प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१५ pp. १९-२२
  • शापान र तिनको परिवारबारे के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शापान र तिनको परिवारबारे के तपाईंलाई थाह छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शापानले साँचो उपासनाको समर्थन गर्छ
  • अहीकाम र गदल्याह
  • गमर्याह र मीकायाह
  • एलासा र याजन्याह
  • शापान र तिनको परिवारको ऐतिहासिकता
  • हामी के सिक्न सक्छौं?
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१५ pp. १९-२२

शापान र तिनको परिवारबारे के तपाईंलाई थाह छ?

के  तपाईंले बाइबल पढ्‌नुहुँदा शापान र तिनको प्रभावशाली परिवारका केही सदस्यहरूबारे उल्लेख गरेको याद गर्नुभएको छ? तिनीहरू को थिए? तिनीहरूले के गरे? तिनीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

बाइबलले सा.यु.पू. ६४२ तिर साँचो उपासना पुनःस्थापना गर्ने योशियाहको प्रयासको सन्दर्भमा “असल्याहका छोरा मशुल्लामका नाति सेनाका सचिव शापान[बारे]” उल्लेख गरेको छ। (२ राजा २२:३) त्यसपछिका ३६ वर्ष अर्थात्‌ सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश नहोउन्जेल तिनका चार जना छोराहरू, अहीकाम, एलासा, गमर्याह र याजन्याह अनि तिनका दुई जना नातिहरू मीकायाह र गदल्याहबारे बताइएको छ। (पेटी हेर्नुहोस्‌।) इनसाइक्लोपीडिया जुडाइका-अनुसार “शापानको परिवारले [यहूदा राष्ट्रको] कर्मचारीतन्त्रमा प्रभुता जमाएको थियो र योशियाहको समयदेखि निर्वासन नभएसम्म राजाको प्रतिलिपकको हैसियतमा सेवा गरे।” शापान र तिनको परिवारबारे बाइबलमा बताइएको कुरा पुनरावृत्ति गर्दा तिनीहरूले अगमवक्‍ता यर्मिया र यहोवाको साँचो उपासनालाई कसरी समर्थन गरे भनी बुझ्न मदत पाउँछौं।

शापानले साँचो उपासनाको समर्थन गर्छ

सा.यु.पू. ६४२ मा राजा योशियाह २५ वर्षजति हुँदा शापानले राजाको सचिव र प्रतिलिपकको रूपमा सेवा गरिरहेका थिए। (यर्मिया ३६:१०) तिनले के-कस्ता कामहरू गर्नुपर्थ्यो? माथि उल्लिखित पुस्तकअनुसार शाही प्रतिलिपक र सचिवले राजाको निकटतम सल्लाहकारको हैसियतमा सेवा गर्थे, आर्थिक कारोबार तिनको जिम्मामा हुन्थ्यो, तिनी कुटनीतिमा पोख्त हुनुका साथै विदेशी मामिला, अन्तरराष्ट्रिय नियम र व्यापारिक सन्धिहरूबारे ज्ञान भएका व्यक्‍ति हुन्थे। अतः राजाको सचिवको रूपमा शापान त्यस राज्यको अत्यन्तै प्रभावशाली व्यक्‍ति थिए।

दस वर्षअघि जवान योशियाहले “आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरू” गरेका थिए। प्राप्त प्रमाणअनुसार शापान उमेरमा योशियाहभन्दा धेरै जेठा थिए, त्यसैकारण तिनले योशियाहलाई आध्यात्मिक कुराहरूसम्बन्धी राम्रो सल्लाह दिन सक्थे र साँचो उपासना पुनःस्थापना गर्ने योशियाहको पहिलो प्रयासका समर्थक थिए।a—२ इतिहास ३४:१-८.

मन्दिर पुनर्निमाणको दौडान “व्यवस्थाको पुस्तक” भेट्‌टाइयो र शापानले ‘त्यो राजाको सामने पढ़ेर सुनाउन थाले।’ योशियाह यसको विषयवस्तु सुनेर तीन छक परे र पुस्तकबारे परमेश्‍वरसित सोधपूछ गर्न अगमवादिनी हुल्दाकहाँ आफ्ना विश्‍वासी मानिसहरू पठाए। आफूले पठाएको दलमा शापान र तिनका छोरा अहीकामलाई पनि समावेश गरेर राजाले तिनीमाथि भरोसा देखाए।—२ राजा २२:८-१४; २ इतिहास ३४:१४-२२.

शापानले गरेको कामबारे धर्मशास्त्रमा यहीं एक ठाउँमा मात्र उल्लेख गरिएको छ। अन्य बाइबल पदहरूमा तिनलाई केवल बुबा र हजुरबुबा मात्र भनिएको छ। अगमवक्‍ता यर्मियासँग शापानका सन्तानहरूको नजिकको सम्बन्ध थियो।

अहीकाम र गदल्याह

हामीले माथि नै बुझिहाल्यौं, शापानका छोरा अहीकामबारे अगमवादिनी हुल्दाकहाँ पठाएको दलको सन्दर्भमा पहिलो चोटि उल्लेख गरिएको थियो। एउटा सन्दर्भ सामग्री यस्तो टिप्पणी गर्छ: “हिब्रू बाइबलमा अहीकामको पदवी नबताए तापनि तिनी उच्च ओहदाका नै हुनुपर्छ।”

त्यस घटनाको झन्डै १५ वर्षपछि यर्मियाको जीवन खतरामा परेको थियो। तिनले यरूशलेम विनाश गर्ने यहोवाको मनसायबारे मानिसहरूलाई चेतावनी दिंदा “पूजाहारीहरू, अगमवक्‍ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, ‘तँ, निश्‍चय मर्नेछस्‌।’ ” त्यसपछि के भयो? विवरण अझ यसो भन्छ: “तर शापानको छोरो अहीकाम यर्मियातर्फ थिए यसैले मारिनलाई मानिसहरूका हातमा यर्मिया सुम्पिएनन्‌।” (यर्मिया २६:१-२४) यसबाट कुन कुरा स्पष्ट हुन्छ? द एन्कर बाइबल डिक्सनरी यस्तो उल्लेख गर्छ: “यस घटनाले अहीकामको शक्‍तिबारे मात्र पुष्टि दिंदैन तर तिनी शापानका परिवारका अन्य सदस्यहरू जस्तै यर्मियाप्रति दयालु थिए भनी स्पष्ट हुन्छ।”

झन्डै २० वर्षपछि सा.यु.पू. ६०७ मा बेबिलोनीहरूले यरूशलेमलाई ध्वस्त पारेर अधिकांश मानिसहरूलाई कैदी बनाएर लगेपछि शापानका नाति, अहीकामका छोरा गदल्याह बाँकी रहेका यहूदीहरूको राज्यपाल नियुक्‍त भए। के तिनले पनि शापानका परिवारका अन्य सदस्यहरूले जस्तै यर्मियाको ख्याल राखे? बाइबल विवरण यसो भन्छ: “तब यर्मिया मिस्पामा अहीकामको छोरो गदल्याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्नलागे।” केही महिनाभित्रै गदल्याह मारिए र बाँकी रहेका यहूदीहरूले यर्मियालाई आफूसँगै मिश्र लगे।—यर्मिया ४०:५-७; ४१:१, २; ४३:४-७.

गमर्याह र मीकायाह

यर्मिया अध्याय ३६ मा वर्णन गरिएका घटनाहरूमा शापानका छोरा गमर्याह र नाति मीकायाहले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यो सा.यु.पू. ६२४ तिर राजा यहोयाकिमको शासनको पाँचौं वर्षको कुरा हो। यर्मियाका सचिव बारूकले यहोवाको मन्दिरमा “शापानको छोरा गमर्याहको कोठामा” यर्मियाका कुरा सबैले सुन्‍ने गरी पढे। त्यतिबेला “गमर्याहको छोरो, अर्थात्‌ शापानको नाति मीकायाहले त्यस बेहेरूवामा लेखिएका परमप्रभुको सबै वचन सुने।”—यर्मिया ३६:९-११.

मीकायाहले आफ्नो पिता तथा अन्य सबै हाकिमहरूलाई बेहेरूवाबारे सूचना दिए र तिनीहरू सबै बेहेरूवामा भएको कुरा सुन्‍न इच्छुक थिए। तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? “जब उनीहरूले ती सबै कुरा सुने तब उनीहरू डरले एक अर्कालाई हेर्नलागे औ उनीहरूले बारूकलाई भने, ‘हामीले यी सबै कुरा राजालाई सुनाइदिनुपर्छ।’ ” तथापि तिनीहरूले राजालाई भन्‍नुअघि बारूकलाई यस्तो सल्लाह दिए: “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाह नपाओस्‌।”—यर्मिया ३६:१२-१९.

आशा गरेझैं राजाले बेहेरूवामा भएको सन्देश स्वीकार्न इन्कार गरे र यसलाई टुक्राटुक्रा गरी काटेर जलाइदिए। शापानका छोरा गमर्याहलगायत अन्य हाकिमहरूले “राजालाई त्यो बेहेरूवा नजलाउनुहोस्‌ भनी बिन्ती गर्दा पनि तिनले उनीहरूको कुरा सुनेनन्‌।” (यर्मिया ३६:२१-२५) जेरिमाया—एन आर्कियोलोजिकल कमप्यानियन नामक पुस्तकले निष्कर्षमा यसो भन्छ: “राजा यहोयाकिमको दरबारमा गमर्याह यर्मियाको लागि बलियो समर्थक साबित भए।”

एलासा र याजन्याह

सा.यु.पू. ६१७ मा बेबिलोनले यहूदा राष्ट्रमाथि अधिकार जमायो। हजारौं यहूदीहरू, “अफिसरहरू र लड़ाकु मानिसहरू . . . सबै कारीगरहरू र लोहारहरूसमेतलाइ कैद गरेर लगे” र यस समूहमा अगमवक्‍ता इजकिएल पनि समावेश थिए। पछि बेबिलोनीहरूले मतन्याहको नाउँ परिवर्तन गरेर सिदकियाह राखिदिए अनि तिनी नयाँ वशवर्ती राजा भए। (२ राजा २४:१२-१७) पछि सिदकियाहले बेबिलोनमा पठाएको दलमा शापानका छोरा एलासा पनि थिए। यर्मियाले एलासाको हातमा निर्वासित यहूदीहरूलाई यहोवाको महत्त्वपूर्ण सन्देश भएको पत्र पठाए।—यर्मिया २९:१-३.

यसरी बाइबल रेकर्डले देखाएअनुसार शापान, तिनका तीन छोरा र दुई जना नातिहरूले साँचो उपासनाको समर्थन गर्न तथा विश्‍वासी अगमवक्‍ता यर्मियाको मदत गर्न आफ्नो उच्च ओहदाको प्रयोग गरे। शापानको छोरा याजन्याह नि? शापानका परिवारका अन्य सदस्यहरू जस्तो नभई तिनी मूर्तिपूजामा संलग्न भए। इजकिएल बेबिलोनमा निर्वासित भएको छैठौं वर्ष अथवा सा.यु.पू. ६१२ तिर अगमवक्‍ताले एउटा दर्शन देखे जसमा यरूशलेमको मन्दिरमा ७० जना मानिसले मूर्तिहरूलाई धूप चढाएका थिए। ती व्यक्‍तिहरूमध्ये याजन्याहको मात्र नाउँ उल्लेख गरिएको छ। यसबाट तिनी त्यस समूहको प्रभावशाली सदस्य हुनुपर्छ भन्‍ने बुझाउँछ। (इजकिएल ८:१, ९-१२) याजन्याहको उदाहरणबाट प्रस्ट भएअनुसार ईश्‍वरीय परिवारमा हुर्केबढेको भन्दैमा स्वतः यहोवाको विश्‍वासी सेवक हुँदैन। प्रत्येक व्यक्‍ति आफ्नो कामको लागि जिम्मेवार हुन्छ।—२ कोरिन्थी ५:१०.

शापान र तिनको परिवारको ऐतिहासिकता

शापान र तिनको परिवारले यरूशलेममा भएका घटनाहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरुन्जेल यहूदामा छाप लगाउने चलन सामान्य भइसकेको थियो। साक्षी बस्दा वा कागजातहरूमा हस्ताक्षर गर्दा छाप लगाइन्थ्यो र ती बहुमूल्य रत्न, धातु, हस्तिहाड वा सिसाको हुन्थ्यो। सामान्यतया छाप लगाउने व्यक्‍तिको नाउँ, तिनको बुबाको नाउँ र कहिलेकाहीं त्यस छापमा मालिकको पदवी पनि कुँदिएको हुन्थ्यो।

माटोमा कुँदिएका यस्ता हिब्रू छापहरू सयौं भेट्टिएका छन्‌। पुरातन अक्षरहरूको अध्ययनका विद्वान्‌ प्राध्यापक नाहमान अभिगाडले यस्तो टिप्पणी गरे: “बाइबलमा उल्लेख गरिएका मानिसहरूको नाउँ हिब्रू कुँदिएका छापहरूमा मात्र पाइन्छ।” के शापान वा तिनको परिवारका सदस्यहरूको कुँदिएको छाप भेट्टिएको छ? छ। शापान र उनको छोरा गमर्याहको नाउँ पृष्ठ १९ र २१ मा देखाइएको छापमा देखिन्छ।

शास्त्रविद्‌हरूले त्यस परिवारका अन्य चार सदस्यहरूको छापमा उल्लेख गरेका छन्‌, ती हुन्‌, शापानका पिता असल्याह, शापानका छोरा अहीकाम, गमर्याह; र गदल्याह जसलाई छापमा “हाकिम” भनी संकेत गरिएको छ। ती छापहरूमध्ये चौथोचाहिं शापानका नाति गदल्याहको थियो तर तिनका बुबा अहीकामको नाउँचाहिं उल्लेख गरिएको छैन। छापमा कुँदिएको तिनको पदवीले तिनी त्यस राज्यको सबैभन्दा उच्च अधिकारी थिए भनी संकेत गर्छ।

हामी के सिक्न सक्छौं?

साँचो उपासना र विश्‍वासी यर्मियाको समर्थनमा शापान र तिनको परिवारले आफ्नो प्रभावशाली ओहदालाई चलाएको कस्तो राम्रो उदाहरण! हामीले पनि यहोवाको संगठन र आफ्ना सँगी उपासकहरूको समर्थन गर्न आफ्नो स्रोत अनि शक्‍ति प्रयोग गर्न सक्छौं।

बाइबल नियमित तवरमा पढेर मात्र होइन तर अझ विस्तृत रूपमा अध्ययन गरेर शापान र तिनका परिवार जस्तो यहोवाका पुरातन साक्षीहरूबारे थाह पाउनु प्रोत्साहनदायी हुनुका साथै यसले हाम्रो विश्‍वास बलियो बनाउँछ। तिनीहरू पनि “गवाहीका मेघ[हरूमध्ये]” हुन्‌ जसको उदाहरण हामी अनुकरण गर्न सक्छौं।—हिब्रू १२:१.

[फुटनोट]

a शापान योशियाहभन्दा धेरै जेठो हुनुपर्छ किनभने योशियाह २५ वर्ष जतिको हुँदा शापानका छोरा अहीकाम वयस्क भइसकेका थिए।—२ राजा २२:१-३, ११-१४.

[पृष्ठ २२-मा भएको पेटी]

हुल्दा—प्रभावशाली अगमवादिनी

मन्दिरमा पाएको “व्यवस्थाको पुस्तक” पढेर सुनेपछि राजा योशियाहले शापान र अन्य चार जना उच्च पदस्थ अफिसरहरूलाई पुस्तकबारे “परमप्रभुसित सोध-पूछ” गर्न हुकूम गरे। (२ राजा २२:८-२०) ती प्रतिनिधिहरूले कहाँ उत्तर पाउन सक्थे? त्यतिबेला यर्मियालगायत नहूम र सपन्याह साथै सबै अगमवक्‍ता तथा बाइबल लेखकहरू यहूदामा बस्थे। तथापि, प्रतिनिधि दल अगमवादिनी हुल्दाकहाँ गए।

जेरूशलेम—एन आर्कियोलोजिकल बायोग्राफी नामक पुस्तकले यस्तो टिप्पणी गर्छ: “यस घटनाको एउटा उल्लेखनीय पक्ष भनेको के हो भने यस कथाको पुरुष-महिला पक्षलाई सामान्य रूपमा लिएको छ। त्यस पुरुषहरू मात्र भएको दल व्यवस्थाको पुस्तकबारे सोधपूछ गर्न एउटी महिलाकहाँ जाँदा कसैलाई पनि आपत्तिजनक लागेन। तिनले परमेश्‍वरको वचन घोषणा गर्दा कसैले पनि त्यस विषयमा बोल्ने तिनको अधिकारबारे प्रश्‍न गरेनन्‌। पुरातन इस्राएलमा महिलाहरूको भूमिकाबारे अध्ययन गर्ने शास्त्रविद्‌हरूले प्रायजसो यस घटनालाई ध्यान दिएका छैनन्‌।” निस्सन्देह, त्यो सन्देश परमेश्‍वरबाट थियो।

[पृष्ठ २१-मा भएको डायग्राम/चित्र]

शापानको परिवारको वंशावली

मशुल्लाम

↓

असल्याह

↓

शापान

↓ ↓ ↓ ↓

अहीकाम एलासा गमर्याह याजन्याह

↓ ↓

गदल्याह मीकायाह

[पृष्ठ २०-मा भएको चित्र]

गमर्याहलगायत अरूले यहोयाकिमलाई यर्मियाबाट पाएको त्यो बेहेरूवा नजलाउन बिन्ती गरे

[पृष्ठ २२-मा भएको चित्र]

याजन्याह शापानको परिवारको सदस्य भए तापनि दर्शनमा मूर्तिपूजा गरिरहेको देखिए

[पृष्ठ १९-मा भएको चित्रको स्रोत]

Courtesy Israel Antiquities Authority

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

Courtesy Israel Antiquities Authority

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने