प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जुलाई pp. १२-१६
  • “रुने मानिसहरूसित रोओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “रुने मानिसहरूसित रोओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—“सबै सान्त्वनाका परमेश्‍वर”
  • येशू—समानुभूतिशील प्रधान पुजारी
  • “धर्मशास्त्रबाट पाइने सान्त्वना”
  • मण्डली —सान्त्वनाको ठूलो स्रोत
  • सान्त्वना दिइरहनुहोस्‌
  • “सबै सान्त्वनाका परमेश्‍वर[बाट]” ढाडस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • शोकसन्तप्त व्यक्‍तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जुलाई pp. १२-१६
चिन्तित हुँदै पर्खिरहेका व्यक्‍तिहरू

“रुने मानिसहरूसित रोओ”

“एक-अर्कालाई सान्त्वना दिइरहो अनि एक-अर्काको उत्थान गरिरहो।”—१ थिस्स. ५:११.

गीत: १२१, ७५

के तपाईंलाई याद छ?

  • यहोवा कसरी सान्त्वना दिनुहुन्छ?

  • मृत्युको शोकमा परेकाहरूलाई कस्ता शास्त्रपदले सान्त्वना दिन सक्छ?

  • शोकमा परेकाहरूलाई मण्डलीले कसरी सान्त्वना दिन सक्छ?

१, २. शोकमा परेकाहरूलाई सान्त्वना दिने तरिकाबारे थाह पाउनु किन जरुरी छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

सुसी बहिनीले यसो भनिन्‌: “छोरा बितेको लगभग एक वर्ष भइसक्दा पनि हामीले उसको मृत्युको चोट बिर्सन सकेका थिएनौं।” पत्नीको अचानक मृत्यु हुँदा आफूलाई “शारीरिक रूपमा असह्‍य पीडा” भएको कुरा एक जना भाइले बताए। अरू थुप्रैले पनि यस्तै पीडा अनुभव गरेका छन्‌। हामी आफ्नो परिवार अनि साथीभाइसित जिउँदै आरमागेडोन पार गर्न चाहन्छौं। त्यसैले कसैको मृत्यु होला भनेर चिताएकै हुँदैनौं। तर तपाईंहरूमध्ये कसै-कसैले आफ्नो परिवारको सदस्य वा साथीभाइ गुमाउनुभएको छ होला। अथवा मृत्युको शोकमा परेका कसैलाई चिन्‍नुहुन्छ होला। तपाईंलाई लाग्ला, ‘म उहाँहरूलाई कसरी सान्त्वना दिन सक्छु?’

२ सायद तपाईंले यो भनाइ सुन्‍नुभएको होला: ‘समयले सबै घाउ निको पार्छ।’ तर यो कुरा कत्तिको साँचो हो? आफ्नो पति गुमाएकी एक बहिनीले यसो भनिन्‌: “मेरो विचारमा समयले मनको घाउ निको पार्छ कि पार्दैन भन्‍ने कुरा हामी त्यो समय कसरी बिताउँछौं, त्यसमा भर पर्छ।” घाउ निको हुन समयका साथै राम्रो हेरविचार चाहिन्छ। त्यस्तैगरि मनको घाउ निको हुन पनि समय र राम्रो हेरविचार चाहिन्छ। मृत्युको शोकमा परेकाहरूलाई विशेषगरि कुन कुराले सान्त्वना दिन्छ?

यहोवा—“सबै सान्त्वनाका परमेश्‍वर”

३, ४. शोकमा परेकाहरूको दुःख यहोवा बुझ्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौं?

३ सान्त्वनाका मुख्य स्रोत दयालु बुबा यहोवा हुनुहुन्छ। (२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌) समानुभूतिका उत्कृष्ट उदाहरण यहोवाले आफ्ना जनहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “तिमीहरूलाई सान्त्वना दिने मनै हुँ।”—यशै. ५१:१२; भज. ११९:५०, ५२, ७६.

४ आफ्ना प्रिय मित्रहरू गुमाउनुपर्दा कस्तो हुन्छ भनेर कोमल कृपाका बुबा यहोवाले पनि महसुस गर्नुभएको छ। उहाँले अब्राहाम, इसहाक, याकूब, मोशा अनि दाऊदजस्ता मित्रहरू गुमाउनुपरेको थियो। (गन्ती १२:६-८; मत्ती २२:३१, ३२; प्रेषि. १३:२२) यहोवा ती जनहरूलाई फेरि जीवन दिन उत्सुकतासाथ पर्खंदै हुनुहुन्छ। भनौं भने तिनीहरूको मृत्यु भएको दिनदेखि नै उहाँले प्रतीक्षा गर्दै आउनुभएको छ। (अय्यू. १४:१४, १५) पुनर्जीवित भएपछि तिनीहरूले स्वस्थ अनि सुखी जीवन पाउनेछन्‌। यो कुरा पनि विचार गर्नुहोस्‌, परमेश्‍वरको “प्रिय र आनन्दको पात्र” येशूले पीडादायी मृत्यु भोग्नुपरेको थियो। (हितो. ८:२२, ३०) आफ्नो प्यारो छोराको मृत्यु हुँदा यहोवालाई कत्ति दुःख लाग्यो होला, हामी शब्दमा व्यक्‍त गर्न सक्दैनौं।—यूह. ५:२०; १०:१७.

५, ६. यहोवा हामीलाई कसरी सान्त्वना दिनुहुन्छ?

५ यहोवाले मदत गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। त्यसैले आफ्नो मनको बह यहोवालाई पोखाउन हिचकिचाउनुपर्दैन। उहाँ हाम्रो दुःख बुझ्नुहुन्छ अनि चाहिएकै सान्त्वना दिनुहुन्छ भन्‍ने कुरा थाह पाउनु कत्ति सान्त्वनादायी! उहाँ हामीलाई कसरी सान्त्वना दिनुहुन्छ?

६ परमेश्‍वरले हामीलाई मदत गर्नुहुने एउटा तरिका ‘पवित्र शक्‍तिबाट पाइने प्रोत्साहन’ अर्थात्‌ सान्त्वना हो। (प्रेषि. ९:३१) प्रार्थना सान्त्वनाको शक्‍तिशाली स्रोत हो। “स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई . . . धेरै पवित्र शक्‍ति दिनुहुनेछ” भनेर येशूले प्रतिज्ञा गर्नुभयो। (लूका ११:१३) सुरुमा उल्लेख गरिएकी बहिनी सुसी यसो भन्छिन्‌: “हामीले थुप्रै चोटि घुँडा टेकेर यहोवालाई प्रार्थना गऱ्‍यौं। सहने बल दिनुहोस्‌ भनेर बिन्ती गऱ्‍यौं। हरेक चोटि प्रार्थना गर्दा परमेश्‍वरको शान्तिले हाम्रो मन र सोच्ने क्षमताको रक्षा गरेको महसुस गऱ्‍यौं।”—फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

येशू—समानुभूतिशील प्रधान पुजारी

७, ८. येशू हामीलाई सान्त्वना दिनुहुन्छ भन्‍ने कुरामा किन ढुक्क हुन सक्छौं?

७ यहोवा समानुभूतिशील हुनुहुन्छ भन्‍ने कुरा येशूले आफ्नो बोली-व्यवहारबाट देखाउनुभयो। (यूह. ५:१९) यहोवाले येशूलाई “मन भाँचिएकाहरू” र “विलाप गर्नेहरू”लाई सान्त्वना दिन पृथ्वीमा पठाउनुभयो। (यशै. ६१:१, २; लूका ४:१७-२१) येशू मानिसहरूको दुःख बुझ्न सक्नुहुन्थ्यो र तिनीहरूलाई मदत गर्न मनैदेखि इच्छुक हुनुहुन्थ्यो।—हिब्रू २:१७.

८ जवान छँदा येशूले परिवारका सदस्यहरू अनि आफन्तहरूको मृत्यु भएको देख्नुभएको हुनुपर्छ। येशू जवान छँदै उहाँको धर्मपिता यूसुफको मृत्यु भएको हुन सक्छ।a यूसुफको मृत्यु हुँदा सायद उहाँ किशोरावस्थामा हुनुहुन्थ्यो वा भर्खरै २०/२२ वर्षको हुनुहुन्थ्यो। कोमल मनका येशूलाई त्यो चोट सहन कत्ति गाह्रो भयो होला। अनि आमा र भाइबहिनीहरूको दुःख देख्दा उहाँले आफूलाई कसरी सँभाल्नुभयो होला!

९. येशूले मरियम र मार्थाको पीडा बुझेको कसरी देखाउनुभयो?

९ आफ्नो सेवाको दौडान येशूले मानिसहरूको अवस्था अनि भावना बुझेर तिनीहरूलाई मदत गर्नुभयो। उहाँको प्यारो साथी लाजरसको मृत्यु हुँदा के भयो, विचार गर्नुहोस्‌। लाजरसलाई फेरि जीवित पार्नेछु भनेर येशूलाई थाह थियो। तैपनि मरियम र मार्थाको दुःख देख्दा उहाँले आफ्नो मन थाम्न सक्नुभएन। उहाँले उनीहरूको पीडा महसुस गर्नुभयो र रुन थाल्नुभयो।—यूह. ११:३३-३६.

१०. आज पनि येशू हाम्रो भावना बुझ्नुहुन्छ भनेर किन पक्का हुन सक्छौं?

१० येशूका सान्त्वनादायी शब्दहरूले आज हामीलाई कसरी मदत गर्न सक्छ? बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “येशू ख्रीष्ट हिजो, आज अनि सधैंभरि उस्तै हुनुहुन्छ।” (हिब्रू १३:८) पीडा कस्तो हुन्छ भनेर “जीवनको मुख्य माध्यम” येशू आफैले अनुभव गर्नुभएको छ। त्यसैले “परीक्षामा परिरहेकाहरूलाई मदत गर्न उहाँ सक्षम हुनुहुन्छ।” (प्रेषि. ३:१५; हिब्रू २:१०, १८) त्यसैले हामी विश्‍वस्त हुन सक्छौं: आज पनि उहाँ हाम्रो भावना बुझ्नुहुन्छ अनि “चाहिएकै बेला” सान्त्वना दिनुहुन्छ।—हिब्रू ४:१५, १६ पढ्‌नुहोस्‌।

“धर्मशास्त्रबाट पाइने सान्त्वना”

११. तपाईंको मन छुने शास्त्रपद कुन हो?

११ लाजरसको मृत्युमा येशू दुःखी हुनुभएको विवरण बाइबलमा पाइने अनगिन्ती सान्त्वनादायी विवरणमध्ये एउटा मात्र हो। अनि यसमा हामी अचम्म मान्दैनौं किनभने “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) यदि तपाईं शोकमा पर्नुभएको छ भने निम्न शास्त्रपदहरूबाट सान्त्वना पाउन सक्नुहुन्छ:

  • “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भज. ३४:१८, १९.

  • “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।”—भज. ९४:१९.

  • “हाम्रा प्रभु येशू ख्रीष्ट स्वयम्‌ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने परमेश्‍वर, हाम्रा बुबाले तिमीहरूको मनलाई सान्त्वना देऊन्‌ र तिमीहरूलाई हरेक असल काम अनि वचनका लागि दृढ बनाऊन्‌।”—२ थिस्स. २:१६, १७.b

मण्डली —सान्त्वनाको ठूलो स्रोत

१२. हामी कसरी अरूको लागि सान्त्वनाको स्रोत हुन सक्छौं?

१२ शोकमा परेकाहरूले ख्रीष्टियन मण्डलीद्वारा पनि सान्त्वना पाउन सक्छन्‌। (१ थिस्सलोनिकी ५:११ पढ्‌नुहोस्‌) “उदासी मन” भएकाहरूलाई तपाईं कसरी सान्त्वना र बल दिन सक्नुहुन्छ? (हितो. १७:२२) यो कुरा नबिर्सनुहोस्‌: “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उप. ३:७) आफ्नो पति गुमाएकी एउटी बहिनी डालेन यसो भन्छिन्‌: “शोकमा परेकाहरू आफ्नो मनको बह पोखाउन चाहन्छन्‌, आफ्नो विचार व्यक्‍त गर्न चाहन्छन्‌। त्यसैले मदत गर्ने सबैभन्दा राम्रो तरिका उनीहरूको कुरा ध्यान दिएर सुन्‍नु हो। उनीहरूले बोल्दै गर्दा बीचमा कुरा काट्‌नु हुँदैन।” आफ्नो दाइले आत्महत्या गरेपछि युनिया बहिनी शोकमा परेकी थिइन्‌। तिनी यसो भन्छिन्‌: “हुन त शोकमा परेकाहरूको पीडा हामी राम्ररी बुझ्न सक्दैनौं होला। तर उनीहरूको भावना बुझ्ने प्रयास गर्नु पनि ठूलो कुरा हो।”

१३. हामीले कुन कुरा बिर्सनु हुँदैन?

१३ बिर्सन नहुने अर्को कुरा, सबैले दुःख व्यक्‍त गर्ने तरिका एउटै हुँदैन। कहिलेकाहीं भावनात्मक चोट यत्ति गहिरो हुन्छ कि त्यो कुरा अरूले बुझ्नै सक्दैनन्‌। त्यस्तो बेला आफ्नो भित्री भावना शब्दमा व्यक्‍त गर्न पनि गाह्रो हुन सक्छ। परमेश्‍वरको वचन यसो भन्छ: “मनको दु:ख मनले नै जान्दछ, औ त्यसको आनन्दमा अरूको भाग हुँदैन।” (हितो. १४:१०) यदि कसैले आफ्नो मनको भावना व्यक्‍त गरिहाले भने पनि तिनले भन्‍न खोजेको कुरा बुझ्न गाह्रो हुन सक्छ।

१४. शोकमा परेकाहरूलाई कसरी सान्त्वना दिन सक्छौं?

१४ त्यसैले शोकमा परेकाहरूलाई के भन्‍ने अनि कसरी सान्त्वना दिने भनेर दिमागमा केही नआउन सक्छ। तर बाइबल भन्छ: “बुद्धिमान्‌को बोलीले मानिसलाई निको पार्छ।” (हितो. १२:१८) थुप्रैले तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिकाबाट सान्त्वना दिने तरिका सिकेका छन्‌।c तर प्रायजसो अवस्थामा ‘रुनेहरूसँगै रुनु’ एकदम मदतकारी हुन सक्छ। (रोमी १२:१५) आफ्नो पति गुमाएकी बहिनी ग्याबी यसो भन्छिन्‌: “मनको कुरा बताउँदा आँखाबाट आँसु खसिहाल्छ। त्यसैले होला, साथीहरू मसँगै रुँदा मन हलुका हुन्छ। यस्तो लाग्छ, मेरो दुःखमा साथ दिने कोही छ।”

१५. भेटेर सान्त्वना दिन अप्ठ्यारो लाग्छ भने के गर्न सक्छौं? (“सान्त्वनाका शब्दहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१५ शोकमा परेको व्यक्‍तिलाई सीधै भेटेर केही भन्‍न अप्ठ्यारो लाग्छ भने तपाईं कार्ड, इमेल, एसएमएस अथवा चिठ्ठीमार्फत सान्त्वना दिन सक्नुहुन्छ। त्यसमा एउटा सान्त्वनादायी शास्त्रपद, मृत्यु भएको व्यक्‍तिको कुनै राम्रो गुण वा तिनीसित बिताएको कुनै खुसीको क्षणबारे उल्लेख गर्न सक्नुहुन्छ। युनिया यसो भन्छिन्‌: “कसैले छोटो प्रोत्साहनदायी सन्देश पठाउँदा अथवा सँगै समय बिताउनको लागि बोलाउँदा साह्रै खुसी लाग्छ। ती सन्देशहरू पढ्‌दा भाइबहिनीहरू मलाई कत्ति धेरै माया गर्नुहुन्छ, ख्याल राख्नुहुन्छ भनेर महसुस गर्छु।”

१६. सान्त्वना दिने अर्को प्रभावकारी तरिका के हो?

१६ शोकमा परेकाहरूसँगै बसेर प्रार्थना गर्दा अनि उनीहरूको लागि व्यक्‍तिगत रूपमा प्रार्थना गरिदिंदा उनीहरूले सहने बल पाउँछन्‌। त्यस्तो दुःखद परिस्थितिमा यहोवालाई आफ्नो भावना पोखाउन तपाईंलाई गाह्रो हुन सक्छ। सायद तपाईंको आँखाबाट आँसु झर्ला, बोली लर्बरिएला तर उनीहरूको खातिर तपाईंले गर्ने उत्कट बिन्तीले ठूलो काम गर्छ। डालेन भन्छिन्‌: “कहिलेकाहीं बहिनीहरू मलाई सान्त्वना दिन आउनुहुँदा उहाँहरूलाई प्रार्थना गरिदिन सक्नुहुन्छ कि भनेर सोध्थें। सुरुमा त उहाँहरूलाई बोल्नै गाह्रो हुन्थ्यो तर हरेक चोटि केही वाक्य बोलिसकेपछि भने उहाँहरू एकदमै ढुक्क भएर बोल्न थाल्नुहुन्छ, मनै छुने प्रार्थना गर्नुहुन्छ। उहाँहरूको विश्‍वास, माया अनि चासोले मेरो विश्‍वास बलियो बनाएको छ।”

सान्त्वना दिइरहनुहोस्‌

१७-१९. हामीले किन सधैं सान्त्वना दिइरहनुपर्छ?

१७ कुनै व्यक्‍ति कति लामो समयसम्म शोकमा डुबिरहन्छन्‌ भन्‍ने कुरा व्यक्‍तिपिच्छे फरक हुन्छ। त्यसैले तिनका साथीहरू अनि आफन्तहरू हुँदा मात्र होइन, सबै जना आफ्नो सामान्य दिनचर्यामा फर्किसकेपछि पनि तिनलाई मदत गर्न नछोड्‌नुहोस्‌। “साँचो मित्रले सधैं प्रेम गर्छ र ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइसरह हुन्छ।” (हितो. १७:१७, NW) त्यसैले शोकमा परेकाहरूको चोट निको नहोउन्जेल हामीले तिनीहरूलाई सान्त्वना दिइरहनुपर्छ।—१ थिस्सलोनिकी ३:७ पढ्‌नुहोस्‌।

१८ शोकमा परेकाहरूलाई विवाह वार्षिकी, कुनै धुन, फोटो, गतिविधि अथवा कुनै कुराको बास्ना, आवाज वा मौसमले जीवनसाथीको याद दिलाउन सक्छ। यसरी यादले सताउँदा मनमा भक्कानो फुटेर आउन सक्छ। पहिला जीवनसाथीसँगै मिलेर गर्दै आएका कामहरू अहिले एक्लैले गर्नुपर्दा मन भारी हुन सक्छ। जस्तै: सम्मेलन वा स्मरणार्थ जाँदा। एक जना भाइ यसो भन्छन्‌: “ऊ बितेपछिको पहिलो विवाह वार्षिकीमा धेरै गाह्रो होला जस्तो लागेको थियो। हुन पनि त्यतिबेला उसको साह्रै याद आयो। तर मलाई एक्लो महसुस हुन नदिन मण्डलीका भाइबहिनीले मेरो मिल्ने साथीहरूलाई बोलाएर सानो जमघट गर्नुभयो।”

१९ तर याद गर्नुपर्ने कुरा, शोकमा परेकाहरूलाई विशेष दिनहरूमा मात्र होइन, अरू बेला पनि सान्त्वनाको खाँचो पर्छ। युनिया यसो भन्छिन्‌: “विशेष अवसरहरूमा मात्र होइन, अरू बेला पनि कसैले मदत गर्दा अनि साथ दिंदा निकै बल पाउँछु। त्यसरी आसै नगरेको बेला कसैबाट मदत पाउँदा धेरै सान्त्वना पाउँछु। म साँच्चै त्यसको कदर गर्छु।” कसैको मृत्युले गर्दा जुन दुःख अनि शून्यपन महसुस हुन्छ, त्यसलाई हामी पूरै हटाउन सक्दैनौं होला। तर व्यावहारिक कदम चालेर शोकमा परेकाहरूलाई केही हदसम्म भए पनि सान्त्वना दिन सक्छौं। (१ यूह. ३:१८) ग्याबी बहिनी भन्छिन्‌: “म यहोवाप्रति साँच्चै कृतज्ञ छु। किनभने गाह्रो अवस्थामा पर्दा सधैं एल्डरहरूले मलाई मायालु तरिकामा मदत दिनुभयो। यहोवाले मलाई आफ्नो न्यानो अङ्‌गालोमा लिनुभएको जस्तो लाग्यो।”

२०. यहोवाका प्रतिज्ञाहरू किन ठूलो सान्त्वनाका स्रोत हुन्‌?

२० सबै सान्त्वनाका परमेश्‍वर यहोवाले भविष्यमा सबै दुःखकष्ट हटाउनुहुनेछ अनि सान्त्वना दिनुहुनेछ। बाइबल यसो भन्छ: “चिहानमा हुनेहरू सबैले [ख्रीष्टको] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।” (यूह. ५:२८, २९) यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशै. २५:८) त्यतिबेला हामी ‘रुने मानिसहरूसित रुनेछैनौं’ बरु ‘रमाउने मानिसहरूसित रमाउनेछौं।’—रोमी १२:१५.

a यूसुफबारे बाइबलमा अन्तिम पटक उल्लेख गरिंदा येशू १२ वर्षको हुनुहुन्थ्यो। येशूले पानीलाई दाखमद्यमा परिणत गरेर पहिलो चमत्कार गर्नुहुँदा यूसुफबारे केही उल्लेख गरिएको पाउँदैनौं न त त्यसपछिका विवरणमा केही उल्लेख गरिएको पाउँछौं। आफू यातनाको खम्बामा भएको बेला येशूले आफ्नी आमा मरियमको हेरविचार गर्ने जिम्मा प्रेषित यूहन्‍नालाई दिनुभयो। त्यतिबेला यूसुफ जीवित भएका भए येशूले त्यसो गर्नुहुने थिएन होला।—यूह. १९:२६, २७.

b अरू थुप्रैले यी शास्त्रपदबाट पनि सान्त्वना पाएका छन्‌: भजन २०:१, २; ३१:७; ३८:८, ९, १५; ५५:२२; १२१:१, २; यशैया ५७:१५; ६६:१३; फिलिप्पी ४:१३ र १ पत्रुस ५:७.

c डिसेम्बर १, २०१०, प्रहरीधरहरा-मा भएको “शोकसन्तप्त व्यक्‍तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्‌” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

कार्डमा सान्त्वनादायी शास्त्रपद लेख्दै

सान्त्वनाका शब्दहरू

केही भाइबहिनीले शोकमा परेका आफ्ना साथीहरूलाई लेखेका शब्दहरू:

  • “यस्तो बेला के भन्‍नुपर्छ, हामीलाई थाह छैन। तर यति भन्‍न चाहन्छौं, हामी तिमीलाई धेरै माया गर्छौं। तिमीलाई कस्तो महसुस भइरहेको छ भनेर हामी राम्ररी बुझ्न सक्दैनौं। तर यहोवा बुझ्न सक्नुहुन्छ। उहाँले तिमीलाई लड्‌न दिनुहुनेछैन। आशा छ, हाम्रो प्रार्थनाले तिमीलाई अलिकति भए पनि सहन मदत गर्नेछ।”

  • “यहोवाले तिमीलाई सहने बल देऊन्‌।”

  • “यहोवाले हाम्रो साथीलाई कहिल्यै बिर्सनुहुनेछैन। उहाँले तिनको एक-एक कुरा सम्झनुहुनेछ र फेरि जीवित पार्नुहुनेछ। पुनर्जीवनको यो आशाले तिमीलाई पक्कै सान्त्वना दिनेछ।”

  • “यहोवाले हाम्रो प्रिय साथीलाई प्रमोदवनमा पुनर्जीवित पार्नुहुनेछ। त्यसपछि तिनले कहिल्यै मृत्यु भोग्नुपर्नेछैन। तिनले देखाएको विश्‍वास यहोवाले सम्झिरहनुहुनेछ।”

  • “कसैलाई गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्‍त गर्न सकिंदैन। तर हामी त्यो दिनको प्रतीक्षा गर्दै छौं, जब हाम्रो बुबा यहोवाले हाम्रो प्रिय साथीलाई ब्युँताउनुहुनेछ। त्यतिबेलाको खुसी पनि शब्दमा व्यक्‍त गर्न सकिनेछैन।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने