प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ६/१ pp. १४-१८
  • मण्डलीको उत्थान गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीको उत्थान गरिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिनलाई आफूहरूकहाँ ल्याए”
  • “तिनका बारेमा असल नाउँ चलेको थियो”
  • “हरेस खानेलाई दिलाशा देओ”
  • उसलाई “अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ”
  • ‘तिनी मलाई उपयोगी छन’
  • मण्डली र तपाईं
  • “मण्डलीहरूलाई सुदृढ बनाउँदै”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • मसीहीहरूलाई एक-अर्काको साथ चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अपोल्लस मसीही सत्यको वाक्पटु उद्‌घोषक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • इपाफ्रोडाइटस फिलिप्पीहरूका दूत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ६/१ pp. १४-१८

मण्डलीको उत्थान गरिरहनुहोस्‌

“एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर अर्थात्‌ उत्थान गरिरहो।”—१ थिस्स. ५:११.

१. ख्रीष्टियान मण्डलीमा रहँदा हामी कस्ता आशिष्‌हरू पाउँछौं, तर कस्ता समस्याहरू त छँदै छन्‌?

ख्रीष्टियान मण्डलीको सदस्य हुन पाउनु साँच्चै ठूलो आशिष्‌ हो। यहोवासित तपाईंको सम्बन्ध राम्रो छ। डोऱ्‍याइको लागि उहाँको वचनमा भर पर्नाले ख्रीष्टियान जीवनशैली विपरीत चल्दा आउने खराब नतिजाबाट तपाईं सुरक्षा पाउनुहुन्छ। तपाईंको भलाइ चाहने साँचो साथीहरू छन्‌। हो, आशिष्‌हरू धेरै छन्‌। तथापि धेरैजसो ख्रीष्टियान कुनै न कुनै समस्यासित संघर्ष गर्दै छन्‌। कसैलाई बाइबलको गहिरा कुराहरू बुझ्न मदत चाहिएको हुन सक्छ। अरू कोही बिरामी वा निराश छन्‌ वा मूर्ख निर्णयका नतिजाहरू भोगिरहेका हुन सक्छन्‌। हामी सबै परमेश्‍वरबाट बिरानो भएको संसारमा बाँच्नु परेको छ।

२. हाम्रा भाइबहिनी समस्यामा पर्दा के गर्नुपर्छ र किन?

२ हामीमध्ये कोही पनि सँगी ख्रीष्टियानले दुःख वा कठिनाइ भोग्नु परेको हेर्न चाहँदैनौं। प्रेरित पावलले मण्डलीलाई शरीरसित तुलना गर्दै भने: “एउटा अङ्‌गलाई दुःख भयो भने, सबै अङ्‌गहरूले यसैको साथसाथै दुःख भोग्छन्‌।” (१ कोरि. १२:१२, २६) यस्तो अवस्थामा भाइबहिनीलाई सहयोग गर्न हामीले सक्दो कोसिस गर्नुपर्छ। भाइबहिनीलाई चुनौतीहरूको सामना गर्न र समाधान गर्न मण्डलीका अरू सदस्यले मदत दिएका थुप्रै विवरण बाइबलमा छन्‌। ती विवरणहरू विचार गर्दा त्यहाँ बताइएका व्यक्‍तिहरूलाई जस्तै तपाईं कसरी सहयोग गर्न सक्नुहुन्छ, सोच्नुहोस्‌। यहोवाको मण्डलीको उत्थान हुनेगरि तपाईं आफ्ना भाइबहिनीलाई परमेश्‍वरको सेवामा लागिरहन कसरी मदत गर्न सक्नुहुन्छ?

“तिनलाई आफूहरूकहाँ ल्याए”

३, ४. अक्वीला र प्रिस्किलाले कुन तरिकामा अपोल्लसलाई मदत गरे?

३ अपोल्लस एफिससमा बस्न आउँदा जोसिलो प्रचारक भइसकेका थिए। प्रेरितको विवरण भन्छ: “आत्माको जोशले भरिएर यिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे। तर तिनले यूहन्‍नाको बप्तिस्मा मात्र थाहा पाएका थिए।” अपोल्लस “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा दिनेबारे अनभिज्ञ हुनुले तिनलाई कि बप्तिस्मा दिने यूहन्‍नाका चेलाहरूले कि चाहिं इस्वी संवत्‌ ३३ पेन्तिकोसअघिका येशूका अनुयायीहरूले साक्षी दिएको हुनुपर्छ। अपोल्लस जोसिलो भए तापनि केही महत्त्वपूर्ण कुराहरू तिनले बुझेका थिएनन्‌। सँगी विश्‍वासीहरूको सङ्‌गतिबाट तिनले कस्तो मदत पाए?—प्रेरि. १:४, ५; १८:२५; मत्ती २८:१९.

४ ख्रीष्टियान दम्पती अक्वीला र प्रिस्किलाले अपोल्लस निर्धक्कसँग सभाघरमा बोल्दै छन्‌ भन्‍ने सुनेपछि तिनलाई आफूकहाँ लगे र थप कुराहरू सिकाए। ( प्रेरित १८:२४-२६ पढ्‌नुहोस्‌) यो मायालु काम थियो। हो, अक्वीला र प्रिस्किलाले अपोल्लसलाई दोष देखाएको जस्तो महसुस नहुने तरिकामा कौशलतासाथ र सहयोगी भावसाथ बुझाउने थिए। तिनलाई केवल प्रारम्भिक ख्रीष्टियान मण्डलीको इतिहास थाह नभएकोले त्यो सिकाउनुपर्थ्यो। अनि त्यो महत्त्वपूर्ण कुरा बुझाइदिएकोमा निश्‍चय पनि अपोल्लस ती नयाँ साथीहरूप्रति कृतज्ञ भए। यो जानकारी पाएपछि अपोल्लसले अखैयाका भाइबहिनीलाई “खूबै मदत गरे” र प्रभावकारी साक्षी दिए।—प्रेरि. १८:२७, २८.

५. हजारौं राज्य प्रकाशकले कस्तो मायालु मदत गर्छन्‌ र यसको परिणाम कस्तो हुन्छ?

५ अहिले पनि ख्रीष्टियान मण्डलीमा थुप्रै भाइबहिनी बाइबलको कुरा बुझ्न मदत गर्नेहरूप्रति एकदमै आभारी छन्‌। ती विद्यार्थी र शिक्षकबीच अटुट मित्रता कायम भएको उदाहरण थुप्रै छन्‌। धेरैजसो अवस्थामा मानिसहरूलाई सत्य कुरा बुझ्नको लागि मदत दिन धेरै महिनासम्म नियमित गृह बाइबल अध्ययन गर्ने तालिका बनाउनुपर्ने हुन्छ। तथापि त्यस्तो त्याग गर्न राज्य प्रकाशकहरू इच्छुक छन्‌ किनभने यसमा जीवन-मरणको सवाल छ भनेर तिनीहरूले बुझेका छन्‌। (यूह. १७:३) त्यसको परिणामस्वरूप मानिसहरूले सत्य अँगालेको, त्यसअनुसार जीवन बिताएको अनि यहोवाको इच्छाअनुसार आफ्नो जीवन प्रयोग गरेको हेर्न पाउनु कत्ति खुसीको कुरा!

“तिनका बारेमा असल नाउँ चलेको थियो”

६, ७. (क) पावलले तिमोथीलाई सहयात्रीको रूपमा किन रोजे? (ख) तिमोथीले कस्तो उन्‍नति गर्ने मदत पाए?

६ प्रेरित पावल र सिलास दोस्रो मिसनरी यात्राको दौडान लिस्त्रामा जाँदा तिनीहरूले सायद भर्खरै २० वर्ष लागेका युवक तिमोथीलाई भेट्टाए। “लिस्त्रा र आइकोनियमका भाइहरूमा तिनका बारेमा असल नाउँ चलेको थियो।” तिमोथीकी आमा युनिस र बज्यै लोइस समर्पित ख्रीष्टियान थिए तर बुबा ख्रीष्टियान थिएनन्‌। (२ तिमो. १:५) केही वर्षअघि पावल त्यहाँ पहिलो चोटि जाँदा त्यो परिवारसित चिनजान भएको हुन सक्छ। तर अहिले प्रेरित पावलले तिमोथीलाई विशेष चासो देखाए किनभने तिनी अरूभन्दा भिन्‍नै देखिन्थे। त्यसैले स्थानीय प्राचीनहरूको निकायको स्वीकृतिमा तिमोथी मिसनरीकार्यमा पावलको सहयात्री बने।— प्रेरित १६:१-३ पढ्‌नुहोस्‌।

७ तिमोथीले आफूभन्दा जेठो साथीबाट सिक्नुपर्ने कुरा धेरै थियो। तर तिनले यत्ति उन्‍नति गरे कि पावलले विश्‍वस्त भई तिमोथीलाई आफ्नो प्रतिनिधिको रूपमा मण्डलीहरूमा पठाउन सके। पन्ध्र वर्षजति पावलसँग सङ्‌गत गर्दा कच्चा र सायद लजालु जवान तिमोथीले उत्कृष्ट निरीक्षक हुनेसम्मको उन्‍नति गरे।—फिलि. २:१९-२२; १ तिमो. १:३.

८, ९. मण्डलीका भाइबहिनीले जवानहरूलाई प्रोत्साहन दिन के गर्न सक्छन्‌? उदाहरण दिनुहोस्‌।

८ उन्‍नति गर्न सक्ने थुप्रै जवान पुरुष तथा स्त्री ख्रीष्टियान मण्डलीमा अहिले छन्‌। यहोवाको सेवामा असल उदाहरण बसालेका साथीले प्रोत्साहन दिने र ख्याल गर्ने हो भने यी जवानहरू अघि बढेर यहोवाका जनहरूबीच जिम्मेवारीहरू स्वीकार्न सक्षम हुन्छन्‌। तपाईंको मण्डलीमा हेर्नुहोस्‌! तिमोथीजस्तै आफूलाई उपलब्ध गराउन सक्ने कुनै जवान तपाईंले देख्नुभएको छ कि? तपाईंको सहयोग र प्रोत्साहनले तिनीहरू अग्रगामी, बेथेल सेवक, मिसनरी वा परिभ्रमण निरीक्षक हुन सक्छन्‌। त्यस्ता लक्ष्यहरूसम्म पुग्न तपाईं तिनीहरूलाई कस्तो मदत दिन सक्नुहुन्छ?

९ बीस वर्षदेखि बेथेल सेवा गर्दै आएका भाइ मार्टिन एक जना क्षेत्रीय निरीक्षकले ३० वर्षअघि सँगै प्रचार जाँदा उनलाई चासो दिएको कुरा कृतज्ञ हुँदै सम्झन्छन्‌। ती क्षेत्रीय निरीक्षकले आफू जवान छँदा गरेको बेथेल सेवाबारे उत्साहित हुँदै बताए। तिनले मार्टिनलाई यहोवाको संगठनमा त्यसरी नै उपलब्ध गराउन सकिने सम्भावना विचार गर्न प्रोत्साहन दिए। त्यो बिर्सनै नसकिने कुराकानीले भविष्यमा गरिने छनौटमा ठूलो प्रभाव पारेको कुरा मार्टिन महसुस गर्छन्‌। जवान साथीहरूसित ईश्‍वरतान्त्रिक लक्ष्यहरूबारे कुरा गरेर तिनीहरूका लागि तपाईंले कत्ति असल काम गरिरहेको हुन सक्छ, कसलाई थाह छ र!

“हरेस खानेलाई दिलाशा देओ”

१०. इपाफ्रोडाइटसले कस्तो महसुस गरे र किन?

१० विश्‍वासको कारण जेल परेका प्रेरित पावललाई भेट्‌न इपाफ्रोडाइटसले फिलिप्पीदेखि रोमसम्मको थकाइलाग्दो लामो यात्रा गरे। ती यात्री फिलिप्पीहरूको प्रतिनिधि भएर आएका थिए। तिनले पावललाई फिलिप्पीहरूको उपहार लगिदिने मात्र होइन तर कठिन परिस्थितिमा सक्दो सहयोग गर्न तिनले पावलसँगै बस्ने योजना पनि बनाए। तर इपाफ्रोडाइटस रोममा हुँदा “मरणान्त” हुनेगरि बिरामी परे। आफ्नो अभियानमा विफल भएको महसुस गरेर इपाफ्रोडाइटस निराश भएका थिए।—फिलि. २:२५-२७.

११. (क) मण्डलीमा कोही निराश हुँदा हामीले किन अचम्म मान्‍नुपर्दैन? (ख) इपाफ्रोडाइटसको सन्दर्भमा पावलले कस्तो सल्लाह दिए?

११ अहिले अनेक तनावको कारण मानिसहरूलाई नैराश्‍यसित सम्बन्धित मानसिक रोग डिप्रेसन हुन्छ। विश्‍व स्वास्थ्य संगठनको तथ्याङ्‌कअनुसार ५ जनामा १ जनालाई जीवनमा कुनै न कुनै समय डिप्रेसन हुन सक्छ। यहोवाका जनहरूलाई पनि डिप्रेसन हुन्छ। परिवारको पालनपोषण गर्न गाह्रो, बिरामी, असफलता जस्ता कुराले गर्दा हुने निरुत्साह वा अरू कारणले कुनै व्यक्‍तिलाई उदासीनताले छोप्न सक्छ। इपाफ्रोडाइटसलाई मदत गर्न फिलिप्पीका भाइबहिनीले के गर्न सक्थे? पावलले लेखे: “तिनलाई ज्यादै आनन्दसाथ प्रभुमा ग्रहण गर, र यस्ताहरूलाई आदरणीय जान। किनभने मतर्फको तिमीहरूको सेवामा घटी भएको पूरा गर्नलाई आफ्ना प्राणलाई जोखिममा पारेर ख्रीष्टको कामको निम्ति तिनी मृत्युको मुखसम्मै पुगे।”—फिलि. २:२९, ३०.

१२. निराशहरूले कसरी सान्त्वना पाउन सक्छन्‌?

१२ हामीले पनि निरुत्साहित वा निराश भएका भाइबहिनीलाई प्रोत्साहन दिनुपर्छ। निस्सन्देह, यहोवाको सेवामा तिनीहरूले गरेका सकारात्मक कुराहरूबारे हामी कुराकानी गर्न सक्छौं। सायद तिनीहरूले ख्रीष्टियान हुन वा पूर्ण-समय सेवामा लाग्न जीवनमा ठूलो परिवर्तन गरेका होलान्‌। तिनीहरूको त्यो प्रयासको हामी कदर गर्छौं र यहोवाले पनि त्यसको मोल गर्नुहुन्छ भनेर तिनीहरूलाई ढुक्क गराउन सक्छौं। ढल्कँदो उमेर वा बिग्रँदो स्वास्थ्यको कारण केही विश्‍वासी भाइबहिनीले पहिलेको जस्तै गर्न सकिराखेका छैनन्‌ भने पनि वर्षौंसम्म गरेको सेवाको कारण तिनीहरू हाम्रो आदरका योग्य छन्‌। अवस्था जस्तोसुकै भए तापनि यहोवा आफ्ना विश्‍वासी जनहरूलाई यो सल्लाह दिनुहुन्छ: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।”—१ थिस्स. ५:१४.

उसलाई “अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ”

१३, १४. (क) कोरिन्थ मण्डलीले कस्तो गम्भीर कदम चाल्यो र किन? (ख) बहिष्कार गरिंदा नतिजा कस्तो भयो?

१३ प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा एउटा समस्या थियो। एक जना व्यक्‍तिले पश्‍चाताप नगरी व्यभिचार गरिरहेको थियो। उसको आचरणले गर्दा मण्डलीको स्वच्छता खतरामा पर्नुका साथै उसको त्यो आचरणबारे अविश्‍वासीहरूमाझ समेत नराम्रो चर्चा चलेको थियो। त्यसकारण पावलले त्यो व्यक्‍तिलाई मण्डलीबाट निकाल्ने निर्देशन दिनु उचित थियो।—१ कोरि. ५:१, ७, ११-१३.

१४ त्यो अनुशासनको नतिजा राम्रो भयो। भ्रष्ट प्रभावदेखि मण्डली जोगियो। त्यस पापीले आफ्नो गल्ती स्वीकाऱ्‍यो र साँचो पश्‍चाताप गऱ्‍यो। पावलले उक्‍त मण्डलीलाई लेखेको दोस्रो पत्रमा त्यस व्यक्‍तिको पश्‍चाताप योग्य कामको आधारमा उसलाई पुनर्स्थापना गरिनुपर्छ भनेर औंल्याए। तर यति गरेर मात्र पुग्दैन थियो। पावलले मण्डलीलाई यस्तो निर्देशन दिए: “[त्यो पश्‍चातापी पापीलाई] अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन्‌ बढ्‌ता शोकले चुर्लुम्म डुब्नेछ।”—२ कोरिन्थी २:५-८ पढ्‌नुहोस्‌।

१५. मण्डलीमा पुनर्स्थापित भएका पश्‍चातापी पापीहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?

१५ यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? कसैलाई बहिष्कार गरिंदा हामीलाई दुःख लाग्छ। तिनीहरूले परमेश्‍वरको नामको अनादर र मण्डलीको बदनाम गरेका हुन सक्छन्‌। तिनीहरूले हामीविरुद्ध व्यक्‍तिगत तवरमा पाप गरेका समेत हुन सक्छन्‌। तैपनि मामिला जाँच्न नियुक्‍त भएका प्राचीनहरूले यहोवाको निर्देशनअनुसार पश्‍चातापी पापीलाई मण्डलीमा पुनर्स्थापना गर्नुपर्छ भनेर निर्णय गर्छन्‌ भने यसले यहोवाबाट तिनले माफी पाएको कुरा देखाउँछ। (मत्ती १८:१७-२०) के हामीले उहाँको अनुकरण गर्ने कोसिस गर्नुपर्दैन र? कठोर हुन्छौं र माफी दिदैनौं भने वास्तवमा हामीले यहोवाको विरोध गरिरहेका हुनेछौं। परमेश्‍वरको मण्डलीको शान्ति र एकतामा योगदान पुऱ्‍याउन अनि यहोवाको अनुमोदन पाउनको लागि साँचो पश्‍चाताप गरेर पुनर्स्थापित भएकाहरूप्रति के हामीले आफ्नो “प्रेमको प्रमाण” दिनुपर्दैन र?—मत्ती ६:१४, १५; लूका १५:७.

‘तिनी मलाई उपयोगी छन’

१६. मर्कूससित पावल किन रुष्ट भए?

१६ हामीलाई रुष्ट बनाउनेहरूप्रति नकारात्मक भावनाहरू मनमा खेलाउनुहुँदैन भनेर बाइबलको अर्को विवरणले देखाउँछ। जस्तै: मर्कूस पनि भनिने यूहन्‍नाले प्रेरित पावललाई साह्रै रुष्ट बनाए। कसरी? पावल र बर्णाबासले पहिलो मिसनरी यात्रा सुरु गर्दा मर्कूस पनि तिनीहरूसँगै मदतको लागि गए। तर कुनै खास कारणविना मर्कूसले यात्राको बीचैमा तिनीहरूको साथ छोडेर घर फर्के। तिनको यो निर्णयले पावल यत्ति रुष्ट भए कि दोस्रो यात्राको योजना बनाउँदा मर्कूसलाई फेरि साथमा लाने कि नलाने भन्‍नेबारे बर्णाबाससित तिनी असहमत भए। पहिलो यात्रामा के भएको थियो भन्‍ने कुरा विचार गरेर पावलले मर्कूसलाई लान चाहेनन्‌।— प्रेरित १३:१-५, १३; १५:३७, ३८ पढ्‌नुहोस्‌।

१७, १८. पावल र मर्कूसबीचको समस्या सुल्झियो भनेर हामी कसरी थाह पाउँछौं र यसबाट कस्तो पाठ सिक्न सक्छौं?

१७ पावलले यात्रामा लान इन्कार गरे तापनि मर्कूसले आफूलाई ज्यादै निरुत्साहित हुन दिएनन्‌। तिनले बर्णाबाससँगै विभिन्‍न क्षेत्रमा मिसनरीकार्य गरिरहे। (प्रेरि. १५:३९) तिनले आफूलाई विश्‍वासी र भरोसायोग्य प्रमाणित गरेको कुरा केही वर्षपछि पावलले तिनीबारे लेखेको कुराबाट देखिन्छ। पावल रोममा कैदी हुँदा तिमोथीलाई पत्रमार्फत बोलाए। त्यही पत्रमा पावलले भने: “मर्कूसलाई लिएर तिम्रो साथैमा ल्याऊ, किनभने तिनी सेवाको कामको निम्ति मलाई उपयोगी छन्‌।” (२ तिमो. ४:११) अहिले भने मर्कूसले राम्रो उन्‍नति गरिसके भनेर पावल विश्‍वस्त थिए।

१८ यसबाट सिक्नुपर्ने पाठ छ। मर्कूसले राम्रो मिसनरी हुन चाहिने गुणहरू विकास गरे। पावलले सुरुमा इन्कार गरेको कारण तिनले आफूलाई ठक्कर लाग्न दिएनन्‌। पावल र मर्कूस दुवै आध्यात्मिक व्यक्‍ति थिए र तिनीहरूबीच लामो समयसम्म वैरभाव भएन। यसको विपरीत पावलले मर्कूसलाई अमूल्य सहायकको रूपमा स्वीकारे। त्यसैले जब भाइबहिनीसितको समस्या र मतभेद समाधान हुन्छ तब गर्नुपर्ने सही कुरा भनेको अघि बढेर उनीहरूलाई आध्यात्मिक उन्‍नति गर्न निरन्तर मदत गर्नु हो। अरूमा भएको राम्रो कुरालाई ध्यान दिंदा मण्डलीको उत्थान हुन्छ।

मण्डली र तपाईं

१९. ख्रीष्टियान मण्डलीका सबै भाइबहिनीले एक-अर्कालाई कस्तो मदत दिन सक्छन्‌?

१९ यस “डरलाग्दो समय”-मा तपाईंलाई मण्डलीका भाइबहिनीको र तिनीहरूलाई तपाईंको सहयोगको आवश्‍यकता पर्छ। (२ तिमो. ३:१) प्रत्येक ख्रीष्टियानलाई आफूले भोगिरहेको परिस्थिति सफलतासाथ सँभाल्न कस्तो कदम चाल्ने हो, सधैं थाह नहुन सक्छ तर यहोवालाई थाह छ। अनि उहाँले तपाईंलगायत मण्डलीका विभिन्‍न भाइबहिनी चलाएर सही कदम चाल्न मदत गर्न सक्नुहुन्छ। (यशै. ३०:२०, २१; ३२:१, २) त्यसोभए प्रेरित पावलको यो आग्रह मनमा राखिछोड्‌नुहोस्‌: “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर अर्थात्‌ उत्थान गरिरहो, जस्तो तिमीहरू गर्दै पनि छौ।”—१ थिस्स. ५:११. ( w10 -E 06/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• ख्रीष्टियान मण्डलीमा अरूको उत्थान गर्नु किन आवश्‍यक छ?

• कस्ता कठिनाइको सामना गर्न तपाईं अरूलाई मदत गर्न सक्नुहुन्छ?

• मण्डलीका भाइबहिनीको मदत हामीलाई किन चाहिन्छ?

[पृष्ठ १५-मा भएको चित्र]

सँगी ख्रीष्टियानले कठिन परिस्थितिसित संघर्ष गर्दा हामी सहायता गर्न सक्छौं

[पृष्ठ १६-मा भएको चित्र]

उन्‍नति गर्न सक्ने थुप्रै जवान पुरुष तथा स्त्री ख्रीष्टियान मण्डलीमा अहिले छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने