प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १/१ pp. १८-२३
  • हामीले यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नाविक र प्रचारक
  • नाजीहरूद्वारा खेदिएको
  • गेस्टापोले हाम्रो पिछा छोडेन
  • यातना शिविरमा निरन्तर प्रचार गर्दै
  • एक्लैले दुइटी छोरीलाई हुर्काउँदै
  • साक्सेनहाउसेनमा
  • परिवारको रूपमा पुनः सँगै
  • ‘म ता यहोवामा नै भरोसा गर्छु’
  • सच्चाइभन्दा उत्तम अरू केही छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “विश्‍वासको लागि पछि नहट्‌ने”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवा मसित हुनुहुन्थ्यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १/१ pp. १८-२३

जीवनी

हामीले यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं

नाटली होलटोर्फको वृत्तान्तमा आधारित

यो जून १९४५ को घटना हो। त्यस महिनाको एक दिन फुङ्‌ग रङ उडेजस्तो देखिने एक जना मानिस हाम्रो घरमा आएर धैर्यपूर्वक हाम्रो ढोका अगाडि उभिरहे। मेरी कान्छी छोरी रुथ तर्सिंदै यसो भनेर कराई: “आमा, ढोकामा एक जना नचिनेको मानिस आएको छ!” तर ती अपरिचित मानिस उसको आफ्नै बुबा र मेरो प्यारो पति फर्डिनान्ड हुनुहुन्थ्यो भनी उसलाई के थाह। दुई वर्षअघि, रुथ जन्मिएको तीन दिनपछि फर्डिनान्ड बाहिर निस्किनुहुँदा उहाँ पक्राउ पर्नुभयो र उहाँलाई पछि नाजी यातना शिविरमा लगियो। तर अब बल्ल रुथले आफ्नो बुबालाई भेट्‌न पाई र हाम्रो परिवारको पुनर्मिलन भयो। हामीले एकअर्कालाई बताउनुपर्ने कुराहरू थुप्रै थिए!

फर्डिनान्डको जन्म जर्मनीको कील सहरमा सन्‌ १९०९ मा भएको थियो भने मेरो चाहिं सन्‌ १९०७ मा जर्मनीकै ड्रेसडेन भन्‍ने सहरमा भएको थियो। म १२ वर्षकी हुँदा बाइबल स्टुडेन्टहरूसित हाम्रो परिवारको पहिलो सम्पर्क भएको थियो, त्यतिबेला यहोवाका साक्षीहरू त्यही नाउँले चिनिन्थे। मैले १९ वर्षको उमेरमा इभान्जलिकल चर्च छोडें र यहोवालाई आफ्नो जीवन समर्पण गरें।

यति नै बेला फर्डिनान्डले नाविक कलेजबाट स्नातक गरेर नाविक बन्‍नुभयो। आफ्ना यात्राहरूको दौडान उहाँको मनमा सृष्टिकर्ताको अस्तित्वबारे प्रश्‍नहरू खेल्न थाले। त्यस्तै एउटा यात्रापछि जर्मनीमा आइपुग्नुहुँदा उहाँ आफ्नो दाइलाई भेट्‌न जानुभयो जो एक जना बाइबल स्टुडेन्ट हुनुहुन्थ्यो। उहाँलाई पिरोलिरहेका प्रश्‍नहरूको जवाफ बाइबलमै पाइन्छ भन्‍ने कुरामा उहाँ यस भ्रमणपछि पूरै विश्‍वस्त हुनुभयो। उहाँले लुथरन चर्च र नाविकको काम पनि छोड्‌ने निर्णय गर्नुभयो। पहिलो चोटि प्रचारकार्यमा भाग लिएपछि जिन्दगीभर यही काम गर्ने इच्छा उहाँको मनमा जाग्यो। सोही राती फर्डिनान्डले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुभयो। उहाँले सन्‌ १९३१ अगस्तमा बप्तिस्मा लिनुभयो।

नाविक र प्रचारक

सन्‌ १९३१, नोभेम्बरमा नेदरल्याण्ड्‌सको प्रचारकार्यमा सघाउन फर्डिनान्डले रेल यात्रा गर्नुभयो। त्यस देशमा प्रचारकार्यको निरीक्षण गर्ने भाइलाई जब फर्डिनान्डले पहिला आफूले नाविकको काम गरेको बताउनुभयो तब ती भाइले खुसी हुँदै यसो भने: “हामीलाई चाहिएको मानिस तपाईं नै हो!” त्यस देशको उत्तरीभागमा जलमार्ग छेउछाउ बसोबास गर्ने मानिसहरूलाई प्रचार गर्न अग्रगामीहरूको (पूर्ण-समय सेवकहरू) एउटा समूह जान सकोस्‌ भनेर भाइहरूले एउटा डुङ्‌गा भाडामा लिएका थिए। डुङ्‌गामा जानेहरूको टोलीमा पाँच जना थिए तर कसैलाई डुङ्‌गा खियाउन आउँदैन थियो। त्यसैले फर्डिनान्ड डुङ्‌गाको कप्तान हुनुभयो।

छ महिनापछि फर्डिनान्डलाई दक्षिणी नेदरल्याण्ड्‌सको टिलबर्ग भन्‍ने ठाउँमा अग्रगामीको रूपमा सेवा गर्न आग्रह गरियो। त्यसै समयतिर म पनि टिलबर्गमा अग्रगामीको रूपमा सेवा गर्न आइपुगें र फर्डिनान्डसित मेरो भेट भयो। तर यसको लगत्तै हामीलाई देशको उत्तरी भाग ग्रोनिनगेन भन्‍ने ठाउँमा सर्न भनियो। सन्‌ १९३२ को अक्टोबरमा हामीले त्यहाँ बिहे गऱ्‍यौं र अन्य केही अग्रगामीहरू पनि बस्ने घरमा हामीले अग्रगामी पनि गर्दै आफ्नो हनिमून मनायौं!

सन्‌ १९३५ मा हाम्री छोरी एस्तर जन्मिइन्‌। हाम्रो कमाइ अत्यन्तै थोरै भए तापनि हामी अग्रगामी कार्य नछोड्‌न कटिबद्ध थियौं। हामी एउटा गाउँमा सऱ्‍यौं र त्यहाँ एउटा सानो घरमा बस्न थाल्यौं। म घरमै बसेर बच्चाको रेखदेख गर्दा मेरो श्रीमान्‌ले दिनभरि जसो सेवकाईमै बिताउनुहुन्थ्यो। अर्को दिन चाहिं हामी पालो फेर्थ्यौं। एस्तर हामीसँग सेवकाईमा जान सक्ने नहोउन्जेल हामीले यसै गरिरह्‍यौं।

त्यसको केही समय नबित्दै युरोपको राजनैतिक मैदानमा अनिष्टकारी कालो बादल मडारिन थाल्यो। जर्मनीमा साक्षीहरूले भोगिरहेको सतावटबारे हामीले सुन्यौं र अब चाँडै हाम्रो अवस्था पनि त्यस्तै हुनेछ भनेर हामीले बुझ्यौं। अचाक्ली सतावट आइपर्दा हामीले त्यसको कसरी सामना गर्न सक्नेछौं भनी हामी सोच्न थाल्यौं। सन्‌ १९३८ मा नेदरल्याण्ड्‌सका अधिकारीहरूले विदेशीहरूले धार्मिक साहित्यहरू वितरण गरेर कल्पोर्टर अर्थात्‌ प्रचारकको काम गर्न नपाउने आदेश जारी गरे। सेवकाईमा लागिरहन मदत गर्न नेदरल्याण्ड्‌सका भाइहरूले हामीलाई जिज्ञासु व्यक्‍तिहरूको नाउँ दिन्थे र हामीले तिनीहरूमध्ये केहीसँग बाइबल अध्ययन सञ्चालन गर्न सक्यौं।

यसै समयतिर यहोवाका साक्षीहरूको अधिवेशन पनि नजिक आइरहेको थियो। अधिवेशन स्थलसम्म जान रेलको टिकट किन्‍न हामीसित पैसा नभए तापनि हामी अधिवेशनमा उपस्थित हुन चाहन्थ्यौं। त्यसैले हामीले तीन दिने साइकल यात्रा थाल्यौं र सानी एस्तरको ठाउँचाहिं अगाडि ह्‍यान्डलमा राखिएको सिट थियो। राती चाहिं बाटोमा पर्ने साक्षीहरूको घरमा बास बस्थ्यौं। प्रथम राष्ट्रिय अधिवेशनमा उपस्थित हुन पाएकोमा हामी कत्ति खुसी थियौं! पछि हामीमाथि आइपर्ने परीक्षाहरूको लागि कार्यक्रमले हामीलाई सुदृढ बनायो। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरमा आफ्नो भरोसा राख्न हामीलाई सम्झाइयो। भजन ३१:६ का शब्दहरू नै हाम्रो आदर्शवाक्य भयो: “म ता यहोवामा नै भरोसा गर्छु।”

नाजीहरूद्वारा खेदिएको

सन्‌ १९४० मे महिनामा नाजीहरू नेदरल्याण्ड्‌समाथि आफ्नो कब्जा जमाउन देशभित्र घुसे। त्यसको लगत्तै बाइबल साहित्यहरू विभिन्‍न ठाउँमा पठाउन छुट्याइरहेको बेलामा गेस्टापो अर्थात्‌ गुप्तचर प्रहरी हाम्रो घरमा अचानक आइपुग्यो। फर्डिनान्डलाई गेस्टापो मुख्यालयमा लगियो। एस्तर र म उहाँलाई नियमित रूपमा भेट्‌न जान्थ्यौं र कहिलेकाहीं उहाँलाई हाम्रै अगाडि केरकार गरेर नराम्रोसँग पिटिन्थ्यो। डिसेम्बरमा फर्डिनान्डलाई अकस्मात्‌ मुक्‍त गरियो तर त्यो छोटो समयको लागि मात्र थियो। एक साँझ हामी घर फर्कंदै गर्दा हाम्रो घर नजिकै गेस्टापोको गाडी देख्यौं। फर्डिनान्ड त्यहाँबाट भाग्न सफल हुनुभयो अनि म र एस्तर चाहिं घरभित्र गयौं। गेस्टापो हामीलाई नै पर्खिरहेको थियो। तिनीहरू फर्डिनान्डलाई पक्रन आएका थिए। सोही रात गेस्टापो फर्केपछि नेदरल्याण्ड्‌सका प्रहरीहरू आए र केरकार गर्न मलाई सँगै लगे। त्यसको भोलिपल्ट एस्तर र म भर्खरै बप्तिस्माप्राप्त नोर्डर नाउँ गरेका साक्षी दम्पतीको घरमा लुक्न गयौं र तिनीहरूले हामीलाई आवास र सुरक्षा दिए।

सन्‌ १९४१ जनवरीको अन्ततिर हाउसबोट अर्थात्‌ डुङ्‌गामै घर बनाएर बसिरहेका अग्रगामी दम्पती पक्रिए। भोलिपल्ट क्षेत्रीय निरीक्षक (परिभ्रमण सेवक) र मेरो श्रीमान्‌ उक्‍त दम्पतीको केही सामानहरू लिन डुङ्‌गामा जानुभयो तर गेस्टापोका सहयोगीहरू उहाँहरूमाथि जाइलागे। फर्डिनान्ड त त्यहाँबाट उम्केर आफ्नो साइकलमा भाग्न सफल हुनुभयो। तर क्षेत्रीय निरीक्षकलाई चाहिं झ्यालखानामा लगियो।

फर्डिनान्डलाई क्षेत्रीय निरीक्षकको ठाउँ लिन जिम्मेवार भाइहरूले आग्रह गरे। यसको अर्थ उहाँ महिनामा तीन दिनको लागि मात्र घरमा आउन सक्नुहुने थियो। यो हाम्रो लागि एउटा नयाँ चुनौती थियो तर मैले अग्रगामी कार्य छोडिनँ। गेस्टापोले जोडतोडका साथ साक्षीहरूको खोजी गरिरहेको थियो, त्यसैले हामीले आफ्नो ठेगाना परिवर्तन गरिरहनुपर्थ्यो। सन्‌ १९४२ मा हामी तीन चोटि सऱ्‍यौं। अन्ततः हामी रोटरड्याम सहरमा सऱ्‍यौं र फर्डिनान्डले लुकिछिपी गरिरहनुभएको सेवकाईको ठाउँभन्दा यो ठाउँ धेरै टाढा थियो। यतिबेला म फेरि गर्भवती थिएँ। हालसालै आफ्ना दुई जना छोरा यातना शिविरमा लगिएको क्याम्प परिवारले दया देखाएर हामीलाई तिनीहरूको घरमा राखे।

गेस्टापोले हाम्रो पिछा छोडेन

हाम्री कान्छी छोरी रुथको जन्म सन्‌ १९४३, जुलाई महिनामा भयो। रुथको जन्मपछि फर्डिनान्ड हामीसँग तीन दिन मात्र बसेर जानुपर्ने थियो र त्यसपछि हामीले लामो समयसम्म उहाँलाई भेट्‌न पाएनौं। त्यसको झन्डै तीन हप्तापछि फर्डिनान्ड आमस्ट्रडाममा पक्राउ पर्नुभयो। उहाँलाई गेस्टापो स्टेसनमा लगियो र त्यहाँ उहाँको पहिचान पक्का गरियो। हाम्रो प्रचार गतिविधिहरूबारे उहाँको मुखबाट जानकारी ओकल्न लगाउन उहाँलाई गेस्टापोले अचाक्ली केरकार गरे। तर उहाँले केवल आफू यहोवाको साक्षी भएको र आफू कुनै पनि राजनैतिक गतिविधिमा संलग्न नभएको कुरा बताउनुभयो। फर्डिनान्ड जर्मन नागरिक भएर पनि सेनामा भर्ती नभएकोले गेस्टापोका अधिकारीहरू क्रोधित भए र तिनीहरूले उहाँ धोकेबाज भएकोले मार्ने धम्की दिए।

अर्को पाँच महिनासम्म फर्डिनान्डलाई झ्यालखानामै हालियो जहाँ उहाँलाई गोली ठोकेर मार्ने धम्की पटकपटक दिइयो। तैपनि यहोवाप्रतिको वफादारितामा उहाँ अडिग रहनुभयो। उहाँलाई आध्यात्मिक रूपमा बलियो रहन कुन कुराले मदत गऱ्‍यो? परमेश्‍वरको वचन, बाइबलले। फर्डिनान्ड एक जना साक्षी हुनुभएकोले पक्कै पनि उहाँलाई बाइबल राख्न दिइएन। तथापि, अन्य कैदीहरूले मगाउन सक्थे। त्यसैले फर्डिनान्डले आफूसँगै बस्ने कैदीलाई तिनको परिवारबाट एउटा बाइबल मगाइदिन भने। वर्षौंपछि फर्डिनान्डले यस घटनाबारे सुनाउनुहुँदा उहाँको आँखा सधैं उज्यालो हुन्थ्यो र यसो भन्‍नुहुन्थ्यो: “बाइबलले मलाई कस्तो सान्त्वना दियो!”

सन्‌ १९४४ जनवरीको सुरुतिर फर्डिनान्डलाई अकस्मात्‌ नेदरल्याण्ड्‌सको भुक्ट भन्‍ने ठाउँमा रहेको यातना शिविरमा लगियो। तर त्यहाँ सारिनु उहाँको लागि अप्रत्याशित आशिष्‌ साबित भयो किनभने त्यहाँ अन्य ४६ जना साक्षीसित उहाँको भेट भयो। उहाँलाई त्यहाँ सारिएको कुरा सुनेपछि उहाँ जीवितै हुनुहुँदो रहेछ भनी म अत्यन्तै खुसी भएँ!

यातना शिविरमा निरन्तर प्रचार गर्दै

शिविरमा जीवन एकदमै कठिन थियो। गम्भीर कुपोषण, न्यानो लुगाको अभाव र कठाङ्‌ग्रिने जाडो त सामान्य थियो। फर्डिनान्डलाई टन्सिलको नराम्रो समस्या भयो। चिसो मौसमको बेला लामो लाइनमा धैरबेरसम्म उभिएपछि मात्रै उहाँले उपचार गर्ने ठाउँमा बिरामीको रिपोर्ट गर्न पाउनुभयो। एक सय चार डिग्री वा त्योभन्दा धेरै ज्वरो आएको बिरामी मात्र त्यहाँ बस्न पाउँथ्यो। तर फर्डिनान्ड त्यहाँ बस्न पाउनुभएन किनभने उहाँको ज्वरो १०२ डिग्री मात्र थियो! उहाँलाई काममै फर्किन भनियो। तथापि, सहानुभूतिशील सँगी कैदीहरूले उहाँलाई बीच-बीचमा न्यानो ठाउँमा लुकाएर मदत गरे। मौसम नै न्यानो हुन थालेपछि थप आराम महसुस भयो। साथै, केही भाइहरूले खानाका पोकाहरू पाउँदा आपसमा बाँडचुँड गर्थे र यसले गर्दा फर्डिनान्डले पुनः स्वास्थ्यलाभ गर्न सक्नुभयो।

कैदमा पर्नुअघि प्रचारकार्य मेरो श्रीमान्‌को जीवनको अभिन्‍न भाग नै बनिसकेको थियो र शिविरभित्र पनि उहाँले आफ्नो विश्‍वासबारे अरूलाई बताउन छोड्‌नुभएन। कैदीहरूमध्ये साक्षीहरूलाई चिनाउन दिइएको बैजनी रङको त्रिकोणबारे शिविरका अधिकारीहरूले अक्सर उहाँलाई व्यङ्‌ग्यात्मक टिप्पणीहरू गर्थे। तर फर्डिनान्डले त्यस्ता टिप्पणीहरूलाई तिनीहरूसित वार्तालाप सुरु गर्ने अवसरको रूपमा लिनुहुन्थ्यो। सुरु-सुरुमा भाइहरूको प्रचार इलाका भनेको मुख्यतया साक्षीहरू राखिएका ब्यारेकहरू मात्रै थियो। भाइहरूले आफैलाई यस्तो प्रश्‍न सोधे: ‘हामी अझ धेरै कैदीहरूसम्म कसरी पुग्न सक्छौं?’ अनजानमै शिविरको प्रशासनले यस समस्याको समाधान गरिदियो। कसरी?

भाइहरूले केही बाइबल साहित्यहरूका साथै १२ वटा बाइबल लुकाएर राखेका थिए। एक दिन गार्डहरूले केही साहित्यहरू भेट्टाए तर तिनीहरूले ती कसका हुन्‌ भनी पत्ता लगाउन सकेनन्‌। त्यसैले शिविरका अधिकारीहरूले साक्षीहरूको एकतालाई तोड्‌नुपर्छ भन्‍ने निर्णय गरे। त्यसकारण सजाय स्वरूप सबै भाइहरूलाई गैर-साक्षी कैदीहरू राखिएका ब्यारेकहरूमा राखे। यसबाहेक, खाना खाने समयमा पनि भाइहरू गैर-साक्षीसित बस्नुपर्थ्यो। यो प्रबन्ध आशिष्‌ साबित भयो। अब भाइहरूले आफूले सुरुमा गर्न चाहेको कुरा अर्थात्‌ सकेसम्म धेरै कैदीहरूलाई प्रचार गर्न सक्थे।

एक्लैले दुइटी छोरीलाई हुर्काउँदै

यतिन्जेल, मेरा दुई छोरीहरू र म अझै रोटरड्याममै बसिरहेका थियौं। सन्‌ १९४३/४४ को जाडो अरू वर्षहरूको तुलनामा अत्यन्तै कठोर थियो। हाम्रो घरपछाडि जर्मन सेनाको नियन्त्रणमा रहेको विमानभेदी अस्त्र थियो। अनि हाम्रो घरअगाडि चाहिं वाल बन्दरगाह थियो जुन संयुक्‍त सेनाको मुख्य तारो थियो। हाम्रो घर निश्‍चय पनि लुक्नको लागि सुरक्षित ठाउँ त थिएन। यसमाथि खानाको अभाव थियो। हामीले यस्तो अवस्थामा यहोवामा अझै पूर्ण भरोसा राख्न सिक्यौं।—हितोपदेश ३:५, ६.

आठ वर्षीया एस्तरले रासनको लागि लाइनमा उभिएर हाम्रो सानो परिवारलाई मदत गर्थी। तथापि, उसको पालो आउन्जेलसम्म अक्सर खाद्यान्‍न सिद्धिसकेको हुन्थ्यो। खानाको लागि त्यस्तै एक चोटि जाँदा ऊ हवाई आक्रमणको बीचमा परी। विस्फोटको आवाज सुनेपछि म आत्तिएँ तर ऊ सकुशल अनि अलिकति सुगर बीट्‌स भनिने एक प्रकारको कन्दमूलसमेत लिएर घर फर्कंदा मेरो चिन्ता हर्षको आँसुमा परिणत भयो। उसलाई देख्नेबित्तिकै मेरा पहिला शब्दहरू थिए, “के भयो?” शान्तपूर्वक उसले यस्तो जवाफ दिई: “बम वर्षा हुन थालेपछि ड्याडीले जे भन्‍नुभएको थियो त्यसै गरें, ‘भुइँमा लमतन्‍न परें र प्रार्थना गरें।’ अनि साँच्चै बचें!”

मेरो बोलीबाट म जर्मन हुँ भनी प्रस्ट हुने भएकोले स-सानो किनमेलको लागि सम्भव भएसम्म एस्तर जानु नै सुरक्षित थियो। तर यसो गर्दैमा हामी जर्मन सेनाहरूको नजरबाट पूरै मुक्‍त हुन सकेनौं र तिनीहरूले एस्तरलाई केरकार गर्न थाले। तर एस्तरले कुनै पनि गोप्य कुरा बताइन। घरैमा बसेर म एस्तरलाई बाइबल शिक्षा सिकाउँथें र ऊ स्कूल पनि जान नपाएकीले लेखपढ गर्न तथा अन्य सीपहरू सिकाएँ।

एस्तरले मलाई सेवकाईमा पनि मदत गरी। कसैसँग बाइबल अध्ययन सञ्चालन गर्न म निस्कनुअघि पहिला एस्तर निस्कन्थी र सबै ठीक छ कि छैन भनी यताउता हेर्थी। बाइबल विद्यार्थीसित मैले पहिल्यै सहमति जनाइसकेका सङ्‌केतहरू अनुसार सबै ठीक ठाउँमा छ कि छैन उसले पक्का गर्थी। उदाहरणका लागि मैले भेट्‌ने व्यक्‍तिले म भित्र आउन सक्छु भनी सङ्‌केत गर्न झ्यालको पेटीमा एउटा खास तरिकाले गमला राख्थे। बाइबल अध्ययनको दौडान एस्तर बहिनी रुथलाई क्यारिजमा गुडाउँदै सडकमा तलमाथि गरेर खतराको सङ्‌केत हेर्थी।

साक्सेनहाउसेनमा

फर्डिनान्डको हालखबर कस्तो थियो? सन्‌ १९४४, सेप्टेम्बरमा उहाँलाई अरू थुप्रैसँग रेल स्टेसनमा पुऱ्‍याइयो र त्यहाँ बिसाइरहेको बक्स-कारहरूमा ८०/८० जना कैदीहरूको समूह बनाएर कोचियो। प्रत्येक कारमा चर्पीको रूपमा एउटा बाल्टिन राखिएको थियो र पिउने पानीको लागि अर्को एउटा बाल्टिन। यो यात्रा तीन दिन तीन रात लामो थियो र असाध्यै कोचाकोच मान्छे राखिएकोले उठ्‌नको लागि मात्र ठाउँ थियो! हावा त पटक्कै आवतजावत हुँदैनथ्यो भने पनि हुन्छ। बक्स-कारहरू ढ्याप्पै बन्द थिए, कतैकतै मात्र बाहिर हेर्ने स-साना प्वाल थिए। भोक, प्यास, गर्मी र त्यसमाथि दुर्गन्धको त कुरै नगरौं, उहाँहरूले सहनुपरेका कुराहरू अवर्णनीय छन्‌।

कुख्यात साक्सेनहाउसेन यातना शिविरमा पुगेपछि रेल रोकियो। साक्षीहरूले आफूसँग लगेका १२ वटा सानो बाइबलबाहेक कैदीहरूलाई तिनीहरूसँग भएको कुनै पनि व्यक्‍तिगत सरसामान भित्र लान दिइएन!

फर्डिनान्ड र अन्य आठ जना भाइलाई राथेनाऊमा हतियार उत्पादन गर्ने ठाउँमा पठाइयो र यो साक्सेनहाउसेनको नियन्त्रणमा थियो। उहाँहरूलाई अक्सर मार्ने धम्की दिइए तापनि भाइहरूले त्यस प्रकारको काम गर्न इन्कार गरे। एकअर्कालाई दृढ रहने मदत गर्न बिहान उहाँहरू एउटा बाइबल पद जस्तै—भजन १८:२ छलफल गर्नुहुन्थ्यो र त्यसैलाई दिनभरि मनन गर्नुहुन्थ्यो। यसरी उहाँहरूले आध्यात्मिक कुराहरूमा मनन गर्न मदत पाउनुहुन्थ्यो।

अन्ततः बारुद-बमको आवाजले संयुक्‍त सेना तथा रूसी सेनाहरू नजिकै आइपुगेको सङ्‌केत गऱ्‍यो। फर्डिनान्ड तथा उहाँका सँगीहरूलाई राखिएको शिविरमा रूसीहरू पहिला पुगे। तिनीहरूले कैदीहरूलाई केही खाना दिएर शिविर छोड्‌न आज्ञा दिए। सन्‌ १९४५ अप्रिल महिनाको अन्तसम्ममा रूसी सेनाले उहाँहरूलाई घर जान अनुमति दियो।

परिवारको रूपमा पुनः सँगै

जून १५ मा फर्डिनान्ड नेदरल्याण्ड्‌स आइपुग्नुभयो। ग्रोनिनगेनका भाइहरूले उहाँको न्यानो स्वागत गरे। उहाँले हामी जीवित भएको र सोही देशको कुनै भागमा बसिरहेको कुरा चाँडै थाह पाउनुभयो र हामीले पनि उहाँ फर्कनुभएको समाचार पायौं। उहाँ घर कहिले आइपुग्नुहुने हो भनी असाध्यै आतुरी भयो। तर अन्ततः एक दिन सानी रुथ यसो भन्दै कराई: “आमा, ढोकामा एक जना नचिनेको मानिस आएको छ!” ती व्यक्‍ति मेरो प्यारो श्रीमान्‌ र बच्चाहरूको बुबा हुनुहुन्थ्यो!

सामान्य परिवारको रूपमा जीवन बिताउनुअघि तीनथुप्रो समस्याहरूको समाधान गर्नुपर्ने थियो। हाम्रो बस्ने घर थिएन र अर्को ठूलो समस्या भनेको हामी स्थायी बासिन्दा हौं भनी कागजातहरू पुनः प्राप्त गर्नु थियो। हामी जर्मन भएकोले वर्षौंसम्म नेदरल्याण्ड्‌सका अधिकारीहरूले हामीलाई समाजको भाग नै नभएजस्तो व्यवहार गरे। अन्ततः हामीले बस्ने ठाउँ पायौं र परिवारको रूपमा सँगै यहोवालाई सेवा गर्ने पहिलादेखिको गहिरो इच्छालाई पूरा गर्न सक्यौं।

‘म ता यहोवामा नै भरोसा गर्छु’

पछि-पछि फर्डिनान्ड र म, हामीजस्तै कष्टको जीवन बिताएका हाम्रा साथीभाइहरूसित भेला हुँदा ती कष्टदायी दिनहरूमा हामीले अनुभव गरेको यहोवाको मायालु डोऱ्‍याइको सम्झना गर्थ्यौं। (भजन ७:१) राज्य गतिविधिलाई बढाउँदै लैजाने काममा वर्षौंको दौडान यहोवाले हामीलाई पनि भाग लिने मौका दिनुभएकोमा हामी हर्षित भयौं। आफ्नो युवावस्था यहोवाको पवित्र सेवामा बिताएकोमा हामी कत्ति खुसी छौं भनेर पनि हामी अक्सर भन्‍ने गर्थ्यौं।—उपदेशक १२:१.

नाजी सतावटपछि फर्डिनान्ड र मैले डिसेम्बर २०, १९९५ मा उहाँको पार्थिव जीवन अन्त हुनुअघिसम्म यहोवाको सेवामा ५० वर्षभन्दा बढी समय सँगै बितायौं। चाँडै म ९८ वर्षकी हुनेछु। हाम्रा बच्चाहरूले पनि ती कष्टदायी वर्षहरूमा एकदमै सघाएकोमा र उहाँको नाउँ पवित्र पार्ने सेवामा अहिलेसम्म पनि केही गर्न सकेकोमा म दिनहुँ यहोवालाई धन्यावाद चढाउँछु। यहोवाले मेरो लागि जे-जति गर्नुभयो त्यसको लागि म कृतज्ञ छु र आफ्नो आदर्शवाक्य अनुसार जीवन बिताइरहने मेरो भित्री इच्छा छ: ‘म ता यहोवामा नै भरोसा गर्छु।’—भजन ३१:६.

[पृष्ठ १९-मा भएको चित्र]

सन्‌ १९३२ अक्टोबरमा फर्डिनान्डसँग

[पृष्ठ १९-मा भएको चित्र]

प्रचारकहरूको डुङ्‌गा “अल्मिना” आफ्ना टोलीका साथ

[पृष्ठ २२-मा भएको चित्र]

फर्डिनान्ड र बच्चाहरूसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने