयो। यो सल्लाह हाम्रो मनमा ठप्प बस्यो। हामी अझ पनि त्यसरी नै जीवन बिताइरहेका छौं।
रियोसम्मको हवाईयात्रा
हामीले चाँडै स्नातक प्राप्त गऱ्यौं र डिसेम्बर १०, १९५४ का दिन जाडो महिनाको चिसो न्यु योर्क शहरबाट हवाईजहाज चढ्यौं। हाम्रो नयाँ कार्यक्षेत्र अर्थात् ब्राजिलको घमाइलो रियो दे जेनेरियोसम्म उडेर जाने प्रत्याशादेखि हामी रोमाञ्चित थियौं। सँगी मिसनरीहरू पिटर र बिल्ली कारबेलो पनि हामीसँगै यात्रा गरे। पोर्टो रिको, भेनेज्वेला र उत्तरी ब्राजिलको बेलेंम भन्ने ठाउँमा केही समय रोकेर हाम्रो जम्मा उडान समय २४ घण्टा हुनुपर्ने थियो। तर, इन्जिनको समस्याले गर्दा हामीलाई रियो दे जेनेरियो पुग्न ३६ घण्टा लाग्यो। त्यसबेला हामीले विमानबाट देखेको दृश्य साह्रै भव्य थियो! शहरका बत्तीहरू मखमली कार्पेटमा चम्किलो हीरा चम्केझैं देखिन्थे र चन्द्रमाको चाँदीजस्तो प्रकाश ग्युनाबारा बेको पानीमा झलमल्ल चम्किरहेको थियो।
बेथेल परिवारका केही सदस्यहरू हामीलाई विमानस्थलमा कुरिरहेका थिए। हामीलाई न्यानो स्वागत गरेपछि उहाँहरूले हामीलाई शाखा कार्यालय लग्नुभयो र बिहान तीन बजेतिर बल्ल हामी सुत्यौं। केही घण्टापछि उठ्ने घण्टीको आवाजसँगसँगै हाम्रो मिसनरी कार्यको पहिलो दिन सुरु भयो!
प्रथम पाठ
हामीले चाँडै एउटा महत्त्वपूर्ण पाठ सिक्यौं। एक साँझ हामीले एउटा साक्षी परिवारसँग समय बिताएका थियौं। शाखा कार्यालयमा फर्किनै लागेको बेला उक्त मसीही भाइले कर गर्दै भने, “तपाईंहरू नजानुहोस्, पानी परिरहेको छ।” हामीले रात त्यहीं बिताओस् भनेर तिनले निकै प्रयास गरे। तिनको कुरालाई हल्कासँग लिंदै मैले यसो भनें, “यस्तो पानी त हाम्रो देशमा पनि पर्छ नि।” अनि हामी त्यहाँबाट निस्क्यौं।
रियोलाई चारैतिरबाट पहाडले घेरेको कारण वर्षाको पानी चाँडै जम्मा भएर शहरमा बग्दो रहेछ र अक्सर यही कारणले गर्दा बाढी आउँदो रहेछ। केही समयमै पानी हाम्रो घुँडा माथिमाथिसम्म पुग्यो। शाखा कार्यालयसँगैका सडकहरू उर्लंदो नदीमा परिणत भइसकेका थिए र पानी हाम्रो छातीसम्म पुग्यो। बल्लतल्ल बेथेल पुगुञ्जेल हामी निथ्रुक्कै भइसकेका थियौं। भोलिपल्ट क्रिस्टिन असाध्यै बिरामी भइन् र तिनलाई टाइफोड जरो आयो। यसले गर्दा तिनी लामो समयसम्म कमजोर भइन्। निश्चय पनि नयाँ मिसनरीहरूको रूपमा हामीले अनुभवी स्थानीय भाइहरूको सल्लाह सुन्नुपर्ने थियो।
मिसनरी र परिभ्रमण कार्यमा प्रारम्भिक कदमहरू
यस्तो अलि नराम्रो सुरुआतपछि हामीले उत्सुकतासाथ क्षेत्र सेवकाई सुरु गऱ्यौं। हामीले भेटे जति सबैलाई पुर्तुगाली भाषामा प्रस्तुति पढेर सुनाउँथ्यौं र हामीलाई आफूले पुर्तुगाली भाषामा केही प्रगति गरिरहेका छौं जस्तो लाग्थ्यो। घरधनी क्रिस्टिनलाई यसो भन्थे, “मैले तपाईंको कुरा त बुझें” र मलाई देखाउँदै “तर उहाँको कुराचाहिं बुझिनँ।” अर्को घरधनीले चाहिं मलाई यसो भने, “मैले तपाईंको कुरा त बुझें तर उहाँको बुझ्नसकिनँ।” तैपनि, त्यस सुरुका केही हप्ताहरूमा १०० भन्दा बढी प्रहरीधरहरा-को ग्राहक बनाउनसक्दा हामी ज्यादै रोमाञ्चित भयौं। साँच्चै भन्ने हो भने, हाम्रो केही बाइबल विद्यार्थीहरूले हामी ब्राजिल पुगेको पहिलो वर्षमै बप्तिस्मा लिए र हाम्रो यस मिसनरी कार्यभार कत्तिको फलदायी छ भनेर हामीले स्वाद पायौं।
सन् १९५० को दशकको बीचतिर ब्राजिलका थुप्रै मण्डलीहरूमा योग्य भाइहरूको कमी भएको कारण नियमित तवरमा क्षेत्रीय निरीक्षकको भ्रमण हुँदैनथ्यो। त्यसैले, अझै भाषा सिकिरहेको र पुर्तुगालीमा जनभाषण नदिएको भए तापनि सन् १९५६ मा मैले साऊ पाउलो राज्यमा क्षेत्रीय निरीक्षकको काम गर्ने कार्यभार पाएँ।
हामीले भ्रमण गरेको पहिलो मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण नभएको दुई वर्ष भइसकेकोले सबैले जनभाषण सुन्ने ठूलो प्रतीक्षा गरिरहेका थिए। त्यस भाषण दिन मैले पुर्तुगाली भाषाका प्रहरीधरहरा-का लेखका अनुच्छेदहरू काटें र एउटा कागजमा ती काटेका टुक्राहरू टासें। त्यस आइतबारको दिन राज्यभवन टन्नै भरिएको थियो। मानिसहरू मञ्चमा समेत बसिरहेका थिए, सबै त्यस ठूलो अवसरको पर्खाइमा थिए। भाषण वा भनौं पढाइ सुरु भयो। समय समयमा म दर्शकहरूलाई यसो हेर्थें र केटाकेटीलगायत सबै एक टक लगाएर भाषण सुनिरहेको देखेर म छक्क परें। मैले सोचें: ‘वाह! मेरो पुर्तुगाली त निकै प्रगति भएछ! नत्र यी मानिसहरू यति ध्यान दिएर किन सुन्थे।’ वर्षौंपछि त्यस मण्डलीमा फेरि जाँदा त्यस पहिलो भ्रमणमा उपस्थित भएका भाइले यसो भने: “तपाईंले पहिलो चोटि दिनुभएको जनभाषण सम्झनुभएको छ? हामीले तपाईंले भन्नुभएको एक शब्द पनि बुझेका थिएनौं।” म आफैले पनि पटक्कै नबुझेको कुरा मैले स्वीकारें।
क्षेत्रीय कामको त्यो पहिलो वर्षमा म अक्सर जकरिया ४:६ पढ्थें। ‘नता शक्तिले, तर मेरो आत्माले’ भन्ने शब्दहरूले राज्यको काममा प्रगति हुनुको एउटै मात्र कारण यहोवाको आत्मा हो भनी त्यसले मलाई सम्झना दिलाउँथ्यो। अनि हाम्रो सीमितताहरूको बावजूद प्रगति भयो पनि।
चुनौती तथा आशिष्हरू सँगसँगै
क्षेत्रीय कामको अर्थ टाइपराइटर, किताबहरूको बाकस, सुटकेस र झोलाहरू बोक्दै यात्रा गर्नु हो। एउटा बसबाट अर्को बसमा जाँदा हाम्रा सामानहरू नहराऊन् भन्ने हेतुले क्रिस्टिनले बुद्धिमानीपूर्वक हाम्रा सामानहरू गन्ती गरेर राखेकी थिइन्। हाम्रो अर्को गन्तव्यस्थान पुग्नको लागि बुंगबुंग धूलो उढ्ने बाटो भएर १५ घण्टा बस यात्रा गर्नु नौलो कुरा थिएन। कहिलेकाहीं हेर्दै भत्किन लागेको जस्तो पुलमा दुइटा बस एकै चोटि पास हुँदा आङै सिरिंङ हुन्थ्यो। यसरी पास हुँदा दुई बसको बीचमा पातलो कागज अटाउने जति ठाउँ पनि हुँदैनथ्यो। हामीले रेल, जहाज र घोडामा पनि यात्रा गऱ्यौं।
सन् १९६१ मा हामीले जिल्ला कार्य गर्न थाल्यौं। मण्डली-मण्डली जानुको सट्टा अब हामी क्षेत्र क्षेत्रको यात्रा गर्थ्यौं। हप्ताका केही साँझहरूमा विभिन्न ठाउँमा हामीले यहोवाको संगठनद्वारा निर्माण गरेको फिल्म देखाउँथ्यौं। हामीले फिल्म प्रदर्शन गरिरहेको बेला स्थानीय पादरीले बाधा पुऱ्याउन खोज्ने भएकोले, तिनीहरूले सुइँको पाउनुअगावै फिल्म देखाइ हाल्नुपर्थ्यो। एउटा शहरमा हलको मालिकलाई पादरीले धम्काएर हामीलाई हल चलाउनै दिएनन्। निकै दिनसम्म अर्को हल खोजेपछि बल्लबल्ल हामीले अर्को ठाउँ भेट्टायौं तर हामीले यसबारे कसैलाई बताएनौं र पहिलेकै ठाउँमा आउन मानिसहरूलाई निमन्त्रणा दिइरह्यौं। कार्यक्रम सुरु हुनुभन्दा अघि क्रिस्टिन त्यस हलमा गइन् र फिल्म हेर्न चाहने मानिसहरूलाई खुसुक्क नयाँ ठाउँ बताइन्। त्यस साँझ १५० जनाले फिल्म हेरे र त्यतिबेला देखाइएको फिल्मको शीर्षक पनि सुहाउँदो थियो, क्रियाशील नयाँ विश्व समाज।
कहिलेकाहीं दुर्गम क्षेत्रहरूमा जानु कष्टदायी भए तापनि त्यहाँ बस्ने नम्र भाइहरूले हाम्रो भ्रमणको असाध्यै मूल्यांकन गर्नुहुन्थ्यो र उहाँहरूको सानो घरमा हामीलाई राखेर यस्तो आतिथ्य देखाउनुहुन्थ्यो कि हामी उहाँहरूसँग बस्न पाएकोमा सधैं यहोवालाई धन्यवाद चढाउँथ्यौं। उहाँहरूसँग मित्रता गाँस्दा हामीले हृदय छुने आशिष्हरू पायौं। (हितोपदेश १९:१७; हाग्गै २:७) अतः झन्डै २१ वर्ष मिसनरी सेवा गरेपछि ब्राजिल छोड्नुपर्दा हामी साह्रै दुःखित भयौं!
आपत् परेको बेला यहोवाले हामीलाई बाटो देखाउनुभयो
सन् १९७५ मा क्रिस्टिनको शल्यक्रिया गर्नुपऱ्यो। हामीले फेरि परिभ्रमण कार्य थाल्यौं तर क्रिस्टिनको स्वास्थ्य झन् झन् नराम्रो हुँदै गयो। उनको स्वास्थ्योपचारको निम्ति संयुक्त राज्य नै फर्कनु बेस देखियो। अप्रिल १९७६ मा हामी क्यालिफोर्नियाको लंग बिच आइपुग्यौं र मेरी आमासँग बस्न थाल्यौं। दुई दशकसम्म विदेशमा बसिसकेकोले परिस्थिति सम्हाल्न असाध्यै गाह्रो भयो। मैले मालिस गर्ने काम गर्न थालें र त्यसबाट कमाएको पैसाले हाम्रो जीविकोपार्जन भयो। क्यालिफोर्निया राज्यले क्रिस्टिनको लागि अस्पतालमा ठाउँ त मिलायो तर डाक्टरहरूले उनको रगतविना उपचार गर्न नमानेकोले उनी दिनप्रति दिन झन् झनै कमजोर हुँदै गइन्। हामीलाई के गर्ने, कसो गर्ने भइरहेको थियो। त्यसैले यहोवाको डोऱ्याइ माग्यौं।
एक दिन बाहिर क्षेत्र सेवकाईमा जाँदा मैले एउटा डाक्टरको कार्यालय देखें र विना सोचिसम्झी भित्र पसें। घर जानै लागेको भए तापनि डाक्टरले मलाई भित्र बोलाए र हामीले दुई घण्टा कुरा गऱ्यौं। त्यसपछि तिनले यसो भने: “तपाईंहरूले गर्नुभएको मिसनरी कामको म मूल्यांकन गर्छु र म तपाईंको श्रीमतीको निश्शुल्क र त्यो पनि रक्तक्षेपणविना उपचार गरिदिन्छु।” मैले त पत्याउनै सकिनँ।
यो दयालु डाक्टर चिरपरिचित विशेषज्ञ नै रहेछन् र तिनले आफू काम गर्ने अस्पतालमा क्रिस्टिनलाई भर्ना गराए र तिनको एकदमै राम्रो हेरचाह भएकोले उनको स्वास्थ्यमा निकै सुधार आउन थाल्यो। त्यस कठिन समयमा यहोवाले हामीलाई मार्ग देखाइदिनुभएकोमा हामी औधी कृतज्ञ छौं!
नयाँ कार्यभार
क्रिस्टिन पुनः बलियो हुन थालेपछि हामीले अग्रगामीको रूपमा सेवा गर्न थाल्यौं र लंग बिचका केही मानिसहरूलाई यहोवाको उपासक हुन मदत गर्ने अवसर पायौं। सन् १९८२ मा संयुक्त राज्यमै हामीलाई क्षेत्रीय काम गर्न आग्रह गरियो। परिभ्रमण कार्यमा हामीलाई पुनः चलाउनुभएकोमा हामीले यहोवालाई दिनहुँ धन्यवाद दियौं। किनकि यो काम हामी असाध्यै मन पराउँथ्यौं। हामीले क्यालिफोर्निया अनि केही पुर्तुगाली मण्डलीहरू भएको न्यु इंगल्याण्डमा सेवा गऱ्यौं। पछि यसमा बर्मुडा पनि समावेश भयो।
चार स्फूर्तिदायी वर्षहरूपछि हामीले अर्को कार्यभार पायौं। हामीलाई आफूले चाहेको ठाउँमा विशेष अग्रगामीको रूपमा सेवा गर्न आमन्त्रित गरियो। परिभ्रमण कार्य छोड्नुपरेकोले हामी दुःखित थियौं तर पूरा तनमनले नयाँ कार्यभार थाल्ने हाम्रो संकल्प थियो। तर कहाँ जाने? परिभ्रमण कार्य गर्दा मैले म्यासाचुसेट्सको न्यु बेडफोर्डका पुर्तुगाली मण्डलीहरूलाई मदतको खाँचो भएको याद गरेको थिएँ। त्यसैले हामी न्यु बेडफोर्डतिर लाग्यौं।
हामी त्यहाँ आइपुग्दा मण्डलीले हामीलाई भव्य स्वागत भोज दियो। भाइहरूले हाम्रो कत्ति मूल्यांकन गर्दारहेछन् भन्ने कुरा हामीले अनुभव गऱ्यौं! हाम्रो आँखाभरि आँसु भयो। दुई साना छोरीहरू भएको एक दयालु जवान दम्पतीले हामीले आफ्नो कोठा नपाएसम्म उनीहरूको घरमा राखे। यहोवाले यस विशेष अग्रगामीको काममा हामीले आशा गरेभन्दा धेरै आशिष् दिनुभयो। सन् १९८६ देखि यता हामीले ४० विभिन्न व्यक्तिलाई साक्षी हुन मदत गरिसकेका छौं। तिनीहरू हाम्रो आध्यात्मिक परिवार हुन्। यसबाहेक, पाँच स्थानीय भाइहरू बगालको देखभाल गर्ने गोठालो भएको हेर्ने सुअवसर पनि मैले पाएको छु। यो ठाउँ पनि हाम्रोलागि फलदायी मिसनरी कार्यभार जत्तिकै भएको छ।
विगतलाई यसो फर्केर हेर्दा, युवावस्थादेखि यहोवाको सेवा गरेकोमा र सत्यलाई आफ्नो जीवनको मार्ग बनाएकोमा हामी हर्षित छौं। हो, अहिले बूढेसकाल र रोगबिमारीले हामीलाई असर गर्छ तर यहोवाको मार्गमा हिंड्नु अझै पनि हाम्रो बल र आनन्द हो।
[पृष्ठ २६-मा भएको चित्र]
रियो दे जेनेरियोमा भर्खरै पुग्दा
[पृष्ठ २८-मा भएको चित्र]
न्यु बेडफोर्ड म्यासाचुसेट्समा हाम्रो आध्यात्मिक परिवार