प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अगस्त pp. ३-७
  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धीरज भनेको के हो?
  • धैर्य गरेका वफादार सेवकहरू
  • पर्खन केले मदत गर्छ?
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • हुँदैन ढिलो!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अगस्त pp. ३-७
बाइबलकालीन समयका एक किसान खेततिर हेर्दै

के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?

“तिमीहरू पनि धैर्य गर।”—याकू. ५:८.

गीत: ७८, १३९

हामीले के सिक्यौं?

  • धीरजी हुनुमा के-के समावेश छन्‌?

  • इच्छुकतासाथ यहोवाको बाटो हेर्न प्राचीन समयका सेवकहरूलाई केले मदत गऱ्‍यो?

  • यहोवा र येशूले कसरी पर्खने इच्छुकता देखाउनुभएको छ?

१, २. (क) हाम्रो मनमा किन “कहिलेसम्म” भन्‍ने प्रश्‍न आउन सक्छ? (ख) प्राचीन समयका वफादार सेवकहरूको उदाहरणबाट किन सान्त्वना पाउन सक्छौं?

“कहिलेसम्म?” यो प्रश्‍न वफादार भविष्यवक्‍ता यशैया र हबकूकले सोधेका थिए। (यशै. ६:११; हब. १:२) भजन अध्याय १३ का शब्दहरू लेख्दै गर्दा राजा दाऊदले पनि चार पटक त्यही प्रश्‍न सोधे: “कहिलेसम्म?” (भज. १३: १, २) प्रभु येशूले पनि अविश्‍वासी मानिसहरूलाई त्यस्तै प्रश्‍न सोध्नुभएको थियो। (मत्ती १७:१७) त्यसैले हाम्रो मनमा पनि कहिलेकाहीं त्यस्तो प्रश्‍न आउँदा अचम्म मान्‍नुपर्दैन।

२ तर हाम्रो मनमा किन त्यस्तो प्रश्‍न आउन सक्छ? सायद हामीमाथि कुनै अन्याय भएको छ होला। अथवा हामीलाई बुढ्यौली अनि रोगबिमारले छोएको छ होला। यस ‘अन्तको दिनको असाध्यै कठिन समयमा’ निकै तनाव झेल्नुपरेको छ होला। (२ तिमो. ३:१) अथवा मानिसहरूको खराब सोचाइ अनि कामकुरा देखेर दिक्क भएका छौं होला। तर कारण जेसुकै होस्‌, यस्तो प्रश्‍न मनमा आउँदा हामी निराश हुनुपर्दैन। किनभने प्राचीन समयका सेवकहरूले यहोवालाई यस्तै प्रश्‍न अप्ठ्यारो नमानी सोधेका थिए। यस्तो प्रश्‍न सोधेकोमा यहोवाले तिनीहरूलाई हप्काउनुभएन। हाम्रो लागि कत्ति सान्त्वनादायी कुरा!

३. गाह्रो अवस्थाको सामना गर्न केले मदत गर्न सक्छ?

३ गाह्रो अवस्थाको सामना गर्न हामीलाई केले मदत गर्न सक्छ? चेला याकूबले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “प्रभुको उपस्थिति नभएसम्म धैर्य गर।” (याकू. ५:७) धैर्य भन्‍ने गुण सबैलाई चाहिन्छ। यस मनमोहक गुणमा के-के समावेश छन्‌?

धीरज भनेको के हो?

४, ५. (क) धीरज गर्नुमा के-के समावेश छन्‌? (ख) धैर्य गर्ने सन्दर्भमा चेला याकूबले के बताए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

४ धीरज पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। त्यसैले गाह्रो अवस्थामा त्रुटिपूर्ण मानिसहरूलाई परमेश्‍वरको मदतविना धीरजी हुन गाह्रो हुन सक्छ। धीरज परमेश्‍वरले दिनुहुने वरदान हो। धीरज धारण गर्दा हामी परमेश्‍वर र अरू मानिसलाई प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं। तर अधीर भयौं भने यहोवा अनि अरू मानिसप्रतिको प्रेम सेलाउन सक्छ। (१ कोरि. १३:४; गला. ५:२२) धीरज धारण गर्नुमा अरू गुण पनि समावेश छन्‌। उदाहरणको लागि, यो गुणमा सहनशीलता पनि समावेश छ, जसले गाह्रो परिस्थितिमा सकारात्मक भइरहन मदत गर्छ। (कल. १:११; याकू. १:३, ४) धीरज धारण गर्नुमा जस्तोसुकै अवस्था आइपरे पनि बदला नलिनु र यहोवाप्रति वफादार भइरहनु पनि समावेश छ। अनि बाइबलले हामीलाई इच्छुक हुँदै यहोवाको बाटो हेर्न आग्रह गरेको छ। यसबारे याकूब ५:७, ८ मा चर्चा गरिएको छ। (पढ्‌नुहोस्‌)

५ हामीले किन इच्छुक हुँदै यहोवाको बाटो हेर्नुपर्छ? याकूबले हाम्रो अवस्थालाई एक जना किसानसित तुलना गरेका छन्‌। हुन त किसानले बिरुवा रोप्न निकै मेहनत गर्छ। तर न उसले मौसम परिवर्तन गर्न सक्छ न त समयलाई अगाडि बढाउन सक्छ। त्यसैले “भूमिको बहुमूल्य उब्जनी पाउन” उसले पर्खनै पर्छ। त्यसैगरि हामी पनि परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने दिन पर्खंदै छौं। किसानले जस्तै हामीले पनि गर्न नसक्ने कुराहरू थुप्रै छन्‌। (मर्कू. १३:३२, ३३; प्रेषि. १:७) त्यसैले हामीले पनि धैर्य गर्दै पर्खनु आवश्‍यक छ।

६. भविष्यवक्‍ता मीकाबाट कस्तो पाठ सिक्न सक्छौं?

६ आज हाम्रो समय र भविष्यवक्‍ता मीकाको समय उस्तै छ। तिनको समयमा दुष्ट राजा आहाजले शासन गर्दै थिए। त्यतिबेला यहूदा राष्ट्र भ्रष्टाचारले भरिएको थियो। मानिसहरू ‘जे दुष्ट छ त्यो गर्नलाई सधैं तयार रहन्थे।’ (मीका ७:१-३ पढ्‌नुहोस्‌) आफूले यस्तो परिस्थिति सुधार्न सक्दिनँ भनेर मीकालाई थाह थियो। तर तिनी के गर्न सक्थे? तिनी भन्छन्‌: “मचाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु। मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।” (मीका ७:७) मीकाले जस्तै हामीले पनि ‘परमेश्‍वरको बाटो हेर्नुपर्छ।’

७. हामीले किन इच्छुकतासाथ यहोवाको बाटो हेर्नुपर्छ?

७ मीकाको जस्तै विश्‍वास छ भने हामी पनि इच्छुकतासाथ यहोवाको बाटो हेर्नेछौं। हाम्रो अवस्था मृत्युदण्ड सुनाइएको कैदीको जस्तो छैन। किनभने त्यस्तो कैदीमा आफूलाई मृत्युदण्ड दिइने दिन कहिले आउला भन्‍ने उत्सुकता हुँदैन। उसले बाध्य भएर त्यो दिन पर्खनै पर्छ। तर हाम्रो सन्दर्भमा भने कुरा फरक छ। हामी इच्छुक हुँदै यहोवाको बाटो हेर्छौं किनभने परमेश्‍वरले आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ र हामीलाई उचित समयमा अनन्त जीवनको इनाम दिनुहुनेछ भनेर हामीलाई थाह छ। त्यसैले हामी ‘धीरजी र आनन्दित हुँदै सबै कुरा सहन्छौं।’ (कल. १:११, १२) तर अर्कोतर्फ, परमेश्‍वरले किन अहिलेसम्म कुनै ठोस कदम चाल्नुभएको छैन भनेर गनगन गर्दै पर्ख्यौं भने त्यसले यहोवालाई दुःखी बनाउँछ।—कल. ३:१२.

धैर्य गरेका वफादार सेवकहरू

८. वफादार सेवकहरूको उदाहरण विचार गर्दा हामी कस्ता प्रश्‍नबारे छलफल गर्नेछौं?

८ प्राचीन समयका वफादार सेवकहरूले धैर्य गर्दै परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने दिन पर्खे। तिनीहरूको उदाहरण विचार गर्दा हामी पनि परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने दिन पर्खन अझ इच्छुक हुनेछौं। (रोमी १५:४) तिनीहरूको उदाहरण विचार गर्दा हामी यी प्रश्‍नबारे पनि छलफल गर्नेछौं: तिनीहरूले कति समय पर्खनुपरेको थियो? तिनीहरू किन पर्खन इच्छुक थिए? अनि धैर्य गरेकोले तिनीहरूले कस्ता आशिष्‌ पाए?

अब्राहाम, इसहाक, रिबेका अनि अब्राहामका नातिहरू एसाव र याकूब

अब्राहामले आफ्ना नातिहरू एसाव अनि याकूबलाई हेर्न वर्षौं पर्खनुपरेको थियो (अनुच्छेद ९, १० हेर्नुहोस्‌)

९, १०. यहोवाका प्रतिज्ञाहरू पूरा भएको हेर्न अब्राहाम अनि साराले कति समय पर्खनुपरेको थियो?

९ अब्राहाम अनि साराको उदाहरण विचार गर्नुहोस्‌। तिनीहरूले “विश्‍वास अनि धैर्य गरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल” गरेका थिए। बाइबलले बताएअनुसार ‘अब्राहामले धैर्य गरेकोले’ यहोवाले तिनलाई आशिष्‌ दिने अनि तिनीबाट एउटा ठूलो राष्ट्र खडा गर्ने प्रतिज्ञा गर्नुभयो। (हिब्रू ६:१२, १५) तर त्यसको लागि तिनले धैर्य गर्नुपर्थ्यो। किन? किनभने यहोवाको प्रतिज्ञा पूरा हुन समय लाग्ने थियो। यहोवाले अब्राहामसित बाँध्नुभएको करार ईसापूर्व १९४३ नीसान १४ देखि लागू हुन थाल्यो। त्यतिबेला तिनी र तिनको परिवारले यूफ्रेटिस नदी पार गरेर प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेका थिए। त्यसको २५ वर्षपछि अर्थात्‌ ईसापूर्व १९१८ मा मात्र अब्राहाम अनि साराले इसहाकलाई जन्माएका थिए। अनि थप ६० वर्ष पर्खेपछि मात्र अब्राहामले आफ्ना नातिहरू देख्न पाएका थिए। एसाव र याकूब ईसापूर्व १८५८ मा जन्मेका थिए।—हिब्रू ११:९.

१० अब्राहामले प्रतिज्ञा गरिएको देशमा कति जमिन पाए? बाइबल भन्छ: “यस देशमा उहाँले [यहोवा] पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, एक बित्ता जमिनसमेत दिनुभएन तर तिनलाई अनि तिनीपछि तिनको वंशलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो, जबकि त्यतिखेरसम्म तिनको सन्तान नै भएको थिएन।” (प्रेषि. ७:५) अब्राहामले यूफ्रेटिस नदी पार गरेको ४३० वर्षपछि मात्र तिनका सन्तानहरूले एउटा राष्ट्रको रूपमा प्रतिज्ञा गरिएको देश अधिकार गर्ने थिए।—प्रस्थ. १२:४०-४२; गला. ३:१७.

११. अब्राहाम किन पर्खन इच्छुक थिए? तिनले कस्ता आशिष्‌ पाउनेछन्‌?

११ अब्राहाम पर्खन इच्छुक थिए किनभने तिनी यहोवामाथि विश्‍वास गर्थे। (हिब्रू ११:८-१२ पढ्‌नुहोस्‌) हुन त अब्राहामले आफ्नो जीवनकालमा परमेश्‍वरका प्रतिज्ञाहरू पूर्ण रूपमा पूरा भएको हेर्न पाएनन्‌। तैपनि तिनी पर्खन तयार थिए। पछि पुनर्जीवित हुँदा तिनी कत्ति आनन्दित होलान्‌, कल्पना गर्नुहोस्‌ त। बाइबलका थुप्रै ठाउँमा आफू अनि आफ्ना सन्तानहरूबारे लेखिएको छ भनेर थाह पाउँदा तिनी छक्क पर्नेछन्‌!a प्रतिज्ञा गरिएको सन्तानमार्फत यहोवाको उद्देश्‍य कसरी पूरा भयो अनि आफूले पनि यहोवाको त्यो उद्देश्‍य पूरा गर्न कस्तो योगदान दिएँ भन्‍ने कुरा थाह पाउँदा अब्राहाम पक्कै रमाउनेछन्‌। आफूले त्यत्रो लामो समय प्रतीक्षा गरेको खेर गएनछ भनेर तिनले महसुस गर्नेछन्‌।

१२, १३. यूसुफले किन धैर्य गर्नुपर्ने थियो? उनीसित कस्तो सकारात्मक मनोवृत्ति थियो?

१२ अब्राहामका पनाति यूसुफ पनि धैर्य गर्न इच्छुक थिए। उनले घोर अन्यायहरू भोग्नुपरेको थियो। लगभग १७ वर्षको छँदा उनका दाइहरूले उनलाई दासको रूपमा बेचिदिएका थिए। पछि उनलाई आफ्नो मालिककी पत्नीलाई बलात्कार गर्न खोजेको आरोप लगाइयो र जेलमा हालियो। यसो हेर्दा उनलाई असल कामको लागि आशिष्‌ दिइनुको साटो सजाय दिइएको जस्तो देखिन्छ। तर त्यसको १३ वर्षपछि उनको जीवनमा ठूलो परिवर्तन आयो। उनी जेलबाट छुटे अनि मिश्रको दोस्रो शक्‍तिशाली व्यक्‍ति बने।—उत्प. ४१:१४, ३७-४३; प्रेषि. ७:९, १०.

१३ अन्याय भोग्नुपरेकोले के यूसुफ यहोवादेखि रिसाए? उनले यहोवामाथि भरोसा गर्न छोडे कि? अहँ, उनले त्यसो गरेनन्‌। त्यस्तो गाह्रो अवस्थामा धैर्य गर्न उनलाई केले मदत गऱ्‍यो? यहोवामाथिको विश्‍वासले। गाह्रो अवस्थामा यहोवाले मदत गर्दै हुनुहुन्छ भन्‍ने कुरा यूसुफले महसुस गरे। हामी किन त्यसो भन्‍न सक्छौं? उनले आफ्ना दाइहरूलाई यसो भनेका थिए: “नडराओ, के म परमेश्‍वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तापनि आज जसरी मानिसहरूको प्राण बाँचेको छ त्यसरीनै धेरै जना मानिसहरू बाँचिरहून्‌ भनेर परमेश्‍वरले त्यो काम भलाइमा परिणत गर्नुभयो।” (उत्प. ५०:१९, २०) हो, आफूले धैर्य गरेको खेर गएन भन्‍ने कुरा उनले बुझे।

१४, १५. (क) दाऊदले धैर्य गरेको कुरा किन उल्लेखनीय छ? (ख) दाऊदलाई केले पर्खन मदत गऱ्‍यो?

१४ राजा दाऊदले पनि थुप्रै अन्याय भोग्नुपरेको थियो। यहोवाले दाऊदलाई इस्राएलको भावी राजा हुन सानै उमेरमा अभिषेक गर्नुभएको थियो। तैपनि तिनले आफ्नो कुलमाथि शासन गर्न १५ वर्ष पर्खनुपऱ्‍यो। (२ शमू. २:३, ४) ती वर्षमा तिनले भगुवा जीवन बिताउनुपरेको थियो किनभने अवफादार राजा शाऊल तिनलाई मार्न चाहन्थे।b आफ्नो ज्यान जोगाउन तिनी कहिले अर्कै देशमा अनि कहिले उजाडस्थानका गुफाहरूमा लुक्नुपरेको थियो। पछि राजा शाऊल युद्धमा मारिए। तैपनि इस्राएलको राजा हुन दाऊदले अझै सात वर्ष पर्खनुपरेको थियो।—२ शमू. ५:४, ५.

१५ दाऊद किन पर्खन इच्छुक थिए? “कहिलेसम्म” भनेर चार पटक प्रश्‍न सोधेकै भजनमा तिनले यस्तो पनि लेखे: “मैले ता तपाईंको करुणामा भरोसा गरेको छु, तपाईंले गर्नुहुने उद्धारमा मेरो हृदय रमाउनेछ। उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु।” (भज. १३:५, ६) ‘यहोवा मलाई माया गर्नुहुन्छ र कहिल्यै मेरो साथ छोड्‌नुहुन्‍न’ भन्‍ने कुरामा दाऊद ढुक्क थिए। यहोवाले विगतमा मदत गर्नुभएजस्तै पछि पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा दाऊद विश्‍वस्त थिए। यो कुरा मनमा राख्दै दाऊदले यहोवाले दिनुहुने छुटकाराको उत्सुकतासाथ प्रतीक्षा गरे। हो, आफूले धैर्य गरेको खेर जानेछैन भनेर तिनलाई थाह थियो।

यहोवा आफूले गर्न नचाहेको कुरा हामीबाट पनि माग गर्नुहुन्‍न

१६, १७. पर्खन इच्छुक हुने सन्दर्भमा यहोवा र येशू किन उत्कृष्ट उदाहरण हुनुहुन्छ?

१६ यहोवा आफूले गर्न नचाहेको कुरा हामीबाट पनि माग गर्नुहुन्‍न। यो कुरा पर्खने सन्दर्भमा पनि लागू हुन्छ। पर्खन इच्छुक हुने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। (२ पत्रुस ३:९ पढ्‌नुहोस्‌) अदनको बगैंचामा खडा भएका विवादहरू सुल्झाउन यहोवाले हजारौं वर्षदेखि पर्खंदै आउनुभएको छ। उहाँ आफ्नो नाम पवित्र पारिने दिन ‘पर्खंदै हुनुहुन्छ’ र त्यस दिनको ‘बाटो हेर्दै हुनुहुन्छ।’ त्यो दिन उहाँको ‘बाटो हेर्नेहरूले’ प्रचुर मात्रामा आशिष्‌ पाउनेछन्‌।—यशै. ३०:१८.

१७ येशू ख्रीष्ट पनि पर्खन इच्छुक हुनुहुन्छ। उहाँले पृथ्वीमा वफादारीको जाँच पास गर्नुभयो अनि इस्वी संवत्‌ ३३ मा फिरौतीको बलिदानको मोल यहोवासामु चढाउनुभयो। तर राजाको रूपमा शासन गर्न उहाँले सन्‌ १९१४ सम्म पर्खनुपर्ने थियो। (प्रेषि. २:३३-३५; हिब्रू १०:१२, १३) साथै आफ्ना सबै शत्रुलाई पूर्णतया नाश गर्न उहाँले हजार वर्षीय शासनको अन्तसम्म पर्खनुपर्नेछ। (१ कोरि. १५:२५) हुन त यो पर्खाइ लामो हुनेछ तर उहाँको पर्खाइ खेर जानेछैन।

पर्खन केले मदत गर्छ?

१८, १९. पर्खने मनोवृत्ति विकास गर्न केले मदत गर्छ?

१८ कुरा स्पष्ट छ, हामी सबै जना पर्खन इच्छुक हुनुपर्छ। यसो गर्न हामीलाई केले मदत गर्छ? यहोवासित पवित्र शक्‍ति माग्नुहोस्‌। किनभने धीरज पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (एफि. ३:१६; ६:१८; १ थिस्स. ५:१७-१९) परीक्षाहरू सहन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌।

१९ यहोवाका प्रतिज्ञाहरू पूरा हुने दिन पर्खन अब्राहाम, यूसुफ अनि दाऊदलाई केले मदत गऱ्‍यो, सम्झनुहोस्‌। यहोवाले कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा तिनीहरू विश्‍वास गर्थे। तिनीहरू आफ्नो समस्यामा घोरिएर बसेनन्‌ न त तिनीहरूले व्यक्‍तिगत सुखसुविधामा ध्यान दिए। तिनीहरूलाई यहोवाले कसरी आशिष्‌ दिनुभयो भन्‍ने कुरामा मनन गऱ्‍यौं भने हामी पनि पर्खने मनोवृत्ति विकास गर्न अझ इच्छुक हुनेछौं।

२०. हामी के गर्न कटिबद्ध छौं?

२० त्यसैले जस्तोसुकै परीक्षाको सामना गर्नुपरे पनि ‘परमेश्‍वरको बाटो हेर्न’ हामी कटिबद्ध छौं। कहिलेकाहीं हामी पनि “परमप्रभु कहिलेसम्म?” भनेर प्रश्‍न सोध्ने परिस्थितिमा पर्न सक्छौं। (यशै. ६:११) तर परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाएर हामी पनि यर्मियाले जस्तै यसो भन्‍न सक्छौं: “परमप्रभुनै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।”—विला. ३:२१, २४.

a उत्पत्तिको पुस्तकको १५ वटा अध्यायमा अब्राहामको जीवनबारे चर्चा गरिएको छ। साथै ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा पनि तिनीबारे ७० भन्दा धेरै ठाउँमा उल्लेख गरिएको छ।

b शाऊलले शासन गरेको दुई वर्षपछि नै यहोवाले तिनलाई त्याग्नुभएको थियो। तर यहोवाले तिनलाई तिनको मृत्यु नभएसम्म अर्थात्‌ ३८ वर्षसम्म शासन गर्न दिनुभएको थियो।—१ शमू. १३:१, NW; प्रेषि. १३:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने