प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जुलाई pp. १७-२१
  • हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ
  • यहोवा हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ
  • यहोवाको मदतबाट लाभ उठाउनुहोस्‌
  • यहोवाको गुणगान गाऔँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको गुणगान गाऔं
    यहोवाको स्तुतिगान गाऔं
  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “हाम्रा परमेश्‍वर यहोवा जस्तो को छ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जुलाई pp. १७-२१
भजनरचयिता यरूशलेम बाहिर उभिन्छन्‌, आकाशका ताराहरू हेर्दै यहोवाको प्रशंसा गर्छन्‌

हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ?

“परमप्रभुको प्रशंसा गर। . . . किनकि त्यो रमाइलो हुन्छ, र उहाँको प्रशंसा गर्न सुहाउँछ।”—भजन १४७:१.

गीत: १०४, १५२

भजन १४७ ले . . .

  • यहोवा तपाईंको ख्याल गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न कसरी मदत गर्छ?

  • यहोवाले हामीलाई दुःखकष्टबाट छुटकारा दिनुहुनेछ भन्‍ने कुरामा भरोसा राख्न कसरी मदत गर्छ?

  • यहोवा आफ्ना जनहरूलाई मदत गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न कसरी मदत गर्छ?

१-३. (क) भजन १४७ अध्याय कुन समयतिर लेखिएको हुन सक्छ? (ख) भजन १४७ अध्यायबाट कस्तो पाठ सिक्न सक्छौं?

कसैले आफूलाई दिइएको जिम्मेवारी राम्रोसँग पूरा गऱ्‍यो वा राम्रो बोली-व्यवहार देखायो भने हामी उसको प्रशंसा गर्छौं। हामी मानिसहरूको त प्रशंसा गर्छौं भने यहोवा परमेश्‍वरको झन्‌ कत्ति धेरै प्रशंसा गर्नुपर्ला! उहाँको प्रशंसा गर्नुपर्ने हामीसित थुप्रै कारण छन्‌। यहोवाले सृष्टि गर्नुभएका अचम्मका कुराहरू नियाल्दा उहाँ कत्ति शक्‍तिशाली हुनुहुन्छ भनेर थाह पाउँछौं। उहाँले फिरौतीको बलिदानको प्रबन्ध गर्न आफ्नो एक मात्र छोरा पनि हाम्रो लागि दिनुभयो। यसबाट उहाँ मानिसहरूलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउँछौं। यी सबै कुराको लागि हामी उहाँको प्रशंसा नगरी बस्नै सक्दैनौं।

२ भजन १४७ का लेखक यहोवाको प्रशंसा गर्न उत्प्रेरित भए। साथै तिनले अरूलाई पनि आफूसितै उहाँको प्रशंसा गर्न प्रोत्साहन दिए।—भजन १४७:१, ७, १२ पढ्‌नुहोस्‌।

३ यस भजनका लेखक को हुन्‌, हामीलाई थाह छैन। यहोवाले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट मुक्‍त गरेर यरूशलेममा पुनर्स्थापित गरिसक्नुभएको थियो। ती लेखक त्यही समयतिरका व्यक्‍ति हुन सक्छन्‌। (भज. १४७:२) परमेश्‍वरका जनहरू साँचो उपासनाको लागि आफ्नै देश फर्कन पाएकोले ती भजनरचयिता यहोवाको प्रशंसा गर्न उत्प्रेरित भएका हुन सक्छन्‌। त्यसपछि तिनले यहोवाको प्रशंसा गर्नुपर्ने अरू कारण पनि बताए। ती के-के हुन्‌? हामीसित पनि ‘परमप्रभुको प्रशंसा गर्नुपर्ने’ कस्ता कारण छन्‌?—भज. १४७:१.

यहोवा मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ

४. कैदबाट मुक्‍त हुँदा इस्राएलीहरूलाई कस्तो लागेको हुनुपर्छ? किन?

४ बेबिलोनको कैदमा परेका इस्राएलीहरूको अवस्था कस्तो थियो होला, कल्पना गर्नुहोस्‌। तिनीहरूलाई कैदी बनाउनेहरूले खिसी गर्दै यसो भने: “हाम्रा निम्ति सियोनको एउटा गीत गाओ।” तर तिनीहरूलाई गाउने मनै थिएन। किनभने त्यतिबेला यरूशलेम उजाड पारिएको थियो, जहाँ कुनै बेला तिनीहरू यहोवाको सेवामा रमाउँथे। (भज. १३७:१-३, ६) तिनीहरूको मन भाँचिएको थियो; तिनीहरूलाई सान्त्वनाको खाँचो थियो। यहोवाले भविष्यवाणी गर्नुभएझैं फारसी राजा कोरेसले तिनीहरूलाई कैदबाट मुक्‍त गरे। तिनले बेबिलोनमाथि विजय हासिल गरे अनि यस्तो घोषणा गरे: “[यहोवाले नै] मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा भवन बनाउन आज्ञा गर्नुभएको छ। . . . हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म यो भन्दछु, ‘परमप्रभु त्यसका परमेश्‍वर त्यससँग रहून्‌, औ त्यो मानिस उक्लेर यरूशलेममा जाओस्‌।’” (२ इति. ३६:२३) यो कुरा थाह पाउँदा बेबिलोनमा बसिरहेका इस्राएलीहरूले कत्ति सान्त्वना पाए होलान्‌!

५. भजनरचयिताले यहोवाबारे के लेखे?

५ यहोवाले इस्राएलीहरूलाई समूहको रूपमा मात्र होइन, व्यक्‍तिविशेषको रूपमा पनि सान्त्वना दिनुभयो। आज पनि कुरा त्यही हो। भजनरचयिताले परमेश्‍वरबारे यस्तो लेखे: “उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ।” (भज. १४७:३) हो, हामी शारीरिक वा भावनात्मक रूपमा कमजोर हुँदा यहोवा हामीलाई सँभाल्नुहुन्छ। उहाँ हामीलाई सान्त्वना दिन अनि हाम्रो चोट निको पार्न इच्छुक हुनुहुन्छ। (भज. ३४:१८; यशै. ५७:१५) जस्तोसुकै समस्याको सामना गर्न सकोस्‌ भनेर यहोवा हामीलाई बल अनि बुद्धि दिनुहुन्छ।—याकू. १:५.

६. भजन १४७:४ बाट कस्तो पाठ सिक्न सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

६ यहोवाको निको पार्ने क्षमताबारे कुरा गरे पछि भजनरचयिता आफ्नो ध्यान आकाशतिर लगाउँछन्‌। तिनी भन्छन्‌: “उहाँले ताराका संख्या गन्‍न सक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ।” (भज. १४७:४) तिनले किन अचानक ताराहरूबारे कुरा गर्न थाले? हुन त तिनी आकाशका ताराहरूदेख्न सक्थे तर ब्रह्‍माण्डमा कति तारा छन्‌ भनेर तिनलाई थाह थिएन। पहिला हामीले आँखाले देख्न नसकेका असङ्‌ख्य तारा अहिले प्रविधिको विकासले गर्दा देख्न सकेका छौं। वैज्ञानिकहरूका अनुसार आकाशगङ्‌गा तारापुञ्जमा मात्र अरबौं तारा छन्‌। अनि ब्रह्‍माण्डमा खरबौं तारापुञ्ज छन्‌। त्यसैले ताराको सङ्‌ख्या पत्ता लगाउनु मानिसको लागि असम्भव छ। तर सृष्टिकर्ताले ती प्रत्येक तारालाई नाम दिनुभएको छ। यसको मतलब यहोवा प्रत्येक तारालाई राम्ररी चिन्‍नुहुन्छ। (१ कोरि. १५:४१) अनि मानिसहरूलाई नि? जसरी यहोवालाई कुन तारा कहाँ छ भनेर थाह छ, त्यसरी नै तपाईं कहाँ हुनुहुन्छ, कस्तो महसुस गर्दै हुनुहुन्छ अनि तपाईंलाई त्यो अवस्थामा केको खाँचो छ भनेर उहाँलाई राम्ररी थाह छ।

७, ८. (क) यहोवा हामीलाई राम्ररी चिन्‍नुहुन्छ भनेर किन भन्‍न सक्छौं? (ख) यहोवा दयालु हुनुहुन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

७ यहोवा हामी प्रत्येकको ख्याल राख्नुहुन्छ। उहाँ हाम्रो अवस्था राम्ररी बुझ्नुहुन्छ र हामीलाई समस्याहरूसित लड्‌न मदत गर्नुहुन्छ। (भजन १४७:५ पढ्‌नुहोस्‌) कहिलेकाहीं गाह्रो अवस्थामा पर्दा के गर्ने कसो गर्ने, केही थाह नहुन सक्छ। तर यहोवा हामी प्रत्येकको सीमितता बुझ्नुहुन्छ किनकि ‘हामी माटो नै हौं’ भनेर उहाँलाई थाह छ। (भज. १०३:१४) त्रुटिपूर्ण भएकोले हामी बारम्बार एउटै गल्ती दोहोऱ्‍याउँछौं। बोल्न नहुने कुरा बोलेकोले, मनमा कुइच्छा जगाएकोले अथवा अरूको डाह गरेकोले हामी पछुताउनुपरेको छ होला। यहोवा त्रुटिरहित हुनुहुन्छ तैपनि हामी जस्तो त्रुटिपूर्ण मानिसको भावना बुझ्नुहुन्छ। साँच्चै, उहाँको समझ अथाह छ!—यशै. ४०:२८.

८ कुनै परीक्षा सहन यहोवाले तपाईंलाई बल दिनुभएको थियो होला। (यशै. ४१:१०, १३) त्यस्तै अनुभव गरेकी एक जना अग्रगामी बहिनी क्योकोको अनुभव विचार गर्नुहोस्‌। उनलाई नयाँ ठाउँमा सेवा गर्न खटाइयो। त्यहाँ उनी साह्रै निराश भइन्‌। यहोवाले उनलाई कसरी सँभाल्नुभयो? उनले नयाँ मण्डलीमा मायालु अनि आफ्नो भावना बुझिदिने साथीहरू पाइन्‌। यहोवाले यसो भन्दै हुनुहुन्छ जस्तो उनले महसुस गरिन्‌: “तिमीले अग्रगामी सेवा गरेकोले मात्र मैले तिमीलाई माया गरेको होइन। तिमी मेरी छोरी हौ अनि मलाई आफ्नो जीवन सुम्पेकी छ्यौ। त्यसैले म तिमीलाई माया गर्छु। तिमीले आनन्दित भएर सेवा गरेको म चाहन्छु।” यहोवासित तपाईंबारे ‘अपार ज्ञान’ छ भनेर किन भन्‍न सक्छौं?

यहोवा हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ

९, १०. यहोवाले हामीलाई मदत गर्नुहुने सबैभन्दा मुख्य तरिका के हो? एउटा अनुभव बताउनुहोस्‌।

९ गाँस, बास र कपास हाम्रो आधारभूत आवश्‍यकता हो। छाक टार्नै मुस्किल हुने हो कि भनेर हामीलाई चिन्ता लाग्न सक्छ। तर यो कुरा नबिर्सनुहोस्‌, यहोवाले नै पृथ्वीलाई खानेकुरा उमार्ने शक्‍ति दिनुभएको हो। उहाँले कागका बचेराहरूलाई समेत खुवाउनुहुन्छ भनेर बाइबलमा बताइएको छ। (भजन १४७:८, ९ पढ्‌नुहोस्‌) उहाँले कागलाई त खुवाउन छोड्‌नुभएको छैन भने के उहाँले हाम्रो आधारभूत आवश्‍यकता पूरा गर्नुहुन्‍न होला र?—भज. ३७:२५.

१० सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहुन्छ। कसरी? उहाँ हामीलाई शान्ति दिनुहुन्छ, “जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।” (फिलि. ४:६, ७) भाइ मुत्सुओ र तिनकी पत्नीको अनुभव विचार गर्नुहोस्‌। सन्‌ २०११ मा जापानमा सुनामी आउँदा तिनीहरूले यहोवाबाट मदत पाएको अनुभव गरे। घरको छानामाथि चढेर तिनीहरूले बल्लतल्ल आफ्नो ज्यान जोगाए। तर तिनीहरूले आफूसित भएका लगभग सबै कुरा गुमाए। घर पनि क्षतिग्रस्त भयो। त्यो अन्धकार रात तिनीहरूले त्यही घरको दोस्रो तल्लामा बिताए। भोलिपल्ट बिहान तिनीहरूले सान्त्वना मिल्ने केही कुरा भेटिन्छ कि भनेर खोज्न थाले। तिनीहरूले एउटा मात्र किताब भेट्टाए, सन्‌ २००६ को वार्षिक पुस्तक। किताब पल्टाउनेबित्तिकै मुत्सुओको आँखा “अहिलेसम्मकै घातक सुनामी” भन्‍ने विषयमा पुग्यो। त्यसमा सन्‌ २००४ मा इन्डोनेसियाको सुमात्रा भन्‍ने ठाउँमा भूकम्पका कारण आएको सुनामीबारे लेखिएको थियो। अनुभवहरू पढ्‌दै जाँदा तिनीहरू निकै रोए। चाहिएकै बेला सान्त्वना पाउँदा तिनीहरूले यहोवाको न्यानो अनि मायालु हेरचाह अनुभव गरे। यहोवाले तिनीहरूको आधारभूत आवश्‍यकता पनि पूरा गरिदिनुभयो। तिनीहरूले सङ्‌गी भाइबहिनीबाट राहत सामग्री पाए। तर तिनीहरूलाई सबैभन्दा धेरै मदत गरेको कुराचाहिं सङ्‌गठनका प्रतिनिधिहरूको भ्रमण थियो। मुत्सुओ यसो भन्छन्‌: “यहोवाले छेवैमा बसेर हामीलाई सँभालिरहनुभएको जस्तो महसुस भयो। हामीले साँच्चै सान्त्वना पायौं!” यहोवाले हामीलाई मदत गर्नुहुने सबैभन्दा मुख्य तरिका आध्यात्मिक आवश्‍यकता पूरा गरेर हो। साथै उहाँ हाम्रो आधारभूत आवश्‍यकता पनि पूरा गर्नुहुन्छ।

यहोवाको मदतबाट लाभ उठाउनुहोस्‌

११. यहोवाको मदत पाउन के गर्नुपर्छ?

११ यहोवा मदत गर्न सधैं तयार हुनुहुन्छ; उहाँ “नम्रहरूलाई सम्हाल्नुहुन्छ।” (भज. १४७:६क) उहाँको मदत पाउन हामीले के गर्नुपर्छ? हामी उहाँसित घनिष्ठ हुनुपर्छ। अनि उहाँसित घनिष्ठ हुन हामी नम्र हुनुपर्छ। (सप. २:३) नम्र मानिसले यहोवामाथि भरोसा राख्छ। उहाँले सबै अन्याय अनि दुःखकष्ट हटाउनुहुन्छ भनेर विश्‍वास गर्छ। यस्तो मानिसदेखि यहोवा प्रसन्‍न हुनुहुन्छ।

१२, १३. (क) यहोवाको माया पाउन कस्ता कुरादेखि अलग रहनुपर्छ? (ख) यहोवा कस्तो मानिसदेखि खुसी हुनुहुन्छ?

१२ त्यसको ठीकविपरीत, यहोवा “दुष्टलाई तल भुइँमा खसाल्नुहुन्छ।” (भज. १४७:६ख) हामी यस्तो अवस्थामा पक्कै पर्न चाहँदैनौं। यहोवाको क्रोधबाट बच्न अनि उहाँको माया पाउन उहाँले घृणा गर्नुहुने कुरालाई हामीले घृणा गर्नुपर्छ। (भज. ९७:१०) जस्तै: अवैध यौनसम्बन्ध। अवैध यौनसम्बन्धसम्म पुऱ्‍याउन सक्ने कुनै पनि कुरादेखि हामी अलग रहनुपर्छ। यसमा अश्‍लील कुराहरू हेर्नदेखि अलग रहनु पनि समावेश छ। (भज. ११९:३७; मत्ती ५:२८) हुन त यस्ता खराब कुरादेखि अलग रहन निकै सङ्‌घर्ष गर्नुपर्ला। तर हामीले गर्ने प्रयास खेर जानेछैन; यहोवाले हाम्रो प्रयासमा पक्कै आशिष्‌ दिनुहुनेछ।

१३ त्यस्ता खराब कुरादेखि अलग रहन हामी आफूमा होइन, यहोवामा भर पर्नुपर्छ। बाइबल भन्छ: “घोडाको बलमा उहाँ प्रसन्‍न हुनुहुन्‍न, मानिसका खुट्टामा उहाँ खुशी हुनुहुन्‍न।” (भज. १४७:१०) यसको मतलब हामी आफ्नो कमीकमजोरीसित लड्‌न आफैमा वा अरू मानिसमा भर परेको यहोवा चाहनुहुन्‍न। बरु मदतको लागि उहाँलाई पुकारेको चाहनुहुन्छ। हामीले एउटै कुरा बारम्बार मागे पनि यहोवा कहिल्यै झर्को मान्‍नुहुन्‍न। किनभने उहाँ मानव सल्लाहकारजस्तो हुनुहुन्‍न। बाइबल भन्छ: “उहाँसँग डराउनेहरूसित र उहाँको करुणामा आशा गर्नेहरूसित परमप्रभु खुशी हुनुहुन्छ।” (भज. १४७:११) यहोवा वफादार हुनुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौं: यहोवाले हामीलाई सधैं साथ दिनुहुनेछ र कुइच्छाविरुद्ध लड्‌न मदत गरिरहनुहुनेछ।

१४. भजनरचयिता कुन कुरामा विश्‍वस्त थिए?

१४ गाह्रो अवस्थामा एक्लै छोड्‌नेछैन भनेर यहोवाले हामीलाई विश्‍वस्त पार्नुभएको छ। यरूशलेमको पुनर्स्थापनाको कुरा सम्झँदै भजनरचयिताले यहोवाबारे यसो भने: “उहाँले तेरा मूल-ढोकाको गजबार बलियो तुल्याउनुभएको छ, उहाँले तेरा छोराछोरीहरूलाई तँमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा साँध-सिमानामा शान्ति ल्याउनुहुन्छ।” (भज. १४७:१३, १४) सहरको मूल-ढोकाहरूलाई यहोवाले बलियो पार्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएकोले भजनरचयिताले सुरक्षित महसुस गरे। उहाँले आफ्ना जनहरूलाई जोगाउनुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए।

श्रीमान्‌ले छोडेर गएपछि एक जना बहिनी दुःखी हुन्छिन्‌; एल्डरहरू उनलाई सान्त्वना दिन्छन्‌; बाइबल पढ्‌दा उनले सान्त्वना पाउँछिन्‌

परीक्षाहरूले गर्दा निराश भएको बेला परमेश्‍वरको वचनबाट कसरी मदत पाउन सक्छौं? (अनुच्छेद १५-१७ हेर्नुहोस्‌)

१५-१७. (क) कहिलेकाहीं गाह्रो अवस्थाको सामना गर्नुपर्दा हामीलाई कस्तो लाग्न सक्छ तर बाइबलले हामीलाई कसरी मदत गर्छ? (ख) यहोवा मदत गर्नलाई छिटो हुनुहुन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१५ कुनै गाह्रो अवस्थाको सामना गर्नुपरेकोले तपाईंलाई चिन्ता लागेको छ होला। यहोवाले तपाईंलाई पक्कै आवश्‍यक बुद्धि दिनुहुनेछ। यहोवाले “आफ्नो हुकुम पृथ्वीमा पठाउनुहुन्छ, उहाँको वचन साह्रै चाँडो गरी फैलिन्छ” भनेर भजनरचयिताले बताए। अनि यहोवा ‘हिउँ दिनुहुन्छ, तुसारो छर्नुहुन्छ र असिना वर्षाउनुहुन्छ’ भनेर बताएपछि तिनले यस्तो प्रश्‍न सोधे: “उहाँको जाडोको सामने को उभिनसक्छ?” तिनले अझै यसो भने: “उहाँले आफ्नो वचन पठाए ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्छ।” (भज. १४७:१५-१८) यहोवा कत्ति बुद्धिमान्‌ अनि कत्ति शक्‍तिशाली! यहोवा हिउँ अनि असिनालाई त आफ्नो नियन्त्रणमा राख्न सक्नुहुन्छ भने तपाईंलाई समस्यासित जुझ्न बल दिन सक्नुहुन्‍न र?

१६ आज यहोवा हामीलाई आफ्नो वचन बाइबलमार्फत डोऱ्‍याउनुहुन्छ। जब हामी बाइबल पढ्‌छौं, तब “उहाँको वचन साह्रै चाँडो गरी फैलिन्छ” अर्थात्‌ हामी चाहिएकै समयमा उचित निर्देशन पाउँछौं। बाइबल पढ्‌दा, “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेका प्रकाशनहरू अध्ययन गर्दा, JW ब्रोडकास्टिङ हेर्दा, jw.org मा विभिन्‍न लेख पढ्‌दा, एल्डरहरूसित कुराकानी गर्दा अनि सङ्‌गी भाइबहिनीसित सङ्‌गत गर्दा हामी धेरै लाभ उठाउन सक्छौं। (मत्ती २४:४५) यहोवाले आवश्‍यक डोऱ्‍याइ तुरुन्तै दिनुहुन्छ भन्‍ने कुरा के तपाईं आफैले अनुभव गर्नुभएको छैन र?

१७ सिमोन बहिनीले परमेश्‍वरको वचनबाट मदत पाएको अनुभव गरेकी छिन्‌। तिनी आफू केही कामको छैन अनि तिनीदेखि यहोवा पटक्कै खुसी हुनुहुन्‍न भन्ठान्थिन्‌। तैपनि निराश हुँदा तिनले यहोवालाई प्रार्थना गर्न छोडिनन्‌; यहोवासित मदत मागिरहिन्‌। तिनले नियमित रूपमा बाइबलको अध्ययन गर्न छोडिनन्‌। तिनी भन्छिन्‌: “यहोवाले मलाई आवश्‍यक परेको बेला जहिले पनि मदत गर्नुभएको छ र डोऱ्‍याउनुभएको छ।” यसले गर्दा तिनले सकारात्मक सोचाइ राखिरहन मदत पाइन्‌।

१८. तपाईंलाई किन यहोवा नजिकै हुनुहुन्छ जस्तो लाग्छ? “परमप्रभुको प्रशंसा” गर्नुपर्ने कस्ता कारण हामीसित छन्‌?

१८ प्राचीन समयमा यहोवाले सबै जातिमध्येबाट इस्राएलीहरूलाई आफ्नो जन हुन रोज्नुभएको थियो भनेर भजनरचयितालाई थाह थियो। यहोवाले आफ्नो “वचन” र “नियम” इस्राएल राष्ट्रलाई मात्र दिनुभएको थियो। (भजन १४७:१९, २० पढ्‌नुहोस्‌) आज हामीले यहोवाको नामद्वारा चिनिन पाउने ठूलो सम्मान पाएका छौं। यहोवालाई चिन्‍न पाएकोमा, डोऱ्‍याइको लागि उहाँको वचन पाएकोमा अनि उहाँसित राम्रो सम्बन्ध गाँस्न पाएकोमा हामी कत्ति खुसी छौं! भजनरचयितासित जस्तै हामीसित पनि परमेश्‍वरको प्रशंसा गर्ने अनि अरूलाई उहाँको प्रशंसा गर्न प्रोत्साहन दिनुपर्ने थुप्रै कारण छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने