प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १/१५ pp. २१-२५
  • मानिसलाई होइन, परमेश्‍वरलाई महिमा दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसलाई होइन, परमेश्‍वरलाई महिमा दिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो दिनको विषय: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा . . . ग्रहण गर्ने योग्यको हुनुहुन्छ”
  • दोस्रो दिनको विषय: “उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर”
  • तेस्रो दिनको विषय: “सबै परमेश्‍वरकै महिमाको निम्ति गर”
  • परमेश्‍वरको वचनका शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” आनन्दसाथ भेला हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले परमेश्‍वरलाई महिमा दिन हामीलाई उत्प्रेरित गर्छ!
    हाम्रो राज्य सेवकाई—२००४
  • परमेश्‍वरको भय राख्नेहरूसित भेला हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १/१५ pp. २१-२५

मानिसलाई होइन, परमेश्‍वरलाई महिमा दिनुहोस्‌

हालैका महिनाहरूमा, धार्मिकतालाई प्रेम गर्ने संसारभरिका मानिसहरू “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” विषयक यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनहरूमा भेला हुँदा उनीहरूले परमेश्‍वरलाई कसरी महिमा दिन सकिन्छ भन्‍ने कुरा सिके। आउनुहोस्‌ हामी त्यहाँ प्रस्तुत गरिएको शैक्षिक कार्यक्रमलाई पुनरावलोकन गरौं।

अधिवेशनमा उपस्थित अधिकांश व्यक्‍तिहरूका लागि बाइबल आधारित कार्यक्रम लगातार तीन दिनसम्म चलेको थियो र विशेष अन्तरराष्ट्रिय अधिवेशनहरूमा उपस्थित हुन सक्नेहरूका लागि भने उक्‍त कार्यक्रम चार दिनसम्म चलेको थियो। समग्रमा भन्‍नुपर्दा, उपस्थित श्रोताहरूले आध्यात्मिक कुराहरूप्रतिको मूल्यांकनलाई अझ गहिरो बनाउने भाषणहरू, विश्‍वासलाई बलियो बनाउने अनुभवहरू, बाइबल सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई प्रकाश पार्ने प्रदर्शनहरू र प्रथम शताब्दीका मसीहीहरूले सामना गरेका चुनौतीहरू चित्रण गर्ने पूर्ण-वेषभूषासहितको नाटकलगायत ३० वटा भन्दा बढी धर्मशास्त्रीय प्रस्तुति सुन्‍न सके। यदि तपाईं यी अधिवेशनहरूमध्ये कुनै एउटामा उपस्थित हुनुभएको थियो भने, यो लेख पढ्‌नुहुँदा तपाईंको टिपोट पुनरावलोकन गरेर हेर्नुभए कसो होला? यसले प्रचुर मात्रामा आध्यात्मिक भोजका रमाइला क्षणहरू याद दिलाउनुका साथै यो शिक्षाप्रद साबित हुनेछ भन्‍ने कुरामा हामी पक्का छौं।

पहिलो दिनको विषय: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा . . . ग्रहण गर्ने योग्यको हुनुहुन्छ”

सुरुको गीत तथा प्रार्थनापछि, पहिलो वक्‍ताले अधिवेशन आयोजना गरिनुको मुख्य कारणमा केन्द्रित भाषण, “परमेश्‍वरको महिमा गर्न एकसाथ भेला हुने” भन्‍ने विषयमा जोड दिंदै उपस्थित सबैलाई हार्दिक स्वागत गरे। प्रकाश ४:११ बाट उद्धृत गर्दै वक्‍ताले अधिवेशनको मूलभूत विषयलाई प्रकाश पारे। परमेश्‍वरलाई महिमा दिनुको अर्थ के हो भन्‍ने कुरा तिनले तुरुन्तै बताइहाले। भजनसंग्रहको पुस्तक चलाउँदै तिनले परमेश्‍वरको महिमा गर्नुमा “दण्डवत्‌”, “धन्यवाद” र “प्रशंसा” समावेश छ भनेर जोड दिए।—भजन ९५:६; १००:४, ५; १११:१, २.

अर्को भागको विषय थियो, “परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌।” वक्‍ताले एउटा चाखलाग्दो अवलोकन गरे। संसारभरि २३४ मुलुकमा ६० लाखभन्दा बढी यहोवाका साक्षीहरू भएको कारण, यहोवालाई महिमा दिनेहरूका लागि कहिल्यै घाम अस्ताउँदैन भन्‍न सकिन्छ। (प्रकाश ७:१५) कुनै पनि विशेष पूर्ण-समय सेवामा लागेका थुप्रै मसीही भाइबहिनीहरूको अन्तरवार्ता यस भागको एउटा महत्त्वपूर्ण पक्ष थियो र यसले श्रोताहरूको हृदय छोएको थियो।

“सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ” अर्को भाषण थियो। भौतिक आकाशले सोर ननिकाले तापनि परमेश्‍वरको महानताको महिमा गर्नुका साथै उहाँको मायालु हेरचाहप्रतिको हाम्रो मूल्यांकन गहिरो बनाउन हामीलाई मदत गर्छ। यसलाई एकदमै विस्तृत तवरमा उल्लेख गरिएको थियो।—यशैया ४०:२६.

सतावट, विरोध, सांसारिक प्रभाव र पापी झुकावहरूले साँचो मसीहीहरूको निष्ठालाई चुनौती दिन सक्छ। तसर्थ, श्रोताहरूले “निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌” भन्‍ने भाषण एकाग्रचित्त भई सुन्‍न योग्यको थियो। वक्‍ताले भजन २६ औं अध्यायको एक-एक पद छलफल गर्नुका साथै नैतिकताको पक्षमा बलियो अडान लिएका स्कूल पढ्‌ने उमेरका साक्षी अनि शंकास्पद मनोरञ्जनमा धेरै समय बिताउने तर समस्याहरूबाट मुक्‍त हुन कदम चालेकाहरूको अन्तरवार्ता लिए।

“महिमित भविष्यसूचक दर्शनहरूले हामीलाई उत्साहित गर्छन्‌!” विषयक मुख्य भाषणसँगै बिहानीको कार्यक्रम समाप्त भयो। वक्‍ताले अगमवक्‍ता दानियल र प्रेरित यूहन्‍ना तथा पत्रुसका उदाहरणहरू उद्धरण गरे, जसका विश्‍वासलाई परमेश्‍वरको मसीही राज्यको स्थापना र परिचालनसित सम्बन्धित महिमित भविष्यसूचक दर्शनले अझ बलियो बनाएको थियो। हामी अन्तको समयमा बाँचिरहेका छौं भनेर साबित गर्ने सुस्पष्ट प्रमाणहरूलाई बेवास्ता गर्नेहरूको सन्दर्भमा वक्‍ताले यसो भने: “हामीलाई आशा छ कि यस्ता व्यक्‍तिहरूले गौरवमय राज्यमा ख्रीष्टको उपस्थितिको वास्तविकतामाथि पुनः ध्यान केन्द्रित गर्नुका साथै आध्यात्मिक बल पुनः प्राप्त गर्नेछन्‌।”

“यहोवाको महिमा नम्रहरूमा प्रकट हुन्छ” विषयक भाषणबाट अपराह्नको कार्यक्रम सुरु भयो। यहोवा ब्रह्‍माण्डकै सर्वोच्च हुनुभए तापनि नम्रताको सन्दर्भमा उहाँले कसरी उदाहरण बसाल्नुहुन्छ भन्‍ने कुरा वक्‍ताले देखाए। (भजन १८:३५) साँच्चै नम्रहरूप्रति यहोवाले अनुग्रह देखाउनुहुन्छ तर आफ्ना साथीभाइ अथवा आफूभन्दा उच्च ओहोदाका व्यक्‍तिहरूसित व्यवहार गर्दा मात्र नम्र भई टोपल्ने तर आफ्नो निगरानीमा भएकाहरूसित चाहिं कठोर व्यवहार गर्नेहरूको उहाँ विरोध गर्नुहुन्छ।—भजन १३८:६.

अर्को, “आमोसको भविष्यवाणी—हाम्रो समयको लागि यसको सन्देश” विषयक मुख्य भाषणका विभिन्‍न पक्षहरू प्रकाश पार्दै गोष्ठीमा बाइबल भविष्यवाणीबारे बताइएको थियो। आमोसको उदाहरणलाई औंल्याउँदै पहिलो वक्‍ताले यहोवाको आउँदै गरेको न्यायबारे मानिसहरूलाई चेतावनी दिने हाम्रो जिम्मेवारीतर्फ ध्यानाकर्षित गरे। तिनको भाषणको विषय थियो, “साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌।” दोस्रो वक्‍ताले यस्तो प्रश्‍न उठाएका थिए: “के यहोवाले यस पृथ्वीबाट कहिल्यै दुष्टता र दुःखकष्टको अन्त गर्नुहुनेछ?” “दुष्ट विरुद्ध ईश्‍वरीय न्याय” भन्‍ने तिनको विषयले ईश्‍वरीय न्याय सधैं योग्य हुन्छ, यसबाट उम्कन सकिंदैन र यसले छनौट गर्छ भनेर देखायो। अन्तिम गोष्ठीको वक्‍ताले “यहोवाले हृदय जाँच्नुहुन्छ” भन्‍ने विषयतर्फ ध्यान केन्द्रित गरेका थिए। यहोवालाई प्रसन्‍न तुल्याउन चाहनेहरूले आमोस ५:१५ मा लेखिएका शब्दहरूलाई ध्यान दिनेछन्‌: “बुराइलाई घृणा औ भलाइ प्रेम गर।”

मन खुस गराउने मादक पेय पदार्थ, परमेश्‍वरको एउटा वरदान हो। “रक्सी दुर्व्यसनको पासोबाट अलग रहनुहोस्‌” भन्‍ने आफ्नो भाषणमा वक्‍ताले कुनै व्यक्‍ति रक्सी पिएर मात्तिंदैनन्‌ भने तापनि अचाक्ली रक्सी सेवनबाट हुने शारीरिक तथा आध्यात्मिक खतराहरूबारे उल्लेख गरे। तिनले यस्तो मार्गदर्शक सिद्धान्त दिए: रक्सी सेवन गर्ने क्षमता व्यक्‍ति-व्यक्‍तिमा फरक-फरक हुने भएकोले तपाईंको “योग्यता र विवेक[लाई]” हानि गर्ने मात्रा तपाईंको लागि बढ्‌ता हो।—हितोपदेश ३:२१, २२.

हामी कठिन समयमा बाँचिरहेको हुनाले “यहोवा ‘संकटको बेला हाम्रो दृढ गढ हुनुहुन्छ’ ” भन्‍ने अर्को विषय निकै सान्त्वनादायी साबित भयो। प्रार्थना, पवित्र आत्मा र सँगी मसीहीहरूले हामीलाई त्यसको सामना गर्न मदत गर्न सक्छन्‌।

“ ‘त्यो असल भूमि’—प्रमोदवनको पूर्वझलक” विषयक त्यस दिनको अन्तिम भाषणको समापनमा, बाइबलसम्बन्धी थुप्रै मानचित्रहरू सहितको एउटा नयाँ प्रकाशन विमोचन हुँदा सबै जना हर्षले विस्मित भएका थिए! यसको विषय थियो सी द गूड ल्याण्ड।

दोस्रो दिनको विषय: “उहाँको महिमाको वर्णन जाति जातिका बीचमा गर”

दैनिक पद छलफल गरिसकेपछि अधिवेशनको दोस्रो गोष्ठी प्रस्तुत गरिएको थियो। त्यस गोष्ठीको विषय थियो, “ऐनाले जस्तै प्रभुको तेजलाई देखाउनुहोस्‌।” पहिलो भागमा “जताततै सुसमाचार फैलाउने” भन्‍ने विषयमा सविस्तार बताउनुका साथै क्षेत्र सेवामा बटुलेका वास्तविक अनुभवहरूका पुनःअभिनयहरू समावेश गरिएको थियो। दोस्रो भाषणमा वक्‍ताले “अन्धा तुल्याइएकाहरूको घुम्टो हटाउने” भन्‍ने विषयलाई प्रस्तुत गर्नुहुँदा पुनःभेटको प्रदर्शन समावेश गरिएको थियो। गोष्ठीको अन्तिम भाग, “हाम्रो सेवकाईमा झन्‌ बढ्‌दै गएर” भन्‍ने विषयलाई चाखलाग्दो अन्तरवार्तालगायत क्षेत्रका अनुभवहरूले अझ बेजोड बनाएको थियो।

कार्यक्रमको अर्को भागको विषय थियो, “विनाकारण घृणा गरिएको।” यस भागमा विरोधको सामना गर्नुपर्दा परमेश्‍वरले दिनुभएको बलद्वारा निष्ठा कायम गर्न सकेका विश्‍वासी व्यक्‍तिविशेषका प्रोत्साहनदायी अन्तरवार्ताहरू समावेश गरिएको थियो।

अधिवेशनको एकदमै चिरप्रतीक्षित पक्ष बप्तिस्मा भाषण हो। भाषणपछि बप्तिस्मा लिन योग्य सबै उम्मेदवारहरूलाई पानीमा चुर्लुम्मै डुबाइन्छ। पानीको बप्तिस्माले एक जना व्यक्‍ति यहोवामा पूर्णतया समर्पित हुनुलाई बुझाउँछ। तसर्थ, विषय एकदमै ठ्याक्क मिल्ने किसिमको थियो: “आफ्नो समर्पणअनुरूप जीवन बिताउँदा परमेश्‍वरको महिमा हुन्छ।”

अपराह्नको कार्यक्रम, “महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण विकास गर्ने” भन्‍ने आत्म-परीक्षण गर्न झकझकाउने भाषणबाट सुरु भएको थियो। वक्‍ताले यस्तो चाखलाग्दो बुँदा उल्लेख गरे: ख्रीष्टको नम्रता अनुकरण गर्दा महानता प्रकट हुन्छ। यसकारण, व्यक्‍तिगत स्वार्थ पूरा गर्न एक जना मसीहीले जिम्मेवारी खोज्नु हुँदैन। तिनले आफैलाई सोध्नुपर्छ, ‘अरूले झट्ट याद नगर्ने मदतकारी कार्यहरू गर्न के म इच्छुक छु?’

के तपाईंले कहिल्यै थाकेको महसुस गर्नुभएको छ? अवश्‍य पनि महसुस गर्नुभएको होला। “थकित तर लत्तो नछाड्‌ने” विषयको भाषणबाट सबैले आनन्द उठाएका थिए। साक्षी भएको निकै लामो समय भइसकेकाहरूको अन्तरवार्ताले, यहोवाले हामीलाई ‘उहाँको आत्माद्वारा . . . बलिया तुल्याउनुहुन्छ’ भन्‍ने कुरा देखाइएको थियो।—एफिसी ३:१६.

उदारता भन्‍ने गुण हामीसित जन्मजात हुँदैन तर यो सिक्नुपर्ने गुण हो। यस महत्त्वपूर्ण बुँदालाई “हामी ‘उदारचित्त, बाँडचुँड गर्नामा तत्पर होऔं’ ” भन्‍ने भागमा जोड दिइएको थियो। अनि यस्तो विचारणीय प्रश्‍न सोधिएको थियो: “के हामी दिनमा केही समय वृद्ध, बिमारी, निराश भएका अथवा एक्लो भाइबहिनीहरूसित बाँडचुँड गर्न तयार छौं?”

“ ‘बिरानो सोरदेखि’ सजग रहनुहोस्‌” भन्‍ने विषयको भाषणले श्रोताहरूको ध्यान खिचेको थियो। यस भाषणले येशूका चेलाहरूलाई भेडासित तुलना गऱ्‍यो, जसले “असल गोठालो[को]” रूपमा उहाँको सोर मात्र सुन्छ र दियाबलद्वारा प्रभावित थुप्रै माध्यमबाट आउने “बिरानाको सोर” सुन्दैन।—यूहन्‍ना १०:५, १४, २७.

गीतको बोल बुझ्ने हो भने गायन समूहले एकै स्वरमा गाएको हुनुपर्छ। परमेश्‍वरको महिमा गर्न पनि विश्‍वभरका साँचो उपासकहरू एकताबद्ध हुनुपर्छ। तसर्थ, ‘ “एउटै मुखले’ परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने विषयको भाषणले हामी कसरी सबै जना एउटै “शुद्ध भाषा” बोल्न र “काँधमा काँध मिलाएर” यहोवाको सेवा गर्न सक्छौं भन्‍ने विषयमा लाभदायी निर्देशन दियो।—सपन्याह ३:९.

विशेष गरी साना छोराछोरीहरू भएका आमाबाबुले “हाम्रा छोराछोरी—बहुमूल्य उत्तराधिकार” विषयक अन्तिम भाषणबाट पूरापूर आनन्द उठाए। श्रोताहरूलाई खुसीसाथ अचम्ममा पार्दै २५६ पृष्ठे नयाँ प्रकाशन विमोचन गरियो। लर्न फ्रम द ग्रेट टिचर (अंग्रेजी) भन्‍ने पुस्तक यस्तो पुस्तक हो, जसले आमाबाबुलाई परमेश्‍वरले उनीहरूलाई दिनुभएको उपहार अर्थात्‌ आफ्ना छोराछोरीसित आध्यात्मिक तवरमा फलदायी समय बिताउन मदत गर्नेछ।

तेस्रो दिनको विषय: “सबै परमेश्‍वरकै महिमाको निम्ति गर”

दैनिक पदका सम्झौटाहरू छलफल गरेर आध्यात्मिक सोचाइबाट अधिवेशनको समापन दिनको सुरुवात भएको थियो। त्यस दिनको कार्यक्रमको पहिलो भागले पारिवारिक प्रबन्धलाई थप ध्यान दिएको थियो। “आमाबाबुहरू हो, आफ्नो परिवारलाई बलियो बनाउनुहोस्‌” विषयक पहिलो भाषणले श्रोताहरूको मनस्थिति तयार पारेको थियो। आफ्नो परिवारको लागि भौतिक कुराहरू जोरजाम गर्ने आमाबाबुका जिम्मेवारीहरूबारे पुनरावलोकन गरिसकेपछि, वक्‍ताले आमाबाबुको मुख्य जिम्मेवारी भनेको छोराछोरीका लागि आध्यात्मिक कुराको प्रबन्ध मिलाउनु हो भन्‍ने कुरा छर्लंग पारेका थिए।

त्यसपछिका वक्‍ताले केटाकेटीहरूलाई सम्बोधन गरे र “युवाहरूले कसरी यहोवाको प्रशंसा गरिरहेका छन्‌” भन्‍ने विषयमा भाषण प्रस्तुत गरे। तिनले युवाहरू “शीतजस्तै” छन्‌ किनभने तिनीहरू थुप्रै संख्यामा हुनुका साथै तिनीहरूको जोस साँच्चै स्फूर्तिदायी छ। वयस्कहरू तिनीहरूसित काँधमा काँध मिलाएर यहोवाको सेवा गर्न पाएको खुसी छन्‌। (भजन ११०:३) यस भागमा उदाहरणीय जवान भाइ तथा बहिनीहरूको आनन्ददायी अन्तरवार्ताहरू पनि थिए।

नाटकीय वेषभूषासहितको नाटक जिल्ला अधिवेशनको एउटा रोमाञ्चकारी पक्ष बन्दै आएको छ र यस अधिवेशनमा पनि यस्तै भयो। “सतावटको बावजुद निडर भई साक्षी दिने” विषयक नाटकले येशूका प्रथम शताब्दीका अनुयायीहरूलाई चित्रण गरेको थियो। यो मनोरञ्जनात्मक मात्र होइन तर त्योभन्दा महत्त्वपूर्ण अर्थात्‌ शिक्षामूलक पनि थियो। “सुसमाचार सुनाउन ‘बन्द नगर्नुहोस्‌’ ” भन्‍ने नाटकपछिको भाषणले नाटकका मुख्य बुँदाहरू प्रकाश पारेको थियो।

उपस्थित सबै जना आइतबारको कार्यक्रमको विशेषता, “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?” विषयक जनभाषण सुन्‍न बडो उत्सुक थिए। कसरी वैज्ञानिक तथा धार्मिकजगत्‌ले परमेश्‍वरको महिमा गरेका छैनन्‌ भन्‍ने सन्दर्भमा वक्‍ताले यथेष्ट प्रमाणहरू प्रस्तुत गरेका थिए। उहाँको नाउँ वहन गरेका जनहरूले मात्र यहोवाबारे सत्य कुरा प्रचार गर्नुका साथै सिकाइरहेका छन्‌ अनि आज उहाँको नाउँको साँच्चै महिमा गरिरहेका छन्‌।

जनभाषणपछि त्यस हप्ताको प्रहरीधरहरा पत्रिकाको पाठको सारांश प्रस्तुत गरिएको थियो। त्यसपछि “यहोवाको महिमाको निम्ति ‘धेरै फल फलाइरहनुहोस्‌’ ” विषयक अन्तिम भाषण दिइएको थियो। पारित गर्नको लागि वक्‍ताले उपस्थित सबैसामु दस बुँदे प्रस्तावना प्रस्तुत गरेका थिए। यो सृष्टिकर्ता यहोवालाई महिमा दिन सकिने विभिन्‍न तरिकाहरूमा केन्द्रित थियो। सारा संसारभरि सम्पन्‍न सम्पूर्ण अधिवेशनहरूमा सर्वसम्मतिले “हुन्छ” भनेर उक्‍त प्रस्तावना पारित गरेका थिए।

यस प्रकार, अधिवेशन समाप्त हुँदा सबैको कानमा “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने विषय गुञ्जिरह्‍यो। अनि यहोवाको आत्मा तथा उहाँको संगठनको दृश्‍य भागको मदतद्वारा हामी पनि मानिसहरूलाई नभई सधैं परमेश्‍वरलाई महिमा दिने प्रयास गरिरहन सकौं।

[पृष्ठ २३-मा भएको पेटि/चित्र]

अन्तरराष्ट्रिय अधिवेशनहरू

अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिकामा चार दिने अन्तरराष्ट्रिय अधिवेशनहरू सम्पन्‍न भए। संसारभरिबाट साक्षीहरूलाई यी जमघटहरूमा प्रतिनिधिहरूको रूपमा आउन आमन्त्रित गरिएको थियो। यसरी आगन्तुक तथा तिनीहरूलाई निमन्त्रणा दिनेहरूबीच “प्रोत्साहनको आदानप्रदान” हुन सक्यो। (रोमी १:१२, NW) पुराना साथीभाइहरूसित पुनः भेटघाट भयो भने नयाँ साथीहरू बनाउने मौका पनि मिलेको थियो। अन्तरराष्ट्रिय अधिवेशनहरूको एउटा विशेष पक्ष, “अन्य देशका रिपोर्टहरू” विषयक कार्यक्रम थियो।

[पृष्ठ २५-मा भएको पेटि/चित्र]

परमेश्‍वरलाई महिमा दिने नयाँ प्रकाशनहरू

“परमेश्‍वरलाई महिमा दिनुहोस्‌” विषयक जिल्ला अधिवेशनहरूमा दुईवटा नयाँ प्रकाशन विमोचन गरियो। सी द गुड ल्यान्ड भन्‍ने मानचित्रावलीसहितको बाइबलको एकदमै टिकाउ खोल हुनुका साथै यसमा ३६ पृष्ठे मानचित्र तथा बाइबलीय स्थानहरूका तसबिरहरू पनि छन्‌। सम्पूर्ण पृष्ठ पूरै रंगीन छ र त्यहाँ अश्‍शूर, बेबिलोन, मादी-फारसी, युनान र रोमी साम्राज्यका मानचित्रहरू छन्‌। येशूको सेवकाई र मसीही धर्मको विस्तारसित सम्बन्धित छुट्टाछुट्टै मानचित्रहरू दिइएका छन्‌।

लर्न फ्रम द ग्रेट टिचर, २५६ पष्ठे पुस्तक हो र यसमा लगभग २३० वटा चित्र छन्‌। ती चित्रहरू हेरेर अनि पुस्तकमा दिइएका विचारणीय प्रश्‍नहरूको जवाफ दिएर मात्र पनि छोराछोरीसित थुप्रै आनन्ददायी क्षण बिताउन सकिन्छ। यो नयाँ प्रकाशन हाम्रा जवान भाइबहिनीहरूको नैतिकतालाई भ्रष्ट पार्ने उद्देश्‍यले गरिने शैतानको आक्रमणलाई निष्फल तुल्याउन तयार पारिएको हो।

[पृष्ठ २३-मा भएको चित्र]

मिसनरीहरूले विश्‍वासलाई बलियो बनाउने अनुभवहरू सुनाए

[पृष्ठ २४-मा भएका चित्रहरू]

बप्तिस्मा, “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” अधिवेशनको मुख्य पक्ष थियो

[पृष्ठ २४-मा भएका चित्रहरू]

जवान तथा वृद्ध सबैले बाइबल नाटकबाट आनन्द उठाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने