प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. १५ pp. ११७-१२३
  • “मण्डलीहरूलाई सुदृढ बनाउँदै”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मण्डलीहरूलाई सुदृढ बनाउँदै”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “त्यहाँ फेरि गएर भाइहरूलाई भेटौँ” (प्रेषित १५:३६)
  • “चर्को भनाभन भयो” (प्रेषित १५:३७-४१)
  • “उनको असाध्यै तारिफ गर्थे” (प्रेषित १६:१-३)
  • “विश्‍वास बलियो हुँदै” गयो (प्रेषित १६:४, ५)
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • बर्णाबास—“सान्त्वनाको छोरो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवाका मानिसहरू विश्‍वासमा दह्रो बनाइन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. १५ pp. ११७-१२३

अध्याय १५

“मण्डलीहरूलाई सुदृढ बनाउँदै”

परिभ्रमण निरीक्षकहरूले मण्डलीहरूलाई विश्‍वासमा बलियो हुन मदत गर्छन्‌

प्रेषित १५:३६–१६:५ मा आधारित

१-३. (क) पावलका नयाँ सहयात्री को हुन्‌? तिनीबारे हामीलाई के थाह छ? (ख) यस अध्यायमा हामी के सिक्नेछौँ?

अप्ठ्यारा बाटाहरू पार गर्दै एउटा सहरबाट अर्को सहर गइरहेका पावल आफूसँगै यात्रा गरिरहेका जवान भाइको चिन्ता गर्दै उनलाई हेर्छन्‌। ती जवान भाइको नाम तिमोथि हो। जवान अनि जोसले भरिएका तिमोथि २०-२१ वर्षका छन्‌। भर्खरै सुरु गरेको यस यात्रामा उनी प्रत्येक पाइलासँगै आफ्नो घरदेखि टाढा-टाढा हुँदै छन्‌। दिन ढल्दै जाँदा तिनीहरू लिस्त्रा र आइकोनियमदेखि झन्‌-झनै टाढा पुग्छन्‌। तिनीहरूले अब कस्तो परिस्थितिको सामना गर्नुपर्नेछ? पावलको यो दोस्रो मिसनरी यात्रा भएकोले कस्ता परिस्थितिहरू आइपर्न सक्छन्‌ भनेर तिनलाई थाह छ। खतरा अनि समस्याहरूले बाटो ढुकेर बसेको छ भनेर पनि तिनले बुझेका छन्‌। तर सँगै यात्रा गरिरहेका ती जवान भाइले यी सब कुराको सामना कसरी गर्लान्‌?

२ पावल तिमोथिमाथि जति भरोसा गर्छन्‌, सायद ती नम्र जवान भाइ आफैमाथि त्यति भरोसा गर्दैनन्‌। हालैका घटनाहरूले गर्दा आफूसँग यात्रा गर्न उपयुक्‍त साथी छान्‍नुपर्ने कुरा पावलले अझ राम्ररी बुझेका छन्‌। पावलले अब गर्नुपर्ने काम भनेको विभिन्‍न मण्डलीमा गएर भाइबहिनीलाई बलियो बनाउनु थियो। त्यसको लागि दृढ सङ्‌कल्प हुनु र परिभ्रमण कार्यमा लाग्नेहरूको सोचाइ एक हुनु जरुरी छ भनेर तिनले बुझेका छन्‌। तिनले यस्तो महसुस गर्नुको कारण के थियो? एउटा कारण, पावल र बर्णाबासबीच केही समयअघि भएको मतभेद हुन सक्छ, जसले गर्दा तिनीहरू छुट्टिएका थिए।

३ यस अध्यायमा मतभेद सुल्झाउने सबैभन्दा राम्रो तरिकाबारे हामी धेरै कुरा सिक्नेछौँ। पावलले तिमोथिलाई आफ्नो सहयात्रीको रूपमा छान्‍नुको कारण पनि बुझ्नेछौँ। साथै आज क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नेहरूले कस्तो महत्त्वपूर्ण भूमिका खेल्छन्‌, त्यो पनि हामी राम्ररी थाह पाउनेछौँ।

“त्यहाँ फेरि गएर भाइहरूलाई भेटौँ” (प्रेषित १५:३६)

४. आफ्नो दोस्रो मिसनरी यात्रामा पावलले के गर्नेछन्‌?

४ पावल, बर्णाबास, यहुदा र सिलास, यी चार भाइले एन्टिओकको मण्डलीलाई खतनाको विषयमा परिचालक निकायको निर्णय सुनाएर कसरी ढाडस दिए, हामीले अघिल्लो अध्यायमा सिक्यौँ। त्यसपछि पावलले के गरे? बर्णाबासलाई यसो भन्दै तिनले यात्राको नयाँ योजना सुनाए: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा परमेश्‍वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।” (प्रेषि. १५:३६) भर्खरै ख्रिष्टियन भएका भाइहरूकहाँ साधारण भेटघाटको लागि मात्र जाने कुरा त पावलले गरिरहेका थिएनन्‌। प्रेषितको पुस्तकमा पावलको दोस्रो मिसनरी यात्राको उद्देश्‍य प्रस्ट पारिएको छ। पहिलो, तिनी जहाँ-जहाँ जाने थिए, त्यहाँ-त्यहाँ परिचालक निकायको फैसला सुनाउने थिए। (प्रेषि. १६:४) दोस्रो, परिभ्रमण निरीक्षकको हैसियतमा मण्डलीहरूलाई आध्यात्मिक रूपमा सुदृढ बनाउन र विश्‍वासमा बढ्‌दै जान मदत दिन पावल कटिबद्ध थिए। (रोमी १:११, १२) प्रेषितहरूले बसालेको यो नमुना अहिले यहोवाका साक्षीहरूको सङ्‌गठनले कसरी पछ्याउँछ?

५. परिचालक निकायले संसारभरिका मण्डलीहरूलाई कसरी डोऱ्‍याउँछ र प्रोत्साहन दिन्छ?

५ अहिले पनि ख्रिष्टले परिचालक निकायमार्फत मण्डलीहरूलाई निर्देशन दिनुहुन्छ। चिठी, छापिएका र अनलाइन प्रकाशनहरू, सभा र अन्य माध्यममार्फत यी विश्‍वासी अभिषिक्‍त जनहरूले संसारभरिका मण्डलीहरूलाई डोऱ्‍याउँछन्‌ र प्रोत्साहन दिन्छन्‌। परिचालक निकायले प्रत्येक मण्डलीसित नजिकको सम्बन्ध राख्ने कोसिस पनि गर्छ। यसै उद्देश्‍यको लागि परिभ्रमण निरीक्षकहरूको प्रबन्ध गरिएको छ। संसारभरि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न परिचालक निकायले नै हजारौँ योग्य एल्डरहरूलाई नियुक्‍त गर्छ।

६, ७. क्षेत्रीय निरीक्षकहरूका केही जिम्मेवारी बताउनुहोस्‌।

६ अहिले परिभ्रमण निरीक्षकहरूले आफू भ्रमण गर्ने प्रत्येक मण्डलीलाई व्यक्‍तिगत रूपमा ध्यान दिन्छन्‌ र आध्यात्मिक रूपमा प्रोत्साहन दिन्छन्‌। कसरी? पावलजस्ता प्रथम शताब्दीका ख्रिष्टियनहरूले बसालेको नमुना पछ्याएर। तिनले आफ्ना सङ्‌गी निरीक्षकलाई यस्तो सल्लाह दिए: “वचन प्रचार गर, चाहे अवस्था अनुकूल होस्‌ वा प्रतिकूल, जोडतोडले प्रचार गर। त्यसैगरि असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार, हप्काऊ र अर्ती देऊ . . . प्रचारकको काम गर।”—२ तिमो. ४:२, ५.

७ यी पदमा भनिएझैँ क्षेत्रीय निरीक्षकले साक्षीकार्यको विभिन्‍न पक्षमा स्थानीय प्रकाशकहरू सँगसँगै सेवा गर्छन्‌। तिनी विवाहित हुन्‌ भने आफ्नी पत्नीसँगै सेवा गर्छन्‌। त्यस्ता परिभ्रमण निरीक्षकहरू साक्षीकार्यमा जोसिला छन्‌। तिनीहरू दक्ष शिक्षक पनि हुन्‌। यस्ता गुणहरूले बगालमा सकारात्मक प्रभाव पार्छ। (रोमी १२:११; २ तिमो. २:१५) यी क्षेत्रीय निरीक्षकहरू आत्मत्यागी प्रेम देखाउँछन्‌। चाहे मौसम प्रतिकूल होस्‌ वा खतरनाक इलाकाहरूमा जानु परोस्‌, तिनीहरू राजीखुसीले अरूको सेवा गर्छन्‌। (फिलि. २:३, ४) साथै तिनीहरू बाइबलआधारित भाषणहरू दिएर मण्डलीलाई प्रोत्साहन दिन्छन्‌, सिकाउँछन्‌ र सल्लाह दिन्छन्‌। यी निरीक्षकहरूको आचरणलाई हेरेर र तिनीहरूको विश्‍वासको अनुकरण गरेर मण्डलीका सबैले लाभ उठाउँछन्‌।—हिब्रू १३:७.

“चर्को भनाभन भयो” (प्रेषित १५:३७-४१)

८. पावलको प्रस्तावप्रति बर्णाबासले कस्तो प्रतिक्रिया देखाए?

८ “गएर भाइहरूलाई भेटौँ” भन्‍ने पावलको प्रस्ताव बर्णाबासले सहर्ष स्विकारे। (प्रेषि. १५:३६) पहिले पनि तिनीहरूले परिभ्रमण सेवकको रूपमा मिलेर यात्रा गरिसकेका थिए। दुवै जनालाई अब जाने ठाउँबारे र त्यहाँका मानिसहरूबारे राम्ररी थाह थियो। (प्रेषि. १३:२–१४:२८) तिनीहरूलाई यो मिसनरी यात्रा सँगै गर्नु सही र व्यावहारिक लागेको हुनुपर्छ। तर समस्या खडा भयो। प्रेषित १५:३७ यसो भन्छ: “बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई पनि सँगै लैजाने निश्‍चय गरेका थिए।” बर्णाबासले मर्कुसलाई लैजाँदा बेस होला भनेर सुझाव मात्र दिएका थिएनन्‌। बरु तिनले उक्‍त मिसनरी यात्रामा आफ्नो नातेदार मर्कुसलाई सँगै लैजाने “निश्‍चय” गरिसकेका थिए।

९. बर्णाबाससित पावलको कुरा नमिल्नुको कारण के थियो?

९ तर पावलले मानेनन्‌। किन? विवरण यसो भन्छ: “पावल भने [मर्कुसलाई] सँगै लैजाने पक्षमा थिएनन्‌ किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।” (प्रेषि. १५:३८) पावल र बर्णाबासको पहिलो मिसनरी यात्रामा मर्कुस पनि सँगै गएका थिए तर यात्रा पूरा नगरी उनी फर्के। (प्रेषि. १२:२५; १३:१३) यात्राको सुरुतिरै पाम्फिलियामै हुँदा मर्कुस तिनीहरूलाई छोडेर आफ्नो घर यरुसलेम फर्के। तिनी किन फर्के, त्यो त बाइबलमा बताइएको छैन। तैपनि पावललाई मर्कुसको यस्तो व्यवहारले गर्दा उनी आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्दैनन्‌ भन्‍ने लागेको हुनुपर्छ। मर्कुस भरपर्दो छन्‌ भन्‍ने कुरामा पावल ढुक्क हुन सकेनन्‌।

१०. पावल र बर्णाबासबीच कुन हदसम्म मतभेद भयो? यसको नतिजा कस्तो भयो?

१० मर्कुसलाई सँगै लैजाने कि नलैजाने भनेर पावल र बर्णाबास आ-आफ्नो कुरामा अझै अडिग थिए। प्रेषित १५:३९ यसो भन्छ: “यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए।” बर्णाबास मर्कुसलाई लिएर आफ्नो घर साइप्रसतिरको समुद्री यात्रामा लागे। पावलचाहिँ योजनाअनुसारै आफ्नो बाटो लागे। विवरण यसो भन्छ: “पावलले भने सिलासलाई रोजे अनि भाइहरूले पावलमाथि यहोवा परमेश्‍वरको असीम अनुग्रह रहोस्‌ भनेर बिन्ती चढाएपछि तिनी आफ्नो बाटो लागे।” (प्रेषि. १५:४०) “मण्डलीहरूलाई सुदृढ बनाउँदै” तिनीहरू “सिरिया र सिलिसियाको इलाकाभरि गए।”—प्रेषि. १५:४१.

११. हाम्रो चित्त दुखाउने व्यक्‍तिसितको सम्बन्ध सदाको लागि बिग्रन नदिन कस्ता गुणहरू देखाउनुपर्छ?

११ यस विवरणले हामी त्रुटिपूर्ण छौँ भनेर सम्झाउँछ। त्यतिबेलाको परिचालक निकायले पावल र बर्णाबासलाई विशेष प्रतिनिधिको रूपमा नियुक्‍त गरेको थियो। पछि पावल स्वयम्‌ पनि परिचालक निकायको सदस्य बने। तैपनि पावल र बर्णाबास दुवै त्यस अवसरमा आफ्नो त्रुटिपूर्ण झुकावको वशमा परे। के यस घटनाको कारण तिनीहरूको सम्बन्ध सदाको लागि बिग्रियो त? पावल र बर्णाबास त्रुटिपूर्ण भए तापनि नम्र थिए। तिनीहरूको मन ख्रिष्टको जस्तै थियो। निश्‍चय पनि समयको दौडान तिनीहरूले ख्रिष्टियन भाइचारा देखाए र एकअर्कालाई क्षमा दिए। (एफि. ४:१-३) पछि पावल र मर्कुसले अरू ईश्‍वरतान्त्रिक जिम्मेवारी पूरा गर्दा सँगसँगै काम गरे।a—कल. ४:१०.

१२. पावल र बर्णाबासको अनुकरण गर्दै आजका निरीक्षकहरूले कस्ता गुणहरू देखाउनुपर्छ?

१२ रिसले पड्‌किनु न बर्णाबासलाई सुहाउँथ्यो न त पावललाई नै। बर्णाबास मायालु र उदार व्यक्‍ति भनेर चिनिन्थे। यहाँसम्म कि तिनको नाम युसुफ भए तापनि प्रेषितहरूले तिनलाई बर्णाबास भनेर बोलाउँथे, जसको अर्थ “सान्त्वनाको छोरा” भन्‍ने हुन्थ्यो। (प्रेषि. ४:३६) पावल पनि कोमल र नरम मिजासको व्यक्‍ति भनेर चिनिन्थे। (१ थिस्स. २:७, ८) पावल र बर्णाबासको अनुकरण गर्दै क्षेत्रीय निरीक्षकलगायत सबै ख्रिष्टियन निरीक्षकहरूले सधैँ नम्र मनोभाव देखाउन र सङ्‌गी एल्डर तथा बगालका सबैसित कोमल व्यवहार गर्न प्रयत्न गर्नुपर्छ।—१ पत्रु. ५:२, ३.

“उनको असाध्यै तारिफ गर्थे” (प्रेषित १६:१-३)

१३, १४. (क) तिमोथि को थिए र पावलले उनलाई कहिले भेटेका थिए? (ख) पावलले तिमोथिलाई विशेष ध्यान दिनुको कारण के थियो? (ग) तिमोथिले कस्तो जिम्मेवारी पाए?

१३ दोस्रो मिसनरी यात्रामा पावल रोमी प्रान्त गलातिया पुगे। त्यहाँ केही नयाँ मण्डली स्थापना भएका थिए। अन्तमा तिनी “डर्बी र लिस्त्रामा पनि आइपुगे।” विवरण यसो भन्छ: “त्यहाँ तिमोथि नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्‍वास गर्ने यहुदी स्त्री थिइन्‌ तर उनका बुबा भने ग्रीक थिए।”—प्रेषि. १६:१.b

१४ इस्वी संवत्‌ ४७ तिर त्यस इलाकामा पहिलो चोटि जाँदा पावलले तिमोथिको परिवारलाई भेटेका हुन सक्छन्‌। अहिले दुई वा तीन वर्षपछि दोस्रो चोटि जाँदा पावलले जवान तिमोथिलाई विशेष ध्यान दिए। किन? किनभने “भाइहरूले उनको असाध्यै तारिफ गर्थे।” आफ्नै ठाउँका भाइहरूले मात्र उनलाई माया गरेका होइनन्‌, उनको असल नाम अरू मण्डलीहरूमा पनि चलेको थियो। करिब ३० किलोमिटर टाढा पर्ने लिस्त्रा र आइकोनियमका भाइहरूले पनि उनको असाध्यै तारिफ गर्थे भनी विवरण बताउँछ। (प्रेषि. १६:२) पवित्र शक्‍तिको डोऱ्‍याइमा एल्डरहरूले जवान तिमोथिलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पे। त्यो जिम्मेवारी थियो, परिभ्रमण सेवकको रूपमा पावल र सिलासलाई सघाउने।—प्रेषि. १६:३.

१५, १६. तिमोथिले राम्रो नाम कमाउन सक्नुको कारण के थियो?

१५ कलिलो उमेरमै तिमोथिले त्यस्तो राम्रो नाम कमाउन सक्नुको कारण के थियो? उनको बौद्धिक क्षमता, रूप वा उनका योग्यताहरूले हो कि? मानिसहरू त्यस्ता गुणहरू देखेर प्रभावित हुन्छन्‌। एकचोटि भविष्यवक्‍ता समुएल पनि एक जना मानिसको बाहिरी रूप देखेर प्रभावित भएका थिए। तर यहोवाले तिनलाई यसरी सम्झाउनुभयो: “परमेश्‍वरले मानिसले झैँ हेर्नुहुन्‍न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।” (१ समु. १६:७) तिमोथिले सङ्‌गी ख्रिष्टियनहरूमाझ आफ्ना गुणहरूको कारण असल नाम कमाएका थिए, कुनै विशेष योग्यताको कारण होइन।

१६ परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने तिमोथिका केही गुणबारे वर्षौँपछि प्रेषित पावलले उल्लेख गरे। पावलले तिमोथिको असल मनोभाव, उनको आत्मत्यागी प्रेम र ईश्‍वरतान्त्रिक जिम्मेवारी पूरा गर्न उनले देखाएको लगनशीलताबारे बताए। (फिलि. २:२०-२२) तिमोथि “निष्कपट विश्‍वास” भएका व्यक्‍तिको रूपमा पनि चिनिन्थे।—२ तिमो. १:५.

१७. आज जवानहरूले कसरी तिमोथिको अनुकरण गर्न सक्छन्‌?

१७ परमेश्‍वरले मन पराउने गुणहरू खेती गरेर आज थुप्रै जवानहरू तिमोथिको अनुकरण गर्छन्‌। तिनीहरूले पनि कलिलै उमेरमा यहोवा र उहाँका जनहरूको नजरमा राम्रो नाम कमाउँछन्‌। (हितो. २२:१; १ तिमो. ४:१५) तिनीहरू निष्कपट विश्‍वास देखाउँछन्‌ र दोहोरो जीवन बिताउँदैनन्‌। (भज. २६:४) फलस्वरूप तिमोथिले जस्तै थुप्रै जवानहरूले मण्डलीमा महत्त्वपूर्ण भूमिका निभाउँछन्‌। तिनीहरू सुसमाचारको प्रकाशकको रूपमा सेवा गर्न योग्य हुन्छन्‌ र समयको दौडान यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा गर्छन्‌। यहोवालाई प्रेम गर्ने सबैको लागि कत्ति प्रोत्साहनजनक कुरा!

“विश्‍वास बलियो हुँदै” गयो (प्रेषित १६:४, ५)

१८. (क) परिभ्रमण सेवकको रूपमा पावल र तिमोथिले कस्तो विशेष जिम्मेवारी पाए? (ख) मण्डलीहरूले कस्तो आशिष्‌ पाए?

१८ पावल र तिमोथिले वर्षौँसम्म सँगै मिलेर काम गरे। परिभ्रमण सेवकको रूपमा तिनीहरूले परिचालक निकायको तर्फबाट थुप्रै जिम्मेवारी पूरा गरे। बाइबल विवरण यसो भन्छ: “तिनीहरू जुन-जुन सहर जान्थे, त्यहाँ-त्यहाँ यरुसलेमका प्रेषितहरू र एल्डरहरूले गरेको फैसला सुनाएर ती पालन गर्नू भनी बताउँथे।” (प्रेषि. १६:४) कुरा स्पष्ट छ, यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूबाट आएको निर्देशन मण्डलीहरूले पछ्याए। त्यस्तो आज्ञाकारिताको कारण “मण्डलीमा हुनेहरूको विश्‍वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्‌ख्या पनि दिनप्रतिदिन बढ्‌दै गयो।”—प्रेषि. १६:५.

१९, २०. “अगुवाइ लिइरहेका” भाइहरूप्रति ख्रिष्टियनहरू किन आज्ञाकारी हुनुपर्छ?

१९ त्यसैगरि आज पनि यहोवाका साक्षीहरूले “अगुवाइ लिइरहेका” भाइहरूको निर्देशन आज्ञाकारी भई पालन गरेर थुप्रै आशिष्‌ पाउँछन्‌। (हिब्रू १३:१७) यस संसारको दृश्‍य परिवर्तन भइरहन्छ। त्यसैले ख्रिष्टियनहरूले “विश्‍वासी र बुद्धिमान्‌ दास”-बाट प्राप्त निर्देशन र डोऱ्‍याइअनुसार कदम चालिहाल्नु अत्यन्तै जरुरी छ। (मत्ति २४:४५; १ कोरि. ७:२९-३१) यसो गर्दा सत्यबाट तर्किनदेखि जोगिनेछौँ। अनि यस संसारबाट बेदाग रहन पनि मदत पाउनेछौँ।—याकु. १:२७.

२० पावल, बर्णाबास, मर्कुस र प्रथम शताब्दीका अन्य अभिषिक्‍त एल्डरहरू त्रुटिपूर्ण भएझैँ आज पनि परिचालक निकायका सदस्यहरूलगायत सबै ख्रिष्टियन निरीक्षक पनि त्रुटिपूर्ण छन्‌। कोही पनि सर्वगुणी छैनन्‌। (रोमी ५:१२; याकु. ३:२) तर परिचालक निकायका सदस्यहरू परमेश्‍वरको वचन एकदमै होसियारी साथ पालन गरेर र प्रेषितहरूले बसालेको नमुना पछ्याएर आफूलाई भरोसायोग्य साबित गर्छन्‌। (२ तिमो. १:१३, १४) फलस्वरूप मण्डलीहरू सुदृढ भएका छन्‌ र भाइबहिनीहरूको विश्‍वास पनि बलियो भएको छ।

तिमोथिले ‘सुसमाचार फैलाउनमा परिश्रम गरे’

तिमोथि प्रेषित पावलको लागि अति नै उपयोगी सहयोगी थिए। सँगसँगै काम गरेको लगभग ११ वर्षपछि पावलले निर्धक्क भई तिमोथिको विषयमा यस्तो लेख्न सके: “तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन . . . तिनले आफ्नो विषयमा दिएको प्रमाण त तिमीहरूलाई थाहै छ। छोराले आफ्नो बुबालाई सघाएजस्तै सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे।” (फिलि. २:२०, २२) सुसमाचार फैलाउन तिमोथिले धेरै परिश्रम गरे। त्यसैले तिनी पावलको लागि प्रिय थिए र हाम्रो लागि पनि राम्रो उदाहरण बसाले।

तिमोथि।

तिमोथिका बुबा ग्रीक थिए भने आमाचाहिँ यहुदी। तिनी लिस्त्रामा हुर्के। शैशवकालदेखि नै तिनलाई आमा युनिस र बज्यै लोइसले धर्मशास्त्रबाट सिकाएका थिए। (प्रेषि. १६:१, ३; २ तिमो. १:५; ३:१४, १५) तिमोथिको गृहनगरमा पावलले पहिलो चोटि भ्रमण गर्दा तिमोथि आमा र बज्यैसँगै ख्रिष्टियन बनेका हुन सक्छन्‌।

त्यसको केही वर्षपछि पावल फेरि त्यहाँ जाँदा तिनी सायद २०/२१ वर्षका भइसकेका थिए। “लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।” (प्रेषि. १६:२) परमेश्‍वरको पवित्र शक्‍तिद्वारा यी जवान भाइको विषयमा “भविष्यवाणीहरू” गरिएका थिए। ती भविष्यवाणीअनुसारै पावल र स्थानीय एल्डरहरूले तिमोथिलाई सेवाको विशेष सुअवसरको लागि सिफारिस गरे। (१ तिमो. १:१८; ४:१४; २ तिमो. १:६) तिमोथिले पावलसँगै मिसनरी यात्रामा जाने सुअवसर पाए। यसको लागि तिमोथिले आफ्नो घरपरिवार छोड्‌नुपर्ने थियो र आफू जाने इलाकाका यहुदीहरूले गनगन नगरून्‌ भनेर खतना गर्नुपर्ने थियो।—प्रेषि. १६:३.

तिमोथिले टाढा-टाढासम्म धेरै यात्रा गरे। तिनले पावल र सिलाससँग फिलिप्पीमा सुसमाचार सुनाए। तिनले सिलाससित बिरियामा र त्यसपछि थिस्सलोनिकामा एक्लै साक्षी दिए। पावललाई फेरि कोरिन्थमा भेट्‌दा थिस्सलोनिकीहरूले सङ्‌कष्टहरूको बाबजुद वफादारी र प्रेम देखाएको राम्रो खबर तिनले पावललाई सुनाए। (प्रेषि. १६:६–१७:१४; १ थिस्स. ३:२-६) कोरिन्थका भाइबहिनीहरूबारे नराम्रो खबर पाएपछि एफिससमा भएका पावलले तिमोथिलाई फेरि कोरिन्थ पठाउने विचार गरे। (१ कोरि. ४:१७) पछि पावलले एफिससबाट तिमोथि र इरास्तसलाई म्यासिडोनिया पठाए। तर पावलले रोमीहरूलाई पत्र लेख्दा तिमोथि पावलसितै कोरिन्थमा थिए। (प्रेषि. १९:२२; रोमी १६:२१) सुसमाचारको खातिर तिमोथिले गरेको यात्राको यी त केही उदाहरण मात्र हुन्‌।

सायद तिमोथि आफ्नो अख्तियार प्रयोग गर्न अलि हिचकिचाउँथे। यो कुरा पावलले तिमोथिलाई दिएको यस्तो प्रोत्साहनबाट हामी बुझ्न सक्छौँ: “तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्‌।” (१ तिमो. ४:१२) तिमोथिमाथि भरोसा भएको कारण पावलले तिनलाई यस्तो निर्देशन दिएर समस्याग्रस्त मण्डलीमा जान अह्राए: “तिमीले केही मानिसलाई के आज्ञा दिन सक भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन्‌।” (१ तिमो. १:३) पावलले तिमोथिलाई मण्डलीमा निरीक्षक र सहायक सेवक नियुक्‍त गर्ने अख्तियार पनि दिए।—१ तिमो. ५:२२.

तिमोथिमा असल गुणहरू भएकोले पावल तिनलाई असाध्यै माया गर्थे। बाइबलले बताएअनुसार यी जवान भाइ पावलको घनिष्ठ, विश्‍वासी र मायालु साथी थिए—आफ्नो छोराजस्तै। तिमोथिका आँसुहरू सम्झेको, तिनलाई भेट्‌न तिर्सना गरेको र तिनको लागि प्रार्थना गरेको कुरा पावलले आफ्नो पत्रमा लेखे। तिमोथि सायद पेटको समस्याले गर्दा “घरीघरी बिरामी परिरहेकोले” मायालु बुबाले झैँ पावलले तिनलाई केही सल्लाह दिए।—१ तिमो. ५:२३; २ तिमो. १:३, ४.

पावल पहिलो पटक रोममा कैदी हुँदा तिमोथि उनीसँगै थिए। तिमोथि पनि केही समय थुनामा परेका थिए। (फिले. १; हिब्रू १३:२३) आफ्नो मृत्यु नजिकै भएको महसुस गरेपछि पावलले तिमोथिलाई आफूकहाँ बोलाए। यसबाट यी दुई पुरुषबीचको सम्बन्ध कत्ति गहिरो थियो भन्‍ने कुरा प्रस्ट हुन्छ। पावलले यस्तो खबर पठाए: “मकहाँ छिट्टै आउन सक्दो कोसिस गर।” (२ तिमो. ४:६-९) आफ्नो मायालु अभिभावकलाई फेरि भेट्‌न तिमोथि समयमै पुगे कि पुगेनन्‌, त्यो कुरा बाइबलले बताएको छैन।

मर्कुस थुप्रै विशेष जिम्मेवारी पाउँछन्‌

मर्कुसको सुसमाचारको पुस्तकमा येसुलाई पक्रने मानिसहरूले “एक जना जवान मानिस”-लाई पनि पक्रन खोजेको र तिनी “आफ्नो कपडा छोडेर नाङ्‌गै” भागेको घटना बताइएको छ। (मर्कु. १४:५१, ५२) युहन्‍ना भनेर चिनिने मर्कुसले मात्र यो घटना आफ्नो पुस्तकमा उल्लेख गरेकोले सायद ती जवान मानिस तिनी आफै थिए। त्यसो हो भने, मर्कुस र येसुको कुनै-कुनै अवसरमा भेटघाट भएको हुनुपर्छ।

बूढापाकाहरूले बोल्दै गर्दा मर्कुस तिनीहरूको कुरा सुन्दै र लेख्दै छन्‌।

उक्‍त घटनाको झन्डै ११ वर्षपछि हेरोद अग्रिपाले ख्रिष्टियनहरूको खेदो गर्न थाल्दा यरुसलेम मण्डलीका “धेरै जना” मर्कुसकी आमा मरियमको घरमा प्रार्थना गर्न भेला भएका थिए। झ्यालखानाबाट चमत्कारपूर्ण ढङ्‌गमा छुटेपछि प्रेषित पत्रुस पनि उनकै घरमा गएका थिए। (प्रेषि. १२:१२) त्यसैले मर्कुस हुर्के-बढेको घरमा नै पछि ख्रिष्टियन सभाहरू गर्न थालिएको हुन सक्छ। तिनी येसुका सुरु-सुरुका चेलाहरूलाई पक्कै राम्ररी चिन्थे। तिनीहरूले मर्कुसमा राम्रो प्रभाव पारेका थिए।

प्रथम शताब्दीका मण्डलीहरूका थुप्रै निरीक्षकसित मर्कुसले सँगसँगै सेवा गरे। तिनले आफ्नो नातेदार बर्णाबास र प्रेषित पावलसँगै सिरियाको एन्टिओकमा सेवा गरेका थिए। हामीलाई थाह भएसम्म तिनले पाएको पहिलो सेवाको सुअवसर यही थियो। (प्रेषि. १२:२५) बर्णाबास र पावल आफ्नो पहिलो मिसनरी यात्रामा निस्कँदा मर्कुस पनि तिनीहरूसँगै सुरुमा साइप्रस अनि एसिया माइनरसम्म गए। तर किन हो कुन्‍नि, मर्कुस त्यहाँबाट यरुसलेम फर्के। (प्रेषि. १३:४, १३) बर्णाबास र पावलबीच मर्कुसको विषयमा मतभेद भइसकेपछि मर्कुस र बर्णाबासले साइप्रसमा आफ्नो मिसनरी सेवालाई निरन्तरता दिए। यो घटना प्रेषित अध्याय १५ मा बताइएको छ।—प्रेषि. १५:३६-३९.

पछि मर्कुसले फेरि पावल सँगसँगै रोममा सेवा गरे। यसबाट इस्वी संवत्‌ ६० वा ६१ सम्ममा तिनीहरूले पहिले भएको सबै मतभेद बिर्सिसकेका थिए भनेर प्रस्ट हुन्छ। त्यस सहरमा कैदी बनाइएका पावलले कलस्सीको मण्डलीलाई यस्तो पत्र लेखे: “मेरा सङ्‌गी कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। त्यसैगरि बर्णाबासका नातेदार मर्कुसले (तिनी तिमीहरूकहाँ आए भने तिनको स्वागत गर्नू भनेर तिनको विषयमा तिमीहरूले निर्देशन पाएका थियौ) . . . पनि अभिवादन पठाएका छन्‌।” (कल. ४:१०, ११) त्यसैले पावल आफ्नो प्रतिनिधिको रूपमा युहन्‍ना भनेर चिनिने मर्कुसलाई रोमबाट कलस्सी पठाउने विचार गर्दै थिए।

इस्वी संवत्‌ ६२ र ६४ को बीचतिर मर्कुसले प्रेषित पत्रुससित बेबिलोनमा सेवा गरे। यस किताबको अध्याय १० मा बताइएझैँ तिनीहरूबीच घनिष्ठ सम्बन्ध थियो किनभने पत्रुसले ती जवानलाई “मेरो छोरा मर्कुस” भनेका छन्‌।—१ पत्रु. ५:१३.

अन्ततः इस्वी संवत्‌ ६५ तिर पावल रोममा दोस्रो पटक कैदमा पर्दा तिनले एफिससमा भएका आफ्ना सहकर्मी तिमोथिलाई लेखेको पत्रमा यसो भने: “मर्कुसलाई सँगै लिएर आऊ किनकि सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌।” (२ तिमो. ४:११) मर्कुसले यो निम्तो तुरुन्तै स्विकारे र एफिससबाट फेरि रोमतिर लागे। बर्णाबास, पावल र पत्रुस मर्कुसको निकै कदर गर्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

मर्कुसले सुसमाचारको पुस्तक लेख्न यहोवाबाट प्रेरणा पाए। तिनले पाएको सबैभन्दा ठूलो सुअवसर यही हो। कसै-कसैको भनाइअनुसार मर्कुसले प्रेषित पत्रुसबाट थुप्रै जानकारी सङ्‌कलन गरेका थिए। मर्कुसको सुसमाचारको पुस्तक हेर्दा यो कुरा सही देखिन्छ। किनभने पत्रुसजस्तै प्रत्यक्षदर्शीले मात्रै बताउन सक्ने थुप्रै विवरण तिनले उल्लेख गरेका छन्‌। तर मर्कुसले सुसमाचारको पुस्तक बेबिलोनमा पत्रुससँगै हुँदा होइन बरु रोममा छँदा लेखेका थिए। मर्कुसले थुप्रै ल्याटिन शब्दहरू प्रयोग गरेका छन्‌। गैर-यहुदीहरूलाई बुझ्न सजिलो होस्‌ भनेर तिनले हिब्रू शब्दहरू अनुवाद पनि गरिदिएका छन्‌। यसबाट तिनले सुसमाचारको पुस्तक मुख्यतया अन्यजातिका मानिसहरूको लागि लेखेका थिए जस्तो देखिन्छ।

a पृष्ठ ११८ मा भएको “मर्कुस थुप्रै विशेष जिम्मेवारी पाउँछन्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।

b पृष्ठ १२१ मा भएको “तिमोथिले ‘सुसमाचार फैलाउनमा परिश्रम गरे’” शीर्षकको पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने