थप प्रगति तर्फ सकारात्मक गतिविधि
१ अहिले सम्ममा हामी मध्ये धेरैले १९९२ को वार्षिक पुस्तक पढि सिध्याई सक्यौं। १९९१ मा २११ मुलुकहरूमा ४२,५०,००० भन्दा बढी राज्यप्रचारकहरूको विश्वव्यापी शिखर प्राप्त भएको जान्नु पाएर हाम्रो हृदय साँच्चैनै हर्षले गद्गद् भएको थियो। यो उन्नति बितेको वर्षको भन्दा ६.५ प्रतिशतले बढी थियो। निश्चय नै आज भइरहेको यो राज्य प्रगतिले यशैया २:२-४ र मीका ४:१-४ मा उल्लेखित भविष्यवाणीहरूको पूर्तिको ज्वलन्त प्रमाण दिंदछ।
२ सेवा वर्ष १९९२-को रिर्पोट पूरा नभए तापनि प्रमाणहरू स्पष्ट छ कि यो सेवा वर्षलाई पनि यहोवाले अति नै प्रगतिशील पारिदिनु भएको छ। हाम्रो विशाल अन्तरराष्ट्रिय भातृत्वमा सम्मिलित हुने निमन्त्रणा आज लगातार अगाडि बढ्दै छ। जिल्ला सम्मेलन र स्मरणार्थको दिनको उपस्थिति संख्या बाट स्पष्ट देखिन्छ कि लाखौं मानिसहरूले आफ्नो सुन्ने कानहरू राज्यको सुसमाचार तर्फ फर्काइरहेका छन। सबै राष्ट्रहरूबाट मानिसहरूले यो प्रेरित निमन्त्रणा सुनी रहेका छन्: “आउ हामी परमप्रभुको पवर्तमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं।”
३ उन्नति गर्न दृढ संकल्प गर्नुहोस: यहोवाको संगठन लगातार अगाडि बढ्दैछ। यहोवाको साँचो उपासनाको पर्वतमा आज थुप्रै नयाँ व्यक्तिहरू ओइरिरहेका छन। त्यसकारण हामी मध्ये प्रत्येकले अझ बढी आत्मिक उन्नति गर्न सकारात्मक पाईलाहरू चाल्न र नयाँ आएकाहरूलाई पनि त्यस्तै गर्ने मदत दिन अति नै जरुरी छ। यस्तो उन्नति गर्न जरुरी छ। किनभने यहोवाको पर्वतमा आउने निमन्त्रणा स्वीकार्नेहरूले पनि अरूहरूलाई “आउ” भन्छन्। प्रेरित यूहन्नाले पनि प्रकाशितवाक्य २२:१७ मा यस्तै कुराको उल्लेख गरेका छन्: “औ आत्मा र दुलही भन्नुहुन्छ ‘आउनुहोस।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस’ भनोस।”
४ येशूले कसरी यो निमन्त्रणा दिनुपर्छ भनेर देखाउनु भएको थियो। जब मानिसहरूले उहाँका शिक्षाहरू प्रति आफ्नो चासो देखाए, तब उहाँले तिनीहरूलाई आफ्नो सेवकाईमा भाग लिन निमन्त्रणा दिनुभयो र तिनीहरूलाई त्यसो गर्न सिकाई पनि दिनुभयो। (मत्ती ४:१९; १०:५-७, ११-१४) चेलाहरूले पनि उहाँको पछि पछि लागेर उहाँले गर्नुभएका कामहरूलाई राम्ररी नियालेर हेरे। यसरी तिनीहरूले उहाँले प्रयोग गर्नुहुने ती प्रभावशाली तरिकाहरू सिके। त्यसपछि तिनीहरूले आफ्नो सेवकाईलाई पनि उहाँको जस्तै बनाए। तिनीहरूले येशूको प्रचार गर्ने तरिकाहरू यति राम्रो सँग सिके कि विरोधीहरूले समेत तिनीहरूले यसरी साहस पूर्वक प्रचार गरेको देखेर तिनीहरू येशुकै चेलाहरू हुन् भनी तुरून्तै चिनीहाले। प्रेरीत ४:१३ ले यसको विवरण यसरी दिंदछ: “जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अपठित र अजान रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र येशूका साथमा रहन्थे भनेर पनि तिनीहरूले थाह पाए।”
५ आफू स्वर्ग जानु भन्दा अघि, येशूले उहाँका चेलाहरूलाई मसीही सेवकाई अगाडि बढाईराख्न आज्ञा दिनुभयो। यो काम तिनीहरूले नयाँ चेलाहरू बनाएर र आफूलाई जसरी सिकाईएको थियो त्यसरी नै तिनीहरूलाई पनि सिकाएर गर्नसक्थे। मत्ती २८:१९, २० मा येशूले यसरी आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” यो काम हाम्रो समय सम्मै चल्नेछ भनेर देखाउनुहुदैं, उहाँले यो थप आश्वासन दिनुभयो: “हेर, म सब दिन, अँ जगत्को अन्तसम्म तिमीहरूको साथमा छँदैछु।”
६ येशूका साँचो चेलाहरूले नयाँ चेलाहरूलाई उहाँले आज्ञा गरेका सबै कुराहरू सिकाउने निर्देशन पाएका थिए। यो निर्देशन पालन गर्नबाट तिनीहरू कहिल्यै पछि हटेनन। तथापि आज विश्वभरि यहोवाका साक्षीहरूको मण्डलीहरूमा ठूलो वृद्धि भइरहेको छ। यसकारण, भर्खरै बप्तिस्मा लिएका व्यक्तिहरू, बप्तिस्मा नलिएका प्रकाशकहरू र हामी सित अध्ययन गर्ने र सभाहरूमा बिस्तारै आउन लागेका मानिसहरूको विशेष आवश्यकताहरूलाई हामीले विचार गर्नुपर्दछ।
७ सेवा वर्ष १९९२ को शुरुवातमा भारतमा लगभग ९ जना प्रकाशकमध्ये १ जनाले सेवकाईमा भाग लिएको एक वर्ष मात्र भएको थियो। साथै ४ मध्ये १ जना तिनबर्ष वा तिनबर्ष भन्दा कम समय देखिन प्रचार गरिरहेका थिए भने, ३ जना मध्ये १ जना पाँच बर्ष भन्दा कम समयसम्म सेवकाईमा भाग लिईरहेका थिए। धेरै जसो नयाँ व्यक्तिहरूले मण्डलीका सदस्य भए देखीन् राम्रो प्रगति गर्दै आएका छन्। तर कुनै कुनै क्षेत्रमा अझ अलिकता सहयोग पाएमा, तिनीहरूले चाँड चाँडो आध्यात्मिक प्रगति गर्नसक्ने थिए।
८ हिब्रु ६:१ ले सबैलाई “सिद्धता [परिपक्वता] तर्फ बढ्दै जाऔं” भनिकन प्रोत्साहन दिंदछ। मसीही परिपक्वताको अर्थ सेवा रिर्पोट दिनु मात्र होइन। यसमा अझ अरू थुप्रै कुराहरू सम्मिलित छन्। व्यक्तिगत अध्ययनमा अझ उन्नति गर्दैजाने, सभामा नियमित रूपमा उपस्थित हुने र क्षेत्र सेवकाईमा जोश पूर्वक भाग लिने जस्ता कुरा पनि सम्मिलित छन्। अरूहरूलाई उद्धारको लागि सत्यको ज्ञान सिक्न मदत गर्ने कुरा पनि यसैमा सम्मिलित छ। हामीले “धर्मशास्त्रबाट बहस” गर्ने कलामा निपुणता प्राप्त गर्न मेहनत गरि नै रहनु पर्दछ (प्रे० १७:२) परिपक्वता तर्फ बढ्दै जान समय लाग्दछ। यो हाम्रो ईश्वरीय भक्तिमा र सेवकाईद्वारा व्यावहारिक अनुभवहरू प्राप्त गर्नमा धेरै भर पर्दछ। हुनत आफ्नो ईश्वरीय भक्तिको गहिराई कत्तिको बढाउने हो त्यो हामीमा नै भर पर्छ। तैपनी हामीलाई व्यावहारिक अनुभव प्राप्त गर्ने मदत दिनका लागि अरू अनुभवी भाई बहिनीहरूलाई मौका दिनु बुद्धिमानीको कुरा हो। हामीले आफ्नो गल्तीहरू द्वारै सबै कुरा सिक्नु पर्छ भन्ने छैन। बरु अनुभवी भाई बहिनीहरूका अनुभवहरूबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं।
९ अनुभव कम हुनेहरूका लागि मदत: आवश्यक परेकाहरूलाई मदत दिने आदर्श मसीही मण्डलीको शुरुवातमानै बसालिएको थियो। शुरुमै चेलाहरूलाई येशूले निर्देशन दिनुभयो। (म० ३:१४; लू० ९:१; १०:१) यसपछि चेलाहरूले अरूहरूलाई सिकाए। प्रेरित पावलद्वारा तिमोथीले विशेष प्रोत्साहन र सहयोग पाएका थिए। आफूभन्दा अनुभवी अक्वीला र प्रिस्किलाको व्यक्तिगत सहयोगद्वारा चेला अपोल्लसले उन्नति गरेका थिए। (प्रे० १८:२४-२७; १ कोरि० ४:१७) आज मसीही मण्डलीका परिपक्व सदस्यहरूले ती उदाहरणहरूको अनुसरण गर्दछन्। तिनीहरूले कम अनुभवी अथवा विशेषगरी नयाँ आएका व्यक्तिहरूलाई र जवानहरूलाई सिकाउँदछन र प्रोत्साहन दिन्छन्। यस विषयमा रोमी १५:१, २ ले यसो भन्दछ, “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ।”
१० आफ्नो छोरा-छोरीहरूको आध्यात्मिक उन्नतिका लागि सकारात्मक कार्यहरू गर्ने जिम्मावारी आमा बाबुहरूको हो। यसमा पारिवारिक अध्ययन सम्मिलित छ। आमाबाबुहरूले बालबच्चाहरूलाई व्यक्तिगत रूपमा आफै अध्ययन गर्न, सभामा नियमित रूपमा उपस्थित हुन र भाग लिन सिकाउनु पर्दछ। साथै तिनीहरूलाई सिकेका कुराहरू प्रयोग गरेर अनुभव गर्न लगाउन पनि जरुरी छ। (ए० ६:४; १ ति० ५:८) विशेष गरी मण्डली पुस्तक अध्ययन संचालकहरूलाई आफ्नो पुस्तक अध्ययनमा र क्षेत्र सेवकाई ग्रुपमा रहेका व्यक्तिहरूलाई आत्मिक उन्नति गर्न मदत दिने कुरामा अघि बढ्न जरुरी छ। यस मामिलामा सेवा अध्यक्ष र अरू प्राचीनहरूका साथ साथै सहायक सेवकहरू र मण्डलीका अन्य सदस्यहरूले पनि सहयोग पुऱ्याउन सक्छन।
११ आवश्यक परेका कुराहरूको व्यवस्था मिलाउनुहोस: सहयोगको आवश्यकता विभिन्न मसीही क्रियाकलापहरूमध्ये कुनै एउटाका लागि मात्र हुनसक्छ। जस्तै व्यक्तिगत अध्ययन। सो व्यक्तिलाई एउटा व्यावहारिक अध्ययन तालिका बनाउन मात्र सहयोग चाहिएको हुनसक्छ। कसैलाई भने टिप्पणी अथवा भाषण तयार गर्न मदतको आवश्यकता पर्नसक्छ। अरूलाई भने बाइबलका विषयहरू खोज्न र अनुसन्धान गर्न सिक्न मदत चाहिनसक्छ।
१२ धेरै नयाँ आएकाहरूलाई क्षेत्र सेवकाईमा मदत चाहिएको हुन्छ। घर-घर जाने, पुन:भेट गर्ने, वा बाइबल अध्ययन शुरु गर्ने र संचालन गर्ने कामहरूमा नयाँ प्रचारक अझ निपुण हुन चाहन्छ होला। यस अवस्थामा रिʹजनइङ (Reasoning) किताब वा हाम्रो राज्य सेवकाईमा दिएको परिचयहरू र प्रस्तुतिहरू चलाएर केही समय अभ्यास गरेमा येथेष्ट हुनेछ। तर कहिले चाहिं क्षेत्र सेवकाईका लागि व्यावहारिक समय तालिका बनाउन र त्यस अनुसार चल्ने सल्लाह मात्र चाहिएको हुनसक्छ। यसरी मदतको आवश्यकता परेकाहरू सँग काम गर्ने ठिक चाँजोपाँजो मिलाउदा ती भाई वा बहिनीलाई सो निश्चित लक्ष्यतर्फ अघि बढ्न मदत मिल्नेछ।
१३ हाम्रो आत्मिक प्रगति अरूहरूको सामने प्रकट होस भनिकन हामीलाई परमेश्वरको वचनले प्रोत्साहन दिंदछ। तिमोथीलाई पावलले लेखेको सल्लाह पनि यहि नै थियो। (१ ति० ४:१५) यसै प्रोत्साहनको सिलसिलामा प्रेरित पावलले दौड प्रतियोगिताको लागि तयारी गरे झैं वा आत्मिक युद्धमा लागे झैं आफूलाई प्रशिक्षण दिने कुरामा जोड दिए। (१ कोरि० ९:२४-२७; २ कोरि० १०:५, ६) परमेश्वरको इच्छाको विषयमा हामीले सिकेका कुराहरू तुरून्तै प्रयोगमा ल्याउनु पर्छ। यसो गऱ्यौं भने अरूहरूले हामीमा साँचो मसीही विश्वासको जिउदों उदाहरण देख्नेछन्। त्यस्तै गरी अरू व्यक्तिहरूलाई येशू मसीहका समर्पित चेला बनाउन, हाम्रो सिकाउने कलामा पनि हामीले सधैं नै उन्नति गरिरहेको हुनुपर्छ।—या० १:२२-२५; १ तिमो० ४:१२-१६.
१४ उन्नतिका लागि परीक्षाहरू सहनु: आफूले सहेका कुराहरूबाट येशू मसीहले समेत धेरै कुरा सिक्नुभएको थियो। (हि० ५:८) र हामीले पनि सिक्न सक्छौं। याकुब १:२, ३ मा उल्लेखित सकारात्मक दृष्टिकोण राख्यौं भने हामीले अझ बढी मात्रामा आध्यात्मिक उन्नति गर्न सक्ने छौं। त्यहाँ यसो भनिएको छ: “हे मेरा भाई हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ।” तसर्थ समय समयमा हामीले लामो समयसम्म बिमारीको चपेटा, आर्थिक समस्याहरू, पारिवारिक फूट, प्रचार गर्ने क्षेत्रमा विरोध, वा अन्य थुप्रै गाह्रो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। तापनि यहोवाको मदतद्वारा हामी यी सबै परिक्षाहरू पार गर्न र उहाँको उपासनामा उन्नति गर्दै जानसक्छौं भनेर उहाँले हामीलाई विश्वस्त पार्नु भएको छ। (१ कोर० १०:१३; २ कोर० १२:९; १ पत्रू० ५:८-११) ‘येशू ख्रीष्टद्वारा परमेश्वरको महिमा’ होस भनेर, परमेश्वरले दिनु हुने बलमा भरपर्दै ‘परमेश्वरको वाणी’ बोल्दै र सेवा गर्दै हर परिस्थितिमा स्थिर भयौं भने हामीले सफलता प्राप्त गर्नसक्छौं।—१ पत्रू० ४:११.
१५ थप उन्नतिका लागि मदत स्वीकार्नुहोस: यदि बढी मात्रामा आत्मिक उन्नति गर्नका लागि मदतको आवश्यकता परेको छ भने मण्डलीका कुनै अनुभवी सदस्यबाट मदत लिन तयार हुनुहोस। तपाँईलाई मदत प्रदान गर्न कोही पनि अग्रसर भएकोछैन भने पनि मदत पाउन सक्ने मौकालाई लाज मानेर नगुमाउनुहोस। सहयोग माग्नुहोस। मण्डलीका अनुभवी व्यक्तिहरूको मदत लिन नहिचकिचाउनुहोस। यस संबन्धमा तपाँईले आफ्नो मण्डली पुस्तक अध्ययन संचालक, सेवा अध्यक्ष, वा अरू कुनै प्राचीनहरूसँग आवश्यक मदत माग्न सक्नुहुनेछ।—तुलना गर्नुहोस उत्पत्ती ३२:२६; मत्ती ७:७, ८.
१६ यहोवा परमेश्वरको शुद्ध उपासनाको पर्वतमा एउटा बढ्दो अन्तरराष्ट्रिय “ठूलो भीड” ओइरिदैं छ। आफूलाई यसै भीडको माझमा पाउनु साच्चैंनै कति ठूलो मौकाको कुरा हो। (प्रकाश ७:९) यसै बढोत्तरीमा अरूलाई स्वागत गर्नुपाउनु पनि एउटा ठूलो सुअवसर नै हो। त्यसकारण आफूमा आध्यात्मिक विकास गर्दै र हामी सँगसँगै यहोवाको सेवामा अरूहरूलाई पनि सक्दोभर हामी सँगसँगै मदत गर्दै जाऔं। यसरी हृदयभरिको मूल्याकंनका साथ थप प्रगतिहरू गर्न सकारात्मक कार्यहरू गर्दै जाऔं।