प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ६/१५ pp. ७-११
  • यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा नजिकिन सजिलो हुनुहुन्छ
  • एल्डरहरूमा हुनुपर्ने एकदमै महत्त्वपूर्ण गुण
  • कुराकानी गर्न समय निकाल्नुहोस्‌
  • यहोवा निष्पक्ष हुनुहुन्छ
  • हामी यहोवाको अनुकरण गर्न सक्छौं
  • के तपाईं हाम्रो निष्पक्ष परमेश्‍वरको अनुसरण गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • हाम्रा निष्पक्ष परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ६/१५ pp. ७-११

यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्‌

“प्यारा केटाकेटीहरूझैं परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।”—एफि. ५:१.

तपाईंको के जवाफ छ?

  • हामी यहोवाका गुणहरूको अझ धेरै मोल कसरी गर्न सक्छौं?

  • नजिकिन सजिलो हुनुको अर्थ के हो?

  • हामी कसरी यहोवाजस्तै निष्पक्ष हुन सक्छौं?

१. (क) तपाईंको मनमा यहोवाका कस्ता गुणहरू आउँछन्‌? (ख) परमेश्‍वरका गुणहरूबारे अध्ययन गर्दा हामी कस्तो लाभ उठाउन सक्छौं?

यहोवाको व्यक्‍तित्वबारे विचार गर्दा तपाईंको मनमा उहाँका कस्ता गुणहरू आउँछन्‌? हामीमध्ये धेरैजसोले प्रेम, न्याय, बुद्धि र शक्‍तिबारे सोच्छौं होला। तर हामीलाई थाह छ, यहोवाका अरू पनि थुप्रै मनमोहक गुण छन्‌। यहोवाका गुणहरूको सूची बनाउने हो भने ४० वटाभन्दा धेरै हुन्छ। ती गुणहरूबारे हाम्रा प्रकाशनहरूमा एक-एक गरी छलफल गरिएका छन्‌। तपाईंले व्यक्‍तिगत अथवा पारिवारिक अध्ययनको दौडान ती गुणहरूबारे अध्ययन गर्नुभयो भने यहोवाबारे कत्ति धेरै कुरा सिक्न सक्नुहुन्छ, कल्पना गर्नुहोस्‌ त! यस्तो अध्ययनबाट हामी कस्तो लाभ उठाउन सक्छौं? यसले स्वर्गका बुबाप्रतिको हाम्रो कृतज्ञता बढाउँछ। अनि यहोवाप्रतिको हाम्रो कृतज्ञता जति धेरै बढ्‌छ, उहाँसित घनिष्ठ हुने र उहाँको अनुकरण गर्ने हाम्रो इच्छा पनि त्यति नै धेरै प्रबल हुन्छ।—यहो. २३:८; भज. ७३:२८.

२. (क) हामी यहोवाका गुणहरूको अझ धेरै मोल कसरी गर्न सक्छौं, उदाहरण दिनुहोस्‌। (ख) यो अनि यसपछिका दुइटा लेखमा के छलफल गर्नेछौं?

२ तपाईं कसरी कुनै कुराको अझ धेरै मोल गर्न सक्नुहुन्छ? मानौं तपाईं कुनै नयाँ परिकार चाख्दै हुनुहुन्छ। सुरुमा तपाईं त्यसको मीठो बास्ना लिनुहुन्छ। त्यसपछि प्रत्येक गाँस स्वाद लिई-लिई खानुहुन्छ। पछि तपाईं आफै त्यो परिकार बनाउनुहुन्छ। त्यस्तै गरी, यहोवाको गुणको अझ धेरै मोल गर्न सुरुमा तपाईंले त्यस गुणबारे सिक्नुपर्छ, त्यसबारे मनन गर्नुपर्छ अनि त्यो गुण अनुकरण गर्नुपर्छ। (एफि. ५:१) परमेश्‍वरका मुख्य गुणहरूबाहेक हामीले त्यत्ति याद नगर्ने अरू गुणहरू पनि छन्‌। तीमध्ये केही गुणबारे यो अनि यसपछिका दुइटा लेखमा छलफल गरिनेछ। ती गुणहरूबारे छलफल गर्दा हामी यस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौं: यस गुणको अर्थ के हो? यहोवा यो गुण कसरी देखाउनुहुन्छ? अनि यो गुण देखाउने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

यहोवा नजिकिन सजिलो हुनुहुन्छ

३, ४. (क) तपाईं कस्तो व्यक्‍तिलाई नजिकिन सजिलो भन्‍नुहुन्छ? (ख) आफू नजिकिन सजिलो भएको कुरा यहोवा कसरी देखाउनुहुन्छ?

३ सुरुमा, नजिकिन सजिलो हुनुको अर्थ के हो, विचार गरौं। तपाईं कस्तो व्यक्‍तिलाई नजिकिन सजिलो भन्‍नुहुन्छ? तपाईं भन्‍नुहोला, ‘जो दयालु छ, जसले कुराकानी गर्न समय निकाल्छ र जोसित कुरा गर्न सजिलो लाग्छ।’ कुनै व्यक्‍ति नजिकिन सजिलो छ कि छैन भन्‍ने कुरा उसको बोली, हाउभाउ र अनुहारको भावबाट देखिन्छ।

४ आफू नजिकिन सजिलो भएको कुरा यहोवा कसरी देखाउनुहुन्छ? यहोवा विशाल ब्रह्‍माण्डको सृष्टिकर्ता हुनुहुन्छ। तैपनि उहाँ हाम्रो प्रार्थना सुन्‍न र त्यसको जवाफ दिन एकदमै इच्छुक हुनुहुन्छ। (भजन १४५:१८; यशैया ३०:१८, १९ पढ्‌नुहोस्‌) हामी परमेश्‍वरसित जुनसुकै समयमा, जुनसुकै ठाउँमा अनि जत्ति पनि कुरा गर्न सक्छौं। हामी कुनै हिचकिचाहटविना उहाँको नजिक जान सक्छौं किनभने हामीलाई थाह छ, उहाँ हामीसित कहिल्यै झर्किनुहुन्‍न। (भज. ६५:२; याकू. १:५) बाइबलले यहोवाबारे मानिसहरूले बुझ्न सक्ने तरिकामा बताएको छ। यसबाट के प्रस्ट हुन्छ भने हामी यहोवासित नजिक भएको उहाँ चाहनुहुन्छ। जस्तै: “परमप्रभुका नजर” हामीतर्फ हुन्छ र उहाँको “दाहिने बाहुलीले” हामीलाई सम्हाल्छ भनेर दाऊदले लेखे। (भज. ३४:१५; ६३:८) भविष्यवक्‍ता यशैयाले यहोवालाई गोठालोसित तुलना गर्दै यसो भने: “उहाँले थुमाहरूलाई आफ्नै अंगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ।” (यशै. ४०:११) कल्पना गर्नुहोस्‌ त, एउटा थुमा मायालु गोठालोको काखमा लुटपुटिएझैं हामी यहोवाको नजिक भएको उहाँ चाहनुहुन्छ। यो कुरा विचार गर्दा हामी उहाँलाई अझ धेरै प्रेम गर्न उत्प्रेरित हुन्छौं। यससन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

एल्डरहरूमा हुनुपर्ने एकदमै महत्त्वपूर्ण गुण

५. एल्डरहरू नजिकिन सजिलो हुनु किन एकदमै महत्त्वपूर्ण छ?

५ विभिन्‍न देशका जोसिला साक्षीहरूलाई हालै यस्तो प्रश्‍न सोधिएको थियो, “तपाईंलाई एल्डरहरूको सबैभन्दा मन पर्ने गुण कुन हो?” धेरैजसोले जवाफ दिए, “नजिकिन सजिलो।” हो, प्रत्येक ख्रीष्टियनले यो गुण विकास गर्न सक्दो कोसिस गर्नुपर्छ, विशेषगरि एल्डरहरूले। (यशै. ३२:१, २) एल्डरहरू नजिकिन सजिलो हुनु किन एकदमै महत्त्वपूर्ण छ? एक जना बहिनीले यसो भनिन्‌: “कुनै एल्डर नजिकिन सजिलो हुनुहुन्छ भने मात्र उहाँमा भएका अरू असल गुणहरूबाट लाभ उठाउन सक्छौं।” के तपाईंले यस भनाइको भाव बुझ्नुभयो? त्यसोभए हामी कसरी नजिकिन सजिलो व्यक्‍ति हुन सक्छौं?

६. नजिकिन सजिलो हुने मुख्य तरिका के हो?

६ नजिकिन सजिलो हुने मुख्य तरिका अरूप्रति साँचो चासो देखाउनु हो। कुनै एल्डर अरूको ख्याल राख्छन्‌ र अरूको खातिर अर्पण हुन इच्छुक छन्‌ भने तिनीसित कुराकानी गर्न केटाकेटी तथा अरू भाइबहिनीलाई सजिलो लाग्नेछ। (मर्कू. १०:१३-१६) बाह्र वर्षीय कार्लोस भन्छन्‌: “राज्यभवनमा एल्डरहरू भाइबहिनीसित मुस्कुराउँदै अनि दयालु हुँदै कुरा गरेको देख्छु। मलाई उहाँहरूको यो बानी एकदमै मन पर्छ।” त्यसकारण एल्डरहरूले आफू नजिकिन सजिलो छु भनेर मात्र पुग्दैन, व्यवहारमा देखाउनुपर्छ। (१ यूह. ३:१८) एल्डरहरूले कसरी यसो गर्न सक्छन्‌?

७. अधिवेशनको बिल्ला देख्दा मानिसहरू हामीसित कुरा गर्न किन आउँछन्‌ र यसबाट हामी के सिक्न सक्छौं?

७ एउटा अनुभव विचार गर्नुहोस्‌। हालैको कुरा हो, अधिवेशनपछि एक जना भाइ हवाईजहाजमा घर फर्कंदै थिए। तिनले ‘परमेश्‍वरको राज्य आओस्‌!’ लेखिएको अधिवेशनको बिल्ला लगाएका थिए। त्यो बिल्ला देखेर विमान परिचारकले भने, “हो, त्यो आओस्‌! यस विषयमा अरू कुरा पनि गर्नुपर्छ है।” पछि तिनीहरूबीच राम्रो कुराकानी भयो अनि ती परिचारकले खुसीसाथ हाम्रा पत्रिकाहरू स्वीकारे। हामीमध्ये थुप्रैको पनि यस्तै अनुभव छ। अधिवेशनको बिल्ला देख्दा मानिसहरू हामीसित कुरा गर्न किन आउँछन्‌? किनकि यसले मानिसहरूलाई यस्तो सन्देश दिइरहेको हुन्छ: “मसित कुरा गर्न नहिचकिचाउनुहोस्‌। म कहाँ जाँदै छु, मलाई सोध्नुहोस्‌।” बिल्लाले हामी आफ्नो विश्‍वासबारे अरूलाई बताउन इच्छुक छौं भन्‍ने कुराको स्पष्ट सङ्‌केत दिन्छ। त्यसैगरि एल्डरहरू भाइबहिनीलाई “मसित कुरा गर्न नहिचकिचाउनुहोस्‌” भन्‍ने स्पष्ट सङ्‌केत दिन चाहन्छन्‌। तीमध्ये केही सङ्‌केत के हुन्‌?

८. अरूप्रति साँचो चासो भएको सङ्‌केत एल्डरहरूले कसरी दिन सक्छन्‌ र यसले मण्डलीलाई कस्तो प्रभाव पार्छ?

८ अभिवादन गर्ने तरिका देशअनुसार फरक-फरक हुन सक्छ। तर साधारणतया भाइबहिनीलाई मीठो मुस्कान दिंदा, हात मिलाउँदा र मित्रैलो भएर अभिवादन गर्दा तिनीहरूप्रति साँचो चासो भएको सङ्‌केत दिइरहेका हुन्छौं। यसो गर्न को अग्रसर हुनुपर्छ? येशूको उदाहरण विचार गर्नुहोस्‌। आफ्ना चेलाहरूसित सभा गर्दा येशू तिनीहरूको “नजिक गएर” कुरा गर्नुभयो। (मत्ती २८:१८) त्यसैगरि, आज पनि सँगी विश्‍वासीहरूको नजिक गएर कुरा गर्न एल्डरहरू अग्रसर हुन्छन्‌। यसले मण्डलीलाई कस्तो प्रभाव पार्छ? अठासी वर्षकी अग्रगामी बहिनीले यसो भनिन्‌: “राज्यभवनभित्र छिर्दा एल्डरहरू मलाई प्रोत्साहनदायी शब्दहरू अनि न्यानो मुस्कानका साथ स्वागत गर्नुहुन्छ। मलाई उहाँहरूको यो कुरा असाध्यै मन पर्छ।” अर्की बहिनीले यसो भनिन्‌: “हुन त यो कुरा सानो देखिएला तर कुनै एल्डरले मलाई मीठो मुस्कान दिंदै सभामा स्वागत गर्दा त्यसले मेरो लागि ठूलो अर्थ राख्छ।”

कुराकानी गर्न समय निकाल्नुहोस्‌

९, १०. (क) यहोवाले कस्तो उत्कृष्ट उदाहरण बसाल्नुभएको छ? (ख) एल्डरहरूले कसरी यहोवाको अनुकरण गर्न सक्छन्‌?

९ नजिकिन सजिलो व्यक्‍ति हुन चाहन्छौं भने हामीले भाइबहिनीको लागि समय निकाल्नै पर्छ। यससम्बन्धमा यहोवाले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।” (प्रेषि. १७:२७) एल्डरहरूले यहोवाको अनुकरण गर्न सक्ने एउटा तरिका सभाअघि र सभापछि मण्डलीका युवा तथा वृद्ध भाइबहिनीसित कुराकानी गर्न समय निकाल्नु हो। एक अग्रगामी भाइले यसो भने: “जब एल्डरले मेरो हालखबर सोध्नुहुन्छ र जवाफ सुन्‍न पर्खनुहुन्छ, उहाँले मेरो मोल गर्नुभएको महसुस हुन्छ।” यहोवाको सेवामा लगभग ५० वर्ष बिताएकी एक बहिनीले यसो भनिन्‌: “एल्डरहरूले सभापछि मसित कुरा गर्न केही समय निकाल्दा उहाँहरूले मेरो एकदमै मोल गर्नुभएको महसुस हुन्छ।”

१० हो, ख्रीष्टियन गोठालोले अरू पनि थुप्रै जिम्मेवारी सम्हाल्नुपर्छ। तर सभामा तिनीहरूको मुख्य लक्ष्य भेडाहरूको हेरविचार गर्ने हुनुपर्छ।

यहोवा निष्पक्ष हुनुहुन्छ

११, १२. (क) निष्पक्ष हुनुको अर्थ के हो? (ख) यहोवा निष्पक्ष हुनुहुन्छ भनेर बाइबलले कसरी देखाउँछ?

११ यहोवाको अर्को मनमोहक गुण निष्पक्षता हो। निष्पक्ष हुनुको अर्थ के हो? यसको अर्थ कसैको पक्ष नलिई सबैसित समान व्यवहार गर्नु हो। निष्पक्षतामा दुइटा कुरा समावेश छन्‌: मनोवृत्ति र काम। यी दुवै कुरा किन महत्त्वपूर्ण छन्‌? किनभने कुनै व्यक्‍ति निष्पक्ष छ भने मात्र उसले सबैसित निष्पक्ष व्यवहार गर्न सक्छ। ग्रीक धर्मशास्त्रमा ‘पक्षपाती नहुनु’ भनेर प्रयोग गरिएको अभिव्यक्‍तिले कसैलाई काखा, कसैलाई पाखा नगर्नु भन्‍ने अर्थ दिन्छ। (प्रेषि. १०:३४) त्यसैले निष्पक्ष व्यक्‍तिले कसैको रूपरङ्‌ग वा भौतिक सम्पन्‍नताको आधारमा व्यवहार गर्दैन। बरु ऊ वास्तवमा कस्तो व्यक्‍ति हो, त्यसको आधारमा व्यवहार गर्छ।

१२ निष्पक्ष हुने विषयमा यहोवाले सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ। “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” र “उहाँले कसैको पक्षपात गर्नुहुन्‍न” भनेर बाइबल बताउँछ। (प्रेषित १०:३४, ३५; व्यवस्था १०:१७ पढ्‌नुहोस्‌) यस कुरालाई मोशाको समयमा सृजना भएको एउटा परिस्थितिले प्रस्ट पार्छ।

सलोफादका छोरीहरूले यहोवाको निष्पक्षताको मोल गरे (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

१३, १४. (क) सलोफादका पाँच जना छोरी कस्तो समस्यामा परे? (ख) यहोवाले कसरी निष्पक्ष व्यवहार गर्नुभयो?

१३ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेका थिए। त्यतिबेला सलोफादका पाँच जना अविवाहित छोरीमाथि एउटा समस्या आइपऱ्‍यो। कस्तो समस्या? अरू इस्राएली परिवारले जस्तै आफ्नो बुबाको भागमा परेको जमिन आफ्नो परिवारले पाउनेछ भनेर तिनीहरूलाई थाह थियो। (गन्ती २६:५२-५५) तर तिनीहरूको बुबाको मृत्यु भइसकेको थियो। व्यवस्थाअनुसार बुबाको सम्पत्तिमा छोराहरूको मात्र हक लाग्थ्यो। तर सलोफादका छोरीहरू मात्र थिए। (गन्ती २६:३३) छोराहरू नभएकोले गर्दा के सलोफादको अंश अरू नातेदारहरूलाई दिइने थियो? के ती छोरीहरू बिचल्लीमा पर्ने थिए?

१४ ती पाँच दिदीबहिनी मोशाकहाँ गएर सोधे: “छोराहरू नहुँदा हाम्रा बाबुको आफ्नो कुलमा नाउँ किन मासिने?” तिनीहरूले यस्तो बिन्ती गरे: “हाम्रा बाबुका दाज्यू-भाइहरूमा हामीलाई पनि अधिकार दिनुहोस्‌।” के मोशाले ‘नियम नै यस्तो छ, के गर्नु। मबाट केही हुन सक्दैन’ भने? अहँ, भनेनन्‌ बरु उनले “तिनीहरूको मामिला परमप्रभुकहाँ ल्याए।” (गन्ती २७:२-५) यहोवाले त्यो मामिला कसरी सम्हाल्नुभयो? उहाँले मोशालाई यसो भन्‍नुभयो: “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बाबुका दाज्यू-भाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बाबुको उत्तराधिकारी बनाइदिनू।” त्यति मात्र होइन, यहोवाले यस्तो नियम पनि थप्नुभयो: “कुनै मानिस छोरा नभई मऱ्‍यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।” (गन्ती २७:६-८; यहो. १७:१-६) त्यसबेलादेखि त्यस्तै परिस्थितिमा भएका सबै इस्राएली स्त्रीले अंश पाउने भए।

१५. (क) यहोवा आफ्ना सेवकहरूसित, विशेषगरि बेसहाराहरूसित कस्तो व्यवहार गर्नुहुन्छ? (ख) यहोवा निष्पक्ष हुनुहुन्छ भन्‍ने कुरा अरू कस्ता बाइबल विवरणले देखाउँछ?

१५ कस्तो निष्पक्ष फैसला! यहोवाले ती बेसहारा स्त्रीहरूलाई अरू इस्राएलीहरूलाई जस्तै आदरपूर्वक व्यवहार गर्नुभयो। (भज. ६८:५) यहोवा आफ्ना सबै सेवकसित निष्पक्ष व्यवहार गर्नुहुन्छ भनेर देखाउने थुप्रै बाइबल विवरणमध्ये यो त एउटा नमुना मात्र हो।—१ शमू. १६:१-१३; प्रेषि. १०:३०-३५, ४४-४८.

हामी यहोवाको अनुकरण गर्न सक्छौं

१६. हामी कसरी यहोवाजस्तै निष्पक्ष हुन सक्छौं?

१६ हामी कसरी यहोवाजस्तै निष्पक्ष हुन सक्छौं? निष्पक्ष हुनुमा दुइटा कुरा समावेश छन्‌ भनेर नबिर्सनुहोस्‌। हामी निष्पक्ष छौं भने मात्र सबैसित निष्पक्ष व्यवहार गर्न सक्छौं। हुन त हामीलाई आफू खुला विचारधाराको अनि निष्पक्ष छु जस्तो लाग्ला। तर हामी अरूलाई कुन नजरले हेर्छौं भनेर थाह पाउन कहिलेकाहीं गाह्रो हुन सक्छ। त्यसोभए हामी वास्तवमा निष्पक्ष छौं कि छैनौं भनेर कसरी थाह पाउन सक्छौं? आफूबारे मानिसहरूको विचारधारा थाह लगाउन येशूले आफ्ना भरोसायोग्य साथीहरूलाई यस्तो प्रश्‍न सोध्नुभयो: “मानिसको छोरा को हो भनी मानिसहरू भन्दैछन्‌?” (मत्ती १६:१३, १४) येशूको यो तरिका प्रयोग गरे कसो होला? इमानदार जवाफ दिने साथीलाई तपाईं यो प्रश्‍न सोध्न सक्नुहुन्छ, ‘तिम्रो विचारमा के म अरूसित निष्पक्ष व्यवहार गर्छु?’ साथीले तपाईं कहिलेकाहीं जातपातको आधारमा, भौतिक सम्पन्‍नताको आधारमा अथवा शैक्षिक योग्यताको आधारमा व्यवहार गर्नुहुन्छ भनेर बताएमा तपाईंले के गर्नुपर्छ? आफ्नो मनोवृत्ति सच्याउन मदत माग्दै यहोवालाई आफ्नो भावना पोखाउनुहोस्‌। यस्तो प्रार्थनाले तपाईंलाई उहाँको निष्पक्षता अझ राम्ररी झल्काउन मदत गर्नेछ।—मत्ती ७:७; कल. ३:१०, ११.

१७. हामी कुन-कुन तरिकामा अरूसित निष्पक्ष व्यवहार गर्न सक्छौं?

१७ मण्डलीमा सबै भाइबहिनीसित आदरपूर्वक अनि दयालु व्यवहार गरेर यहोवाको निष्पक्षता अनुकरण गर्न सक्छौं। जस्तै: अतिथि सत्कार गर्दा मण्डलीका गरिब, अनाथ, विधवा, सच्चाइमा कोही नभएका अनि हाम्रो भन्दा भिन्‍नै पृष्ठभूमि भएका भाइबहिनीलगायत सबै प्रकारका सँगी विश्‍वासीलाई निम्तो दिन चाहन्छौं। (गलाती २:१०; याकूब १:२७ पढ्‌नुहोस्‌) साथै प्रचारकार्यमा निष्पक्ष भएर सबै किसिमका मानिसलाई सुसमाचार सुनाउँछौं, विदेशीहरूलाई पनि। यहोवाको सङ्‌गठनले ६०० भन्दा धेरै भाषामा बाइबलआधारित साहित्यहरू प्रकाशित गर्छ। निष्पक्षताको कत्ति राम्रो उदाहरण!

१८. यहोवाजस्तै नजिकिन सजिलो अनि निष्पक्ष भएको कुरा तपाईं कसरी देखाउन चाहनुहुन्छ?

१८ यहोवा नजिकिन सजिलो अनि निष्पक्ष हुनुहुन्छ भन्‍ने कुरामा जत्ति धेरै मनन गर्छौं, ती गुणहरूको उत्ति नै धेरै मोल गर्न सक्नेछौं। परिणामस्वरूप सँगी विश्‍वासीहरूसित अनि प्रचारमा भेट्‌ने मानिसहरूसित व्यवहार गर्दा यहोवाको अनुकरण गर्दै ती गुणहरू देखाउन उत्प्रेरित हुनेछौं।

“उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ।”—भज. १४५:१८ (अनुच्छेद ९ हेर्नुहोस्‌)

“परमप्रभु तिमीहरूका परमेश्‍वर . . . कसैको पक्षपात गर्नुहुन्‍न।”—व्यव. १०:१७ (अनुच्छेद १७ हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने