प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ६/१ पृ. २१-२५
  • यहोवा “आदिदेखि अन्तसम्मको” जानकारी दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा “आदिदेखि अन्तसम्मको” जानकारी दिनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—भविष्यवाणी गर्नुहुने परमेश्‍वर
  • यहोवाको “वचन” अवश्‍य “सफल” हुन्छ
  • परमेश्‍वरको “अनन्त उद्देश्‍य”
  • यहोवाले पहिल्यै निर्धारण गर्नुहुने कुरा
  • यहोवालाई पहिल्यै थाह हुने कुरा
  • आदम र हव्वाले पाप गर्नेछन्‌ भनेर परमेश्‍वरलाई पहिल्यै थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको उद्देश्‍य पूरा हुनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येशूले उद्धार गर्नुहुन्छ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ६/१ पृ. २१-२५

यहोवा “आदिदेखि अन्तसम्मको” जानकारी दिनुहुन्छ

“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु।”—यशैया ४६:१०, NRV.

१, २. बेबिलोनको पतनबारे कस्तो रोचक कुरा बताइएको थियो र यस तथ्यले यहोवाबारे के सङ्‌केत गर्छ?

ईसापूर्व ५३९ को कुरा हो। आधी रातमा शत्रुतर्फका सिपाहीहरू नदी किनारै किनार चाल मारेर आफ्नो लक्ष्य अर्थात्‌ शक्‍तिशाली सहर बेबिलोनतर्फ लम्कन्छन्‌। सहरको प्रवेशद्वारमा पुग्ने बित्तिकै तिनीहरू छक्क पर्छन्‌। कस्तो अचम्म! बेबिलोनको पर्खालमा दुइटा खापा भएको ठूलो ढोका खुला छोडिएका छन्‌! सिपाहीहरू नदी तरेर माथि उक्लिन्छन्‌ र सहरभित्र घुस्छन्‌। केहीछिनमै तिनीहरूले सहर कब्जा गर्छन्‌। शत्रुतर्फको फौजका नाइके कोरेसले त्यहाँको शासनसत्ता आफ्नो हातमा लिन्छन्‌ र बन्दी जीवन बिताइरहेका इस्राएलीहरूलाई मुक्‍त गर्न केही समयपछि नै उर्दी जारी गर्छन्‌। निर्वासित हजारौं इस्राएली यरूशलेममा फेरि यहोवाको उपासना गर्न ईसापूर्व ५३७ मा आफ्नो मातृभूमि फर्कन्छन्‌।—२ इतिहास ३६:२२, २३; एज्रा १:१-४.

२ ईसापूर्व ५३९ देखि ५३७ भित्र घटेका ती घटना सत्य हुन्‌ भनेर इतिहासकारहरूले पुष्टि गरेका छन्‌। रोचक कुरा त के छ भने, त्यस्तो घटना घट्‌नेछ भनेर २०० वर्षअघि नै जानकारी दिइएको थियो। हो, बेबिलोनको पतन हुनेछ भनेर यहोवाले आफ्नो अगमवक्‍ता यशैयालाई धेरैअघि भविष्यवाणी गर्न लगाउनुभएको थियो। (यशैया ४४:२४–४५:७) यहोवाले बेबिलोनको पतनबारे मात्र होइन तर बेबिलोन कब्जा गर्ने व्यक्‍तिको नाउँसमेत बताउनुभयो।a इस्राएलीहरू यहोवाका साक्षी भनेर चिनिन्थे। त्यतिखेर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “अघि-अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्‍वर हुँ, मजस्तै अरू कोही छैन। आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु।” (यशैया ४६:९, १०क, NRV) यहोवा, भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्ने परमेश्‍वर हुनुहुन्छ।

३. कस्ता प्रश्‍नहरूको जवाफ छलफल गर्नेछौं?

३ यहोवा परमेश्‍वरलाई भविष्यबारे कति थाह छ? भविष्यमा हामीले गर्ने कुरा के यहोवालाई पहिल्यै थाह हुन्छ? के हाम्रो भविष्य यस्तो होस्‌, उस्तो होस्‌ भनेर पहिल्यै निर्धारण गरिएको हुन्छ? यी तीन प्रश्‍नलगायत यससित सम्बन्धित अरू प्रश्‍नको जवाफ यो र यसपछिको लेखमा छलफल गर्नेछौं।

यहोवा—भविष्यवाणी गर्नुहुने परमेश्‍वर

४. बाइबलमा रेकर्ड गरिएका भविष्यवाणीहरूको स्रोत को हुनुहुन्छ?

४ भविष्यमा हुने कुरा यहोवा पहिल्यै थाह पाउन सक्नुहुन्छ। त्यसैकारण त उहाँले बाइबल लेखिएको समयमा आफ्ना सेवकहरूलाई थुप्रै भविष्यवाणी रेकर्ड गरेर राख्न प्रेरित गर्नुभयो। यहोवाले के गर्न लाग्नुभएको छ भन्‍ने कुरा यिनै भविष्यवाणी पढेर हामी पहिल्यै थाह पाउन सक्छौं। यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउनेछु, ती हुनभन्दा अघिनै म तिनका विषयमा तिमीहरूलाई बताउनेछु।” (यशैया ४२:९) परमेश्‍वरका जनहरूले साँच्चै कत्ति ठूलो सुअवसर पाएका छन्‌!

५. यहोवाले पछि गर्नुहुने कुराको अग्रिम जानकारी पाउने व्यक्‍तिको काँधमा कस्तो जिम्मेवारी पनि आइलाग्छ?

५ अगमवक्‍ता आमोस हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” यस्तो अग्रिम जानकारी सँगसँगै आमोसको काँधमा जिम्मेवारी पनि आइलाग्यो। अब आमोसले चलाउने सशक्‍त दृष्टान्त याद गर्नुहोस्‌: “सिंह गर्जेको छ, को डराउँदैन?” सिंह गर्जंदा वरपर भएका मानिस र जनावर तुरुन्त सतर्क भएझैं आमोसजस्ता अगमवक्‍ताहरूले पनि यहोवाले भन्‍न खोज्नुभएको कुरा तुरुन्त घोषणा गरिहाले। “परमेश्‍वर बोल्नुभएको छ, कसले अगमवाणी कहँदैन र?”—आमोस ३:७, ८.

यहोवाको “वचन” अवश्‍य “सफल” हुन्छ

६. बेबिलोनलाई ध्वस्त पार्ने सन्दर्भमा यहोवाको “अभिप्राय” कसरी पूरा भयो?

६ अगमवक्‍ता यशैयामार्फत यहोवाले यसो भन्‍नुभयो: “मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।” (यशैया ४६:१०ख, NRV) बेबिलोनको विषयमा परमेश्‍वरको “अभिप्राय” अर्थात्‌ उहाँको इच्छा वा उद्देश्‍य पूरा गर्न फारसका राजा कोरेसलाई डाकिने थियो र तिनले बेबिलोन कब्जा गरेर त्यसलाई ध्वस्त पार्ने थिए। त्यसो गर्ने उद्देश्‍य यहोवाले धेरै पहिला घोषणा गर्नुभएको थियो। माथि बताइएअनुसार त्यो उद्देश्‍य ईसापूर्व ५३९ मा ठ्याक्क पूरा भयो।

७. यहोवाको “वचन” सधैं पूरा हुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौं?

७ कोरेसले बेबिलोन कब्जा गर्नुभन्दा करिब चार सय वर्षअघि यहूदाका राजा यहोशापातले अम्मोन र मोआबका संयुक्‍त सेनासित लडाइँ गर्नुपरेको थियो। त्यतिबेला तिनले निर्धक्क हुँदै यसरी प्रार्थना गरे: “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईंनै स्वर्गमा विराजमान हुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्‍ति र बल छन्‌। औ तपाईंको सामना गर्ने कोही छैन।” (२ इतिहास २०:६) यशैयाले पनि यस्तै खाले भरोसा व्यक्‍त गर्दै भने: “सेनाहरूका परमप्रभुले अभिप्राय गर्नुभएको छ, र कसले त्यसको खण्डन गर्नसक्छ? औ उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउनसक्छ?” (यशैया १४:२७) केही समय बहुलाएपछि बेबिलोनका राजा नबूकदनेसरको होस फर्क्यो र तिनले नम्र हुँदै यो कुरा मानिलिए: “[परमेश्‍वरको] हात कसैले रोक्नसक्‍तैन, औ उहाँले के गर्नुहुन्छ, कसैले सोध्नसक्‍तैन।” (दानियल ४:३५) हो, यहोवा आफ्ना जनहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशैया ५५:११) यहोवाको “वचन” सधैं पूरा हुन्छ भनेर हामी निश्‍चिन्त हुन सक्छौं किनभने परमेश्‍वरको उद्देश्‍य जसरी भए पनि पूरा भइछाड्‌छ।

परमेश्‍वरको “अनन्त उद्देश्‍य”

८. परमेश्‍वरको “अनन्त उद्देश्‍य” के हो?

८ एफिससका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यहोवा “अनन्त उद्देश्‍य” भएको परमेश्‍वर हुनुहुन्छ भने। (एफिसी ३:११, NRV) “अनन्त उद्देश्‍य[को]” अर्थ मानौं यहोवालाई पनि आफ्नो उद्देश्‍य पूरा गर्न पहिल्यै योजना बनाउनुपऱ्‍यो भन्‍न खोजिएको होइन। यसले त सुरुमा यहोवाले मानिसजाति र पृथ्वीबारे जस्तो उद्देश्‍य राख्नुभएको थियो, त्यो पूरा गरिछाड्‌ने उहाँको अठोटलाई बुझाउँछ। (उत्पत्ति १:२८) उहाँको उद्देश्‍य अवश्‍य पूरा हुन्छ भनेर बुझ्न बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणी विचार गर्नुहोस्‌।

९. उत्पत्ति ३:१५ मा लिपिबद्ध कुरा कसरी यहोवाको उद्देश्‍यसित सम्बन्धित छ?

९ आदम र हव्वाले पाप गर्ने बित्तिकै यहोवाले लाक्षणिक स्त्रीबाट सन्तान अर्थात्‌ पुत्र जन्माउने निधो गर्नुभयो भन्‍ने कुराको छनक उत्पत्ति ३:१५ मा लिपिबद्ध प्रतिज्ञामा पाइन्छ। स्त्री र शैतान अनि उनीहरूका सन्तानबीच जुन दुश्‍मनी छ, त्यसको परिणाम के हुनेछ भनेर पनि यहोवाले पहिल्यै बताउनुभयो। यहोवाले स्त्रीको सन्तानको कुर्कुच्चो डस्ने अनुमति दिनुहुने थियो तर उहाँले तोक्नुभएको समयमा सन्तानले पनि सर्प वा शैतान अर्थात्‌ दियाबलको शिर कुच्याउने थियो। प्रतिज्ञा गरिएको मसीह बनेर येशू देखा नपरुन्जेल छानिएको वंशमार्फत यहोवाको उद्देश्‍य अचुक ढङ्‌गमा पूरा हुँदै अघि बढ्‌ने थियो।—लूका ३:१५, २३-३८; गलाती ४:४.

यहोवाले पहिल्यै निर्धारण गर्नुहुने कुरा

१०. आदम र हव्वाले पाप गर्नेछन्‌ भनेर के यहोवाले सुरुमै निर्धारण गरिसक्नुभएको थियो? व्याख्या गर्नुहोस्‌।

१० परमेश्‍वरको उद्देश्‍य पूरा गर्न येशूले खेल्नुहुने भूमिकाबारे प्रेरित पत्रुसले यस्तो लेखे: “जो [येशू] संसारको उत्पत्तिभन्दा अघाडिदेखिनै चिनिनुभएको थियो, तर तिमीहरूका खातिर समयहरूको अन्तमा प्रकट हुनुभयो।” (१ पत्रुस १:२०) आदम र हव्वाले पाप गर्नेछन्‌ र पापबाट मुक्‍त हुन येशू ख्रीष्टको बलिदान आवश्‍यक पर्नेछ भनेर के परमेश्‍वरले सुरुमै निर्धारण गरिसक्नुभएको थियो? थिएन। “उत्पत्ति” भनेर अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ हुन्छ, “बीऊ छर्नु।” के आदम र हव्वाले पाप गर्नुभन्दा अघि नै ‘बीऊ छरिसकेको’ अथवा हव्वा गर्भवती भइसकेकी थिइन्‌? अहँ, थिइनन्‌। परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेपछि मात्र आदम र हव्वाले सन्तान जन्माएका थिए। (उत्पत्ति ४:१) त्यसकारण, आदम र हव्वाले विद्रोह गरेपछि तर उनीहरूको सन्तान गर्भमा आउनुअघि यहोवाले “सन्तान” देखा पर्नेछ भनेर पूर्वनिर्धारण गर्नुभयो। येशूको मृत्यु र पुनरुत्थान हामीलाई पापबाट मुक्‍त गर्ने मायालु प्रबन्ध थियो। त्यही प्रबन्धले जन्मजात पापको असर र शैतानका सारा कर्तुत निष्फल पार्नेछ।—मत्ती २०:२८; हिब्रू २:१४; १ यूहन्‍ना ३:८.

११. आफ्नो उद्देश्‍य पूरा गर्ने सिलसिलामा यहोवाले कस्तो कुरा पहिल्यै निर्धारण गर्नुभयो?

११ आफ्नो उद्देश्‍य पूरा गर्ने सिलसिलामा परमेश्‍वरले अर्को कुरा पनि पहिल्यै निर्धारण गर्नुभयो। एफिससका भाइबहिनीलाई पत्र लेख्दा पावलले त्यस कुराको छनक दिए। हो, “चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा [फेरि] गाभ्न” परमेश्‍वरले सबै कुरा जम्मा गर्नुहुने थियो। ‘स्वर्गका कुरा’ अर्थात्‌ सहशासक भएर ख्रीष्ट सँगसँगै शासन गर्न छानिएका व्यक्‍तिहरूको विषयमा पावलले भने: “सबै थोकलाई आफ्नै इच्छाको सल्लाहजस्तै गराउनुहुने उहाँको अभिप्रायअनुसार अघिबाटै नियुक्‍त भएर हामीले उहाँमानै अधिकार पनि पायौं।” (एफिसी १:१०, ११) परमेश्‍वरको स्त्रीबाट जन्मिने सन्तानको अर्को भाग मानिसहरूको सीमित संख्या मिलेर बन्‍नेछ र छुटकाराको बलिदानबाट लाभ उठाउन मानिसहरूलाई मदत गर्न उनीहरूले ख्रीष्टलाई सघाउनेछन्‌ भनेर यहोवाले पहिल्यै निर्धारण गर्नुभयो। (रोमी ८:२८-३०) मानिसहरूको सीमित संख्या मिलेर बन्‍ने त्यस भागलाई प्रेरित पत्रुस “पवित्र जाति” भन्छन्‌। (१ पत्रुस २:९) सहशासक भएर ख्रीष्ट सँगसँगै शासन गर्ने व्यक्‍तिहरूको संख्या १,४४,००० हुनेछ भनेर प्रेरित यूहन्‍नाले दर्शनमार्फत थाह पाउने विशेष सुअवसर पाए। (प्रकाश ७:४-८; १४:१, ३) राजा येशू ख्रीष्टसित हातेमालो गर्दै उनीहरू “[परमेश्‍वरको] महिमाको प्रशंसाको निम्ति” सेवा गर्छन्‌।—एफिसी १:१२-१४.

१२. एक लाख चवालीस हजारमा को-को पर्छन्‌ भन्‍ने कुरा पहिल्यै निर्धारण गरिएको थिएन भनेर कसरी थाह पाउन सक्छौं?

१२ एक लाख चवालीस हजारबारे पूर्वनिर्धारण गर्नुको अर्थ, यस समूहको भाग भएर विश्‍वासीपूर्वक परमेश्‍वरको सेवा गर्नेहरू को-को हुनेछन्‌ भनेर पहिल्यै निर्धारण गरिएको थियो भन्‍ने होइन। वास्तवमा, मसीही युनानी धर्मशास्त्रमा दिइएका सल्लाह-सुझाव विशेष गरी अभिषिक्‍त जनहरू निष्ठावान्‌ र स्वर्गीय बोलावटको लागि योग्य रहिरहन सकून्‌ भनेर उनीहरूलाई डोऱ्‍याउन र बलियो बनाउन लेखिएको थियो। (फिलिप्पी २:१२; २ थिस्सलोनिकी १:५, ११; २ पत्रुस १:१०, ११) एक लाख चवालीस हजार उहाँको उद्देश्‍य पूरा गर्न योग्य ठहरिनेछन्‌ भनेर यहोवालाई पहिल्यै थाह छ। ती व्यक्‍तिहरू को-को हुनेछन्‌ भन्‍ने कुराचाहिं यस समूहको भाग हुन निम्तो पाएका व्यक्‍तिहरूले कसरी जीवन बिताउने निर्णय गर्छन्‌, त्यसैमा भर पर्छ। यस किसिमको निर्णय उनीहरू हरेकले व्यक्‍तिगत रूपमा गर्नै पर्छ।—मत्ती २४:१३.

यहोवालाई पहिल्यै थाह हुने कुरा

१३, १४. भविष्यमा हुने कुराको पूर्वजानकारीलाई यहोवा जसरी प्रयोग गर्नुहुन्छ, त्यो कुन कुरासित मिल्छ र त्यसरी मिल्नुको कारण के हो?

१३ यहोवा भविष्यवाणी र उद्देश्‍यको परमेश्‍वर हुनुहुन्छ। उसोभए, भविष्यमा हुने कुराको पूर्वजानकारीलाई उहाँ कसरी प्रयोग गर्नुहुन्छ? सबैभन्दा पहिला त परमेश्‍वरको हरेक तौरतरिका सही, धार्मिक र मायालु छ भनेर हामीलाई आश्‍वासन दिइएको छ। इस्वी संवत्‌ प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले परमेश्‍वरले खानुहुने शपथ र उहाँले गर्नुहुने प्रतिज्ञा “कहिल्यै बदलिन नसक्ने कुरा” हुन्‌ भनेर पुष्टि गरे। (हिब्रू ६:१७, १८) परमेश्‍वर ‘कहिल्यै झूट बोल्नुहुन्‍न’ भनेर चेला तीतसलाई पत्र लेख्दा पनि पावलले त्यस्तै विचार व्यक्‍त गरे।—तीतस १:२.

१४ यसबाहेक, यहोवासित असीमित शक्‍ति छ। तैपनि उहाँ कहिल्यै शक्‍तिको दुरुपयोग गर्नुहुन्‍न। मोशाले यहोवा “विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य” परमेश्‍वर हुनुहुन्छ भने। (व्यवस्था ३२:४) यहोवा जे-जे गर्नुहुन्छ, त्यो उहाँको अद्‌भुत व्यक्‍तित्वसित मेल खान्छ। किनभने उहाँको काम प्रेम, बुद्धि, न्याय र शक्‍तिजस्ता उहाँका प्रमुख गुणसित ठ्याक्क मिल्छ।

१५, १६. अदनको बगैंचामा यहोवाले आदमलाई कस्तो छनौटबारे स्पष्ट पार्नुभयो?

१५ अदनको बगैंचामा यहोवाले आफ्ना प्रमुख गुणहरू कसरी देखाउनुभयो, विचार गर्नुहोस्‌। यहोवा मायालु पिता हुनुभएको कारण उहाँले मानिसजातिलाई चाहिने सबथोक दिनुभयो। उहाँले आदमलाई सोच्ने, तर्क गर्ने र निष्कर्ष निकाल्ने क्षमता दिनुभयो। जीवजन्तुहरू सहज ज्ञानअनुसार चल्छन्‌ तर आदमसित भने छनौट गर्ने क्षमता थियो। आदमलाई सृष्टि गरिसकेपछि स्वर्गीय सिंहासनबाट “आफुले [बनाएका] हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:२६-३१; २ पत्रुस २:१२.

१६ यहोवाले आदमलाई “असल र खराबको ज्ञान दिने रूखको फल चाहिं” नखानू भनेर आज्ञा दिनुहुँदा, आदमले आफै निर्णय गर्न सकोस्‌ भनेर पर्याप्त निर्देशन पनि दिनुभयो। उहाँले आदमलाई एउटा रूखको फलबाहेक “बगैंचाका सबै रूखका फल . . . संकोच नमानी” खान दिनुभएको थियो र मनाही गरिएको रूखको फल खाएमा नतिजा भयावह हुनेछ भनेर चेतावनी पनि दिनुभयो। (उत्पत्ति २:१६, १७) आदमले जस्तो काम गर्छ, परिणाम पनि त्यस्तै हुनेछ भनेर यहोवाले तिनलाई स्पष्टसित बताइदिनुभयो। आदमले के गर्ने थिए?

१७. यहोवा सबै कुराको नतिजा पहिल्यै निर्धारण गर्नुहुन्‍न भनेर हामी भन्‍न सक्छौं, किन?

१७ भविष्यमा हुने कुरा पहिल्यै थाह पाउने क्षमता भए तापनि आदम र हव्वाले के गर्नेछन्‌ भनेर यहोवाले पहिल्यै थाह पाउन खोज्नुभएन भन्‍ने कुरा प्रस्ट छ। त्यसकारण विचार गर्नुपर्ने मुख्य कुरा भनेको—यहोवा भविष्यमा हुने कुरा पहिल्यै थाह पाउन सक्नुहुन्छ कि सक्नुहुन्‍न भन्‍ने होइन, तर सबै कुरा पहिल्यै थाह पाउने छनौट गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने हो। यसबाहेक हामी यस्तो तर्क गर्न सक्छौं: यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण आदम र हव्वाले विद्रोह गर्नेछन्‌ भनेर उहाँले जानीबुझीकन र कठोर भई पूर्वनिर्धारण गर्नुहुने थिएन, जुन विद्रोहले अत्यन्त दुःखदायी परिणाम निम्त्याएको छ। (मत्ती ७:११; १ यूहन्‍ना ४:८) त्यसकारण, भविष्यमा हुने कुन कुरा पहिल्यै थाह पाउने र कुन कुरा थाह नपाउने, सो यहोवा छनौट गर्नुहुन्छ।

१८. यहोवा सबै कुराको नतिजा पहिल्यै निर्धारण गर्नुहुन्‍न भन्‍नुको अर्थ उहाँ त्यति शक्‍तिशाली हुनुहुन्‍न भनेको होइन, किन?

१८ यहोवा सबै कुराको नतिजा पहिल्यै निर्धारण गर्नुहुन्‍न भन्‍नुको अर्थ उहाँ त्यति शक्‍तिशाली हुनुहुन्‍न भन्‍न खोजेको हो? होइन। किनभने मोशाले भनेका छन्‌, यहोवा “चटान” हुनुहुन्छ, “उहाँका सबै काम न्यायसँगत छन्‌।” मानिसको पापले निम्त्याएका परिणामहरूको दोष उहाँमाथि थोपर्न मिल्दैन। आज हामीले भोगिरहेको पीडादायी अवस्था त आदमले परमेश्‍वरको आज्ञा तोडेको परिणाम हो। प्रेरित पावलले स्पष्ट तर्क गर्दै भने: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—व्यवस्था ३२:४, ५; रोमी ५:१२; यर्मिया १०:२३.

१९. अर्को लेखले कस्ता प्रश्‍नहरूको जवाफ दिनेछ?

१९ यहोवा कहिल्यै अन्याय गर्नुहुन्‍न भन्‍ने कुरा यो लेख छलफल गरेर थाह पायौं। (भजन ३३:५) यहोवाको क्षमता, नैतिक गुण तथा स्तर उहाँको उद्देश्‍यअनुरूप छन्‌। (रोमी ८:२८) यहोवा भविष्यवाणी गर्नुहुने परमेश्‍वर हुनुभएकोले उहाँ “आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी” दिनुहुन्छ। (यशैया ४६:१०, NRV) भविष्यमा हुने कुन कुरा पहिल्यै थाह पाउने र कुन कुरा थाह नपाउने, सो यहोवा छनौट गर्नुहुन्छ भनेर पनि बुझ्यौं। यी सब कुराले हामीलाई कस्तो असर पार्छ? हाम्रा निर्णयहरू परमेश्‍वरको मायालु उद्देश्‍यअनुरूप छन्‌ भनेर हामी कसरी पक्का गर्न सक्छौं? अनि यसरी पक्का गर्दा कस्तो इनाम पाउनेछौं? यी सबै प्रश्‍नको जवाफ अर्को लेखले दिनेछ। (w06 6/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिकाको पृष्ठ २८ हेर्नुहोस्‌।

के तपाईं बताउन सक्नुहुन्छ?

• प्राचीन समयको कस्ता उदाहरणहरूले यहोवाको “वचन” सधैं “सफल” हुन्छ भनेर पुष्टि गर्छ?

• आफ्नो “अनन्त उद्देश्‍य[को]” सन्दर्भमा यहोवाले कुन कुरा पहिल्यै निर्धारण गर्नुभएको छ?

• भविष्यमा हुने कुराको पूर्वजानकारीलाई यहोवा कसरी प्रयोग गर्नुहुन्छ?

[पृष्ठ २२-मा भएको चित्र]

यहोशापातले यहोवामाथि भरोसा राखेका थिए

[पृष्ठ २३-मा भएको चित्र]

येशूको मृत्यु र पुनरुत्थानबारे परमेश्‍वरले पहिल्यै बताउनुभएको थियो

[पृष्ठ २४-मा भएको चित्र]

आदम र हव्वाले गर्ने कुरा के यहोवाले पहिल्यै निर्धारण गर्नुभएको थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने