अध्ययन लेख १७
दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्
“हाम्रो यो सङ्घर्ष . . . स्वर्गका दुष्ट दूतहरूका दलहरूसित हो।”—एफि. ६:१२.
गीत ५५ तिनीहरूसँग नडराऊ!
परिचयa
१. एफिसी ६:१०-१३ अनुसार यहोवाले आफ्ना सेवकहरूप्रति चासो देखाउनुहुने एउटा अत्यन्तै मायालु तरिका के हो? व्याख्या गर्नुहोस्।
यहोवाले आफ्ना सेवकहरूप्रति चासो देखाउनुहुने एउटा अत्यन्तै मायालु तरिका भनेको हाम्रा शत्रुहरूको प्रतिरोध गर्न मदत गरेर हो। सैतान र त्यसका प्रेतहरू हाम्रा प्रमुख शत्रु हुन्। ती शत्रुहरूबारे यहोवा हामीलाई चेतावनी दिनुहुन्छ र तिनीहरूको प्रतिरोध गर्न चाहिने कुरा पनि दिनुहुन्छ। (एफिसी ६:१०-१३ पढ्नुहोस्) हामीले यहोवाको मदत स्विकाऱ्यौँ र उहाँमा पूर्ण भरोसा राख्यौँ भने दियाबलको प्रतिरोध गर्न सफल हुनेछौँ। हामी पनि प्रेषित पावलजस्तै निर्धक्क हुन सक्छौँ। तिनले यस्तो लेखे: “यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?”—रोमी ८:३१.
२. यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ हामी साँचो ख्रिष्टियनहरू सैतान र त्यसका प्रेतहरूमा औधी चासो राख्दैनौँ। हामी यहोवाबारे सिक्न र उहाँको सेवा गर्नमा पूरा ध्यान लगाउँछौँ। (भज. २५:५) तर सैतानले के-के गर्छ भनेर हामीले थाह पाइराख्नुचाहिँ पर्छ। किन? यसो गऱ्यौँ भने सैतानले हामीलाई छल गर्न पाउनेछैन। (२ कोरि. २:११, फुटनोट) सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई बहकाउने एउटा प्रमुख तरिकाबारे हामी यस लेखमा छलफल गर्नेछौँ। साथै तिनीहरूको प्रतिरोध गर्न हामी कसरी सफल हुन सक्छौँ भनेर पनि विचार गर्नेछौँ।
दुष्ट दूतहरूले मानिसहरूलाई कसरी बहकाउँछन्?
३-४. (क) प्रेतविद्या के हो? (ख) प्रेतविद्यामाथिको विश्वास कत्तिको व्यापक छ?
३ सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई बहकाउने एउटा प्रमुख तरिका प्रेतविद्या चलाएर हो। प्रेतविद्यामा लाग्नेहरूले मानिसहरूलाई साधारणतया थाह नहुने कुरा आफूलाई थाह छ वा मानिसहरूले नियन्त्रणमा राख्न नसक्ने कुराहरू आफूले नियन्त्रणमा राख्न सक्छु भन्ने दाबी गर्छन्। उदाहरणको लागि, कोही-कोहीले तन्त्रमन्त्र वा ज्योतिषविद्याबाट भविष्यको कुरा थाह पाउन सक्ने दाबी गर्छन्। अरूले भने मृतकहरूसित कुरा गरिरहेको जस्तो देखाउँछन्। कोही-कोही बोक्सीविद्या वा जादुगरीमा लाग्छन् अनि तिनीहरूले अर्को व्यक्तिको बिगार गर्ने कोसिस गर्न सक्छन्।b
४ प्रेतविद्यामाथिको विश्वास कत्तिको व्यापक छ? ल्याटिन अमेरिका र क्यारेबियनका १८ वटा देशमा गरिएको सर्वेक्षणअनुसार लगभग एक तिहाइ मानिसहरू जादुगरी, बोक्सीविद्या वा टुनामुनामा विश्वास गर्छन् र लगभग त्यति नै मानिसहरू प्रेतहरूसित कुराकानी गर्न सम्भव छ भनेर विश्वास गर्छन्। यस्तै सर्वेक्षण अफ्रिकाका १८ वटा देशमा पनि गरिएको थियो। सर्वेक्षण गरिएकाहरूमध्ये औसतमा आधाभन्दा धेरै मानिसले बोक्सीविद्यामा विश्वास गर्ने गरेको पाइयो। हामी जहाँसुकै बसोबास गर्ने भए तापनि प्रेतविद्याबाट अलग बस्नै पर्छ। किनभने सैतान “सारा संसारलाई” ठग्न लागिपरेको छ।—प्रका. १२:९.
५. यहोवा प्रेतविद्याप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
५ यहोवा “सत्यका परमेश्वर” हुनुहुन्छ। (भज. ३१:५) त्यसैले उहाँ प्रेतविद्याप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? उहाँ त्यसलाई घृणा गर्नुहुन्छ! यहोवा स्वयम्ले इस्राएलीहरूलाई यसो भन्नुभयो: “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने, जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्तिसित वा भावी बताउने व्यक्तिसित सल्लाह लिने अथवा मसान जगाउने। यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।” (व्यव. १८:१०-१२) यहोवाका उपासकहरू उहाँले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाको अधीनमा छैनन्। तर प्रेतविद्याप्रति उहाँको दृष्टिकोण अहिले पनि परिवर्तन भएको छैन भनेर हामीलाई थाह छ।—मला. ३:६.
६. (क) सैतानले प्रेतविद्या चलाएर कसरी मानिसहरूलाई हानि पुऱ्याउँछ? (ख) उपदेशक ९:५ ले देखाएअनुसार मरेकाहरू वास्तवमा कस्तो अवस्थामा हुन्छन्?
६ यहोवा हामीलाई प्रेतविद्याबाट अलग्गै बस्न चेतावनी दिनुहुन्छ किनभने सैतानले त्यसद्वारा मानिसहरूलाई हानि पुऱ्याउँछ भनी उहाँलाई थाह छ। सैतानले प्रेतविद्या चलाएर थुप्रै झूट फैलाउँछ। त्यसले फैलाएको एउटा झूट मरेकाहरू अर्कै लोकमा बाँचिरहन्छन् भन्ने हो। (उपदेशक ९:५ पढ्नुहोस्) सैतानले मानिसहरूलाई डर देखाउन र यहोवादेखि तर्काउन पनि प्रेतविद्या प्रयोग गर्छ। त्यसको लक्ष्य मानिसहरूलाई यहोवामा होइन, दुष्ट दूतहरूमा भरोसा गर्न लगाउनु हो।
हामी कसरी दुष्ट दूतहरूको प्रतिरोध गर्छौँ?
७. यहोवा हामीलाई के बताउनुहुन्छ?
७ अगाडि उल्लेख गरिएझैँ सैतान र त्यसका प्रेतहरूले हामीलाई नबहकाऊन् भन्ने यहोवा चाहनुहुन्छ। त्यसैले हामीले थाह पाउनै पर्ने कुराहरू उहाँ हामीलाई बताउनुहुन्छ। आउनुहोस्, सैतान र त्यसका प्रेतहरूविरुद्ध लड्न हामीले चाल्नुपर्ने केही व्यावहारिक कदमबारे विचार गरौँ।
८. (क) दुष्ट दूतहरूको प्रतिरोध गर्ने मुख्य तरिका के हो? (ख) भजन १४६:४ ले मृत्युबारे सैतानले फैलाएको झूटको कसरी पर्दाफास गर्छ?
८ परमेश्वरको वचन पढ्नुहोस् र मनन गर्नुहोस्। दुष्ट दूतहरूले फैलाउने झूटहरूबाट नबहकिने मुख्य तरिका यही हो। परमेश्वरको वचन धारिलो तरबारजस्तै छ र यसले सैतानले फैलाउने झूटहरूलाई च्वाट्टै काट्न सक्छ। (एफि. ६:१७) उदाहरणको लागि, मृतकहरूले जीवितहरूसित कुराकानी गर्न सक्छन् भन्ने झूटलाई परमेश्वरको वचनले पर्दाफास गर्छ। (भजन १४६:४ पढ्नुहोस्) यहोवाले मात्र भविष्यबारे भरपर्दो कुरा बताउन सक्नुहुन्छ भनेर पनि यसले हामीलाई सम्झाउँछ। (यसै. ४५:२१; ४६:१०) आफूले फैलाएका झूटहरू मानिसहरूले पत्याऊन् भन्ने दुष्ट दूतहरू चाहन्छन्। तर हामीले नियमित रूपमा परमेश्वरको वचन पढ्यौँ र मनन गऱ्यौँ भने ती झूटहरूलाई तिरस्कार गर्न र घृणा गर्न पूर्णतया तयार हुनेछौँ।
९. प्रेतविद्यासित सम्बन्धित कस्ता गतिविधिहरूमा हामी भाग लिँदैनौँ?
९ प्रेतविद्यासित सम्बन्धित कुनै पनि कुरा गर्न इन्कार गर्नुहोस्। हामी साँचो ख्रिष्टियनहरू कुनै पनि प्रकारको प्रेतविद्यामा कहिल्यै भाग लिँदैनौँ। उदाहरणको लागि, हामी भूतप्रेत खेलाउनेहरूकहाँ जाँदैनौँ अनि मरेकाहरूसित कुनै पनि तरिकामा कुराकानी गर्ने प्रयास गर्दैनौँ। यसअघिको लेखमा छलफल गरिएझैँ मृतकहरू कतै अर्कै लोकमा जीवित छन् भन्ने विश्वासमा आधारित रीतिथितिहरूमा भाग लिँदैनौँ। अनि भविष्यबारे थाह पाउन जोखना हेर्ने वा भावी बताउनेहरूसित सोधपुछ गर्दैनौँ। (यसै. ८:१९) किनकि यस्ता सबै गतिविधि खतरनाक छन् र यस्ता कुराहरूले हामीलाई सैतान र त्यसका प्रेतहरूसित प्रत्यक्ष सम्पर्कमा ल्याउन सक्छ भनेर हामीलाई थाह छ।
प्रथम शताब्दीका ख्रिष्टियनहरूको अनुकरण गर्दै तन्त्रमन्त्रसित सम्बन्धित सबै कुरा हटाउनुहोस् र प्रेतविद्यासित सम्बन्धित मनोरञ्जनबाट टाढै बस्नुहोस् (अनुच्छेद १०-१२ हेर्नुहोस्)
१०-११. (क) सत्य सिकेपछि प्रथम शताब्दीमा कोही-कोहीले के गरे? (ख) पहिलो कोरिन्थी १०:२१ अनुसार हामीले किन प्रथम शताब्दीका ख्रिष्टियनहरूको उदाहरण अनुकरण गर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?
१० तन्त्रमन्त्रसित सम्बन्धित चिजबिजहरू हटाउनुहोस्। प्रथम शताब्दीमा एफिससमा बसोबास गर्ने केही मानिसहरू प्रेतविद्यामा लागेका थिए। तर सत्य सिकेपछि तिनीहरूले ठोस कदम चाले। “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।” (प्रेषि. १९:१९) दुष्ट दूतहरूको प्रतिरोध गर्न ती मानिसहरूले कुनै कसर बाँकी राखेनन्। तिनीहरूसित भएका जादुगरीसम्बन्धी पुस्तकहरू असाध्यै महँगा थिए। तर ती पुस्तकहरू अरूलाई दिनु वा बेच्नुको साटो तिनीहरूले ती जलाइदिए। यहोवालाई खुसी बनाउनु तिनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यसैले ती महँगा पुस्तकहरू नष्ट गर्दा तिनीहरूलाई पटक्कै दुःख लागेन।
११ प्रथम शताब्दीका ती ख्रिष्टियनहरूको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौँ? तन्त्रमन्त्रसित सम्बन्धित कुनै चिजबिज हामीसित छ भने त्यसलाई हटाउनु बुद्धिमानी हो। यस्ता कुराहरूमा जन्तर, बुटी वा अन्य चिजबिज पर्छन्, जुन मानिसहरूले दुष्ट दूतहरूबाट जोगिन लगाउँछन् वा आफूसित राख्छन्।—१ कोरिन्थी १०:२१ पढ्नुहोस्।
१२. मनोरञ्जनको सन्दर्भमा हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१२ आफूले गर्ने मनोरञ्जनलाई राम्ररी केलाउनुहोस्। आफैलाई सोध्नुहोस्: ‘के म तन्त्रमन्त्रसित सम्बन्धित किताब, पत्रिकाहरू वा इन्टरनेटमा भएका लेखहरू पढ्छु? म कस्तो प्रकारको गीत सुन्छु? म कस्तो चलचित्र र टिभी कार्यक्रम हेर्छु? म कस्तो भिडियो-गेम खेल्छु? के मैले गर्ने मनोरञ्जन कुनै तरिकामा प्रेतविद्यासित सम्बन्धित छ? के यसमा भाम्पायर, जोम्बि वा अलौकिक शक्तिहरू देखाइन्छ? के यसमा जादु, टुनामुना वा कसैको बिगार गर्नेजस्ता कुरालाई अहानिकारक मनोरञ्जनको रूपमा चित्रण गरिन्छ?’ हुनत काल्पनिक कथा वा दन्त्य कथामा आधारित सबै मनोरञ्जन प्रेतविद्यासितै सम्बन्धित हुन्छ भन्ने छैन। तर आफूले गरिरहेको मनोरञ्जन कस्तो छ भनेर केलाउँदा यहोवाले घृणा गर्नुहुने कुराहरूबाट टाढै बस्न मदत गर्ने किसिमको छनौट गर्न दृढ हुनुहोस्। हामी परमेश्वरसामु “आफ्नो अन्तस्करण सफा राखिरहन” हर प्रयास गर्न चाहन्छौँ।—प्रेषि. २४:१६.c
१३. हामीले के गर्नु हुँदैन?
१३ भूतप्रेतको कुरा नगर्नुहोस्। यस सन्दर्भमा हामीले येसुले बसाल्नुभएको उदाहरण अनुकरण गर्नुपर्छ। (१ पत्रु. २:२१) पृथ्वीमा आउनुअघि उहाँ स्वर्गमा हुनुहुन्थ्यो अनि उहाँलाई सैतान र त्यसका प्रेतहरूबारे धेरै कुरा थाह थियो। तर उहाँले ती दुष्ट दूतहरूले के-के गरेका थिए भनेर सुनाउनुभएन। येसु यहोवाबारे साक्षी दिन चाहनुहुन्थ्यो, उहाँ सैतानबारे प्रचारप्रसार गर्ने व्यक्ति बन्न चाहनुहुन्नथ्यो। प्रेतहरूको विषयमा कुराकानी नगरेर हामी येसुको अनुकरण गर्न सक्छौँ। हाम्रो “हृदय असल कुराले” अर्थात् सत्यले “ओतप्रोत भएको छ” भनेर आफ्नो बोलीद्वारा देखाउँछौँ।—भज. ४५:१.
दुष्ट दूतहरूदेखि हामी पटक्कै डराउनु पर्दैन। यहोवा, येसु र स्वर्गदूतहरू तिनीहरूभन्दा कता हो कता शक्तिशाली हुनुहुन्छ (अनुच्छेद १४-१५ हेर्नुहोस्)d
१४-१५. (क) हामी दुष्ट दूतहरूदेखि किन त्रसित हुनु पर्दैन? (ख) यहोवा अहिले पनि आफ्ना जनहरूलाई जोगाउनुहुन्छ भन्ने कस्तो प्रमाण छ?
१४ दुष्ट दूतहरूदेखि त्रसित नहुनुहोस्। अहिलेको दुष्ट संसारमा हामीले नराम्रा कुराहरू भोग्नुपर्ने हुन सक्छ। अचानक दुर्घटना, रोगबिमार वा मृत्युसमेत आइपर्न सक्छ। तर अदृश्य दूतहरूले गर्दा हामीमाथि यस्तो दुःख आइपरेको हो भनेर सोच्नु हुँदैन। “कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्न सक्छ, जसलाई टारेर टार्न सकिँदैन” भनी बाइबल बताउँछ। (उप. ९:११) अनि यहोवाले आफू प्रेतहरूभन्दा कता हो कता शक्तिशाली छु भनेर देखाउनुभएको छ। उदाहरणको लागि, परमेश्वरले सैतानलाई अय्युबको ज्यान लिन दिनुभएन। (अय्यु. २:६) मोसाको समयमा पनि उहाँले मिश्रका जादुगरहरूभन्दा आफू शक्तिशाली भएको देखाउनुभयो। (प्रस्थ. ८:१८; ९:११) यहोवाबाट अख्तियार पाउनुभएका महिमित येसुले सैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट पृथ्वीमा हुर्ऱ्याएर आफू तिनीहरूभन्दा शक्तिशाली भएको कुरा देखाउनुभयो। निकट भविष्यमा तिनीहरूलाई अगाध खाडलमा हुर्ऱ्याइनेछ र त्यहाँबाट तिनीहरूले कसैलाई हानि पुऱ्याउन सक्नेछैनन्।—प्रका. १२:९; २०:२, ३.
१५ यहोवा अहिले पनि आफ्ना जनहरूलाई जोगाउनुहुन्छ भन्ने कुराको हामी प्रशस्त प्रमाण देख्छौँ। सोच्नुहोस् त, हामी सारा पृथ्वीमा मानिसहरूलाई सत्यबारे प्रचार गर्दै छौँ र सिकाउँदै छौँ। (मत्ति २८:१९, २०) यसो गरेर हामी सैतानका कर्तुतहरू पर्दाफास गर्छौँ। यदि सैतानले सक्ने भएको भए हाम्रो सम्पूर्ण गतिविधिलाई अवश्य रोक्ने थियो तर त्यसले सक्दैन। त्यसैले हामी दुष्ट दूतहरूदेखि त्रसित हुनु पर्दैन। हामीलाई थाह छ, “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्, तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।” (२ इति. १६:९) हामी यहोवाप्रति वफादार रह्यौँ भने प्रेतहरूले हामीलाई सदाको लागि हानि पुऱ्याउने कुनै पनि कुरा गर्न सक्दैनन्।
यहोवाको मदत स्विकार्नेहरूले आशिष् पाउँछन्
१६-१७. दुष्ट दूतहरूको प्रतिरोध गर्न साहस चाहिन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्।
१६ दुष्ट दूतहरूको प्रतिरोध गर्न हामीलाई साहस चाहिन्छ, खासगरि राम्रै मनसाय राखेर साथीहरू वा आफन्तहरूले हाम्रो विरोध गर्दा। तर त्यस्तो साहस देखाउनेहरूलाई यहोवा आशिष् दिनुहुन्छ। घानामा बस्ने एरिका नाम गरेकी बहिनीको अनुभव विचार गर्नुहोस्। एरिकाले २१ वर्षकी छँदा बाइबल अध्ययन गर्न थालिन्। उनको बुबा झाँक्री थिए। त्यसैले उनले प्रेतविद्यासित सम्बन्धित रीतिथितिमा भाग लिएको परिवार चाहन्थ्यो र त्यसमा भाग लिँदा उनले पितृहरूलाई बलि चढाइएको मासु खानुपर्थ्यो। त्यसो गर्न इन्कार गर्दा उनको परिवारले उनले पितृहरूको अपमान गरेको आरोप लगायो। ती पितृहरूले परिवारमाथि मानसिक र शारीरिक रोगबिमार ल्याउनेछन् भन्ने तिनीहरूलाई लाग्थ्यो।
१७ एरिकाको परिवारले उनलाई त्यस्तो रीतिथिति मान्न जबरजस्ती गर्न खोजे। त्यसो गर्न इन्कार गर्दा उनले घर छोड्नुपर्ने हुन्थ्यो तैपनि उनले आफ्नो परिवारले भनेजस्तो गरिनन्। केही साक्षीले एरिकालाई आफ्नो घरमा बस्न दिए। यस अर्थमा यहोवाले उनलाई नयाँ परिवार दिएर आशिष् दिनुभयो। ती सङ्गी उपासकहरू उनका दाजुभाइ दिदीबहिनीजस्तै भए। (मर्कु. १०:२९, ३०) उनका आफन्तहरूले उनलाई त्यागे र उनका सामानहरू जलाइदिए। तैपनि उनी यहोवाप्रति वफादार रहिन्, बप्तिस्मा गरिन् र अहिले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्। उनी प्रेतहरूदेखि त्रसित हुँदिनन्। आफ्नो परिवारबारे चाहिँ एरिका यसो भन्छिन्, “मेरो परिवारले पनि यहोवालाई चिनोस् र हाम्रो मायालु परमेश्वरको सेवा गर्दा पाइने स्वतन्त्रता अनुभव गर्न सकोस् भनेर म दिनदिनै प्रार्थना गर्छु।”
१८. यहोवामा भरोसा राख्दा हामी कस्ता आशिष्हरू पाउँछौँ?
१८ हामी सबैले आफ्नो विश्वासको जाँच हुने यस्तो कठिन परीक्षा सामना गर्नुपर्दैन होला। तर हामी सबैले दुष्ट दूतहरूको प्रतिरोध गर्नुपर्छ र यहोवामा भरोसा राख्नुपर्छ। यसो गऱ्यौँ भने हामीले थुप्रै आशिष् पाउनेछौँ र सैतानका झूटहरूबाट बहकिनेछैनौँ। साथै प्रेतहरूदेखि त्रसित भएर हामी यहोवाको सेवा गर्न छोड्ने हदसम्म पुग्नेछैनौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासितको हाम्रो मित्रता अझ बलियो हुनेछ। चेला याकुबले यस्तो लेखे: “आफूलाई परमेश्वरको अधीनमा राख र दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ। परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकु. ४:७, ८.
गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!
a यहोवाले हामीलाई दुष्ट दूतहरूबारे र तिनीहरूले पुऱ्याउन सक्ने हानिबारे चेतावनी दिएर प्रेम देखाउनुभएको छ। दुष्ट दूतहरूले मानिसहरूलाई कसरी बहकाउँछन्? दुष्ट दूतहरूको प्रतिरोध गर्न हामी के गर्न सक्छौँ? तिनीहरूको प्रभावबाट जोगिन यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर यस लेखमा छलफल गर्नेछौँ।
b थप व्याख्या: प्रेतविद्या भनेको प्रेतहरूसित सम्बन्धित विश्वास वा प्रचलन हो। यसमा मान्छे मरे पनि उसको आत्मा बाँचिरहन्छ अनि त्यसले जीवितहरूसित कुराकानी गर्न प्रायजसो कुनै व्यक्तिलाई माध्यमको रूपमा चलाउँछ भन्ने विश्वास समावेश छ। प्रेतविद्यामा बोक्सीविद्या र तन्त्रमन्त्र पनि पर्छन्। यस लेखमा प्रयोग गरिएको जादुगरी भन्ने शब्दले अलौकिक संसारसित सम्बन्धित गतिविधिलाई बुझाउँछ। यसमा कसैको बिगार गर्ने अनि कसैलाई मोहनी लगाउने वा फुकाउने जस्ता कुराहरू पनि पर्छन्। यसमा हातको सफाइद्वारा देखाइने चटकहरूचाहिँ पर्दैन, जुन कसै-कसैले केवल मनोरञ्जनका लागि गर्ने गर्छन्।
c एल्डरहरूसित मनोरञ्जनको सन्दर्भमा नियमहरू बनाउने अधिकार छैन। बरु के पढ्ने, के हेर्ने वा के खेल्ने भन्ने विषयमा प्रत्येक ख्रिष्टियनले आफ्नो बाइबल प्रशिक्षित अन्तस्करण चलाएर छनौट गर्नुपर्छ। बुद्धिमान् शिरहरूले आफ्नो परिवारले गर्ने मनोरञ्जन बाइबल सिद्धान्तअनुरूप छ कि छैन भनेर पक्का गर्छन्।—jw.org® मा हाम्रो बारेमा > अक्सर सोधिने प्रश्नहरू अन्तर्गत “यहोवाका साक्षीहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउँछन् रे, हो?” भन्ने लेख हेर्नुहोस्।
d चित्रको व्याख्या: स्वर्गमा हाम्रा शक्तिशाली राजा येसुले स्वर्गीय दलको नेतृत्व गर्दै हुनुहुन्छ।